Blog

  • आजको मौसम : आज यी ५ प्रदेशमा भारी वर्षाको सम्भावना

    आजको मौसम : आज यी ५ प्रदेशमा भारी वर्षाको सम्भावना

    काठमाडौँ भदौ ३१
    हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाले जनाएको छ। अरब सागर तथा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ।

    जसको प्रभावले हाल देशभर साधरणतया बदली रहेको छ। कोशी, मधेस र बागमती प्रदेशका थोरै स्थानहरूमा तथा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

    आज दिउँसो देशभर साधरणतया बदली रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा र कोशी, मधेस र बागमती प्रदेशको केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

    आज राति देशभर साधरणतया बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको

    बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

  • कस्तो रहला आज तपाईँको भाग्य ? हेर्नुहोस् राशिफल

    कस्तो रहला आज तपाईँको भाग्य ? हेर्नुहोस् राशिफल

    आज मिति वि.सं.२०८२ साल भाद्र ३१ गते । मंगलबार । ईश्वी सन् २०२५ सेप्टेम्बर १६ तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । वर्षा ऋतु । श्रीशाके १९४७ । आश्विन कृष्णपक्ष । तिथि–दशमी, ५२ घडी ४१ पला, रातको २ बजेर ४३ मिनेट उप्रान्त एकादशी । नक्षत्र–आद्र्रा, ११ घडी ४० पला, बिहान १० बजेर ३० मिनेट उप्रान्त पुनर्वशु । योग–व्यातिपात, ३ घडी २३ पला, बिहान ७ बजेर ११ मिनेट उप्रान्त वरियान । करण–वणिज, दिउसो ३ बजेर ३३ मिनेट उप्रान्त भद्रा, रातको २ बजेर ४३ मिनेट उप्रान्त बव । आनन्दादिमा–चर योग । चन्द्रराशि–मिथुन । दशमी श्राद्ध ।

    काठमाडौँमा सूर्योदय बिहान ०५ बजेर ५० मिनेट । सूर्यास्त बेलुकी ६ बजेर ५ मिनेट । दिनमान ३० घडी ४१ पला ।

    आजको राशिफल

    मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) प्रतिस्पर्धामा सहभागी हुनु परे पनि प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै नतिजा हात पार्न सकिनेछ । पराक्रमी क्रियाकलाप भाग लिई नाम तथा दाम दुवै कमाउन सकिनेछ । लेखन, कला तथा साहित्यमा रुचि बढ्नेछ । प्रेमील जोडीहरूका लागी समय उत्तम रहेको छ । दाजुभाइ तथा आफन्तको सहयोगले व्यापार व्यवसायमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ ।

    वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) बोलीको प्रभाव बढ्ने तथा बोलेरै धेरै रुपैयाँ पैसा कमाउन सकिनेछ । मेहनतले प्रतिस्पर्धीहरूलाई जित्न सकिनेछ भने अध्ययनमा सफलता हात पार्न सकिनेछ । शत्रु तथा वैरभाव राख्नेहरू कमजोर हुनेछन् । छोटो दुरीको रमाइलो यात्राको तय गर्न सकिनेछ । लेखन तथा साहित्यको क्षेत्रमा समय लगानी गर्नेहरूका लागी फलदायी रहनेछ । खाद्यान्न, बिलासी सामान, होटेल तथा रेस्टुरेन्ट जस्ता क्षेत्रको लगानीबाट नाफा कमाउन सकिनेछ ।

    मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) पुराना कमीकमजोरी सुधार्दै नयाँ काममा हात हाल्न सकिनेछ । पारिवारिक माहौलमा जमघट भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर आउनेछ । माया प्रेममा रमाइलो गर्दै समय व्यातित हुनेछ । घर परिवार तथा आफन्तको सद्भाव तथा सहयोग पाइने हुनाले मन प्रसन्न हुनेछ । व्यापार तथा औद्योगिक क्षेत्रमा लगानी गरी आर्थिक अवस्था सुधार्न सकिनेछ । राजनीतिज्ञ तथा पत्रकारको लागी समय राम्रो रहेको छ ।

    कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) दैनिक खर्च बढ्ने तथा आर्थिक व्यवस्थापन गर्न नजान्दा दिन प्रतिकुल बन्नेछ । आफन्त तथा अपरिचित व्यक्तिको विश्वास गर्नाले धोका पाइनेछ । स्वास्थ्यमा समस्या आउने तथा उपचार खर्च बढ्नेछ । तर पनि विदेशी सामानको व्यापार तथा विदेशी संस्थामा काम गर्नेहरूको लागी समय उत्तम रहेको छ । अध्ययन तथा कामको लागी छोटो दुरीको यात्रा गर्न सकिनेछ ।

    सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) पैतृक तथा प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ । आफन्त तथा घरपरिवारका इच्छा आकाङ्क्षाहरू पुरा गर्न सकिनेछ । बैक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित व्यवसायबाट मनग्गे लाभ लिन सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ भने पति पत्नीको सहयोग पाइने हुनाले राम्रा काम गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा भेटघाटलाई कम गर्नु नै राम्रो रहनेछ ।

    कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) कर्म भावमा गोचर गर्ने चन्द्रमाले सकारात्मक सोचको विकास हुनेछ भने नयाँ प्रविधिको प्रयोग गरी समय अनुसार अपडेट होइने छ । व्यापार व्यवसायमा नयाँ प्रयोग गरी मनग्गे आम्दानी गर्न सकिनेछ । कामको खोजीमा हुनेहरूले नयाँ काम पाउने तथा गरिरहनेहरू बढुवा हुन सक्ने योग रहेको छ । प्रेममा नजिक हुने समय रहेको छ भने घर परिवारमा सबैको सल्लाह सुझाव पाइने हुनाले मन प्रसन्न रहनेछ ।

    तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) भाग्य तथा समयले साथ दिने हुँदा आटेको तथा ताकेको काम सजिलै बन्नेछन् । सामाजिक तथा सरकारी क्षेत्रमा रहेर जनताको काम गर्ने अवसर प्राप्त हुनेछ । खोजमूलक काममा सफलता मिल्नेछ भने अध्ययनमा रुचि बढ्नेछ । प्रेममा रमाउन चाहनेहरूका लागी दिन राम्रो रहेको छ । शिक्षा तथा धार्मिक क्षेत्रसँग सम्बन्धित कामबाट मनग्गे धन आर्जन गर्न सकिनेछ भने धार्मिक यात्रा हुनेछ

    वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) समय तथा परिस्थिति अनुसार नचल्नाले दुःख पाइनेछ । व्यापार व्यवसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ । माया प्रेममा धोका हुनेछ भने दाम्पत्य जीवनमा घटपट आउनेछ । सामान्य स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जानेछ । पढाइ लेखाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिनेछ । आफन्त तथा दिदी बहिनीसँग मनमुटाब सिर्जना हुने योग रहेको छ ।

    धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) माया प्रेममा नजिक हुने तथा रमाइलो यात्राको तय गर्न सकिनेछ । भौतिक बस्तु तथा बिलासी सामानको प्रयोग गरी अरूको ध्यान तान्न सकिनेछ । पारिवारिक माहौलमा जमघट भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । एकल तथा साझेदारी व्यवसायबाट भनेजस्तो आम्दानी हुनेछ । बैक तथा वित्तीय क्षेत्रमा लगानी गरी आम्दानी बढाउन सकिनेछ । पढाइ लेखाइमा सफलता हात पार्न सकिनेछ ।

    मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) न्यायालयबाट हुने न्यायिक निर्णयहरू तपाईँकै पक्षमा हुनेछन् । विद्या तथा कुनै पनि प्रतिस्पर्धामा तपाईँकै जित हुनेछ । व्यापार तथा औद्योगिक क्षेत्रमा गरेको लगानी फस्टाएर जाने हुनाले आर्थिक मुद्दाहरू सहजै हल भएर जानेछन् । पुराना ऋण तथा रोगबाट मुक्ति पाउने समय रहेको छ । माया प्रेममा एक अर्कालाई विश्वास गर्दै नयाँ ठाउँको यात्रामा निस्कन सकिनेछ ।

    कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) शिक्षा क्षेत्रमा गरिएको लगानीबाट मनग्गे लाभ हुनेछ । सन्तानको प्रगति देखेर मन रमाउनेछ भने बंस वृद्धिको गतिलो सम्भावना रहेको छ । पढाइ लेखाइ अन्य दिनभन्दा सुधार हुने हुनाले आफन्तहरू खुसी हुनेछन् । आकस्मिक धन तथा सम्पत्ति लाभ हुने योग रहेको छ । आफूले मन पराएको मानिसबाट उपहार प्राप्त हुने हुनाले मन प्रसन्न रहनेछ । नयाँ योजनाहरू बनाई कार्यान्वयनको चरणमा लैजान सकिनेछ भने सोचेजस्तो आम्दानी गर्न सकिनेछ ।

    मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) घरायसी समस्या एक्कासि बढ्नाले अर्थ अभाव हुनेछ । आमा तथा आमासँग टाढिएर यात्राको तय गर्नुपर्दा मन खिन्न हुनेछ भने आफन्तको साथ पाइने छैन । कृषि तथा सहकारी व्यवसायमा भने मनग्गे आम्दानी हुने योग रहेको छ । समाजसेवामा तथा राजनीतिमा पदको दुरुपयोग गर्दा मान सम्मानमा दाग लाग्न सक्छ ध्यान दिनुहोला । अध्ययनमा समय दिए पनी नतिजाको लागी केही समय कुर्नु नै पर्नेछ ।

    तपाईँको दिन शुभ रहोस् ।

  • उपभोग्य वस्तुको आपूर्ति सहज छ, अनावश्यक सञ्चित नगर्नू: आपूर्ति मन्त्रालय

    उपभोग्य वस्तुको आपूर्ति सहज छ, अनावश्यक सञ्चित नगर्नू: आपूर्ति मन्त्रालय

    काठमाडौँ, ३० भदौ:
    उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दैनिक अत्यावश्यक उपभोग्य सामग्री तथा पेट्रोलियम पदार्थको अभाव नरहेको जनाएको छ ।

    मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै उपभोग्य वस्तुको माग, आपूर्ति र मूल्यमा प्रतिकूल प्रभाव पर्न नदिन र अत्याधिक वस्तु अनावश्यक सञ्चित नगर्न÷नगराउन सबैमा अनुरोध गरेको हो ।

    बजार अनगुमनलाई प्रभावकारी बनाउने र उपभोक्ता अधिकार हनन तथा दैनिक उपभोग्य वस्तुको आपूर्ति शृङ्खलामा अवरोध गर्नेलाई कारबाही गरिने मन्त्रालयले जनाएको छ । आसन्न चाडपर्वलाई लक्षित गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत देशभर आजैदेखि १५३ ठाउँबाट चाडपर्व लक्षित सहुलियत मूल्य पसल सञ्चालन गरिएको पनि विज्ञप्तिमा उल्लेख छ ।

    हालै मुलुकमा उत्पन्न विशेष परिस्थितिबाट समग्र उद्योग, वाणिज्य, व्यापार तथा आपूर्ति क्षेत्रमा परेको प्रभावका साथै नजिकिँदै गएको चाडपर्वमा गर्नुपर्ने आपूर्ति तथा बजार व्यवस्थापनका सम्बन्धमा मन्त्रालयले आज निजी क्षेत्रका प्रतिनिधिसँग छलफलसमेत गरेको थियो ।

    छलफलमा सरकारी संरचना र निजी व्यावसायिक संस्थामा भएको आगजनी, तोडफोड र क्षतिको एकीकृत विवरण तयार गर्ने निर्णय भएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता जीतेन्द्र बस्नेतले जानकारी दिनुभयो । औद्योगिक तथा व्यावसायिक वातावरण सुधार गरी लगानी संरक्षण र प्रवर्द्धन गर्ने, निजी क्षेत्रको मनोबल उकास्ने र क्षतिग्रस्त संरचनाको पुनःस्थापनाका सम्बन्धमा छलफल भएको उहाँले बताउनुभयो ।

  • ‘जेनजी’ आन्दोलनमा सहादत प्राप्त गरेकालाई सहिद घोषणा गर्ने सरकारको निर्णय

    ‘जेनजी’ आन्दोलनमा सहादत प्राप्त गरेकालाई सहिद घोषणा गर्ने सरकारको निर्णय

    काठमाडौँ, ३० भदौः
    सरकारले यही भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनका क्रममा निधन भएका व्यक्तिलाई सहिद घोषणा गर्ने निर्णय गरेको छ ।

    नवगठित मन्त्रिपरिषद्को आज बसेको पहिलो बैठकले सहादत प्राप्त गर्नेलाई राष्ट्रिय सम्मानसहित राष्ट्रिय झण्डा ओढाउने र अन्त्येष्टि गर्ने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिनुभयो ।

    यसैगरी आन्दोलनका क्रममा सहादत प्राप्त गर्ने व्यक्तिको सम्मानमा आगामी असोज १ गते शोक दिवस मनाउने र सार्वजनिक बिदा दिने निर्णय भएको छ । सरकारले सहिदका परिवारलाई क्षतिपूर्तिबापत नियमित दिँदै आएको रु १० लाख र अन्य खर्चबापत थप रु पाँच लाख थप गरी रु १५ लाख सहयोग गर्ने निर्णय गरेको उहाँले बताउनुभयो । उक्त रकम अर्थ मन्त्रालयले गृह मन्त्रालयलाई उपलब्ध गराउने र सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत सम्बन्धित परिवारलाई प्रदान गरिने छ ।

    बैठकले घाइतेको निःशुल्क उपचार, शव सम्बन्धित स्थानमा लैजानुपरेमा निःशुल्क व्यवस्था र दाहसंस्कारमा सघाउने निर्णय गरेको छ । बैठकले आन्दोलनका क्रममा भएको जनधनको क्षति र ज्यादतीको छानबिन गर्न पूर्वन्यायाधीशको संयोजकत्वमा उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्ने सैद्धान्तिक निर्णय गरेको गृहमन्त्री अर्यालले जानकारी दिनुभयो । सोही आयोगको प्रतिवेदनका आधारमा आवश्यक काम गरिने उहाँको भनाइ छ ।

    यसैगरी सहादत प्राप्त गर्ने सहिदको स्मरणमा ‘जेनजी जागरण स्मारक पार्क’ निर्माण गर्ने निर्णय भएको छ । बैठकले अघिल्लो मन्त्रिपरिषद् बैठकमा पेस भएका तर निर्णय नभएका सबै प्रस्ताव सम्बन्धित मन्त्रालयमा फिर्ता पठाउने निर्णयसमेत गरेको गृहमन्त्री अर्यालले जानकारी दिनुभयो ।

  • एमाले चितवनमा क्षति : ५ पार्टी कार्यालयसहित २७ नेताको घरमा लुटपाट, तोडफोड र आगजनी

    एमाले चितवनमा क्षति : ५ पार्टी कार्यालयसहित २७ नेताको घरमा लुटपाट, तोडफोड र आगजनी

    चितवन, भदौ ३० –
    जेनजीका नाममा भएको आन्दोलनका क्रममा नेकपा (एमाले) चितवनलाई समेत ठूलो क्षति पुगेको छ ।

    नेकपा एमाले चितवनको जिल्ला पार्टी कार्यालय, राप्ती नगरपालिकाको पार्टी कार्यालय, खैरहनी नगरपालिकाको पार्टी कार्यालय, भरतपुर १८ मा रहेको मदन स्मृति वाचनालय र भरतपुर २२ मा रहेको मनमोहन स्मृति भवनमा लुटपाट, तोडफोडपछि आगजनी गरिएको छ ।

    यसैगरी जिल्लाभर २७ जना पार्टीका नेता कार्यकर्ताको घरमा तोडफोड, लुटपाट र आगजनी गरिएको नेकपा एमाले चितवनका सचिव प्रकाश ढुंगानाले जानकारी दिए ।

    राप्ती नगरपालिकामा १८, खैरहनी नगरपालिकामा ४, भरतपुर महानगरपालिकामा ३ र कालिका नगरपालिकामा २ जना नेता कार्यकर्ताको घरमा लुटपाट, तोडफोड र आगजनी भएको सचिव ढुंगानाले बताए ।

    कतिपयको घरमा लुटपाट र तोडफोड मात्र गरिएको छ भने कतिपयको घरमा आगजनी नै गरिएको छ । छिमेकी र स्थानीयहरुले अरु घरमा पनि क्षति हुने भन्दै आगजनी गर्नबाट रोकेपछि अधिकांश नेता कार्यकर्ताको घर जल्नबाट भने बँचेको हो । एमाले चितवनका अध्यक्ष कमल पाठकको घरमा समेत लुटपाट र तोडफोड गरिएको छ । आगजनी गर्नबाट स्थानीयहरुले बँचाएका छन् ।

    माडी नगरपालिका, इच्छाकामना गाउँपालिका र रत्ननगर नगरपालिकाभित्र कुनै पनि पार्टी कार्यालय र नेता कार्यकर्ताको घरमा क्षति नपुगेको सचिव ढुंगानाले जानकारी दिए ।

    आगजनी र तोेडफोड गरिएका पार्टी कार्यालय र नेता कार्यकर्ताका घरमा जिल्ला नेतृत्वले आज स्थलगत अवलोकन गरेको छ । स्थलगत अवलोकन गर्दै नेताहरुले संकटको अवस्थामा कत्ति पनि नअत्तालिन र आफूलाई समहालेर अघि बढ्न हौसला दिएका छन् । विभिन्न संकट र विपत्तिसँग जुध्दै नेकपा (एमाले) आज यहाँसम्म आइपुगेको बताउँदै चितवन नेताहरुले कत्ति पनि विचलित नभई अझ सशक्त भएर अघि बढ्नुपर्ने बताएका छन् ।

    एमाले चितवनका अध्यक्ष कमल पाठकले अझै शक्तिशाली भएर जनता, राष्ट्र, राष्ट्रियता विकास र समृद्धिको पक्षमा दह्रोसँग उभिने बताएका छन् ।

    उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘नेपाल कम्युनिष्ट पार्टी राणाकाल मै गठन भएको पार्टी हो, जसले आफ्नो जीवनमा धेरै उतारचढाव फुट विभाजनहरु व्यहोर्दै आयो । राणा, पंचायतले सिध्याउन सकेन, एमाले मुल धार एमालेको तत्कालिन महासचिव मदन भण्डारीको २०५० सालमा हत्या गरियो, २०५४ सालमा पार्टी फुटाइयो, ०५८ सालमा ज्ञानेन्द्रको निरंकुश सत्ताको चपेटले पार्टी संकटमा पर्याे । २०६३ सालमा एमालेलाई कमजोर बनाउने हिसाबले विदेशी तत्वको खेलमा ७० जना केन्द्रीय सदस्य र नेताले एकै पटक पार्टी छाडे । २०६४ सालको निर्वाचनको परिणाम पछि पार्टी नेतृत्व विहिन अवस्थामा पुग्यो, ०७८ मा पार्टी फुटाएर शिर्ष नेताको ठूलो पंक्ति बाहिरिएर एमाले सिध्याउने पंक्तिमा लागे ।’

    यति गर्दा पनि सबै संकट पार गर्दै एमाले अघि बढिरहेपछि सामान्य ढंगले नसकिँदो रहेछ भनेर अनेक निराधार आरोप लगाएर फेरि एकपटक अन्तर्राष्ट्रिय षड्यन्त्रसहित प्रतिक्रियावादीहरु एकजुट भएर एमाले सिध्याउन लागिएको उनले बताएका छन् ।

    उनले भनेका छन्, ‘यसरी एमाले सिध्याउन रचिएको षड्यन्त्रमा केही निर्दाेष मान्छे मारिए जो अत्यन्तै दुखःद र निन्दनीय घटना थियो । ज्यान गुमाएका सबैप्रति भावपूर्ण श्रद्दाञ्जली छ । त्यति मात्र हो र देशभरका ऐतिहासिक भवन, सर्वाेच्च अदालत, अन्य अदालतहरु, बार भवनहरु, संसद भवन, देश भरका विभिन्न पालिका, वडा कार्यालय, सार्वजनिक भवन, व्यापारिक प्रतिष्ठान र व्यक्तिका घर र सम्पतिमाथि तोडफोड आगजनी गरेर आतंक सिर्जना गरियो ।’

    एमाले सिध्याउन रचिएको पटक पटकको योजना एमाले पंक्तिले धुजाधुजा पारेको बताउँदै उनले एमाले शतिसाल भएकाले कसैले एमाले सिध्याउने सपना नदेख्न अनुरोध गरेका छन् ।

    ‘एमाले इमान्दार पार्टी हो । हामीलाई लगाइएको सबै आरोपको न्यायपूर्ण छानबिन गरियोस् र दोषी देखिए तल देखि माथिसम्म कारवाही गरियोस् भोग्न तयार छौं’ उनले भनेका छन्, ‘एमाले पनि रिफम गरेर चलाउँछौ र अझै शक्तिशाली भएर जनता, राष्ट्र, राष्ट्रियता विकास र समृद्दिको पक्षमा दह्रोसँग उभिने छौँ । कोही कमरेडहरु विचलित नभई दह्रोसँग उभिन अनुरोध गर्दछौं ।’

  • असोज १ गते शोक दिवस मनाइने

    असोज १ गते शोक दिवस मनाइने

    ३० भदौ, काठमाडौं-
    सरकारले पर्सि (१ असोज)मा शोक दिवस मनाउने निर्णय गरेको छ ।

    सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भोलि शोक दिवस मनाउने निर्णय गरेको गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।

    त्यस्तै असोज १ गते सार्वजनिक बिदा दिने र ज्यान गुमाएका व्यक्तिहरूला राष्ट्रिय झण्डा ओड्याउने निर्णय समेत भएको छ ।

    उनका अनुसार जेनजी आन्दोलनका क्रममा शाहदत प्राप्त गरेका व्यक्तिहरूलाई शहीद घोषणा गरिएको छ ।

     

  • आगजनी भएका संरचनाको दशैँअघि नै रङरोगन गरिने

    आगजनी भएका संरचनाको दशैँअघि नै रङरोगन गरिने

    काठमाडौँ, ३० भदौः
    सहरी विकासमन्त्री कुलमान घिसिङले आगजनीका कारण कुरुप देखिएका संरचनाको दशैँअघि नै रङरोगन गर्ने गरी तयारी अगाडि बढाइने बताउनुभएको छ ।

    आज मन्त्रालयको पदभारपछि सम्बोधन गर्दै उहाँले तत्कालका लागि रङरोगन गरिने र त्यसपछि फर्निचरलगायत अत्यावश्यक सामान व्यवस्थापन गर्नुपर्ने बताउनुभएको हो ।
    मन्त्री घिसिङले पुनर्निर्माण कार्य अगाडि बढाउन विशेष कोष खडा गर्ने तथा त्यसमा स्वदेश तथा विदेशमा बस्ने नेपालीलाई आग्रह गरिने बताउनुभयो ।

    “गत साता जेनजी आन्दोलनका क्रममा आगजनी भएका संरचनाको पुनर्निर्माण गर्नुपर्ने र त्यसका लागि आर्थिक स्रोत व्यवस्थापन नै अहिलेको मुख्य चुनौती हो । हाम्रो संरचना हामी आफैँ बनाउन सक्छौँ भन्ने सन्देश दिनका लागि पनि विभिन्न सहयोगीसँग आग्रह गर्नेछौँ”, उहाँले भन्नुभयो, “तत्काल पुनर्निर्माणको काम अगाडि बढाउने गरी एक साताभित्र खाका तयार गरेर अगाडि बढ्नेछौँ ।”

    मन्त्री घिसिङले भ्रष्टाचार उन्मूलन र सुशासन कायम गर्ने तथा मुलुकमा शान्ति सुव्यवस्था कायम गर्नु ठूलो चुनौती रहे पनि तिनको समाधान गर्न सबै लाग्नुपर्ने बताउनुभयो ।

    मन्त्रालयका सचिव गोपाल सिग्देलले पूर्वाधारमा भएको क्षति मूल्याङ्कन गर्ने, पुनर्निर्माणका लागि स्थानीय र प्रदेश सरकारसँग समन्वय गरिने जानकारी दिनुभयो ।

  • तेस्रो चितवन गोल्डकप तत्कालका लागि स्थगित

    तेस्रो चितवन गोल्डकप तत्कालका लागि स्थगित

    चितवन,३० भदौ
    तेस्रो संस्करणको चितवन गोल्डकप फुटबल तत्कालका लागि स्थगित भएको छ ।

    आयोजक भरतपुर फुटबल क्लब बिएफसीले आज एक प्रेस विज्ञप्ति जारी गर्दै असोज ४ गतेदेखि देखिएको हुने भनिएको प्रतियोगिता तत्कालका लागि स्थगित भएको जानकारी दिएको हो ।

    देशको पछिल्लो राजनीतिक घटनाक्रम र केही प्राविधिक तयारी समेत नपुगेकोले तत्कालका लागि प्रतियोगिता स्थगित गरिएको विज्ञप्तिमा उल्लेख छ । आन्तरिक तयारीमा जुटिरहेको बेला देखिएको प्राविधिक समस्या र देशको पछिल्लो अवस्थाका कारण पूर्वनिर्धारित समयमा प्रतियोगिता आयोजना गर्न सम्भव नभएको संयोजक धुर्व भुसालले जानकारी दिए ।

    अवस्था सामान्य भएसँगै नयाँ मिति घोषणा गरेर तयारी जुट्ने पनि भुसालले बताए । यस अघि प्रतियोगिता असोज ४ देखि १३ गतेसम्म नेपाल प्रहरी शिक्षालय भरतपुर तालिमकेन्द्रको मैदान हुने तय थियो । पहिलो चितवन गोल्डकपको उपाधि त्रिभुवन आर्मी फुटबल क्लब तथा दोस्रो संस्करणको उपाधि बुटवल लुम्बिनी एफसीले जितेको थियो ।

  • तनहुँ कारागारबाट भागेका १०९ कैदीबन्दी पक्राउ

    तनहुँ कारागारबाट भागेका १०९ कैदीबन्दी पक्राउ

    दमौली (तनहुँ), भदौ ३० –
    तनहुँ कारागारबाट फरार भएकामध्ये १०९ जना कैदीबन्दी पक्राउ परेका छन् । गत भदौ २४ गते राति जेनजी आन्दोलनको बहानामा फरार भएका ३२७ जनामध्ये आजसम्म १०९ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    पक्राउ पर्नेमा ६८ पुरुष, नौ महिला र ३२ पुरुष थुनुवा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो । प्रहरीले जेनजी आन्दोलनको बहानामा तनहुँ कारागारबाट फरार रहेका कैदीबन्दीलाई सम्पर्कमा आउन अनुरोध गरेको छ । देशको विकसित असमान्य परिस्थितिको फाइदा लिई हिरासत र कारागारबाट फरार रहेका थुनुवा, कैदीबन्दीलाई स्वेच्छिक रुपमा नजिकको प्रहरी कार्यालय वा कारागार कार्यालयमा सम्पर्क आउन आग्रह गरिएको थापाले बताउनुभयो ।

    अन्यथा आवश्यकताका आधारमा बल प्रयोग गरी नियन्त्रणमा लिइने जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो । साथै कारागारबाट फरार रहेका कैदीबन्दीहरू छरछिमेकमा आएको थाहा पाएमा प्रहरीलाई सूचना दिन आम जनसमुदायमा अपिल गरिएको छ । रासस

  • सीसीटीभी फुटेजका आधारमा लोकसेवा आयोग कार्यालय जलाउने दुई युवक समातिए

    सीसीटीभी फुटेजका आधारमा लोकसेवा आयोग कार्यालय जलाउने दुई युवक समातिए

    ३० भदौ, जनकपुरधाम ।
    जेनजी आन्दोलनको क्रममा प्रहरीको हतियार लुटेको आरोपमा २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरूको साथबाट लुटिएको हतियार समेत बरामद भएको प्रहरीले जनाएको छ ।

    ५०/६० जनाको समूहले २४ भदौ बेलुकी जनकपुरधाम उपमहानगरपालिका–९ स्थित मधेश प्रदेश लोकसेवा आयोगको कार्यालयमा तोडफोड र आगजनी गरेको थियो ।

    चारपाङ्ग्रे गाडी ४ वटा, मोटरसाइकल ४ वटा, सीसीटीभी क्यामेरा तथा अन्य भौतिक संरचना तोडफोड गर्दै सुरक्षार्थ खटिएको नेपाल प्रहरीकै एसएलआर राइफल १ थान र त्यसमा प्रयोग हुने ५० राउन्ड गोली समेत लुटपाट भएको थियो ।

    धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहका अनुसार सीसीटीभी फुटेजको आधारमा हतियार लुटपाटमा संलग्न जनकपुरधाम–९ बस्ने ३७ वर्षीय मनिषकुमार अधिकारी र २१ वर्षीय सन्तोषकुमार यादवलाई पक्राउ गरेको छ ।

    उनीहरूको साथबाट लुटिएको हतियार बरामद गरिएको छ । यस्तै प्रहरीबाट खोसिएको थ्रिनट थ्री राइफल दुई दिन अघि बरामद गरिएको डीएसपी सिंहले बताए ।

    डीएसपी सिंहका अनुसार आन्दोलनको क्रममा प्रहरीले दुईवटा हतियार लुटेको थियो । जुन बरामद भइसकेको छ ।