Blog

  • खल्ती बाइ आइएमईको चाडपर्व अफर : वर्ल्डलिङ्क भुक्तानीमा दिपलको गाडी र विदेश भ्रमण

    खल्ती बाइ आइएमईको चाडपर्व अफर : वर्ल्डलिङ्क भुक्तानीमा दिपलको गाडी र विदेश भ्रमण

    काठमाडौं असोज ८
    आइएमई खल्ती लिमिटेडद्वारा प्रवर्द्धित डिजिटल वालेट ‘खल्ती बाइ आइएमई’ ले दशैं–तिहार लक्षित गर्दै वर्ल्डलिङ्क इन्टरनेट प्रयोगकर्ताका लागि भव्य क्याम्पेन सार्वजनिक गरेको छ।

    १२ हप्तासम्म चल्ने यस अभियान अन्तर्गत खल्तीमार्फत वर्ल्डलिङ्कको इन्टरनेट बिल भुक्तानी गर्ने सेवाग्राहीले बम्पर पुरस्कारमा दिपलको एसओ ५ गाडी, १२ भाग्यशाली जोडीलाई विदेश भ्रमण प्याकेज, साथै स्यामसुङ उपकरणमा विशेष छुट जित्ने अवसर पाउनेछन्।

    कम्पनीका अनुसार क्याम्पेन अवधिभर हरेक हप्तामा एक भाग्यशाली जोडीले विदेश भ्रमण प्याकेज जित्नेछन् भने बम्परमा एक विजेताले दिपलको गाडी प्राप्त गर्नेछन्। साथै, वर्ल्डलिङ्कको प्याकेज खरिद वा नवीकरण गर्दा विभिन्न स्यामसुङ उपकरणमा ४० प्रतिशतसम्म छुट समेत पाइनेछ।

    भुक्तानी अवधिअनुसार ग्राहकलाई एसएमएसमार्फत कुपन प्रदान गरिनेछ। १ महिनाको बिल तिर्दा = १ कुपन,३ महिनाको बिल तिर्दा = ३,कुपन र १२ महिनाको बिल तिर्दा = ५ कुपन यी कुपनमार्फत ग्राहक स्वतः लक्की ड्रमा सहभागी हुनेछन्। खल्तीका अनुसार, “जति धेरै भुक्तानी, उति धेरै जित्ने सम्भावना” रहनेछ।

    आइएमई खल्ती लिमिटेडका प्रमुख कार्यकारी अधिकृत बिनय खड्काले यस क्याम्पेनमार्फत ग्राहकलाई झन्झटमुक्त भुक्तानी सेवासँगै चाडपर्वलाई अझ रमाइलो बनाउन सहयोग पुग्ने बताए। उनले वर्ल्डलिङ्क प्रयोगकर्तालाई उक्त अफरको लाभ लिन आह्वान समेत गरे।

    वर्ल्डलिङ्कको आधिकारिक भुक्तानी पार्टनर खल्तीले यसअघि पनि दुबई भ्रमण र नयाँ गाडी जस्ता आकर्षक अफर सार्वजनिक गरिसकेको छ। कम्पनीले यस वर्षको अभियानले सोही उत्साहलाई निरन्तरता दिने विश्वास व्यक्त गरेको छ।

    गत श्रावण १ गतेदेखि आइएमई डिजिटल सोलुसन र खल्ती प्रा.लि. एकीकृत भई आइएमई खल्ती लिमिटेड बनेको हो। एकीकरणपछि खल्ती बाइ आइएमईका प्रयोगकर्ता संख्या १ करोड २७ लाखभन्दा बढी पुगेको छ।

    हाल संयुक्त इकाईले ५४.५४ करोड रुपैयाँभन्दा बढी चुक्ता पुँजीसहित देशकै सबैभन्दा ठूलो डिजिटल वालेटका रूपमा सेवा दिइरहेको छ। कम्पनीले यस कदमले नेपाली डिजिटल अर्थतन्त्रमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरेको छ।

  • मतदाता नामावली संकलनको अवधि डेढ महिनासम्म खुल्ला राखिने

    मतदाता नामावली संकलनको अवधि डेढ महिनासम्म खुल्ला राखिने

    काठमाडौं, असोज ८-
    नयाँ मतदाताहरुले मतदाता नामावलीमा नाम दर्ता गराउन करिब डेढ महिनाजतिको समय पाउने भएका छन् । निर्वाचन आयोगले निर्वाचन कार्यक्रम सुरु हुनुअघिसम्म मतदाता नामावली संकलनको काम खुला राख्ने तयारी गरेको हो ।

    सामान्यत मतदानको १२० दिन अर्थात चार महिना अघिदेखि निर्वाचन कार्यक्रम सुरु हुन्छ । ‘करिब करिब २१ कार्तिकसम्म मतदाता नामावली संकलन गर्न सकिन्छ कि भनेर आयोगमा छलफल चलिरहेको छ, त्यही सेरोफेरोको मिति राखेर सूचना निकाल्ने तयारी छ,’ आयोगका एक कर्मचारीले भने, ‘सम्भवतः बिहीबारदेखि नै मतदाता नामावली संकलन खुला गर्न सकिन्छ ।’

    निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले अध्यादेशले मतदाता नामावली संकलन र त्यसको अधिकतम (कट अफ) मिति तोक्ने अधिकार आयोगलाई दिनेगरी अध्यादेश जारी भएको बताए । ‘अहिलेको कानुनले निर्वाचनको घोषणा भएपछि मतदाता नामावली संकलनको परिकल्पना गरेको थिएन,’ उनले भने, ‘अब त्यो बन्देज हट्ने गरी कानुनी सम्बोधन भएको छ ।’

    आयोगले प्रतिनिधिसभा उपनिर्वाचनलाई लक्षित गरी १६ असार २०८२ देखि मतदाता नामावली संकलन र अद्यावधिक गर्ने काम बन्द गरेको थियो । तर दुई वर्षपछि मात्रै निर्वाचन हुने भएकाले त्यतिबेला १८ वर्ष पुगेकाहरूलाई मतदाताको नाम दर्ता गर्ने रुचि थिएन । राष्ट्रपति रामचन्द्र पौडेलले अध्यादेश जारी गरेकाले अब केहीबेरमा राजपत्रमा त्यसको सूचना प्रकाशित गर्ने तयारी छ । त्यसलगत्तै निर्वाचन आयोगले मतदाना नामावली संकलनसम्बन्धी सूचना निकाल्नेछ ।

  • मन्त्रिपरिषद् बैठकद्वारा ऐतिहासिक निर्णय : अत्यावश्यक अवस्थामा बाहेक विदेश भ्रमणमा रोक

    मन्त्रिपरिषद् बैठकद्वारा ऐतिहासिक निर्णय : अत्यावश्यक अवस्थामा बाहेक विदेश भ्रमणमा रोक

    काठमाडौँ, असोज ८ –
    राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र राष्ट्रियसभाका अध्यक्षबाहेक नेपाल सरकार, प्रदेश तथा स्थानीय तहका पदाधिकारीको लागि सल्लाहकार नियुक्ति गर्न नपाइने भएको छ । यसैगरी सरकारले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र राष्ट्रियसभाका अध्यक्ष, प्रदेश प्रमुख, नेपाल सरकार तथा प्रदेश सरकारका मन्त्रीबाहेक सांसदलगायत अन्य राजनीतिक पदाधिकारीको स्वकीय सचिवको सुविधा खारेज गरेको छ ।

    मन्त्रिपरिषद्ले यही असोज ५ गते गरेको निर्णयानुसार सरकार र प्रदेश सरकारका मन्त्री र प्रदेश प्रमुखको स्वकीय सचिवालयमा बढीमा तीन जना मात्र नियुक्ति गर्न पाइनेछ । सार्वजनिक संरचनाको पुनर्निर्माण र मर्मत, सार्वजनिक सेवा सुचारु, निर्वाचन खर्च व्यवस्थापन, आर्थिक पुनःरुत्थान र राहतसमेतका लागि विकास आयोजनाको पुनःप्राथमिकीकरण, अनुत्पादक खर्च कटौती र मितव्ययिता कार्यम गर्ने सम्बन्धमा मन्त्रिपरिषद्ले सो निर्णय गरेको हो । उक्त निर्णय कार्यान्वयन गर्न÷गराउनका लागि सरकारका सबै मन्त्रालय तथा निकाय, प्रदेश सरकार तथा सबै स्थानीय तहलाई पत्राचार गरिएको अर्थ मन्त्रायका सहसचिव एवं प्रवक्ता टङ्कप्रसाद पाण्डेयले जानकारी दिनुभयो ।

    सरकारले विगतमा स्रोत सहमति लिई निर्माणाधीन रहेका आयोजनालाई बजेट कमी हुन नदिई कार्यान्वयनमा निरन्तरता दिने निर्णय गरेको छ । त्यस्तै सरकारका विभिन्न मन्त्रालयअन्तर्गत पुँजीगत खर्चमा विनियोजित रकममध्ये मन्त्रालयगत बजेट सूचना प्रणालीमा नयाँ प्रविष्टि भएका, पूर्वतयारी नभएका र दोहोरो प्रविष्टि भएका कम महत्वका स–साना आयोजना÷कार्यक्रमहरू आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ को दफा २१ बमोजिम रोक्का राख्ने निर्णय गरिएको छ ।

    विभिन्न मन्त्रालयअन्तर्गत रहेका बजेट शीर्षकमा बजेट विनियोजन भए तापनि उद्देश्यभन्दा बाहिरका र कम महत्वका क्षेत्रमा रहेको बजेट विनियोजनलाई रोका राख्ने सरकारको निर्णय छ । भैपरी वा अन्य शीर्षकमा एकमुष्ट बजेट राखी आयोजनाहरू पहिचान नभएको हुँदा उपयोगिता नदेखिएको बजेट रोका राखिने छ ।

    खुद्रे र टुक्रे आयोजना रोका राखिने

    प्रदेश र स्थानीय तहबाट सचालन हुने प्रकृतिका स–साना खुद्रे÷टुक्रे आयोजनासमेतमा विभिन्न मन्त्रालयमा भएको विनियोजनलाई रोका राखिने छ । त्यस्तै माथि रोका प्रस्ताव गरिएका बजेट उपशीर्षकमा रहेका कियाकलापहरूमा अघिल्लो आर्थिक वर्षमा दायित्व सिर्जना भएको तर भुक्तानी दिन बाँकी रहेको भए फरफारक गर्ने हदसम्म सम्बन्धित मन्त्रालयको माग बमोजिम रोक्का फुकुवा गर्ने सरकारको निर्णय छ ।

    राष्ट्रिय प्राथमिकता, स्रोत सहमति दिइएका तथा क्रमागत आयोजनामा दायित्व सिर्जना भएको या चालु आर्थिक वर्षमा दायित्व सिर्जना हुने तर न्यून बिनियोजन भएको भए रोक्का रहेको उपशीर्षकबाट रकमाम्तर गरी खर्च व्यवस्थापन गरिनेछ ।

    विगतमा प्रचलित कानुनबमोजिम दायित्व सिर्जना भई भुक्तानी दिन पर्याप्त रकम विनियोजन नभएको कारण बजेट अपुग भएको भए रोक्का गरिएको रकमबाट रकमान्तर, स्रोतान्तर तथा कार्यक्रम संशोधन गरी खर्च व्यवस्थापन गरिने मन्त्रालयले जनाएको छ ।

    रोक्का रहेका आयोजनाहरूमध्ये २०८२ असोज २ गतेसम्म खरिद सम्झौता भई दायित्व सिर्जना भइसकेको वा खरिद प्रक्रिया अन्तिम चरणमा रहेको भए सोको पुष्ट्याइँसहित फुकुवाको लागि सम्बन्धित मन्त्रालयबाट लेखी आएपछि अर्थ मन्त्रालयले फुकुवा गर्ने निर्णयमा उल्लेख छ ।

    शिक्षा, स्वास्थ्य र खानेपानीजस्ता आधारभूत आवश्यकताका सामाजिक क्षेत्रमा यस आर्थिक वर्षको बजेटले लिएको सामाजिक क्षेत्रको लक्ष्य पूरा गर्न बाधा पर्न जाने देखिएमा अर्थ मन्त्रालयको सहमति लिई आयोजना तथा कार्यकमको खरिद प्रक्रिया अगाडि बढाइने छ ।

    सरकारी संरचनाको पुनर्निर्माणको लागि पुनर्निर्माण कोष कार्यविधिबमोजिम सिफारिस भएका आयोजनालाई मन्त्रायगत बजेट सूचना प्रणालीमा मा प्रविष्टि गरी खर्च व्यवस्थापन गर्ने सरकारको निर्णय छ । त्यसैगरी चालु आर्थिक वर्षमा नयाँ प्रविष्टि गरेका आयोजना वा अन्य कुनै खरिद प्रयोजनका लागि बहुवर्षीय स्रोत सहमति नदिने भएको छ ।

    सरकारी संरचना पुनर्निर्माण गर्दा सेवाग्राहीमैत्री, खुला र छरितो संरचना बनाउने । सरकारले कार्यालयको कार्यबोझ, कार्य प्रकृति तथा दरबन्दी संरचनालाई विश्लेषण गरी भौतिक संरचना र ले–आउट व्यवस्थापन गर्ने भएको छ ।

    आयोजना टुक्याएर उपभोक्ता समितिबाट काम गराउन नपाइने

    सरकारबाट सञ्चालन हुने,सरकारबाट वित्तीय हस्तान्तरण भएका प्रदेश वा स्थानीय तहवाट संचालन हुने रु १० लाखभन्दा बढीका आयोजनाहरू उपभोक्ता समितिबाट कार्यान्वयन नगर्ने/नगराउने र आयोजना टुक्याएर उपभोक्ता समितिबाट काम गराउन नपाइने निर्णय गरिएको छ ।

    निर्माणमा ‘कन्टिन्जेन्सी’ रकमको सीमा घटाई रु एक अर्बसम्म लागत अनुमान भएका आयोजनामा तीन प्रतिशतसम्म र सोभन्दा बढीका निर्माण आयोजनामा दुई प्रतिशतसम्म हुने गरी कार्यान्वयन गरिनेछ ।

    चालु आर्थिक वर्ष २०८२/८३ मा मन्त्रालयगत बजेट सूचना प्रणालीमा प्रविष्ट भएका चालुतर्फका नयाँ क्रियाकलाप÷कार्यक्रमको कार्यक्रम सञ्चालन ढाँचा स्पष्ट नभएको, कार्यकमको प्रतिफल सम्बन्धित नभएको वा अनुत्पादक क्रियाकलाप÷कार्यक्रममा विनियोजित रकम आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा २१ बमोजिम रोक्का राखिने भएको छ ।

    सरकारले सार्वजनिक निकायका पदाधिकारी र कर्मचारीलाई नियमित कामका लागि बैठक भत्ता उपलब्ध नगराउने, तर कानुनबमोजिम गठन भएको समितिको काममा कार्यालय समयबाहेकको बैठकको भत्ता उपलब्ध गराउन सकिने जनाएको छ ।

    सरकारी, आफ्नो वा आफ्नो परिवारको स्वमित्वमा रहेको निजी आवास प्रयोग गर्ने पदाधिकारीले आवास सुविधाबापतको रकम लिन नपाउने भएको छ ।

    त्यस्तै सरकारले विद्यमान जनशक्तिबाट सम्पादन हुने कामको लागि विनियोजित बजेटको उपयोग गरी बाह्यसेवा परामर्शबाट काम गर्न÷गराउन नपाउने तथा विधेयक, नियम, विनियम, कार्यविधि, दिग्दर्शन, मापदण्ड र निर्देशिका बनाउनेजस्ता कामका लागि सेवा परामर्श नलिने निर्णय गरेको छ ।

    विद्यमान जनशक्तिबाट सम्पादन हुन नसक्ने अवस्था हो भनी सम्बन्धित लेखा उत्तरदायी अधिकृतबाट प्रमाणित गराएर मात्र पुँजीगत अनुसन्धान तथा परामर्शका लागि खर्च गर्न सकिने भएको छ । पानी, बिजुली र सञ्चार महसुललगायतका सेवा खर्चमा मितव्ययिता कायम गर्ने, पानी, बिजुली र सञ्चार महसुलबापत विनियोजित बजेटबाट खर्च धान्ने गरी मितव्ययी ढङ्गले खर्च गर्ने सरकरको निर्णय छ ।

    कार्यालयमा आवश्यक नपरेको समयमा बत्ती, एअरकन्डिसन, पङ्खाजस्ता बिजुली खपत हुने यन्त्र उपकरण चलेको छ कि भनी सम्बन्धित कर्मचारी स्वयंले नियमित चेक गर्ने सरकारको निर्णय छ ।

    सरकारी कार्यालयका लागि प्रमुख मार्गमा घर बहालमा लिन नपाइने

    सरकारी कार्यालयको लागि न्यूनतम आवश्यकताभन्दा बढी कोठा र सुविधा भएको घर वहालमा नलिने, सरकारी कार्यालयहरूले सकेसम्म व्यापारिक क्षेत्र र प्रमुख मार्गमा घर बहालमा लिन नपाइने निर्णयमा उल्लेख छ । त्यसैगरी विदेशस्थित कूटनीतिक नियोगहरूमा कार्यरत कर्मचारीहरूको निवासको लागि घरभाडामा लिनुपर्दा वा अब आइन्दा घरभाडा नवीकरण गर्नुपर्दा व्यापारिक क्षेत्र र सहरका प्रमुख मार्गहरूमा लिन नपाइने भएको छ ।

    सरकारको निर्णानुसार सङ्घ, प्रदेश र स्थानीय तहका पदाधिकारी तया कर्मचारीहरूमा सवारीसाधन, मोबाइल फोन, फर्निचर, ल्यापटप, डेस्कटप कम्प्युटर, मोटरसाइकलजस्ता सामान उपयोगमा पुरानो सामान प्रयोग गर्नुपर्ने छ ।

    त्यस्तै जेनजी प्रदर्शनका क्रममा सिर्जना भएको असामान्य परिस्थितिबाट क्षति भएका कार्यालयहरूलाई आवश्यक पर्ने भवन, टेबल, कुर्सी, दराज, सोफालगायतका कार्यालय सामान, मेसिन उपकरण, फर्निचरजस्ता सामग्री नजिकको कार्यालयमा भएकोबाट हस्तान्तरण गराई उपयोग गर्ने र त्यसरी हस्तान्तरण भएको सामानको हस्तान्तरण कार्यालय प्रमुख तहको निर्णयबाट नै हुने निर्णयमा उल्लेख छ । आगामी दिनमा सरकारी भौतिक संरचनाको बीमा गर्ने कार्य सुरुआत गरिने छ ।

    अत्यावश्यक अवस्थामा प्राविधिक जनशक्तिबाहेक थप दरबन्दी सिर्जना नगर्ने, विशेषज्ञ सेवामा दीर्घकालीन दायित्व सिर्जना नहुने गरी स्थायी दरबन्दीको सट्टा सेवा परामर्श लिने सरकारको निर्णय छ ।

    अर्थ, गृह र परराष्ट्र मन्त्रालयलगायत पछिल्लो समय सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण स्वीकृत भई थप संरचना तथा दरबन्दी सिर्जना भएका मन्त्रालयहरूले सङ्क्षिप्त सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गरी चुस्त, छरितो र मितव्ययी बनाउन अनावश्यक संरचना र दरबन्दी शीघ्र घटाइने भएको छ ।

    सङ्घ, प्रदेश र स्थानीय तहमा कार्य जिम्मेवारीमा दोहोरोपन÷तेहोरोपन हुने गरी नयाँ संरचना सिर्जना नगर्ने र हाल दोहोरो परेका संरचना खारेज गर्ने सरकारको निर्णय छ । त्यसैगरी भूमि समस्या समाधान आयोग खारेजी गर्ने व्यवस्था मिलाइने भएको छ ।

    राष्ट्रिय अनुसन्धान विभाग गृह मन्त्रालय मातहत

    सुरक्षा संवेदनशीलता, कार्यसम्पादन प्रभावकारिता, सुरक्षा निकायबीच समन्वय, विगतको अभ्यास र ‘इन्टिलिजेन्स एक्सीलेन्स’का लागि राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालय मातहत राख्ने व्यवस्था मिलाइने भएको छ ।

    राजस्व चुहावटको प्रभावकारी नियन्त्रण तथा मुलुकलाई सम्पत्ति शुद्धीकरणको ‘इन्क्रिज्ड मोनिटरिङ लिष्ट’बाट बाहिर निकाल्न अन्तर्राष्ट्रिय अभ्यास, कार्यप्रकृति, कार्यसम्पादन प्रभावकारिताका दृष्टिकोणले राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अर्थ मन्त्रालय मातहतमा ल्याई पुनःसंरचना गर्न व्यवस्था मिलाउने सरकारको निर्णय छ ।

    ‘कन्ट्राक्टिङ’ र ‘आउटसोर्सिङ’बाट हुने कामलाई स्थायी संरचना सिर्जना नगर्ने, सरकार, प्रदेश तथा स्थानीय तहमा स्वीकृत दरबन्दी बाहेकमा अस्थायी तथा करारमा कर्मचारी राख्न नपाउने सरकारको निर्णय छ ।

    चालु खर्च घटाउन सरकारकाले अत्यावश्यकबाहेकका तालिम, गोष्ठी तथा सेमिनार सञ्चालन नगर्ने, सञ्चालन गर्नैपर्ने अवस्थामा सरकारी हलहरूमा र सम्भव भएसम्म अनलाइन तालिम गोष्ठीजस्ता कार्यक्रम सञ्चालन गरिने भएको छ ।

    सरकार, प्रदेश सरकार, स्थानीय तह, संस्थान, प्रतिष्ठान र नियामक निकायको खर्चमा अत्यावश्यक अवस्थामा बाहेक विदेश भ्रमणमा रोक लगाइएको छ । नेपाल सरकारको प्रतिनिधित्व सम्बन्धित नियोगबाट हुनसक्ने अवस्था भएमा सम्बन्धित नियोगलाई नै अख्तियारी दिइनेछ ।

    सरकारको प्रतिनिधित्व अनिवार्य भएको अन्तरराष्ट्रिय सभा सम्मेलनमा राष्ट्र प्रमुख वा सरकार प्रमुखको नेतृत्वमा हुने प्रतिनिधिमण्डल बढीमा १० जना र सरकारको स्रोतमा हुने अन्य प्रतिनिधिमण्डलमा बढीमा तीन जना मात्र सदस्य रहने निर्णयमा उल्लेख छ ।

    त्यस्तै प्रतिफलयुक्त आयोजना, वैदेशिक सहायताबाट सञ्चालित आयोजना र नागरिकप्रतिको दायित्व बहन गर्नुपर्ने विषयका आयोजनाका लागि मात्र सार्वजनिक संस्थानमा शेयर तथा ऋण लगानी गर्ने, आर्थिक अवस्था कमजोर भएका तथा सावाँ÷ब्याज तथा प्रतिफल दिन नसक्ने सार्वजनिक संस्थानमा नेपाल सरकारले थप लगानी नगर्नेभएको छ । यस्तो रोक्का अवधि भर नेपाल सरकारका लगानी भएका संस्थाहरुले हकप्रद तथा थप सार्वजनिक निष्कासन ९एफपिओ० शेयर जारी गर्न रोका गरिएको छ ।

    नेपाल सरकारले सार्वजनिक संस्थानबाट प्राप्त गर्नुपर्ने भाखा नाघेको साँवा तथा ब्याज असुलउपर गर्न सम्बन्धित मन्त्रालय जवाफदेही हुने भएको छ । सरकारले सवारीसाधनको उपयोगका लागि सवारी सुविधासम्बन्धी सम्बन्धित कानुनमा सङ्ख्या किटान भएकोमा बाहेक सवारी सुविधा पाउने राजनीतिक तया प्रशासनिक पदाधिकारीलाई एक भन्दा वढी सवारीसाधन उपलब्ध नगराउने÷प्रयोग नगर्ने भएको छ ।

    सवारीसाधन क्षति भएका मन्त्रालय एवं केन्द्रीय निकाय तथा कार्यालयले आफ्नो मातहतका विभाग, निकाय वा कार्यालयहरूमा भएका सवारीसाधनबाटै व्यवस्थापन गर्नुपर्ने छ । राजनीतिक तथा प्रशासनिक पदाधिकारीको सुविधाका लागि नयाँ सवारीसाधन खरिद नगरी उपलब्ध सवारीसाधनबाटै व्यवस्थापन गरिने भएको छ ।

    सवारी सुविधा पाउने पदाधिकारी तथा कर्मचारीलाई सवारी सुविधा व्यवस्थापनसम्बन्धी छुट्टै मापदण्ड अर्थ मन्त्रालयले ४५ दिनभित्र तयार गरी सोहीबमोजिम व्यवस्थापन गर्ने भएको छ । यद्यपि समयमा निर्वाचन सम्पन्न गर्न तथा शान्ति सुरक्षा प्रयोजनको लागि उपलब्ध सवारीसाधनबाट अपुग भएमा खरिद गर्न सकिनेछ ।

    स्वकीय सचिवालयका लागि मन्त्रालयमा कार्यकक्ष नराख्ने

    त्यसैगरी नेपाल सरकार र प्रदेश सरकारका मन्त्रीहरूलगायत राजनीतिक पदाधिकारीका स्वकीय सचिवालयका लागि मन्त्रालयमा कार्यकक्ष नराख्ने, यस्ता स्वकीय सचिवालयका कर्मचारीका लागि सवारीसाधन, वैदेशिक भ्रमण र अन्य भौतिक सुविधा उपलब्ध गराउन नपाइने भएको छ ।

    प्रेस समन्वयका लागि अतिरिक्त नियुक्ति नगरी सम्बन्धित निकायकै प्रवक्ता तथा सूचना अधिकारीबाट कार्यसम्पादन गर्ने व्यवस्था मिलाइने छभने विभिन्न मुलुकका लागि खटिने नेपाल सरकारको प्रतिनिधि राजदूतको नियमानुसार बाहेक माथिल्लो तह तोकी दिइने गरिएका थप सुविधा खारेज गरिएको छ ।

    सार्वजनिक संस्थानमा रिक्त रहेका कार्यकारी प्रमुखको पदमा तत्कालका लागि सरकारको स्थायी सेवामा रहेका कर्मचारीलाई काजमा खटाउने, महँगा इलेक्ट्रोनिक्स र बिलासी सामग्रीहरू खरिद नगर्ने, ग्यास, साइकल, स्वास्थ्य बिमा शुल्क, विद्युत् महसुल भुक्तानी, ह्याण्डपम्प, साड़ी वितरणजस्ता वितरणमुखी कार्यक्रम सञ्चालन गर्न नपाइने सरकारको निर्णय छ ।

    बक्यौता असुलीका लागि सरकारले अन्तर्गतका निकायले प्राप्त गर्नुपर्ने कर राजस्व वा गैरकर राजस्व असुलीलाई प्रभावकारी बनाउने सम्बन्धित मन्त्रालय जवाफदेही हुने, अन्तिम लेखा परीक्षणबाट असुलउपर गर्ने भनी तोकिएको बेरुजु तुरुन्त असुलउपर गर्ने निर्णय गरेको छ ।

    निर्णयानुसार प्रचलित कानुनमा व्यवस्था भएको तर नियामक निकायहरूबाट नेपाल सरकारको कोषमा दाखिला हुन बाँकी मौज्दात रकम २०८२ असोज मसान्तभित्र नियमानुसार दाखिला गराउनुपर्ने छ । रासस

  • प्रदेश संरचना खारेज हुँदैनः अर्थमन्त्री खनाल

    प्रदेश संरचना खारेज हुँदैनः अर्थमन्त्री खनाल

    मोरङ, असोज ८ –
    अर्थमन्त्री रामेश्वर खनालले प्रदेश संरचना खारेज गर्ने कुनै सम्भावना नरहेको बताउनुभएको छ ।

    विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग सङ्क्षिप्त कुरा गर्दै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नुभएका अर्थमन्त्री खनालले वर्तमान सरकार संविधानअनुसार सञ्चालन भएकाले प्रदेश खारेज गर्नेसम्बन्धी कुनै सोच नरहेको स्पष्ट गर्नुभयो ।

    एक प्रश्नको जवाफमा मन्त्री खनालले अहिलेको अवस्थामा रु एक हजार र रु ५०० को नोट प्रतिबन्ध लगाउने विषयमा कुनै छलफल नभएको जानकारी दिनुभयो ।

    भारत सरकारले लगाएको एकीकृत कर ‘गुड्स सेल्स ट्याक्स’घटाएको सम्बन्धमा अध्ययन भइरहेको तथा उद्योग व्यवसाय एवं औद्योगिक प्रतिष्ठानमा क्षति पुग्ने अवस्था भए सुधार गरिने जानकारी दिनुभयो । रासस

  • चीन जोड्ने सडक सञ्जाल सुधारमा सहयोगको अपिल

    चीन जोड्ने सडक सञ्जाल सुधारमा सहयोगको अपिल

    काठमाडौँ, असोज ८ –
    ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकासमन्त्री कुलमान घिसिङ र नेपालका लागि चीनका राजदूत चेन सोङबीच आज शिष्टाचार भेटवार्ता भएको छ ।

    सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको भेटमा नवनियुक्त मन्त्री घिसिङलाई चिनियाँ राजदूत सोङले बधाई दिनुका साथै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो ।

    भेटमा नेपाल–चीनबीचको सडक तथा विद्युत् प्रसारण लाइन कनेक्टिभिटी, चिनियाँ निर्माण व्यवसायीबाट ठेक्का लिएका सडक तथा विद्युत् आयोजनाको निर्माण प्रगति, ऊर्जा क्षेत्रमा सहकार्य, चिनियाँ सहायतामा सञ्चालित आयोजनाहरुको कार्यान्वयन अवस्था, चिनियाँ लगानीलगायतका विषयमा छलफल भएको थियो ।

    भेटमा मन्त्री घिसिङले नेपाल र चीनलाई सडक सञ्चालबाट जोड्ने काठमाडौँ–कोदारी ९अरनिको० र स्याप्रुबेँसी–रसुवागढी सडक महत्वपूर्ण र संवेदनशील रहेको तर पहिरो र कमजोर भौगोलिक अवस्थितका कारण जोखिमयुक्त रहेकाले चिनियाँ प्रविधि प्रयोग गरी सडक मर्मत गरी स्थायी रुपमा सञ्चालनका लागि आवश्यक सहयोग गरिदिन आग्रह गर्नुभएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।

    यसैगरी काठमाडौँ उपत्यका चक्रपथ विस्तारअन्तर्गत चिनियाँ अनुदानमा निर्माण हुने कलङकी–बसुन्धरा खण्डको काम तत्काल सुरु गर्न, अरुण नदी करिडोरमा धेरै जलविद्युत् आयोजनाहरु निर्माणाधीन रहेको र नेपालको विद्युत् बजारलाई थप प्रतिस्पर्धी बनाउन किमाथाङ्काबाट अर्को अन्तरदेशीय प्रसारण लाइन निर्माण अगाडि बढाउन उहाँले आग्रह गर्नुभयो ।

    मन्त्री घिसिङले चिनियाँ कम्पनीले ठेक्का लिएका कमला–कञ्चनपुर आयोजनाको निर्माण सन्तोषजनक नरहेको जानकारी गराउँदै नारायणघाट–बुटवल तथा मुग्लिन–पोखरा सडक बिस्तारको कामलाई गतिदिन आवश्यक सहयोग र सहजीकरणका लागि पहल गरिदिन आग्रह गर्नुभएको थियो ।

    सो अवसरमा राजदूत सोङले छिमेकी मित्रराष्ट्र नेपालको प्राथमिकताका आधारमा यसअघि जस्तै सक्दो सहयोग गर्न चीन तयार रहेको बताउनुभयो ।

    उक्त भेटमा भौतिक मन्त्रालयका सचिव केशवकुमार शर्मा, विकास सहायता समन्वय तथा गुणस्तर महाशाखा प्रमुख सुशीलबाबु ढकाल र सडक विभागका महानिर्देशक बिजय जैशी एवं परराष्ट्र मन्त्रालय उत्तरपूर्व एसिया महाशाखाका उपसचिव मनहरी दङ्गाललगायतका अधिकारीको उपस्थिति थियो । रासस

  • राष्ट्रपतिबाट मतदाता नामावली सम्बन्धी अध्यादेश जारी

    राष्ट्रपतिबाट मतदाता नामावली सम्बन्धी अध्यादेश जारी

    ८ असोज, काठमाडौं।
    राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि मतदाता नामावली ऐन सम्बन्धी अध्यादेश जारी गरेको छ ।

    राष्ट्रपति पौडेलले संविधानको धारा ११४को उपधारा १ बमोजिम मन्त्रिपरिषद्‌को सिफारिसमा मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्‍यादेश जारी गरेका हुन् ।

    हेर्नुहोस् राष्ट्रपति कार्यालयको विज्ञप्ति :

  • सञ्चारमन्त्रीले हावामा लोकप्रिय निर्णय गर्दै हिँडेको मेयर साम्पाङको आरोप

    सञ्चारमन्त्रीले हावामा लोकप्रिय निर्णय गर्दै हिँडेको मेयर साम्पाङको आरोप

    काठमाडौँ, असोज ८-
    सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलमाथि योजनाबिना सस्तो लोकप्रियताका लागि निर्णय लिएको आरोप धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले लगाएका छन्।

    सामाजिक सञ्जाल फेसबुकमार्फत उनले मन्त्री खरेलले मन्त्री भएपछि हावामा लोकप्रिय निर्णय गर्दै हिँडेको आरोप लगाएका हुन् ।

    उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सूचना तथा सञ्चार मन्त्रीले वाइफाइ वितरण गर्ने निर्णय होइन हाम्रो सरकारी सञ्चार प्रणाली सूत्रको सर्भर छिटो गराउनुपर्छ ! सरकारी प्रणाली चौपट छ, हावामा लोकप्रिय निर्णय गर्दै हिँडेको छ !’

  • मधेश सरकारबाट समर्थन फिर्ता लिने कांग्रेसको निर्णय

    मधेश सरकारबाट समर्थन फिर्ता लिने कांग्रेसको निर्णय

    ८ असोज, जनकपुरधाम ।
    नेपाली कांग्रेसले मधेस प्रदेशलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ।

    जनकपुरमा बुधबार बसेको कांग्रेस संसदीय दलको बैठकले यस्तो निर्णय गरेको संसदीय दलका नेता कृष्णप्रसाद यादवले जानकारी दिए ।

    २४ भदौमा जेनजी आन्दोलनको क्रममा मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहले राजीनामा घोषणा गरेका थिए ।

    तर, फेरि कुरा फेरेपछि जनमतले सरकारमा रहेका आफ्ना मुख्यमन्त्री सहित दुई मन्त्रीलाई फिर्ता र समर्थन फिर्ता लिएको पत्र मधेश प्रदेश सभामा ३१ भदौमा बुझाइसकेको छ ।

    तर मुख्यमन्त्री सिंहपछि कुरा फेरेर सदन फेस गर्ने अडानमा छन् ।

    कांग्रेसले अहिलेसम्म समर्थन कायमै राखेको थियो भने एमालेले उनलाई विश्वासको मतसम्म दिने भनिसकेको छ।

    ‘कांग्रेसले जनमतको नेतृत्वमा सरकारलाई समर्थन दिएको थियो । जब जनमतले नै समर्थन फिर्ता लिइसकेपछि कुनै व्यक्तिलाई समर्थन दिइरहनुको औचित्य रहेन,’ दलका नेता यादवले भने ।

  • सुदनले भनेः निर्वाचनमा जेनजी पुस्ताले नयाँ पार्टी खोलेर भाग लिन्छ

    सुदनले भनेः निर्वाचनमा जेनजी पुस्ताले नयाँ पार्टी खोलेर भाग लिन्छ

    काठमाडौं, असोज ८-
    सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले फागुन २१ गतेका लागि प्रतिनिधि सभा निर्वाचन जेनजी पुस्ताले नयाँ पार्टी खोलेर भाग लिने जेनजी अभियानी सुदन गुरूङले बताएका छन्।
    प्राइम टिभीका पत्रकार ऋषि धमलासँग उनले उक्त निर्वाचनमा नयाँ पार्टीले भाग लिने बताएपनि पार्टीको नाम भने बताएका छैनन् ।
    सुदनले भनेका छन्, ‘लिन्छ, देखाउनुपर्छ हामीले कस्तो हिसाबमा नयाँ नेपाल बनाउन सक्छ र हामी सक्षम छ भनेर देखाउन सक्छौं।’
    काठमाडौं महानगरका मेयर बालेन शाहलाई आफूले अहिलेसम्म भेट नगरेको पनि गुरूङले बताए। बालेनले स्वतन्त्र रूपमा लड्न र जित्न सकिन्छ भनेर आशा जगाएको भए पनि व्यक्तिगत रूपमा बालेनसँग आफ्नो चिनजान नरहेको उनले बताए।
  • तुइन खोलाको पहिरो पन्छाउन दुई दिन लाग्ने

    तुइन खोलाको पहिरो पन्छाउन दुई दिन लाग्ने

    चितवन, असोज ८-
    नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा खसेको पहिरो पन्छाउन दुई दिन लाग्ने जनाइएको छ । मङ्गलबार दिउँसो ४ः३० बजे खसेको पहिरो आज बिहानबाट पन्छाउन थालिएको हो ।

    डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख नारायण लामिछानेका अनुसार पहिरो पन्छाउन दुई वटा लोडर, एउटा स्काभेटर र एउटा भ्याकुलोडर परिचालन गरिएको छ । दमौलीबाट अर्को एउटा स्काभेटर मगाइएको छ ।

    सडकको १६० मिटर भाग पहिरोले ढाकिएको छ । लामिछानेले पहिरोको तस्बिर हेर्दामाथिबाट अरु थप ठूलो पहिरो झर्ने सम्भावना कम भए तापनि माथिबाट झर्न बाँकी केही ढुङ्गाहरु पूर्ण रुपमा झरिनसकेकाले अझै साना तथा मझौला पहिरो खस्न सक्ने सम्भावना रहेको बताए ।

    सो ठाउँमा गत शुक्रबारदेखि निरन्तर पहिरो खसिरहेको छ । समय समयमा पहिरो पन्छाएर केही सवारी आवागमन गराइएको भए पनि मङ्गलबार साँझबाट ठप्प भएको छ । सडक रोकिएसँगै ठूलो सङ्ख्यामा सवारीसाधन लाममा छन् । यात्रुवाहक सवारीसाधन भने फर्काएर वैकल्पिक मार्गतर्फ लागेका छन् । मालवाहक सवारीसाधन लाममा छन् ।