Blog

  • लेखा अधिकृत १ लाख घुससहित पक्राउ

    लेखा अधिकृत १ लाख घुससहित पक्राउ

    ३ असोज, काठमाडौं ।
    दैलेखको डुङ्गेश्वर गाउँपालिकाका लेखा अधिकृत टंकबहादुर कार्की एक लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल, र सुर्खेतको संयुक्त टोलीले उनलाई एक लाख घुससहित पक्राउ गरेको हो ।

    सडक स्तरोन्नति तथा निर्माण सम्पन्नपछि बिल भुक्तान गर्ने क्रममा उनले एक लाख घुस मागेको अख्तियारले बताएको छ ।

    सोही सूचनाका आधारमा उनलाई अख्तियारले पक्राउ गरेको हो ।

  • संविधानविरोधी गतिविधिलाई समयमै बुझ्न जरुरी छ : सभामुख घिमिरे

    संविधानविरोधी गतिविधिलाई समयमै बुझ्न जरुरी छ : सभामुख घिमिरे

    ३ असोज, काठमाडौं ।
    सभामुख देवराज घिमिरेले संविधानविरोधी गतिविधिलाई समयमै बुझ्न जरुरी रहेको बताएका छन् । संविधानविरोधी गतिविधिलाई समयमै बुझ्न सकेमात्रै संविधानको रक्षा र विधिको शासन प्रवर्द्धन हुने उनको भनाइ छ ।

    संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ को अवसरमा आज शुभकामना सन्देश जारी गर्दै सभामुख घिमिरेले सो धारणा सार्वजनिक गरेका हुन् ।

    संविधान घोषणाको एक दशक पुग्न १० दिन बाँकी रहँदा नै गत भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको आन्दोलनले समाज र राष्ट्रलाई नयाँ सोचका साथै पारदर्शिता र सुशासन दिनुपर्ने महत्त्वपूर्ण चेतना दिएको उनले उल्लेख गरेका छन् ।

    भ्रष्टाचार र कुशासन अन्त्यको माग अघि सारेका निर्दोष युवाहरूको विरोधलाई देखाएर देशमा असामान्य स्थिति सृजना गरिएको भन्दै उनले जननिर्वाचित सर्वोच्च विधायिकी संस्थालाई विघटन गर्ने कार्य गैरसंवैधानिक भएको उल्लेख समेत गरेका छन् ।

    विगतमा पनि नेपाली जनताबाट खोसिएको अधिकार संसदमार्फत नै पुनर्स्थापित गरेको स्मरण गर्दै सभामुख घिमिरेले लोकतान्त्रिक शासन प्रणालीको विकल्प अझ उन्नत लोकतन्त्रमात्र हुनेतर्फ ध्यानाकर्षण पनि गराएका छन् ।

    संविधानको रक्षा गर्ने चुनौती छ : राष्ट्रियसभा अध्यक्ष दाहाल

    यसैगरी राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्रतिनिधिसभा नभएको वर्तमान अवस्थामा संसद्को जिम्मेवारी र संवैधानिक दायित्व पूरा गर्न राष्ट्रियसभा सदैव क्रियाशील रहने बताएका छन् ।

    संविधान दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले संविधान कार्यान्वयन, आन्दोलनबाट प्राप्त उपलब्धिहरूको रक्षा र त्यसको पूर्ण पालनामा लाग्न सबैलाई आग्रह पनि गरेका छन् ।

    अध्यक्ष दाहालले जेनजी पुस्ताको आन्दोलनले ल्याएको परिवर्तनसँगै सबै पक्षका बीचको एकताबाट तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्ने र देशलाई फेरि जननिर्वाचित प्रतिनिधिहरूकै नेतृत्वमा संविधानको रक्षा गर्ने चुनौती रहेको उल्लेख गरेका छन् ।

  • संविधान दिवसले नेपालीको आकांक्षा पूरा गर्न एकजुट हुने प्रेरणा मिलोस् : राष्ट्रपति पौडेल

    संविधान दिवसले नेपालीको आकांक्षा पूरा गर्न एकजुट हुने प्रेरणा मिलोस् : राष्ट्रपति पौडेल

    ३ असोज, काठमाडौं ।
    राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्न सबैलाई एकजुट हुन प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन् ।

    उनले संविधानको मर्म र भावनालाई व्यवहारमा रुपान्तरण गर्न मन, वचन र कर्मले समर्पित भई आ–आफ्नो तर्फबाट इमान्दार र प्रभावकारी प्रयास जारी राख्न सबैमा आह्वान समेत गरेका छन् ।

    संविधान दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै राष्ट्रपति पौडेलले नेपालको संविधानले सामाजिक न्यायमा आधारित समतामूलक समाजको परिकल्पना गर्दै समाजवाद उन्मुख अर्थतन्त्रको निर्माण गर्ने लक्ष्य लिएको उल्लेख गरेका छन् ।

    साथै केन्द्रिकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको पनि उनले उल्लेख गरेका छन् ।

    संविधानद्वारा प्रत्याभूत गरिएका राज्यबाट प्राप्त हुने सेवा र सुविधाहरूमा सबै नागरिकको समान पहुँच स्थापित गर्नुका साथै आम नागरिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति प्रदान गर्नुपर्नेमा उनले जोड दिएका छन् ।

    राष्ट्रपति पौडेलले मुलुकको संस्कृति र प्रकृतिले देशमा रोजगारी र आम्दानी दिने असीमित सम्भावनाको ढोका खोलेको छ भन्दै सबै किसिमका बेथितिलाई अन्त्य गर्दै सुशासनको माध्यमबाट जलस्रोत र ऊर्जा शक्तिको उचित व्यवस्थापन गर्न सकेमात्र पनि नेपाल समुन्नत राष्ट्रको अग्रस्थानमा छिट्टै पुग्ने विश्वास व्यक्त गरेका छन् ।

  • नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालन

    नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालन

    मुग्लिन ,असोज ३-
    नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । जिल्लाप्रहरी कार्यालय चितवनका अनुसार गए राति १०ः५५ बजे समयमा चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा सुक्खा पहिरो खसी सडक दुईतर्फी अवरुद्ध भएको थियो ।

    अवरुद्ध सडकको पहिरो पन्छाइ राति ११ः५५ बजदेखि एकतर्फी सवारी सञ्चालनमा ल्याएकोमा आज बिहान ७ः१५ बजेदेखि भने दुईतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिनुभयो । उहाँका अनुसार पहिरोसँगै खसेको ढुङ्गाले लागेर ना६ख १५२२ नम्बरको बसको अगाडि सिसामा क्षति पुगेको छ ।

  • लोकतन्त्र जनताको आवाज सुन्ने, संवाद गर्ने र समाधान खोज्ने प्रणालीः प्रधानमन्त्री कार्की

    लोकतन्त्र जनताको आवाज सुन्ने, संवाद गर्ने र समाधान खोज्ने प्रणालीः प्रधानमन्त्री कार्की

    काठमाडौं,असोज ३-
    अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले लोकतन्त्र जनताको आवाज सुन्ने, संवाद गर्ने र समाधान खोज्ने प्रणाली भएको बताउनुभएको छ । संविधान दिवसको अवसरमा आयोजित मूल समारोह समितिको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले जेन जी पुस्ताको आन्दोलन गरिएका प्रतिवद्धता, संघीय गणतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, पूर्ण प्रेस स्वतन्त्रता, स्वतन्त्र, निष्पक्ष, सक्षम न्यायपालिका, कानूनी राज्य, सुशासन लगायतका लोकतान्त्रिक मूल्य, मान्यतामा हामी खरो उत्रिन नसक्नुको परिणाम भएको बताउनु भयो ।

    अन्तर्राष्ट्रिय स्तरमा देखिएको नागरिकमैत्री शासन प्रणाली, खुला सरकार र भर्चुअल शासनको बारेमा जानकार रहेका युवापुस्ताले उठाएको रोजगारीको अवसर, गुणस्तरीय जीवनस्तर, सरकारका काम कारबाहीमा पारदर्शिता, कानूनी समानता, भ्रष्टाचारको अन्त्य, सुशासन र विकास जस्ता सवालहरु यथार्थमै हामी सबै पुस्ताका साझा अपेक्षा र राष्ट्रिय एजेण्डा भएको बताउनु भयो । यि एजेण्डालाई आत्मसाथ गर्दै जनअपेक्षा बमोजिम काम गर्न यो सरकार प्रतिवद्ध रहेको पनि बताउनु भयो । आफू कुनै शाशकीय आकांक्षा बोकेर, कुनै पदको लालसा लिएर प्रधानमन्त्री भएको नभइ देश संकटमा रहेको बेलामा परिवर्तनगामी युवा पुस्ताको अनुरोधका आधारमा चुप लागेर बस्न नसकी संक्रमणको व्यवस्थापन गर्दै नेपालको संविधान बमोजिम ६ महिनाभित्र प्रतिनिधि सभाको निर्वाचनमार्फत जनप्रतिनिधि सरकारलाई जिम्मेवार हस्तान्तरण गर्नेगरी वर्तमान अन्तरिम सरकारको प्रधानमन्त्री भएको बताउनु भयो ।

    प्रधानमन्त्री कार्कीले संविधान दिवस सबै नेपालीले गौरव गर्ने दिन भएको बताउनु भयो । संविधान दिवस केबल उत्सव मात्र नभइ संघीय लोकतान्त्रिक गणतन्त्रको मूल्यांकन गर्ने दिन पनि भएको बताउनु भयो ।

  • ओलीले भने– प्रहरीसँग नभएको स्वचालित हतियारले जेनजीमाथि गोली हानियो

    ओलीले भने– प्रहरीसँग नभएको स्वचालित हतियारले जेनजीमाथि गोली हानियो

    काठमाडौं असोज ३
    नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले जेनजीले गत साता गरेको आन्दोलनमा घुसपैठ भएको बताएका छन् ।

    उनले संविधान दिवसको दिनमा दिएको शुभकामना सन्देशमा भनेका छन्– त्यसमा घुसपैठ गर्ने षडयन्त्रकारीले हिंसा मच्चाए, हाम्रा युवाहरुको ज्यान गयो । सरकारले प्रदर्शनकारीलाई ताकीताकी गोली हान्ने आदेश दिएको थिएन । प्रहरीसँग नभएका स्वचालित हतियारले गोली हानेको घटनाको छानबिन हुनुपर्दछ ।”

    यस्तो छ उनको स्टाटस

    दिदीबहिनी तथा दाजुभाइहरू !
    आज संविधान दिवस। नेपाली जनताले ७० वर्षसम्म संघर्ष गरेर आफैंले निर्वाचित गरेको संविधानसभाले बनाएको संविधान जारी गरेको दिन । लोकतान्त्रिक गणतन्त्र, सङ्घीय समावेशी व्यवस्था र जनताका अधिकार स्थापित भएको दिन ।

    यो संविधान निर्माण गर्दा हामीले भोगेका चुनौती तपाईँहरूको सम्झनामा ताजै छ । नाकाबन्दी र देशको सार्वभौमसत्तामाथि उत्पन्न चुनौतीलाई समेत परास्त गर्दै संविधान जारी भएको थियो । तसर्थ नेपालको संविधान नेपाली जनताले आफैले आफ्ना निम्ति लेखेको भविष्य रेखा हो ।

    संविधान जारी भएपछि नेपाललाई कसैले नाकाबन्दी लगाउन नसक्नेगरी भूपरिवेष्ठित देशलाई भूजडित बनाउन उत्तर दक्षिण जोड्ने यातायात संरचनाहरु बनाइरहेका थियौं। उत्तरी छिमेकी देशसँग पनि यातायात पारवहन सम्झौता गरेका थियौं। हाम्रो सार्वभौमसत्ताको सामर्थ्य विस्तार गरेका थियौं। हाम्रा विकास संरचनाहरूका जग बसालेका थियौं । अर्थतन्त्र तंग्रदै थियो।

    गत साता जेन-जीको शान्तिपूर्ण हुने भनिएको प्रदर्शनका क्रममा घुसपैठ भयो-आह्वान कर्ताले भनेझैं । त्यसमा घुसपैठ गर्ने षड्यन्त्रकारीहरूले हिंसा मच्चाए, हाम्रा युवाहरुको ज्यान गयो। सरकारले प्रदर्शनकारीलाई ताकीताकी गोली हान्ने आदेश दिएको थिएन। प्रहरीसँग नभएका स्वचालित हतियारले गोली हानेको घटनाको छानबिन हुनु पर्दछ । त्यस घटनाप्रति म फेरि दुःख व्यक्त गर्दै दिवंगत युवाहरूप्रति श्रध्दाञ्जली एवं घाइतेहरुको स्वास्थ्यलाभको कामना गर्दछु।

    हामी यतिबेला हाम्रो संविधानमाथि ठूलो आक्रमण भएको अवस्थामा छौँ। प्रधानमन्त्रीबाट मेरो राजीनामापछि सिंहदरबार जलाइएको छ – नेपालको नक्सा जलाइएको छ, देशको निशानी मेटाउन खोजिएको छ। जनप्रतिनिधि संस्था, न्यायालय, व्यापारिक प्रतिष्ठान र राजनीतिक दलका कार्यालय, तिनका नेता कार्यकर्ताको घर, व्यक्तिगत सम्पत्ति छानीछानी खरानी बनाइएको छ।

    यसका पछाडिको षड्यन्त्रबारे आज म धेरै कुरा भन्दिनँ, धेरै कुरा समयले आफैं बयान दिनेछ। हाम्रो देश बनिरहेको थियो कि बिग्रेको थियो, वा देश बिग्रेको काल्पनिक भाष्य खडा गरेर आक्रोश विस्तार मात्रै गरिएको थियो ? यी सबै कुरा हाम्रो नयाँ पुस्ताले आफैं महसुस गर्ने छ। विदेश जाने/आउने एयरपोर्टको भीडलाई नकारात्मक भनिरहेको समाज आज देश बाहिरको अनुमति बन्द हुनुलाई के ठान्ला, यो पनि समयले महसुस गराउने छ। हाम्रो नयाँ पुस्ताले आफैं बुझ्ने छ ।

    तर, यो कुरा समय छँदै बुझ्नु पर्ने छ, नबुझेमा हाम्रो देशको सार्वभौमसत्ता इतिहासमा मात्र रहने छ ।
    हाम्रा युवाहरुले काजी भीम मल्लको मृत्युदण्डबारेको इतिहास पक्कै पढ्नु भएको छ। देशको सीमाना विस्तार गरेर फर्केका भीम मल्ललाई देश फर्किनासाथ काटिएपछि पछुताउने मात्र विकल्प बाँकी रह्यो। यथार्थ भन्दा बाहिर गएर विस्तार गरिएका असन्तोषका परिणामहरु पछुताउन मात्र काम लाग्छन्, त्यस पछुतोले नै बनिरहेको देशको झन् झन् गाढा सम्झना गराउने छ।
    हामी सबै पुस्ताका नेपाली एकजुट हुनु पर्दछ –

    सार्वभौमसत्तामाथि गरिएको प्रहार सामना गर्न र हाम्रो संविधानको रक्षा गर्न। सार्वभौमसत्ता हाम्रो अस्तित्व हो भने संविधान हाम्रो स्वतन्त्रताको कवच हो। हाम्रो एकताले नै देशसामु उत्पन्न यो अकल्पनीय सङ्कटबाट फेरि देशलाई उठाउन र जोगाउन सक्छ।
    मेरो सबैमा अपील छ –

    संविधान जोगाऔं, सार्वभौमसत्ताको रक्षा गरौं।

  • जेनजीको आन्दोलनपछि ११औं दिनमा सार्वजनिक भए ओली

    जेनजीको आन्दोलनपछि ११औं दिनमा सार्वजनिक भए ओली

    काठमाडौं, असोज ३-

    निवर्तमान प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली आज सार्वजनिक भएका छन् ।

    जेनजी आन्दोलनबाट सिर्जित विषम परिस्थितिका कारण सैनिक सुरक्षाबाट हिजो निस्किएका ओली भक्तपुरको गुण्डुमा खोजिएको डेरा लिइएको घरमा गएर बसेका थिए ।

    आज बिहान ओली ११औं दिनमा सार्वजनिक भएका हुन् । महेश बस्नेतलगायतका नेताहरू अहिले त्यहाँ पुगेका छन् ।

     

     

  • संसद् विघटन, संविधान खारेज र राष्ट्रपतिलाई हटाउने प्रयास भएको प्रचण्डको खुलासा

    संसद् विघटन, संविधान खारेज र राष्ट्रपतिलाई हटाउने प्रयास भएको प्रचण्डको खुलासा

    काठमाडौँ ०३ असोज
    माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जेनजी आन्दोलनपछि संसद् विघटन, संविधान खारेज र राष्ट्रपतिलाई हटाउने प्रयास भएको खुलासा गरेका छन् ।

    संविधान दिवसका अवसरमा पार्टी कार्यालय पेरिसडाँडामा भएको कार्यक्रममा उनले यस्तो खुलासा गरेका हुन् ।

    ‘इतिहासले, घटनाक्रमले र संयोगले मलाई फेरि यो प्रक्रियामा पनि कुनै न कुनै रूपले सहजीकरण गर्ने अवसर दियो’, प्रचण्डले भने, ‘संसद् विघटन मात्रै होइन संविधान खारेज गर्ने र राष्ट्रपतिलाई त्यो पदबाट हटाउन के कस्ता कसरत भयो भन्ने मैले नजिकबाट हेर्ने र बुझ्ने मौका पाएँ ।’

    उनले आफूले समस्याको सहजीकरणका लागि रातभर बसेर राष्ट्रपति रामचन्द्र पौडेलसहित सेनापति र अन्य दलका नेताहरुसँग संवाद गरेर अन्तरिम सरकार बनाएर संविधान बचाउन भूमिका खेलेको बताए ।

    उनले राष्ट्रपति पौडेल निकै अप्ठ्यारो परिस्थितिमा संविधानलाई बचाउन सफल भएको भन्दै बधाई समेत दिए ।

     

  • आज संविधान दिवसः विविध कार्यक्रमको आयोजना गरी मनाइँदै

    आज संविधान दिवसः विविध कार्यक्रमको आयोजना गरी मनाइँदै

    काठमाडौँ, असोज ३

    संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ यस वर्ष विगतमा झैँ विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा आज बिहान ८ः३० बजे सैनिक मञ्च, टुँडिखेलमा दिवसको मूल कार्यक्रम आयोजना तय भएको छ ।

    समारोहलाई प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्नुहुनेछ । अहिलेको विशेष राजनीतिक परिस्थितिमा दिवसका अवसरमा झाँकीलगायत कार्यक्रम भने स्थगन भएका छन् । नेपाली जनताको लामो बलिदानीपूर्ण र लामो सङ्घर्षको उपलब्धिस्वरुप संविधानसभाबाट नेपालको संविधान २०७२ असोज ३ गते घोषणा भएको थियो । मुलुकमा भएको दोस्रो संविधानसभाको निर्वाचनपछि गठित संविधानसभाले अथक मेहेनत र लामो विवादपछि ‘नेपालको संविधान, २०७२’ जारी गरेको थियो ।

    विसं २०७२ असोज ३ गते राति नयाँ बानेश्वरस्थित तत्कालीन संविधानसभा बैठकस्थल अन्तरराष्ट्रिय सम्मेलन केन्द्रबाट तत्कालीन राष्ट्रपति डा रामवरण यादवले यो संविधानलाई जारी भएको घोषणा गर्नुभएको थियो । रासस

  • आज शुक्रबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

    आज शुक्रबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

    आज मिति वि.सं.२०८२ साल आश्विन ३ गते । शुक्रबार । ईश्वी सन् २०२५ सेप्टेम्बर १९ तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । शरद ऋतु । श्रीशाके १९४७ । आश्विन कृष्णपक्ष । तिथि–त्रयोदशी, ४५ घडी ० पला, बेलुकी ११ बजेर ५१ मिनेट उप्रान्त चतुर्दशी । नक्षत्र–अष्लेषा, ७ घडी ४१ पला, बिहान ८ बजेर ५५ मिनेट उप्रान्त मघा । योग–सिद्ध, ४३ घडी १६ पला, बेलुकी ११ बजेर ९ मिनेट उप्रान्त साध्य । करण–गर, दिउसो १२ बजेर २ मिनेट उप्रान्त वणिज, बेलुकी ११ बजेर ५१ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–मृत्यू योग । चन्द्रराशि–कर्कट, बिहान ८ बजेर ५५ मिनेट उप्रान्त भद्रा । त्रयोदशी श्राद्ध ।

    काठमाडौँमा सूर्योदय बिहान ०५ बजेर ५१ मिनेट । सूर्यास्त बेलुकी ६ बजेर २ मिनेट । दिनमान ३० घडी २८ पला ।

    आजको राशिफल

    मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) समय मध्यम रहेकोले राजनीतिज्ञ तथा समाजसेवीहरूले जनताको काम गर्न नसक्दा आलोचना हुन सक्छ । विद्यार्थीले प्रतिस्पर्धामा आफ्नो क्षमता देखाउन नसक्दा अरूभन्दा पछि परिनेछ । आमा तथा आफन्तसँग मनमुटाब सिर्जना हुनेछ । पढाइ लेखाइमा मन नजाने हुँदा अरूभन्दा पछि परिनेछ । भौतिक सम्पत्तिको प्रयोग गर्दा ध्यान दिनुहोला । तर पनि यात्रा, मनोरञ्जनमा केही समय व्यातित हुन्छ ।

    वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) राजनीति तथा समाजसेवामा जनताको आलोचना सहितको समर्थन प्राप्त हुनेछ । विश्वास गरेकै मानिसबाट धोका पाइनेछ भने आमा वा आमा सरहका मानिससँग मनमुटाब बढ्ने योग रहेको छ । घरजग्गाको काममा मन्दीको सामना गर्नुपर्नेछ । मौसम तथा खानपानमा ध्यान दिनुहोला, स्वास्थ्यमा समस्या आउन सक्छ । तर पनि कृषि तथा पशुपालन व्यवसायबाट धन आर्जन गर्न सकिनेछ ।

    मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) आट, साहस तथा पराक्रम वृद्धि भएर जाने हुनाले उपलब्धिमूलक कामहरू गर्न सकिनेछ । न्यायिक निर्णयहरू तपाईँकै पक्षमा आउनेछन् । प्रतिस्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ । लेखन कला तथा साहित्यमा बाकी रहेको कामलाई पूर्णता दिन सकिनेछ । प्रेम प्रसङ्गमा रमाउने चाहनेहरूलाई लागी समय उत्तम रहेको छ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरू जनमानसमा लैजान सकिनेछ ।

    कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) बोलेको कुरा पुर्याउन नसक्दा सहकर्मी तथा आफन्तबाट तपाईँको आलोचना हुनेछ । पढाइ लेखाइमा आत्तिने बानिले नतिजा आफ्नो पक्षमा पार्न मुस्किल पर्नेछ । परिवारका साथ मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुरे पनि खानपानको तालमेल नमिल्दा स्वास्थ्यमा समस्या आउनेछ । प्रेममा असन्तुष्टि बढ्नेछ । खाद्यान्न, लत्ताकपडा तथा गरगहनाको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ ।

    सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) नयाँ कामको अवसर आउने तथा गरिरहेको कामबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । टाढिएका मित्र तथा आफन्तसँगको भेटले मन प्रसन्न हुनेछ । पुराना कमीकमजोरीहरूलाई सच्याउँदै रचनात्मक काम गर्न सकिनेछ । बिलासी वस्तुको प्रयोग मार्फत अरूको ध्यान आकर्षित गर्न सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेको छ । राजनीति तथा सामाजिक काममा समय दिनेहरूका लागी पद प्राप्तिको योग रहेको छ ।

    कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) समय तथा कामको तालमेल नमिल्दा अरूभन्दा पछि परिनेछ । अध्ययनमा मन नजानाले नतिजा अरूकै पोल्टोमा पर्नेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउने तथा औषधी उपचार खर्च बढ्नेछ । बसाई सराई तथा लामो दुरीको यात्राको तय हुनेछ । विदेशी लगानीबाट सञ्चालित संस्थामा काम पाइनेछ । प्रेममा नजिक हुन सकिनेछ । व्यापारी, विद्यार्थी तथा सामाजिक काम गर्नेहरूका लागी समयले साथ दिनेछ ।

    तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) पैतृक धन तथा सम्पत्ति को प्रयोग तथा परिचालन मार्फत मनग्गे धन सम्पत्ति जोड्न सकिनेछ । विद्यार्थीहरूका लागी समय राम्रो रहेकोले नतिजा हात पार्न सकिनेछ । इच्छा, आकांक्षा तथा मनोकामना पुरा हुने समय रहेको छ । पढाइ लेखाइमा भनेजस्तो नतिजा हात पार्न सकिने हुँदा मन प्रसन्न रहनेछ । अध्ययन वा काममा प्रविधिको भरपुर मात्रामा प्रयोग गरी फाइदा लिन सकिनेछ ।

    वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) नयाँ काम पाउने तथा नोकरीमा सुगम स्थानमा स्थानान्तर वा बढुवा हुनेछ । बुवा तथा अग्रजहरूको आशीर्वाद लिँदै राम्रा काम गर्न सकिनेछ । पैतृक धन तथा सम्पत्ति प्राप्त हुनेछ । राजनीति तथा समाजसेवामा जनताको काम गर्न सकिने हुँदा पद प्राप्तको गतिलो योग रहेको छ । कृषि तथा पशुपालन व्यवसायलाई समय सापेक्ष आधुनिकीकरण गरी धन आर्जन गर्न सकिनेछ । खाद्यान्न, कपडा तथा गरगहनाको व्यापारमा उल्लेख्य सुधार हुनेछ ।

    धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) समयमा काम सम्पादन नहुँदा निराशा छाउनेछ । कष्टकर यात्रा नहोला भन्न सकिन्न । सवारी साधन तथा भौतिक सम्पत्तिको प्रयोग गर्दा ध्यान दिनुहोला । अध्ययनमा मन नजाँदा अरूभन्दा पछि परिनेछ । आफन्त तथा घर परिवारका मानिससँग मनमुटाब सिर्जना हुने योग रहेको छ । तर पनि खाद्यान्न, कपडा तथा बिलासी सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ ।

    मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) खानपान तथा मौसमको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आई औषधी उपचार खर्च बढ्नेछ । धेरै समय दिए मात्र व्यापार व्यवसायमा आम्दानी गर्न सकिनेछ । सामाजिक काममा समय दिन नसकिने हुनाले जिम्मेवारी वहन नगर्नु नै ठिक हुनेछ । अध्ययनमा मन नजानाले नतिजा अरूकै पोल्टोमा पर्नेछ । प्रेममा धोका हुनेछ । भौतिक सम्पत्ति प्रयोग गर्दा ध्यान दिनुहोला ।

    कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) रमाइलो तथा पारिवारिक माहौलमा दिन बित्नेछ भने मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । व्यापार तथा उद्योगमा सानो लगानीबाट पनि मनग्गे धन आर्जन गर्न सकिनेछ । अध्ययनमा तपाईँको नाम अग्र स्थानमा आउनेछ । भौतिक साधन स्रोत तथा उपकरण जुट्नाले दैनिक काम गर्न सहज हुनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ । अध्ययन वा कामको सवालमा लामो दुरीको यात्रा हुनेछ ।

    मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) व्यापार व्यवसायबाट आम्दानीका स्रोतहरू बढाउन सकिनेछ । पुरानो रोग तथा समस्याहरू स्वतः ठिक भएर जानेछन् । मामा तथा मावलीबाट तपाईँको काममा सहयोग हुनेछ । पढाइ लेखाइमा अरूभन्दा अग्र पंतिमा तपाईँको नाम आउनेछ । माया प्रेममा नजिक भई रमाउन सकिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग गरी आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ ।

    तपाईँको दिन शुभ रहोस् ।