Blog

  • भागेका १६६ कैन्दीबन्दी सुरक्षाकर्मीको नियन्त्रणमा

    भागेका १६६ कैन्दीबन्दी सुरक्षाकर्मीको नियन्त्रणमा

    मकवानपुर २६ भदौः
    देशका विभिन्न कारागारबाट भागेका १६६ कैन्दीबन्दीलाई सुरक्षाकर्मीले पक्राउ गरेका छन् ।

    नेपाली सेना ,सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले जिल्लाका विभिन्न भागबाट आज उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

    जिल्ला प्रहरी कार्यालयका अनुसार भीमफेदी कारागारबाट भागेका ४४० जना मध्ये ७८, जिल्लाको बालसुधार गृहबाट भागेका ७२ मध्ये चार ,नक्खु कारागारका सात, केन्द्रीय कारागारका दुई जना,कास्की कारागारका एक,तनहुँका दुई, कारागार पहिचान नभएका ३५ जनालाई पक्राउ गरिएको हो ।

  • संवैधानिक प्रबन्ध अनुसार निकासको पहल गर्न पूर्वराष्ट्रपति भण्डारीको अपील

    संवैधानिक प्रबन्ध अनुसार निकासको पहल गर्न पूर्वराष्ट्रपति भण्डारीको अपील

    २६ भदौ, काठमाडौं ।
    पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले अहिलेको राजनीतिक परिस्थितिको सही निकासका लागि संविधानको भावना र मर्मलाई आत्मसात गर्दै पलहकदम अघि बढाउन राष्ट्रपति रामचन्द्र पौडेलसँग आग्रह गरेकी छन् ।
    उनले बुधबार वक्तव्य जारी गर्दै अहिलेको अवस्थामा राष्ट्रपति, प्रतिनिधिसभाका सभामुखको समन्वयका आधारमा वैधानिक प्रक्रियामार्फत अर्को मन्त्रिपरिषद् गठन प्रक्रिया अगाडि बढ्नु पर्ने उल्लेख गरेकी छन् ।

    ‘जस्तोसुकै विषम राजनीतिक परिस्थितिमा पनि यसको सही निकास निकाल्न संविधानको मर्म र भावनालाई आत्मसात गर्दै संवैधानिक प्रावधान अनुसार अगाडि बढ्नु पर्दछ’ उनले भनेकी छन्,’प्रधानमन्त्रीले राजीनामा दिएर राष्ट्रपतिले स्वीकृत गरेपछिको अवस्थामा सरकार काम चलाउ छ, तर हामीसँग मुलुकको संविधान बमोजिम गठित राष्ट्रपति र जननिर्वाचित संसद जस्ता संस्थाहरू कायम नै छन् ।’

    अहिलेको अवस्थामा राष्ट्रपति, प्रतिनिधिसभाका सभामुखको समन्वयका आधारमा वैधानिक प्रक्रियामार्फत अर्को मन्त्रिपरिषद् गठन प्रक्रिया अगाडि बढ्न सक्ने भएकाले राष्ट्रपतिले यो पहलकदमी लिनु आवश्यक रहेको भण्डारीको धारणा छ ।

    ‘संविधानभित्रबाट नै वर्तमान राजनीतिक समस्याको समाधान निकाल्नु पर्दछ। यसो गरिरहँदा आन्दोलनकारी जेन जी पुस्ताको माग र चाहनालाई अभिव्यक्त गर्ने कुरामा गम्भीरतापूर्वक ध्यान पुऱ्याउनु पर्दछ’ उनले भनेकी छन् ।

    पूर्वराष्ट्रपतिको विज्ञप्तिको पूर्णपाठ
    ‘जेनेरेशन जेड’का नव पुस्ताले सामाजिक सञ्जालमाथिको प्रतिबन्ध फुकुवा, भ्रष्टाचारको अन्त्य र सुशासनको मागसहित गत सोमबार गरेको प्रदर्शनको क्रममा प्रहरीको गोली लागि १९ जना युवाहरूको निधन भएको घटनाको भोलिपल्टै देशव्यापीरूपमा भड्किएको हिंसा, आगजनी, तोडफोड, लुटपाट र कुटपिट लगायतका ध्वंसात्मक गतिविधिहरूका कारण मुलुक स्तब्ध भएको छ।

    अहिलेसम्म ३४ जनाको ज्यान जानुका साथै हजारौं घाइते भएका छन् ।
    यस पटनामा परी निधन भएका आन्दोलनकारी युवा, सर्वसाधारण र सुरक्षाकर्मी सबैप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारमा समवेदना प्रकट गर्दछु ।

    साथै, घटनामा परी घाइते भएका सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै घाइतेहरूको निःशुल्क र प्रभावकारी उपाचारको व्यवस्था मिलाउनु पर्ने विषयमा जोड दिन चाहन्छु।

    आधुनिक राजनीतिक प्रणालीमा लोकतन्त्र, मानव अधिकार, कानुनी शासन, नागरिक अधिकारजस्ता मानव सभ्यताले विकास गरेका राज्य सञ्चालनका आधारभूत प्रस्थापनाहरूलाई सधैं आत्मसात गर्ने पर्दछ। यी विषयहरू मानव समुदायका आदर्श नै हुन् ।

    आजको नयाँ पुस्ता जो शिक्षित छ र आधुनिक विज्ञान तथा प्रविधिमा जानकारी राखेर त्यसको अभ्यासमा समेत पोख्त छ, उसले लोकतन्त्रका मूलभूत मान्यताहरूलाई स्वीकार गर्दै आर्थिक समृद्धि सहितको सुन्दर भविष्य बनाउने अठोट गर्नु खुसीको विषय हो।

    भविष्य नव पुस्ता र युवा पुस्ताकै हो, किनकी उसँग मुलुक निर्माण गर्ने लामो समय रहेको हुन्छ। त्यसैले हामीले नव पुस्ता र युवा पुस्ताको असल जुर्मुराहट, देश विकास गर्ने आँट, सुशासन र पारदर्शीता कायम गर्ने संकल्पलाई सही दिशामा उन्मुख गराउनका लागि भूमिका निर्वाह गर्ने पर्दछ। यसका लागि स्वयं युवा पुस्ता पनि सुझबुझपूर्ण ढङ्गले अग्रसर बन्नु पर्दछ।

    शान्तिका अग्रदूत गौतम बुद्ध जन्मेको हाम्रो देशमा किन बारबार इन्द्र र हिंसा भइरहेको छ ? एकैदिन एकै समयमा किन राष्ट्रपति भवन, संसद भवन, मुलुकको प्रशासिक केन्द्रको रूपमा रहेको ऐतिहासिक सिंहदरबार, न्याय सम्पादनको उपल्लो निकाय सर्वोच्च अदालत जल्छन्, अँगार हुन्छन् खरानी हुन्छन् ? हाम्रा ऐतिहासिक, पुरातात्विक र सांस्कृतिक सम्पदामाथि किन आगो लगाइन्छ।

    देशका जिम्मेवार राजनीतिक नेतृत्वका पर आवास, हाम्रो देशका उद्योग व्यवसाय, सार्वजनिक सम्पत्तिमा तोडफोड र आगजनी किन र कसरी एकै समयमा भएको हो? ‘जेन जी’ पुस्ताका प्यारा भाइबहिनीहरूलाई म गम्भीरतापूर्वक ध्यानाकर्षण गराउँछु। यसको जवाफ खोज्न समेत सम्बद्ध सबैमा हार्दिक आव्हान गर्दछु।

    नेपाली जनताले लोकतान्त्रिक प्रणाली एवं गणतन्त्रको स्थापनाका लागि बलिदानीपूर्ण संघर्ष गरेको गौरवाशाली इतिहास छ। लामो राजनीतिक संक्रमणकाललाई समाप्त पार्दै दिगो शान्ति र राजनीतिक स्थायित्व कायम गरेर सामाजिक न्याय र समानतामा आधारित विकसित नेपाल बनाउने हेतुले जननिर्वाचित संविधानसभाले बनाएको नेपालको संविधान २०७२ हाल कार्यान्वयनमा रहेको छ।

    नेपाली जनताको त्याग, समर्पण र बलिदानको प्रतीकको रूपमा रहेको यो संविधान एउटा उत्कृष्ट संविधान समेत हो।

    त्यसैले जस्तोसुकै विषम राजनीतिक परिस्थितिमा पनि यसको सही निकास निकाल्न संविधानको मर्म र भावनालाई आत्मसात गर्दै संवैधानिक प्रावधान अनुसार अगाडि बढ्नु पर्दछ।

    प्रधानमन्त्रीले राजीनामा दिएर राष्ट्रपतिले स्वीकृत गरेपछिको अवस्थामा सरकार काम चलाउ छ, तर हामीसँग मुलुकको संविधान बमोजिम गठित राष्ट्रपति र जननिर्वाचित संसद जस्ता संस्थाहरू कायम नै छन्। त्यसकारण, अहिलेको अवस्थामा राष्ट्रपति, प्रतिनिधिसभाका सभामुखको समन्वयका आधारमा वैधानिक प्रक्रियामार्फत अर्को मन्त्रिपरिषद गठन प्रक्रिया अगाडि बढाउनु पर्दछ।

    यस प्रक्रियामा सम्माननीय राष्ट्रपतिले पहलकदमी लिनु पर्दछ। संविधानभित्रबाट नै वर्तमान राजनीतिक समस्याको समाधान निकाल्नु पर्दछ। यसो गरिरहँदा आन्दोलनकारी जेन जी पुस्ताको माग र चाहनालाई अभिव्यक्त गर्ने कुरामा गम्भीरतापूर्वक ध्यान पुऱ्याउनु पर्दछ।

    हाम्रो देश नेपाल र यसको सार्वभौमिकता, अखण्डता र स्वाधीनता हामीलाई प्राणभन्दा प्यारो छ। राष्ट्र र राष्ट्रियताप्रति हामीलाई असाध्यै गर्व छ।

    देशप्रेमको भावना हाम्रो नशा नशामा छ। हाम्रा बहादुर पुर्खाको समर्पण र त्यागले नै हामीले आफूलाई नेपाली भन्न पाएका हौं।

    सदा स्तुत्य हाम्रा पुर्खाको नासोको रूपमा रहेको प्राकृतिक स्रोत, सम्पदा र सुन्दरताले भरिपूर्ण यस देशको विकास गरेर विश्वसामु सर्वोच्च शीखर सगरमाथा भएको एउटा समृद्ध मुलुक बनाउने संकल्प साकार पार्न संवैधानिक तथा कानुनी प्रावधान एवम् राज्यका नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्नु चुनौती बनेको छ।

    यसका लागि सबै राजनीतिक दलहरूले विगतको गम्भीर समीक्षा गरी मुलुकको आर्थिक नीति, योजना र कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्ने पर्दछ।

    राजनीतिक दल एवम् यसका नेता, कार्यकर्ता र सदस्यको ठुलो परीक्षा विषम राजनीतिक परिस्थिति उत्पन्न हुँदा नै हुने हो।

    एउटा लोकतान्त्रिक र क्रान्तिकारी राजनीतिक व्यक्तिले अप्ठ्यारो राजनीतिक अवस्था उत्पन्न भयो भन्दैमा पलायन हुने, निष्क्रिय हुने र आदर्श प्रतिकूल हुने टिका टिप्पणी गर्न सुहाउँदैन। पार्टीहरूले संस्थागत ढङ्गले आफ्नो दृष्टिकोण स्पष्ट गरी पार्टीभित्रको एकता, हार्दिकता र समन्वयलाई बलियो बनाएर सहयात्री राजनीतिक दलसँग समेत सामन्जस्यता कायम राख्दै मुलुकलाई सही दिशामा हिँडाउन दृढ अठोट गर्नु पर्दछ। यस विषयमा सम्बद्ध सबैको धप ध्यान पुनेछ भन्ने मलाई लागेको छ।

    म विश्वास गर्दछु, सामाजिक सञ्जाल बन्द गरिंदा निस्सासिएको नेपाली समाजलाई जीवन उत्सर्ग गरेर फेरि स्वतन्त्रताको परिवेशमा फिर्ता ल्याउने ‘जेन-जी’ ले परिकल्पना गरेको नेपाल अझ बढी लोकतान्त्रिक र अग्रगामी नै हुनेछ।

    यस सन्दर्भमा ‘जेन-जी’ को उत्साहलाई लोकतान्त्रिक व्यवस्थामाथि पात पर्ने गरी कुनै निर्णय गरिनु हुँदैन र नागरिक सर्वोच्चतामा चोट पुऱ्याउनु हुँदैन भन्नेमा पुनः जोड दिन चाहन्छु।

    यस्तो कठिन परिस्थितिमा पनि धैर्यता, संयम र सहज परिवेशको आशा लिनुहुने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइप्रति आभार प्रकट गर्दछु। साथै, शान्ति तथा अमनचयन कायम गर्न अहोरात्र खटिरहने नेपाली सेना लगायत सुरक्षा निकायको सराहना गर्दछु।

    धन्यवाद

  • रामकुमारीको प्रस्ताव : पूर्व प्रधानमन्त्रीहरूलाई सक्रिय राजनीतिबाट बिदा दिऔं

    रामकुमारीको प्रस्ताव : पूर्व प्रधानमन्त्रीहरूलाई सक्रिय राजनीतिबाट बिदा दिऔं

    २६ भदौ, काठमाडौं ।
    एकीकृत समाजवादीको नेतृ रामकुमारी झाँक्रीले पूर्व प्रधानमन्त्री सबैलाई सक्रिय राजनीतिबाट बिदा दिनुपर्ने बताएकी छन् ।

    सामाजिक सञ्जालमा विचार राख्दै झाँक्रीले राष्ट्रपति रामचन्द्र पौडेललाई सार्वजनिक गर्नुपर्ने माग समेत गरेकी छन् । राष्ट्रपति पौडेललाई नयाँ सरकार गठनमा भूमिका विहिन बनाइएको भन्दै आवाज उठ्न थालेको छ ।

    झाँक्रीले राजनीतिक पार्टीहरूको व्यापक पुनर्गठनको आवश्यकता रहेको बताइन् । उनी भन्छिन्, ‘जेनजीका भ्रष्टाचार नियन्त्रण लगायतका उचित माग पुरा गरौं । सबै समस्याको समाधान चालु संविधानबाटै खोजौं ।’

  • सर्वोच्च अदालत आगामी साताबाट आंशिक रुपले चल्ने

    सर्वोच्च अदालत आगामी साताबाट आंशिक रुपले चल्ने

    २६ भदौ, काठमाडौं ।
    अर्को आइतबारदेखि सांकेतिक रुपमा सर्वोच्च अदालतले आफ्नो सेवा सुरु गर्ने भएको छ ।

    सर्वोच्च अदालतका सबै न्यायाधीश सम्मिलित पूर्ण बैठक (फूल कोर्ट)ले आगामी आइतबारदेखि बन्दीप्रत्यक्षीकरणको निवेदनहरु हेर्न थाल्ने जनाएको हो ।

  • नख्खु कारागारबाट भागेका सञ्जय टक्ला पक्राउ

    नख्खु कारागारबाट भागेका सञ्जय टक्ला पक्राउ

    २६ भदौ, काठमाडौं ।
    ललितपुरस्थित नख्खु कारागारबाट भागेका सञ्जय साह टक्ला पक्राउ परेका छन् ।

    टक्लालाई काभ्रेबाट पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दियो । इलाका प्रहरी कार्यालय मंगलटारको टोलीले टक्लालाई पक्राउ गरेको हो ।

    उनलाई अब कैद भुक्तानका लागि कारागार पठाउने तयारी गरिएको छ ।

    जेनजीको प्रदर्शनको क्रममा नख्खु कारागारबाट उनी भागेका थिए । सहकारी ठगी आरोपमा पुर्पक्षका लागि नख्खु कारागारमा रहेका रवि लामिछानेलाई सुरुमा कारागारबाट निकालिएको थियो । त्यसको केही समयमा टक्लासहित सबै कैदी कारागारबाट भागेका थिए । उनीहरुले कारागारमा आगजनी समेत गरेका थिए ।

    उनी १२ वर्षदेखि कारागारमा थिए । पूर्वराज्यमन्त्री समेत रहेका उनी जन्मकैदको सजाय भोग्दै थिए ।
    १८ वैशाख २०६९ मा जनकपुरको रामानन्द चोकमा ५ जनाको ज्यान जाने गरी भएको वम विष्फोट घटनाको मुख्य नाइकेको अभियोगमा उनी सजाय काटिरहेका थिए । अदालतको आदेशमा, उनलाई जनकपुरको रेडियो टुडेका सञ्चार उद्यमी अरुण सिंहानियाको हत्या काण्डको पनि मुख्य योजनाकार पनि भनिएको छ ।

  • संवैधानिक दायरा भित्रबाटै समस्याको समाधान खोज्न राष्ट्रपतिको अपिल

    संवैधानिक दायरा भित्रबाटै समस्याको समाधान खोज्न राष्ट्रपतिको अपिल

    काठमाडौँ, भदौ २५
    राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको वर्तमान विषम परिस्थितिमा संवैधानिक दायरा भित्र रहँदै समस्याको समाधान खोज्न सबै पक्षलाई अपिल गरेका छन्। राष्ट्रपतिबाट आज जारी गरिएको सन्देशमा आन्दोलनकारी नागरिकहरूको माग सम्बोधन गर्दै मुलुकमा लोकतन्त्रको संरक्षण तथा शान्ति–सुरक्षा कायम गर्न आफू निरन्तर विचार–विमर्शमा रहेको जनाएका छन्।

    ‘आन्दोलनकारी नागरिकहरूको माग सम्बोधन गर्न ढिला नगरी छिटो समाधानको बाटो खोज्नुपर्ने आवश्यकता छ,’ सन्देशमा लेखिएको छ, ‘मुलुकमा शान्ति–सुरक्षा कायम राख्न सबै पक्षले समयानुकूल सहयोग गर्नुपर्नेछ।’

  • मनसुनी वायु थप सक्रिय, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

    मनसुनी वायु थप सक्रिय, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

    काठमाडौँ भदौ २६
    हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थान वरपर र पश्चिममा सरदर भन्दा केही उत्तरतिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    जसको प्रभावले देशभर साधरणतया बदली रहेको छ । मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

    आज दिउँसो देशभर साधरणतया बदली रहनेछ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भूभागका केही स्थानहरूमा र बाँकी तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

    आज राति देशभर साधरणतया बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी पहाड र तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको पहाड र तराई मधेस प्रदेश, गण्डकी प्रदेशको र लुम्बिनी प्रदेशका तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

    कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकोले आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ

  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरूको भीड

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरूको भीड

    काठमाडौँ, २५ भदौ :
    आन्दोलनका कारण मङ्गलबार दिउँसोदेखि बन्द भएको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल बुधबार साँझदेखि सञ्चालन भएपछि अहिले यात्रुहरूको भीड लागेको छ ।

    विमानस्थल सुरक्षा समितिको बैठकले बन्द गरिएको विमानस्थल आज साँझदेखि पुनः सञ्चालन गर्ने निर्णय गरेपछि अहिले विदेश जाने यात्रुहरूको भीड बढेको विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेले जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो, “आन्दोलनका कारण मङ्गलबार दिउँसो ३ः३० बजेदेखि विमानस्थल बन्द गरिएको थियो । आजदेखि पुनः सञ्चालन गरिएपछि अहिले यात्रुहरूको भीड बढेको हो ।”

    विमानस्थल सञ्चालनमा आएपछि काठमाडौँ विमानस्थल प्रशासनले यात्रुहरूलाई आफ्ना टिकट किनेका एजेन्सी वा सम्बन्धित वायुसेवासँग सम्पर्क गरेर मात्रै विमानस्थलमा आउन आग्रह समेत गरेको छ ।

  • देशभरिका अस्पतालमा ३० जनाको मृत्यु र एक हजारबढी घाइते

    देशभरिका अस्पतालमा ३० जनाको मृत्यु र एक हजारबढी घाइते

    काठमाडौँ, २५ भदौ :
    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेनजी अहिलेसम्म अस्पतालमा हिंसात्मक प्रदर्शनमा परी ३० जनाको मृत्यु र एक हजारभन्दा बढी घाइतेहरूको उपचार भएको जनाएको छ ।

    मन्त्रालयका सचिव डा विकास देवकोटाका अनुसार देशभरिका २९ अस्पतालमा ३० जनाको मृत्यु र एक हजार ६१ जनाको उपचार भएको छ । उहाँले मन्त्रालयले विभिन्न अस्पतालमा सम्पर्क गरी प्राप्त भएको विवरण सार्वजनिक गरेको बताउनुभयो । यो सङ्ख्या जेनजी पुस्तामा भएको हिंसात्मक प्रदर्शनमा भएको घटनाको हो ।

    निजामती कर्मचारी अस्पतालमा छ जना, राष्ट्रिय ट्रमा सेन्टरमा आठ जना, एभरेष्ट अस्पतालमा तीन जना, काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा दुई जना, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा एक जना, फ्रन्टलाइन अस्पतालमा तीन जना, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा दुई जना र भेरी अस्पतलालमा पाँच गरी ३० जनाको निधन भएको छ ।

    यस्तै अहिले २७४ जना घाइतेको भर्ना भई उपचार भइरहेको छ । यस्तै ५६ जना ५६ जनालाई एक अस्पतालबाट अर्को अस्पतालमा रिफर र ७१९ जना उपचारपश्चात् घर फर्किसकेका छन् ।

    सचिव डा देवकोटाका अनुसार अहिले पनि निजामती कर्मचारी अस्पतालमा ४८ जना, ट्रमासेन्टरमा ५८ जना र वीर अस्पतालमा २० जना, त्रिवि शिक्षण अस्पतालमा २५ र काठमाडौँ मेडिकल कलेज २४, वीरेन्द्र सैनिक अस्पतालमा २६ जनाको उपचार भइरहेको छ ।

    सबभन्दा धेरै उपचार ४३६ जना निजामती कर्मचारी अस्पताल, ट्रमा सेन्टरमा १६१ जना र एभरेष्ट अस्पतालमा १०९ जनाको घाइतेको उपचार भएको थियो ।

  • सुशीला कार्कीलाई बालेनको समर्थन

    सुशीला कार्कीलाई बालेनको समर्थन

    २५ भदौ, काठमाडौं
    नयाँ सरकारको नेतृत्वका लागि जेनजी पुस्ताले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रस्ताव गरेसँगै काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले पनि यसप्रति समर्थन जनाएका छन् ।

    जेनजी अभियन्ता रक्षा बमले यसबारे जानकारी दिएकी हुन् । जेनजी पुस्ताहरूको बुधबार दिनभरको भर्चुअल बैठकले कार्कीको नाम पारित गरेको थियो । उनको नाममा सर्वाधिक प्रस्ताव आएको थियो । साथै प्रधानसेनापतिसँग भेट्न गएका जेनजी टोलीले पनि कार्कीलाई नै अबको नेतृत्व दिन तयार रहेको जनाइएको छ ।

    महानगरपालिका मेयर बालेन सचिवालयले पनि यसबारे राताेपाटीसँग पुष्टि गरेको छ ।