Blog

  • प्रहरीको घेरा तोड्दै संसद् भवनभित्र छिरे जेनजी

    प्रहरीको घेरा तोड्दै संसद् भवनभित्र छिरे जेनजी

    २३ भदौ, काठमाडौं ।
    प्रदर्शनमा उत्रिएका जेनजीहरू संघीय संसद् भवनभित्र प्रवेश गरेका छन् ।

    उनीहरू प्रहरीको घेरा तोड्दै संसद् भवनभित्र प्रवेश गरेका हुन् । उनीहरू गेटबाट माथि चढेर संसद् भवनभित्र प्रवेश गरेका हुन् ।

    अहिले प्रहरीले स्थिति नियन्त्रणका लागि अश्रुग्यास प्रहार गरिरहेको छ ।

  • हालसम्मकै उच्चबाट तोलामा ४०० रुपैयाँले घट्यो सुनको मूल्य

    हालसम्मकै उच्चबाट तोलामा ४०० रुपैयाँले घट्यो सुनको मूल्य

    काठमाडौं,भदौ २३-
    नेपाली बजारमा सोमबार (भदौ २३) सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ११ हजार ६०० रुपैयाँ कायम छ । आइतबार (भदौ २२) छापावाल सुन प्रतितोला दुई लाख १२ हजार रुपैयाँमा किनबेच भएको थियो । त्यो हालसम्मकै उच्च मूल्य हो ।

    चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला दुई हजार ४७५ रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला दुई हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य पनि हालसम्मकै उच्चबाट घटेको हो ।

  • टिकटकमा प्रधानमन्त्रीः हामी सामाजिक सञ्जाल विरोधी होइनौं, बेथिति विरोधी हौं

    टिकटकमा प्रधानमन्त्रीः हामी सामाजिक सञ्जाल विरोधी होइनौं, बेथिति विरोधी हौं

    काठमाडौं,भदौ २३-
    प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल विरोधी आफू नभएको बताएका छन् । एमालेको दोस्रो विधान सभामा राखेको धारणालाई आज प्रधानमन्त्री ओलीले टिकटकमा पोष्ट गर्दै बेथितिको विरोधी भएको टिप्पणी गरेका छन् ।

    जेनजी पुस्ताले देशको कानुन बुझ्ने उनले बताए । ‘आमरुपमा जेन्जी पुस्ताले बुझ्छ । देशको कानुनलाई मान्छ । त्यसकारण जेन्जी पुस्तालाई जसले भड्काउन खोजेका छन् । त्यो बेकारको कुरा हो’, प्रधानमन्त्री ओलीले भनेका छन्, ‘हामी सामाजिक सञ्जालका विरोधी होइनौं । तर, बेथितिका विरोधी हौं । हेप्न खोज्नेहरुको विरोधी हौं ।

  • जेनजी प्रदर्शनबीच राष्ट्रपति पौडेल सभागृहमा आयोजित कार्यक्रममा सहभागी

    जेनजी प्रदर्शनबीच राष्ट्रपति पौडेल सभागृहमा आयोजित कार्यक्रममा सहभागी

    २३ भदौ, काठमाडौं ।
    राष्ट्रपति रामचन्द्र पौडेल जेनजी आन्दोलनले सडक प्रभावित भए पनि भृकुटीभण्डपस्थित सभागृहमा औपचारिक कार्यक्रमका सहभागी भएका छन् ।

    मानव अंग प्रत्यारोपण केन्द्रको कार्यक्रममा भाग लिन उनी सभागृह गएका हुन् ।

    मानव अंग प्रत्यारोपणमा संलग्न चिकित्सकहरुलाई सम्मान गर्नका लागि उनी त्यहाँ पुगेका हुन् ।

  • बबरमहल-बानेश्वर सडकमा सवारी आवागमन पूर्णरुपमा बन्द

    बबरमहल-बानेश्वर सडकमा सवारी आवागमन पूर्णरुपमा बन्द

    २३ भदौ, काठमाडौं ।
    सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचार विरुद्ध जेनजीले गरेको प्रदर्शनका कारण नयाँ बानेश्वर-बबरमहल सडक प्रभावित भएको छ ।

    माइतीघर-बबरमहल हुँदै नयाँ बानेश्वर पुगेपछि जेनजीहरूले सडकका दुवैतर्फका लेनमा प्रदर्शन गरिरहेका छन् । सडकमा जेनजीहरु छपक्कै भएपछि सवारीँ आवागमन पूर्ण रुपमा बन्द भएको हो ।

    अहिले उनीहरुलाई प्रहरीले ब्यारिकेड राखेर अघि बढ्नबाट रोकेको छ । आन्दोलन घोषणा गर्दा उनीहरुले संसद भवन अगाडि नै प्रदर्शन गर्ने बताएका थिए । उक्त स्थान निषेधित क्षेत्र भएकोले प्रहरीले चोक अगाडि नै रोकेको हो ।

    भ्रष्टाचार, अव्यवस्थाविरुद्ध सामाजिक सञ्जालमा आक्रोश व्यक्त गर्दै आएका युवाहरु सामाजिक सञ्जाल नै बन्द गरिएपछि सडकमा उत्रिएका हुन् ।

    जेनजीको आन्दोलनलाई विभिन्न राजनीतिक दल, समूह र व्यक्तिहरुले समर्थन गरेका छन् ।

  • चितवनमा पनि जेनजीको प्रदर्शन (तस्वीरहरू)

    चितवनमा पनि जेनजीको प्रदर्शन (तस्वीरहरू)

    २३ भदौ, चितवन
    सामाजिक सञ्जाल बन्दविरुद्ध जेनजीले चितवनमा पनि प्रदर्शन गरेका छन् ।

    जिल्ला प्रशासन कार्यालय गेट अगाडि विभिन्न ब्यानरसहित प्रदर्शन गरिरहेका छन् ।

    ‘जनताको पैसा जनताकै लागि’, ‘जनताको पसिना नेताको ऐश होइन’, जनताको आवाज रोकिँदैन कहिल्यै लगायतका प्लेकार्ड बोकेर उनीहरूले प्रदर्शन गरेका हुन् ।

  • धनगढीमा पनि जेनजीको प्रदर्शन (तस्वीरहरू)

    धनगढीमा पनि जेनजीको प्रदर्शन (तस्वीरहरू)

    २३ भदौ, धनगढी ।
    सामाजिक सञ्जाल बन्दविरुद्ध जेनजीले धनगढीमा पनि प्रदर्शन गरेका छन् ।

    जिल्ला प्रशासन कार्यालय कैलालीको मूल गेट अगाडि विभिन्न ब्यानरसहित प्रदर्शन गरिरहेका छन् ।

    ‘जनताको पैसा जनताकै लागि’, ‘जनताको पसिना नेताको ऐश होइन’, जनताको आवाज रोकिँदैन कहिल्यै लगायतका प्लेकार्ड बोकेर उनीहरूले प्रदर्शन गरेका हुन् ।

  • पर्वतमा रु दश करोडको लागतमा प्लाई उद्योग सञ्चालन

    पर्वतमा रु दश करोडको लागतमा प्लाई उद्योग सञ्चालन

    पर्वत, भदौः२३ –
    पर्वत जिल्लाको कुश्मा नगरपालिका –८ परादीमा गण्डकी प्रदेशकै दोस्रो ‘प्लाई’ उद्योग सञ्चालनमा आएको छ । कुश्मा नगरपालिकाको कटुवा चौपारी घर भएका शिवशर्मा अधिकारीले १६ वर्षदेखि सञ्चालन गर्दै आएको ‘विन्दवासिनी भेनियर उद्योग’ लाई अब प्लाइ उत्पादन गर्ने उद्योगको रूपमा सञ्चालन गर्नुभएको हो ।

    सामान्यतः पहाडी क्षेत्रमा प्लाई उद्योग कमै मात्रामा सञ्चालन हुने गरेका छन् । त्यसमा पनि कम जनघनत्व हुने क्षेत्रमा उद्योग सञ्चालन गर्नु चुनौतीपूर्ण हुने भए पनि अधिकारीले जिल्लावासीले पाउने रोजगारी र ढुवानी बचतका लागि उद्योग सञ्चालन गर्नुभएको हो । परादीमामा रहेको ‘भेनियर’ उद्योगमा तयार हुँदै आएको प्लाई को कच्चापदार्थलाई अधिकारीले नै कपिलवस्तुको बहादुरगञ्जमा सञ्चालन गर्दै आएको अकला प्लाई उद्योगमा लगेर प्लाई बनाउने गरिएको थियो । त्यहाँ उत्पादित प्लाई पुनःगण्डकी प्रदेशमा आएर बिक्री हुने गरेको थियो ।

    जिल्लाबाट गएको कच्चापदार्थबाट कपिलवस्तुमा प्लाई बनेर पुनः गण्डकी प्रदेशमा ल्याएर बिक्री गर्दा ढुवानी लागतसमेत बढी भएपछि अधिकारीले बहादुरगञ्जको प्लाई उद्योगलाई परादीमा सार्नुभएको हो । करिब रु १० करोडको लागतमा तयार भएको प्लाई उद्योगमा करिब तीन सय जनाले रोजगारीको अवसर पाउने छन् । आफ्नै जन्मभूमिबाट उद्योग चलाउँदा जिल्लावासीले नै रोजगारीको अवसर पाउने र ग्रामीण क्षेत्रमा कुहिने अवस्थामा रहेका कुकाठले बजार पाउने सञ्चालक अधिकारीले बताउनुभयो ।

    “बेरोजगारी र बसाइसराइको समस्या बढ्दै गइरहेको बेलामा आफ्नै जिल्लावासीले रोजगारीको अवसर पाउन भनेर उहाँको उद्योगलाई यहाँ सारिएको हो । कच्चापदार्थको ढुवानीको हिसाबले पनि यहाँ सहज हुने भएको छ,” उहाँले भन्नुभयो,“पहाडी क्षेत्रमा उद्योगको विकासको लागि पनि यसले बल पुग्छ । यहाँ सञ्चालनमा रहेको भेनियर उद्योगमा अहिले पनि धेरै जनाले रोजगारी पाइरहेको अवस्था छ । अब प्लाई नै उद्योगसमेत यहीँबाट चलेपछि करिब तीन सय जनाले रोजगारीको अवसर पाउने छन् ।”

    कपिलवस्तुबाट उत्पादन भएको अधिकांश प्लाई अहिले पनि गण्डकी प्रदेशमै खपत हुने गरेको र अब पर्वतबाट उत्पादन हुने प्लाई पनि सोही बजारमा निर्यात हुने अधिकारीले बताउनुभयो । साविकको धौलागिरिसहित दाङ, नेपालगञ्ज, रुकुम, रोल्पा, सल्यान, बुटवल, पोखरा, लमजुङलगायतका जिल्लामा निर्यात हुने गरेकोमा अब पनि सोही जिल्लामा निर्यात हुने छ ।

    अहिलेसम्म पर्वतमा उत्पादित भेनियरलाई कपिलवस्तुमा लगेर प्लाई बनाएर फेरि यतैको क्षेत्रमा ल्याएर बिक्री गरिन्थ्यो । अब भने उत्पादन नै पर्वतबाट हुने भएपछि कच्चा पदार्थको ढुवानीमा लाग्दै आएको खर्च कटौती हुने भएको छ । यसले कम्पनीको मुनाफा बढ्ने र ग्राहकले पाउने दरमा केही सस्तो पर्नेछ ।

    गण्डकी प्रदेशमा यस अगाडि तनहुँको दमौलीमा प्लाइ उद्योग रहेको र पर्वतमा सञ्चालन भएको दोस्रो उद्योग बनेको अधिकारीले बताउनुभयो । तर नेपालको वर्तमान अवस्था, आर्थिक चुनौती र बैंकबाट हुने लगानीको अवस्था हेर्दा उद्योग सञ्चालन चुनौतीपूर्ण रहेको उहाँको भनाइ छ । त्यसमा पनि नेपालको वन ऐनले उद्योग र नागरिक दुवै पक्षलाई समस्यामा पार्दा वनमा काठ कुहिने तर उद्योगले सामग्री नपाउने अवस्थाप्रति उहाँले चिन्ता व्यक्त गर्नुभयो ।

    “नेपालको वन ऐन जटिल रहँदा ढलेर कुहिएका रुख खरिद गर्नसमेत समस्या हुने गरेको छ । आफ्नो जग्गामा भएका उत्तिस लगायतका काठ बिक्री गर्न पनि नागरिकले धेरै चुनौती र खरिदकर्ताले पनि चुनौती भोग्न ुपरेका कारण पनि कति काठ र कुकाठ खेरगइरहेको अवस्था छ”, अधिकारी भन्नुहुन्छ, “यसलाई खेर जान नदिने हो भने किसानले कति आम्दानी गर्न सक्ने मौका छ । गण्डकी प्रदेश सरकारले वन ऐनलाई सहज बनाउँदै काठलाई ताजा तरकारी सरह लिने भनेको भए पनि त्यो अवस्था सहज बनिसकेको छैन ।”रासस

  • जेनजीको जुलुसमा सहभागीले च्याते प्रधानमन्त्री ओलीको फोटो

    जेनजीको जुलुसमा सहभागीले च्याते प्रधानमन्त्री ओलीको फोटो

    २३ भदौ, काठमाडौं ।
    सरकारविरुद्ध प्रदर्शनमा उत्रिएका जेनजीले प्रधानमन्त्री केपी शर्मा ओलीको फोटो च्यातेका छन् ।

    माइतीघरबाट नयाँबानेश्वरतर्फ अघि बढेकाहरुले बबरमहलस्थित नेपाल टेलिकमको कार्यालय अगाडि प्रधानमन्त्री ओलीको फोटो च्यातेका हुन् । पोलमा राखिएको फोटो तल झारेर उनीहरुले च्यातेका छन् ।

    भ्रष्टाचार, बेथिती र सामाजिक सञ्जालमा सरकारले प्रतिबन्ध लगाएको विरोधमा स्व:स्फूर्त सडकमा उत्रिएका युवाहरुको जुलुस माइतीघरबाट नयाँबानेश्वरतर्फ अघि बढेको छ ।

    नयाँबानेश्वरमा प्रहरीले सडकमा ब्यारिकेड राखेर प्रदर्शनकारीलाई रोकेको छ ।

    प्रदर्शनमा सहभागीहरुले सरकारविरुद्ध चर्का नाराबाजी गरेका छन् ।

    उनीहरुलाई विभिन्न राजनीतिक दल, समूह र व्यक्तिहरुले समर्थन गरेका छन् ।

    राष्ट्रिय झण्डा बोकेर सडकमा ओर्लिएका उनीहरुले राष्ट्रभक्ति गाएका छन् । उनीहरुले विभिन्न नारा लेखिएका प्लेकार्डसमेत बोकेका छन् । कतिपय स्कुल–कलेजको ड्रेसमा देखिन्छन् ।

    ‘असन्तुष्टि चरम छ, नेताको गोजी गरम छ’, ‘जेनजी चिच्याउँछ, भ्रष्टहरूलाई गिज्याउँछ’, ‘कता हिंडेको ट्याक्स लुटेर ?’, ‘स्वतन्त्र आवाज हाम्रो अधिकार’, स्टप करप्सन (भ्रष्टाचार रोक) लगायतका नारा लेखेका प्लेकार्ड उनीहरूले बोकेका छन् ।

    सामाजिक सञ्जालमार्फत् गरेको आह्वान अनुसार प्रदर्शनमा उत्रिएका जेनजीले राजनीतिक दलका नेता–कार्यकर्तालाई प्रदर्शनमा सहभागी नगराउने बताएका छन् ।

    प्रदर्शनको क्रममा रुख बिरुवा नभाँच्ने, सार्वजनिक सम्पत्ति नष्ट नगर्ने, आगजनी, तोडफोड नगर्ने, धाकधम्की नदिने, सभ्य र जिम्मेवार भएर प्रस्तुत हुने, नागरिक अधिकार र स्वतन्त्रताको पक्षमा उभिने प्रतिबद्धता समेत जनाएका छन् ।

    उनीहरुले प्रदर्शन शान्तिपूर्ण हुने बताएका छन् । यद्यपि घुसपैठ हुन सक्ने भन्दै सुरक्षाकमीको तैनाथी बढाइएको छ ।

  • सामाजिक सञ्जाल बन्दप्रति संसद् र संसदीय समितिहरू मौन

    सामाजिक सञ्जाल बन्दप्रति संसद् र संसदीय समितिहरू मौन

    २३ भदौ, काठमाडौं ।
    सरकारले दर्ता नभएका विभिन्न २६ वटा सामाजिक सञ्जालका प्ल्याटफर्म बन्द गरेको पाँच दिन भयो ।

    यसप्रति नागरिकस्तरमा आक्रोश छ । जेनजीले देशभर प्रदर्शन नै गरेर सरकारको ध्यानाकर्षण गरेका छन् ।

    तर, समामाजिक सञ्जाल बन्द्रप्रति संसद् र संसदीय समितिहरू मौन रहेका छन् ।

    सभामुख देवराज घिमिरेले दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयलगत्तै संसद्‍को लाइभ प्रसारण र भिडियो आर्काइभ सुरक्षाबारे चासो रोखका छन् ।

    संसद्‍ सचिवालयलाई प्रसारण व्यवस्थापन र सूचना प्रवाहका वैकल्पिक माध्यमको व्यवस्थापनका लागि निर्देशन दिएका छन् ।

    तर, सामाजिक सञ्जाल बन्दको विषयमा भने संसद् र संसदीय समितिमा कुनै प्रकारको छलफल भएको छैन । कुनै पनि समितिले यो विषयलाई विषय मानेर छलफल गर्न आवश्यक ठानेका छैनन् ।

    प्रतिनिधिसभा अन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति नै छ । यो समितिले पनि सामाजिक सञ्जाल बन्दप्रति चासो राखेको छैन ।

    यो समितिको बैठक सोमबार बिहान साढे ११ बजे बस्दैछ । बैठकको कार्यसूचीमा ‘स्वास्थ्य सम्बन्धी समसामयिक विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग छलफल’ गर्ने रहेको छ ।

    प्रतिनिधिसभा अन्तर्गत १० वटा विषयगत समिति रहेका छन् । राष्ट्रिय सभा अन्तर्गत चार वटा विष्यागत समिति छन् । दुई वटा संयुक्त समिति छ । १६ वटै समितिले सामाजिक सञ्जाल बन्दको विषयलाई छलफलको विषय बनाएका छैनन् ।

    प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठकमा पनि यो विषय एजेण्डाको रुपमा प्रस्तुत भएको छैन । आज दिउँसो सवा १ बजे राष्ट्रिय सभाको बैठक बस्दैछ । प्रतिनिधिसभाको बैठक पर्सि बस्दैछ ।