Blog

  • शिखर सामुदायिक वनको अध्यक्षमा घलान चयन

    शिखर सामुदायिक वनको अध्यक्षमा घलान चयन

    राप्ती, माघ ८-
    पुर्वी चितवनको राप्ती-५,भण्डारास्थित श्री शिखर सामुदायिक वन उपभोक्ता समूहको नयाँ नेतृत्व चयन भएको छ ।

    बुधबार भएको सो वन समूहको २०औं वार्षिक साधारणसभाले सन्देश घलानको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो ।
    सो समितिका अन्य पदाधिकारी भने यथावत रहने भएका छन।

    जस अन्तर्गत,हाल सो वन समुहको उपाध्यक्षमा आइतिमाया तामाङ,कोषाध्यक्षमा शान्ति कुँवर थापा,सह- सचीवमा अमृत गौतम रहेका छन । त्यसैगरी,सदस्यहरुमा भगवती तामाङ,पार्बती पान्डे, बिनिता बिक,सम्झना घलान,संगिता बिक,रबिन्द्र खड्का,राजकुमार चौधरी,तेज प्रसाद रुवाली र भाईकाजी थापा रहेका छन भने सचिव पद रिक्त रहेको छ।

    निवर्तमान अध्यक्ष नरेन्द्र रुवालि लामो समयका लागी वैदेशिक भ्रमणमा जाने कार्यक्रम तय भएको हुँदा ५ वर्षे कार्यकालमा अझै २ वर्ष बाँकी रहेको समयमा पद बाट राजिनामा दिएकाले संस्थाका सचिव घलानलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरिएको हो।

    नवनिर्वाचित अध्यक्ष घलान राप्ती नगरका उदयमान युवा नेताका रूपमा परिचित छन्। उनी विभिन्न सामाजिक संघ–संस्थामा आबद्ध हुँदै सामाजिक सेवामा पनि उत्तिकै सक्रिय छन ।

    वि.सं २०५२ सालबाट सेवा प्रवाह सुरु गरेको यस वन २९७.७२ हेक्टर क्षेत्रफलमा फैलिएको छ ।

    सो वन समुहमा हाल ९२० घर धुरी उपभोक्ता संख्या रहेको नवनिर्वाचित अध्यक्ष घलानले जानकारी दिए ।

    नेतृत्व परिवर्तनसँगै समूहको आगामी कार्ययोजना, वन संरक्षण, उपभोक्ता हित तथा सामुदायिक विकासबारे समेत विस्तृत छलफल भएको उनले बताए।

    राप्ती-५ का वडा अध्यक्ष सिताराम बल प्रमुख आतिथ्यता रहेको सो कार्यक्रममा निवर्तमान अध्यक्ष नरेन्द्र रुवालिको अध्यक्षता रहेको थियो।

    त्यस्तै,सो कार्यक्रममा स्थानीय संघ सस्थाका प्रतिनिधिहरु, समुहका उपभोक्ताहरु लगायतको उल्लेख्य सहभागिता रहेको थियो।

  • शुक्रबार उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिने

    शुक्रबार उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिने

    काठमाडौँ, माघ ८-
    निर्वाचन आयोगले शुक्रबार उम्मेदवारहरुलाई निर्वाचन चिह्न प्रदान गर्ने भएकाे छ ।

    निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका भाेलि उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिने छ ।

    यस्तै स्वीकृत गरेको निर्वाचन कार्यक्रम बमोजिम उमेदवारहरुको विरुद्धमा परेको उजुरी उपर निर्वाचन अधिकृतको कार्यालयहरुबाट निर्णय भए बमोजिम चार वटा उजुरीहरु खारेज भएका जानकारी दिए।

    यदी आफूले दिएको उम्मेदवारी फिर्ता लिन चाहे शुक्रबार उम्मेदवारहरुले नाम फिर्ता लिनसक्ने बताए ।

    आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि देशभर माघ ६ गते उम्मेदवारी मनोनयन दर्ता भएको थियो । जसमा ५ जना उम्मेदवारविरुद्ध उजुरी परेको थियो ।

    भक्तपुर २ मा दुई वटा, सुनसरी २, रौतहट १, कैलीली १ मा भने एक—एक वटा उजुरी परेका थिए ।

    जसमध्ये ४ वटा उजुरी खारेज भएका छन् भने रेशमलाल चौधरीको उम्मेदवारी भने खारेज भएको निर्वाचन आयोगले जनाएको छ ।

     

  • कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्ने

    कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्ने

    काठमाडौँ, माघ ८-
    नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोलि शुक्रबार बस्ने भएको छ ।

    पार्टी केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माले आज एक विज्ञप्ति जारी गरी बैठक शुक्रबार दिनको १ बजे पार्टी केन्द्रीय कार्यालय बिपीस्मृति भवन सानेपा ललितपुरमा बस्न लागेको जानकारी दिनुभयो ।

    कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठकमा भाग लिनका लागि पार्टीका पदाधिकारी, सदस्य एवं प्रदेश सभापतिलाई उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरेको छ ।

  • उम्मेदवारी खारेज पछि रेशमको आक्रोश: भने- राजनीतिक सिकार बनाउनुको पनि हद हुन्छ

    उम्मेदवारी खारेज पछि रेशमको आक्रोश: भने- राजनीतिक सिकार बनाउनुको पनि हद हुन्छ

    ८ माघ, काठमाडौं
    नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका संरक्षक रेशमलाल चौधरीले आफ्नो उम्मेदवारी खारेज गरिएपछि प्रतिक्रिया जनाएका छन्।

    बिहीबार निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारी रद्द गर्ने निर्णय गरेलगत्तै सामाजिक सञ्जालमार्फत उनले आफूलाई राजनीतिक सिकार बनाइएको टिप्पणी गरेका हुन्।

    सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘राजनैतिक सिकार बनाउनुको पनि हद हुन्छ। विभेद, दमन र उपेक्षित समुदायलाई उत्पीडनमा पार्दा प्रयोग गरिने हतियार पनि कस्ता कस्ता ? मण्डेलाले लामो सङ्घर्ष गर्दाको परिणाम प्राप्ति सिङ्गो अफ्रिका हो। पहिचानको लामो लडाइँको मार्ग कतै त्यही हुने त होइन ? भन्ने भय छ।’

    चौधरीले आफ्नो उम्मेदवारी खारेजीको विरोध स्वरूप पार्टीको चुनाव चिन्ह जाँतो (चकिया) मा मतदान गर्न समर्थकसँग अपिल गरेका छन्।

    उनले अगाडि लेखेका छन्, ‘राजनैतिक विभेदका विरुद्ध सबैको साथ भनेकै जाँतो (चकिया) मा मतदान हो। मेरो उम्मेदवारी खारेजीका विरुद्ध देशैभर जाँतोमा मतदान गरेर नाउपा नेपाललाई साथ दिनुहुनेछ भन्ने अपेक्षासहित। जय नागरिक।’

  • गैँडाकोट महोत्सवमा पशुपति शर्मा र दुर्गा सापकोटाको दोहोरी, ११ हजारले गरे अवलोकन

    गैँडाकोट महोत्सवमा पशुपति शर्मा र दुर्गा सापकोटाको दोहोरी, ११ हजारले गरे अवलोकन

    गैँडाकोट, ८ माघ-
    गैँडाकोटमा जारी चौथो गैँडाकोट महोत्सव अन्तर्गत बिहीबार चर्चित कलाकार पशुपति शर्मा र दुर्गा सापकोटाले प्रत्यक्ष दोहोरी गाएर दर्शकहरुलाई मनोरञ्जन दिएका छन् ।

    गैँडाकोटस्थित नारायणी नदी किनारमा जारी महोत्सवमा पशुपति र दुर्गाले दोहोरी गाएर दर्शकहरुलाई भरतपुर मनोरञ्जन प्रदान गरेका महोत्सवको सांस्कृतिक कार्यक्रम संयोजक किशोर लम्सालले जानकारी दिए । उनीहरुले आफ्ना चर्चित गीतहरु प्रस्तुत गरेपछि साँझ दोहोरी गाएका लम्सालको भनाइ छ । त्यस्तै बिहीबारको कार्यक्रममा शुष्मा शाही ठकुरीसहित स्थानीय कलाकारहरुले समेत प्रस्तुती राखेका लम्सालले बताए ।

    महोत्सवको बिहीबार एघार हजार बढी दर्शकले अवलोकन गरेका महोत्सव आयोजक संस्था जिल्ला उद्योग वाणिज्य संघ गैँडाकोट नवलपुरका वरिष्ठ सदस्य एवम् महोत्सव प्रचारप्रसार उपसमिति संयोजक शालिकराम सापकोटाले जानकारी दिए । पुस २५ गते सुरु भएको महोत्सव माघ १० गतेसम्म जारी रहने भन्दै सापकोटाले महोत्सवको दुई लाख बढी दर्शकले अवलोकन गर्ने बताए ।

    कृषि प्रदर्शनी, व्यापारिक स्टल, रेष्टुरेन्ट तथा बाल उद्यानसहित २५० बढी स्टल रहेको महोत्सवमा २५ करोड रुपैयाँ भन्दा बढीको आर्थिक कारोबार हुने अनुमान गरिएको सापकोटाले बताए । संघका वरिष्ठ उपाध्यक्ष एवम् महोत्सवका मूल संयोजक छवि कँडेलले स्थानीय कृषि र स्थानीय उत्पादनको प्रवद्र्धन र बजारीकरण गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको बताए । महोत्सव अवलोकनका लागि १०० रुपैयाँको टिकटको व्यवस्था गरिएको कँडेलको भनाइ छ ।

    विद्यार्थीका लागि ७० रुपैयाँको टिकटको व्यवस्था गरिएको भन्दै कँडेलले ज्येष्ठ नागरिक, अशक्त र अपाङ्ग एवम् शैक्षिक संस्थाबाट संस्थागत रुपमा सहभागी भएका विद्यार्थीहरुलाई महोत्सवस्थलमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको बताए ।

    यसैबीच, महोत्सवको सांस्कृतिक कार्यक्रम अन्तर्गत शुक्रबार चर्चित लोकदोहोरी गायक पुष्कल शर्मासहितका कलाकारको प्रस्तुती रहने जनाइएको छ । शुक्रबार शर्मासँगै कला लम्साल, राशी रिजाल, बन्दना विश्वकर्मा, राकेश विकलगायतको प्रस्तुती रहने लम्सालले बताए ।

  • बिगुल अब फागुन १ गते प्रदर्शन हुने

    बिगुल अब फागुन १ गते प्रदर्शन हुने

    चितवन, माघ ०८
    माघ ९ बाट सरेको जेन्जी आन्दोलनप्रति समर्पित चलचित्र बिगुल अब फागुन १ गते प्रदर्शन हुने भएको छ । चलचित्रको निर्माण पक्षले शिवरात्रीलाई मध्यनजर गर्दै फागुन १ गतेलाई नयाँ प्रदर्शन मिति तय गरेको हो ।

    यस अघि उक्त चलचित्र माघ ९ मा प्रदर्शन हुने भनिएको थियो । तर विशेष कारण देखाउँदै निर्माण पक्षले चलचित्र प्रदर्शनको मिति सारेको हो । चलचित्रका लेखक तथा निर्माता दिनेश कोइरालाले प्राविधिक कारणले माघ ९ बाट फागुन १ गतेलाई प्रदर्शन मिति सारिएको जानकारी दिए ।

    चलचित्र बिगुलमा उठाईएको बिषयबस्तु गत भदौमा जेन्जी युवाले गरेको देशब्यापी आन्दोलनसँग मेल खान्छ । पहिले नै तिनै बिषयमा केन्द्रित भइ फिल्म निर्माण गरिनु अचम्मको संयोग भएको निर्माण पक्षको भनाइ छ ।

    बिगुलमा उठाएको मुल मुद्धा र पछि जेन्जी पुस्ताले उठाएका माग,देश बिकास र परिवर्तनप्रति आम नेपालीको चाहनाको बिषय ठ्याक्कै मिल्न गएको निर्माता तथा लेखक कोइरालाको भनाइ छ । यो चलचित्र जेन्जी आन्दोलनप्रति समर्पित गरिएको छ । चलचित्रले युवा र महिलामा चेतना जगाइ भ्रष्टाचार र बिकृति उन्मुलनका लागि परिवर्तनको बिगुल फुकेको निर्देशक रमेश कोइरालाको दाबी छ ।

    कल्पना पौडेलको प्रस्तुति तथा म्याग्नोलिया ग्रुपको ब्यानरमा निर्माण भएको चलचित्रमा बेनिशा हमाल, नरेन खड्का,रमेश बुढाथोकी,नीर शाह,सरोज खनाल,हेमन्त बुढाथोकी,शिसिर वाङ्देल,बिनोद न्यौपाने,जेएन घिमीरे,गीता अधिकारी,मीरा पण्डित,मानश्री शर्मालगायतका कलाकारले अभिनय गरेका छन् ।

  • रेशम चौधरीको उम्मेदवारी रद्द

    रेशम चौधरीको उम्मेदवारी रद्द

    काठमाडौं, ८ माघ
    नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका संरक्षक रेशम चौधरीको उम्मेदवारी रद्द भएको छ । चौधरीले कैलाली निर्वाचन क्षेत्र नम्बर–१ बाट उम्मेदवारी दर्ता गराएका थिए ।

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता लालविक्रम थापाको उम्मेदवारीविरुद्ध परेको उजुरीका सम्बन्धमा भने निर्वाचन आयोग छलफलमै छ ।

    पाँच जना उम्मेदवारविरुद्ध उजुरी परेको थियो त्यसमध्ये तीन वटा उजुरी नै खारेज भइसकेको छ । भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार रहेका रास्वपाका उम्मेदवार राजीव खत्री र नेपाल जनसेवा पार्टीबाट उम्मेदवार रहेकी जानुका पाठकविरूद्ध उजुरी परेको थियो । यी दुवै उजुरी न खारेज भएको छ ।

  • झापाका ५ वटा क्षेत्रमध्ये सबैभन्दा बढी मतदाता क्षेत्र नम्बर ५ मा

    झापाका ५ वटा क्षेत्रमध्ये सबैभन्दा बढी मतदाता क्षेत्र नम्बर ५ मा

    झापा, ८ माघ –
    झापाका पाँचवटा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी मतदाता क्षेत्र नम्बर ५ मा रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख तुलसी नेपालका अनुसार यसपटक थपिएका ५० हजार नयाँ मतदातासहित जिल्लामा सात लाख १३ हजार ५३७ मतदाता रहेका छन् ।

    उनले क्षेत्र नम्बर ५ मा मात्र ८१ हजार ८१ पुरुष, ८२ हजार २९६ र अन्य दुई गरी एक लाख ६३ हजार ३७९ मतदाता रहेको जानकारी दिए ।

    यस क्षेत्रमा ६१ वटा मतदानस्थल र १८५ वटा मतदान केन्द्र रहेका छन् । क्षेत्र नम्बर ४ मा ६६ हजार २८३ पुरुष, ६४ हजार ४२८ महिला र अन्य एकसहित एक लाख ३० हजार ७१२ मतदाता छन् भने ६३ वटा मतदानस्थल र १५६ वटा मतदान केन्द्र रहेको उनले जानकारी दिए ।

    क्षेत्र नम्बर ३ मा ७१ हजार १७४ पुरुष, ६९ हजार ६८३ महिलासहित एक लाख १० हजार ८५७ मतदाता, ६७ वटा मतदानस्थल र १६४ वटा मतदान केन्द्र रहेका छन् । क्षेत्र नम्बर २ मा ७३ हजार ९५० पुरुष, ७३ हजार ५६७ महिला र अन्य पाँचसहित एक लाख ४७ हजार ५२२ मतदाता रहेका छन् । यहाँ ४९ वटा मतदानस्थल र १६५ वटा मतदान केन्द्र रहेको कार्यालयले जनाएको छ ।

    यसैगरी क्षेत्र नम्बर १ मा ६५ हजार ८५८ पुरुष, ६५ हजार २०९ महिलासहित ४३ वटा मतदानस्थल र १४५ मतदान केन्द्र रहेको कार्यालय प्रमुख नेपालले जानकारी दिए ।

  • चितवनमा कैदीबन्दीको चाप बढेपछि ८१ जनालाई स्थानान्तरण

    चितवनमा कैदीबन्दीको चाप बढेपछि ८१ जनालाई स्थानान्तरण

    चितवन, माघ ८ –
    कारागार कार्यालय चितवनमा कैदीबन्दीको चाप बढेपछि ८१ जनालाई विभिन्न कारागारमा स्थानान्तरण गरिएको छ । कारागार कार्यालयले साउनदेखि हालसम्म देशका विभिन्न कारागारमा उनीहरूलाई स्थानान्तरण गरेको हो ।

    मकवानपुरको भिमफेदी, कपिलवस्तु, नुवाकोट, जगन्नाथदेवल काठमाडौँ, कास्की, नवलपरासी र नख्खुमा उनीहरूलाई स्थानान्तरण गरिएको हो । कारागारमा रहेका कैदीलाई चापअनुसार स्थानान्तरण गरिँदै आइएको कार्यालयका सूचना अधिकारी चेतनाथ ढुङ्गानाले जानकारी दिनुभयो । उहाँका अनुसार साउनयता उनीहरूलाई स्थानान्तरण गरिएको हो ।

    अहिले कारागारमा ३९ जना महिलासहित ६३२ जना कैदीबन्दी छन् । उनीहरूसँग आश्रित दुई जना बालबालिका पनि रहेका सूचना अधिकारी ढुङ्गानाले बताउनुभयो । उहाँका अनुसार कारागारको क्षमता ५०५ जनाको हो । “महिला ३० र ४७५ जना पुरुषको क्षमता रहेको छ । यस कारागारमा विभिन्न जिल्लाबाट उपचारका लागि आउने कैदीबन्दी र चितवन, नवलपरासी (बर्दघाट–सुस्ता पूर्व)मा कारागार नहुँदा त्यहाँका कैदीबन्दी पनि ल्याउने गरिन्छ”, उहाँले भन्नुभयो ।

    यहाँबाट गत भदौ २५ गते ७३९ जना कैदीबन्दी भागेका थिए । जसमध्ये अहिलेसम्म ११४ जना कैदीबन्दी फर्कन बाँकी रहेका छन् । जसमध्ये ११ जना भारतीय नागरिक हुन् । – रासस

  • महिला टी-२० विश्वकप ग्लोबल छनोट : नेपाललाई हराउँदै नेदरल्याण्ड्स सुपर सिक्समा

    महिला टी-२० विश्वकप ग्लोबल छनोट : नेपाललाई हराउँदै नेदरल्याण्ड्स सुपर सिक्समा

    काठमाडौं, ८ माघ –
    आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको आफ्नो दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ । नेपाल २ रनले पराजित भएको हो ।

    १४१ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १३८ रन मात्र बनाउन सक्यो । अन्तिम ओभरमा १३ रन आवश्यक हुँदा रुबिना क्षेत्री र सीता राना मगर मिलेर १० रन मात्र जोड्न सके ।

    त्यसअघि नेपाललाई २४ बलमा ४८ रन आवश्यक हुँदा सीता र रुबिना मिलेर खेललाई अन्तिम ओभरसम्म पुर्‍याएका थिए । रुबिनाले अविजित ३७ रन, सीता रानामगरले अविजित २७ रन बनाइन् । बिन्दु रावलले १८ रन बनाइन् ।

    नेदरल्यान्ड्सका लागि इसाबेल भान डर वोनिङले ३ विकेट लिइन् । सिल्भर सिगर्स, रोबिन रिके र कारोलिन डे लाङले १-१ विकेट लिए ।

    त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले २० ओभरमा ५ विकेट गुमाएर १४० रन बनाउँदै नेपाललाई १४१ रनको लक्ष्य दिएको थियो।

    नेदरल्यान्ड्सका लागि कप्तान बाबेट डे लिडले सर्वाधिक ४९ रन बनाइन् । स्टेर कालिसले ३० रन बनाइन् । रोबिन रिके १९ तथा आइरिस ज्विलिङ १४ रनमा अविजित रहे ।

    नेपालका लागि रुबिना क्षेत्रीले २ विकेट लिइन् भने रिया शर्मा, सुमन विष्ट र पूजा महतोले १-१ विकेट लिए ।

    नेपाल यसअघि पहिलो खेलमा थाइल्यान्डसँग पराजित भएको थियो । नेदरल्यान्ड्स आजको जितसँगै सुपर सिक्समा पुगेको छ ।