Blog

  • आज देशका विभिन्न ठाउँमा बिहानैदेखि वर्षा, दिउँसो यी प्रदेशमा हुनेछ धेरै भारी वर्षा

    आज देशका विभिन्न ठाउँमा बिहानैदेखि वर्षा, दिउँसो यी प्रदेशमा हुनेछ धेरै भारी वर्षा

    काठमाडौं,भदौ ३०

    देशका विभिन्न स्थानमा आज पनि वर्षा हुनेछ । काठमाडौंमा बिहानैदेखि वर्षा भइरहेको छ । मध्यमदेखि भारी र धेरै भारी वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणतया बदली रहनेछ । लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागका धेरै तथा तराई भू–भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

    गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा तथा कोसी र वाग्मती प्रदेशको एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको एकदुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ । विभागले राति देशभर साधारणतया बदली रहने बताएको छ । कोसी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा र बाँकी प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

    गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा कोसी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ ।

    हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपासमा छ । अरब सागर तथा बङगालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेकाले धेरै भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ ।

  • आज सोमबार कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् राशिफल

    आज सोमबार कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् राशिफल

    आज मिति वि.सं.२०८२ साल भाद्र ३० गते । सोमबार । ईश्वी सन् २०२५ सेप्टेम्बर १५ तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । वर्षा ऋतु । श्रीशाके १९४७ । आश्विन कृष्णपक्ष । तिथि–अष्टमी, १ घडी ४१ पला, बिहान ६ बजेर ३० मिनेट उप्रान्त नवमी । नक्षत्र–मृगशिरा, १४ घडी ४४ पला, बिहान ११ बजेर ४३ मिनेट उप्रान्त आद्र्रा । योग–सिद्धि, ९ घडी १२ पला, बिहान १० बजेर ५४ मिनेट उप्रान्त व्यातिपात । करण–कौलव, बिहान ६ बजेर ३० मिनेट उप्रान्त तैतिल, बेलुकी ५ बजेर २७ मिनेट उप्रान्त गर । आनन्दादिमा–आनन्द योग । चन्द्रराशि–मिथुन । नवमीश्राद्ध ।

    काठमाडौँमा सूर्योदय बिहान ०५ बजेर ४९ मिनेट । सूर्यास्त बेलुकी ६ बजेर ६ मिनेट । दिनमान ३० घडी ४५ पला ।

    आजको राशिफल

    मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) अर्थ उपार्जनका विभिन्न स्रोतहरू जुट्ने हुनाले पछिसम्म आम्दानी हुने व्यवसायमा लगानी बढाउन सकिनेछ । परिवारका साथ रहेर मिष्टान्न भोजन लिने अवसर मिल्नेछ । व्यापारबाट भनेजस्तो नाफा कमाउन सकिनेछ । आफ्नो प्रिय पात्रलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रसन्न रहनेछ । विवादित विषयहरूको नतिजा तपाईँ आफ्नै पक्षमा आउने हुनाले मन प्रसन्न हुनेछ । राजनीतिमा पद प्राप्तिको योग रहेको छ ।

    बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) अध्ययन अध्यापनमा सुधार भएर जानेछ भने बौद्धिक क्षेत्र फराकिलो भएर जानेछ । आफन्त तथा साथीभाइबाट सुनिने सुखद समाचारले उत्साहित होइनेछ । प्रेमिल जोडी हरुका लागी समय उत्तम रहेको छ । बोलीको प्रभाव बढ्नाले थोरै बोलेर मनग्गे धन आर्जन गर्न सकिनेछ । ग्रामीण क्षेत्रमा कृषि तथा पशुपालन व्यवसायमा लगानी गरी राम्रै आम्दानी गर्न सकिनेछ । खाद्यान्न, होटेल तथा रेस्टुरेन्ट जस्ता क्षेत्रमा लगानी गरी आम्दानी बढाउन सकिनछ ।

    मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन पाइने योग रहेको छ भने पद प्राप्तिको योग रहेको छ । व्यापार व्यवसाय फस्टाएर जाने हुनाले आर्थिक क्षत्रे बलियो हुनेछ । माया प्रेममा नजिक भई भावना साटासाट गर्न सकिनेछ । पढाइ लेखाइमा मन जाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ । सुख दुःखमा साथ दिनेहरू प्रशस्त भेटिने हुँदा मन प्रसन्न रहनेछ ।

    कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) खानपान तथा मौसमको ध्यान नदिए स्वास्थ्यमा समस्या आउन सक्छ ध्यान दिनुहोला । आफन्त तथा अग्रजको स्वास्थ्यमा समस्या आई उपचार खर्च बढ्ने योग रहेको छ । माया प्रेममा धोका हुनेछ भने जीवन साथीसँग मनमुटाब बढ्नेछ । पढाइ लेखाइमा ध्यान नजाँदा अरू भन्दा पछि परिनेछ । विदेशमा उत्पादित सामानको व्यवसाय फस्टाएर जानेछ । विदेशमा बसेर अध्ययन वा काम गर्नेहरूका लागी समय उत्तम रहेको छ ।

    सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) व्यापार तथा वित्तीय क्षेत्रबाट आम्दानी बढ्नेछ । परिवारका इच्छा, आकांक्षा तथा मनोकामना पूर्ति गर्न सकिनेछ । पैतृक धन तथा सञ्चित धनको प्रयोग गर आम्दानीमा वृद्धि गर्न सकिनेछ । अध्ययनमा प्रतिस्पर्धीहरूलाई उछिन्दै अग्र स्थानमा आउन सकिनेछ । प्रेमील जोडीहरूका लागी समय उत्तम रहेको छ । लामो समयदेखि रोकिएर बसेका कामहरू बन्नेछ भने पद प्राप्तिको योग रहेको छ ।

    कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) शुभचिन्तक तथा परिचित व्यक्तिबाट सहयोग जुट्नाले काम गर्न सहज हुनेछ । कार्यक्षेत्रमा राम्रो काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । पुर्खौली धन तथा सम्पत्तिको प्रयोग मार्फत मनग्गे लाभ लिन सकिनेछ । पुराना विवादलाई सल्टाउन तपाईँको महत्त्वपूर्ण भूमिका हुने तथा लोकप्रियता चुलिनेछ । अध्ययनमा मन जानेछ । प्रणय सम्बन्धमा पथ प्रगाढता थपिनेछ । राजनीति तथा सामाजिक क्षेत्रमा राम्रा काम गरी नाम कमाउन सकिनेछ ।

    तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) आकस्मिक धन सम्पत्ति प्राप्त हुनेछ भने नसोचेको धन तथा सम्पत्ति हात लाग्ने योग रहेको छ । समस्याहरूको सजिलै समाधान गरी उपलब्धिमूलक कामहरू गर्न सकिनेछ । अध्ययन अनुसन्धानमा सोचेभन्दा राम्रो प्रगति हुन तथा नयाँ कुरा पत्ता लगाउन सकिनेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने बैक तथा वित्तीय क्षेत्रमा गरिएको लगानी बाट भनेजस्तो प्रतिफल प्राप्त हुनेछ । धार्मिक क्षेत्र तथा मन्दिरतिरको यात्राको तय गर्न सकिनेछ । राजनीति तथा सामाजिक क्षत्रेमा पद प्राप्तिको योग रहेको छ ।

    वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) आफन्त तथा दिदीबहिनीसँग मनमुटाब सिर्जना हुने योग रहेको छ । समय तथा परिस्थिति अनुसार नचल्नाले दुख पाइनेछ । व्यापार व्यवसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ । माया प्रेममा धोका हुनेछ भने दाम्पत्य जीवनमा घटपट आउनेछ । सामान्य स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जानेछ । पढाइ लेखाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिने चिन्ताले सताउनेछ । सवारी साधनको प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला ।

    धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) भौतिक सम्पत्ति तथा बिलासी वस्तुको व्यापार व्यवसायबाट मनग्गे आम्दानी गर्न सकिनेछ । व्यवसायकै सिलसिलामा यात्राको तय गर्न सकिनेछ । माया प्रेमको गाँठो कसिलो भएर जानेछ भने जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । मन परेको मानिसबाट उपहार तथा भौतिक सम्पत्ति हात पार्न सकिनेछ । बौद्धिकताको प्रयोग मार्फत अधिकार स्थापित गर्न सकिनेछ ।

    मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) विवादित विषयहरूबाट निचोड तपाईँकै पक्षमा आउने हुनाले खुसीले उचाइ नाघ्नेछ । पढ्ने लेख्ने काममा अरूलाई पछाडि छोड्दै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । पुराना समस्याहरूबाट छुट्करा पाइने हुनाले मन प्रसन्न हुनेछ । स्वास्थ्य आफ्नै काबुमा हुने हुनाले नयाँ नयाँ काम गर्न सकिनेछ । तपाईँसँग मनमुटाबको भावना राख्ने तथा शत्रुता साध्नेहरू आफै कमजोर हुनेछन् । काम गर्न रकम तथा आर्थिक स्रोतहरू जुट्ने हुनाले व्यापार व्यवसायमा प्रशस्त आम्दानी हुनेछ ।

    कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) उपहार तथा चिट्ठा प्राप्तिको प्रशस्त सम्भावना रहेको छ भने भौतिक सम्पत्तिहरू लाभ हुनेछन् । शिक्षा क्षेत्रसँग सम्बन्धित क्षेत्रमा लगानी बढाउँदा मनग्गे धन कमाउन सकिनेछ । घर परिवारमा नयाँ मानिसको आगमन हुनेछ भने सन्तान तथा छोराछोरीको प्रगति देख्न पाइनेछ । व्यापार व्यवसायमा लगानी गर्दा प्रशस्त आम्दानी हुने हुँदा दैनिक कामहरू सहज रूपमा हुनेछन् भने महत्त्वपूर्ण कामहरू सम्पादन हुनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ भने परिवारमा आत्मीयता झल्कनेछ ।

    मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) सहयोगी तथा प्रतिस्पर्धीहरूले तपाईँको काममा सहयोग नगर्न सक्छन् । पढ्ने लेख्ने काममा समय दिन नसक्दा अरू भन्दा पछि परिनेछ । आर्थिक रूपमा सम्पन्न हुनको लागी चालिएका कदममा बाधा तथा अवरोध हुनेछ । आमा तथा आफन्तसँग सामान्य कुरामा मनमुटाब सिर्जना हुने योग रहेको छ । तर पनि सवारी साधन तथा कृषि क्षेत्रमा काम गर्नेहरूले मनग्गे आम्दानी गर्न सक्नेछन् । अध्ययन वा कामको सवालमा लामो दुरीको यात्राको योग रहेको छ ।

    तपाईँको आजको दिन शुभ रहोस् ।

  • तीन मन्त्रीको टुंगो लाग्यो, भोलि शपथ

    तीन मन्त्रीको टुंगो लाग्यो, भोलि शपथ

    २९ भदौ, काठमाडौं ।
    प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा सहभागी हुने तीन जना मन्त्रीको नाम टुंगो लागेको छ ।

    प्रधानमन्त्री निवास बालुवाटार स्रोतका अनुसार, अर्थ मन्त्रालयमा रामेश्वर खनाल, गृहमन्त्रालयमा ओमप्रकाश अर्याल र ऊर्जा मन्त्रालयमा कुलमान घिसिङको नाम टुंगो लागेको हो ।

    गृहमन्त्री अर्यालले कानुन मन्त्रालयको समेत जिम्मेवारी पाउने भएका छन् ।

    जेन–जी आन्दोलनको दबाबमा निवर्तमान प्रधानमन्त्री केपी ओलीले राजीनामा दिएपछि कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी हुन्। उनी नेपालको इतिहासकै प्रथम महिला प्रधानमन्त्री हुन्।

    कार्कीले प्रधानमन्त्री पदको शपथ लिएलगत्तै प्रतिनिधिसभा विघटन गरिएको छ भने फागुन २१ गते निर्वाचन गर्ने घोषणा भइसकेको छ।

  • चलचित्र भवन सोमबारदेखि खुल्ने

    चलचित्र भवन सोमबारदेखि खुल्ने

    काठमाडौँ, २९ भदौः 
    ‘जेनजी पुस्ता’को आन्दोलनका कारण बन्द रहेका देशभरका चलचित्र भवन सोमबारदेखि खुल्ने भएका छन् ।

    बसेको चलचित्र भवन सञ्चालक तथा चलचित्र वितरकको छाता संस्था नेपाल चलचित्र सङ्घको आज बसेको बैठकले दर्शक र चलचित्र भवनको सुरक्षामा ध्यान दिँदै सञ्चालनमा ल्याउने निर्णय गरेको हो ।

    चलचित्र सङ्घका अध्यक्ष नरेन्द्र महर्जनले तोडफोड र आगजानीबाट ध्वस्त विराटनगरमा रहेको क्युएफएक्सको चलचित्र भवनबाहेक अन्य चलचित्र भवन सोमबारदेखि नियमित रुपमा सञ्चालन हुने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सुरक्षालाई उच्च प्राथमिकता दिँदै हामीले चलचित्र भवन सञ्चालनमा ल्याउन लागेका हौँ । अवस्था सामान्य भएसँगै हामी पनि सामान्य अवस्थमा फर्किन लागेका हौँ ।”

    अध्यक्ष महर्जनले रात्रिकालीन सोलाई सञ्चालन गरे पनि राति १० बजेभित्र चलचित्र भवन बन्द गर्नेगरी सञ्चालन गर्न लागिएको बताउनुभयो । चलचित्र ‘रिमै’, ‘मोहर’ लगायतका नेपालीसँगै केही विदेशी चलचित्र दर्शकले हेर्न पाउनेछन् । दसैँको अवसर पारेर फूलपातीदेखि भने तीन नेपाली चलचित्र प्रदर्शन हुनेछन् ।

    भ्रष्टाचार र बेथितिविरुद्ध जेनजीले २३ भदौमा सुरु गरेको आन्दोलनका क्रममा यही भदौ २४ गते भएको प्रदर्शनमा विराटनगरस्थित क्युएफएक्स, बुटवलस्थित क्युएफएक्स, गोङ्गबुस्थित आइएनआईको ल्होत्से मल र भक्तपुरको क्युएफएक्समा क्षति पुगेको समेत सङ्घले जनाएको छ ।

  • आन्दोलनमा सहभागी कार्यकर्तालाई माओवादीले कारबाही गर्ने

    आन्दोलनमा सहभागी कार्यकर्तालाई माओवादीले कारबाही गर्ने

    काठमाडौँ, २९ भदौः 
    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले ‘जेनजी पुस्ता’को आन्दोलनमा सहभागी भई तोडफोड तथा आगजनीमा संलग्न भएको पुष्टि भएमा आफ्ना नेता तथा कार्यकर्तालाई कारबाही गर्ने भएको छ ।
    पार्टीका उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले आज विज्ञप्ति जारी गरी तोडफोड तथा आगजनीजस्ता गतिविधिमा आफ्नो पार्टीसँग सम्बन्धित कोही कसैको संलग्नता देखिए  कारबाही गर्ने जनाएको छ । माओवादी केन्द्रले तथ्य र प्रमाण फेला परे सरकारले सख्त कारबाही गर्न पनि आग्रह गरेको छ ।
    “हाम्रो पार्टीको कार्यालयहरु, दर्जनौँ नेता, कार्यकर्ता र परिवारका घर तथा अन्य सम्पत्तिमा आगजनी, तोडफोड गर्ने कार्य भएका छन्, त्यो तथ्य जनतासामु प्रस्ट छ, यो तथ्य जनतासामु प्रस्ट हुँदाहुँदै केही व्यक्ति वा समूहले यस्ता ध्वंसात्मक क्रियाकलापमा माओवादी कार्यकर्ताको संलग्नता भनि गरिएको प्रचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ”, विज्ञप्तिमा उल्लेख छ । यस्ता आधारहीन हल्ला फैलाएर हाम्रो पार्टी तथा आन्दोलनलाई कमजोर बनाउनेप्रति सचेत रहँदै त्यस प्रकारका दुष्प्रचारबाट भ्रममा नपर्न पनि पार्टीले आम जनसमुदायलाई अपिल गरेको छ ।
    ‘जेनजी पुस्ता’ले उठाएका माग जायज भएको उल्लेख गर्दै पार्टीले आन्दोलनभित्र प्रतिगामी, लोकतन्त्र र गणतन्त्र विरोधी तत्व घुसेर जुन खालको विध्वंस र वितण्ड मच्चाएको भन्दै भत्र्सना  गरेको छ ।
  • निकुञ्जभित्रको पर्यटकीय सडक मर्मत थालियो

    निकुञ्जभित्रको पर्यटकीय सडक मर्मत थालियो

    चितवन, २९ भदौः 
    चितवन राष्ट्रिय निकुञ्जले पर्यटकीय सडकको मर्मत थालेको छ । नेपालीको महान् पर्व विजयादशमी अघि जीप सफारी खोल्ने गरी सडक तथा पुल मर्मत र झाडी पन्छ्याउने कामलाई तीव्रता दिइएको हो ।

    निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार अहिले सडक मर्मतको काम भइरहेको छ । उहाँले भन्नुभयो, “जीप सफारीका लागि ९० किलोमिटर सडक मर्मतको काम भइरहेको छ ।”

    सो सडक क्षेत्रमा भएको झाडी पन्छ्याउने काम पनिसँगै गरिएको उहाँले जानकारी दिनुभयो । सौराहादेखि कुजौली घाटसम्मको जिप सफारी गरिने सडक मर्मतको काम सुरु गरिएको उहाँले जानकारी दिनुभयो ।

    निकुञ्जले गत असार १६ गतेदेखि बन्द गरेको जिप सफारी चाडपर्वमा आउने पर्यटक लक्षित गर्दै सञ्चालनको तयारी गरेको हो । निकुञ्जभित्रको जिप सफारी बन्द भए पनि सामुदायिक वनमा भने बन्द गरिएको छैन । मगरका अनुसार अहिले ९० किलोमिटर सडकभित्र पर्ने पुल मर्मत, सडकका अवरोध हटाउने काम भइरहेको छ ।

    निकुञ्जभित्र जिप सफारीबाट पर्यटकले डुमरीया, लामि ताल, तमोर ताल, घडीयाल प्रजनन केन्द्र, बाघ मचान, सुखिभार, भिम्ले, टाइगर टप्स, बागमारा, खोरीया मुहानहँुदै देवी तालसम्म वन्यजन्तु अवलोकन गर्ने गर्दछन् । चितवन र नवलपरासी आउने पर्यटकको मुख्य आकर्षक निकुञ्ज सफारी हो । यहाँ दुर्लभ एकसिङ्गे गैँडा, पाटे बाघलगायत वन्यजन्तु अवलोकन गर्न स्वदेशी तथा विदेशी पर्यटक आउने गर्दछन् ।

  • प्रधानमन्त्री कार्कीले बनाइन् सविता भण्डारीलाई महान्यायाधिवक्ता

    प्रधानमन्त्री कार्कीले बनाइन् सविता भण्डारीलाई महान्यायाधिवक्ता

    काठमाडौँ, २९ भदौः
    नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ अधिवक्ता सविता भण्डारीलाई महान्यायाधिवक्ता नियुक्त गरेकी छन्।

    जेन–जी आन्दोलनको दबाबमा अन्तरिम सरकार प्रधानमन्त्री भएकी कार्कीले सबितालाई महान्यायाधिवक्ता नियुक्त गरेकी हुन्।

    उनी ९२ वर्षीय वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीकी छोरी हुन्।

    सबिता नेपालको इतिहासकी प्रथम महिला महान्यायाधिवक्ता हुन्।

  • आन्दोलनकारीको पहिलो निशानामा परेको संसद्ः क्षतिको मूल्याङ्कन र सेवा सञ्चालनसँगसँगै

    आन्दोलनकारीको पहिलो निशानामा परेको संसद्ः क्षतिको मूल्याङ्कन र सेवा सञ्चालनसँगसँगै

    काठमाडौँ, भदौ २९

    ‘जेन जी’ समूहको आन्दोलनका पहिलो निशानामा परेको नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनभित्रको चौघेराबाहेक सम्पूर्ण संरचना ध्वस्त भएका छन् ।
    भवनभित्रका दुई ठूला कक्ष प्रतिनिधिसभा र राष्ट्रियसभामा जडान भएका सबै फर्निचर, क्यामरा, ‘साउन्ड सिस्टम’, उपकरण, ‘सर्भर’, टेलिभिजन स्क्रिनसहितका सबै सामान जलेर खरानी भएका छन् । संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले भन्नुभयो, “बानेश्वरको संसद् भवनको सबै संरचना जलेर नष्ट भएको छ । कुनै पनि समान सग्लो छैन । त्यहाँ कुनै सामान पनि पहिचान गर्नसमेत नसकिने गरी खरानी भएका छन् ।”

    सभाकक्षमा जडान गरिएका महत्त्वपूर्ण सामग्री जलेर खरानी भएकाले ती कुनै पनि वस्तु पहिचान गर्न नमिल्ने अवस्था छ । भवनभित्र दुवै सभा र वरपर अन्य कक्षको छत खसेको छ ।
    संसद् बैठकका लागि निकै महत्त्वपूर्ण मानिएको ‘सर्भर’को कुनै पहिचान नै नरहने गरी नष्ट भएको छ । सभामुख र राष्ट्रियसभा अध्यक्षका दुवै कार्यकक्ष पूर्ण रूपमा जलेका छन् । ठाउँठाउँमा भवनको कम्पाउन्ड भत्काइएका छन् । पछिल्लो राजनीतिक परिस्थितिबाट प्रतिनिधिसभा विघटन भए पनि अधिवेशन चालु नै रहेको राष्ट्रियसभाको बैठक त्यहाँबाट सञ्चालन हुन सक्ने अवस्था देखिन्न ।

    सिंहदरबारस्थित सङ्घीय संसद्का दुवै भवन भने यथावस्थामा छन् । विभिन्न समितिका स–साना घर पनि सुरक्षित अवस्थामै रहेको पाइयो । त्यहाँ भौतिक संरचनामा कुनै क्षति पुगेको छैन, तर नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी ९एमाले०, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलको कार्यालय भने पूर्ण रूपमा क्षति भएको छ ।
    केही सवारीसाधन जलेका छन् । संसद् सचिवालयका चारपाङ्ग्रे १३ वटा, दुईपाङग्रे ४० भन्दा बढी सवारीसाधन जलेको प्रवक्ता गिरीले जानकारी दिनुभयो । तीमध्ये ३० वटा पूर्ण क्षतिग्रस्त भएका छन् । केही सामान्य मर्मत गरेर सञ्चालनमा ल्याउन सकिने अवस्थाका पनि छन् ।

    देशकै महत्त्वपूर्ण दस्तावेज रहेको संसद् सचिवालयको पुस्तकालय भने जोगिएको छ । जनप्रतिनिधिमूलक संस्था संसद् कानुन निर्माण, सरकारका कामको निगरानीलगायत काम गर्दै आएकामा प्रतिनिधिसभा विघटनपछि त्यस मातहतका संसदीय समिति निष्क्रिय छन् । राष्ट्रियसभा स्थायी सदन भएकाले अधिवेशन चालु अवस्थामा छ ।
    हाल सचिवालयले आन्दोलनबाट भएको क्षति मूल्याङ्कन र यसअघि गर्दै आएको दैनिक सेवा प्रवाहका काम भइरहेको पनि प्रवक्ता गिरीले बताउनुभयो । उहाँले भन्नुभयो, “संसद् सचिवालयले नियमित कार्य गरिरहेको छ, सेवा दिइरहेकै छ । प्रतिनिधिसभा नभएपछि क्षतिको मूल्याङ्कन, पुनःनिर्माण योजनाबारे छलफलमा छौँ ।”

    प्रतिनिधिसभा विघटन भएसँगै त्यहाँ उत्पत्ति भएका ३० वटा विधेयक निष्क्रिय भएका छन् । नागरिकतासम्बन्धी विधेयक भने पारित गरेकाले सभामुखबाट प्रमाणित भएकाले राष्ट्रपतिसमक्ष पठाइने छ । अरू करिब पाँच वटा विधेयक मात्रै सदनमा विचाराधीन छन् ।

  • भरतपुर महानगरमा दुई अर्बभन्दा बढीको क्षति

    भरतपुर महानगरमा दुई अर्बभन्दा बढीको क्षति

    चितवन, २९ भदौः
    जेनजी प्रदर्शनका क्रममा भरतपुर महानगरपालिकामा रु दुई अर्बभन्दा बढीको क्षति भएको आकलन गरिएको छ । यही भदौ २४ गते महानगर कार्यालय र वडा कार्यालयमा आक्रमण गरिएको थियो ।

    महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलका अनुसार क्षतिको विवरण सङ्कलन भइरहेको जानकारी दिँदै प्रारम्भिक रुपमा रु दुई अर्बभन्दा बढीको क्षति आकलन गरिएको छ । प्रदर्शनका क्रममा भरतपुर महानगरपालिकाको कार्यालय आगलागीबाट पूर्णरुपमा क्षतिग्रस्त भएको छ । महानगरको स्वास्थ्य र कृषि कार्यालयमा सामान्य क्षति पुगेको छ ।

    महानगरपालिकाका २९ मध्ये २० वटा वडामा क्षति पुगेको छ । वडा नं. २, ९, ११, १२, २०, २५, २७, २८ र २९ बाहेकका कतिपय वडामा पूर्ण रुपमा क्षति पुगेको छ भने कतिपयमा आंशिक क्षति भएको छ ।

    पौडेलका अनुसार २६ वटा गाडी, पाँच वटा मोटरसाइकल र एउटा स्कुटर जलेर नष्ट भएका छन् । जलेका गाडीमध्ये दुई वटा दमकल, एउटा ग्रेडर, दुई वटा कम्प्याक्टर, एउटा ब्रुमर, पानी बोक्ने गाडी एक र सेफ्टी ट्यांकी सफाई गाडी एउटा रहेका छन् ।

    महानगरपालिकाका गाडी मध्ये प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृत चढ्ने गाडी बाहिर राखिएकाले सुरक्षित रहेका छन् । त्यस्तै दुईवटा जेसिवि, एउटा कम्प्याक्टर, एउटा दमकल र एउटा ट्याक्टर सुरक्षित रहेको उहाँले जानकारी दिनुभयो ।

    महानगरपालिकाका बरिष्ठ शाखा अधिकृत झलककुमार श्रेष्ठका अनुसार स्टोरमा रहेका के कति सामान जलेका छन् भन्ने बारेमा तथ्याङ्क लिने काम भइरहेको छ । कार्यालयमा प्रयोग हुने फर्निचर, कम्युटर, टेलिभिजन, इन्भर्टर, ब्याट्री, कागजपत्रलगायतका सामग्री जलेर नष्ट भएका छन् । उहाँका अनुसार महानगरवासीलाई वितरणका लागि ल्याइएको दुई हजार थान विद्युतीय चुल्हो जलेर र चोरी भएका छन् ।

    यसका अतिरिक्त अन्य सामग्रीहरु समेत चोरी भएका छन् । महानगरपालिका जलाउने र तोडफोड गर्ने समूहले महानगर प्रमुख रेनु दाहाल र उपप्रमुख चित्रसेन अधिकारीको घर समेत जलाएर पूर्णरुपमा क्षति पु¥याएका छन् । यस्तै महानगरपालिकाका विज्ञ सल्लाहकार सुरेशचन्द्र अधिकारीको घर जलाउने र लुटपाट भएको छ ।

    प्रमुख प्रशासकीय अधिकृत पौडेलले सेवाग्राहीहरुका सिफारिस र अत्यावश्यक काम आजैबाट गर्न लागिएको बताउनुभयो । जे सकिन्छ ती सेवाहरु दिन थालेको उहाँले बताउनुभयो । क्षतिको मूल्याङ्कन गरेर मर्मत थालिने उहाँले बताउनुभयो ।
    –––

  • जिल्ला कारागार चितवनमा २३५ कैदीबन्दी फर्किए

    जिल्ला कारागार चितवनमा २३५ कैदीबन्दी फर्किए

    चितवन,भदौ २९ –
    कारागार कार्यालय चितवनबाट फरार कैदीबन्दीमध्ये २३५ जना कारागारको सम्पर्कमा आएका छन् । गत बिहीबार सबै कैदीबन्दीको परिवार तथा आफन्तलाई सम्पर्क गरिएको थियो । सम्पर्क गरिएका कैदीबन्दी कारागार फर्कन थालेका हुन् ।

    कार्यालयका प्रमुख रविन्द्रप्रसाद ढुङ्गानाका अनुसार अहिलेसम्म २३५ जना कैदीबन्दी कारागार फर्किएका छन् । उहाँले भन्नुभयो, “बुधबार बिहान ७४० जना कैदी कारागरबाट फरार भएका थिए ।” कारागारमा रहेका ४६ महिला कैदीबन्दीमध्ये २७ जना आइसकेका छन् ।

    कारागार कार्यालयमा कैद भुक्तान गर्दै आएका तथा बन्दी जीवन बिताएकामध्ये चार जना भैरहवा कारागारमा र एक जना दमौली कारागारको सम्पर्कमा आएको उहाँले बताउनुभयो । यस्तै अन्य कारागारका १४ कैदीबन्दी यस कारागारमा सम्पर्कमा आएका छन् । कतिपय टाढा भएकाले समय लाग्ने जनाएका छन् । करिब ५० जना सम्पर्कमा नआएको उहाँले जानकारी दिनुभयो । रासस