Blog

  • जनभावनाअनुसार रुकुम पूर्वबाट उम्मेदवार बनेको हुँः संयोजक दाहाल

    जनभावनाअनुसार रुकुम पूर्वबाट उम्मेदवार बनेको हुँः संयोजक दाहाल

    रुकुम पूर्व, माघ ७ –
    नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुमेली जनताको समृद्धिको आकाङ्क्षा पूरा गर्न आफू रुकुम पूर्वबाट उम्मेदवार बनेको बताउनुभएको छ ।

    प्रेस सेन्टर नेपाल रुकुम पूर्वले आज रुकुमकोटमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले जिल्लाको इतिहास, भूगोल, संस्कृति, जातजाति सबैको भावनामा आधारित विकासको ढाँचा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    “जनयुद्धको आधार क्षेत्रको विकासलाई नयाँ ढङ्गले गति दिने मेरो सङ्कल्प छ । यहाँका जनताको भावना बुझेर जनताको अपेक्षा अनुसार यहाँबाट उम्मेदवारी दर्ता गराएको हुँ”, संयोजक दाहालले भन्नुभयो, “यहाँको भौतिक पूर्वाधारको विकास र विस्तार, शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी सिर्जना र पर्यटन प्रवर्द्धनमा मेरो प्राथमिक विषय हुन् ।”

    राजनीतिक रूपमा मात्रै नभई विकासका दृष्टिकोणबाट पनि समाजवादको बीउ रुकुम पूर्वबाट रोप्ने उद्घोष गर्दै संयोजक दाहालले समाजवादी क्रान्तिको आधारइलाका रुकुम पूर्व बन्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले आजै यहाँका सहिद परिवारसँग भेटघाट गर्नुका साथै स्थानीय जनसमुदायसँग अन्तक्र्रिया गर्नुभएको थियो । रासस

  • निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन

    निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन

    काठमाडौँ, माघ ७ –
    आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई केन्द्रित गरेर निर्वाचन आयोगले विगतमा जस्तै यस पटक पनि ‘कल सेन्टर’ स्थापना गरेको छ ।

    आयोगको कार्यालय, कान्तिपथमा सञ्चालित कल सेन्टरबाट निर्वाचनसँग सम्बन्धित मतदाता, नागरिक र सरोकार भएकाको जिज्ञासा सुनुवाइ गरिने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

    छ वटा डेस्क रहेको उक्त केन्द्र बिहान ९ः०० बजेदेखि साँझ ६ः०० बजेसम्म सञ्चालन हुनेछ । यसमा निःशुल्क टोल–फ्री नम्बर ११०२ मा फोन गरेर मतदाता, नागरिक र सरोकार भएकाले जिज्ञासा राख्न सक्नेछन् । यसमा एकै पटक १५ जनासम्मले फोन गर्दा कल होल्डमा नपर्ने व्यवस्था गरिएको आयोगले जनाएको छ । रासस

  • प्रतिनिधिसभा निर्वाचनः देशका १६५ निर्वाचन क्षेत्रमा तीन हजार ४८६ जनाको उम्मेदवारी दर्ता

    प्रतिनिधिसभा निर्वाचनः देशका १६५ निर्वाचन क्षेत्रमा तीन हजार ४८६ जनाको उम्मेदवारी दर्ता

    काठमाडौँ, माघ ७ –
    निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार आगामी फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फ देशका १६५ निर्वाचन क्षेत्रमा तीन हजार ४८६ जनाको उम्मेदवारी दर्ता भएको छ । केही क्षेत्रमा एकै पार्टीबाट दुई उम्मेदवारीसमेत परेको स्थितिमा रुजु गर्दा प्रारम्भिक सूचीमा सामान्य परिवर्तन आएको हो ।

    यही माघ ६ गते देशभर एकैपटक मनोनयनपत्र दर्ता सम्पन्न भएको थियो । कूल तीन हजार ४८६ उम्मेदवारीमध्ये पुरुष तीन हजार ८९, महिला ३९६ र तेस्रो लिङ्गी एक जना रहेका छन् । दर्ता भएका उम्मेदवारका बारेमा आज योग्यतासम्बन्धी प्रश्न भएमा उजुरी दिन सकिने आयोगले जनाएको छ । रासस

  • चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी

    चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी

    चितवन, माघ ७ –
    फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लामा ६५ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

    मङ्गलबार तीन निर्वाचन क्षेत्रमा उनीहरुले उम्मेदवारी दर्ता गराएका हुन् । जिल्लामा तीनवटा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र छन् । तीन पदका लागि ६५ जनाको उम्मेदवारी परेको हो । क्षेत्र १ मा १९ जना, क्षेत्र नम्बर २ मा २३ जना र क्षेत्र नम्बर ३ मा २३ जनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यसमध्ये क्षेत्र नम्बर १ मा चार जना, २ र ३ मा छ/छ जना उम्मेदवार स्वतन्त्र रहेका छन् । अन्य उम्मेदवार राजनीतिक दलका रहेको छन् । रासस

  • भोजपुरमा १२ दलका १२ जना उम्मेदवार

    भोजपुरमा १२ दलका १२ जना उम्मेदवार

    टक्सार (भोजपुर), माघ ७ –
    आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलले आ–आफ्ना उम्मेदवारी दर्ता गराएका छन् । दलको उम्मेदवारी हेर्दा महिला उम्मेदवारलाई भने उपेक्षा गरिएको देखिन्छ ।

    यहाँबाट निर्वाचनमा उम्मेदवार हुन १२ राजनीतिक दलका १२ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । तीयसमा महिलाको सङ्ख्या शून्य रहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख डिकेन्द्रप्रसाद सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार ३३ प्रतिशत महिला सहभागिता हुनुपर्ने व्यवस्था भए पनि मुख्य दलहरूले नै महिला उम्मेदवार सहभागी नगराएका हुन् ।

    आसन्न निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुराना र नयाँ दलले मनोनयन दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय भोजपुरमा राजाराम बासीको नेपाल मजदुर किसान पार्टीबाट, ध्रुव राईको श्रम संस्कृति पार्टीबाट, शेरधन राईको नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट, जितेन्द्र राईको राष्ट्रिय परिवर्तन पार्टीबाट, जनक नेपालको राष्ट्रिय प्रजातन्त्र पार्टीबाट, रमेशप्रसाद ओझाको राष्ट्रिय स्वतन्त्र पार्टीबाट र चन्द्रप्रसाद राईको मङ्गोल नेसनल अर्गनाइजेसन पार्टीबाट उम्मेदवारी दर्ता भएको कार्यालयका प्रमुख सुवेदीले जानकारी दिनुभयो ।

    यस्तै नेपाली कम्युनिष्ट पार्टीका अजम्वर राई, नेपाली कांग्रेसका बालकृष्ण थापा, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का देवानराज राई, जनता समाजवादी पार्टीका गोपालकुमार राई र आमजनता पार्टीका तर्फबाट युवराज थापाले मनोनयन दर्ता गराउनुभएको छ ।

    भोजपुरमा कूल एक लाख २५ हजार ७६६ मतदाता कायम भएका छन् भने ८७ वटा मतदानस्थल र अस्थायीसहित १६१ मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । रासस

  • अहिलेको सरकार सायद आगजनी गर्नेहरूकै हो : केपी शर्मा ओली

    अहिलेको सरकार सायद आगजनी गर्नेहरूकै हो : केपी शर्मा ओली

    ७ माघ, काठमाडौं ।
    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आन्दोलनको नाममा घर जलाउनेहरूलाई वर्तमान सरकारले कारबाही नगरेको भन्दै आक्रोश पोखेका छन् ।

    गृहजिल्ला झापामा जेनजी आन्दोलनको क्रममा क्षति पुगेका संरचनाहरूको अवलोकन गर्दै तत्कालीन समयका प्रधानमन्त्री ओलीले भने, ‘अहिलेको सरकार सायद उनीहरूकै सरकार हो । त्यसैले उनीहरूलाई जोगाउने काम गरेको छ ।

    आन्दोलनको नाममा अरुको घर जलाउन नपाइने भन्दै ओलीले त्यस्ता व्यक्तिलाई सरकारले कारबाही नगरेको बताए । उनले देशलाई शान्तिपूर्ण बस्नलायक देश बनाउनुपर्ने धारणा पनि राखे ।

    ‘अपराधलाई प्रोत्साहित गर्न सकिँदैन । आन्दोलनको नाममा कसैको घर जगाउन पाइँदैन । त्यस्ता व्यक्तिलाई सरकारले कारबाही गर्नुपर्ने हो । तर, सरकार उनीहरूकै हो सायद । कारबाही भएको छैन,’ उनले भने, ‘समय आउँछ, कारबाही गर्ने समय आउँछ । देशलाई शान्तिपूर्ण र बस्न लायक बनाउनुपर्नेछ ।’

  • जिल्ला प्रशासन कार्यालय चितवनद्धारा हातहतियार बुझाउन आग्रह

    जिल्ला प्रशासन कार्यालय चितवनद्धारा हातहतियार बुझाउन आग्रह

    चितवन, माघ ७ –
    आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय चितवनले हातहतियार बुझाउन सरोकार भएका सबैलाई आग्रह गरेको छ । व्यक्तिगत सुरक्षाका लागि स्थानीय प्रशासनसँग अनुमति लिएर राखिएका हतियार बुझाउन कार्यालयले सबैलाई आग्रह गरेको हो ।

    कार्यालयले एक सूचना जारी गर्दै व्यक्तिगत सुरक्षाका लागि राखिएका हातहतियार १५ दिनभित्र नजिकको प्रहरी कार्यालयमा बुझाउन आग्रह गरेको छ । कार्यालयका सूचना अधिकारी मदन लामा थिङका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र विश्वसनीय वातावरणमा सम्पन्न गराउन सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै इजाजत प्राप्त हतियार बुझाउन भनिएको हो ।

    अहिले बुझाइएका हतियार आगामी चैत २० गते पश्चात् सबैलाई फिर्ता गरिने सूचना अधिकारी थिङले जानकारी दिनुभयो । तोकिएको समयमा हतियार नबुझाए, अटेर गरेमा प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाइने उहाँले बताउनुभयो । रासस

  • बालेनको राजीनामालगत्तै खोला किनारका जग्गामा काठमाडौं महानगरको रोक्का फुकुवा

    बालेनको राजीनामालगत्तै खोला किनारका जग्गामा काठमाडौं महानगरको रोक्का फुकुवा

    ७ माघ काठमाडौं।
    काठमाडौं महानगरपालिकाको मेयरबाट बालेन शाहले राजीनामा दिएलगत्तै महानगरले खोला किनारका जग्गामा निर्माण अनुमति नरोकिने सूचना सार्वजनिक गरेको छ ।

    महानगरले बुधबार एक सूचना जारी गर्दै यसअघि रोक्का भएको जग्गा फुकुवा भएको भन्दै निर्माण अनुमति नरोकिने जनाएको हो ।

    ‘सर्वोच्च अदालतको आदेशको आधारमा २०६५ मंसिर १ को मन्त्रिपरिषद्ले निर्धारण गरेको मापदण्डको अधीनमा रही कार्य गर्न बाधा नपर्ने हुँदा कुनै पनि व्यक्तिको निजी जग्गामा भवन निर्माण गर्न अनुमतिमा रोक नलगाइने र निर्माण भइरहेको संरचनामा समेत रोक्का नराखिने जानकारी गराइन्छ,’ महानगरपालिकाले जारी गरेको सूचनामा भनिएको छ।

  • कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माणको अन्तिम चरणमा

    कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माणको अन्तिम चरणमा

    काँक्रेविहार (सुर्खेत), माघ ७ –
    निर्माणाधीन कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको काम अन्तिम चरणमा पुगेको छ । यही माघ २० गतेभित्रमा चार्जिङ गर्ने तयारीका साथ धमाधम काम भइरहेको छ ।

    आयोजना प्रमुख रवि चौधरीका अनुसार अब ५०० मिटर तार तान्न बाँकी छ । छ वर्षअघि रु ७० करोडमा प्रसारण लाइनको काम प्रारम्भ भएको हो । आयोजनाले शतप्रतिशत भौतिक प्रगति गरेको छ । आगामी एक सातामा परीक्षणको सम्पन्न गरी १५ दिनमा विद्युत् प्रवाह गरिने छ । रासस

  • सुनको मूल्यमा भारी वृद्धि , तोलामा दश हजार चार सयले बढ्यो

    सुनको मूल्यमा भारी वृद्धि , तोलामा दश हजार चार सयले बढ्यो

    काठमाडौँ, माघ ७ –
    स्थानीय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ । मङ्गलबारको तुलनामा आज एक तोला सुन रु १० हजार ४०० ले वृद्धि भएको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ९५ हजार १०० त्यति नै चाँदीको मोल रु पाँच हजार ९२० कायम भएको छ ।

    मङ्गलबार एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ८४ हजार ७०० त्यति नै चाँदीको मोल रु पाँच हजार ८८० कायम भएको थियो । गत आइतबार एक तोला सुन रु दुई लाख ७८ हजार ८०० र त्यति नै परिमाणको चाँदी रु पाँच हजार ६२५ मा कारोबार भएको थियो । सोमबार एक तोला सुन रु दुई लाख ८२ हजार र त्यति नै परिमाणको सेतो धातु रु पाँच हजार ८१० मा खरिदबिक्री भएको थियो ।

    अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७४० र त्यति नै परिमाणको सेतो धातु ९५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

    आर्थिक विश्लेषकहरूका अनुसार विश्व अर्थतन्त्रमा अनिश्चितता बढ्नु, मुद्रास्फीति र भूराजनीतिक तनावका कारण सुरक्षित लगानीका रूपमा माग बढेकाले सुन र चाँदीको मूल्य बढेको हो । रासस