Blog

  • भीमसेनस्थान नजिक आगलागी , क्षतिको पूर्ण विवरण आउन बाँकी

    भीमसेनस्थान नजिक आगलागी , क्षतिको पूर्ण विवरण आउन बाँकी

    काठमाडौँ, असोज १३-
    काठमाडौँ महानगरपालिका वडा नं २० को वडा कार्यालय भीमसेनस्थान नजिकको घरमा आगलागी भएको छ ।

    नेपाली सेना, काठमाडौँ महानगरपालिका र ललितपुर महानगरपालिका सहित ६ वटा दमकल, नेपाल प्रहरी तथा स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक पूर्णिमा चन्दले जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो, “बिहान करिब ४ आगलागी भएको थियो । दमकल, सेना प्रहरी र स्थानीयको सहयोगमा आगलागि नियन्त्रणमा आएको छ । क्षतिको विवरण सङ्कलन हुँदै छ ।”

  • कारागार कार्यालय चितवनबाट फरार कैदीबन्दीलाई असोज २० गतेसम्म सम्पर्कमा आउन आग्रह

    कारागार कार्यालय चितवनबाट फरार कैदीबन्दीलाई असोज २० गतेसम्म सम्पर्कमा आउन आग्रह

    चितवन, असोज १३ –
    कारागार कार्यालय चितवनले फरार कैदीबन्दीलाई सम्पर्कमा आउन आग्रह गरेको छ । कार्यालयले एक सूचना जारी गर्दै गत भदौ २५ गते कारागार कार्यालयबाट बाहिर निस्किएका कैदीबन्दीलाई यही असोज २० गतेसम्म सम्पर्कमा आउन आग्रह गरको हो ।

    कारागारले तोकेको समयसम्म सम्पर्कमा नआएमा कारागार ऐन, २०७९ र प्रचलित कानुन अनुसार कारबाही गरिने सूचनामा उल्लेख छ । कार्यालयका प्रमुख रवीन्द्रप्रसाद ढुङ्गानाद्वारा जारी सूचनामा फरार रहेका कैदीबन्दीलाई लुकाउने, आश्रय दिने गरेको पाइएमा आश्रय दिने व्यक्तिलाईसमेत कसुरदार ठानी कारबाही गरिने जनाइएको छ ।

    कैदीबन्दी कतै रहेको जानकारी भए नजिकको प्रहरी कार्यालयलमा जानकारी गराएर सहयोग गरिदिनुहुनसमेत सूचनामा भनिएको छ । कारागार कार्यालयबाट गत भदौ २५ गते सात सय ४२ कैदीबन्दी भागेका थिए । जसमध्ये पाँच सय ६१ जना कारागारको सम्पर्कमा आएका छन् भने अन्य जिल्लामा रहेका कारागारमा आठजना सम्पर्कमा आएका छन् । साथै अन्य जिल्लाबाट भागेका १७ जना कैदीबन्दी यस कारागारमा सम्पर्कमा रहेको उहाँले जानकारी दिनुभयो । रासस

  • अर्घाखाँचीमा जीप दुर्घटनाः दुईजनाको मृत्यु, २४ घाइते

    अर्घाखाँचीमा जीप दुर्घटनाः दुईजनाको मृत्यु, २४ घाइते

    अर्घाखाँची असोज १३-
    अर्घाखाँचीको सन्धिखर्क ९ टारीमा जीप (फोर्स गाडी) दुर्घटना हुँदा दुई जनाको मृत्युु भएको छ भने २४ जना घाइते भएका छन् । सन्धिखर्क–ढोरपाटन सडक खण्डमा बुटवलबाट गुल्मीको पुर्कोटदह तर्फ जाँदै गरेको लु १ ज ४७२३ नं. को सो जीप आज बिहान दुर्घटना भएको हो । दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख दिवस जिसीले जानकारी दिनुभयो । उहाँका अनुसार सोही घटनामा २४ जना घाइते भएका छन् । घाइते मध्ये चार जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

    मृत्यु हुनेमा गुल्मी मदाने गाउँपालिका–६ पुर्कोटका १० वर्षीय अरुणा थापा र मदाने –७ नेटा खर्कका १३ वर्षीय नारायण पौडेल रहेका जिल्ला प्रहरी कार्यालयका प्रमुख जिसिले बताउनुभयो । घाइतेको अर्घाखाँची अस्पतालमा उपचार भैरहेको छ । एकजना घाइतेलाई थप उपचारका लागि बुटवल ‘रिफर’ गरिएको छ । रासस

  • आज नवरात्रको सातौँ दिन:  माता कालरात्रि देवीको पूजा गरिँदै

    आज नवरात्रको सातौँ दिन: माता कालरात्रि देवीको पूजा गरिँदै

    काठमाडौं असोज १३

    बडादसैँको अवसरमा आज सप्तमी अर्थात् फूलपाती पर्व मनाइँदै छ। यस दिन शक्तिस्वरूपा भगवतीको सातौँ रूप माता कालरात्रिको पूजा आराधना गर्ने परम्परा रहेको छ।

    कालो वर्ण, गधा वाहन, तीन आँखा र चार हात भएकी कालरात्रि देवीले क्रमशः तरबार, मसाल, वरमुद्रा र अभयमुद्रा धारण गरेकी छिन्। उनको स्वरूप डरलाग्दो भए पनि भक्तजनलाई शुभ फल दिने भएकाले उनलाई ‘शङ्करी’ नामले पनि चिनिन्छ। मान्यता अनुसार, देवी कालरात्रिको स्मरण गर्दा दानव, दैत्य, राक्षस, भूतप्रेत भाग्ने विश्वास गरिन्छ।

    शास्त्रीय विश्वासअनुसार, सप्तमीका दिन देवी कालरात्रिको आराधनाले भक्तजनलाई साहस, धैर्य र आत्मविश्वास प्रदान गर्छ। साथै, जीवनका समस्याहरू समाधान गर्ने शक्ति प्राप्त हुने तथा शत्रु नाश हुने भनाइ छ। यस दिन देवीलाई सख्खर अर्पण गर्ने र गरिबलाई दान गर्ने परम्परा छ, जसले दरिद्रता निवारण हुने विश्वास गरिन्छ।

    कृत्यतत्वार्णमा फूलपातीका लागि नौ प्रकारका पत्रिका—केरा, काली बेसार, हलेदो, जयन्ती, बेल, अनार, अशोक, मानेकर्कलो र धानको उल्लेख गरिएको छ। पूजामा रातो–निलो वस्त्र, रातो फूल तथा नैवेद्य अर्पण गरिन्छ।

    यसै दिन सरस्वती माताको पनि आराधना गरिन्छ। साथै गोरखा दरबारबाट काठमाडौँ दरबारमा फूलपाती ल्याउने ऐतिहासिक परम्परा पनि आजकै दिनसँग सम्बन्धित छ।

    सप्तमी पूजा

    प्रतिपदामा गरिएको सङ्कल्प अनुसार फलश्रुतिको कीर्तन गरेपछि–अद्य सम्तम्यां नवपत्रिकामृन्मयदुर्गापूजाबलिदानानी करिष्य भन्ने सङ्कल्प गरी पहिले निमन्त्रित गरिएको बेलवृक्षको फेदमा गएर दुर्गा र बेलबृक्षको पूजा गर्नुपर्दछ । त्यसपछि प्राथना गर्नुपर्दछ ।

    प्राथनाः
    ॐ महिषध्नि महामाये चामुण्डे मुण्डमालिनी ।

    आयुरारोग्यमैश्वर्य देहि देवि नमोऽस्तुते ।।

    कुङ्कुमेन समालब्धे चन्दनेन विलेपिते ।

    बिल्वपन्नकृतापीडे दुर्गेऽहं शरणं गतः ।।

    रुपं देहि यहो देहि भगं भगवति देहि मे ।

    पुत्रान्देही धनं देहि सर्वान्कामांच्च देहि मै ।।

    सर्वमाङ्गलमाङ्गल्ये इति च साम्प्राथ्र्य पत्रिकाः पूजयेत ।

    दुर्गा स्तुति:
    दुर्गा शिवां शान्तिकारीं ब्रहाणीं म्रहणः प्रियाम् ।

    सर्वलोकप्रणेत्रीं च प्रणमासि सदाशिवाम् ।

    मंङ्गलां शोभनां शुद्धां निष्कलां परमां कलाम् ।

    विश्वेश्वरीं विश्वमाता चण्डिकां प्रणमाम्यमह् ।।

    उत्त विधिद्वारा नवपत्रिकाहरूमा विभिन्न पूजा गरेपछि स्तुति गर्नुपर्दछ । दुर्गा स्तुति यस प्रकार रहेको छ–

    म दुर्गा, शिवा, शान्तिकरी, ब्रहणप्रिय, सर्वलोकप्रणेतु शिवालाई प्रणाम गर्दछु ।

    म मङ्गला, शोभना, शुद्धा, निष्कला, परमा, कला, विश्वेश्वरी, विश्वमाता, भगवती चण्डिकालाई प्रणाम गर्दछु ।

    म सर्वदेवमयी अर्थात बसै देवताका तजबाट प्रकाशित भएकी, सबै किसिमका आधि–व्याधिको नाश गर्नुहुने, ब्रहाविष्णुशिववन्दिता अर्थात ब्रह, विष्णु र शिवबाट प्रणाम गरिएकी उमा भगवतीलाई प्रणाम गर्दछु ।

    विन्ध्याचलमा विराजमान भएकी विन्ध्यपर्वतमा घर बनाई स्थिर रूपमा रहनु हुने, दिव्य समाजमा रहनु हुने, दिव्य समाजमा निवास गर्न मन पराउनु हुने,भक्तहरुलाई संसारसागरबाट तार्नुहुने भगवती दुर्गाको नित्य वन्दना गर्दछु ।

    यसरी जसले यस स्तुतिको पाठ गर्दछ वा श्रवण गर्दछ त्यो भक्त सबै पापबाट मुक्त भई दुर्गा भगवतीको समीपमा वस्नपाई रमाउँछ भनेर शास्त्रको वचन रहेको छ ।

    यस विशेष सातौँ दिन दुर्गाको सातौँ स्वरुप कालरात्रिको विधि विधान अनुसार अनुष्ठान गरेर गणेशको रूपमा स्थापना गरिएको कलशको छेउमा नौ वटा स–साना ढुङ्गाहरूलाई नवदेवीका प्रतिमाका रूपमा स्थापित गरी नैवेद, फलफूल आदि चढाएर पूजा गर्ने गरिन्छ ।

    कालरात्रीको मन्त्र
    ॐ जयंती मंगला काली भद्रकाली कपालिनी।

    दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोस्तु ते।।

    जय त्वं देवि चामुण्डे जय भूतार्तिहारिणि।

    जय सर्वगते देवि कालरात्रि नमोस्तु ते ।।

  • समाचार सङ्कलनका क्रममा दुर्घटनामा परेका पत्रकारलाई काउन्सिलले सहयोग गर्ने

    समाचार सङ्कलनका क्रममा दुर्घटनामा परेका पत्रकारलाई काउन्सिलले सहयोग गर्ने

    काठमाडौँ, १२ असोजः 
    प्रेस काउन्सिल नेपालले मुग्लिङ–नारायणगढ सडकखण्डमा पहिरो गई सडक अवरुद्ध भएको समाचार सङ्कलनका लागि जाँदै गर्दा दुर्घटनामा परेर घाइते भएका पत्रकारलाई आर्थिक सहयोग गर्ने भएको छ ।

    काउन्सिल बोर्डको आजको बैठकले पत्रकार अनिल ढकाल, सुजन पौडेल तथा ‘जेनजी’ प्रदर्शनमा समाचार सङ्कलनका क्रममा घाइते भएका पत्रकारलाई काउन्सिलमा रहेको पत्रकार कल्याण कोषबाट सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।

    यस्तै, जोखिमयुक्त क्षेत्रमा समाचार सङ्कलन गर्दा सुरक्षा संवेदनशीलता अपनाउन र कुनै दुर्घटना भएको अवस्थामा तत्काल उपचारमा ध्यान दिन सञ्चारमाध्यमलाई आग्रह गरिएको छ । पत्रकार आचारसंहिता प्रतिकूल केही सामग्री सम्प्रेषण भइरहेको र यस्तो प्रवृत्ति बढ्न सक्ने भन्दै आचारसंहिता प्रतिकूल सामग्रीको सूक्ष्म अनुगमन गरी यही महिनाभित्र विज्ञसहितको उपस्थितिमा विस्तृत छलफल गर्ने निर्णय भएको पनि काउन्सिलले जनाएको छ ।

    साथै बैठकले यसअघिका प्रदर्शनमा सञ्चारमाध्यममाथि भएका आक्रमणप्रति दुःख व्यक्त गरेको छ ।

  • उपत्यकामा छ हजार १०० भन्दा बढी प्रहरी परिचालन गरिने

    उपत्यकामा छ हजार १०० भन्दा बढी प्रहरी परिचालन गरिने

    काठमाडौँ, १२ असोजः 
    चाडपर्वलाई लक्षित गरेर यस वर्ष काठमाडौँ उपत्यकामा छ हजार १०० भन्दा बढी प्रहरी परिचालन गरिने भएको छ ।

    उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरमा चाडपर्वलक्षित विशेष सुरक्षा योजनाअनुसार छ हजार १०० भन्दा बढी प्रहरी परिचालन गरिने तयारी गरिएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) दानबहादुर कार्कीले जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो, “दसैँ, तिहार तथा छठ पर्वहरूमा चोरी, डकैती, लुटपाटजस्ता घटनाहरू बढी हुने भएकाले सोहीअनुसारको रणनीति बनाएर काम सुरु गरिएको छ । जिल्ला प्रमुखहरूको कमान्डमा प्रहरी परिचालन हुनेछन् ।”

    अपराधजन्य घटना न्यूनीकरणका लागि प्रहरीको पट्रोल टोलीसहितको गस्ती, साइकलगस्ती, नाकाहरूमा ‘डग स्निफिङ’, सादा पोसाकका प्रहरी परिचालन, ‘सिआरभी’, ‘क्युआरटी’लाई तयारी अवस्थामा राखेर काम सुरु गरिएको प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले बताउनुभयो ।

    यसैगरी काठमाडौँ उपत्यकाका तीन जिल्लामा ७८ स्थानमा यात्रु सहायताकक्ष स्थापना गरी काम सुरु गरिएको र ‘ड्रोन’बाट समेत निगरानीको काम हुने भएकाले निर्धक्क र चनाखो भएर दसैँ, तिहारलगायत चाडपर्व मनाउन प्रहरीले आग्रह गरेको छ ।

    ‘जेनजी’ प्रदर्शनका क्रममा कारागारमा रहेका केही कैदीबन्दी पनि फरार रहेकाले यस वर्ष चोरी, लुटपाटलगायत घटना हुनसक्ने भएकाले टोल, छिमेकमा नयाँ व्यक्ति अथवा फरार रहेका व्यक्ति देखिएको खण्डमा प्रहरीलाई खबर गर्न प्रहरीले सबैमा अनुरोधसमेत गरेको छ ।

    सम्भावित अपराध रोक्न तथा न्यूनीकरण गर्न काठमाडौँ उपत्यकाका १८ वटै प्रहरी नायब उपरीक्षकको कमान्डमा टोली बनाइएको र कुनै पनि घटना भएमा कम्तीमा तत्काल घटनास्थलमा पुग्नेगरी व्यवस्था मिलाइएको एआइजी कार्कीले बताउनुभयो ।

  • ओलीसहित ५ जनाको पासपोर्ट रोक्का गर्ने निर्णयमा एमालेको गम्भीर आपत्ति

    ओलीसहित ५ जनाको पासपोर्ट रोक्का गर्ने निर्णयमा एमालेको गम्भीर आपत्ति

    काठमाडौं, असोज १२
    नेकपा एमालेले पूर्वप्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको राहदानी रोक्का राख्न गरिएको सिफारिसप्रति आपत्ति जनाएको छ।

    आइतबार भक्तपुरको गुण्डुमा बसेको सचिवालयको बैठकले आपत्ति जनाएको हो।

    ‘अध्यक्ष ओलीसहितको राहदानी रोक्काका लागि सिफारिस गरिएका समाचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ उपमहासचिव प्रदीप ज्ञवालीले भने, ‘यसअघि नै गृह मन्त्रालयमार्फत मिडिया ट्रायल गराएर अनि दसैंको मौका पारेर गरिएको यस राजनीतिक प्रतिशोधयुक्त कदमप्रति केन्द्रीय सचिवालय गम्भीर आपत्ति प्रकट गर्दछ।’

  • ‘जेनजी’ प्रदर्शनका घाइतेको वर्गीकरणका लागि प्राविधिक समिति गठन गरिने

    ‘जेनजी’ प्रदर्शनका घाइतेको वर्गीकरणका लागि प्राविधिक समिति गठन गरिने

    काठमाडौैँ, १२ असोजः
    सरकारले ‘जेनजी’ प्रदर्शनका क्रममा घाइते भएकाहरूको वर्गीकरण गर्न प्राविधिक समिति गठन गरी तत्काल काम अगाडि बढाउने भएको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले प्राविधिक समितिको वर्गीकरणपश्चात् त्यस आधारमा घाइतेलाई उचित राहतको व्यवस्था गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिनुभयो ।

    बैठकले गत भदौ २३ र २४ गतेको प्रदर्शनमा घाइते भएका व्यक्तिको पहिचान एवं सहज र प्रभावकारी उपचारको व्यवस्थाका लागि गृह मन्त्रालयमार्फत परिचयपत्रको व्यवस्था गर्ने, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले घाइतेको पुनःउपचार (फलो अप)का लागि अस्पताल तोक्ने र ती अस्पतालमा ‘जेनजी क्लिनिक’ सञ्चालन गर्ने निर्णय गरेको छ । पुनःउपचारमा जाने घाइतेलाई निःशुल्क आवतजावत तथा घाइतेको उपचारमा सहजीकरण गर्न स्वास्थ्य मन्त्रालयले हटलाइनको व्यवस्था र सम्पर्क व्यक्ति तोक्ने निर्णयसमेत गरिएको प्रवक्ता खरेलले जानकारी दिनुभयो ।

    मन्त्रिपरिषद्ले मुग्लिन–पोखरा सडकअन्तर्गत चितवनको मुग्लिनदेखि तनहुँको आँबुखैरेनीसम्म हालको राजमार्गको समानान्तर मुग्लिन बजार पारी गोरखातर्फदेखि मस्र्याङ्दी विद्युत् गृहको विपरित गोरखा तर्फसम्म थप सडकको रेखाङ्कन स्वीकृत गरेको छ । उक्त सडकको केन्द्र रेखाबाट दायाँबायाँ १५÷१५ मिटर गरी ३० मिटर सडकको मापदण्ड स्वीकृत गर्ने निर्णय भएको छ ।

    बैठकले आगामी कात्तिक १० देखि १३ गतेसम्म भारतको नयाँ दिल्लीमा आयोजना हुने अन्तरराष्ट्रिय सौर्य गठबन्धन (आइएसए)को आठौँ बैठकमा सहभागिताका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङलाई स्वीकृति दिएको छ । यसैगरी प्रधानमन्त्रीको मुख्य सल्लाहकारमा अजयभद्र खनाल र जनसम्पर्क सल्लाहकारमा गोविन्दनारायण तिमल्सिनालाई नियुक्त गर्ने निर्णयसमेत गरिएको मन्त्री खरेलले बताउनुभयो।

  • आन्दोलनकी घाइते लिजाको सरकारलाई सन्देश- छ महिनामा धेरै गर्न सकिन्छ

    आन्दोलनकी घाइते लिजाको सरकारलाई सन्देश- छ महिनामा धेरै गर्न सकिन्छ

    काठमाडौँ, असोज १२-
    भदौ २३ गते बिहान माइतीघरमा आफ्नै उमेर समूहका युवाले भ्रष्टाचारविरुद्ध आन्दोलन छेडेपछि २० वर्षे लिजा अधिकारीलाई ललितपुर बालकुमारीको डेराभित्रै बसिरहन मनले मानेन । सामाजिक सञ्जालमा युवा जम्मा हुँदै गरेको भिडियो हेर्दा उनको मनमा आन्दोलनमा जान उकुसमुकुस भइसकेको थियो । आमालाई अफिसको काम देखाएर उनी आन्दोलनमा मिसिइन् ।

    आन्दोलन सुरु भएको केही समयमै नयाँबानेश्वरमा जब भीडमाथि आक्रमण भयो, त्यसको सिकार लिजा पनि बनिन । भ्रष्टाचारविरुद्धको आन्दोलनमा आवाज बुलन्द गरिरहँदा लिजालाई पछाडिबाट प्रहार गरिएको गोलीले बाँया कुम छेड्यो ।

    “हामी भ्रष्टाचारविरुद्धको आवाज बुलन्द गर्दै थियौँ, जेनजीका माग सरकारलाई सुनाउन चाहन्थ्यौँ, हाम्रो शान्तिपूर्ण जुलुसमा आक्रमण भएपछि भीड आक्रोशित भयो”, ट्रमा सेन्टरमा उपचाररत लिजाले भनिन्, “हामीले माइकबाट प्रदर्शनकारीलाई बारम्बार ढुङ्गामुढा नगर्न र प्रहरीलाई गोली नहान्न आग्रह गरिरह्यौँ, तर कसैले सुनेनन् ।”

    लिजाका शब्दमा जब जेनजी युवाको आन्दोलन माइतीघरबाट नयाँबानेश्वरस्थित संसद् भवनतर्फ अघि बढ्यो, जुलुस शान्तिपूर्ण थियो । ती युवासँग न कुनै हतियार थियो, न त विशेष माग नै । उनीहरु भ्रष्टाचारविरुद्धको आफ्नो आवाजलाई सरकारलाई सुनाउन मात्रै चाहन्थे । तर जब उनीहरुको आवाजलाई दबाउन प्रहरीले हस्तक्षेप सुरु गर्‍यो, तब भीड आक्रोशित भयो, तितरवितर भयो ।

    “हामी नयाँ बानेश्वर पुग्दासम्म आन्दोलन शान्तिपूर्ण थियो, तर जब मेरो आँखै अगाडि एक जनाको टाउकोमा गम्भीर चोट लाग्यो र एक जना दाईको हातमा गोली लाग्यो, त्यसले हामीलाई आक्रोशित बनायो”, लिजाले घटना सम्झँदै भनिन्, “मलगायतले त्यो दाईलाई निजामती अस्पताल पठायौँ, यत्तिकैमा प्रहरीबाट अश्रुग्यास प्रहार भयो, भीड तितरवितर भयो ।”

    लिजाले डेराबाट निस्कनुअघि आमालाई म पनि आन्दोलनमा जान्छु है भनेकी थिइन् । तर आमाले आन्दोलनमा जानु पर्दैन भनेपछि अफिस जाने बाहना बनाएकी रहिछन् । “आमालाई म आन्दोलनमा मिसिएको थाहा थिएन, जब आन्दोलनमा प्लास्टिकको गोली चल्यो भन्ने सुन्नु भएछ उहाँले फोन गरेर छिटो घर फर्कन भन्नुभयो, आमालाई म ठीक छु छिट्टै आउँछु भन्दै फोन राख्नेबित्तिकै मलाई गोली लाग्यो”, उनले भनिन् ।

    लिजालाई मेटलको गोली लाग्नुअघि नयाँ बानेश्वरमा केही राउण्ड हवाई फायर भइसकेको थियो । जब भीड तोडफोडमा उत्रियो, तब प्रहरीले ताकेरै गोली हान्न थाल्यो । सुरुमा प्लाष्टिकको गोली प्रहार भएको भन्ने सुनिए पनि त्यो देखिएन । लिजालाई गोली लाग्नुअघि दुई जना आन्दोलनकारीको मृत्यु भइसकेको थियो ।
    “हाम्रो उद्देश्य तोडफोड र ढुङ्गामुढा गर्ने थिएन, त्यसैले अडिग भई शान्तिपूर्ण रुपमा धर्नामा बसौँ भन्दै आह्वान गरिरहेका थियौँ, हामीलाई त गोली चल्छ भन्ने अनुमान गर्नै सकेनौँ”, उनले भनिन् ।

    लिजालाई गोली लाग्दा, आसपासका मानिसहरु तितरवितर भइसकेका थिए । दायाँ हातले आफूलाई सम्हाल्दै उनी रक्ताम्य शरीर लिएर संसद् भवनको अगाडि निकैबेर उभिइरहिन् । केही समयपछि एक जनाले आएर झण्डाले हात बाँधिदिए । “दाईले साथ दिएपछि आत्मबल बढ्यो, अर्को दाईले बाइकमा एभरेष्ट अस्पताल पु¥याइदिनुभयो”, उनले भनिन् ।

    एभरेष्ट अस्पतालमा ब्याण्डेज गरेपछि चिकित्सकले गोली लागेकाले शल्यक्रिया गर्नुपर्छ भन्दै ट्रमा अस्पताल ‘रेफर’ गरिदिए । त्यसपछि उनी एम्बुलेन्समा ट्रमा सेन्टर आइपुगिन् ।

    लिजा अस्पताल आइपुग्दा आन्दोलनमा घाइते भएकाहरुले अस्पतालको भूँइसमेत भरिएको थियो । अस्पतालमा आउनासाथ घाउमा गज खादेर ब्याण्डेज गरियो । त्यतिका धेरै घाइते हुँदा पनि अस्पतालले उपचारमा राम्रो व्यवस्थापन गरेको थियो । “अस्पतालका स्वास्थ्यकर्मीहरु जसरी त्यो दिन घाइतेहरुको उपचारमा खटिनुभयो, म त्यसका लागि हृदयदेखि धन्यवाद दिन चाहन्छु”, उनले भनिन्, “त्यो गर्न उहाँहरुका लागि चुनौतीपूर्ण अवस्था थियो, त्यो दिन राति नै मेरो शल्यक्रिया भयो ।” आन्दोलनका घाइतेहरुलाई अस्पतालले खाजा, खाना र औषधिको व्यवस्था गरेको छ ।

    त्यसदिन अस्पतालमा १८१ जना घाइतेलाई ल्याइएको थियो । घाइतेका लागि सुताउने शय्या थिएन । भुइँमै म्याटमाथि उपचार गर्नुपर्ने अवस्था थियो । भीड यति धेरै थियो कि, घाइतेहरु सुतिरहेकै ठाउँबाट मृतकको शरीर उचालेर लैजानुपर्ने अवस्था थियो ।

    “म सुतिरहेको ठाउँमाथिबाट जब आन्दोलनकारीको शव लगियो, मलाई लाग्यो कि, मेरो पालो पनि यसरी नै त आउने होइन”, लिजाले भनिन्, “जब गोली लागेको घाउ बेस्सरी दुख्थ्यो, तब बाँचिन्छ कि मरिन्छ भन्ने होस् नै नहुँदो रहेछ ।” लिजाका अनुसार उनको शरीरमा अझ ठूलो शल्यक्रिया भने गर्न बाँकी नै छ । कुमको हड्डी गोलीले पूरै टुक्राएको छ, चिकित्सकले तारले बाँधिदिएका छन् ।

    लिजालाई अहिले पनि ‘मुभमेन्ट’ गर्न सकस हुन्छ । अलिकति यताउता चलाउँदा पनि शरीर सहनै नसक्ने गरी दुख्छ । चिकित्सकले पहिले गरेको शल्यक्रिया निको भएपछि दोस्रो गर्नुपर्छ भनेका छन् । अहिले उनले शरीरको दुखाइ कम गर्न पेनकिलरको सहायता लिएकी छन् ।

    लिजाको अस्पताल बसाइ अझै कति लम्बिने हो भन्ने टुङ्गो छैन । तर उनी सम्मिलित आन्दोलनले ल्याएको परिवर्तन र माग पूरा हुनुपर्छ भन्नेमा लिजा दृढ छिन् । “हामीलाई सडकमा आउन बाध्य बनाएको चरम भ्रष्टाचार, बेथिती र अपारदर्शीताले हो, हामीले आन्दोलनमार्फत उठाएका माग नयाँ सरकारले पूरा गर्छ भन्नेमा विश्वास छ”, उनले भनिन्, “निष्पक्ष अनुसन्धान गरी दोषीमाथि कारबाही गरी मुलुकलाई सुशासनको दिशामा अघि नबढाएसम्म हामीले सडकमा दिएको बलिदानले न्याय पाउँदैन ।”

    लिजा अस्पतालको शय्याबाटै नवगठित सरकारलाई आन्दोलनका दोषीमाथि कारबाही गर्न दबाब दिँदै आएका छन् । लिजालगायतका घाइतेलाई भेट्न प्रधानमन्त्री सुशीला कार्कीसहित मन्त्रीहरु, जेनजी आन्दोलनका प्रतिनिधिहरु आइरहनुहुन्छ ।

    “हामीले अस्पतालको शय्याबाटै उहाँहरुको जिम्मेवारीलाई स्मरण गराइरहेका छौँ, छ महिनाको सरकार भए पनि केही सकारात्मक कामको सुरुआतका लागि यो पर्याप्त समय पनि हो भन्दै आएका छौँ, हाम्रो आशा र विश्वासलाई उहाँहरुले मर्न दिनुहुन्न भन्नेमा विश्वास छ”, लिजाले भनिन् ।

    लिजा जेनजीका क्षमतावान् र सक्षम व्यक्तिलाई सरकारमा लैजानुपर्छ भन्छिन् । भ्रष्टाचारसँग जोडिएका र पहिलेदेखि नै चर्चामा रहेका मुद्दाका फाइल खोलेर अनुसन्धानको थालनी हुनुपर्छ भन्ने उनको माग छ । लिजाका शब्दमा देशमा ‘गुड लिडर’ भए ‘गुड फ्युचर’ भन्ने पनि थाहा छ ।

    मोरङ रतुवामाई स्थायी घरभएकी लिजा बालकुमारीमा आमा र भाइसँग बस्दै आएकी छन् । जेठो सन्तानका रुपमा लिजामाथि पढ्दै कमाउँदै गर्ने जिम्मेवारी पनि छ । भाइलाई राम्रो कलेजमा उच्च शिक्षा दिलाउने सपना छ । केही समयअघि ओपन हार्ट सर्जरी गरेकी आमाको हेरचाह पनि उनकै जिम्मेवारीमा छ ।

    कुसुम कलेजमा बिबिए सातौँ समेस्टरमा अध्ययनरत लिजा आन्दोलन हुने दिनभन्दा चार दिनअघि मात्रै जेनजी समूहमा जोडिएकी थिइन् । रासस

  • चाडपर्वका अवसरमा सावधानी अपनाउन एआइजी कार्कीको आग्रह

    चाडपर्वका अवसरमा सावधानी अपनाउन एआइजी कार्कीको आग्रह

    काठमाडौँ, असोज १२ –
    काठमाडौँ उपत्यका प्रहरी प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीले चाडपर्वको अवसरमा सावधानी अपनाउन आग्रह गर्नुभएको छ ।

    काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र काठमाडौँ उपत्यका प्रहरी कार्यालयको संयुक्त आयोजनामा आज आयोजित ‘ट्राफिक वाक’ तथा सुरक्षा सचेतना कार्यक्रममा उहाँले चाडपर्वको उमङ्ग र उत्सवको नाममा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने परिपाटीका कारण धेरैले अकालमा ज्यान गुमाइरहेकोप्रति गहिरो चिन्ता व्यक्त गर्नुभयो ।

    उहाँले भन्नुभयो, “चाडपर्व सुरु हुने बित्तिकै मादक पदार्थ सेवन गर्ने प्रवृत्ति सामान्यजस्तै बनेको छ । तर, मादक पदार्थ सेवन गरी सवारी चलाउँदा दुर्घटना भई अकाल मृत्यु हुने क्रम बढ्दो छ, जुन अत्यन्त चिन्ताजनक अवस्था हो । मनोरञ्जनको पर्याबाचीको रूपमा मादक पदार्थलाई लिनु कदापि उचित होइन ।”

    एआइजी कार्कीले सबै सवारी चालक, यात्रु र सर्वसाधारणलाई चाडपर्वको अवसरमा सावधानी अपनाउन, ट्राफिक नियमको पालना गर्न र सुरक्षामा खटिने ट्राफिक प्रहरीलाई सहयोग गर्न अपिल गर्नुभयो । उहाँले भन्नुभयो, “सडकमा ट्राफिक प्रहरी तपाईँहरूलाई दुःख दिन होइन, सुरक्षा दिन खटिएका हुन्छन् । नागरिकको कर्तव्य नियम पालना गर्नु र नेपाल प्रहरी, ट्राफिक प्रहरीलाई सहयोग गर्नु हो ।”

    उहाँले आफूले गर्ने व्यवहार र सिकोबाट आगामी पुस्तामा सकारात्मक प्रभाव पर्न सक्ने भएकाले प्रत्येक नागरिकले ट्राफिक सुरक्षालाई आत्मसात् गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

    काठमाडौँ उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं वरिष्ठ प्रहरी उपरीक्षक नवराज अधिकारीले चाडपर्वका बेला मादक पदार्थ तथा लागुऔषध सेवनका कारण हुने दुर्घटनाहरूका बारेमा चर्चा गर्दे यस्ता घटनाबाट नागरिकको ज्यान जोखिममा पर्ने बताउनुभयो ।

    उहाँले भन्नुभयो, “हामी नागरिकको ज्यान र सुरक्षाका लागि खटिएका हौँ । कृपया चाडपर्वमा मादक पदार्थ सेवन गरेर गाडी नचलाउनुहोस्, ताकि कसैको ज्यान जान नपरोस्, कसैको घरमा चाडपर्वको खुसी शोकमा नबदलियोस् ।”

    कार्यक्रममा प्रहरी नायब महानिरीक्षक ओमबहादुर राना र ट्राफिक सचेतना अभियन्ता डा ओममूर्ति अनिलले पनि चाडपर्वमा सुरक्षित र जिम्मेवार भई सवारी सञ्चालनको पक्षमा जोड दिनुभयो ।

    ट्राफिक प्रहरी, जनपद प्रहरी, महानगर प्रहरीको टोलीले ‘सडक सुरक्षा हाम्रो जिम्मेवारी’, ‘मदिरा सेवनपछि सवारी नगर्नुहोस्’, ‘ट्राफिक नियमको पालना गरौँ’ जस्ता जनचेतनामूलक सन्देश बोकेका प्लेकार्डसहित सडकमा ट्राफिक वाक गर्नुभएको थियो ।

    सचेतनात्मक ट्राफिक ¥याली रानीपोखरी परिसरबाट सुरु भई विभिन्न भाग परिक्रमा गर्दै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय (रामशाहपथ) परिसरमा पुगेर समापन गरिएको थियो । रासस