Blog

  • आठ हजार ८१६ कैदीबन्दी अझै फरार

    आठ हजार ८१६ कैदीबन्दी अझै फरार

    काठमाडौँ, ३ असोजः 
    गत भदौ २३ र २४ गते भएको जेनजीको प्रदर्शनका कारण नेपालका २७ कारागारबाट कैदीबन्दी भागेका छन् । यस्तै नौवटा बालसुधारगृहबाट पनि कैदीबन्दी भागेका पाइएको छ ।

    कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेका  अनुसार ती कारागारबाट कुल २९ हजार २१२ मध्ये १३ हजार ५९१ कैदीबन्दी भागेका थिए ।

    यस्तै एक हजार ४२२ मध्ये ९६४ जना बालसुधारगृहबाट भागेका थिए । झुम्का, सोलुखुम्बु, सप्तरी, महोत्तरी, रौतहट, सिन्धुली, नक्खु, जगन्नाथदेवल, डिल्लीबजार, रसुवा, चितवन, तनहुँ, कास्की, पर्वत, कपिलवस्तु, तुलसीपुर, नौबस्ता, रुकुमपूर्व, जुम्ला, बझाङ, कैलाली, दार्चुला, बैतली, डडेलधुरा र कञ्चनुपुरबाट कैदीबन्दी भागेका उहाँले बताउनुभयो ।

    यस्तै मोरङ, पर्सा, भक्तपुर, मकवानपुर, कास्की, रुपन्देही, जयन्डु, नौबस्ता र डोटी बालसुधारगृहबाट पनि कैदीबन्दी भागेका थिए ।

    निर्देशक न्यौपानेका अनुसार अहिलेसम्म कारागारबाट भागेकामध्ये पाँच हजार ४९५ र बालसुधारगृहबाट भागेकामध्ये २४४ कैदीबन्दी फिर्ता आएका छन् । अझै आठ हजार ८१६ कैदीबन्दी फरार रहेका र खोजी कार्य जारी रहेको विभागले जनाएको छ । नेपाल प्रहरीको हिरासतमा रहेका कैदीबन्दी फरार रहेका र उनीहरुको पनि खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

  • बेलायतका राजाद्वारा नेपाली युवाहरूको मृत्यु भएकोमा दुःख व्यक्त भने– शान्ति, लोकतन्त्र र समावेशीकरण महत्त्वपूर्ण

    बेलायतका राजाद्वारा नेपाली युवाहरूको मृत्यु भएकोमा दुःख व्यक्त भने– शान्ति, लोकतन्त्र र समावेशीकरण महत्त्वपूर्ण

    काठमाडौं असोज ३,
    बेलायतका राजा चार्ल्सले भदौ २३ गते जेनजी प्रदर्शनका क्रममा युवाहरूको मृत्यु भएकोमा दुःख व्यक्त गरेका छन् ।

    नेपालको संविधान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेललाई पठाएको सन्देशमा उनले दुःख व्यक्त गरेका हुन् । “आजको दिन ठूलो चुनौतीको बीचमा आएको हो भन्ने कुरा हामी बुझ्छौँ । हालै भएको जीवनको क्षति र नेपालभरि धेरैले सामना गर्नुपरेको कठिनाइप्रति हामी तपाईंको दुःख साझा गर्छौं । कृपया हाम्रो हार्दिक समवेदना स्वीकार गर्नुहोस्,” राजा चार्ल्सले पठाएको सन्देशमा भनिएको छ ।

    संविधान दिवसका अवसरमा श्रीमती र आफ्नो तर्फबाट राजा चार्ल्सले राष्ट्रपति पौडेललाई शुभकामना दिएका छन् । “यी कठिन समयमा, नेपाली जनताको लचिलोपन र भावनाले प्रेरणा दिइरहन्छ । तपाईंको संविधानमा निहित मूल्यहरू (शान्ति, लोकतन्त्र र समावेशीकरण) सधैँ जस्तै महत्त्वपूर्ण छन्,” राजा चार्ल्सले भनेका छन् ।

    सन् २०२६ मा हुने चुनावले नेपाललाई अझ सुरक्षित र समृद्ध भविष्यतर्फ मार्गदर्शन गर्ने विश्वास उनले व्यक्त गरेका छन् ।

  • शशांकको दु:खेसो : चारपटक चुनाव जितेँ तर मन्त्री भइनँ, मेरै घर जल्यो

    शशांकको दु:खेसो : चारपटक चुनाव जितेँ तर मन्त्री भइनँ, मेरै घर जल्यो

    ३ असोज, काठमाडौं ।
    नेपाली कांग्रेसका नेता डा. शशांक कोईरालाले जेनजी पुस्ताको आन्दोलनमा घुसपैठ भएको टिप्पणी गरेका छन् ।

    संविधान दिवसको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित ‘मौजुदा संविधान र यसका चुनौती’ विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै नेता कोइरालाले जेनजीको शान्तिपूर्ण आन्दोलनमा घुसपैठ हुँदा हिंस्रक हुन पुगेको टिप्पणी गरेका हुन् ।

    ‘म त अचम्ममा परेँ । कल्पना नै नगरिएको तोडफोड भयो, जल्यो, लुटपात भयो । मान्छेहरू मरे’ उनले भने, ‘भनिन्छ, एक्सपर्टले गोली हानेको छ । टाउको र छातीमा नै गोली हानेको छ । जुन पुलिसले गर्नै सक्दैन । घुसपैठहरू आन्दोलनमा घुसेका छन् ।’

    नेता कोइरालाले वास्तविक जेनजी को हो भनेर ठम्याउनुपर्ने समय आएको बताए । ‘पहिले त हामीले यो जेनजी भनेको कुन शक्ति हो भन्ने कुरा ठम्याउनुपर्‍यो । उनीहरूले तीन वटा कुराहरू उठाए’ उनले भने, ‘सुशासन, भ्रष्टाचार र सामाजिक सञ्जालको कुरा मात्रै थियो । तर पछि उनीहरूले त हरेक ठाउँमा आगो लगाए ।’

    उनले जेनजीलाई आफ्नो घर किन जलाएको भनी प्रश्न गरे । ‘मेरो घर पनि जल्यो । मैले के गल्ति गरेको थिएँ ? थाहा छैन । चार चोटि चुनाव जितेँ, मन्त्री पनि भएको छैन । न त भ्रष्टाचार नै गरेको छ ।’

    उनले थपे, ‘मेरो मात्र होइन गणेशमानजीको घर जल्यो, किसुनजीको घर जल्यो । ८० वर्ष पुरानो कोइराला निवास जल्यो । किन जल्यो ? यो प्रश्नको उत्तर म दिन सक्दिनँ ।’

    उनले संविधान र लोकतान्त्रिक व्यवस्थाको रक्षाको लागि सबै एकजुट भएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

  • जेनजी आन्दोलनका घाइतेहरूलाई भेट्न अस्पताल जाँदै विद्या भण्डारी

    जेनजी आन्दोलनका घाइतेहरूलाई भेट्न अस्पताल जाँदै विद्या भण्डारी

    ३ असोज, काठमाडौं ।
    जेनजी आन्दोलनका घाइतेहरूलाई भेट्न पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी प्रहरी अस्पताल जाने भएकी छन् ।

    उनका स्वकीय सचिव राजकुमार राईका अनुसार आज दिउँसो साढे ४ बजे प्रहरी अस्पताल जाने तयारी छ।

    गत २३-२४ भदौंको जेनजी आन्दोलनमा घाइते भएकाहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

  • शेरबहादुर देउवाको गर्धनमाथि गम्भीर चोट, १२ टाँका लगाइयो

    शेरबहादुर देउवाको गर्धनमाथि गम्भीर चोट, १२ टाँका लगाइयो

    काठमाडौँ, असोज ३-
    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गर्धनमाथि गम्भीर चोट लागेकाले १२ टाँका लगाइएको छ ।

    कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले शुक्रबार केन्द्रीय कार्यसम्पादन समिति बैठकमा नेताहरूलाई देउवाको स्वास्थ्य अवस्थाबारे ब्रिफिङ गरेका थिए ।

    ब्रिफिङका क्रममा उपसभापति खड्काले सभापति देउवाको गर्धनमाथि गम्भीर चोट लागेको र १२ टाँका लगाइएको जानकारी गराएको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।

  • कांग्रेस बैठकमा सिटौला : संसद् पुनर्स्थापनालाई प्रमुख मुद्दा बनाउनुपर्छ

    कांग्रेस बैठकमा सिटौला : संसद् पुनर्स्थापनालाई प्रमुख मुद्दा बनाउनुपर्छ

    ३ असोज, काठमाडौं ।
    नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संसद् पुनर्स्थापनाको मागलाई प्रमुख मुद्दा पार्टीले बनाएर जानुपर्ने धारणा राखेका छन् ।

    पार्टी केन्द्रीय कार्यालयमा आज बसेको कार्यसम्पादन समितिको बैठकमा नेता सिटौलाले संसद् विघटन असंवैधानिक रहेकाले त्यसलाई प्रमुख मुद्दा बनाउनु पर्ने धारणा राखेका हुन् ।

    सिटौलाले पार्टी बैठकमा राखेको धारणा उदृत गर्दै सहभागी एक नेताले भने, ‘संसद् विघटन संविधान अनुसार छैन । संसद् विघटनलाई पार्टीले असंवैधानिक भनिसकेपछि ससद् पुर्नस्थापना हाम्रो प्रमुख माग हुनुपर्छ ।’

    उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा बसेको बैठकले पछिल्लो घटनाक्रमबारे अन्य दलसँग पनि संवाद गर्ने निर्णय गरेको छ ।

    बैठकमा केन्द्रीय समिति बैठक छिट्टै बोलाउनेबारे पनि छलफल भएको छ।

  • कर्णालीमा संविधान दिवस (तस्वीरहरू)

    कर्णालीमा संविधान दिवस (तस्वीरहरू)

    ३ असोज, सुर्खेत ।
    संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ कर्णाली प्रदेश सरकारले पनि मनाएको छ । संविधान जारी भएको १० वर्षे अवसरमा प्रदेश सरकारले शुक्रबार राजधानी वीरेन्द्रनगरमा औपचारिक कार्यक्रम गरी दिवस मनाएको हो ।

    कार्यक्रममा प्रदेश प्रमुख यज्ञराज जोशीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा मुख्यमन्त्री यामलाल कँडेल, पूर्व मुख्यमन्त्री जीवन बहादुर शाही, सभामुख नन्दा गुरुङ, सबै दलका सांसद, कर्मचारी तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

    पूर्वमुख्यमन्त्री एवं प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र संसदीय दलका नेता राजकुमार शर्मा भने कार्यक्रममा सहभागी भएनन् ।

    प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा बिहान साढे ७ बजे राजधानी वीरेन्द्रनगरको मंगलगढी चोकबाट दिवस झल्किने ब्यानर प्लेकार्ड, ब्यान्ड बाजासहित प्रभातफेरी गरिएको थियो ।

    त्यस लगतै प्रदेश रंगशालास्थित कभर्ड हलमा औपचारिक कार्यक्रम गरिएको थियो ।

    कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले संविधान प्रदत्त नागरिक अधिकार कार्यान्वयन गर्न तीनै तहका सरकार प्रयासरत रहेको बताए ।

    उनले भ्रष्टाचार नियन्त्रण, सुशासन र स्थिर सरकारको मागसहित सडकमा आएको जेनजी पुस्ताको आन्दोलनपछि उत्पन्न परिस्थितिप्रति चिन्ता व्यक्त गरे ।

    ‘संविधान निर्माणपछि जनताको राजनीतिक अधिकार प्राप्तिको चरण सम्पन्न भएको र अब सामाजिक न्यायसहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढ्नुपर्ने हुन्छ,’ मुख्यमन्त्री कँडेलले भने, ‘जेनजी पुस्ताले उठाएका मागहरू यसै संविधानभित्र रहेर पूरा गर्न सकिने प्रशस्त आधारहरू छन् । संविधानलाई संशोधन गरी थप परिष्कृत गर्न सकिन्छ ।’

    पछिल्लो आन्दोलनले मुलुकलाई आर्थिक समृद्धितर्फ लैजानुभन्दा थप राजनीतिक अस्थिरता र अराजकताको भुमरीतर्फ धकेल्ने स्पष्ट सङ्केत देखिएको उनले बताए ।

    ‎कँडेलले संघीयता, लोकतन्त्र, समावेशी समानुपातिक व्यवस्था लगायतका महत्त्वपूर्ण उपलब्धिमाथि प्रहार गर्ने नियतले गरिएका असंवैधानिक एवम् अराजक गतिविधिले सबै चिन्तित बन्नुपर्ने अवस्था आएको बताए ।

    नेपाली जनताको लामो बलिदानीपूर्ण र लामो संघर्षको उपलब्धिस्वरुप संविधानसभाबाट नेपालको संविधान २०७२ असोज ३ गते घोषणा भएको थियो ।

    मुलुकमा भएको दोस्रो संविधानसभाको निर्वाचनपछि गठित संविधानसभाले अथक मिहिनेत र लामो विवादपछि ‘नेपालको संविधान, २०७२’ जारी गरेको थियो ।

  • राजसंस्थाको पक्षमा खुले डा.मुकुल ढकाल

    राजसंस्थाको पक्षमा खुले डा.मुकुल ढकाल

    काठमाडौँ, असोज ३–
    राष्ट्रिय स्वतन्त्र पार्टीकाबाट निकालिएका महामन्त्री डा.मुकुल ढकाल राजसंस्थाको पक्षमा खुलेका छन् । आज सामाजिक संजाल फेसबुकमा एक स्टाटस लेख्दै जान्नेलाई छान्ने अवस्था आइसकेकाले देश जोगाउन तालिम प्राप्त संस्था राजसंस्था नै भएको दावी गरेका छन् । उनले लेखेका छन्ः
    ‘जान्नेलाई छान्ने’
    अन्य सबै प्रकारका तर्कहरूलाई विश्राम दिनुहोस्, र जान्नेको आधारमा मात्र छान्नुहोस् ।
    देशको अभिभावकत्व गर्नका लागी सानैदेखि विशेष तालिमप्राप्त राजसंस्था जान्ने हुन्छ की टुप्लुक्क राष्ट्रपतिको रूपमा छानिएको व्यक्ति जान्ने हुन्छन् रु
    जान्नेलाई छान्ने भनेपछी राष्ट्रपति जान्ने की राजा जान्ने ? राष्ट्रपति छान्ने की राजा छान्ने ?
    जान्नेलाई छान्ने की नछान्ने ?

  • ‘जनताका भावना र अपेक्षा संविधानका अक्षरभन्दा गतिशील हुन्छन्’

    ‘जनताका भावना र अपेक्षा संविधानका अक्षरभन्दा गतिशील हुन्छन्’

    ३ असोज, काठमाडौं ।
    अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले गत भदौ २३ र २४ गते भएको विरोध आन्दोलन युवा पुस्ताको चाहना, जनताको बढ्दो चेतनास्तर र मुलुकमा विद्यमान भ्रष्टाचारप्रतिको असन्तुष्टिको प्रतिविम्व भएको बताएकी छन् ।

    संविधानको मर्म र भावना बमोजिम सुशासन, समृद्धि र विकासको क्षेत्रमा भएका कमीकमजोरी र त्यसबाट सिर्जित असन्तोष, अभाव वा अपेक्षा पूरा नभएको कारणले पनि युवा आन्दोलनको जन्म भएको उनको ठहर छ ।

    आज संविधान दिवस मूल समारोहलाई सम्वोधन गर्दै उनले सो धारणा राखेकी हुन् । ‘यस आन्दोलनलाई मैले हाम्रो लोकतान्त्रिक प्रणालीको स्वास्थ्यसँग पनि जोडेर हेर्ने गरेको छु । किनभने लोकतन्त्र भनेको जनताको आवाज सुन्ने, संवाद गर्ने र समाधान गर्ने प्रणाली हो,’ उनले भनिन् ।

    प्रधानमन्त्री कार्कीले युवा आन्दोलनका एजेण्डालाई आत्मसाथ गर्दै जनअपेक्षा बमोजिम काम गर्न सरकार प्रतिबद्ध रहेको पनि बताइन् ।

    पढ्नुहोस् प्रधानमन्त्री कार्कीको सम्बोधनको पूर्णपाठ–

    सम्माननीय राष्ट्रपति ज्यू,

    सम्माननीय उपराष्ट्रपति ज्यू,

    सम्माननीय प्रधानन्यायाधीश ज्यू,

    सम्माननीय समामुख ज्यू,

    राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष ज्यू,

    उपस्थित विशिष्ट पदाधिकारीहरु,

    कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरु,

    जनप्रतिनिधिहरु,

    राष्ट्रसेवकहरु,

    सञ्चारकर्मीहरु

    आदरणीय दिदीबहिनी एवं दाजुभाइहरु,

    आज हामी नेपाली जनताले चुनेका प्रतिनिधिहरुको संविधानसभाले बनाएको नेपालको संविधान जारी भएको दिनलाई संविधान दिवस तथा राष्ट्रिय दिवसको रुपमा उत्साहपूर्वक मनाउँदै छौं ।

    संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानले एक दशक पूरा गरेको यस गौरवपूर्ण घडीमा सम्पूर्ण नेपाली जनतामा संविधान दिवस २०८२ को हार्दिक शुभकामना व्यक्त गर्दछु ।

    नेपालको वर्तमान संविधान, नेपाली जनताले पटक–पटक गरेको जनआन्दोलन, संघर्ष, त्याग र बलिदानबाट निर्माण भएकोले यो नेपाल र नेपालीको भाग्य भविष्य, आकांक्षालाई प्रतिविम्वित गर्ने मार्गदर्शक दस्तावेज हो ।

    संघीयता, लोकतन्त्र, गणतन्त्र, समावेशिता र सामाजिक न्याय जस्ता आधारभूत विशेषता अंगालेको नेपालको संविधान जारी भएको दिन हामी सबै नेपालीले गौरव गर्ने दिन पनि हो ।

    संविधान दिवस केवल उत्सव मात्र होइन, संघीय लोकतान्त्रिक गणतन्त्रको मूल्यांकन गर्ने दिन पनि हो । यो संविधान कार्यान्वयनमा आएको विगत एक दशकमा संविधानले मार्गदर्शन गरेको यात्रामा के हासिल गर्‍यौं, के गर्न सकेनौं, यसबीचमा के कस्ता कमीकमजोरी रहे र आगामी दिनमा के कस्ता कार्यदिशा आवश्यक छ भन्ने सवालहरुको गम्भीरतापूर्वक समीक्षा गर्नुपर्ने स्थिति छ ।

    संविधानले संघ, प्रदेश र स्थानीय तहमा अधिकारको बाँडफाँट, जनताको पहुँचमा गुणस्तरीय र छरितो सेवा तथा स्थानीय नेतृत्वलाई सशक्त बनाउने आधार प्रदान गरेको छ । तथा सेवा प्रवाहमा समान पहुँच, पारदर्शिता, भ्रष्टाचार शून्यता, साधन स्रोत, प्रविधिको उच्चतम उपयोग, सार्वजनिक सेवाको लागत, प्रभावकारिता, प्रतिफल सुनिश्चित हुने गरी विकास व्यवस्थापन जस्ता विषयहरु तीनै तहका सरकारका लागि साझा चुनौतिका रुपमा रहेका छन् । यी चुनौतिहरु सामाना गर्न सरकार मात्र होइन, निजी क्षेत्र, नागरिक समाज, सामुदायिक तथा गैरसरकारी क्षेत्र, नेपालको समृद्धि र विकासमा हातेमालो गर्ने अन्तर्राष्ट्रिय समुदाय र प्रत्येक नागरिकको भूमिका अपरिहार्य छ ।

    २०८२ साल भदौ २३ र २४ गते जेनजी युवाहरुको अगुवाइमा भएको विरोध प्रदर्शन र आन्दोलन हाम्रा युवा पुस्ताको चाहना, जनताको बढ्दो चेतनास्तर र मुलुकमा विद्यमान भ्रष्टाचारप्रतिको असन्तुष्टिको प्रतिविम्व हो ।

    संविधानको मर्म र भावना बमोजिम सुशासन, समृद्धि र विकासको क्षेत्रमा भएका कमीकमजोरी र त्यसबाट सिर्जित असन्तोष, अभाव वा अपेक्षा पूरा नभएको कारणले पनि यो आन्दोलनको जन्म भएको कुरालाई हामीले स्वीकार गर्नुपर्दछ ।

    यस आन्दोलनलाई मैले हाम्रो लोकतान्त्रिक प्रणालीको स्वास्थ्यसँग पनि जोडेर हेर्ने गरेको छु । किनभने लोकतन्त्र भनेको जनताको आवाज सुन्ने, संवाद गर्ने र समाधान गर्ने प्रणाली हो ।

    जेनजी पुस्ताको आन्दोलन हामीले प्रतिबद्धता व्यक्त गरेको संघीय गणतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, पूर्ण प्रेस स्वतन्त्रता, स्वतन्त्र निष्पक्ष र सक्षम न्यायपालिका, कानुनी राज्य, सुशासन लगायतका लोकतान्त्रिक मूल्य मान्यतामा हामी खरो उत्रन नसक्नुको परिणाम पनि हो ।

    सूचना प्रविधिमा भएको चामत्कारिक विकास पनि हो । अन्तर्राष्ट्रिय स्तरमा देखिएको नागरिकमैत्री शासन प्रणाली, खुला सरकार र भर्चुअल शासनको बारेमा जानकार रहेका युवा पुस्ताले उठाएको रोजगारीको अवसर, गुणस्तरीय जीवनस्तर, सरकारका कामकारबाहीमा पारदर्शिता, कानुनी समानता, भ्रष्टाचारको अन्त्य, सुशासन र विकास जस्ता सवालहरु यथार्थमा हामी सबै पुस्ताका साझा अपेक्षा र राष्ट्रिय एजेण्डाहरु हुन् । यी एजेण्डालाई आत्मसाथ गर्दै जनअपेक्षा बमोजिम काम गर्न यो सरकार प्रतिबद्ध छ ।

    शासकीय आकांक्षा बोकेर कुनै पदको लालचा लिएर प्रधानमन्त्री भएको होइन । देश संकटमा रहेको बेला परिवर्तनकामी युवा पुस्ताको अनुरोध समेतका आधारमा चुप लागेर बस्न नसकी संक्रमणको व्यवस्थापन गर्दै नेपालको संविधान बमोजिम ६ महिनाभित्र प्रतिनिधि सभाको निर्वाचन मार्फत् जनप्रतिनिधि सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्ने गरी म वर्तमान अन्तरिम सरकारको प्रधानमन्त्री भएको हुँ ।

    संविधान दिवसको यस घडीमा विगतका जनआन्दोलन र हालैको जेनजीको आन्दोलनमा जीवनको आहुति दिने सबै शहीदहरुप्रति भावपूर्वक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारमा गहिरो समवेदना प्रकट गर्दछु । साथै यस जेनजी आन्दोलनमा घाइते व्यक्तिहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै आन्दोलनको दौरान सार्वजनिक एवं निजी सम्पत्ति र औद्योगिक तथा व्यापारिक प्रतिष्ठानमा हुन गएको अकल्पनीय र अपुरणीय क्षतिप्रति गहिरो दु:ख व्यक्त गर्दछु ।

    संविधानका अक्षरहरु स्थीर हुन सक्लान् तर यसको भावना र प्राण सधैं जीवन्त हुन्छ । समयसँगै नागरिकका आवश्यकता र आकांक्षा परिवर्तन हुन्छन् । जनताका आकांक्षा र अपेक्षा अनुसार राज्य संयन्त्र क्रियाशील हुनुपर्छ । कमीकमजोरीमा आत्मालोचना गर्दै निरन्तर सुधारको बाटोमा अघि बढ्नुपर्दछ ।

    जनताका भावना र अपेक्षा संविधानका अक्षरभन्दा अझ बढी बहुआयामिक र गतिशील हुन्छन् । जनभावनालाई बेवास्ता गर्न वा अस्वीकार गर्न सकिन्न, सुुनुवाइ गर्न सकिन्न ।

    जनआवाजको सुनुवाइ नै लोकतन्त्रको आत्मा हो । यसका लागि आवश्यक पर्ने संस्थागत पुनर्संरचना र कानुनमा परिमार्जन गरी सार्वजनिक सेवा प्रवाह र विकास निर्माण कार्यलाई चुस्त, प्रभावकारी र जनमुखी बनाउन आवश्यक छ ।

    पछिल्लो आन्दोलनले हामीलाई धेरै क्षेत्रहरुमा सुधार गर्न मार्गनिर्देश गरेको छ । युवा पुस्ता आफू शासकीय प्रणालीमा सहभागी हुन चाहन्छन् । विकसित देशका सफल शासकीय अभ्यासहरुलाई हाम्रो मुलुकमा देख्न चाहन्छन् । नीतिगत तहमा आफ्नो विचार प्रतिविम्वित भएको हेर्न चाहन्छन् ।

    यसर्थ संविधान दिवसको यस अवसरमा यो सरकारले युवा, महिला, बालबालिका, फरक क्षमता भएका व्यक्ति, दलित, आदिवासी जनजाति, मधेशी, थारु, पछाडि परेको वर्ग समुदाय र सबै पुस्ताको भावना र अपेक्षालाई सम्वोधन गर्न दृढ संकल्पका साथ निरन्तर काम गर्दै जाने विश्वास दिलाउन चाहन्छु ।

    हाम्रा अगाडि जेनजी आन्दोलनको क्रममा क्षतिग्रस्त संरचनाहरुको पुनर्निर्माण गर्नुपर्ने एवं व्यवसायिक प्रतिष्ठानमा पुग्न गएको क्षतिबाट देशलाई पनि माथि उठाउनुपर्ने चुनौति छ । विकासको सम्वाहकको रुपमा रहेको निजी क्षेत्रको मनोवल बढाउनु छ । तोकिएको समयमा निर्वाचन सम्पन्न गर्नुछ ।

    यस सन्दर्भमा क्षतिको पुनर्निर्माण र विकास निर्माणको महाअभियानमा सहभागी हुन म सम्पूर्ण युवापुस्ता, राजनीतिक दलहरु, राष्ट्रसेवक कर्मचारी, निजीक्षेत्र, विकास साझेदारहरु र आम नागरिकलाई आह्वान गर्दछु ।

    यस अवसरमा विशेष गरी युवा पुस्तालाई आह्वान गर्न चाहान्छु कि तपाईंहरु परिवर्तनका वास्तविक बाहक हुनुहुन्छ । तपाईंहरुको साहस, नवप्रवर्तन सोच र अटल प्रतिबद्धताले नै नेपाललाई नयाँ उचाइमा पुर्‍याउने छ ।

    आन्दोलनले उठाएका सवालहरु र शहीदका सपनाहरु पूरा गर्न हामीलाई प्राप्त छोटो अवधिमा उपलब्ध साधन स्रोतहरुको उच्चतम प्रयोग गर्दै गर्नुपर्ने, कानुनी, संस्थागत, नीतिगत सुधार अनि जनअपेक्षा अनुसारका काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु । तपाईंहरुको आवाज सुन्ने, आत्मसाथ गर्ने र व्यवहारमा उतार्ने कुरामा यो सरकार कटिबद्ध छ ।

    शासकीय शैलीप्रति जनताका असंख्य गुनासा, आक्रोश अनि असन्तुष्टिहरु छन् । यस असन्तुष्टिहरुलाई एकैचोटि सम्वोधन गर्न कठिन हुने भए तापनि वर्तमान सरकारले आफ्नो स्रोत, साधन र क्षमताले भ्याएसम्म ती समस्याको समाधान गर्न इमान्दार प्रयास गर्नेछ ।

    संविधान दिवसको यस अवसरमा म सबैलाई वर्तमान सरकार नागरिकप्रति पूर्णजवाफदेही रहने प्रतिबद्धता व्यक्त गर्दै नागरिक पनि आफ्ना कर्तव्यप्रति सचेत रहनुहुनेछ भन्ने विश्वास व्यक्त गर्दछु ।

    २०६२/६३ सालको ऐतिहासिक जनआन्दोलनको जगमा निर्माण भएको नेपालको वर्तमान संविधानले विश्वलाई नेपाली जनता आफ्नो भाग्य आफैं कोर्न सक्षम छन् भन्ने सन्देश दिएको छ ।

    अहिले हामीले संविधानमा परिवर्तन भन्दा पनि संविधानको मर्म र भावना बमोजिमको कर्मको अझ बढी अपेक्षा गरेका छौं । त्यसको लागि आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, कम खर्चिलो एवं भयरहित वातावरणमा सम्पन्न गरी युवा पुस्ता लगायत सबै वर्ग, क्षेत्र, समुदायको अपनत्व सिर्जना गर्नुपर्ने आवश्यकता छ ।

    निर्वाचन एउटा यान्त्रिक प्रक्रिया मात्र हो । यो आगामी पाँच वर्षका लागि नागरिकहरुको आशा, आकांक्षा र विश्वास हस्तान्तरण गर्ने महत्वपूर्ण कडी पनि हो । सो अभिभारा पूरा गर्न सबै सरोकारवाला, राजनीतिक दल, मतदाता, सरकारी संयन्त्र, आम नागरिकबाट खुला हृदयले सहयोग हुनेछ भन्ने मैले विश्वास लिएको छु ।

    संविधान दिवसले हामीलाई नयाँ संकल्प गर्न प्रेरित गरोस्, लोकतन्त्र अझ मजबुत होस्, हाम्रो सामाजिक न्याय सुनिश्चित होस्, हाम्रो आर्थिक समृद्धि साझा होस् र हाम्रो राष्ट्र सबै नागरिकको साझा घर बनोस् भन्ने कामना गर्दछु ।

    साथै शासकीय सुधारको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्न सरकार प्रतिबद्ध रहेको दोहोर्‍याउँदै परिवर्तनका लागि जीवन अर्पण गर्ने सम्पूर्ण शहीदहरु, जेनजी पुस्ता लगायत आम नागरिकलाई म हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।

    अन्त्यमा सम्पूर्ण नेपाली जनतामा संविधान दिवस २०८२ को हार्दिक शुभकामना व्यक्त गर्दछु ।

    धन्यवाद ।

  • ‘देश परिवर्तन भएको हेर्न चाहन्छौँ’ :सहिद परिवार

    ‘देश परिवर्तन भएको हेर्न चाहन्छौँ’ :सहिद परिवार

    भक्तपुर, असोज ३ –
    जेनजी’ प्रदर्शनका क्रममा गत भदौ २४ गते गोली लागेर मृत्यु भएका भक्तपुर निवासी सहिदका परिवारको आँखा अझै ओभाएका छैनन् ।

    छोरा सहिद भएको ११ दिन बित्दा पनि सहिद परिवारमा शोकको कुनै मूल्य नभएको बताउँदै सहिद परिवार भन्छन्, “उनीहरुको सपनाअनुसार देश परिवर्तन भएको हेर्न चाहन्छौँ ।” चाँगुनारायण नगरपालिका–२ दुवाकोट सोमथली निवासी २१ वर्षीय अभिषेक चौलागार्इंको २४ गते आन्दोलनकै क्रममा संसद् भवन परिसरमा गोली लागेर मृत्यु भएको थियो ।

    दोलखा जिल्ला सैलुङ गाउँपालिका स्थायी घर भई भक्तपुर–दुवाकोटमा सानो घर बनाएर बस्दै आउनुभएका अभिषेकका पिता भने नेपाल प्रहरीमा कार्यरत हुनुहन्छ । गत भदौ २३ र २४ गते अभिषेकका बुबा दिनेश भने भक्तपुरस्थित सल्लाघारीमा प्रहरीको ‘ड्यिुटी’मै हुनुहुन्थ्यो ।

    गत भदौ २४ गते सादा पोसाकमा ‘ड्यिुटी’मा खटिनुभएका दिनेशले छोरालाई आन्दोलनमा नजान भन्नुभएको थियो । उहाँ भन्नहुन्छ, “११ः१५ बजेसम्म म घरमै छु भन्थ्यो, अघिल्लो दिन आन्दोलनमा गए पनि २४ गते नजान भनेको थिएँ, देश भ्रष्टाचारले डुब्यो, परिवर्तन गर्नु छ भन्थ्यो, कतिखेर बानेश्वर पुगेछ, संसद् भवनमै छातीमा गोली लागेर करिब बेलुका ६ः३० बजेति मृत्यु भइसकेछ ।”

    “रातभरि छोरा घरमा आएन, फोन लाग्दैन । आमाबुबालाई निकै सास्ती भयो । भदौ २५ गते अपराह्न अस्पतालमा शव भएको खबर आउँदा परिवारमा कसैको होस रहेन । बूढेसकालको एक मात्र साहारा, परिवारको आडभरोसा । २१ वर्षको एक मात्र छोरा गुमाउँदाको पीडा भोग्नेलाई मात्रै थाहा हुन्छ”, उहाँ भन्नुहुन्छ ।

    त्रिचन्द्र क्याम्पसमा होटल म्यानेजमेन्टमा स्नातक पढ्दै गरेका अभिषेकले परिवारको मञ्जुरीबिना नै आन्दोलनमा सहभागी हुँदा फोनमा भनेको कुरा भक्कानिँदै आमा रीता भन्नुहुन्छ, “देशका लागि केही गर्नेबेला आएको छ, देश परिवर्तनका लागि मर्नु परे पनि मर्छु, म आन्दोलनमा छुँ, चिन्ता नलिनु, आमा । अरू बेलामा पनि म विदेश जान्न, देशमै केही गर्छु भन्थ्यो, देशकै लागि जन्मेको रैछ, देशकै लागि गयो ।”

    कक्षा १० पढ्दै गरेकी १५ वर्षीय एलिशालाई पनि दाजु गुमाउँदाको पीडाले छाडेको छैन । प्रहरीमा कार्यरत दिनेश भन्नुहुन्छ, “ऊ देशका लागि सहिद भयो, देश परिवर्तन भएको हेर्न चाहन्थ्यो, भ्रष्टाचार निर्मूल भएको हेर्न चाहन्थ्यो, यति भए उनीहरुले न्याय पाउँथे ।” भतिजको किरिया कर्ममा रहेका केशर भ्रष्टाचारमुक्त देश तथा कार्यकारी प्रधानमन्त्रीको सपना उनीहरू भएकाले त्यसैअनुसार हुनपर्ने बताउनुहुन्छ ।

    त्यस्तै दोलखाको बिगु गाउँपालिका–३ स्थायी घर भई दुवाकोटस्थित किरिया घरमा छोराको शोकमा रहेका केशव बुढाथोकी दम्पतीको पीडा पनि उस्तै छ । भदौ २४ गतेको आन्दोलनका क्रममा कोटेश्वरमा गोली लागेर सहिद भएका २२ वर्षीय महेश बुढाथोकीका बुबा केशव र आमा दिलकुमारीको साहारा खोसिएको छ । एक वर्षअघि देखि क्यान्सर रोगले थलिएकी आमाको स्याहारसुसार, औषधि र अस्पतालको व्यवस्थापन गर्दै आएको छोरा सधैँका लागि अस्ताएपछि परिवार बेसहारा बनेका छ ।

    ग्यास कम्पनीमा मजदुरी गर्दै आएका केशव भन्नुहुन्छ, “म सुकेधाराको ग्यास कम्पनीमा काम गर्छु, क्यान्सर रोगी आमाको सबै अभिभारा बोकेको थियो, वैदेशिक रोजगारीका लागि माल्टा जाने तयारी पनि गर्दै थियो, म्यानपावरलाई रु ५० हजार बुझाइसकेको थियो, गरिब परिवारको सबै सपना थाती राखेर सधैँका लागि अस्तायो ।” युवापुस्ताले खोजेजस्तो देशले परिवर्तन पाए सहिदको बलिदानले न्याय पाउने बताउनुहुन्छ, भतिजको किरिया कर्ममा बस्नुभएका महेशका माइलाबुवा यज्ञबहादुर बुढाथोकी पनि ।

    चाँगुनारायण नगरपालिका–१ दुवाकोटमा बस्दै आएका अर्का युवा रोशन (योगेन्द्र) न्यौपाने पनि यही आन्दोलनमा आस्ताए । चाँगुनारायण माध्यमिक विद्यालयबाट एसइई उत्तीर्ण गरी उच्च शिक्षा अध्ययनरत न्यौपानेको परिवार भने किरियाका लागि दुवाकोटको घरबाट पैतृक थलो सिन्धुली पुगेको छ । सहिद न्यौपानेको परिवार तथा आफन्तीजनका तर्फबाट पनि देश परिवर्तनका लागि भएको जेन्जी प्रदर्शनका क्रममा शहादत प्राप्त गर्ने सहिदका सपना साकार पार्न सरकारका साथ सम्बद्ध सबैसँग माग गरिएको छ । रासस