Blog

  • सुन-चाँदी दुवैको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

    सुन-चाँदी दुवैको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं,भदौ २७-
    स्थानीय बजारमा शुक्रबार (आज) सुन र चाँदी दुवैको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला एक हजार छ सय रूपैयाँले बढेको हो।

    शुक्रबार सुन प्रतितोला २ लाख १५ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ। बिहीबार सुन प्रतितोला २ लाख १४ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, शुक्रबार चाँदी प्रतितोला ६० रूपैयाँले बढेको छ। बिहीबार प्रतितोला २५ सय पाँच रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार तोलाको दुई हजार पाँच सय ६५ रूपैयाँ पुगेको छ।

    अन्तराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ३६ सय ५६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

  • शीतलनिवासको छलफल केही घण्टाका लागि सारियो

    शीतलनिवासको छलफल केही घण्टाका लागि सारियो

    २७ भदौ, काठमाडौं ।
    अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्ति प्रक्रियाबारे राष्ट्रपति निवासमा आज बिहान ९ बजेका लागि तय भएको छलफल कार्यक्रम केही घण्टाका लागि सरेको छ ।

    स्रोतका अनुसार वार्तामा रहेकाहरुले आ–आफ्नो पक्षमा आन्तरिक छलफल गर्नुपर्ने भएकाले केही घण्टाका लागि समय सारिएको हो ।

    राष्ट्रपति रामचन्द्र पौडेलले गएराति अबेरसम्म पनि विभिन्न पक्षसँग छलफल गरेका थिए ।

    दलहरुले संसद विघटन नगरी नयाँ प्रधानमन्त्री तय गर्नुपर्ने विचार राखेका छन् । आन्दोलनरत पक्ष जेनजीले संसद विघटनको पक्षमा छ । संविधान अनुसार संसदको सदस्य नभएको व्यक्ति प्रधानमन्त्री हुन नसक्ने व्यवस्था छ ।

    आन्दोलनरत पक्ष र दलहरु पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउन सहमत भएका छन् । तर, संसदले अनुमोदन गर्ने विधिमा सहमति जुट्न सकेको छैन ।

  • इजरायलद्वारा ७२ घण्टामा ६ देशमा आक्रमण, २०० जनाको मृत्यु

    इजरायलद्वारा ७२ घण्टामा ६ देशमा आक्रमण, २०० जनाको मृत्यु

    काठमाडौं,भदौ २७-

    हमासको आक्रमणपछि शुरू भएको युद्धले सम्पूर्ण पश्चिम एसियालाई हल्लाएको छ। इजरायलको बमबारी गाजामा मात्र सीमित छैन । पछिल्लो ७२ घण्टाभित्र, इजरायली सेनाले एकैसाथ ६ मुस्लिम देशहरूलाई निशाना बनाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । यी आक्रमणहरूमा लगभग २०० जनाको मृत्यु भएको छ र एक हजारभन्दा बढी मानिसहरू घाइते भएको समाचारमा उल्लेख छ ।

    कतारदेखि यमन, लेबनानदेखि सिरियासम्म इजरायली आक्रमण भएको छ । ट्युनिसिया र गाजा पनि इजरायली आक्रमणको आगो सल्केको छ । इजरायलले आतंकवादी लुकेका ठाउँहरूलाई मात्र निशाना बनाएको दाबी गरेको छ, जबकि प्रभावित देशहरूले यसलाई आफ्नो सार्वभौमिकतामाथिको आक्रमण भन्दै आएका छन् ।

    मंगलबार इजरायली सेनाले दोहा (कतारको राजधानी)मा हवाई आक्रमण गरेको थियो। लक्षित हमासका शीर्ष नेता खलील अल–हय्या थिए। आक्रमणमा उनका छोरा, कार्यालय निर्देशक, तीन गार्ड र एक कतारी सुरक्षा अधिकारीसहित ६ जनाको मृत्यु भएको थियो । त्यतिबेला हमासका नेताहरू अमेरिकी युद्धविराम प्रस्तावबारे छलफल गरिरहेका थिए।

    सोमबार इजरायली विमानहरूले बेका र हर्मेल जिल्लाहरूमा हवाई आक्रमण गरे। यसमा ५ जनाको मृत्यु भयो । मंगलबार इजरायली ड्रोनले हिज्बुल्लाह सदस्यमाथि आक्रमण गरेको थियो । नोभेम्बर २०२४ मा युद्धविराम भए पनि इजरायलले लेबनानमा आक्रमण जारी राखेको छ। इजरायली लडाकु विमानहरूले सिरियाको हवाई सेना अड्डा र सेना शिविरमा आक्रमण गरेका छन् । मानव अधिकारका लागि सिरियन अब्जर्भेटरीले कुनै हताहत नभएको रिपोर्ट गरेको छ । सिरियाले यसलाई सार्वभौमिकताको उल्लङ्घन भनेको छ

    इजरायली ड्रोनहरूले सोमबार ट्युनिसिया बन्दरगाहमा एउटा पारिवारिक डुङ्गालाई निशाना बनाए । जहाजमा ६ जना सवार थिए, जो पोर्चुगिज झण्डा बोकेर यात्रा गरिरहेका थिए। कोही पनि मारिएन । मंगलबार बेलायती झण्डा बोकेको जहाजमा पनि आक्रमण गरिएको थियो । इजरायलले २०१० देखि गाजा जाने जहाजहरूमा निरन्तर ड्रोन आक्रमण गर्दै आएको छ। बुधबार, इजरायलले साना विमानस्थलमा हवाई आक्रमण गर्‍यो । यसअघि, अगस्ट २८ मा भएको आक्रमणमा हुथी प्रधानमन्त्री अहमद अल–राहवीसहित १० जनाको मृत्यु भएको थियो। सोमबार, गाजामा १५० जनाको मृत्यु र ५४० जना घाइते भएका थिए । २०२३ देखि गाजामा ६४, हजार ६०० भन्दा बढी प्यालेस्टिनीहरू मारिएका छन् । गाजा क्षेत्रको लगभग ७५ प्रतिशत भूभाग अहिले इजरायली कब्जामा छ । हजारौं मानिसहरू भोकमरी र भग्नावशेषबाट मरेका छन्। संयुक्त राष्ट्र संघ र धेरै देशहरूले चिन्ता व्यक्त गरेका छन्, तर जमिनमा कुनै हस्तक्षेप भएको छैन ।

     

  • विहीबार एकैदिन १४१ एनओसी जारी, अनलाइनबाट सेवा

    विहीबार एकैदिन १४१ एनओसी जारी, अनलाइनबाट सेवा

    २७ भदौ, काठमाडौं ।
    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बिहीबार एकैदिन १४१ वटा एनओसी जारी गरेको छ । विदेशमा उच्च शिक्षा अध्ययनका लागि जान चाहने विद्यार्थीलाई मन्त्रालयको सानोठिमीस्थित शाखाले एनओसी जारी गरेको हो ।

    शाखा प्रमुख वासुदेव वस्तीका अनुसार १४१ एनोसी जारी गरेको, ८ वटा पुरानो रद्द गरेको र एउटा प्रोभिजनल एनओसी दिइएको छ । ‘कसैको शुल्क तिर्नुपर्ने हुन्छ । पैसा खर्च गरेर पढ्न जान लागेको हुन्छ । एनओसीका कारण विद्यार्थीलाई असहज नहोस् भनेर काम गरिरहेका छौँ,’ उनले भने ।

    शाखाले ४६९ वटा सत्यापन र २५८ वटा एनओसी कागजात नपुगेर रद्द गरेको छ । हिजो बेलुका ८ बजेसम्म अनलाइनमा एनओसीका लागि ११८ जनाले आवेदन दिएका छन् ।

    शाखाले अनलाइनबाट काम गरिरहेको छ । ‘आवश्यक पर्‍यो भने अतिरिक्त समय दिएर काम गर्छौं । विद्यार्थीलाई असर नपर्ने गरी छिटो सेवा दिइरहेका छौँ । शनिबार पनि काम गर्न तयार छौं’ उनले भने ।

  • अन्तरिम सरकार गठनबारे शुक्रबार बिहानदेखि पुन: छलफल

    अन्तरिम सरकार गठनबारे शुक्रबार बिहानदेखि पुन: छलफल

    काठमाडौं भदौ २७
    पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठनको विषयमा शुक्रबार पनि छलफल हुने भएको छ ।

    राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाका प्रधानसेनापति अशोक सिग्देलको समन्वयमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र संविधानविद्हरुको उपस्थितिमा विहीबार दिनभर र रातभर छलफल गरेका थिए ।

    सो छलफलमा संसद विघटन गर्ने कि नगर्ने भन्नेमा सहमति नजुटेपछि निष्कर्षमा पुग्न नसकेको हो । त्यसैले आज शुक्रबार बिहान ९ बजेबाट पुन: छलफल सुरु हुन लागेको हो ।

    पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री वा मन्त्रिपरिषद अध्यक्ष नियुक्त गर्ने विषयमा भने सहमति जुटिसकेको स्रोत बताउँछ

  • सुशीला कार्कीलाई सरकार प्रमुख बनाउने मध्यरातमा सहमति

    सुशीला कार्कीलाई सरकार प्रमुख बनाउने मध्यरातमा सहमति

    काठमाडौँ भदौ २७
    शीतल निवासमा जारी छलफलमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व दिने सहमति बनेको छ।

    बिहिबार राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा शितल निवासमा जारी बैठकमा सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व हस्तान्तरण गर्ने सहमति भएको हाे ।

    यसअघि जेन-जी समूहकाेतर्फबाट पनि कार्कीको नाम सिफारिस गरिएको थियो। छलफलमा राष्ट्रपति पौडेल, प्रधानसेनापति अशाेकराज सिग्देल , सुशीला कार्की, कानुनविद् ओमप्रकाश अर्याल लगायत सहभागी रहेका छन्।

    वार्तामा संसद् विघटनको विषयमा मतभेद देखिए पनि संविधानअनुसार कसरी अघि बढ्ने भन्नेबारेमा चर्चा भएको बुझिएको छ।

  • सेनाको सुरक्षामा रहेका शीर्ष नेताहरूमाथि अघोषित नजरबन्द, सेनाले मध्यरातसम्म बाेल्ड निर्णय लिने संकेत

    सेनाको सुरक्षामा रहेका शीर्ष नेताहरूमाथि अघोषित नजरबन्द, सेनाले मध्यरातसम्म बाेल्ड निर्णय लिने संकेत

    काठमाडौँ, २६ भदौः
    नेपाली सेनाको सुरक्षामा रहेका कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीसहित निवर्तमान मन्त्रिमण्डलका सदस्य र शीर्ष नेताहरू अघोषित नजरबन्दमा परेका छन् ।

    उनीहरूको मोबाइल फोन स्वीच अफ गर्न लगाइएको बाहिरबाटै उनीहरूको सम्पर्कमा रहेका दलका नेताहरूको भनाइ छ ।

    दिउँसोसम्म सम्पर्कमा रहेका नेताहरूसँग एकाएक सम्पर्क विच्छेद भएको उनीहरूले बताएका छन् ।

    अन्योल बढिरहेको बेला शान्ति सुरक्षा कायम गर्न र थप स्थिति बिग्रिन नदिन सेनाले मध्यरातसम्म बोल्ड कदम चाल्ने अनुमान गरिएको छ ।

  • संविधान, गणतन्त्र, लोकतान्त्रिक मूल्य र मान्यतामा कसैसँग सम्झौता हुँदैनः रास्वपा

    संविधान, गणतन्त्र, लोकतान्त्रिक मूल्य र मान्यतामा कसैसँग सम्झौता हुँदैनः रास्वपा

    काठमाडौं, २६ भदौः 
    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संविधानको मर्म, सङ्घीय गणतान्त्रिक शासन व्यवस्था, लोकतान्त्रिक मूल्य र मान्यतामा कसैसँग सम्झौता गर्न नसकिने बताएको छ ।

    रास्वपाले आज तीन बुँदे तात्कालीन प्र्रस्ताव जारी गर्दै नेपालको संविधानको मर्म, सङ्घीय गणतान्त्रिक शासन व्यवस्था, विधिको शासन, नागरिक सर्वोच्चता, बहुलवाद र मौलिक हकको प्रत्याभूति जस्ता आधारभूत लोकतान्त्रिक मूल्य र मान्यता कसैसँग कहिल्यै सम्झौना नगर्ने स्पष्ट पारेको हाे ।

    कार्यवाहक सभापति डोलप्रसाद अर्यालका नाममा जारी प्रस्तावमा राष्ट्रपतिको प्रत्यक्ष पहल र संवादका आधारमा आसन्न संक्रमणकालीन राजनीतिक कोर्सलाई संरक्षकत्व दिनुपर्नेमा जोड दिइएको छ ।

  • चितवनमा दिउँसो निषेधाज्ञा, बेलुकी ८ बजेदेखि बिहान ६ बजे सम्म कर्फ्यू

    चितवनमा दिउँसो निषेधाज्ञा, बेलुकी ८ बजेदेखि बिहान ६ बजे सम्म कर्फ्यू

    चितवन, २६ भदौः
    जिल्ला प्रशासन कार्यालय चितवनले अर्को सुचना जारी नभएसम्मका लागी दिउँसो निषेधाज्ञा  र बेलुकी ८ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यू आदेश जारी गरेको छ ।

    प्रशासनले एक सूचना जारी गरी सम्पूर्ण क्षेत्रहरुमा सो आदेश गरिएको जनाएको छ ।

    जिल्लामा हालको समयमा देखिएको घटनाक्रमबाट हुन सक्ने विरोध प्रदर्शन, तोडफोड तथा शान्ति सुव्यवस्थालाई मध्यनजर गर्दै सो आदेश गरिएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए ।

    सो आदेश जारी गरिएको क्षेत्रमा कसैले आवतजावत गर्न, कुनै प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने आदेशमा उल्लेख छ ।

    कर्फ्यूका अवधिमा एम्बुलेन्स, शववाहन, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीका सवारी साधन भने सञ्चालन गर्न पाइनेछ ।

  • नवलपरासी कारागारबाट भागेका कैदीलाई फर्किन स्थानीय प्रशासनको निर्देशन

    नवलपरासी कारागारबाट भागेका कैदीलाई फर्किन स्थानीय प्रशासनको निर्देशन

    नवलपरासी, २६ भदौः
    स्थानीय प्रशासनले नवलपरासी कारागारबाट बुधबार भागेका कैदीबन्दीलाई अविलम्ब फर्किन निर्देशन दिएको छ ।

    जिल्ला प्रशासन कार्यालयले आज एक सूचना जारी गर्दै उनीहरूलाई कारागार फर्कन निर्देशन दिएको हो ।

    हिजो ५४३ कैदी भागेका जानकारी दिँदै प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीले केही कैदी फर्कनेक्रम जारी रहेको बताउनुभयो ।

    यो समाचार तयार पार्दासम्म पाँच जना कैदी सम्पर्कमा आएका छन् ।