Blog

  • ६ घण्टाभित्र सडक खुल्नेगरी काम अघि बढाएका छौं : मन्त्रालय

    ६ घण्टाभित्र सडक खुल्नेगरी काम अघि बढाएका छौं : मन्त्रालय

    ४ असोज, काठमाडौं ।
    भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले अवरुद्ध बनेका सडकहरू विशेष परिस्थितिमा बाहेक ६ घण्टाभित्र सडक खुल्ने गरी काम अगाडी बढाएको बताएका छन् ।

    शनिबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङको अध्यक्षतामा बसेको बैठकमा उनले चाडपर्वमा यातायात सहज बनाउनेगरी सडक विभागले काम गरिरहेको जानकारी दिएका हुन् ।

    हाल मौसमका कारण सडक अवरुद्ध भएको उल्लेख गर्दै उनले सडक खुलाउन मन्त्रालय र सडक विभागको टिम सक्रिय रहेको पनि जानकारी गराए ।

    पृथ्वी राजमार्ग र मुग्लिङ खण्डको तुइन खोलामा रातिदेखि सडकको काम रोकिएको बताए । सडक सफा गर्न शुरु गरेको ४ घण्टामा सो सडक खुल्ने उनको दाबी छ ।

    ‘हामीले शुरु गर्न पायौँ भने अहिले हाम्रो त्यहाँ टिम पुगिसकेको छ । डिजी नै त्यहीँ हुनुहुन्छ, हिजोपनि त्यही थियो । अब त्यो सफा गर्न पाएपछि ४ घण्टामा बाटो खुुल्छ,’ उनले भने ।

    पहिरो सक्रिय अवस्थामा रहेको बेलामा भने काम गर्न नसकिने उनको भनाइ छ ।सो स्थानमा पहिरो सफा गर्न सडक विगागको टोली पुगिसकेको पनि जानकारी गराए ।

    सडक विभागले आधा घण्टादेखि एक घण्टाभित्र घटनास्थलमा पुग्ने गरी मेसिन राखेको पनि उनले दाबी गरे ।

    ‘हाम्रो ईक्वीमेन्टहरू चाहीँ हाईवेको सम्पूर्ण ठाउँमा आधा घण्टादेखि एक घण्टासम्म त्यो स्थलमा पुग्न भ्याउँछ, त्यसरी हामीले मेसिन राखेका छौँ,’ उनले भने, ‘काम थालेको ४ देखि ६ घण्टाभित्र चाहीँ सफा गर्ने, एकदमै अफ्ठ्यारो अवस्था बाहेक । जस्तो अब खसेको खसेकै गर्‍यो भने त्यो सकिँदैन । विशेष परिस्थितिमा बाहेकमा गर्नेगरी छ ।’

    बैठकमा मन्त्री कुलमान घिसिङले चाडपर्वमा यातायात सहज बनाउन कसरी फास्ट ट्रयाकमा काम गर्ने भनेर आन्तरिक छलफलपछि समस्या समाधान गरिने बताए ।

    बैठकमा सहभागी यातायात व्यवसायीहरूले रात्रिबस दिउँसो चलाउन माग गरेका थिए । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँर, महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले पहिरो बाढी पहिरोका कारण अहिलेको परिस्थिति नाजुक रहेको बताउँदै रातको समयमा चल्ने बसलाई दिउँसो चलाउनु उपयुक्त हुने बताएका थिए ।

    बैठकमा सडक विभाग, गृह मन्त्रालय, यातायात व्यवसायी महासङ्घलगायतका सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको छ ।

  • दशैं नजिकियो, बसपार्कमा बढ्न थाल्यो भीड

    दशैं नजिकियो, बसपार्कमा बढ्न थाल्यो भीड

    ४ असोज, काठमाडौं ।
    बडादशैं नजिकिएसँगै घर फर्कने यात्रुहरुको संख्या बढ्दै गएको छ ।

    काठमाडौंको नयाँ बसपार्क, कलंकी, कोटेश्वर, बल्खु लगाएतका स्थानबाट उपत्यका छाड्ने सार्वसाधारणको संख्या बढेको हो ।

    उपत्यकाका बिभिन्न नाकाबाट यसअघिका बर्षको तुलनामा यस बर्ष घटस्थापना अघि नै धेरै सर्वसाधारण बाहिरिएको काठमाडौँ उपत्यका ट्राफिक कार्यालयले जनाएको छ ।

    हाल अरनिको राजमार्ग, त्रिभुवन राजपथ, पृथ्वी राजमार्ग र दक्षिणकाली–हेटौँडा र कान्ति राजमार्ग भएर यात्रीहरू आफ्ना गन्तव्यतर्फ प्रस्थान गरेका छन् ।

    यस बर्ष पनि १५ लाख भन्दा बढि सर्वसाधारण दशै मनाउन घर फर्कने अनुमान गरिएको छ ।

  • तुइन खोलामा खसेको पहिरो पन्छाउन थालियो

    तुइन खोलामा खसेको पहिरो पन्छाउन थालियो

    ४ असोज, काठमाडौं ।
    चितवनको इच्छाकामना गाउँपालिकाको तुइन खोलामा शुक्रबारदेखि निरन्तर खसेको पहिलो हटाउने काम सुरु गरिएको छ ।

    शनिबार दिउँसो पहिलो खस्न केही कम भएपछि अहिले हटाउने काम भइरहेको हो ।

    ठूलो पहिरो खसेपछि मुग्लिन–नारायणगढ सडकखण्डमा दुईतर्फी आवागमन अवरुद्ध छ । शुक्रबार रातिदेखि नै सडक अवरुद्ध हुँदा यात्रुहरू बाटोमै अलपत्र परेका छन् ।

    जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार मुग्लिनबाट २.५ किलोमिटर नारायणगढतर्फ इच्छाकामना गाउँपालिकाको तुइन खोला भन्ने स्थानमा माथिबाट ठूलो पहिरो खसेको हो ।

    ठूलो पहिरो खसेकाले शुक्रबार पन्छाउन सकिएको थिएन । राजमार्गको दुवैतर्फ सवारी साधनको लामो लाइन लागेको छ ।

  • हामी नेपालले भन्योः सुदन एमाले प्रवेश गर्न लागेको भनेर महेश बस्नेतले भ्रम छरे

    हामी नेपालले भन्योः सुदन एमाले प्रवेश गर्न लागेको भनेर महेश बस्नेतले भ्रम छरे

    काठमाडौँ, असोज ४-
    एमाले नेता महेश बस्नेतले भ्रम छरेको हामी नेपालले बताएो छ । हामी नेपालले संयोजक सुदन गुरूङ एमाले प्रवेश गर्न लागेको भनेर नेता बस्नेतले गरेको टिप्पणीमा सत्यता नभएको जनाएको हो।

    आज (शनिबार) प्रेस विज्ञप्ती जारी गरेर हामी नेपालले एमाले नेता बस्नेतसँग संयोजक गुरूङको कुराकानी नै नभएको समेत बताएको छ ।

    शुक्रबार एमाले नेता महेश बस्नेतले सुदन गुरूङ एमालेमा प्रवेश गर्ने लागेको भनेर दिएको अभिव्यक्ति सामाजिक सञ्जालमार्फत सार्वजनिक भएका थिए। ‘सुदन गुरूङले महेश बस्नेतसँग अहिलेसम्म कुराकानी गरेका छैनन् । गर्ने पनि छैनन्,’ विज्ञप्तीमा भनिएको छ।

    परिवर्तनका लागि सम्पूर्ण राष्ट्र एकताबद्ध भएको समयमा भ्रम नछर्न पनि हामी नेपालले नेता बस्नेतलाई आग्रह गरेको छ।

  • वीरगञ्जको बजेट पुन:निर्माणतर्फ संशोधन, आलम परिवारलाई ५ लाख सहयोग

    वीरगञ्जको बजेट पुन:निर्माणतर्फ संशोधन, आलम परिवारलाई ५ लाख सहयोग

    ४ असोज, काठमाडौं ।
    वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन गरिएको बजेटलाई संशोधन गरी पुन:निर्माणमा खर्च गर्ने निर्णय गरेको छ ।

    शनिबार सम्पन्न विशेष अधिवेशन (विशेष नगर सभा) ले पुन:निर्माणसम्बन्धी प्रस्ताव सर्वसम्मत पारित गरेको हो । गत भदौ २४ गते सचेत युवाहरू (जेनजी) ले गरेको आन्दोलनका क्रममा महानगरपालिकाको कार्यालय भवनसहित सम्पूर्ण संरचना आगजनी, तोडफोड र लुटपाटबाट ध्वस्त बनेको थियो ।

    नगरको सम्पत्ति खरानी बनेपछि नगरवासीलाई सेवा प्रवाहमा निरन्तरता दिन पुन:निर्माणलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औंल्याउँदै नगरसभाले चालु आर्थिक वर्षको बजेट संशोधन गरेर उक्त कार्यमा लगानी गर्ने निर्णय गरेको हो ।

    विशेष नगरसभामा महानगर प्रमुख राजेशमान सिंहले संशोधित बजेट पेश गरेका थिए ।

    महानगरको १७औं नगर परिषदले यसअघि आर्थिक वर्ष २०८२/८३ का लागि ३ अर्ब २२ करोड ४८ लाख ४९ हजार रुपैयाँको बजेट ल्याएको थियो । सो बजेटभित्र नगरस्तरीय पूँजीगत योजना, सामाजिक विकास कार्यक्रम तथा वडा स्तरका योजनामा विनियोजन गरिएको रकमलाई पुन:निर्माणतर्फ स्थानान्तरण गर्ने निर्णय विशेष अधिवेशनले गरेको हो ।

    यसरी संशोधनपश्चात करिब ३० करोड रुपैयाँ पुन:निर्माणका लागि उपलब्ध हुने भएको छ । संशोधित बजेटले प्रशासनिक भवन निर्माण, सवारी साधन खरिद, मेसिनरी उपकरण, ल्यापटप, कम्प्युटर, प्रिन्टर तथा फर्निचर खरिद, कार्यालय भवन मर्मत, गाडी भाडा, बिजुलीबत्ती र अन्य आवश्यक सामग्री खरिदमा खर्च गर्ने प्रावधान गरेको छ ।

    त्यसैगरी, विशेष अधिवेशनले जेनजी आन्दोलनका क्रममा काठमाडौंमा भएको प्रदर्शनमा प्रहरीको गोली लागेर ज्यान गुमाएका वीरगञ्ज महानगरपालिका वडा नं. १२ का युवा असहाब आलमको परिवारलाई पाँच लाख रुपैयाँ उपलब्ध गराउने प्रस्ताव पनि सर्वसम्मत पारित गरेको छ ।

    यसरी संशोधित बजेटमार्फत तत्काल नगर पुन:निर्माण, भौतिक संरचना पुन:स्थापना तथा प्रशासनिक क्षमता अभिवृद्धि गर्ने कार्य अघि बढाइने नगरसभाले स्पष्ट पारेको छ ।

  • मुख्य सडक अवरुद्ध भएपछि यातायात मन्त्रालयमा आकस्मिक बैठक

    मुख्य सडक अवरुद्ध भएपछि यातायात मन्त्रालयमा आकस्मिक बैठक

    ४ असोज, काठमाडौं ।
    देशका मुख्य सडक अवरुद्ध भएपछि यातायात मन्त्रालयमा आकस्मिक बैठक बसेको छ ।

    शुक्रबार रातिदेखि नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएको छ । पहिरो खस्ने क्रम नरोकिएपछि सडक खुलाउन कठिनाइ भएको छ । यात्रुहरु रातिदेखि नै अलपत्र परेका छन् ।

    बैठकमा सडक विभाग, गृह मन्त्रालय, यातायात व्यवसायी महासंघ र मजदुरहरूसँग यातायात मन्त्री कुलमान घिसिङले छलफल गरिरहेका छन् ।

    सरोकारवालले बैठकमा सडकको अवस्थाबारे जानकारी गराएका छन् ।

  • धान खेतमा जङ्गली हात्ती मृत फेला

    धान खेतमा जङ्गली हात्ती मृत फेला

    झापा, असोज ४ –
    यहाँको मेचीनगर नगरपालिका–१ देवीगञ्जमा एउटा जङ्गली हात्ती मृत फेला परेको छ । आज बिहान स्थानीयले धान खेतमा हात्ती मृतावस्थामा भेटाएका हुन् ।

    मृत हात्ती वयस्क पोथी भएको र पोस्टमार्टमको तयारी भइरहेको डिभिजन वन कार्यालय झापाका प्रमुख भरतबाबु श्रेष्ठले बताउनुभयो । घटनास्थलमा वन कार्यालयको टोली पुगिसकेको छ ।

    वन्यजन्तु संरक्षण अभियन्ता शंकर लुइँटेलले मृत हात्ती २२ वर्ष जति उमेरको भएको बताउनुभयो । “हिजो बेलुका सो क्षेत्रमा भारतबाट १२ वटा हात्ती प्रवेश गरेको सूचना प्राप्त भएको थियो,” उहाँले भन्नुभयो, “बिहान त एउटा हात्ती मरेको खबर आयो ।”

    के कारणले हात्ती म¥यो भन्ने थाहा नभएकाले पोस्टमार्टमपछि मृत्युको कारण खुल्ने प्रमुख श्रेष्ठको भनाइ छ । रासस

     

  • खसी किन्ने विषयमा झडप हुँदा एक जनाको मृत्यु

    खसी किन्ने विषयमा झडप हुँदा एक जनाको मृत्यु

    बाँके,असोज ४-
    बाँकेमा खसी किन्ने विषयमा विवाद हुँदा दुई समूहबीच भएको कुटाकुटमा परी एक जनाको ज्यान गएको छ। नेपालगन्ज उपमहानगरपालिका ५ का ५२ वर्षीय जाबिद अली बेहनाको घटनामा परी ज्यान गएको हो। शुक्रबार बिहान उनले किन्न ठिक्क पारेको एउटा खसी अर्कैले उठाएपछि दुई समूहबीच झडप भएको थियो। त्यसपछि विवाद हुँदा उनीहरूबीच ढुंगा हानाहान भएको थियो।

    ढुंगा लागेर घाइते भएका जाबिदको दिउँसो साढे २ बजेतिर उपचार क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी दीपक पातलीले बताएका छन्। हत्या घटनामा संलग्न रहेका मध्य चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाइएको उनले बताएका छन्।

  • जेन–जीको आन्दोलन र पर्यटनमा अवसर

    जेन–जीको आन्दोलन र पर्यटनमा अवसर

    – रोमन सापकोटा
    चितवन, असोज ४ –
    नेपालमा २०७२ सालको भूकम्पपछिको विनाशले पर्यटन क्षेत्रलाई ठूलो आघात पुर्यायो । लामो संघर्ष र पुनर्निर्माणपछि पुनः उठ्न थालेको यो क्षेत्रमा जेन–जी (नयाँ पुस्ता) को आन्दोलनले थप चुनौती ल्याएको छ ।

    जेन–जी पुस्ता पारदर्शिता, सामाजिक न्याय, दिगोपन र वातावरणमैत्री अभ्यासमा जोड दिन्छ । यस कारण पुरानो ढाँचामा चलेको पर्यटन व्यवसाय दबाबमा परेको देखिन्छ ।

    तर यो चुनौतीलाई अवसरका रुपमा पनि लिन सकिन्छ । जेन–जीले माग गरेको दिगो विकासलाई आत्मसात् गरी पर्यटनमा नयाँ मोडल अपनाउन सकिन्छ । डिजिटल प्रविधि, सामाजिक सञ्जाल र नयाँ प्रवर्द्धन शैलीमार्फत पर्यटनलाई विश्व बजारमा अझ आकर्षक बनाउन सकिन्छ । साथै, स्थानीय संस्कृति, प्राकृतिक सम्पदा र समुदायलाई प्राथमिकता दिई पर्यटन विकास गर्न सकिन्छ ।

    यसरी गर्दा पर्यटनले वातावरण जोगाउने मात्र होइन, स्थानीयलाई प्रत्यक्ष लाभ दिने खालको दिगो स्वरूप पाउँछ ।

    अन्ततः जेन–जीको आन्दोलन पर्यटनका लागि अवरोध होइन, बरु नयाँ सम्भावनाको ढोका हो । यसलाई सकारात्मक दृष्टिले लिएर नेपालले पर्यटन क्षेत्रलाई आधुनिक, दिगो र प्रतिस्पर्धी बनाउन सक्छ ।

    • लेखक रोमन सापकोटा पर्यटन व्यवसायी हुन् । उनी फ्लाईट्स ज्ञानीका सञ्चालक हुन् ।
  • ३ महिनामा ४ जनाको ज्यान लिने बाघ ‘डार्ट’ हानेर नियन्त्रण

    ३ महिनामा ४ जनाको ज्यान लिने बाघ ‘डार्ट’ हानेर नियन्त्रण

    पर्सा,असोज ४-
    मान्छेलाई पटकपटक आक्रमण गरेर ज्यान लिँदै आएको नरभक्षी बाघलाई बाराको अमलेखगञ्जबाट नियन्त्रणमा लिइएको छ। पर्सा राष्ट्रिय निकुञ्जका कर्मचारी, नेपाली सेना, स्थानीय जनप्रतिनिधिसहितको संयुक्त टोलीले शुक्रबार ‘डार्ट’ हानेर नरभक्षी बाघलाई नियन्त्रणमा लिइएको हो।

    पर्सा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सन्तोषकुमार भगतले बाराको अमलेखगञ्जस्थित सामुदायिक वनबाट नरभक्षी बाघलाई नियन्त्रणमा लिइएको जानकारी दिए। ‘गत असारयता वन क्षेत्रमा चार जना मान्छेको मुत्यु भएको रहेछ। स्थानीयले बाघबाटै मृत्यु भएको भनेकाले उक्त बाघलाई प्राविधिक टोलीले डार्ट हानेर नियन्त्रणमा लिएका छौँ’, उनले भने, ‘बाघको आक्रमणबाट अमलेखगञ्ज आसपासका जनता त्रसित र डर, त्रास देखिएकाले पनि उक्त बाघलाई नियन्त्रणमा लिइएको हो।’

    सूचना अधिकारी भगतले नियन्त्रणमा लिएको बाघलाई निकुञ्जको रेस्क्यू सेन्टरमा राखिएको जानकारी दिए। बाघ समात्नको लागी हात्तीसहित पर्सा राष्ट्रिय निकुञ्ज, डिभिजन वन कार्यालय बारा, नेपाल आर्मी, नेपाल प्रहरी र जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ का वडाअध्यक्ष सुभाष श्रेष्ठ र २२ का वडाअध्यक्ष शेखर काजी रुम्बा सहितको टोलीले लामो समय देखि निरन्तर प्रयास गरेका थिए।