Blog

  • गृहमन्त्री अर्यालले गरे पदभार ग्रहण

    गृहमन्त्री अर्यालले गरे पदभार ग्रहण

    ३० भदौ, काठमाडौं ।
    नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले पदभार ग्रहण गरेका छन् ।

    शीतलनिवासमा शपथ ग्रहण गरेलगत्तै मन्त्री अर्यालले पदभार ग्रहण गरेका हुन् ।

    प्रधानमन्त्री सुशीला कार्कीले उनीसहित तीन जनालाई आज मन्त्री नियुक्त गरेकी थिइन् । आजै राष्ट्रपति निवास शीतलनिवासमा आयोजित विशेष समारोहमा उनले शपथ लिएका थिए ।

    शपथ लगत्तै सिंहदरबार पुगेर उनले पदभार ग्रहण गरेका हुन् ।

    अर्याललाई अर्थको अलवा कानुन मन्त्रालयको पनि जिम्मेवारी दिइएको छ । उनी पछिल्लो पटक काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहका सल्लाहकारको भूमिकामा रहेका थिए ।

  • नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालन

    नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालन

    मुग्लिन (चितवन), भदौ ३०-
    पहिरोका कारण एकतर्फी मात्र रहेको नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार चितवनको इच्छाकामना–५ स्थित तुइनखोला नजिकै पहिरो खसेपछि आज बिहान ९ बजेदेखि एकतर्फी मात्र सञ्चालनमा रहेको थियो । सडक डिभिजन कार्यालयको मेसिन प्रयोग गरी पहिरो पन्छाएपछि बिहान ११ः०० बजेदेखि सडक दुईतर्फी सञ्चालनमा आएको सडक सुपरभाइजर ईश्वर क्षेत्रीले जानकारी दिनुभयो ।

    वर्षाको समयमा यस क्षेत्रमा ढुंगा खस्ने जोखिम उच्च भएको हुदाँ सावधानीपूर्वक रोकेर हेरेर मात्र सुरक्षित यात्रा गर्न सडक डिभिजन कार्यालय भरतपुरले अनुरोध गरेको छ ।

  • शीलतनिवासको खण्डहर भवन बाहिर तीन मन्त्रीले लिए शपथ

    शीलतनिवासको खण्डहर भवन बाहिर तीन मन्त्रीले लिए शपथ

    ३० भदौ, काठमाडौं ।
    राष्ट्रपति कार्यालयको खण्डहर भवन बाहिर सोमबार नवनियुक्त तीन मन्त्रीहरूले शपथ लिएका छन् । प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितीमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका हुन् ।

    जेनजी आन्दोलनका क्रममा आगजनी भएपछि शीतल निवास पनि बस्न नमिल्ने अवस्थामा पुगेको थियो । त्यसैले गत शुक्रबार प्रधानमन्त्री सुशीला कार्कीको शपथ राष्ट्रपति निवास भित्रै भएको थियो ।आज चाहिँ खण्डहर कार्यालय बाहिर पाल टाँगेर मन्त्रीको शपथ कार्यक्रमको व्यवस्थापन मिलाइएको हो ।

    आजको शपथमा अन्य अतिथीहरुलाई पनि बोलाइएको छ । सरकारी निकाय र कूटनीतिक नियोगका प्रमुखहरु पनि शपथमा उपस्थित छन् । आज तीन मन्त्रीहरू अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, भौतिक योजान र सहरी विकासमन्त्री कुलमान घिसिङ र गृह र कानुनमन्त्री ओमप्रकाश अर्यालको शपथ भएको हो ।

    घिसिङलाई तीन र अर्याललाई दुई मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

  • गोकुल बास्कोटाले भने- पार्टी पुनर्गठन गरौँ

    गोकुल बास्कोटाले भने- पार्टी पुनर्गठन गरौँ

    काठमाडौं,भदौ ३०-
    नेकपा (एमाले)का नेता गोकुल बास्कोटाले पार्टी पुनर्गठनको माग गरेका छन् । सोमबार (भदौ ३०) सामाजिक सञ्जालमार्फत उनले छिटै सुविचारित निर्णयको माग गरेका हुन् । “अरू क्षति रोक्न, जे भो भो । हैन, किन भो ? कसरी भो र अब के कसरी कहिले गर्ने ? छिटो तर सुविचारित निर्णय गरी पार्टीलाई पुनर्गठन गरौँ,” बास्कोटाले भनेका छन् ।

    उनले दलबिना गणतन्त्र र गणतन्तत्रबिना समाज नबाँच्ने तर्क गरेका छन् । नेतृत्व परिवर्तनका निम्ति सबै तयार हुनुपर्नेमा उनले जोड दिएका छन् । “समय, परिवेश, प्रकृति, प्रक्रिया र समाज विज्ञानका नियमले नेतृत्व बदल्छ, सबै तयार हुनैपर्छ,” उनले लेखेका छन् । यही भदौ २३ र २४ गते ‘जेनजी’को आन्दोलनपश्चात् एमालेमा नेतृत्व परिवर्तनको बहस चलाइएको छ ।

  • फिर्ता हुन थाल्यो लुटिएका चामल र चिनी

    फिर्ता हुन थाल्यो लुटिएका चामल र चिनी

    सिरहा, भदौ ३०-
    यहाँको लहान नगरपालिका–१ स्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीको गोदामबाट लुटपाट गरिएको खाद्यान्न प्रशासनको कडा उर्दीपछि फिर्ता हुन थालेको छ ।

    जेनजी आन्दोलनका क्रममा गत मङ्गलबार दिउँसो कम्पनीको गोदामबाट चामल, चिनी लुटपाट भएको थियो । इलाका प्रशासन कार्यालय लहानका प्रशासकीय अधिकृत सन्तोष रायका अनुसार, लुटपाटको घटनाले राष्ट्रियस्तरमै लहानको बेइज्जत गराएको भन्दै कार्यालयले कडा निर्देशन जारी गरेपछि फिर्ता हुन थालेको हो । उहाँले भन्नुभयो, “हामीले उर्दी जारी गरेका थियौँ फिर्ता गर्नका लागि । फिर्ता नगर्नेलाई सिसिटिभी फुटेज र सामाजिक सञ्जालमा उपलब्ध फोटो भिडियोका आधारमा पहिचान गरी कानुनी कारबाही गरिनेछ भनेर ।”

    उहाँका अनुसार स्थानीय युवाहरूको सक्रियतामा चामल र चिनी क्रमशः फिर्ता हुन थालेको हो । केही व्यक्तिहरूले स्वयं आएर र केहीले स्थानीय युवाको माध्यमबाट आइतबार चामल र चिनी फिर्ता गरेका हुन् ।

    खाद्य कम्पनी लहान शाखाका सूचना अधिकारी अनिलकुमार महतोका अनुसार, आइतबार बेलुका ९ बजेसम्म ७१ क्वीन्टल चामल र करिब १८ क्वीन्टल चिनी फिर्ता भएको छ । “फिर्ता गर्नेको प्रतिष्ठालाई ध्यानमा राखेर नाम भने गोप्य राखिएको छ”, महतोले भन्नुभयो ।

    विवरणअनुसार, चार वटा गोदाममा भण्डारण गरिएको आठ हजार १४८ क्वीन्टल चामल, तीन हजार २२० क्वीन्टल चिनी, ५३ क्वीन्टल २१ किलो धान र ९८ हजार ८१५ थान जुटका बोरा लुटिएका थिए । उहाँका अनुसार यसको अनुमानित मूल्य रु १० करोड ९१ लाख २२ हजार ८२७ बराबर रहेको छ ।

    खाद्यान्नलाई सुरक्षित राख्न प्रयोग गरिने विशेष प्रकारका ‘फ्युमिगेसन सिट’ लुटिएको छ । महतोका अनुसार, ती सिटहरू अत्यन्तै भारी हुने र उठाउन कम्तीमा १० जनाको आवश्यकता पर्दछ । यस्तो सिट खाद्य कम्पनीसँग मात्रै रहेको जनाइएको छ ।

    लुटपाटको क्रममा कार्यालय परिसरमा राखिएकोे कार र मोटरसाइकलमा आगजनी गरिएको छ । खाद्यकर्मीको ‘क्वार्टर’ बाट ल्यापटप, खाना पकाउने दुई थान ग्यास सिलिण्डर तथा मोबाइलसमेत लुटिएको छ ।

    यसअघि विसं २०६३ को मधेस आन्दोलनसहित अन्य विभिन्न आन्दोलनका क्रममा गरी हालसम्म तीन पटक लहानको खाद्य कम्पनीमा लुटपाट भइसकेको छ । यसले गर्दा आगामी दिनमा सामान्य आन्दोलनको बेलामा पुनःलुटपाटको जोखिम उच्च रहेको स्थानीय बताउँछन् । रासस

  • आमाबुवा गुमाएका पाँच बालबालिका समस्यामा

    आमाबुवा गुमाएका पाँच बालबालिका समस्यामा

    बैतडी, भदौ ३०-
    बैतडीको सिगास गाउँपालिका–२ पिडेगोदा गाँजरीकी ३४ वर्षीया बेलमती धामीका पाँच छोरोछोरीको बिचल्लीमा परेका छन् । यही भदौ २२ गते राति बेलमतीका भतिजा यज्ञसिंह धामीले बञ्चरो प्रहार गरेर काकीको हत्या गरेको बताइएको छ । चार वर्षअघि जण्डिस रोगबाट श्रीमान् गुमाएकी बेलमतीसमेत नरहेपछि पाँच छोराछोरीको बिचल्ली भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले हत्यामा संलग्न यज्ञसिंह पक्राउ गरेर कर्तव्य ज्यान मुद्दा दर्ता भई आवश्यक अनुसन्धान भइरहेको जानकारी दिनुभयोे ।

    आमाबुवा दुवै गुमाएका बालबालिकाको घरमा कोही पनि अभिभावक नरहेको मृतक बेलमतीका भाइ केशव विष्टले जानकारीदिनुभयो । उहाँले भन्नुभयो,“दिदीको मृत्यु भएपछि बालबालिकाको बिचल्ली भएको छ ।घरमा रेखदेख गर्ने मान्छे कोही पनि छैन् । निकै समस्या भएको छ ।”

    घरको साहरा ढलेपछि अहिले बालबालिकालाई सम्हालिन निकै समस्या भएको स्थानीय सूर्यबहादुर बोहराले बताउनुभयो । उहाँले भन्नुभयो,“पीडित बालबालिकाका लागि सहयोग अभियान सञ्चालन गरिएको छ । अभियानमार्फत सङ्कलित रकम बालबालिकालाई प्रदान गरिनेछ ।” बेलमतीकी जेठी छोरी कक्षा ९ मा पढ्छिन् । अब बाँकी तीन बहिनी र एक भाइको पालनपोषण गर्ने जिम्मा उनकै काँधमा आएको छ । बेलमतीको परिवारमा निकै समस्या रहेको सिगास –२ वडाध्यक्ष ठगेन्द्रसिंह ऐरले बताउनुभयो । रासस

  • जिल्ला कारागार भरतपुरमा कैदीबन्दीहरू फर्किने क्रम जारी ,हालसम्म तीन सय ३४ कैदीबन्दी फर्किए

    जिल्ला कारागार भरतपुरमा कैदीबन्दीहरू फर्किने क्रम जारी ,हालसम्म तीन सय ३४ कैदीबन्दी फर्किए

    चितवन, भदौ ३० –
    जिल्ला कारागार भरतपुरबाट भागेका कैदीबन्दीहरू फर्किने क्रम जारी रहेको छ । हालसम्म ३३४ जना कैदीबन्दी फर्किएका छन् । १५ जना अन्य कारागारका समेत यहाँ सम्पर्कमा आएका छन् ।

    कारागार कार्यालयका प्रमुख रवीन्द्रप्रसाद ढुङ्गानाका अनुसार यहाँबाट गएका ७४२ जनामध्ये ५० जनाबाहेक अरू सम्पर्कमा छन् । आएकामध्ये ३० महिला हुन् भने ३०४ जना पुरुष हुन् । महिलासँग दुई जना आश्रित बालबालिका समेत आएका छन् । कारागारमा ४६ जना महिला तथा ६९२ जना पुरुष कैदीबन्दी भागेका थिए । अन्य दुई जना भने भागेका थिएनन् । उनीहरूसँग चार जना आश्रित बालबालिका रहेको उहाँले जानकारी दिनुभयो ।

    यस कार्यालयबाट भागेकामध्ये चार जना रूपन्देही कारागारमा र एक जना तनहुँ कारागारको सम्पर्कमा आएको उहाँले जानकारी दिनुभयो । रासस

  • लुटिएका सामान फिर्ता गर्न संसद् सचिवालयको आग्रह

    लुटिएका सामान फिर्ता गर्न संसद् सचिवालयको आग्रह

    ३० भदौ, काठमाडौं ।
    संघीय संसद् सचिवालयले जेनजी युवाको प्रदर्शनका क्रममा लुटिएका मालसामान फिर्ता गर्न आग्रह गरेको छ ।

    संघीय संसद सचिवालयको आन्तरिक सेवा तथा योजना शाखाले सूचना निकालेर सामान फिर्ता गर्न भनेको हो ।

    ‘प्रिन्टर, स्क्यानर, क्यामेरा, टेलिभिजन, मोनिटर, माइक, मिक्स्चर, स्पिकर, फोटोकपी मेसिन, विद्युतीय उपकरणलगायतका मालसामानहरू अनधिकृत व्यक्तिले लगेको भन्ने बुझिएको छ’ सूचनामा उल्लेख छ ।

    यस्ता मालसामन रहेको स्थान वा व्यक्तिबारे जानकारी भएमा संघीय संसद सचिवालयमा सूचना दिन पनि अनुरोध गरिएको छ । मालसामानहरू लगेको भिडिओ भएमा उपलब्ध गराउन पनि अनुरोध गरिएको छ । भिडिओ/सूचना दिने व्यक्तिको परिचय गोप्य राखिने संसद सचिवालयले जनाएको छ ।

    जेनजीको प्रदर्शनका क्रममा यही भदौ २४ गते नयाँ बानेश्वरस्थित संसद भवन र भवन परिसरमा रहेका सवारी साधनमाथि तोडफोड, आगजनी र लुटपाट भएको थियो ।

  • नख्खु कारागारबाट फरारमध्ये फर्किए २०६ कैदीबन्दी

    नख्खु कारागारबाट फरारमध्ये फर्किए २०६ कैदीबन्दी

    ललितपुर, भदौ ३०
    ‘जेनजी पुस्ता’को आन्दोलनका क्रममा यही भदौ २४ गते ललितपुरस्थित नख्खु कारागारबाट फरार भएका कैदीबन्दीमध्ये २०६ जना पुनः कारागार फर्किएका छन्।

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित २०६ कैदीबन्दी हालसम्म कारागार फर्किएको कारागार प्रशासनले जानकारी दिएको छ।

    कारागार प्रशासनले सम्पूर्ण फरार कैदीबन्दीलाई उपस्थित भई प्रचलित कानुनी प्रक्रिया तथा विधिको पूर्ण परिपालना गर्न सार्वजनिक अपिल गरेपछि उनीहरु सम्पर्कमा आएका हुन् ।

    नख्खु कारागारमा रहेका तीन ब्लकमा जम्मा एक हजार २८१ कैदीबन्दीमध्ये हालसम्म २०६ जना फर्किसकेका र केही सम्पर्कमा आइसकेको कारागार प्रशासनका सूचना अधिकारी मुरारी कार्कीले जानकारी दिए।

    कारागार प्रशासनले फरार सबैलाई कानुन र सामाजिक उत्तरदायित्वप्रति सम्मान प्रकट गर्दै तुरुन्तै आत्मसमर्पण गर्न र सार्वजनिक शान्ति तथा सुव्यवस्था कायम गर्न सहयोग गर्न आग्रह गरेको छ ।

    साथै सम्पर्कमा नआएका कैदीबन्दीलाई कारागार ऐन, २०७९ तथा अन्य प्रचलित कानुनबमोजिम कारबाही हुने चेतावनी दिँदै सम्पर्कमा आउनेको हकहितको रक्षा गर्दै पुनःस्थापना प्रक्रियामा आवश्यक सहजीकरण उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त गरेको छ । रासस

     

  • अर्थमन्त्री हुनुअघि रामेश्वर खनालको शर्त– पीएसओ र गाडी सुविधा नलिने

    अर्थमन्त्री हुनुअघि रामेश्वर खनालको शर्त– पीएसओ र गाडी सुविधा नलिने

    ३० भदौ, काठमाडौं ।
    सुशीला कार्की नेतृत्वको सरकारमा अर्थमन्त्री बन्ने तयारीमा रहेका अर्थशास्त्री डा. रामेश्वर खनालले मन्त्री भएबापत अतिरिक्त सुविधा नलिने घोषणा गरेका छन् ।

    बालुवाटार निकट स्रोतका अनुसार, उनले निजी सुरक्षागार्ड (पीएसओ), सवारीसाधन लगायत सुविधा नलिने शर्त राखेरै मन्त्री पद स्विकार गरेका हुन् ।

    बालुवाटार स्रोतले भन्यो, ‘तलब बाहेक अरु केही पनि सुविधा लिँदिनँ, नामका अगाडि माननिय लेख्न पाइँदैन भन्ने शर्त राख्नुभएको थियो । त्यसमा हाम्रो के नै विमति हुन्छ र ?’

    खनालले तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको आर्थिक सल्लाहकार रहँदा पनि सरकारी सेवा सुविधा लिएका थिएनन् ।

    खनाल केही समयअघि सरकारी खर्च कटौतीबारे सुझाव दिने समितिको नेतृत्वमा थिए । सार्वजनिक प्रशासन सुधार र मितव्ययी खर्चको वकालत गर्दै आएका खनाल इमान्दार छवि बनाएका पूर्वसचिवका रुपमा चिनिन्छन् ।