Blog

  • ३६ घण्टादेखि अवरुद्ध मुग्लिन–नारायणगढ सडक खुल्ने अनिश्चित, टिकट काट्न बन्द गरियो

    ३६ घण्टादेखि अवरुद्ध मुग्लिन–नारायणगढ सडक खुल्ने अनिश्चित, टिकट काट्न बन्द गरियो

    काठमाडौँ असोज ५
    मुग्लिन–नारायणगढ सडक खण्डको तुइन खोला नजिकै पहिरो जाँदा ३६ घण्टादेखि हजारौँ यात्रु तथा सवारी साधन अलपत्र परेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बाटोको अवस्था अनिश्चित रहेकोले यात्रुहरूलाई ठुलो जोखिममा नपर्न आग्रह गरेका छन् ।

    सिटौलाका अनुसार मुग्लिन–नारायणगढ सडक खण्ड अवरुद्ध भएपछि विगत दुई–तीन दिनदेखि हजारौँ गाडीहरू मुग्लिनतर्फ रोकिएका छन् । हिजो र आजका लागि टिकट काटेका यात्रुहरूको सङ्ख्या २० हजारभन्दा बढी रहेको र उनीहरू सबै अलपत्र परेको उनले जानकारी दिए । ‘यदि अहिले गाडीहरूलाई पठाइएमा पनि उनीहरू बाटोमै अलपत्र पर्ने जोखिम छ । सामान्य अवस्थामा पनि गन्तव्यसम्म पुग्न कम्तीमा ६(७ घण्टा लाग्ने गर्छ, तर अहिले बाटोको अवस्था अनिश्चित भएकाले यात्रा थप कष्टकर हुनेछ,’ सिटौलाले भने ।

    ३६ घण्टाभन्दा बढी समयदेखि अलपत्र परेका यात्रुहरूलाई स्थानीय निकाय र प्रशासनले खाना खुवाउने तथा अन्य सहयोग गरिरहेको सिटौलाले जानकारी दिए ।

    ‘अहिले यात्रुहरूका लागि दुई विकल्पमाथि छलफल गरिरहेको छ। पहिलो, यात्रा गर्ने नचाहने यात्रुहरूलाई टिकटको पैसा फिर्ता गर्ने व्यवस्था गर्ने’ उनले भने, ‘दोस्रो, बाटो खुलेपछि मात्रै यात्रा गर्ने इच्छा राख्ने यात्रुहरूका लागि सोही अनुसारको व्यवस्थापन गर्ने।’

    सिटौलाले अग्रिम टिकटको बिक्री तत्कालका लागि रोकिएको र अहिलेको अवस्थामा थप टिकट दिन नसकिने स्पष्ट पारे ।

    सडक विभागका महानिर्देशक, मन्त्री, सचिवहरूसँगको समन्वयमा एउटा ह्वाट्सएप ग्रुप समेत बनाइएको र त्यसमार्फत सडकको अवस्था तथा यात्रुको व्यवस्थापनबारे जानकारी आदानप्रदान भइरहेको सिटौलाले जानकारी दिए । उनले बाटो सहज भएपछि मात्रै कसरी अगाडि बढ्ने भन्ने बारेमा निर्णय गरिने बताएका छन् ।

    यता सडक डिभिजन भरतपुरले सडक अझै अवरुद्ध नै रहेकोले वैकल्पिक मार्ग प्रयोग गरी यात्रा गर्नु अनुरोध गरेको छ। नौबिसे–दामन–हेटौडा र मुग्लिन–भिमाद–डेढगाउँ–गैँडाकोट (कालीगण्डकी करिडोर) हुँदै यात्रा गर्न आग्रह गरिएको हो ।

  • आन्दोलनका क्रममा भागेका छ हजार ३२८ कैदीबन्दी फर्काइए, आठ हजार २२६ अझै फरार

    आन्दोलनका क्रममा भागेका छ हजार ३२८ कैदीबन्दी फर्काइए, आठ हजार २२६ अझै फरार

    काठमाडौँ, ४ असोज:
    ‘जेनजी’ प्रदर्शनका क्रममा तोडफोड र आगजनी गरी कारागार र सुधारगृहबाट भागेकामध्ये हालसम्म छ हजार ३२८ जना कैदीबन्दी फर्किएका छन् ।

    कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेले दैनिकजसो नै कैदीबन्दीहरू फर्किरहेको बताउनुभयो । उहाँका अनुसार कतिपय गल्ती भयो भनेर आफैँ फर्किरहेका छन् भने कतिपय प्रहरीले पक्राउ गरेर ल्याइएका छन् । पछिल्लो एक दिनमा मात्रै एक सय ४९ जनालाई फर्काइएको छ ।

    गत भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा देशभरका २८ कारागार तथा नौ वटा बालसुधार गृहबाट गरी १४ हजार ५५५ कैदीहरु भागेका थिए । अझै आठ हजार २२६ जना सम्पर्कमा नआएकाले खोजीकार्य भइरहेको निर्देशक न्यौपानेले बताउनुभयो ।

    उहाँका अनुसार कारागारबाट १३ हजार ५९१ र सुधारगृहबाट नौ सय ६४ जना भागेका थिए । सम्पर्कमा आएकामध्ये कारागारबाट भागेका पाँच हजार ९८७ तथा सुधारगृह तर्फका तीन सय ४१ जना रहेका छन् ।

    आन्दोलनका क्रममा नेपाल प्रहरीले हिरासतमा रहेका करिब दुई हजार आरोपीसमेत फरार रहेका जनाएको छ । उनीहरूको खोजी जारी रहेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो ।

    देशभर ३० हजार छ सय ३४ कैदीबन्दी रहेकामा आन्दोलनपछि हाल २१ हजार ९९९ जना मात्रै कैदी बन्दी रहेका छन् ।

  • चिरिच्याट्ट पारिँदै सिंहदरबार, मर्मत र रङरोगन धमाधम

    चिरिच्याट्ट पारिँदै सिंहदरबार, मर्मत र रङरोगन धमाधम

    काठमाडौँ, ४ असोजः 
    जेनजी प्रदर्शनका क्रममा तोडफोड, लुटपाट र आगजनीबाट खण्डहर जस्तै बनेको सिंहदरबारलाई पुरानै चमक दिलाउन धमाधम मर्मतसम्भार र रङरोगन गरिएको छ ।

    जेनजी प्रदर्शनपछि सुनसान र खण्डहर जस्तै बनेको राजनीतिक र प्रशासनिक केन्द्र सिंहदरबारमा मर्मत र रङरोगनले चहलपहल बढेको छ ।

    आगोले जलेका संरचना र धुवाँले कालो बनेका मन्त्रालयका भित्तामा पानीले पखाली रङरोगन सुरु गरिएको छ ।

    साथै सिंहदरबारभित्र जलेर झ्याल, ढोका र फर्निचर मर्मत पनि सँगसँगै चलेको छ । आगजनीमा परी क्षतिग्रस्त करिब एक हजार सवारीसाधन पन्छ्याउने र व्यवस्थापन पनि सोही गतिमा चलेको देखिन्छ ।

    मर्मत र रङरोगनका लागि केही श्रमिक खट कस्दै गरेका छन्भने कोही रङ लगाउन व्यस्त छन् । तोडफोड भएका झ्यालढोका मर्मतसम्भार गर्ने, टेबुल, कुर्सी, सोफालगायतका फर्निचर जलेर खरानी भएकाले ती फोहर हटाउन श्रमिकहरु तल्लीन भएको दखिन्छ ।

    जेनजी प्रदर्शनपछि उत्पन्न विषम परिस्थितिमा प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको वर्तमान सरकारले सिंहदरबारको मर्मतसम्भार र पुनःनिर्माणलाई प्राथमिकता दिँदै काम अगाडि बढाउने निर्णयबमोजिम सो कार्य अघि बढाइएको हो ।

  • नारायणगढ–मुग्लिन सडक : पहिरो पन्छाएर सकिएन, भोलि बिहानबाट पुनः सुरु गरिने

    नारायणगढ–मुग्लिन सडक : पहिरो पन्छाएर सकिएन, भोलि बिहानबाट पुनः सुरु गरिने

    चितवन, असोज ४ –
    मुग्लिन–नारायणगढ सडकखण्ड आज पनि रातभर नखुल्ने भएको छ ।

    जिल्ला प्रहरी कार्यालय, चितवनका एसपी गोविन्द पुरीका अनुसार, आज रातभर पनि सडक दुईतर्फी नै बन्द हुने भएको हो ।

    अब भोलि बिहान ६ बजेदेखि पुनः पन्छाउन थाल्नेगरी आजलाई पन्छाउने काम स्थगित गरिएको छ ।

    शुक्रबार साँझ साढे ६ बजेदेखि यो सडक पूर्ण रुपमा अवरुद्ध छ ।

  • नेपाल बाल संगठन चितवनको ८ औं अधिवेशन, सभापतिमा घिमिरे

    नेपाल बाल संगठन चितवनको ८ औं अधिवेशन, सभापतिमा घिमिरे

    चितवन, असोज ४
    नेपाल बाल संगठन (बालमन्दिर) चितवनको आठौं अधिवेशन शनिबार सम्पन्न भएको छ ।

    अधिवेशनले गुरुचन्द्र घिमिरेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । अधिवेशनले सर्वसम्मत रुपमा समिति चयन गरेको हो ।

    समितिको सदस्यमा मुकुन्दप्रसाद विडारी, अमृता भट्टराई, हरिकृष्ण शर्मा, रामबाबु श्रेष्ठ, प्रतिमा सिल्वाल, यसोधा अधिकारी र रोजिना भट्टराई रहेका छन् ।

    त्यस्तै, निर्वाचन संयोजनमा अधिवक्ता सुनिता अधिकारी, निर्वाचन सदस्यमा शंकर अधिकारीर राजु पौडेल रहेका थिए ।

  • चितवन कोरिया पुनर्मिलन समाजले सिकायो नारायणी नमुना माविका विद्यार्थीलाई मार्सल आर्ट

    चितवन कोरिया पुनर्मिलन समाजले सिकायो नारायणी नमुना माविका विद्यार्थीलाई मार्सल आर्ट

    चितवन, असोज ४ –
    चितवन कोरिया पुनर्मिलन समाजले भरतपुरको नारायणी नमुना माविका १६० जना विद्यार्थीलाई मार्सलआर्ट सिकाएको छ ।

    बाल बालिकाको शिक्षा तथा खेलकुदको क्षेत्रमा काम गर्दै आएको कोरियाली संस्था Unesco – ICM (युनेस्को – आईसिएम) सँगको सहकार्यमा चितवन कोरिया पुनर्मिलन समाजले विद्यार्थीलाई दुई महिनासम्म मार्सल आर्ट सिकाएको हो ।

    मार्सल आर्ट सिकिसकेपछि बिहिबार एक कार्यक्रमका बीच विद्यार्थीलाई प्रमाणपत्र वितरण गरिनुका साथै मार्सल आर्ट प्रशिक्षणको कार्यक्रम समापन गरिएको छ ।

    दुई महिनासम्म चलेको प्रशिक्षणमा विद्यार्थीहरुलाई सितोरियो कराते, तेक्वान्दो जस्ता खेलको प्रशिक्षण नेपालकै प्रशिक्षकहरुद्वारा गरिएको थियो भने कोरियाली परम्परागत मार्सलआर्ट ‘तेक्वान’ को प्रशिक्षण दिन १० दिनका लागि कोरियाली प्रशिक्षकहरु बोलाइएको थियो ।

    विद्यार्थीहरुलाई नेपालकै परम्परागत भाषा कला संस्कृतिसँग साक्षात्कार गराउन नेपालकै आदिवासी कल्चर मध्येको एक थारु कल्चरका लाठी नाँच, फाएर डान्स, झुमरा नाँच, ढम्फु नाँच, झाम्टा नाँच अवलोकन र अनुभव गराउन सौराह भ्रमण समेत गराइएको थियो ।

    भिडिया (युट्युब)

    यसले विद्यार्थीहरुको खेलकुद विकास, क्षमता विकास, मानसिक विकास, कम्युनिटी इङ्गेजमेन्ट, दिगो विकास लक्ष्यसँग सम्बन्धित क्रियाकलापहरु सम्पन्न भएको आयोजकले विश्वास लिएको छ । यसले विद्यार्थीहरुले केही सिक्ने, बुझ्ने र महसुस गर्ने अवसर मिलेको विश्वास लिइएको चितवन कोरिया पुनर्मिलन समाजका अध्यक्ष डम्बर बाहदुर रानाले बताए ।

    कार्यक्रम संयोजक हिमालय सुवेदीले मार्सल आटले शारिरिक, मानसिक, सहनशिलता, रिस नियन्त्रणदेखि आत्म रक्षा सहित विभिन्न कुरा सिकाउने बताए । यीनै कुरा विद्यार्थीलाई प्राप्त होस् भन्ने उद्देश्यले युनेस्को आईसिएमसँग मिलेर यो कार्यक्रम गरिएको उनको भनाइ छ ।

    नारायणी नमुना माविका प्रधानाध्यापक रामशरण दुवाडीले यस कार्यक्रम नारायणी माविमा ल्याएर सञ्चालन गरेकोमा आयोजकलाई धन्यवाद दिएका छन् । उनले यस कार्यक्रमले विद्यार्थीहरुलाई महत्वपूर्ण सिकाइ भएको बताए ।

    समापन कार्यक्रममा बोल्दै नारायणी माविका सहायक प्रधानाध्यापक केशव सापकोटाले मार्सल आर्ट सिक्न अरु विद्यार्थीहरुमा पनि उत्साह देखिएको बताउँदै यस्ता कार्यक्रमहरु विद्यालयमा पुनः आउने आशा व्यक्त गरे ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेक बहादुर थापाले आफूले सिकेको ज्ञानलाई निरन्तरता दिँदै देशभित्रमात्र होइन विदेशमा पनि गएर आफ्नो प्रतिभा देखाउन सक्ने हुनु भन्दै विद्यार्थीहरुलाई शुभकामना प्रदान गरे । उनले दुई महिना सिक्ने अनि अब यसलाई छाड्ने हो भने यो सिकाइको खासै अर्थ नरहने बताए ।

    मार्सल आर्ट सिकाउने कार्यक्रमको प्रमुख प्रशिक्षकका रुपमा चित्र बहादुर राना मगर रहेका थिए । उनले चितवन कोरिया पुनर्मिलन समाजले विद्यार्थीहरुलाई मार्सल आर्ट सिकाउने काममा आफूलाई बोलाएको प्रति धन्यवाद व्यक्त गरे । उनले कोरियाबाट आएका प्रशिक्षकहरुसँग पनि केही सिक्न पाइएको बताएका छन् ।

    कार्यक्रम सहयोगी संस्थाका रुपमा रहेको प्रवासी चितवन बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष मुक्ति प्रसाद अधिकारीले आफूले सिकेको ज्ञानलाई निरन्तरता दिँदै अगाडि बढाउन विद्यार्थीहरुलाई आग्रह गरे ।

    समापन कार्यक्रममा स्वागत मन्तव्य राख्दै चितवन कोरिया पुनर्मिलन समाजका उपाध्यक्ष दिल कुमार श्रेष्ठले विद्यार्थीले मार्सल आर्टका क्रियाकलापलाई निरन्तरता दिनुपर्ने बताए ।

    मार्सल आर्ट सिक्दा आफूमा निकै परिवर्तन आएको अनुभव हुनुका साथै मार्सल आर्टसँगै आत्म रक्षाको ज्ञान सिक्न पाएको भन्दै विद्यार्थीहरुले खुसी व्यक्त गरेका छन् ।

    समाजका प्रमुख सल्लाहकार राजकुमार श्रेष्ठले कोरियामा हुँदा खेरी हामीले नेपालमा पनि केही गर्नुपर्छ भनेर चितवन कोरिया पुनर्मिलन समाजको गठन गरेको बताए । समाजले ४२ जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरी चितवनका विभिन्न विद्यालयमा पढाइरहेको बताए ।

    चितवन कोरिया पुनर्मिलन समाजले विगत लामो समयदेखि बालबालिकाको शिक्षा, स्वास्थ तथा खेलकुद साथै दैविक प्रकोपहरुमा राहत तथा उद्दार एवम् पुननिर्माणका क्षेत्रहरुमा काम गर्दै आइरहेको समाजका बालबालिका संयोजक एवम् सल्लाहकार इन्द्र प्रसाद न्यापोनेले जानकारी दिए ।

    समापन कार्यक्रमका दिन चितवन कोरिया पुनर्मिलन समाजले नारायणी नमुना माविलाई खेलकुदका सामग्रीहरु समेत सहयोग गरेको छ । यस मार्सल आर्ट प्रशिक्षण कार्यक्रममा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग पुर्याउने सबैलाई आयोजकले धन्यवाद ज्ञापन गरेको छ ।

  • लियो क्लब अफ नारायणगढको आयोजनामा स्क्रिन टेस्ट, ५५ जनाले लिए सेवा

    लियो क्लब अफ नारायणगढको आयोजनामा स्क्रिन टेस्ट, ५५ जनाले लिए सेवा

    चितवन, असोज ४-
    लियो क्लब अफ नारायणगढको आयोजनामा भरतपुरमा फ्रि स्क्रिन टेस्ट गरिएको छ ।

    शुक्रबार दिउँसो ११ बजेबाट साँझ ६ बजेसम्म गरिएको टेस्टमा ५५ जनाले सेवा लिएका थिए ।

    भरतपुरको प्रगतिपथमा रहेको निको फर्माका डाक्टर आशिष तिवारीले सेवा दिएका हुन्।

    कार्यक्रम संयोजक लियो प्रसन्न तामाङ रहेका थिए भने अध्यक्ष लियो समृद्दी पिया रहेका थिए ।

  • दशैंको टीका : कुन देशमा कति बजे शुभ साइत ?

    दशैंको टीका : कुन देशमा कति बजे शुभ साइत ?

    काठमाडौँ, ४ असोजः
    अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दशैंको टीकाको उत्तम साइतबारे जानकारी गराएको छ ।

    नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यसअघि नै नेपालका लागि असोज १६ गते बिहान ११:५३ बजे टीकाको उत्तम साइत रहेको जानकारी गराइसकेको छ ।

    यसैबीच शनिबार अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले विभिन्न देशको उत्तम साइतबारे जानबारी गराएको हो ।

     

  • मधेश प्रदेश सरकारका सेवा दशैंपछि पूर्ण रुपमा सञ्चालन हुने

    मधेश प्रदेश सरकारका सेवा दशैंपछि पूर्ण रुपमा सञ्चालन हुने

    ४ असोज, जनकपुरधाम ।
    मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले जेनजीको प्रदर्शनका क्रममा तोडफोड तथा आगजनीको कारण क्षतिग्रस्त भएका कार्यालयले बडादशैंपछि पूर्ण रुपमा सेवा प्रवाह गर्ने बताएका छन् ।

    उनले आज पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै जेनजी प्रदर्शनका क्रममा मधेश प्रदेश सरकारको सरकारी निकायमा भौतिक संरचनाको व्यापक क्षति भएकाले यसको मर्मत तथा सुधारमा थप अझै केही दिन समय लाग्ने र त्यसपछि सेवाहरु पूर्ण रुपमा सञ्चालनमा आउने बताए ।

    सुरक्षामा क्रमिक रुपले सुधार हुँदै गएकाले प्रदेशका विभिन्न मन्त्रालय तथा कार्यालयहरुमा कर्मचारीहरु आउन सुरु गरिसकेको उनको भनाइ छ । यद्यपि काम गर्न भौतिक संरचनाको समस्या र अभाव रहेको उल्लेख गर्दै उहाँले त्यसको वातावरण बनाउनका लागि केही दिन समय लाग्ने बताए ।

    प्रदेशसभा भवनसहित मन्त्रालयहरुको क्षति भएको संरचनाहरुको मूल्यांकनका लागि पाँच सदस्यीय समिति गठन गरिएको छ । मधेश प्रदेश सरकारअन्तर्गतका मुख्यमन्त्री कार्यालयसहित मधेस प्रदेशसभा भवन तथा सचिवालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, ऊर्जा तथा सिँचाइ मन्त्रालय, श्रम तथा यातायात मन्त्रालयलगायत अन्य मन्त्रालय तथा सरकारी कार्यालयको भौतिक संरचनामा आक्रमण गरी तोडफोड गर्नाका साथै आगजनी गरिएको थियो ।

    साथै सवारीसाधनहरु पनि क्षतिग्रस्त बनाइएको छ । सुरक्षा अभावमा त्यहाँको समानहरु पनि लुटपाट भएको छ । रासस

  • नेपालका १४ खेलाडीले मलेसियन सुपर वुमन सिरिज खेल्ने

    नेपालका १४ खेलाडीले मलेसियन सुपर वुमन सिरिज खेल्ने

    काठमाडौं, असोज ४-
    नेपालका १४ खेलाडीले मलेसियन सुपर वुमन सिरिज खेल्ने भएका छन् । नेपाल क्रिकेट संघ क्यानकाअनुसार १४ नेपाली महिला क्रिकेटरले सेप्टेम्बर २४ देखि ३० तारिखसम्म हुने सिरिजमा खेल्न लागेका हुन् ।

    इन्दु वर्मा, पूजा महतो, राजमती ऐरि, सम्झना खड्का, कविता जोशी, रिया शर्मा, सोमु बिस्ट, रचना चौधरी, रुबी पोद्दार, यशोदा बिस्ट, सावित्री धामी, कविता कुँवर, रुबिना क्षेत्री र सीता राना मगरले मलेसियन क्रिकेट एसोसिएसनको आयोजनामा हुन लागेको सिरिजमा ५ फरकफरक टिमबाट सिरिज खेल्नेछन् ।