Blog

  • नेपाल टेलिकमको बिलिङमा समस्या, कयौं फोन वान–वे

    नेपाल टेलिकमको बिलिङमा समस्या, कयौं फोन वान–वे

    ९ असोज, काठमाडौं ।
    नेपाल टेलिकमको पोस्टपेड र प्रिपेड फोनको बिलिङमा समस्या देखिएको छ । यसका कारण बिहीबार बिहानदेखि हजारौं पोस्टपेड तथा प्रिपेड फोनहरुमा ‘आउट गोइङ कल’ ब्यारियर (वान वे) भएको छ ।

    करिब ८ घण्टाभन्दा बढी समय फोनमा समस्या आएपछि टेलिकमका धेरै पोस्टपेड प्रयोगकर्ता पीडित भएका छन् ।

    नेपाल टेलिकमका एक वरिष्ठ इन्जिनियरका अनुसार हरेक महिनाको १५ तारिकमा पोस्टपेडको बिलिङ हुन्छ । त्यही क्रममा प्रणालीका आएको समस्याका कारण ब्यालेन्स भए पनि कतिपय फोन ‘वान वे’ भएका छन् ।

    समस्या समाधानका लागि काम भइरहेको टेलिकमका प्रवक्ता रव्निद्र मानन्धरले बताए । उनले भने, ‘मध्यरातदेखि टेलिकमको बिलिङमा समस्या आएको हो । अहिले समस्या समाधान भइसकेको छ । थप काम भइरहेको छ ।’

    मध्यरातदेखि टेलिकमको अनलाइन चार्जिङ सिस्टम (ओसीएस) मा समस्या आएको थियो । यो भनेको रियल टाइम चार्जिङ सिष्टम हो।

  • हिजो बेलुकीदेखि बन्द मुग्लिन-नागढुंगा सडक खुल्यो, मुग्लिन-नारायणगढ सडक अझै ठप्प

    हिजो बेलुकीदेखि बन्द मुग्लिन-नागढुंगा सडक खुल्यो, मुग्लिन-नारायणगढ सडक अझै ठप्प

    मुग्लिन,असोज ९
    पृथ्वीराजमार्ग अन्तर्गत धादिङको बेनीघाट नजिकै बाँदरेमोडमा पहिरो खसेर हिजो बेलुकीदेखि अबरुद्ध भएको सडक आज बिहानदेखि खुलेको छ । राति पौने ९ बजे पहिरो खसेर सडक दुईतर्फी नै बन्द रहेकोमा रातभर काम गरेर बिहानदेखि खुलाइएको धादिङ प्रहरीले जनाएको छ । अहिले दुईतर्फी नै गाडी चलिरहे पनि पहिरोको जोखिम कायमै रहेकाले सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ ।

    धादिङकै धार्के–सितापाइला सडकखण्ड अन्तर्गत ठूलोखोलामा पनि पहिरोका कारण सडक अवरुद्ध भएको छ । यस्तै मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत तुइनखोलामा मंगलबारदेखि बन्द भएको सडक अझै खुलेको छैन । हिजोदेखि नै पहिरो पन्छाउने काम भैरहे पनि ठूलो पहिरो खसेका कारण पन्छाउन नसकिएको चितवन प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार आज पनि बिहानैदेखि पहिरो पन्छाउने काम भैरहेको छ । तुइनखोलामा पटकपटक पहिरो खस्दा यात्रुले सास्ती खेप्दै आएका छन् । सडक खुलाउन समय लाग्ने र खुले पनि जोखिम कायमै रहने भएकाले वैकल्पिक सडक प्रयोग गर्न चितवन प्रहरीले आग्रह गर्दै आएको छ । यो सडकखण्डको विकल्पमा महोत्तरीको बर्दिवास, मकवानपुरको हेटौंडा, रुपन्देहीको बुटवल, नवलपरासी बर्दघाट सुस्ता पूर्वको कावासोती र गैंडाकोट, धादिङको नौबिसे तथा तनहुँको हकमा खैरेनीटारबाट वैकल्पिक मार्ग प्रयोग गर्न सकिनेछ ।

    चितवनबाट काठमाण्डौ आउजाउ गर्नका लागि साना गाडीले चितवनको जुटपानी, शक्तिखोर, मायाटार हुँदै धादिङको मलेखु निस्कने वैकल्पिक सडक प्रयोग गर्न सक्छन् । त्यस्तै धादिङको नौबिसेबाट मकवानपुरको हेटौंडा निस्कने त्रिभुवन राजपथ तथा मकवानपुरको हेटौंडाबाट भैंसे, भीमफेदी, कुलेखानी, सिस्नेरी हुँदै दक्षिणकालीको बाटो भएर काठमाण्डौ पुग्न सकिन्छ । हेटौंडा–काठमाण्डौ आउजाउका लागि ठूलो गाडीले कान्ति लोकपथ प्रयोग गर्न सक्नेछन् ।

    चितवनबाट पोखरा जानका लागि ठूला तथा साना दुवै गाडी बुटवल हुँदै पोखरा जान सक्नेछन् । यसैगरी साना गाडी चितवनबाट कालीगण्डकी करिडोरको बाटो गैंडाकोट भिमाद हुँदै तनहुँ निस्कन सक्छन् । तर यी वैकल्पिक सडक साँघुरो र धेरै ठाउँमा कच्ची भएकाले धेरै गाडी गुड्दा जाम हुने गरेको छ ।

  • विपिनको रिहाइका लागि आमा र बहिनी अमेरिका प्रस्थान

    विपिनको रिहाइका लागि आमा र बहिनी अमेरिका प्रस्थान

    दोधारा चाँदनी (कञ्चनपुर), असोज ९
    प्यालेस्टिनी लडाकु समूह हमासको कब्जामा रहेका कञ्चनपुरका विपिन जोशीको रिहाइको पहलका लागि आमा पदमा र बहिनी पुष्पा जोशी बुधबार साँझ अमेरिका प्रस्थान गर्नुभएको छ ।

    दाइ विपिनको सकुशल रिहाइका लागि अन्तरराष्ट्रिय दबाब बढाउनका लागि आमालाई लिएर अमेरिका जाने कार्यक्रम तय भएको बहिनी पुष्पाले जानकारी दिनुभयो । “यसअघि इजरायल गएझैँ अन्तरराष्ट्रिय मञ्चमा दाइको सकुशल रिहाइका लागि यसपटक अमेरिका जान लागेका हौँ” उहाँले भन्नुभयो, “दाइको रिहाइको विषय अन्तरराष्ट्रिय विषय भएकाले अन्य देशका नागरिकलाई पनि यसमा आवाज उठाउन विनम्र अनुरोध गर्छु ।”

    विपिनको रिहाइका लागि यसअघि इजरायल सरकारले आमा पदमा र बहिनी पुष्पालाई इजरायल लगेको थियो । यसपटक पनि इजरायलले नै संयुक्त राष्ट्रसङ्घसम्म पुगाउने तयारीका साथ अमेरिका जान सहयोग गरेको जनाइएको छ ।

    गत शनिबार हमासले नियन्त्रणमा रहेका विपिन जोशीसहित ४८ जना बन्धकको ‘बिदाइ तस्बिर’ भन्दै सार्वजनिक गरेको थियो । विपिनको परिवारले इजरायले आक्रमण बढाएपछि दबाब सिर्जना गर्न उक्त तस्बिर सार्वजनिक गरिएको हुनसक्ने आशङ्का गरेको छ । “सरकारले कतारलगायतका देशसँग पहल गरिदिए रिहाइ हुन्थ्यो कि भन्ने लाग्छ”, विपिनका बुबा महानन्द जोशीले भन्नुभयो, “विपिन फर्किन्छन् कि भनेर आशामै दुई वर्र्ष बित्यो । अब छोराको सकुशल रिहाइका लागि सरकारले थप पहल गरोस् ।”

    सुदूरपश्चिम विश्वविद्यालयको ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका विपिनसहित अन्य नेपाली विद्यार्थी हमासको आक्रमणमा परेका थिए । आक्रमणमा परी १० नेपाली विद्यार्थीको ज्यान गएको थियो । रासस

  • नवरात्रको चौथो दिन: कुष्माण्डा देवीको पूजा तथा आराधना गरिँदै

    नवरात्रको चौथो दिन: कुष्माण्डा देवीको पूजा तथा आराधना गरिँदै

    काठमाडौं असोज ९
    आश्विन शुक्ल चतुर्थी अर्थात् नवरात्रको चौथो दिनमा आज देशभरका शक्तिपीठ, देवीमन्दिर तथा घरघरका पूजाकोठामा देवी भवानी कुष्माण्डा माताको पूजा–आराधना भव्य रूपमा गरिन्छ ।

    पौराणिक मान्यताअनुसार सम्पूर्ण ब्रह्माण्डमा व्याप्त जीवित तथा निर्जीव तत्त्व सबै देवी कुष्माण्डाकै कृपाले उत्पन्न भएको हो। सृष्टिको आरम्भ यिनै माताको शक्तिबाट भएको विश्वास गरिन्छ। आफ्नो बलले अण्ड (ब्रह्माण्ड) उत्पन्न गर्न सक्ने भएकाले देवीलाई कुष्माण्डा भनिएको हो।

    धार्मिक ग्रन्थअनुसार सृष्टि रचना हुनु अघि चारैतिर अन्धकार मात्र रहेको समयमा यिनै देवीले आफ्नो शक्तिबाट ब्रह्माण्डको सृष्टि गरेकी थिइन्। त्यसैले कुष्माण्डालाई सृष्टिको आदिस्वरूपा र आदिशक्ति भनिन्छ।

    कुष्माण्डा मातालाई अष्टभुजा पनि भनिन्छ। यिनको आठवटा हातमा क्रमशः कमण्डलु, धनुष, वाण, कमल पुष्प, अमृतपूर्ण कलश, चक्र, गदा र सिद्धि–निधि प्रदान गर्ने माला रहेका छन्। सिंह यिनको वाहन हो।

    धार्मिक मान्यताअनुसार देवीले सूर्य भगवानलाई आफ्नो तापशक्ति दिई प्रज्ज्वलित बनाएर सौरमण्डल र अन्य ग्रहहरूको समेत रचना गरेकी थिइन्।

    कुष्माण्डा देवीलाई कुभिण्डो (कूष्माण्डा) प्रिय लाग्ने भएकाले मन्दिर तथा शक्तिपीठमा कुभिण्डोको बलि दिने परम्परा छ। कुभिण्डो उष्ण वातावरणमा हुर्किने तर शीतल गुण भएको फल भएकाले यसलाई देवीको प्रतीक मानिन्छ।

    कुष्माण्डा देवी सूर्य मण्डलमै वास गर्ने भएकाले यिनको शरीर सूर्य जस्तै देदिप्यमान मानिन्छ। भक्तिपूर्वक पूजाआजा गर्दा आयु, यश, बल, आरोग्य र बुद्धिको वृद्धि हुने धार्मिक विश्वास छ। मालपुवा प्रसाद चढाइने चलन पनि रहेको छ।

    आज देशभरका शक्तिपीठ र नवदुर्गा मन्दिरहरूमा कुष्माण्डा देवीको दर्शन र पूजाका लागि भक्तजनहरूको ठुलो भीड लागेको छ।

    पूजा सामाग्री:

    कुष्माण्डा देवीको पूजा गर्नको निमित्त मूर्ति वा चित्र, पञ्चपात्र, अर्घ, कलश (जलले भरिएको), गंगाजल वा शुद्ध जल, आसन (कपडा), जल छर्कने चम्चा, कमल फूल (उपलब्ध भएमा) राता फूलहरू, दियो, घिउ, बाती, धूप, कपुर, अक्षता, सिन्दूर, चन्दन, अबिर, पञ्चामृत (दूध, दही, घिउ,मह, सख्खर), फलफूल, नरिवल, नैवेद्य (दुग्धजन्य),लौका आदि सामाग्री तयार पार्नुपर्दछ ।

    पूजा विधि:

    बिहान सबेरै उठेर नित्य कर्म सकि शुद्ध वस्त्र धारण गर्नुपर्दछ । पूजा कोठामा कुष्माण्डा माताको मूर्ति वा चित्र स्थापना गरी पवित्र जलले भरिएको कलश स्थापना गर्नुपर्दछ । कलशमा गंगाजल, सुपारी, अक्षता आदि राखी दियो बाल्नुपर्दछ । हातमा जल अक्षता र फूल लिएर आफ्नो र परिवारको नाम, गोत्र र स्थान उच्चारण गरी ॐ मम समस्त पापक्षयद्धारा सर्वशक्तिसंपादनपूर्वक कुष्माण्डा देवीपूजनं करिष्ये । अर्थः म (आफ्नो नाम) सर्वशक्तिको प्राप्तीको कामना गर्दछु ।

    पूजा गरी देवी कुष्माण्डा स्त्रोत्र, कवच वा सप्तसती चण्डी पाठ गर्नु पर्दछ । पूजा सकिएपछि आरती गरी प्रसाद वितरण गर्ने र आफूले पनि ग्रहण गर्नु पर्दछ ।

    कुष्माण्डा देवीको पूजा गर्ने मन्त्र स्

    सुरासम्पूर्णकलशं रुधिराप्लुतमेव च ।

    दधाना हस्तपद्माभ्यां कूष्माण्डा शुभदास्तु मे ।।

  • मुग्लिन सडकमा अलपत्र यात्रुलाई खानेकुरा र औषधि वितरणलाई निरन्तरता दिँदै एमाले चितवनका युवा

    मुग्लिन सडकमा अलपत्र यात्रुलाई खानेकुरा र औषधि वितरणलाई निरन्तरता दिँदै एमाले चितवनका युवा

    चितवन, असोज ८ –
    नारायणगढ–मुग्लिन सडकखण्डमा अलपत्र परेका यात्रुलाई नेकपा (एमाले) चितवन स्वास्थ्य विभाग, राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी चितवन र नेपाल खेलकुद महासंघ जिल्ला कमिटी चितवनले औषधि र खानेकुरा वितरण गरेको छ ।

    आज बिहानैबाट खानेकुरा र चिकित्सक नै लगेर औषधि वितरण गरिएको हो । करिब ९ सय जनालाई वितरण गरिएको राष्ट्रिय युवा संघ नेपाल चितवनका संयोजक सन्तोष श्रेष्ठ ‘मधुपर्क’ ले जानकारी दिए ।

    यही असोज ५ गते पनि मुग्लिन पहिरोमा अलपत्र परेका यात्रुहरुलाई एमालेका युवाहरुले औषधि र खानेकुरा वितरण गरेका थिए । त्यतिखेर भने नेकपा (एमाले) चितवन स्वास्थ्य विभाग र राष्ट्रिय युवा संघ नेपाल भरतपुर महानगर कमिटीले औषधि र खानेकुरा वितरण गरेका थिए ।

    नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका–६ तुइन खोलामा केही दिनदेखि पटकपटक पहिरो खस्दा यात्रुहरुले सास्ती खेपिरहनु परेको छ । सो ठाउँमा गत शुक्रबारदेखि निरन्तर पहिरो खसिरहेको छ । समय समयमा पहिरो पन्छाएर केही सवारी आवागमन गराइएको भए पनि हिजो मंगलबार दिउँसो ४ः३० बजे तुइन खोलामै ठूलो सुख्खा पहिरो खसेको थियो । उक्त पहिरो अझै पन्छाएर सकिएको छैन ।

    ठूलो पहिरो खसेकाले पहिरो पन्छाउन अझै दुई दिन लाग्ने डिभिजन सडक कार्यालय भरतपुरले जनाएको छ । कार्यालयका अनुसार पहिरो पन्छाउन दुई वटा लोडर, एउटा स्काभेटर र एउटा भ्याकुलोडर परिचालन गरिएको छ । दमौलीबाट अर्काे एउटा स्काभेटर समेत ल्याइँदै छ ।

    सडकको १६० मिटर भाग पहिरोले ढाकिएको छ । पहिरोका कारण ठूलो संख्यामा सवारीसाधन लाममा छन् । कतिपय यात्रुवाहक सवारी साधन भने फर्किएर वैकल्पिक मार्गतर्फ लागेका छन् ।
    अलपत्र परेका यात्रुलाई विभिन्न सामाजिक संघ संस्थाले खानेकुरा सहयोग गरिरहेका छन् ।

  • मुलुकको स्वार्थ रक्षाका लागि प्रतिबद्ध छु : अर्थमन्त्री खनाल

    मुलुकको स्वार्थ रक्षाका लागि प्रतिबद्ध छु : अर्थमन्त्री खनाल

    विराटनगर, ८ असोज : 
    अर्थमन्त्री रामेश्वर खनालले मुलुकको स्वार्थ रक्षा गर्न आफू प्रतिबद्ध रहेको बताउनुभएको छ । मोरङ उद्योग व्यापार सङ्घ विरानगरमा आज आयोजित कार्यक्रममा उहाँले मुलुकको सर्वोपरी हितका निम्ति आफूले काम गरेर प्रमाणित गर्ने प्रतिबद्धता जनाउनुभयो ।

    भ्रष्टाचार न्यूनीकरण गर्नका लागि निजी क्षेत्रले पनि सहयोगीको भूमिका निर्वाह गरेको उल्लेख गर्दै अर्थमन्त्री खनालले निजी क्षेत्रकै सल्लाह र सुझावबाट स्वकीयसहित अन्य कर्मचारीलाई हटाउने सरकारले निर्णय गरेको जानकारी दिनुभयो ।

    अर्थमन्त्री खनालले निजी क्षेत्रले नाफा आर्जनसँगै राष्ट्रिय हितमा पनि उभिनुपर्ने बताउँदै दीर्घकालीन परिवर्तनका निम्ति आफूले दत्तचित भएर काम गर्ने विश्वास दिलाउनुभयो ।

    नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय अध्यक्ष चन्द्र ढकालले आयातनिर्यात हुने वस्तुको मूल्याङ्कन वैज्ञानिक प्रणालीबाट हुनुपर्ने धारणा राख्नुभयो । अर्थमन्त्री खनालले मुलुकको आर्थिक गतिविधिलाई क्रियाशील बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्दै उहाँले उच्चस्तरीय आर्थिक सुधार आयोगबाट आएका सुझावलाई कार्यान्वयन गर्न आग्रह गर्नुभयो ।

    सङ्घका अध्यक्ष अनुपम राठीले उद्योगी र व्यापारीहरूको लिखित सुझाव मन्त्री खनाललाई प्रदान गर्नुभयो ।विराटनगर, ८ असोज :
    अर्थमन्त्री रामेश्वर खनालले मुलुकको स्वार्थ रक्षा गर्न आफू प्रतिबद्ध रहेको बताउनुभएको छ । मोरङ उद्योग व्यापार सङ्घ विरानगरमा आज आयोजित कार्यक्रममा उहाँले मुलुकको सर्वोपरी हितका निम्ति आफूले काम गरेर प्रमाणित गर्ने प्रतिबद्धता जनाउनुभयो ।

    भ्रष्टाचार न्यूनीकरण गर्नका लागि निजी क्षेत्रले पनि सहयोगीको भूमिका निर्वाह गरेको उल्लेख गर्दै अर्थमन्त्री खनालले निजी क्षेत्रकै सल्लाह र सुझावबाट स्वकीयसहित अन्य कर्मचारीलाई हटाउने सरकारले निर्णय गरेको जानकारी दिनुभयो ।

    अर्थमन्त्री खनालले निजी क्षेत्रले नाफा आर्जनसँगै राष्ट्रिय हितमा पनि उभिनुपर्ने बताउँदै दीर्घकालीन परिवर्तनका निम्ति आफूले दत्तचित भएर काम गर्ने विश्वास दिलाउनुभयो ।

    नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय अध्यक्ष चन्द्र ढकालले आयातनिर्यात हुने वस्तुको मूल्याङ्कन वैज्ञानिक प्रणालीबाट हुनुपर्ने धारणा राख्नुभयो । अर्थमन्त्री खनालले मुलुकको आर्थिक गतिविधिलाई क्रियाशील बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्दै उहाँले उच्चस्तरीय आर्थिक सुधार आयोगबाट आएका सुझावलाई कार्यान्वयन गर्न आग्रह गर्नुभयो ।

    सङ्घका अध्यक्ष अनुपम राठीले उद्योगी र व्यापारीहरूको लिखित सुझाव मन्त्री खनाललाई प्रदान गर्नुभयो ।

  • कक्षा १२ को मौका परीक्षा सम्पन्न

    कक्षा १२ को मौका परीक्षा सम्पन्न

    भक्तपुर, ८ असोज 
    राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक अर्थात् मौका परीक्षा आज सम्पन्न गरेको छ ।

    गत भदौ २८ र २९ गते सञ्चालन गर्नेगरी तालिका सार्वजनिक गरे पनि ‘जेनजी’ आन्दोलनबाट आएको नयाँ परिस्थितिका कारण सरेको परीक्षा असोज ७ र ८ गते सञ्चालन गर्नेगरी बोर्डले नयाँ तालिका सार्वजनिक गरेको थियो ।

    बोर्डले मङ्गलबार ७ गते अनिवार्य अङ्ग्रेजी (००४१), एक विषयको मात्रै परीक्षा दिने परीक्षार्थीका लागि सबै विषय र दुई विषयमा परीक्षा दिने परीक्षार्थीका लागि आफूले परीक्षा दिने विषयमध्येको सानो कोड नम्बर भएको विषय अर्थात् अनिवार्य अङ्ग्रेजी र अनिवार्य नेपाली दुवै विषयका (पूरक) परीक्षामा सहभागी हुने परीक्षार्थीले पहिलो दिन अनिवार्य अङ्ग्रेजी (००४१) को परीक्षा दिएका थिए ।

    आज दुई विषयमा परीक्षा दिने परीक्षार्थीमध्ये आफूले परीक्षा दिने विषयमध्येको ठूलो कोड नम्बर भएको विषयको परीक्षा सञ्चालन गरेको बोर्डको परीक्षा नियन्त्रण कार्यालयले जानकारी दिएको छ । बोर्डका अनुसार परीक्षा देशभरका सबै परीक्षा केन्द्रमा शान्तिपूर्ण रुपमा सम्पन्न भएको जनाएको छ ।

  • नक्खु कारागारबाट भागेका सहकारी ठगीका आरोपी शर्मा पक्राउ

    नक्खु कारागारबाट भागेका सहकारी ठगीका आरोपी शर्मा पक्राउ

    काठमाडौँ, ८ असोज :
    शिवशिखर बहुउदेश्यीय सहकारी संस्था लिमिटेड भक्तपुरका तत्कालिन सञ्चालक सहकारी ठगीका आरोपी केदारनाथ शर्मालाई आज प्रहरीले पक्राउ गरेको छ ।

    सहकारी ऐन, २०७४ तथा संगठित अपराध निवारण ऐन, २०७० बमोजिमको कसुरमा भक्तपुर जिल्ला अदालतसमेतको आदेशबाट पुर्पक्षको लागि कारागार कार्यालय,नक्खुमा रहेका शर्मा जेनजी आन्दोलनका समयमा फरार भएका थिए ।

    उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोलीले आज ललितपुरको सानेपाबाट पक्राउ गरेको हो ।

    उनलाई आजै कारागार कार्यालय, नक्खु बुझाइएको ब्यूरोका निमित्त प्रवक्ता, प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिनुभयो । कारागार व्यवस्थापन विभागका अनुसार अझै सात हजार कैदीबन्दी फरार रहेका छन् ।

  • डा भट्टराईद्वारा नेसपा (नयाँ शक्ति) को अध्यक्ष पद त्याग

    डा भट्टराईद्वारा नेसपा (नयाँ शक्ति) को अध्यक्ष पद त्याग

    काठमाडौँ, ८ असोज :
    नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले पार्टीको अध्यक्ष पद त्याग गर्नुभएको छ ।

    दीपज्योती बैङ्क्वेट बौद्धमा आज बसेको नेसपा (नयाँ शक्ति)को केन्द्रीय समितिको विशेष विस्तारित बैठकमा अध्यक्ष डा भट्टराईले पदत्याग गर्ने प्रस्ताव पेस गर्नुभएको र केन्द्रीय समितीद्वारा स्वीकृत गरेको सो पार्टीका प्रवक्ता कृष्ण शर्माले राससलाई जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो, “अध्यक्ष भट्टराईको पदत्याग गर्ने प्रस्ताव केन्द्रीय समितीद्वारा स्वीकृत भएको छ । पार्टीका उपाध्यक्ष दुर्गा सोवको अध्यक्षतामा महाधिवेशन आयोजक समिति बनाउने निर्णय गरिको छ ।”

    महाधिवेशनसम्मको निम्ति उपाध्यक्ष दुर्गा सोबलाई संयोजक र महासचिव सोनामसिंह स्याङ्तानलाई सदस्य सचिव तथा पार्टी प्रवक्तामा कृष्ण शर्मालाई तोकिएको सो पार्टीका केन्द्रीय सदस्य टङ्क धमलाले बताउनुभयो । उहाँका अनुसार नेसपा (नयाँ शक्ति) ले आउँदो फागुन महिनासम्ममा आफ्नो पार्टीको विशेष महाधिवेशन गर्ने तयारी गरेको छ ।

  • पहिरोमा परी दुई बालिका बेपत्ता, प्रहरीद्वारा खोजी जारी

    पहिरोमा परी दुई बालिका बेपत्ता, प्रहरीद्वारा खोजी जारी

    सिन्धुपाल्चोक, ८ असोज(रासस) :
    जिल्लाको बलेफी गाउँपालिका–१ जलबिरेस्थित बलेफी–ढाडे भित्री सडक खण्डमा आज दिउँसो पहिरोमा परी दुई बालिका बेपत्ता भएका छन् ।

    चौतारा साँगाचोकगढी नगरपालिका–२ भोटे फुल्पिङ घर भई जुगल गाउँपालिका–२ गोल्छेमा रहेको मामाघर जाँदै गरेका ज्याङजेङ लामाकी छोरी १७ वर्षीया फूलमाया लामा र निजकी बहिनी पाँच वर्षीया मनमाया लामा पहिरोमा परेर बेपत्ता भएको प्रहरी उपरीक्षक तथा जिल्ला प्रहरी प्रमुख रामेश्वर कार्कीले जानकारी दिनुभयो ।

    आज दिउँसो करिब ४ः४५ बजे सडकमाथिबाट लेदो सहितको पहिरोमा परी उनीहरू बेपत्ता भएका हुन् । घटनापछि इलाका प्रहरी कार्यालय जलबिरेबाट प्रहरी निरीक्षक गजेन्द्र रावतको नेतृत्वमा १० जनाको प्रहरी टोली परिचालन भई खोजी कार्य जारी राखिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।