Blog

  • फेला पारेका वा चोरी भएका सामान फिर्ता गर्न राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम चितवनको आग्रह

    फेला पारेका वा चोरी भएका सामान फिर्ता गर्न राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम चितवनको आग्रह

    चितवन, भदौ ३०–
    राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ, चितवनले हराएका तथा चोरी भएका जिन्सी सामान फेला पार्नेलाई फिर्ता गरिदिन आग्रह गरेको छ । सोमबार सार्वजनिक सूचना प्रकाशित गरी कार्यालयले भदौ २४ गतेको आन्दोलनको क्रममा कार्यालयमा आगलागी र तोडफोडका क्रममा सामान लिएर गएकोमा फिर्ता गरिदिन अनुरोध गरेको हो ।

    घटनाका क्रममा कार्यालयमा रहेका कम्प्युटर, ल्यापटप, प्रिन्टर, जिन्सी लगायतका विभिन्न सामाग्री तथा महत्वपूर्ण कागजातहरु लुटपाट तथा आगलागी भएको थियो । यी सामाग्रीहरु कसैले लिएर गएकोमा तत्काल फिर्ता गरिदिनको साथै लगेका व्यक्तिको सम्बन्धमा जानकारी, फोटो, भिडियोहरु भएमा प्रहरी कार्यालय तथा यस कार्यालयमा उपलब्ध गराइदिन कार्यालय प्रमुख महेश रेग्मीले अनुरोध गर्नुभएको छ । पछि लगेको थाहा भएमा कानुन बमोजिम कारबाही गर्ने चेतावनी समेत दिइएको छ ।

  • युुवाहरूले धैर्यता गरेको भए एमाले आकांक्षा पूरा गर्नेगरी अघि बढ्दै थियो : शंकर पोखरेल

    युुवाहरूले धैर्यता गरेको भए एमाले आकांक्षा पूरा गर्नेगरी अघि बढ्दै थियो : शंकर पोखरेल

    ३० भदौ, काठमाडौं ।
    नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफ्नो पार्टी युवाहरूको आकांक्षा पूरा गर्नका लागि अघि बढ्ने क्रममा हुँदाहुँदै पनि गत २३ र २४ भदौमा जेनजीहरूको प्रदर्शन भएको टिप्पणी गरेका छन् ।

    सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलको अनुगमनपछि कार्यकर्ता तथा सञ्चारकर्मीलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

    भदौ २०, २१ र २२ गते आयोजित पार्टीको विधान महाधिवेशनमा पनि युवाहरूको आकांक्षा सम्बोधन गर्नेगरी विविध छलफल भएको र त्यही अनुसार अघि बढ्न खोजिएको समेत उनले बताएका छन् ।

    ‘मलाई लाग्छ युवाहरूले धैर्यता गरेको भए नेकपा एमाले नै उहाँहरूको आकांक्षा पूरा गर्ने पार्टीका रुपमा अगाडि आउँदै थियो,’ उनले भने, ‘हामीले त्यस प्रकारका संकल्प र योजना अघि सारेका थियौं । बिडम्बना भन्नुपर्छ, हामीले त्यस प्रकारका योजना र संकल्प वयवहारमा लागू गर्न पाएनौं ।’

    उनले अहिले बनेको अन्तरिम सरकारले समयमै निर्वाचन गराउने कुरामा ध्यान दिनुपर्ने समेत बताए ।

    ‘यो सरकार अन्तरिम भएकाले पनि उसको कर्तव्य हो समयमै निर्वाचन गराउने कुरा । शान्ति सुरक्षाको वातावरण तयार गरेर समयमा निर्वाचन गराउने कुरामा सरकारको ध्यान जानेछ । सबै लोकतान्त्रिक पार्टी जनतामा गएर अभिमत प्राप्त गर्ने प्रक्रियामा प्रवेश गरेको छ,’ उनले भने, ‘सधैंभरी सडक जनमत प्राप्तिको माध्यम हुन सक्दैन, हुन हुँदैन । एउटा युगले ल्याएको परिवर्तनलाई संविधानमा संश्लेषण गरिसकेपछि परिवर्तनको आधार संविधानलाई बनाउन नसक्ने हो भने मुलुक कहिल्यै पनि परिवर्तनको आधारमा अघि बढ्न सक्दैन ।’

    सम्बोधनको क्रममा पोखरेलले सधैँ सडकबाट मात्रै स्थायित्व र विकास हुन नसक्ने समेत जिकिर गरे ।

    ‘समाधान सधैँ सडकबाट खोज्ने हो भने स्थायित्व र विकास हुन सक्दैन । मुलुकलाई संविधानतर्फ फर्काउनका लागि तोकिएकै समयमा निर्वाचन गर्न जरुरी छ,’ पोखरेलले भने, ‘हाम्रो पार्टी अहिले उठिरहेका प्रश्नको जवाफ दिन सक्षम छ, युवाको भावनालाई सम्बोधन गर्न, परिवर्तनको आकांक्षालाई बोक्न र मुलुकको विकास र समृद्धिको नेतृत्व गर्न सक्षम छ ।’

    उनले युवाहरूका आकांक्षा समयमै पूरा गर्न नसकेको सत्य भएको स्वीकादै देशभक्ति, सुशासन, विकास र समृद्धिमाथि प्रश्न गर्ने कुरा उचित नहुने पनि बताए ।

    पोखरेलले थप अघि भने, ‘हामी फेरि उठ्नेछौं । अझै एकताबद्ध र जनताको भावनालाई सम्बोधन गर्नेगरी हामी उठ्नेछौं ।’

  • शिक्षण अस्पतालद्वारा २८ शवको शवपरीक्षण, २३ जनाको शव आफन्तले बुझे

    शिक्षण अस्पतालद्वारा २८ शवको शवपरीक्षण, २३ जनाको शव आफन्तले बुझे

    काठमाडौँ, भदौ ३० –
    त्रिवि शिक्षण अस्पताल महराजगञ्जको फरेन्सिक विभागमा २८ जनाको शवपरीक्षण(पोस्टमार्टम) सकिएको छ ।

    अस्पतालमा जेनजी प्रदर्शनमा ज्यान गुमाएकाहरूको हाल शवपरीक्षण कार्य भइरहेको छ । हालसम्म ४६ शवपरीक्षणका लागि अस्पताल ल्याइएको फरेन्सिक विभागका प्रमुख डा गोपाल चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार २३ शव आफन्तले बुझेर लगिसकेका छन्भने सात जनाको शव चिन्न नसकिने अवस्थामा रहेको छ । जसका लागि डिएनए परीक्षण आवश्यक हुन्छ । शव चिन्न नसक्ने अवस्थामा भने दाँत परीक्षण, फिङ्गरप्रिन्टबाट शवपरीक्षण गरिन्छ ।

    डा चौधरीले भन्नुभयो, “शव गोली लागेको, जलेको र ब्लड इन्जुरी भएका छन् । पोस्टमार्टमका लागि पत्र आएकाको शवपरीक्षण गरिरहेका छौँ ।”

    यसैबीच नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले मृतकका आफन्त र घाइते भेट्न शिक्षण अस्पताल पुग्नुभएको छ । अस्पतालमा हाल २२ जना उपचाररत छन् । रासस

  • भौतिक संरचना पुनर्निर्माणका लागि कोष खडा गर्ने मन्त्री घिसिङको घोषणा

    भौतिक संरचना पुनर्निर्माणका लागि कोष खडा गर्ने मन्त्री घिसिङको घोषणा

    ३० भदौ, काठमाडौं ।
    नवनियुक्त भौतिक योजनामन्त्री कुलमान घिसिङले क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि विशेष कोष खडा गर्ने घोषणा गरेका छन् ।

    उनले यस्तो कोषमा रकम जम्मा गर्नका लागि नेपाल बाहिर रहेका नेपालीलाई पनि अनुरोध गरेका छन् ।

    मन्त्रालयको जिम्मेवारी सम्हाल्दै उनले कोषकोबारेमा मन्त्रिपरिषद्ले औपचारिक निर्णय गर्नेछ ।

    ‘हामीले तत्कालै क्षतिग्रस्त सार्वजनिक संरचनाहरु बनाउनुपर्नेछ,’ उनले भनेका छन्,’ आक्रोशको कारणले क्षति भयो । तर अब हामीले नै यो बनाउने हो ।’

  • चितवनमा जापानिज इन्सेफ्लाइटिसका कारण पाँच जनाको मृत्यु

    चितवनमा जापानिज इन्सेफ्लाइटिसका कारण पाँच जनाको मृत्यु

    चितवन, भदौ ३० –
    जिल्लामा जापानिज इन्सेफ्लाइटिसका कारण पाँच जनाको मृत्यु भएको छ । सङ्क्रमित १६ जनामध्ये उनीहरुको मृत्यु भएको हो । जनस्वास्थ्य कार्यालय चितवनका आनुसार पछिल्लो पटक भदौ २३ गते एक जनाको मृत्यु भएको थियो ।

    कार्यालयका प्रमुख दिनेश रुपाखेतीका अनुसार मृत्यु हुनेमा राप्ती नगरपालिकाका ४२ वर्षीया महिला रहेकी छन् । जिल्लामा यसअघि मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२२ का ७० वर्षीय वृद्ध, कालिका नगरपालिका–५ का ८९ वर्षीय वृद्ध, राप्ती नगरपालिका–१२ की ७० वर्षीया वृद्धा र भरतपुर महानगरपालिका–१२ की ८१ वर्षीया वृद्धा रहेका थिए । उनीहरुको साउनयता मृत्यु भएको हो । गत आर्थिक वर्षमा चितवनमा देखिएका तीन जना सङ्क्रमितमध्ये एक जनाको मृत्यु भएको थियो ।

    जापानिज इन्सेफ्लाइटिस भरतपुर महानगरपालिका, कालिका नगरपालिका, राप्ती नगरपालिका, खैरहनी नगरपालिका र माडी नगरपालिकाका व्यक्तिमा देखिएको छ । यो रोग क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने कीटजन्य सरुवा रोग हो । यो लामखुट्टे घरबाहिर बस्न रुचाउने, घरबाहिर नै टोक्ने, साँझ र बिहान बढी सक्रिय हुने गर्दछ । यो लामखुट्टेले सुँगुर, बङ्गुर, हाँसजस्ता पशुपक्षीलाई टोक्यो भने सर्दछ । धानखेतीमा समेत यस लामखुट्टेले अण्डा पारेर लार्भा बनाउने गरेको कार्यालयका प्रमुख दिनेश रुपाखेतीले जानकारी दिनुभयो । रासस

  • खानेपानी मन्त्रालयका कामकाज नियमित सञ्चालनमा

    खानेपानी मन्त्रालयका कामकाज नियमित सञ्चालनमा

    काठमाडौँ, भदौ ३० –
    ‘जेनजी’ युवाहरुको प्रदर्शन र आगजनीका कारण बन्द रहेको खानेपानी मन्त्रालयको कामकाज नियमित रुपमा सञ्चालनमा आएको छ ।

    परिस्थिति सामान्य बन्दै गएपछि आजदेखि मन्त्रालय र मातहतका सम्पूर्ण निकायको काम नियमित रुपमा सञ्चालन भएको मन्त्रालयका सहसचिव रामबाबु पुरीले राससलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यही भदौ २३ गतेको ‘जेनजी’युवाको प्रदर्शनका कारण २७ सम्म मन्त्रालय र मातहतका निकायको काम स्थगित भएको थियो, परिस्थिति सामान्य बनेपछि आजदेखि नियमित रूपमा काम सञ्चालनमा आएको छ ।”

    सो प्रदर्शनका क्रममा मन्त्रालय र मातहतका चारपाङ्ग्रे गाडी १४ वटा जलेर पूर्ण रुपमा नष्ट भएका र छ गाडीमा तोडफोड गरिएको सहसचिव पुरीले बताउनुभयो । उहाँले भन्नुभयो, “मन्त्रालयमा केही पनि धेरै क्षति भएको छैन, गाडीहरु जलेका र क्षति भएका छन्, पूर्ण विवरण आउन बाँकी छ, हामीले नियमित काम सुरु गरेका छौँ ।”

    आन्दोलनकारीको आगजनीका कारण सिंहदरबारका अधिकांश भवन आगलागीबाट जले पनि खानेपानी मन्त्रालय भने जोगिएका कारण मन्त्रालयका काम सञ्चालन गर्न सहज भएको जनाइएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक इञ्जिनियर कमलराज श्रेष्ठले विभागको नियमित काम सञ्चालन भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “आन्दोलनबाट विभागमा पनि कुनै क्षति भएको छैन, कार्यालयका केही गाडीमा क्षति पुगेको छ, अन्य क्षति हुन नपाएकाले काम सुरु गरेका छौँ ।” रासस

  • जेनजी आन्दोलनमा भागेका अफ्रिकी कैदीले चार तलाबाट हामफाल्दा मृत्यु

    जेनजी आन्दोलनमा भागेका अफ्रिकी कैदीले चार तलाबाट हामफाल्दा मृत्यु

    ३० भदौ, काठमाडौं ।
    जेनजी आन्दोलनको क्रममा सुन्धारा कारागारबाट भागेका एक विदेशी कैदीको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा दक्षिण अफ्रिकी नागरिक ६५ वर्षीय ज्याक्विस एन्टेन एंगल ब्रेफ छन् ।

    सुन्धारामा रहेको ओम सुविधा गेष्टहाउसको चौथो तलाबाट हामफाल्दा उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकृतले बताए ।

    २४ भदौको राति कारागारबाट भागेका उनलाई पक्राउ गर्न प्रहरी उक्त गेष्टहाउसमा पुगेको थियो । त्यसपछि उनले चौथो तलाबाटै हामफालेका थिए । उनको शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।

    जेनजी आन्दोलनको क्रममा सुन्धारा कारागारबाट मात्रै ३३ सय कैदी फरार भएका थिए ।

  • मन्त्रिपरिषद्को पहिलो बैठक बस्दै

    मन्त्रिपरिषद्को पहिलो बैठक बस्दै

    काठमाडौँ, भदौ ३०-
    अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले तीन मन्त्री नियुक्त गरे लगत्तै मन्त्रिपरिषद्को पहिलो बैठक आज बोलाएकी छिन्।

    दिउँसो ४ बजे सिंहदरबारमा बैठक बस्ने तय भएको हो। त्यसअघि मन्त्री र सम्बन्धित मन्त्रालयका सचिवहरुले बैठकका एजेन्डामा गृहकार्य गर्ने छन्।

    आजै शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरू रामेश्वर खनाल, ओमप्रकाश अर्याल र कुलमान घिसिङलाई शपथ गराएका थिए।

  • आयोजना कटौती गरी रु एक खर्ब स्रोत जुटाउन सकिन्छः अर्थमन्त्री खनाल

    आयोजना कटौती गरी रु एक खर्ब स्रोत जुटाउन सकिन्छः अर्थमन्त्री खनाल

    काठमाडौँ, भदौ ३० –
    नवनियुक्त अर्थमन्त्री डा रामेश्वर खनालले राजनीतिक दबाबमा परेका, तयारी नभएका र टुक्रे आयोजना कटौती गर्ने हो भने करिब रु एक खर्ब स्रोत जुटाउन सकिने बताउनुभएको छ ।
    आज मन्त्रालयमा पदभार ग्रहणपछि कर्मचारीहरुलाई निर्देशन दिँदै उहाँले छ महिनाभित्र निर्वाचन गर्नुपर्ने अवस्था, पुनःनिर्माणलगायतका कामका लागि बजेटमा परेका आयोजना फिल्टर तथा कार्यक्रम कटौती गरी स्रोत जुटाइने बताउनुभयो ।

    उहाँले आजै बजेटमा भएका कार्यक्रम कटौतीका लागि बजेट महाशाखा प्रमुखको संयोजकत्वमा तीन सदस्यीय कार्यदल समेत गठन गर्नुभएको छ । उक्त कार्यदलले बजेटका आयोजनालाई फिल्टर गरी प्राथमिकिकरण गर्नेछ ।

    उहाँले जेनजी प्रदर्शनका कारण सिंहदरबारमा ठूलो क्षति पुगेको उल्लेख गर्दै चाँडो भग्नावशेष हटाइ भित्तामा रंगरोगन गरिने बताउनुभयो । “कालो लागेको भित्ता रंगरोगन गरौं । हामी विनासबाट उठ्यौँ है भनेर अर्थ मन्त्रालयबाटै सन्देश दिन जरुरी छ, धेरै सार्वजनिक सम्पत्तिको बिमा भएको छैन”, उहाँले भन्नुभयो, “निजी सवारीमा भएको क्षतिको दायित्व बिमाबाट पूर्ती हुनेछ, यो कामचलाउ सरकार हो, नयाँ सवारी साधन खरिद नगरौँ, कवाडी भएको बिक्री गरौँ, पुनःनिर्माण तत्कालै सुरु गरी हामी केही महिनाभित्रै उठ्यौ भन्ने सन्देश दिन जरुरी छ ।”

    युवाले आफ्नो ज्यानको आहुती दिएर मुलुकको प्रमुख समस्यालाई निमिट्यान्न पारेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “यो जिम्मेवारी युवा आफैले पनि लिन सक्थे, तर उहाँहरुले हामीलाई विश्वासका साथ जिम्मेवारी दिनुभएको छ, गल्ती गर्ने कुनै पनि गुञ्जायस नराखी काम गर्नेछौँ ।”
    उहाँले विगतमा के गरेका थियौँ भन्ने बिर्सिन पनि कर्मचारीलाई आग्रह गर्नुभयो । “विगतमा गल्ती गरेको भए सजाय हुन्छ, स्रोतको दुरुपयोग नगर्नुहोला, सार्वजनिक सम्पत्ति व्यक्तिगत प्रयोजनमा प्रयोग नगर्न म निर्देशन दिन्छु”, उहाँले भन्नुभयो ।

    उहाँले निजी क्षेत्रमाथि आक्रमण भएको स्मरण गर्दै निजी क्षेत्रलाई विश्वासमा लिएर अगाडि बढ्न आवश्यक भएको बताउनुभयो । “हाम्रो सम्पर्क निजी क्षेत्रसँग छ, निजी क्षेत्रबाट पनि सुझाव लिनुपर्छ, राजस्व प्राप्तिका लागि निजी क्षेत्रलाई खुसी बनाउनुपर्ने आवश्यकता छ, राजस्व असुलीमा धेरै क्रुर र दबाब दिने अवस्था बनाउन हुँदैन । सेवामा सुधार गर्दै जाने हो भने राजस्व आफै बढ्छ”, उहाँले भन्नुभयो ।
    अर्थमन्त्री खनालले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगका सुझाव र सिफारिस कार्यान्वयन गरिने पनि बताउनुभयो । आफूले सार्वजनिक खर्च व्यवस्थापनका लागि प्राथमिकता राख्ने बताउनुभयो ।

    त्यस अवसरमा नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेलले केन्द्रीय बैंकले सक्दो सहयोग गर्ने बताउनुभयो । “जेनजी प्रदर्शनका कारण ६८ वटा बैंकका शाखा र ६९ वटा एटीएममा क्षति पुगेको छ, यद्यपि यो समय मानिसहरुको मनोबल बढाउने हो, जे घटना घट्यो त्यो ज्यादै दुखद् छ । राष्ट्र बैंक सक्दो सहयोग गर्न तयार छ”, उहाँले भन्नुभयो । रासस

  • चितवन जिल्ला अदालतबाट आजदेखि सेवा सुरु

    चितवन जिल्ला अदालतबाट आजदेखि सेवा सुरु

    चितवन, भदौ ३० –
    चितवन जिल्ला अदालतले आजदेखि सीमित सेवा सञ्चालन गरेको छ । जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भएको अदालतले सामान्य सेवाहरू सुरु गर्न लागेको हो ।

    कार्यालयका सूचना अधिकारी अमृत विश्वकर्माका अनुसार आजदेखि बन्दीप्रत्यक्षीकरण निवेदनमा कार्वाही गरिने, म्याद थप, जरुरी पक्राउ पुर्जीसहितका सेवा सञ्चालन गर्न लागिएको हो । उहाँले भन्नुभयो, “एउटा कोठाबाट दिन सकिने सामान्य सेवाहरू आजदेखि सुरु गरिएको छ ।” अदालतले यही भदौ २४ गतेदेखि आन्दोलनका कारण सेवा दिन सकेको थिएन ।

    अन्य नियमित सेवा, मुद्दा सुनुवाइलगायत काम कार्वाही अर्को सूचना जारी गरेर जानकारी दिइने उहाँले बताउनुभयो । प्रदर्शनकारीले आगजनी गर्दा अदालत भवन पूर्ण रूपमा क्षति भएको छ । अदालतको भौतिक संरचनासहित महत्त्वपूर्ण मिसिल, सर्भरलगायतमा क्षति पुगेको छ । उहाँले भन्नुभयो, “संरचना बन्दै जाँदा सेवा विस्तार र थप गर्दै लगिनेछ ।” रासस