Blog

  • नारायणगढ-मुग्लिन सडकखण्डको तुइनखोलामा झन् ठूलो पहिरो खसेपछि पन्छाउने काम अझै सुरु हुन सकेन

    नारायणगढ-मुग्लिन सडकखण्डको तुइनखोलामा झन् ठूलो पहिरो खसेपछि पन्छाउने काम अझै सुरु हुन सकेन

    भरतपुर,असोज ४-
    नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलानजिकै पहिरो जाँदा अवरुद्ध सडक अझै खुल्न सकेको छ । पहिरो खस्ने क्रम अझैसम्म पनि नरोकिएकाले पन्छाउने काम सुरु नभएको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ । शुक्रबार साँझ ७ः१५ बजे पहिरो जाँदा सवारी आवागमन दुवैतर्फ अवरुद्ध छ । बिहान ६ बजेसम्म पनि ढुङगासहितको पहिरो खस्ने क्रम नरोकिएपछि पहिरो पन्छाउने काम सुरु हुन नसकेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक प्रतिक सिंहले जानकारी दिनुभयो । उहाँका अनुसार आज यो सडकखण्ड भएर यात्रा नगर्न अनुरोध गरिएको छ ।

    ढुङगा झर्ने क्रम रोकिए तीन वटा मेसिन प्रयोग गरेर पहिरो पन्छाउने काम गरिने उहाँले बताउनुभयो । ‘राती झन् ठूलो पहिरो खसेको छ,उहाँले भन्नुभयो,ढुङ्गा झर्ने क्रम नरोकिएकाले काम सुरु गर्न सकिएको छैन । सवारीसाधनको जामका कारण काठमाडौं पोखरा चल्ने सवारीसाधन समेत बाटोमानै रोकिएका छन । प्रहरीले सवारी चालकलाई लेन कायम गरेर बस्न माइकिङ गरेको छ । यस्तै नारायणगढ मुग्लिन सडकमा रोकिएका सवारीसाधनलगायत यात्रुहरूलाई आफ्नो लेन कायम गरेर बस्न समेत अनुरोध गरिएको छ । गन्तव्यमा हिडेका सयौं सवारीसाधन र हजारौं यात्रु अहिले सडकमानै रोकिएका छन ।

  • कमजोर बन्दै मनसुन, छैन भारी वर्षाको सम्भावना

    कमजोर बन्दै मनसुन, छैन भारी वर्षाको सम्भावना

    काठमाडौँ ०४ असोज
    हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले कोशी, मधेस र बागमती प्रदेशमा साधरणतया बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली रहेको छ।

    कोशी, मधेस र बागमती प्रदेशका धेरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

    आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशका बाँकी पहाडी भूभागमा साधरणतया बदली रही बाँकी तराई भूभागमा आंशिक बदली रहने छ। कोशी र बागमती प्रदेशका केही स्थानहरूमा, मधेस र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा देशको बाँकी भूभागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।

    आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भूभागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।

     

  • आज शनिबार कुन राशिको भाग्य कस्तो ? हेर्नुहोस् राशिफल

    आज शनिबार कुन राशिको भाग्य कस्तो ? हेर्नुहोस् राशिफल

    आजको पञ्चाङ्ग

    आज मिति वि.सं.२०८२ साल आश्विन ४ गते । शनिबार । ईश्वी सन् २०२५ सेप्टेम्बर २० तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । शरद ऋतु । श्रीशाके १९४७ । आश्विन कृष्णपक्ष । तिथि–चतुर्दशी, ४४ घडी ५८ पला, बेलुकी ११ बजेर ५० मिनेट उप्रान्त औँसी । नक्षत्र–मघा, ८ घडी ३३ पला, बिहान ९ बजेर १७ मिनेट उप्रान्त पूर्वाफाल्गुनी । योग–साध्य, ४० घडी ३० पला, बेलुकी १० बजेर ४ मिनेट उप्रान्त शुभ । करण–भद्रा, बिहान ११ बजेर ४७ मिनेट उप्रान्त शकुनी, बेलुकी ११ बजेर ५० मिनेट उप्रान्त चतुष्पद । आनन्दादिमा–पद्य योग । चन्द्रराशि–सिंह । चतुर्दशी श्राद्ध ।

    काठमाडौँमा सूर्योदय बिहान ०५ बजेर ५१ मिनेट । सूर्यास्त बेलुकी ६ बजेर १ मिनेट । दिनमान ३० घडी २४ पला ।

    आजको राशिफल

    मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) सन्तान तथा परिवारले तपाईँको काममा खासै सहयोग गर्ने छैनन् भने तपाईँको आलोचना गर्नेहरू बढ्ने ग्रहयोग रहेको छ । सामान्य स्वास्थ्य सम्बन्धी समस्याले सताउने हुँदा दैनिक काम गर्न असजिलो महसुस हुनेछ । माया प्रेममा धोका हुनेछ भने घर परिवारमा आफन्त तथा पति पत्नी बिच मनमुटाब बढ्नेछ । तर पनि खाद्यान्न, कपडा तथा गरगहनाको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ ।

    वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) तपाईँ आफ्नै कारणले आफन्त तथा साथीभाइले तपाईँको साथ छाड्नेछन् । आफन्तसँग सानो सानो कुरामा मनमुटाब सिर्जना हुनेछ । अन्य काममा नै व्यस्त हुँदा पढ्ने लेख्ने काम थाती रहनेछ । प्रेममा अरूकै नकारात्मक टिप्पणीले शङ्का उब्जिनेछ । छाती सम्बन्धी समस्या आउने प्रबल सम्भावना रहेको छ ध्यान दिनुहोला । तर पनि कृषि तथा पशुपालन व्यवसायबाट आम्दानी हुनेछ । खाद्यान्न, औषधी, पहिरन तथा गरगहनाको व्यवसायबाट नाफा कमाउन सकिनेछ ।

    मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) पराक्रम बढेर जाने हुनाले जोसिलो काम गर्ने जाँगर आउनेछ । सानो प्रयत्नले राम्रो काम गरी फाइदा लिन सकिनेछ भने प्रतिस्पर्धीहरू परास्त हुनेछन् । माया प्रेममा सामीप्यता बढेर जानेछ । अध्ययन अध्यापनमा प्रगति गरी गन्तव्य भेटाउन सकिनेछ । दाजुभाइ तथा छिमेकीहरूसँगको सम्बन्धमा सुधार भएर जानेछ भने आफन्तसँग गरिने व्यापार व्यवसायबाट प्रशस्त आम्दानी हुने ग्रहयोग रहेको छ । यात्रा, मनोरञ्जन तथा खानपानमा समय व्यातित हुनेछ ।

    कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) स्वास्थ्यमा समस्या आई दैनिक कामकाज गर्न नसकिने हुनाले रुपैयाँ पैसाको व्यवस्थापन गर्न गाह्रो हुनेछ । आफन्त तथा परिवार बाट अप्रिय तथा दुखद समाचार सुनिने हुँदा मनमा खिन्नता पैदा हुनेछ । अध्ययन तथा अध्यापनको क्षेत्र तपाईँ आफ्नै कारणले कमजोर रहनेछ । बोल्दा वा कुनै पनि प्रस्तुतिमा भाग लिँदा प्रशस्त तयारी गर्नुहोला कमजोरी गरेको वा भएको आभास हुनेछ । तयारी बिना नै प्रस्तुत गरिने कुनै पनि योजना विफल हुन सक्छ ध्यान दिनुहोला ।

    सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) मेहनेत गर्दा आटेको काम बन्नेछ भने जुझारु कार्यशैलीले लक्ष्य तथा गन्तव्य पहिल्याउन सहज हुनेछ । व्यवसाय फस्टाएर जानेछ भने लगानीको नयाँ वातावरण बन्नेछ । आम्दानीमा बढोत्तरीको योग रहेको छ । परिवारका साथ रमाइलो वातावरणमा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग गरी व्यापारलाई बिस्तार गर्न सकिनेछ ।

    कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) काम गर्दा कानुनको पालना राम्रोसँग गर्नुहोला राज्यबाट दण्ड तथा जरिवाना हुन सक्छ । माया प्रेमको दुरी बढ्ने हुनाले मनमा नरमाइलो महसुस हुनेछ । यात्राको क्रममा रुपैयाँ पैसाको सही परिचालन गर्न नसक्दा खर्च बढ्नेछ । तर पनि वैदेशिक यात्राको तय हुनेछ भने विदेशी सामान तथा रुपैयाँ पैसा हातलागी हुने योग रहेको छ । विदेशमा बसेर अध्ययन तथा काम गर्नेहरूले आजको दिन आफ्नो कामदेखि सन्तुष्ट हुनेछन् ।

    तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) सुखद समाचारले आजको दीन उत्साहपूर्वक बित्नेछ । सहपाठी तथा प्रतिस्पर्धीहरूलाई उछिन्दै विशेष अवसरमा सहभागी हुने अवसर जुर्नेछ भने मेहनतले बौद्धिक क्षेत्र फराकिलो हुनेछ । रोकिएका काम बन्ने तथा नयाँ काम सुचारु गर्न सकिनेछ । पैतृक धन तथा सम्पत्तिको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ । व्यापारमा दिगो आर्थिक लाभ हुने योजना शुभारम्भ गर्न सकिनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ ।

    वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) फुर्सदको समयमा सामाजिक काम गर्ने वातावरण बन्ने तथा मानसम्मान, इज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ । माया प्रेममा प्रिय पात्रसँग नजिक हुने समय रहेको छ । खाद्यान्न, औषधी, निर्माण सामाग्री, अटोपार्टस्को व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । विवादित विषयहरू हल भएर जाने तथा पुराना समस्याहरू केही भए थोरै समय दिएर फत्ते गर्न सकिनेछ । पारिवारिक माहौलमा मिष्टान्न भोजनको स्वाद लिँदै समय व्यातित गर्न सकिनेछ ।

    धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) कार्यक्षेत्रमा राम्रो काम गर्न नसक्दा मान सम्मानमा कमीको महसुस हुनेछ । समर्थन गर्नेभन्दा आलोचना गर्नेहरू सक्रिय हुनेछन् । स्वास्थ्य कमजोर रहनाले चाहेको उपलब्धि हासिल गर्न सकिनेछैन । धार्मिक तथा शैक्षिक यात्रा भए पनि कष्टकर हुन सक्छ ध्यान दिनुहोला । तर पनि प्रविधिको प्रयोग गरी अध्ययनलाई निरन्तरता दिन सकिनेछ । अनलाइन व्यापारबाट नाफा कमाउन सकिनेछ ।

    मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) भौतिक वस्तु तथा सवारी साधनको कारोबार गर्दा ध्यान दिनुहोला समय मध्यम रहेको छ । आफन्त तथा साथीभाइसँग मनमुटाब सिर्जना हुने योग रहेको छ । व्यापारमा लगानी गरिहाल्ने समय नरहेकोले गरिरहेको कामलाई निरन्तरता दिनुहोला । माया प्रेममा एक अर्कालाई शङ्का गर्नाले छुट्टिनुपर्ने बाध्यता आउनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउनेछ ।

    कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) आफ्नै बलबुताले व्यापार व्यवसायमा लगानी गरी मनग्गे धन सम्पत्ति सङ्ग्रह गर्न सकिनेछ । विगतका कमजोरीहरूलाई सुधार गर्दै सफलताको मार्गमा पाइला चाल्न सकिनेछ । पढाइ लेखाइमा भनेजस्तो सफलता हात पार्न सकिने हुँदा आफन्त तथा साथीभाइहरूबाट बधाईको ओइरो आउनेछ । भौतिक सम्पत्तिको प्रयोग गर्न पाइने तथा बिलासी बस्तुको उपयोग मार्फत अरूको मन आफूतिर तान्न सकिनेछ । प्रेम प्रसङ्गमा रमाउन चाहनेहरूका लागि समयले साथ दिनेछ ।

    मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) प्रतिस्पर्धामा विजयको योग रहेको छ भने तपाईँको कुरा काट्ने तथा ईर्ष्या गर्नेहरू हार खानेछन् । पुराना ऋण तथा रोगहरूलाई किनारा लगाउँदै परिणाममुखी काम गर्न सकिनेछ । अध्ययन अध्यापनमा भनेजस्तो सफलता हात पार्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ । खाद्यान्न, औषधी, गरगहना तथा कपडाको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ ।

    तपाईँको दिन शुभ रहोस् ।

  • जेनजी आन्दोलन : विभिन्न क्षेत्रका छ सय २९ भवन पूर्ण क्षति

    जेनजी आन्दोलन : विभिन्न क्षेत्रका छ सय २९ भवन पूर्ण क्षति

    काठमाडौँ, ३ असोज : 
    जेनजी पुस्ताका नाममा यही भदौ २४ गते भएको तोडफोड र आगजनीबाट देशभरका विभिन्न क्षेत्रका ६२९ भवन पूर्णरूपमा क्षति भएको छ ।
    उक्त आन्दोलनमा एक हजार पाँच सय ६० भन्दा बढी भवनमा आंशिक क्षति पुगेको छ ।
    आन्दोलनका समयमा भएको तोडफोड र आगजनीका कारण ती भवनहरूमा क्षति भएको नेपाल प्रहरीले प्रारम्भिक विवरण सङ्कलन गरेको प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो ।
    उहाँका अनुसार उक्त आन्दोलनमा नेपाल प्रहरीका मात्रै एक सय ७७ वटा भवन पूर्णरूपमा क्षति भएको छ । प्रहरीका दुई सय ५८ वटा भवनमा आंशिक क्षति भएको प्रवक्ता घिमिरेले बताउनुभयो । उहाँका अनुसार तोडफोड र आगजनीबाट तीन सय १० वटा सरकारी कार्यालय पूर्णरूपमा ध्वस्त भएको छ । प्रारम्भिक विवरणमा कूल आठ सय ३६ वटा सरकारी भवनमा आंशिक क्षति पुगेको छ ।
  • अमलेखगञ्जबाट नरभक्षी बाघ नियन्त्रणमा

    अमलेखगञ्जबाट नरभक्षी बाघ नियन्त्रणमा

    वीरगञ्ज (पर्सा), ३ असोज :
    मान्छेलाई पटकपटक आक्रमण गरेर ज्यान लिँदै आएको नरभक्षी बाघलाई आज बाराको अमलेखगञ्जबाट नियन्त्रणमा लिइएको छ ।

    पर्सा राष्ट्रिय निकुञ्जका कर्मचारी, नेपाली सेना, स्थानीय जनप्रतिनिधिसहितको संयुक्त टोलीले ‘डार्ट’ हानेर उक्त नरभक्षी बाघलाई नियन्त्रणमा लिइएको हो ।

    पर्सा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सन्तोषकुमार भगतले बाराको अमलेखगञ्जस्थित सामुदायिक वनबाट नरभक्षी बाघलाई नियन्त्रणमा लिइएको जानकारी दिनुभयो ।

    “गत असारयता वन क्षेत्रमा चार जना मान्छेको मुत्यु भएको रहेछ । स्थानीयले बाघबाटै मृत्यु भएको भनेकाले उक्त बाघलाई प्राविधिक टोलीले डार्ट हानेर नियन्त्रणमा लिएका छौँ”, उहाँले भन्नुभयो, “बाघको आक्रमणबाट अमलेखगञ्ज आसपासका जनता त्रसित र डर, त्रास देखिएकाले पनि उक्त बाघलाई नियन्त्रणमा लिइएको हो ।”

    सूचना अधिकारी भगतले नियन्त्रणमा लिएको बाघलाई निकुञ्जको रेस्क्यू सेन्टरमा राखिएको जानकारी दिनुभयो ।

  • संविधान दिवसमा एमाले चितवनको अन्तरक्रिया : राष्ट्रियता, संविधान र एमाले विरोधी षड्यन्त्र रचिएको भनाइ

    संविधान दिवसमा एमाले चितवनको अन्तरक्रिया : राष्ट्रियता, संविधान र एमाले विरोधी षड्यन्त्र रचिएको भनाइ

    चितवन, असोज ३ –
    आज असोज ३ अर्थात संविधान दिवस । २०७२ साल असोज ३ गते संविधान जारी भएको दिनलाई संविधान दिवसका रुपमा मनाइन्छ ।

    संविधान दिवसको अवसरमा नेकपा (एमाले) जिल्ला कमिटी चितवनले संविधानको रक्षा र कार्यान्वयनको विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । एमाले चितवनको जिल्ला पार्टी कार्यालयमा आयोजित कार्यक्रममा वक्ताहरुले संविधान र पार्टीको विषयमा आआफ्नो धारणा राखे ।
    कार्यक्रममा प्रमुख वक्ताका रुपमा रहेका संविधान सभा सदस्य एवम् नेकपा एमाले केन्द्रीय सदस्य कृष्णभक्त पोखरेलले संविधानमा भएका मुलभुत विशेषताका बारे प्रष्ट पारे ।

    अहिलेको संविधान विश्वकै उत्कृष्ट मध्येको एक संविधान रहेको पोखरेलले बताए । संविधान गतिशिल दस्तावेज भएकाले राष्ट्रिय अखण्डता, सार्वभौम सत्ता लगायतका महत्वपूर्ण विषय बाहेक अन्य सबै कुरा संशोधन गर्न सकिने बताए । उनले सुशिला कार्की प्रधानमन्त्री नियुक्त हुन संविधानको कुनै पनि धाराले नमिल्ने प्रष्ट पारेका छन् । जेनजी भनेको हाम्रै छोराछोरीको उमेर समुह भएकाले उनीहरु प्रति नकरात्मक हुन आवश्यक नरहेको उनले बताए । जेनजीका नाममा षड्यन्त्रकारी तत्वले गरेको घुसपैठको अनुसन्धान भने हुनुपर्ने उनको भनाइ छ ।

    एमाले केन्द्रीय सदस्य जेएन थपलियाले संविधानमा धेरै राम्रा कुराहरु लेखिएको बताए । उनले भने, ‘तर त्यहाँ लेखिएका कुरा कार्यान्वयन गर्न १० वर्ष काफी त हो । त्यहाँ लेखिएका कुरालाई व्यवहारमा ल्याउनु पथ्र्याे त्यो किन गरेनौ त सत्तामा हुँदा भन्ने प्रश्न त उठ्छ । एउटै पार्टीको सरकार हामी कहिल्यै हुन सकेनौं । त्यसले गर्दा चारैतर्फबाट घेराबन्दी भइरह्यो । त्यसैले समयमा संविधानलाई कार्यान्वयन गर्न नसकिएको हो र यसले संकट उत्पन्न गराएको छ ।’

    उनले यस संकटलाई अवसरका रुपमा लिएर पार्टीबाट भएका कमी कमजोरीलाई सुधारेर एमाले अब अघि बढ्ने बताए ।

    पार्टी नेतृत्वको विषयमा बोल्दै नेता थपलियाले अहिले नेतृत्व परिवर्तनको कुरा उठाउने समय नभएको बताए । उनले जेनजीको आन्दोलनमा एमाले र केपी ओली विरोधी देशि विदेशी शक्तिहरुले षड्यन्त्र गरी घुसपैठ गरेको बताए । ‘यो एउटा आन्दोलन मात्र होइन, उनले भने, ‘यो नेपालको कम्युनिष्ट शक्ति माथिको आक्रमण हो, नेता र सत्ता माथिको मात्र होइन ।’ उनले एमालेको नेतृत्व परिवर्तनको कुरा महाधिवेशनमा नै हुने प्रष्ट पारेका छन् । उनले जनतालाई देशी विदेशी शक्तिले गरेको षड्यन्त्रका बारेमा बुझाउन आवश्यक रहेको बताएका छन् ।

    एमाले चितवनका निवर्तमान अध्यक्ष एवम् बागमती प्रदेश कमिटी सदस्य राम प्रसाद न्यौपानेले एमाले शत्तामा हुँदा भ्रष्टाचार अन्त्य र सुशासनका लागि कति प्रयत्न गरियो भनेर जनतालाई बुझाउन नसक्दा पनि आजको अवस्था आएको बताए । जेनजीले उठाएका एजेण्डाहरु एमालेले बोक्दै आएको एजेण्डा नै भएकाले जेनजीको आन्दोलनलाई स्वीकार गर्दै पार्टीलाई नयाँ शिराबाट अगाडि बढाउनु धारणा न्यौपानेले राखे । उनले कार्यकर्ताको कुरा नै सुन्न नचाहने, आफ्ना अनुकुलका मात्र निर्णय गर्ने नेतृत्वको प्रवृत्तिले पनि यो संकट पैदा भएको बताए । संविधानसँगै नेकपा एमाले पनि गम्भीर संकटको अवस्थामा रहेको बताउँदै न्यौपानेले अब नेतृत्वले सच्चिएर पार्टीलाई नयाँ ढंगबाट अगाडि बढाउन आवश्यक रहेको बताए । उनले जेनजी आन्दोलनमा रास्वपा, राप्रपाको नाममा राजावादी र माओवादीको केही अराजक तत्वले आन्दोलनमा घुसपैठ गरी आन्दोलानलाई भड्काउने काम गरेको बताए ।

    नेकपा एमाले चितवनका अध्यक्ष कमल राज पाठकले आन्दोलनमा रास्वपा, राजावादी र केही दलका असन्तुष्ट समूहले जेनजी आन्दोलनमा घुसपैठ गरेको बताए । उनले केपी शर्मा ओली चीनमा गएर लिपुलेक, कालापानी र लिम्पियाधुरा हाम्रो भूमि हो भनेपछि भारत विच्किएर यो षड्यन्त्र रचेको बताए । राष्ट्रियताको पक्षमा दरो उभिएकै कारण राष्ट्रियता विरोधी शक्ति र विदेशी शक्तिहरुको चलखेलमा षड्यन्त्र गरेर जेनजीको ब्यानरमा विध्वंशकारी आन्दोलन रचिएको अध्यक्ष पाठकले बताए । उनले संविधान र राष्ट्रियताको रक्षा गर्ने सामथ्र्य राख्ने एकमात्र पार्टी नेकपा एमाले भएकाले कत्ति पनि विचलित नभई एकजुट भएर पार्टीको काममा लाग्नुपर्ने बताए ।

    अन्तरक्रिया कार्यक्रम समापन पश्चात चितवनका सात वटै पालिका पार्टी कमिटीले आफ्नो पायक पर्ने ठाउँमा कार्यक्रमसहित दीप प्रज्वलन गरेर संविधान दिवस मनाएका छन् ।

  • समाजमा उच्छृङ्खल गतिविधि भए यो नम्बरमा फोन गर्नुहोस् : गृह मन्त्रालय

    समाजमा उच्छृङ्खल गतिविधि भए यो नम्बरमा फोन गर्नुहोस् : गृह मन्त्रालय

    काठमाडौँ, ३ असोज :
    गृह मन्त्रालयले समाजमा उच्छृङ्खल गतिविधि भए ९८५१३६०६०३ मा फोन, एसएमएस, ह्वाट्सएप वा भाइबरमार्फत सम्पर्क गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

    शुक्रबार एक सूचना जारी गर्दै मन्त्रालयले सो आग्रह गरेको हो ।

    मन्त्रालयद्वारा जारी सूचनाअनुसार समाजमा देखिने वा देखिन सक्ने उच्छृङ्खल गतिविधिहरू र अन्य समस्याहरूको सहजीकरणको लागि सहायता कक्ष स्थापना गरिएको छ ।

    सहायक प्रवक्ता तथा सूचना अधिकारी रवीन्द्र आचार्यले कुनै पनि सूचना, गुनासो, सल्लाह वा सुझाव भएमा उल्लेखित नम्बरमा सम्पर्क गर्न सकिने जनाएका छन् ।

  • तुइन खोलामा पहिरो खसेपछि नारायणघाट-मुग्लिन सडक अवरूद्ध

    तुइन खोलामा पहिरो खसेपछि नारायणघाट-मुग्लिन सडक अवरूद्ध

    चितवन, असोज ३
    तुइन खोलामा पहिरो खसेपछि नारायणघाट-मुग्लिन सडक अवरूद्ध भएको छ।

    जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक गायत्री शर्माका अनुसार सडकमा ठूलो पहिरो खसेको छ।

    पहिरो खसिरहेकाले पन्छाएर यातायात सञ्चालनमा ल्याउन बिहानसम्मै लाग्न सक्ने उनले बताए।

    यस वर्ष तुइन खोलामा दिनहुँ पहिरो खसिरहेको छ। यहाँ पुल निर्माण गर्नेक्रममा पहरो फुटाइएको थियो।

  • दसैँका लागि तेह्र हजार बढी भेडाच्याङ्ग्रा मुस्ताङ हुँदै अन्य जिल्ला पठाइयो

    दसैँका लागि तेह्र हजार बढी भेडाच्याङ्ग्रा मुस्ताङ हुँदै अन्य जिल्ला पठाइयो

    मुस्ताङ, ३ असोज : 
    दसैँका लागि मुस्ताङ हुँदै १३ हजार ५७५ वटा भेडाच्याङ्ग्रा अन्य जिल्ला पठाइएको छ ।
    यहाँको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रकाअनुसार कर्णाली प्रदेशको मुगु, जुम्ला र डोल्पाबाट भेडाच्याङ्ग्रा मुस्ताङ हुँदै अन्य जिल्ला पठाइएको हो । केन्द्रका पशु चिकित्सक लालमणि अर्यालले मुस्ताङकै किसानका छ हजार ६०० भेडाच्याङ्ग्रा जिल्ला बाहिर पठाइएको जानकारी दिनुभयो ।
    कर्णाली प्रदेशको जुम्लाबाट ७७५, मगुबाट पाँच सय र डोल्पाबाट पाँच हजार चार सय भेडाच्याङ्ग्रा मुस्ताङ हुँदै अन्य जिल्ला पठाइएको पशु चिकित्सक अर्यालले बताउनुभयो ।
    मुस्ताङबाट अझै थप एक हजारको हाराहारीमा भेडाच्याङ्ग्रा जिल्ला बाहिर पठाइने अनुमान गरिएको छ । गतवर्ष दसैँमा मुस्ताङबाट नौ हजार बढी भेडाच्याङ्गा अन्य जिल्ला पठाइएको थियो ।
    गत वर्षको तुलनामा औसत २० प्रतिशतभन्दा बढी भेडाच्याङ्ग्रा मुस्ताङ हुँदै बाहिरी जिल्ला पठाइएको पशु चिकित्सक डा अर्यालले उल्लेख गर्नुभयो ।
    यस वर्ष ५० प्रतिशत मुस्ताङबाट र ५० प्रतिशत कर्णाली प्रदेशबाट मुस्ताङको जोमसोम, घाँसा हुँदै पठाइएको हो । कास्कीका भेडाच्याङ्ग्रा व्यापारी पूर्णबहादुर रानाभाटले मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–४ ताङग्याबाट कृषकहरूको खोरबाटै २३५ वटा च्याङ्ग्रा खरिद गरी बिक्रीका लागि पोखरा लैजाने तयारी गरेको बताउनुभयो । उपल्लो मुस्ताङका कृषकहरूको गोठमै पुगेर च्याङ्ग्रा छनोट गरी ल्याएको उहाँको भनाइ छ । यसपटक कृषकको खोरमै गतवर्ष भन्दा केही बढी मूल्य परेको उहाँले बताउनुभयो ।
  • निर्धारित समयमै निर्वाचन सम्पन्न गर्ने भूमिका खेल्न राष्ट्रपतिको आह्वान

    निर्धारित समयमै निर्वाचन सम्पन्न गर्ने भूमिका खेल्न राष्ट्रपतिको आह्वान

    काठमाडौँ, ३ असोज :
    राष्ट्रपति रामचन्द्र पौडेलले निर्धारित समयमै निर्वाचन सम्पन्न गर्ने भूमिका खेल्न सम्बद्ध सबैलाई आह्वान गर्नुभएको छ ।

    संविधान दिवस (राष्ट्रिय दिवस), २०८२ का अवसरमा राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उहाँले प्रतिनिधिसभाबाट मन्त्रिपरिषद् गठन गर्ने कुनै उपाय नभएपछि आम सहमतिले उत्पन्न सङ्कटबाट मुलुकलाई निकास दिएको बताउनुभयो ।

    राष्ट्रपति पौडेलले देशमा उत्पन्न भएको विषम परिस्थितिलाई दृष्टिगत गरी छ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन गराउनेगरी अहिलेलाई राजनीतिक निकास दिएको प्रसङ्ग उल्लेख गर्दै तोकिएको समयसीमाभित्रै प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गरी दिगो ढङ्गबाट राजनीतिक निकास दिने पक्षमा चालिएको कदमलाई सहयोग पुर्याउन सम्बद्ध सबै पक्षसँग अनुरोध गर्नुभयो ।

    उहाँले अहिलेको घडीमा सबै राजनीतिक दल, मुलुकको प्रशासन तथा व्यवस्थापनमा आबद्ध निकाय, बौद्धिक समुदाय र नागरिकहरूलाई असहमति र द्वन्द्व छोडेर पूर्वाग्रहरहित भई समन्वय र सहकार्यसाथ निर्वाचनको सफलताका लागि क्रियाशील हुन आह्वान गर्नुभयो ।

    राष्ट्रपति पौडेलले भन्नुभयो, “यो संविधानले नेपाली जनतालाई सर्वभौमसत्ता र स्वतन्त्रता दिएको छ । सबै जात, धर्म र सम्प्रदाय सम्बद्ध जनतालाई समान हक दिएको छ । र, समन्वय कायम गरी उन्नति गर्ने अवसर दिएको छ । हामी संवैधानिक विकासको इतिहासमै सबैभन्दा बलियो र सार्वभौम भएका छौँ ।

    यो हामीले प्राप्त गरेको युगीन उपलब्धि हो । त्यसैले सबैले यसको रक्षा गरौँ ।”

    राष्ट्रपति पौडेलले हरेक पुस्ताको सहभागिताले लोकतन्त्र बलियो हुँदै जान्छ भन्ने आफ्नो दृढ विश्वास रहेको उल्लेख गर्दै आफैँ पनि १७ वर्षको कलिलो उमेरमा २०१७ सालमा प्रजातन्त्रका लागि राजनीतिमा होमिएको स्मरण गर्नुभयो । उहाँले भन्नुभयो, “परिस्थितिले मलाई भदौ २४ गतेपछि उत्पन्न राजनीतिक अप्ठ्यारो र रिक्तता सम्हाल्ने ठाउँमा ल्याएर राखेको छ ।

    सबैको सुझबुझ, समन्वय र सहयोगका कारण हामीले यो असहज परिस्थितिलाई सम्हालेका छौँ ।”