Blog

  • प्याराडाइज इन्फोटेक र रोटर्याक्ट क्लब अफ नारायणी मिडटाउनबीच निरन्तर आईटी साझेदारी

    प्याराडाइज इन्फोटेक र रोटर्याक्ट क्लब अफ नारायणी मिडटाउनबीच निरन्तर आईटी साझेदारी

    चितवन, असोज २ –
    रोटर्याक्ट क्लब अफ नारायणी मिडटाउन (Rotaract Club Of Narayani Mid Town) ले २०२५–२६ कार्यकालका लागि पनि प्याराडाइज इन्फोटेक (Paradise infotech) लाई आफ्नो आधिकारिक आईटी तथा प्रविधि साझेदारको रूपमा निरन्तरता दिने निर्णय गरेको छ ।

    यो साझेदारी २०२४–२५ मा तत्कालीन अध्यक्ष रोटर्याक्टर राजीव घिमिरेको नेतृत्वमा सुरुवात भएको हो । त्यसयता प्याराडाइज इन्फोटेकले क्लबका डिजिटल तथा प्रविधिमुखी गतिविधिहरूमा निरन्तर सहयोग पुर्‍याउँदै आएको छ । क्लबका वेबसाइट, सामाजिक सञ्जाल पेजहरू, प्रचार सामग्रीदेखि लिएर विभिन्न प्रविधि–सम्बन्धी योजना सञ्चालनमा पनि यस कम्पनीको सक्रिय भूमिका रहेको छ । क्लबले यस योगदानलाई उच्च मूल्याङ्कन गर्दै आगामी कार्यकालमा पनि सहकार्यलाई निरन्तरता दिने निर्णय गरेको हो ।

    नयाँ कार्यकाल २०२५–२६ का लागि क्लब अध्यक्ष आँचल थापा मगर र प्याराडाइज इन्फोटेकका सीईओ गबिश खनालबीच २०८२ भदौ २० गते (५ सेप्टेम्बर २०२५, शुक्रबार) का दिन सेरिन बुटिक होटलमा आयोजित १९औं इन्स्टलेशन कार्यक्रममा समझदारी पत्र (MoU) मा हस्ताक्षर गरिएको छ ।

    प्याराडाइज इन्फोटेकले काठमाडौं र चितवनमा कार्यालय स्थापना गरेर डिजिटल मार्केटिङ, सामाजिक सञ्जाल व्यवस्थापन, वेबसाइट विकास तथा सूचना प्रविधिसम्बन्धी समाधानमा उल्लेखनीय सेवा प्रदान गर्दै आएको छ ।

  • राष्ट्रिय युवा संघ नेपाल चितवनको संयोजकमा सन्तोष श्रेष्ठ, सह संयोजकमा उत्तम सेढाई

    राष्ट्रिय युवा संघ नेपाल चितवनको संयोजकमा सन्तोष श्रेष्ठ, सह संयोजकमा उत्तम सेढाई

    चितवन, असोज २ –
    राष्ट्रिय युवा संघ नेपाल चितवनको संयोजकमा मधुपर्क श्रेष्ठ (सन्तोष) र सह संयोजकमा उत्तम सेढाई चयन भएका छन् ।

    आज सम्पन्न राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी चितवनको भेलाले श्रेष्ठलाई संयोजकको जिम्मेवारी सुम्पेको हो । श्रेष्ठको नेतृत्वमा जिल्ला कमिटीको अधिवेशन सम्पन्न हुनेछ ।

    राष्ट्रिय युवा संघ नेपालकी केन्द्रीय सदस्य एवम् चितवन जिल्ला इन्चार्ज अमृता भट्टराईको प्रमुख उपस्थितिमा सम्पन्न भेलामा नेकपा एमाले केन्द्रीय सदस्य एवम् संविधान सभा सदस्य कृष्णभक्त पोखरेल, नेकपा एमाले चितवनका अध्यक्ष कमलराज पाठक, उपाध्यक्ष श्याम विष्ट, सचिव प्रकाश ढुंगाना, एमाले चितवनका लेखा कमिटी अध्यक्ष शंकर अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

  • देउवाको सचिवालयले भन्यो– निवासमा पैसाको सुरूङ्ग छैन

    देउवाको सचिवालयले भन्यो– निवासमा पैसाको सुरूङ्ग छैन

    २ असोज, काठमाडौं ।
    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सचिवालयले देउवा निवासमा अत्यधिक पैसा भेटिएको कुरा सत्य नभएको प्रष्टीकरण दिएको छ ।

    भदौ २४ गते जेनजी युवाहरूको प्रदर्शनका नाममा देउवा निवासमा भएको आक्रमण पश्चात सामाजिक सञ्जालमा पैसाको सुरुङ भेटिएको भन्दै भिडियोहरू सार्वजनिक भएपछि सचिवालयले खण्डन गरेको हो ।

    पार्टी र पार्टी नेतृत्वलाई बदनाम गर्ने उद्देश्यले भ्रम फैल्याइएको भन्दै देउवाको सचिवालयले ध्यानाकर्षण भएको जनाएको छ ।

    ‘ देउवा निवासमा अत्याधिक पैसा भेटिएको, जलेका नोटका अंशहरू निवास परिसरमा जताततै भेटिएको, पैसाको सुरूङ्ग रहेको जस्ता कपोकल्पित समाचार सम्प्रेषण भईरहेकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ देउवाका स्वकीय सचिव भानु देउवाले जारी विज्ञप्तिमा उल्लेख छ ।

  • साफ यू-१७ च्याम्पियनसिप : नेपाल बंगलादेशसँग ४-० ले पराजित

    साफ यू-१७ च्याम्पियनसिप : नेपाल बंगलादेशसँग ४-० ले पराजित

    २ असोज, काठमाडौं ।
    श्रीलंकामा भइरहेको साफ यू-१७ च्याम्पियनसिप अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल बंगलादेशसँग ४-० ले पराजित भएको छ ।

    बिहीबार कोलोम्बो रेसर्कोर्समा भएको समूह ए को खेलमा पराजित भएपछि नेपालले सेमिफाइनल पुग्न अन्तिम खेलको नतिजा पर्खनुपर्ने भएको छ ।

  • अध्यक्ष ओली गुण्डुस्थित भाडाको घरमा

    अध्यक्ष ओली गुण्डुस्थित भाडाको घरमा

    भक्तपुर, २ असोजः 
    नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली भक्तपुरको गुण्डुमा बसाइँ सर्नुभएको छ ।
    ‘जेनजी’ प्रदर्शनका क्रममा गत भदौ २४ गते प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि नेपाली सेनाको सुरक्षा घेरामा रहनुभएका उहाँ आजदेखि सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित एक भाडाको घरमा बसाइँ सर्नुभएको हो । उहाँको बालकोटस्थित निवास जेनजी प्रदर्शनका क्रममा आगजनी भएको थियो ।
    गुन्डुस्थित निवासमा आज अध्यक्ष ओलीसँग पार्टीका महासचिव शङ्कर पोखरेल, नेता भानुभक्त ढकाल, महेश बस्नेत, एमाले भक्तपुर जिल्ला अध्यक्ष बचन देउजालगायतले भेट गर्नुभयो । एमालेले संविधान दिवसका अवसरमा च्यासलस्थित पार्टी कार्यालयमा आयोजना गर्ने कार्यक्रममा अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको जनाएको छ ।
  • सैनिक ब्यारेकबाट फर्किए ओली

    सैनिक ब्यारेकबाट फर्किए ओली

    काठमाडौँ, २ असोजः 
    निवर्तमान प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली नेपाली सेनाको सुरक्षाबाट बाहिरिएका छन्।

    जेनजी प्रदर्शनका क्रममा उनलाई नेपाली सेनाले सुरक्षाका निम्ति नियन्त्रणमा लिएको थियो ।

    प्रधानमन्त्री पदबाट राजीनामा दिएर गत २४ भदौदेखि सैनिक ब्यारेकमा बस्दै आएका ओली बाहिर आएका हुन् ।

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भने सुरक्षा घेरमा नै उपचाररत छन् । आन्दोलनका क्रममा उनीमाथि हातपात भएको थियो ।

     

     

     

  • चुनावका लागि दातृ निकायको मुख ताक्नु पर्दैनः अर्थमन्त्री

    चुनावका लागि दातृ निकायको मुख ताक्नु पर्दैनः अर्थमन्त्री

    काठमाडौँ, २ असोजः 
    अर्थमन्त्री रामेश्वरप्रसाद खनालले आगामी फागुन २१ मा हुन लागेको प्रतिनिधिसभा सदस्यको चुनावलाई आवश्यक बजेटका लागि दातृ निकाय वा छिमेकीको मुख ताक्नुपर्ने अवस्था नरहेको बताउनुभएको छ ।

    नेपाल आर्थिक पत्रकार समाज (सेजन)को नवनिर्वाचित कार्यसमितिसँगको आज भएको भेटमा उहाँले चालू आर्थिक वर्षको बजेटमा आयोजना बैंकमा प्रविष्ट नगरेका एक हजार तीन सयभन्दा बढी आयोजना फेला परेको र ती आयोजनाका लागि विनियोजित करिब रु एक खर्ब १० अर्ब भेटिएको जानकारी दिनुभयो ।

    त्यस्तै, चालू बजेटमा राखिएका गोष्ठी, बैठकलगायत विभिन्न शीर्षकको करिब रु १२ अर्ब निकाल्न सकिने उहाँले  बताउनुभएको छ । काम सुरु नभएका आयोजना पहिचान गरेर बजेट निकालिने उहाँले बताउनुभयो । “विशेषगरी त्यस्ता योजनाको बजेट निकालिँदैछ, जुन योजनामा बजेट राखेपछि खर्च हुँदैनथ्यो”, उहाँले भन्नुभयो ।

    अर्थमन्त्री खनालका अनुसार सरकारले निर्वाचनका लागि विनियोजन भएर बाँकी भएको रकम पुनःनिर्माणमा लगाउने तयारी छ । सरकारको प्रमुख लक्ष्य नै निर्वाचन भएको र यसअघि तीन तहको चुनाव गराउन रु २५ अर्ब खर्च भएको हुनाले यसपटक त्योभन्दा कम बजेट खर्च हुनसक्ने उहाँको आकलन छ । तर, सुरक्षालाई उच्च प्राथमिकतामा राख्नुपर्ने र कतिपय पालिकाका भवन जलेका कारण बजेट बढ्नसक्ने खनालको भनाइ छ ।

    मन्त्रिपरिषद्ले अहिले नै निर्वाचन आयोगलाई परेको अप्ठ्यारो फुकाउनका लागि सबै काम गरिरहेको अर्थमन्त्रीले जानकारी दिनुभयो । “आयोगले आवश्यक तयारी टुङ्ग्याउनेबित्तिकै अर्थ मन्त्रालयले बजेटको व्यवस्था गर्नेगरी तयारी गर्नेछ”, उहाँले भन्नुभयो ।

  • प्याब्सन चितवनले प्रशासनलाई दियो एघार लाखबराबरका विद्युतीय उपकरण

    प्याब्सन चितवनले प्रशासनलाई दियो एघार लाखबराबरका विद्युतीय उपकरण

    भरतपुर, असोज ०२
    निजी विद्यालयहरूको छाता संगठन प्याब्सन चितवनले नयाँ पुस्ता (जेन–जी) आन्दोलनका क्रममा ध्वस्त पारिएका जिल्लास्थित कार्यालयहरूको सेवा प्रवाहलाई सहज र छरितो बनाउन बिहीबार विद्युतीय उपकरणहरू हस्तान्तरण गरेको छ ।

    प्याब्सन चितवनले जिल्ला प्रशासन कार्यालय चितवनमार्फत १० थान कम्प्युटर र १० थान प्रिन्टर हस्तान्तरण गरेको हो । जिल्लास्थित प्याब्सनआबद्ध स्कुलहरूबाट उठाइएको रकमबाट ती सामग्री खरिद गरिएको प्याब्सन चितवनले जानकारी दिएको छ । ‘युवाहरूको उकुसमुकस र देशमा सुशासन कायम गराउने हुटहुटीबाट सिर्जित आन्दोलनले जिल्लाका अधिकांश कार्यालयहरू ध्वस्त भएको र जिल्लामा छरितो सेवा प्रवाहका सहज होस् भनेर सहयोग गरिएको हो,’ प्याब्सन चितवनका अध्यक्ष मदन पुरीले बताए ।

    ‘२३ र २४ गतेको आन्दोलनबाट सिर्जित परिस्थितिपश्चात सेवाग्राही नागरिकले सकेसम्म कम पीडा भोग्नु परोस् भनेर हामी प्रमुख जिल्ला अधिकारीज्यूसँगै सरसल्लाह गरी ती सामग्री प्रदान गरेका हौँ’, पुरीले भने । प्रशासनको आग्रहबमोजिम हस्तान्तरण गरिएका सामग्रीमा टुबेल्थ जेनको आई–५ कम्प्युटर १० थान, ब्रदर ब्रान्डको एल–२३२० ड्युप्लेक्स (डबल साइड प्रिन्ट गर्न मिल्ने) थ्री इन वान प्रिन्टर १० थान र २२ इन्चको एलइडी मोनिटर १० थान रहेका छन् । ती कम्प्युटरमा ८ जिबी ¥याम र ५१२ जिबीको एसएडी लगाइएको प्याब्सन चितवले जनाएको छ ।

    प्याब्सन चितवनका कोषाध्यक्ष युवराज पौडेलको सक्रियता एवम् नेतृत्वमा प्याब्सन रकम संकलन गरेर प्रदान गरिएको कम्प्युटर र प्रिन्टर प्रतिसेटको मूल्य एक लाख १० हजार हुन आउँछ भने सहयोग गरिएको सबै सेटको मूल्य एघार लाख रुपैयाँ पर्ने प्याब्सन चितवनले जानकारी दिएको छ । ‘देश दुखेको बेला मल्हम लगाउने प्रयासस्वरुप सहयोग गरेका हौँ,’ कोषाध्यक्ष पौडेलले भने ।
    अध्यक्ष पुरीद्वारा हस्तान्तरित सामग्री ग्रहण गर्दै प्रमुख जिल्ला अधिकारी (सिडिओ) गणेश अर्यालले सामग्रीका लागि धन्यवाद ज्ञापन गरेका थिए । उनले भने, ‘नागरिकलाई छरितो सेवा प्रवाह गर्न चितवन प्रशासन प्रतिबद्ध छ, हामी घटनाको तेस्रो दिनबाटै सेवामा जुटिसकेका छौ ।’ कतिपय जिल्ला प्रशासन कार्यालयहरूले दसैँअघि सेवा प्रवाह गर्न सकिँदैन भनेर सूचना निकालिरहेको अवस्थामा आफूहरू भने तत्कालै सेवा प्रवाहमा जुटिसकेको बताए । ‘आन्दोलनका नाममा ढुङ्गा हान्न उक्साउने र ढुङ्गा हान्नेलाई चाहिएको सेवा तुरुन्तै दिन सकियो भने त्यो ‘इँटको जवाफ फूलले दिएजस्तै हुन्छ,’ उनले भने ।

    सिडिओ अर्यालले ध्वंसमा परेका चितवनका कार्यालयहरूमध्ये केही कार्यालयहरू सञ्चालनमा आइसकेको र मालपोत कार्यालयबाहे अन्य सबै कार्यालयहरू छिट्टै सञ्चालनमा आउने बताए । आन्दोलनका क्रममा निकै संयमित भएको र मानवीय क्षति हुन नदिन आफूहरू पछि हटेको बताए । उनले भौतिक संरचनाको क्षति विस्तारै पूर्ति हुने तर मानवीय क्षति अपूरणीय हुने भएकोले आफूहरू पछि हटेको बताए ।

    प्याब्सन चितवनका सचिव दयानिधि आर्यालले सञ्चालन गरेको सामग्री हस्तान्तरण कार्यक्रममा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू नेपाल प्रहरीका एसपी गोविन्द पुरी, नेपाली सेनाका गणपति दिनेश लामा, सशस्त्र प्रहरीका एसपी, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक, निजी विद्यालयका प्रिन्सिपल एवं सञ्चालकहरूको सहभागिता रहेको थियो ।

  • एमाले चितवनले भोलि संविधानको रक्षा र कार्यान्वयनको विषयमा अन्र्तक्रिया गर्दै, पालिकाहरुमा दीप प्रज्वलन

    एमाले चितवनले भोलि संविधानको रक्षा र कार्यान्वयनको विषयमा अन्र्तक्रिया गर्दै, पालिकाहरुमा दीप प्रज्वलन

    चितवन, असोज २ –
    नेकपा (एमाले) जिल्ला कमिटी चितवनले संविधानको रक्षा र कार्यान्वयनको विषयमा अन्र्तक्रिया गर्ने भएको छ ।

    भोलि असोज ३ गते संविधान दिवसका अवसरमा एमाले चितवनको जिल्ला पार्टी कार्यालयमा दिउँसो ३ बजे अन्र्तक्रिया कार्यक्रम गर्न लागिएको हो ।

    अन्र्तक्रिया कार्यक्रममा भूगोलमा रहेका केन्द्रीय तहका नेताहरुको उपस्थिति रहने एमाले चितवनका प्रचार विभाग प्रमुख प्रकाश आचार्यले जानकारी दिए । अन्र्तक्रिया कार्यक्रममा उपस्थित हुन पार्टी एवम् जनवर्गीय संगठनका सबै तहका नेता कार्यकर्तालाई आह्वान गरिएको छ ।

    यसैगरी चितवनका सात वटै पालिकाले आफ्नो पायक पर्ने ठाउँमा भव्य कार्यक्रमसहित दीप प्रज्वलन गरेर संविधान दिवस मनाउन जिल्लाले निर्देशन दिएको छ । भरतपुरले भने चौबिसकोठीमा भोलि साँझ दीप प्रज्वलन गर्ने तय गरिसकेको छ ।

    २०७२ साल असोज ३ गते संविधान जारी भएको दिनलाई संविधान दिवसका रुपमा मनाइन्छ ।

  • संसद् विघटन नगरी समाधान खोज्न सकेको भए राम्रो हुन्थ्यो : सभामुख

    संसद् विघटन नगरी समाधान खोज्न सकेको भए राम्रो हुन्थ्यो : सभामुख

    काठमाडौँ ०२ असोज
    सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा विघटन नगरी संसदभित्रबाट समाधान खोज्न सकिएको भए राम्रो हुने बताएका छन् । नयाँ वानेश्वरमा रहेको भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा ध्वस्त भएको संसद् भवन अवलोकनका क्रममा पत्रकारहरूले सोधेको प्रश्नमा सभामुख घिमिरेलेले सो कुरा बताएका हुन् ।

    सभामुख घिमिरेले भने– ‘प्रतिनिधिसभा विघटन नगरी संसदबाटै समाधान खोज्न सकेको भए राम्रो हुन्थ्यो ।’ जेनजीको आन्दोलनमा घटेका घटना ज्यादै दुःखद रहेका सभामुख घिमिरेले बताए । अब अहिलेको परिस्थितिबाट उठेर ठिक ढङ्गबाट अगाडि जानु सबैको दायित्व रहेको घिमिरेले बताए ।

    अन्तरिम सरकारले अहिले देखिएका समस्या समाधान गरी अगाडि बढ्नुपर्ने बताए । सभामुख घिमिरेले व्यवस्थापिका, न्यायपालिका र कार्यपालिकामाथि आक्रमण भएका कारण गम्भीर परिस्थिति सिर्जना भएको बताए ।

    यस घटनाको समीक्षा गरेर देशलाई उठाउनका लागि आम मान्छे, आम जनता, आम क्षेत्र सबै लाग्नुपर्ने सभामुख घिमिरेको भनाइ थियो ।