Blog

  • जनमत पार्टीका ६ नेताले दिए सामूहिक राजीनामा

    जनमत पार्टीका ६ नेताले दिए सामूहिक राजीनामा

    काठमाडौँ ०२ असोज
    जनमत पार्टीका ६ शीर्ष नेताहरूले पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाउँदै सामूहिक राजीनामा दिएका छन् । आजैको मितिदेखि साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट उनीहरुले राजीनामा दिएका हुन् ।

    राजीनामा दिनेहरूमा जनमत पार्टीका वरिष्ठ उपाध्यक्ष अब्दुल खान, केन्द्रीय प्रवक्ता डा. शरत सिंह यादव, जनमत युवा सङ्घका केन्द्रीय संयोजक सञ्जय कुमार यादव, जनमत स्वास्थ्यकर्मी सङ्घका केन्द्रीय संयोजक सी.के. सिंह, सुदूरपश्चिम प्रदेशका वरिष्ठ प्रदेश इन्चार्ज राजाराम चौधरी र राष्ट्रिय परिषद् सदस्यसहित केन्द्रीय सदस्य विक्रम बहादुर बम रहेका छन् ।

    पार्टी अध्यक्षलाई सम्बोधन गरेर पठाइएको पत्रमा उनीहरूले नेपालका विषम परिस्थिति र जनमानसको अपेक्षाअनुरूप पार्टी नेतृत्वले आत्मालोचना गर्न नसकेको र नेतृत्व परिवर्तनको मागलाई अस्वीकार गर्दै नेताहरूले अपमान गरेको आरोप लगाएका छन् ।

    राजीनामा पत्रमा भनिएको छ, ‘नेपालको विषम परिस्थितिलाई मध्यनजर गरी जनभावना अनुरूप पार्टीको प्रमुख नेतृत्वलाई आत्मालोचना गरी नेतृत्व परिवर्तनको निम्ति अल्टिमेटमसहित हामीले माग गरेको राजीनामा पत्रलाई तपाईँले अवहेलना गरी जेन्जी पुस्ताले बगाएको रगतको अपमान गरी उल्टै नेता कार्यकर्ताहरूलाई अंहकारको भाषामा आफ्नो आधिकारिक फेसबुकमार्फत धारणा सार्वजनिक गरी सकेपछि हाम्रो ध्यानाकर्षण भएको छ ।’

    आफूहरू कुनै प्रकारको पद स्वार्थको राजनीतिमा सामेल नहुने बताउँदै जनभावना तथा नयाँ पुस्ताको चाहना अनुरूप जेनजी पुस्ताकै नेतृत्वमा सामेल भई सहयोग र सहकार्य गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।

    उनीहरुले जनमत पार्टीका अध्यक्ष डा.सिके राउतलाई २४ घण्टाभित्र राजीनामा दिन अल्टिमेटम दिएका थिए । त्यसपछि अध्यक्ष राउतले उल्टै उनीहरूलाई नै राजीनामा दिन चेतावनी दिएका थिए ।

  • आज सुनको भाउ तोलामा ९ सय रुपैयाँले घट्यो

    आज सुनको भाउ तोलामा ९ सय रुपैयाँले घट्यो

    काठमाडौं असोज २-

    आज सुनको भाउ तोलामा ९ सय रुपैयाँले घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको दिनका लागि सुनको मुल्य प्रतितोला २ लाख १५ हजार २ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन सुनको मुल्य प्रतितोला २ लाख १६ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

    बिहिबार चाँदीको मुल्य पनि तोलामा ३० रुपैयाँले घटेर २५२० रुपैयाँ भएको छ । अघिल्लो दिन प्रतितोला २५५० रुपैयाँमा कारोबार भएको थियो ।

  • सिंहदरबार जल्दा पनि महानगरपालिकाले दमकल पठाएन भन्ने गलत हो : नगर प्रहरी प्रमुख पाण्डे

    सिंहदरबार जल्दा पनि महानगरपालिकाले दमकल पठाएन भन्ने गलत हो : नगर प्रहरी प्रमुख पाण्डे

    काठमाडौं २ असोज,
    काठमाडौं महानगरपालिकाले जेनजी युवाको प्रदर्शनको क्रममा सिंहदरबार र सर्वोच्च अदालत जस्ता संरचना जल्दा पनि दमकल नपठाएको भन्ने आरोपको खण्डन गरेको छ ।

    काठमाडौं महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले आज बिहान पत्रकार सम्मेलन गरी सुरक्षाका कारण सबै ठाउँमा दमकल पुग्न नसकेको बताए । तर महानगरपालिकाको प्रयासमा विभिन्न ठाउँमा दमकलमा पानी भर्न सयौं ट्यांकर समेत पठाइएको उनले जिकीर गरे ।

    ‘हामीले अनुरोध गरेर, सयौं पानी ट्यांकरहरु सहयोगको रुपमा लिएर आएर, तत् ठाउँमा दमकलसँग पानी सकिएको अवस्थामा त्यहीँ पानी फिलिङ पनि गरेका थियौं,’ पाण्डेले भने, ‘त्यसमा हामी चुकेका छैनौं । महानगरले दमकल पठाएन भन्ने गलत कुरा हो ।’

    दमकल आफैं पनि सुरक्षित हुनुपर्ने भएकाले बाटो क्लियर होस् भन्ने हिसाबले पर्खिएको उनले बताए । त्यसको लागि नेपाली सेनासँग पटक–पटक समन्वय गरेको महानगर प्रहरी प्रमुख पाण्डेले बताए ।

    ‘आर्मी हेडक्वाटरको अपरेसन हेर्ने जर्साबसँग समन्वय गरेर हामीले दमकल परिचालन गरेका हौं । यसमा कोही भ्रममा नहुन म अनुरोध गर्न चाहान्छु,’ पाण्डेले भने ।

     

  • आज गणेशमान सिंहको २८ औं स्मृति दिवस मनाइँदै

    आज गणेशमान सिंहको २८ औं स्मृति दिवस मनाइँदै

    काठमाडौं असोज,२
    नेपाली कांग्रेसका संस्थापक गणेशमान सिंहको २८ औं स्मृति दिवस आज मनाइँदै छ । दिवसको अवसरमा भोभाभगवतीमा रहेको गणेशमान सिंहको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम छ ।

    नेपालमा प्रजातन्त्र स्थापना गर्नका लागि र प्रजातन्त्र स्थापनापछि तत्कालीन राजाले कू गरेपछि प्रजातन्त्र पुनर्स्थापनाका लागि नेतृत्व गरेको र जनतालाई अधिकार सम्पन्न बनाउन राजासँग सम्झौता नगरेको नेताका रुपमा गणेशमान सिंहलाई सम्झने गरिन्छ ।

    १९९७ सालदेखि नै राणा शासन अन्त्यका लागि प्रजा परिषद्को सदस्यका रुपमा सक्रिय रहेका सिंहले ०४६ सालको जनआन्दोलन पछि प्रधानमन्त्री बन्न आएको अफर पनि अस्वीकार गरेका थिए ।

    १९७२ साल कात्तिक २४ गते काठमाडौंको क्षेत्रपाटीस्थित चाक्सीबारीमा जन्मिएका नेता सिंहको निधन २०५४ साल असोज २ गते भएको थियो ।

    काठमाडौंको खानदानी परिवारमा जन्मिएका सिंहले १९९७ सालमा स्थापना भएको नेपालको पहिलो राजनीतिक पार्टी प्रजा परिषद्को सदस्य भई राणा शासन हटाउने अभियानमा आफूलाई सक्रिय बनाएका थिए ।

    जेनजी युवा आन्दोलनको क्रममा चाक्सीबारीस्थित गणेशमान सिंहको निवासमा भदौ २४ गते आगजनी भएको थियो । गणेशमानका छोरा कांग्रेस नेता प्रकाशमान सिंहसहित उनको परिवारलाई नेपाली सेनाले उद्धार गरेर सुरक्षित स्थानमा लगेको थियो ।

  • मुग्लिन–नारायणघाट सडक दुईतर्फी सञ्चालनमा

    मुग्लिन–नारायणघाट सडक दुईतर्फी सञ्चालनमा

    काठमाडौँ असोज २
    तुइन खोला छेउमा सामान्य पहिरो खसेकोले एकतर्फी भएको मुग्लिन–नारायणघाट सडक दुईतर्फी सञ्चालनमा आएको छ ।

    पहिरो पन्छाएसँगै बिहान ८ः३० बजेबाट सडक दुईतर्फी सञ्चालनमा आएको सडक सुपरभाइजर ईश्वर क्षेत्रीले जानकारी दिए ।

    यस सडकखण्डको विभिन्न स्थानमा पहिरो खस्ने गरेकोले पछिल्लो समय सडक अवरुद्ध हुँदै आएको थियो । लगातार वर्षा भएसँगै ससाना पहिरो खस्ने क्रम जारी रहेकोले यात्रामा सावधानी अपनाउन प्रहरीले आग्रह गर्दै आएको छ ।

  • आज बिहीबार कस्तो रहला तपाईँको दिन ? हेर्नुहाेस् राशिफल

    आज बिहीबार कस्तो रहला तपाईँको दिन ? हेर्नुहाेस् राशिफल

    आज मिति वि.सं.२०८२ साल आश्विन २ गते । बिहीबार । ईश्वी सन् २०२५ सेप्टेम्बर १८ तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । शरद ऋतु । श्रीशाके १९४७ । आश्विन कृष्णपक्ष । तिथि–द्वादशी, ४६ घडी १७ पला, रातको १२ बजेर २१ मिनेट उप्रान्त त्रयोदशी । नक्षत्र–तिष्य, ७ घडी ५९ पला, बिहान ९ बजेर २ मिनेट उप्रान्त अष्लेषा । योग–शिव, ४७ घडी ० पला, रातको १२ बजेर ३९ मिनेट उप्रान्त सिद्ध । करण–कौलव, दिउसो १२ बजेर ४७ मिनेट उप्रान्त तैतिल, रातको १२ बजेर २१ मिनेट उप्रान्त गर । आनन्दादिमा–शुभ योग । चन्द्रराशि–कर्कट । द्वादशी श्राद्ध ।

    काठमाडौँमा सूर्योदय बिहान ०५ बजेर ५० मिनेट । सूर्यास्त बेलुकी ६ बजेर ३ मिनेट । दिनमान ३० घडी ३२ पला ।

    आजको राशिफल

    मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) राजनीति तथा समाजसेवामा समय लगानी गर्दै हुनुहुन्छ भने जनताको काम गर्न नसक्दा आलोचना सुन्नुपर्नेछ । सवारी साधनको कारोबारबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ । आमाको स्वास्थ्यमा समस्या आई औषधी उपचार खर्च बढ्नेछ । अध्ययनमा नतिजा हात पार्न राम्रै मेहनत गर्नुपर्नेछ । वित्तीय बजारमा लगानीको लागी केही समय पर्खनु नै राम्रो रहनेछ ।

    वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) न्यायिक निर्णयहरू तपाईँकै पक्षमा हुनेछन् भने प्रतिस्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ । पढाइ लेखाइमा भनेजस्तो प्रगति गर्न सकिनेछ भने खेलकुद वा पराक्रमी क्रियाकलाप भाग लिई नाम तथा दाम दुवै कमाउन सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ भने जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । उद्योग तथा व्यापारमा लगानी गरी नाफा कमाउन सकिनेछ ।

    मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) पारिवारिक माहौलमा समय बित्ने तथा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । घरायसी व्यापारमा समय व्यातित हुने तथा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । आफन्त तथा कुटुम्बको सहयोग पाइनाले कामहरू तीव्र गतिमा अगाडी बढाउन सकिनेछ । प्रणय सम्बन्धमा रमाउन चाहनेहरूका लागी समय राम्रो रहेको छ । बोलीको प्रभाव बढ्ने हुनाले बोलेरै धेरै काम गर्न सकिनेछ । वित्तीय बजारमा सुझबुझका साथ लगानी गर्नुहोला ।

    कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) राजनीतिकर्मी तथा समाजसेवीहरूले जनताको काम गरी नाम कमाउन सक्नेछन् । नोकरीमा सहकर्मीहरूलाई पछि पार्दै राम्रा काम गरी सम्मान पाउने योग रहेको छ । पढाइ लेखाइमा मन जानेछ भने नतिजा आफैतिर ल्याउन सकिनेछ । व्यापार, शेयर बजार तथा औद्योगिक क्षेत्रमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ । नयाँ कामको प्रस्ताव आउनेछ ।

    सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) खर्च बढ्ने तथा कामहरू नहुने प्रशस्त सम्भावना रहेको छ । आर्थिक स्थिति खस्केर जाने हुनाले घरायसी खर्च व्यवस्थापन गर्न हम्मे हम्मे पर्नेछ । पढाइ लेखाइमा समय दिन नसक्दा पछि परिनेछ । स्वास्थ्यमा समस्या आई औषधी उपचार खर्च हुने योग रहेको छ । व्यवसायबाट आम्दानी गर्न लगानी बढाउनु पर्ला । तर पनि छोटो दुरीको यात्रा हुने तथा विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ ।

    कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) भौतिक सम्पत्तिहरू जुट्नेछन् भने उपहार प्राप्त हुने योग रहेको छ । नयाँ कामहरू गरेर आम्दानीका स्रोतहरू बढाउन सकिनेछ । सरकारी तथा सम्पत्ति हात लागी हुने प्रशस्त सम्भावना रहेको छ । दाजुभाइ वा अग्रजहरूको सुझाव तथा सल्लाह मानेर अगाडी बढ्दा सफलता पाउन सकिनेछ । विद्यामा राम्रो प्रगति हुने हुँदा पढाइ लेखाइमा मन जानेछ । बौद्धिकता प्रयोग गरी समाजमा राम्रा काम गरेर देखाउन सकिनेछ भने आस मारेको काम बन्नाले उत्साह जाग्नेछ ।

    तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ । कार्यक्षेत्रमा तारिफ योग्य काम गरी लोकप्रियता कमाउन सकिनेछ । शिक्षामा भनेजस्तो नतिजा हात पार्न सकिने हुनाले प्रतिस्पर्धीहरू किनारा लाग्नेछन् । माया प्रेममा विश्वासको वातावरण बढेर जानेछ । नयाँ काम पाउने तथा नोकरीमा सुगम स्थानमा स्थानान्तरणको अधिक सम्भावना रहेको छ । व्यापार, शेयर बजार तथा उत्पादनमुखी व्यवसायमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ ।

    वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) राम्रा तथा परिणाममुखी काम गरी अरूको मन जित्न सकिनेछ । आर्थिक समस्या हल भएर जानेछ भने व्यापार तथा शेयर बजारमा लगानी वृद्धि हुनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा समय लगानी गर्नेहरूले सफलता हात लगाउन सकिनेछ । धार्मिक कार्यमा मन जानेछ भने धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहको छ । माया प्रेममा नजिक भई आफ्ना भावना साटासाट गर्न सकिनेछ ।

    धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) कामहरू समयमा नसकिने तथा अरूबाट बाधा व्यवधान हुने हुनाले मानसिक तनाव बढ्नेछ । मनोबल कमजोर हुने हुनाले काम गर्न जोस जाँगर हराएर जानेछ । पढाइ लेखाइ तपाईँ आफ्नै कारणले बिग्रने हुँदा अरूभन्दा पछि परिनेछ । प्रेम प्रसङ्ग टाढै रहनुहोला प्रिय पात्रसँग मनमुटाब सिर्जना हुनेछ । खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ । विधि विधान तथा कानुन संवत् काम गर्नुहोला दण्ड तथा जरिवाना हुने ग्रहयोग रहेको छ ।

    मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) प्रतिस्पर्धामा प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै नतिजा हात पार्न सकिनेछ । न्यायिक निर्णयहरू तपाईँकै पक्षमा फैसला हुनेछन् । बिलासी तथा भौतिक वस्तुका प्रयोग गर्न फाइनेछ । व्यापार तथा वित्तीय क्षेत्रको लगानीबाट मनग्गे धन आर्जन हुने तथा व्यवसायकै सिलसिलामा यात्रा हुनेछ । प्रेमील जोडीहरूका लागी समयले साथ दिनेछ ।

    कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) न्यायिक निर्णयहरू आफ्नो पक्षमा पार्न सकिनेछ भने शत्रु परास्त हुनेछन् । विद्या तथा प्रतिस्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समयले साथ दिनेछ । व्यापार, शेयर बजार तथा औद्योगिक क्षेत्रमा लगानी गरी दिगो फाइदा गर्न सकिनेछ । पुराना थाती रहेका कामहरू सम्पादन हुनेछन् । अध्ययन वा कामको सिलसिलामा लामो दुरीको यात्राको योग रहेको छ ।

    मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) धन, सम्पत्ति, चिट्ठा तथा उपहार आकस्मिक प्राप्तिको योग रहेको छ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्नी बिचको मायाको गाँठो कसिलो भएर जानेछ । सन्तान तथा छोराछोरीले तपाईँको काममा भरपुर सहयोग गर्नेछन् भने सन्तानको प्रगतिमा मन रमाउनेछ । विद्यामा उत्कृष्ट नतिजा हात लाग्ने तथा पुरस्कार तपाईँकै पोल्टोमा पर्नेछ । वित्तीय क्षेत्र तथा शेयर बजारमा आज गरिने लगानीबाट भविष्यमा राम्रो आम्दानी हुनेछ ।

    तपाईँको दिन शुभ रहोस् ।

  • यूएईले भिजिट भिसापछि वर्किङ भिसा पनि रोक्यो

    यूएईले भिजिट भिसापछि वर्किङ भिसा पनि रोक्यो

    काठमाडौं, असोज १
    संयुक्त अरब इमिरेट्स (यूएई)ले भिजिट भिसापछि वर्किङ भिसामा समेत रोक लगाएको छ ।

    एनआरएनए यूएईका उपाध्यक्ष भीम मल्ल ठकुरीका अनुसार हाल यूएईले भिजिटर/वर्किङ दुवै भिसा बन्द गरेको छ ।

    उनले कहिलेसम्मका लागि बन्द भएको भन्नेबारे ठोस जानकारी नभएको बताए । हालको नेपालको अवस्थालाई मध्यनजर गरेर वर्किङ भिसा पनि बन्द भएको हुनसक्ने आकलन गरिएको छ ।

    भिजिट भिसाको नाममा फ्रिल्यान्सर र भिजिट भिसा भन्दै ठग्ने बिचौलियाहरूको ठगी धन्दा मौलाएको समेत थियो । अबुधाबीस्थित नेपाली दूतावासले यसबारे अहिलेसम्म कुनै आधिकारिक जानकारी प्राप्त नभएको जनाएको छ।

     

  • राष्ट्रिय वाणिज्य बैंकबाट मात्रै लुटियो साढे ३८ करोड

    राष्ट्रिय वाणिज्य बैंकबाट मात्रै लुटियो साढे ३८ करोड

    काठमाडौं, असोज १-
    २३ र २४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा सरकारी लगानीको राष्ट्रिय वाणिज्य बैंकलाई मात्रै साढे ३८ करोडको क्षति पुगेको छ । बैंकहरूबाट करिब १८ किलो सुन र ५ करोड रुपैयाँभन्दा धेरै नगद लुटिएको हो ।

    आन्दोलनकारीले राष्ट्रिय वाणिज्य बैंकको नयाँ बानेश्वर शाखा तोडफोड तथा आगजनी गरी ३६ करोड रुपैयाँ बराबरको सुन तथा नगद लुटेका हुन् ।

    बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत पवन रेग्मीका अनुसार बैंकको बानेश्वर शाखाबाट १७ हजार ९ सय ४५ ग्राम सुन र ५ करोड १५ लाख रुपैयाँ नगद लुटिएको छ ।

    ‘जेनजी आन्दोलनको नाममा भएको लुटपाट, तोडफोड र आगजनीबाट राष्ट्रिय वाणिज्य बैंकलाई सुन र नगदको क्षति भएको छ,’ रेग्मीले भने, ‘सुन तथा नगद गरेर ३८ करोड ४० लाख रुपैयाँ बराबरको नोक्सानी भएको छ ।’

     

     

  • एमाले युवाहरुको पार्टी हो : महासचिव पोखरेल

    एमाले युवाहरुको पार्टी हो : महासचिव पोखरेल

    काठमाडौँ, १ असोज :
    नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले एमाले युवाहरूको पार्टी भएको स्पष्ट पार्नुभएको छ ।

    एमालेका केन्द्रीय विभागको बैठकलाई आज सम्बोधन गर्दै उहाँले एमाले कहिल्यै युवाबाट टाढा नरहेको बताउनुभयो । महासचिव पोखरेलले एमालेले जिल्लादेखि केन्द्रसम्म युवालाई आरक्षण प्रदान गरेको उल्लेख गर्नुभयो ।

    सोही क्रममा जेनजी प्रदर्शनमा ज्यान गुमाएका सहिदप्रति श्रद्धाञ्जली अर्पण गरियो । एमालेले असोज ३ गते संविधान दिवस मनाउने तयारीका लागि पार्टीको विभागीय बैठक राखेको थियो ।

    एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि आगामी असोज ३ गते संविधान दिवस भव्यतापूर्वक मनाउने जानकारी दिनुभयो ।

    महासचिव पोखरेलले परिपत्र गर्दै संविधान दिवस भव्यताका साथ मनाउन प्रदेश कमिटी र जिल्ला कमिटी अध्यक्षलाई निर्देशन दिइसक्नु भएको छ ।

  • आवधिक निर्वाचन तोकिएकै मितिमा हुनुपर्छः बाबुराम भट्टराई

    आवधिक निर्वाचन तोकिएकै मितिमा हुनुपर्छः बाबुराम भट्टराई

    काठमाडौं, असोज १
    पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आवधिक निर्वाचन तोकिएकै मितिमा हुनुपर्ने बताएका छन्।

    बहुदलीय लोकतन्त्रमा आवधिक निर्वाचन प्रतिष्पर्धी, स्वतन्त्र र निष्पक्ष ढंगले हुनुपर्ने बताएका हुन्।

    उनले लोकतन्त्रको खम्बालाई कति पनि कमजोर पार्नु नहुने बताए।

    न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले तोकिएकै मितिमा निर्वाचन गराउन राजनीतिक दलहरूले भूमिका खेल्नुपर्ने बताए।