Blog

  • आज दसैँको पाँचौँ दिन : स्कन्दमाताको विधिपूर्वक पूजा गरिँदै

    आज दसैँको पाँचौँ दिन : स्कन्दमाताको विधिपूर्वक पूजा गरिँदै

    काठमाडौं असोज १०
    नवरात्रको पाँचौँ दिन आज दसैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमीअर्थात् दुर्गा पक्षको पाँचौँ दिन स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिन्छ ।

    पौराणिक ग्रन्थमा स्कन्दमाताका विषयमा विभिन्न कथा वर्णन गरिएको छ । पार्वतीको आज्ञालाई स्वीकार गरी सनतकुमारले पार्वतीबाट जन्म ग्रहण गरेकाले स्कन्दमाता नाम रहन गएको भन्ने कथा पाइन्छ ।

    स्कन्दको अर्थ सनतकुमार रहेको छ । स्कन्दमाताको प्रतिमा लक्षणमा यिनी सिंहासनमा बसेकी तथा दुवै हातले कमलपुष्प समाएको हुने विवरण पाइन्छ ।

    नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म हिन्दू नेपालीले बडादसैँ पर्व मनाउँछन् ।

    नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्छ ।

  • मुलुक विकास, सुशासन र न्यायको मार्गमा अघि बढ्नुपर्छ : अध्यक्ष ओली

    मुलुक विकास, सुशासन र न्यायको मार्गमा अघि बढ्नुपर्छ : अध्यक्ष ओली

    काठमाडौँ, ९ असोज
    नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक विकास, सुशासन र न्यायको मार्गमा अघि बढ्नुपर्ने बताउनुभएको छ ।
    भक्तपुरको गुण्डुमा प्रेस चौतारी नेपालका पदाधीकारीसँग आज भएको छलफलमा अध्यक्ष ओलीले लोकतन्त्र र दलीय व्यवस्थाको विकल्प नभएको उल्लेख गर्नुभयो ।
    उहाँले भन्नुभयो, “हामीले देश बचाउनु छ, देशमा सुशासन र विकास गरेर देशलाई अगाडि बढाउनुपर्नेछ ।” उहाँले अभिव्यक्ति स्वतन्त्रताको सबैले सम्मान गर्नुपर्ने धारणा राख्नुभयो ।
  • भ्रष्टाचार न्यूनीकरण, सुशासन र सामाजिक न्यायका लागि सरकार दृढ छ : प्रधानमन्त्री कार्की

    भ्रष्टाचार न्यूनीकरण, सुशासन र सामाजिक न्यायका लागि सरकार दृढ छ : प्रधानमन्त्री कार्की

    काठमाडौँ, ९ असोज : 
    प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचार न्यूनीकरण, सुशासन र सामाजिक न्यायका लागि वर्तमान सरकार दृढ रहेको स्पष्ट गर्नुभएको छ ।

    सिंहदरबारबाट आज राष्ट्रका नाममा पहिलो सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले सरकारका कुनै पनि निकायमा ढिलासुस्ती, भ्रष्टाचारजन्य वा झञ्झटपूर्ण कार्य भएमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका साथै तीनै तहका सम्बन्धित सरकारी निकायमा उजुरी दिन ‘हटलाइन’को प्रबन्ध गरिएको जानकारी दिनुभयो ।

    प्रधानमन्त्री कार्कीले संविधान संशोधनसम्बन्धी मुद्दाको सम्बोधन जननिर्वाचित संसद्बाट गर्न आग्रह गर्दै जेनजी समूहको आन्दोलनको मर्म र भावनाबमोजिम सरकार सञ्चालन गरिरहेको सरकारलाई सहयोग गन सबैसँग आग्रह गर्नुभयो । उहाँले चालु आर्थिक वर्षअन्तर्गतका स्रोत सुनिश्चित नभएका र टुक्रे आयोजनाका नाममा विनियोजित बजेट  खारेज गरिएको जानकारी गराउँदै क्षतिग्रस्त भौतिक संरचना निर्माणका लागि ‘पुनःनिर्माण कोष’ स्थापना गरिएको बताउनुभयो ।

    प्रधानमन्त्री कार्कीले परिवर्तित स्थितिमा मनोबन गिराउने खालका काम नगर्न र रुपान्तरित भएर सेवाप्रवाह गर्न सम्पूर्ण राष्ट्रसेवक कर्मचारीसँग अपिल गर्नुभयो ।

  • तुइन खोला पहिरोः ६० प्रतिशत पन्छाइयो, रातिसम्म सञ्चालन गर्ने तयारी

    तुइन खोला पहिरोः ६० प्रतिशत पन्छाइयो, रातिसम्म सञ्चालन गर्ने तयारी

    काठमाडौं, असोज ९-
    मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५, तुइन खोला पुल नजिक पहिरो ६० प्रतिशत पन्छाइएको छ ।

    सडक डिभिजन भरतपुरका अनुसरा हाल सम्म ६० प्रतिशत पहिरो पन्छाइएको र रातिसम्म सञ्चालन गर्ने तयारी रहेको छ ।

    “काम गर्ने क्षेत्र साँघुरो भएकोले गर्दा एकपटकमा दुवैतर्फबाट कुल पाँचवटा उपकरणले मात्रै काम गर्न सक्ने अवस्था रहेको छ,” सडक डिभिजनले आज (बिहीबार असोज ९) दिउँसो पौने ३ बजे जारी गरेको सूचनामा उल्लेख छ ।

    “पहिरोको थुप्रोमा ढुंगाहरूको मात्रा बढी भएको र स–साना तिखा ढुंगाहरूका कारण टायर पन्चर हुने, ढुंगाले लागेर अपरेटर घाइते हुनेजस्ता समस्याहरूले गर्दा सोचेअनुसारको प्रगति हुन नसकिएकोले हेभी इक्प्युमेन्ट डिभिजन हेटौँडा र डुम्रेबाट दुईजना अपरेटरहरू पनि थप गरिएको छ,” सडक डिभिजनले भनेको छ ।

    “कुनै पनि बाधा आई नपरे निरन्तर रूपमा कार्य गर्न सकिएको खण्डमा सम्भवतः आज रातिसम्ममा पूर्ण रूपमा पहिरो हटाई आवागमन सञ्चालनमा ल्याउने आकलन गरिएको छ,” सडक डिभिजनले भनेको छ ।

  • विधिबाटै नेतृत्व हस्तान्तरण गर्ने प्रचण्डको उद्‌घोष

    विधिबाटै नेतृत्व हस्तान्तरण गर्ने प्रचण्डको उद्‌घोष

    काठमाडौं ९ असोज –
    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विधिबाटै नेतृत्व हस्तान्तरण गर्ने उद्‌घोष गरेका छन् ।

    युवा पुस्ताले रुपान्तरण चाहिरहेका बेला प्रचण्डले आफ्नो पार्टीमा नेतृत्व हस्तान्तरण विधिबाटै हुने बताएका हुन् ।

    एक केन्द्रीय सदस्यका अनुसार नेतृत्व सँधै अध्यक्षकै हातमा हुनुपर्छ भन्ने नरहेको उल्लेख गर्दै उनले कसैले कसैलाई ल नेतृत्व गर भनेर पनि नेतृत्व हस्तान्तरण नहुने बताएका छन् ।

    ‘विधिबाटै नेतृत्व हस्तान्तरण हुन्छ’ प्रचण्डको उद्‌घोष छ । यी लगायतका विाय समेटेर प्रचण्डले आफ्नो सम्बोधन सकाएका छन ।

    प्रचण्डपछि वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ बोलिरहेका छन् । अनय पदाधिकारीले समेत बोल्न चाहे पाउनेछन् । त्यसपछि प्रदेश अध्यक्षबाट रिर्पोटिङ लिने र समूहगत छलफल गरेर बैठक सकाउने माओवादीको तयारी छ ।

  • झोलुङ्गे पुललाई सजावट : आन्तरिक पर्यटकको नयाँ आकर्षण

    झोलुङ्गे पुललाई सजावट : आन्तरिक पर्यटकको नयाँ आकर्षण

    कञ्चनपुर, असोज ९ –
    शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडी गाउँ नजिकैको अनौखी खोला, बीचमा कलकल बगेको पानी र माथि झुलिरहेको झोलुङ्गे पुल । रङ्गीबिरङ्गी झण्डासँग सजिएको यो पुल अहिले गाउँको नयाँ आकर्षण बनेको छ ।

    कृष्णपुर–१ का कबिन्द्रसिंह धामीले आफ्नै खर्चबाट २० हजार रुपैयाँ खर्च गरेर पुल सजाएका छन । पहिले साधारण देखिने पुल अहिले फोटोग्राफी प्रेमी र आन्तरिक पर्यटकका लागि आकर्षकस्थल बनेको छ । केही समयअघिसम्म धामी कैलालीको गोदावरी पुलमा फोटोग्राफी गरेर जीविकोपार्जन गर्दै आउनु भएको थियो । “काम रमाइलो भए पनि, कमाइ प्रायःबस–भाडा र खानपिनमै सकिन्थ्यो उहाँले भन्नुभयो, “किन आफ्नै गाउँमा केही नयाँ गर्न सकिँदैन भनेर सोचे, गाउँ नजिकैको अलपत्र रहेको पुललाई सजाउने निधो गरे सजाए, अहिले यो नगरपालिका क्षेत्रका बासिन्दाको आकर्षणको केन्द्र बनेको छ ।”

    पर्यटक आउदा गाउँको सुन्दरता अनुभव गर्न सकुन भने उद्देश्यले पुल सजावटमा लगानी गरेको उहाँ बताउनु हुन्छ । “प्राकृतिक दृश्यसँगै सजावट मिसिँदा अझै सुन्दर फोटो आउँछ,” उहाँ भन्नुहुन्छ, “त्यै भएर पर्यटकले यस क्षेत्रलाई गन्तव्य बनाएका छन ।”

    धामी यतिमै रोकिएका छैनन् । उहाँको अर्को योजना नजिकैको पक्की पुललाई पनि झण्डा र रङ्गीन सजावटले आकर्षक बनाउने रहेको छ ।

    पुलमा सजावट गरिएपछि दैनिक सयौँ मानिस घुम्न आउन थालेका छन् । फोटो खिच्नेको भीडले गाउँमा नयाँ उत्साह ल्याएको स्थानिय रामबहादुर साउदले बताउनुभयो ।

    “अलपत्र अबस्थामा रहेको पुल पर्यटकको गन्तव्य बनेको नै छ” उहाँले भन्नुभयो, “गाउँका बासिन्दाको आय आर्जनमा बृद्धि हुन थालेको छ, गाउँमा उत्पादन भएका फलफुल, खाद्य सामग्री बिक्री हुन थालेका छन ।”

    पुलमै मोवाइल फोनको क्यामेरामा सेल्फी लिदै गरेका भेटिएका टेकबहादुर साउद भन्छन्, “पहिले हाम्रो गाउँ सामान्य मात्र थियो, तर अब पुलले नयाँ पहिचान दिएको छ, यो केवल फोटो खिच्ने ठाउँ मात्र रहेन, हाम्रो गाउँको पर्यटन विकासको आधार बन्न थालेको छ ।”

    उहाँ अगाडी थप्दै भन्नुहुन्छ, “पहिले यहाँ कोही आउँदैनथ्यो, अब त फोटो खिच्न मात्र नभई रमाउन आउनेको पनि भीड लाग्छ ।” तीनतर्फ नदीले र अर्कोतर्फ घना वन क्षेत्रले जोडिएको बेलडाँडी गाउँ जोडनका लागि दशकअघि झोलुङ्गे पुल निर्माण गरिएको थियो । निर्माण भएको वर्ष दिन नपुग्दै त्यस नजिकै पक्कि मोटेरेवल पुल बनेपछि झोलुङ्गे पुलमा आवतजावत बन्द भएको थियो ।

    त्यस पुललाई नगरपालिको अन्यत्र लगेर जडान गर्न चासो नदेखाएपछि अलपत्र अबस्थामै थियो । छिमेकी गाउँका युवाले पुल सजावट गरिदिएपछि यसले चर्चा पाएको साउदको भनाइ रहेको छ । रासस

  • लहान वितरण केन्द्रमा ४४ करोडभन्दा बढी विद्युत् बक्यौता

    लहान वितरण केन्द्रमा ४४ करोडभन्दा बढी विद्युत् बक्यौता

    सिरहा, असोज ९ –
    नेपाल विद्युत् प्राधिकरणको लहान वितरण केन्द्रमा बक्यौता रकम रु ४४ करोड नाघेको छ । आर्थिक वर्ष २०८२/८३ को साउन मसान्तसम्मको तथ्याङ्कअनुसार बाँकी बक्यौता रु ४४ करोड ९२ लाख ५७ हजार १८४ रहेको छ ।

    कार्यालयले बक्यौता असुल गर्न विद्युत् लाइन काट्ने अभियान सञ्चालन गरेपछि हालसम्म रु १७ लाख ३२ हजार ३१२ सङ्कलन गर्न सफल भएको छ । वितरण केन्द्रका प्रमुख अवधेशकुमार गुप्ताका अनुसार बाँकी बक्यौता रकम तिर्नुपर्नेमा उद्योग, सरकारी कार्यालय र कृषि सिँचाइ मिटरका ग्राहकहरू रहेका छन् ।

    “कृषि सिँचाइ मिटरअन्तर्गत लहान नगरपालिकाले मात्रै रु एक करोड ३९ लाख ८७ हजार ६२२ तिर्न बाँकी छ”, प्रमुख गुप्ताले भन्नभयो, “गत असार २५ गते पत्र काटिएको भए पनि हालसम्म नगरपालिकाले कुनै भुक्तानी गरेको छैन ।”

    प्राधिकरणको नियमअनुसार उपभोक्ताले ६० दिनभित्र विद्युत् महसुल तिर्नुपर्ने व्यवस्था भए पनि लहान वितरण केन्द्रमा औसतमा नौ महिनासम्म पनि बक्यौता असुल हुन नसकेको उहाँको भनाइ छ । “अब बाँकी रकम असुल गर्न लाइन काट्नुबाहेक हामीसँग अर्को विकल्प छैन”, गुप्ताले भन्नुभयो ।

    विद्युत् चुहावटको अवस्था पनि वृद्धि हुँदै गएको छ । आव २०८०र८१ मा चुहावट दर ३१ दशमलव ६५ प्रतिशत रहेकामा आव २०८१र८२ मा बढेर ३८ दशमलव १० प्रतिशत पुगेको प्रमुख गुप्ताले जानकारी दिनुभयो । उहाँका अनुसार चालु आवको साउन मसान्तसम्ममा यो दर बढेर ४४ दशमलव ४६ प्रतिशत पुगेको छ । यसैबीचमा प्राधिकरणले ७०३ जना ग्राहकलाई कारबाही गरी रु ३१ लाख ५४ हजार २२५ चुहावट महसुल असुल गरेको कार्यालयले जनाएको छ ।

    सिरहामा प्राधिकरणका लहान, मिर्चैया र सदरमुकाम गरी तीन वटा वितरण केन्द्र रहेका छन् । लहान वितरण केन्द्रअन्तर्गत लहान, सुखीपुर, धनगढीमाई नगरपालिका र बरियारपट्टी, विष्णुपुर, औरही, लक्ष्मीपुर पतारी, नवराजपुर तथा भगवानपुर गाउँपालिका रहेका छन् । रासस

  • ज्वाङखोला र तिङराङखानीमा पहिरोका कारण पृथ्वीराजमार्गमा यातायात अवरुद्ध

    ज्वाङखोला र तिङराङखानीमा पहिरोका कारण पृथ्वीराजमार्गमा यातायात अवरुद्ध

    मलेखु (धादिङ), असोज ९
    धादिङको बेनिघाट रोराङ गाउँपालिका–१० स्थित ज्वाङखोला र तिङराङखानीमा पहिरोका कारण पृथ्वीराजमार्गमा यातायात अवरुद्ध भएको छ । सडकमा ठूलो परिमाणमा माटो र ढुङ्गा खस्दा सवारी आवागमन दुवैतर्फ रोकिएको हो । आज बिहान करिब १० बजेबाट पहिरो झर्न सुरु भएको हो ।

    हाल सडकमा यातायात सञ्चालनका लागि पहिरो हटाउने काम भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरी धादिङका प्रहरी निरीक्षक सुरज श्रेष्ठले जानकारी दिनुभयो ।

    दसैँ सुरु भएसँगै घर फर्किने यात्रुको चाप बढिरहेको अवस्थामा राजमार्ग बन्द हुँदा हजारौँ सवारी साधन बाटैमा रोकिएका छन् । रोकिएका सवारी साधनलाई सम्भावित जोखिम कम हुने सुरक्षित स्थानमा सार्न सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक भेषराज रिजालले जानकारी दिनुभयो ।

    अवरुद्ध स्थान नजिकै मात्र नभई अन्य ठाउँमा पनि पहिरोको उच्च जोखिम रहेको भन्दै यात्रुलाई सतर्क रहन र आवश्यक परे वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ ।

    बेनिघाट रोराङ गाउँपालिका–१० जवाङखोलामा यसअघि (सोमबार राति) सुक्खा पहिरो खस्दा १७ घण्टा पृथ्वीराजमार्ग दुईतर्फी अवरुद्ध बनेको थियो । बुधबार बेलुका झरेको पहिरो आज बिहान
    पन्छाएर सडक सञ्चालन गराइएको थियो । रासस

  • चन्द्रागिरिमा महिलाको हत्या, एक युवक पक्राउ

    चन्द्रागिरिमा महिलाको हत्या, एक युवक पक्राउ

    ९ असोज, काठमाडौं ।
    चन्द्रागिरि नगरपालिका–१ दहचोकमा खहरे थापागाउँमा एक महिलाको हत्या भएको छ । हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

    जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी पूर्णिमा चन्दका अनुसार पक्राउ पर्नेमा ३२ वर्षीय सरोज थापा छन् । थापागाउँ नै घर भएका सरोजले चन्द्रागिरि नगरपालिका–६ चेकपोष्ट महादेवस्थान घर भइ खहरे थापागाउँ माइतीघरमा बसेकी ६८ वर्षीया पवित्रा केसीको हत्या गरेको आरोप छ ।

    दाउराको चिर्पटले टाउकामा हानेर हत्या गरिएको प्रहरीले बताएको छ । हत्याको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

    मृत महिलाको शव पोष्ट मार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ ।

  • दसैँको दिनबाहेक अन्य दिन अध्यागमन विभागले सेवा जारी राख्ने

    दसैँको दिनबाहेक अन्य दिन अध्यागमन विभागले सेवा जारी राख्ने

    काठमाडौँ, असोज ९ –
    अध्यागमन विभागले बडादसैँको सार्वजनिक बिदाको अवधिमा दसैँको दिनबाहेक अन्य दिनमा पर्यटक भिसा र एजेन्सी शाखा खुला राख्ने भएको छ ।

    यही असोज १६ गते विजयादशमीका दिनबाहेक अन्य दिनमा बिहान ११ः०० बजेदेखि दिउँसो १ः०० बजेसम्म यस विभागको पर्यटक भिसा शाखा र एजेन्सी शाखाबाट प्रदान गरिने सेवा सञ्चालन गरिने विभागले जनाएको हो ।

    विभागका अध्यागमन अधिकृत शिवकुमार अधिकारीले एक सूचना प्रकाशित गरी यस अवधिमा हुने सार्वजनिक बिदामा मुख्य दिनबाहेक सबै दिनमा सेवा सञ्चालनमा रहने जानकारी दिनुभएको हो । रासस