Blog

  • हेर्नुस् आजको मौसम : आज सबै प्रदेशमा बदली, कहाँ-कहाँ वर्षाको सम्भावना ?

    हेर्नुस् आजको मौसम : आज सबै प्रदेशमा बदली, कहाँ-कहाँ वर्षाको सम्भावना ?

    काठमाडौँ असोज १४
    जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभर बदली रहने सम्भावना रहेको जनाएको छ । यस्तै केही स्थानमा वर्षा हुने सम्भावना देखिएको छ।

    महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशमा सामान्यतया बदली रहने छ। तर कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा तराई भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा हुन सक्ने देखिएको छ। त्यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ।

    आज राती कोशी, मधेश र बागमती प्रदेशमा साधारणतया बदली रहनेछ। बाँकी भू-भागमा आंशिक बदली रहनेछ। यसैगरी, कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा लुम्बिनी प्रदेशका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ भने बाँकी भू-भागका एक-दुई स्थानमा पनि वर्षा हुने सम्भावना छ।

    महाशाखाले हाल देशभर मनसुनी वायू र स्थानीय वायूको प्रभाव रहेको बताएको छ।

  • नवरात्रको आठौँ दिन: आज महागौरीको पूजा गरिँदै

    नवरात्रको आठौँ दिन: आज महागौरीको पूजा गरिँदै

    काठमाडौं असोज १४
    नवरात्रको आठौँ दिन आज महागौरीको पूजाआजा गरिन्छ । दुर्गापूजाको आठौँ स्वरूप महागौरीको पूजाको पनि आफ्नो छुट्टै विधिविधान रहेको पाइन्छ । यिनको शक्ति अमोघ रहेको छ भने यिनको उपासनाद्वारा भक्तको पूर्वसञ्चित पापको समेत नष्ट गराउने शक्ति रहेको पाइन्छ । शास्त्रीय मान्यताअनुसार यी देवीको उपासनाले भविष्यमा समेत पाप–सन्ताप नष्ट हुने विश्वास गरिन्छ ।

    सेतो वर्ण र सेतो पहिरन धारण गरेकी, वृष वाहन भएकी, चार हात भएकी देवीलाई महागौरी भनिन्छ । यी देवीको माथिल्लो दाहिने हातमा अभयमुद्रा, तल्लो दाहिने हातमा त्रिशूल छन् भने बायाँ हातको माथिल्लो हातमा डमरु र अर्को बायाँ हातमा वरमुद्रा छन् । यी देवीको मुद्रा शान्त खालको देखिन्छ । माताको स्वरूप गोरो वर्णको छ भने यीनका सबै कपडा र गरगहना पनि सेतै छन् । शिव पुराणका अनुसार महागौरीलाई आठ वर्षको उमेरमा पूर्वजन्मको आभास भएको थियो, त्यसैले आठ वर्षको उमेरबाट नै श्रीमाहादेवलाई स्वामी पाउने विश्वाससहित कठोर तपस्या प्रारम्भ गरेकी थिइन् ।

    बाल्यकालमा पार्वती हुँदादेखि नै शिवलाई पति पाउन कठोर तपस्या गरेकी महागौरीको प्रतिज्ञा थियो- ‘महादेवलाई पाए वरण गर्छु, नत्र कुमारी नै भएर बस्छ’ यस कठोर तपस्याका कारण उनको शरीर अत्यन्त कालो भएको थियो । यिनको तपस्याले प्रसन्न भएका शिवजीले गंगाजलमा नुहाइदिएपछि उनी गोरी बनिन् र त्यसै कारण उनको नाम गौरी रहन गयो । यी देवीको शक्ति अमोघ र प्रत्यक्ष फल दिने मानिन्छ । यस भगवतीको आराधनाले भक्तजनहरूको सबै दोष नाश हुने तथा भविष्यमा पनि बाधा नआउने विश्वास गरिन्छ । मोक्ष प्राप्तिको चाहना गर्नेहरूले देवमन्दिर र यज्ञ यज्ञादिमा विधिपूर्वक बलि दिनाले ती पशुले मोक्ष प्राप्त गरी उच्च योनीमा जन्म लिने कुरा शास्त्रमा वर्णन गरिएको छ ।

    आजको दिन विभिन्न शक्तिपीठहरूमा बलि दिइन्छ । सात्त्विक, राजस र तामस तीन किसिमका पूजाको वर्णन शास्त्रमा गरिएको छ । सात्त्विक पूजामा जल, चन्दन, अक्षत आदिसहित षोडशोपचारले पूजा गरिन्छ । सात्त्विक र राजसमा पशुबलिसहितको पूजालाई राजस पूजा भनिन्छ । राजस पूजामा मदिरा चढाएर पूजा गर्ने र पशुबलि दिने परम्परा छ ।

    उपत्यकाभित्र गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, वज्रयोगिनी, सङ्कटा, वज्रवाराही, दक्षिणकाली, चामुण्डा, सुन्दरीमाईलगायतका शक्तिपीठमा बलिसहित पूजाआजा गरिन्छ । उपत्यकाबाहिर गोरखाको मनकामना, पर्साको गहवामाई, सप्तरीको छिन्नजस्ता भगवती, धनुषाको राजदेवी, डडेलधुराको उग्रतारा, काभ्रेपलाञ्चोकको चण्डेश्वरी, नालाभगवती र पलान्चोक भगवती, सिन्धुपाल्चोकको पाल्चोक भगवती, दोलखाको कालीञ्चोक भगवतीलगायतका शक्तिपीठहरूमा पनि बलिसहित पूजा तथा आराधना गरिन्छ । पशुबलि नचढाउनेहरूले भने पूजा कोठामा आफ्नो कुल परम्पराअनुसार काँक्रो, घिरौँला, कुभिन्डो, मूला र नरिवल आदिलाई बलि चढाई पूजाआजा गर्ने गर्छन् ।

    यस दिन आफूले प्रयोग गर्ने कलपूर्जा, हातहतियार र सवारी साधनलाई विशेष सरसफाइ गरी देवी स्थापना गरिएको स्थानमा राखी पशु बलिसहित पूजाआजा गर्ने परम्परा छ । यी साधनलाई देवीको शस्त्रास्त्रका रूपमा मानी पूजा गर्ने गरिएको हो ।

    महागौरी मन्त्र:

    ओम देवी महागौर्यै नमः।।

    महागौरी प्रार्थना:

    श्वेते वृषेसमारूढा श्वेताम्बरधरा शुचिः ।

    महागौरी शुभं दद्यान्महादेव प्रमोददा ।।

    महागौरी स्तोत्र पाठः

    सर्वसंकट हंत्री त्वंहि धन ऐश्वर्य प्रदायनीम् ।

    ज्ञानदा चतुर्वेदमयी महागौरी प्रणमाभ्यहम् ।।

    सुख शान्तिदात्री धन धान्य प्रदीयनीम् ।

    डमरूवाद्य प्रिया अद्या महागौरी प्रणमाभ्यहम् ।।

    त्रैलोक्यमंगल त्वंहि तापत्रय हारिणीम् ।

    वददं चैतन्यमयी महागौरी प्रणमाम्यहम् ।।

    महागौरीको ध्यान मन्त्र:

    वन्दे वांछित कामार्थे चन्द्रार्घकृत शेखराम् ।

    सिंहरुढा चतुर्भुजा महागौरी यशस्वनीम् ।

  • माडीका चेपाङ् परिवार र मनमोहन बालग्राममा एमालेको युवा संघ र खेलकुद महासंघ चितवनद्वारा खाद्यान्न सहयोग

    माडीका चेपाङ् परिवार र मनमोहन बालग्राममा एमालेको युवा संघ र खेलकुद महासंघ चितवनद्वारा खाद्यान्न सहयोग

    चितवन, असोज १३ –
    राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी चितवन र नेपाल खेलकुद महासंघ जिल्ला कमिटी चितवनले दशैंका बेला विपन्न परिवारलाई खाद्यान्न वितरण गरेका छन् ।

    माडी नगरपालिका ८ मा रहेको चेपाङ वस्तीका ३१ परिवार, माडी ६ मा रहेको रहेको ३४ बालबालिका पढ्ने मनमोहन बालग्राम र भरतपुर २८ को एक विपन्न परिवारलाई खाद्यान्न वितरण गरिएको राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी चितवनका संयोजक सन्तोष श्रेष्ठ ‘मधुपर्क’ ले जानकारी दिए । दाल, चामल, भुजा, नुन र तेल वितरण गरिएको उनले बताए ।

    कार्यक्रममा एमाले केन्द्रीय सदस्य यम बहादुर परियार, एमाले चितवनका उपाध्यक्ष श्याम कुमार विष्ट, एमाले चितवनका सचिवालय सदस्य सुदिप रेग्मी, एमाले माडी नगरपालिका अध्यक्ष नारायण अधिकारी, नेपाल खेलकुद महासंघ जिल्ला कमिटी चितवनका अध्यक्ष योग बहादुर गुरुङ् लगायतको उपस्थिति रहेको थियो ।

  • चितवन निकुञ्जमा आजदेखि जिप सफारी

    चितवन निकुञ्जमा आजदेखि जिप सफारी

    चितवन,असोज १३-
    चितवन राष्ट्रिय निकुञ्जले आजदेखि निकुञ्जमा जिप सफारी सुरु गरेको छ । वर्षायाममा निकुञ्जभित्रका कच्ची वनपथहरु बिग्रिने, जङ्गलमा भएका ससाना खोला खोल्सीमा भलबाढी आउने, रुख लडेर बाटो अवरुद्ध हुने र मानवीय क्षतिसमेत हुनसक्ने भन्दै निकुञ्जले जङ्गल सफारीमा रोक लगाएको थियो ।

    निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार आजदेखि जिप सफारीका लागि अनुमति दिइएको हो । गत साल सञ्चालन भएका जिपलाई मात्र यस वर्ष नवीकरण गरी जिप सफारी सुरु गरिएको हो । गत वर्ष जीर्ण देखिएका जिपलाई मर्मतसम्भार गरेर नवीकरणमा ल्याइएको हो । गत महिनादेखि नै निकुञ्जले बाटो मर्मतसम्भार र झाडी फाँड्ने काम सुरु गरेको थियो । गएको असार १६ गतेदेखि जिप सफारी बन्द गरिएको थियो ।

    निकुञ्जभित्र सौराहाबाट ३२, कसराबाट १६, मेघौलीबाट नौ जिप सञ्चालन भएका छन् । यस्तै उजौलीबाट दुई, अमलटारीबाट पाँच र माडीबाट एउटा जिपले निकुञ्जभित्र सफारी गर्न लागेको हो ।

  • तुइन खोलामा गएको पहिरो हटाउन अझै तीन घण्टा लाग्ने

    तुइन खोलामा गएको पहिरो हटाउन अझै तीन घण्टा लाग्ने

    चितवन, असोज १३-
    नारायणघाट–मुग्लिन सडक खण्डमा गएको पहिरो हटाउन तीन घण्टा लाग्ने अनुमान गरिएको छ । इच्छाकामना–५ तुइन खेलामा आज (सोमबार) मध्याह्न १२ बज गएको पहिरो तुइ तर्फी हटाउन अझै तीन घण्टा लाग्ने सडक डिभिजन कार्यालय चितवनले जानकारी दिएको हो ।

    सडक डिभिजन कार्यालय चितवनका सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यका अनुसार माथीबाट पहिरो झरिरहेको छ । यद्यपि पहिरो हटाउने काम भने भइरहेको उनले जानकारी दिए ।
    दुई तीन बर्ष यता यस स्थानमा पटक पटक पहिरो खसिरहेको छ । पहिरो हटाएर तीन दिनअघि झण्डै ५८ घण्टापछि सडक सञ्चालनमा आएको थियो ।

  • दसैँको कोसेलीका रुपमा मुस्ताङको स्याउ

    दसैँको कोसेलीका रुपमा मुस्ताङको स्याउ

    गलकोट (बागलुङ), असोज १३-
    बागलुङ बजारमा अहिले मुस्ताङको स्याउको माग उच्च छ । दसैँमा धेरैले मुस्ताङको स्याउ मात्रै खोज्ने गरेको पाइन्छ ।

    असोज लागेसँगै बागलुङ बजारमा मुस्ताङको स्याउ निकासी हुन थाल्छ । अहिले बागलुङ बजारका चोकचोक र फलफूल पसलमा मुस्ताङको स्याउ देख्न पाइन्छ । मुस्ताङको स्याउ नभएको बागलुङको कुनै फलफूल पसल नै हुँदैन । किनभने उपभोक्ताको रोजाइमा मुस्ताङकै स्याउमात्रै पर्ने गर्दछ । दसैँलाई कोसेलीका रुपमा मुस्ताङको स्याउ बढी खपत हुने गरेको छ ।

    स्याउ व्यापारी गुरुप्रसाद रेग्मीले मुस्ताङको स्याउ मागअनुसार नपाएको जनाउँदै स्याउ आउँदा साथ रित्तिने गरेको बताउनुभयो । “मुस्ताङमा स्याउ धमाधम बिक्री भइरहेको छ, बागलुङ मुस्ताङको स्याउ खपत हुने जिल्लामा पर्दछ, अहिले मागअनुसारको स्याउ आएको छैन”, उहाँले भन्नुभयो, “असोजभर स्याउ बिक्रीबाटै राम्रो आम्दानी गर्ने सिजन हो ।” असोज अघिसम्म भारत र चीनबाट आएको स्याउले बजार लिइरहे पनि असोज लागेपछि यहाँ मुस्ताङको मात्रै स्याउको कारोबार हुने गर्दछ ।

    दसैँ नजिकिँदै गरेकाले स्याउको उच्च कारोबार हुने गर्दछ । छिमेकै जिल्लाको सस्तो स्याउ खान पाएपछि अन्य स्याउको चाख नहुने उपभोक्ता रामानन्द शर्मा बताउनुहुन्छ । “रु ३०० देखि ४०० हालेर भारत र चीनको स्याउ खाइन्छ, मुस्ताङको ताजा स्याउ रु दुई प्रतिकिलो पाइन्छ, स्वादिष्ट पनि हुन्छ”, शर्माले भन्नुभयो “असोजदेखि कात्तिकसम्म बागलुङ बजारका फलफूल पसल मुस्ताङको स्याउमय हुन्छ ।”

    दसैँ तिहारको नआउँदै फलफूल अर्डर गर्नेहरुसमेत बाक्लै रहेको व्यवसायीहरु बताउँछन् । दसँैलाई मुस्ताङको स्याउ अहिले नै अर्डर आउन थालेको फलफूल व्यापारीले बताउँदै आएका छन् । चाडवाडका अवसरमा बागलुङेहरुले कोसेलीका रुपमा मुस्ताङको स्याउ आफन्तको घरमा पठाउने चलनसमेत रहेकाले स्याउको कारोबार उच्च रहेको छ । मुस्ताङमा उत्पादन भएको स्याउ धौलागिरिका बागलुङसहित म्याग्दी, पर्वतलगायतका जिल्लामा कोसेलीका रुपमा निकै प्रयोगमा आउने गरेको छ ।

    बागलुङमा मुस्ताङको स्याउको कारोबार एक हप्तायता ह्वात्तै बढेको छ । बागलुङ बजारमा रहेका कर्मचारी, सहकारी जागिरे, सेना, तथा प्रहरीलेसमेत दसैँमा घर जाने समयमा मुस्ताङको स्याउ, आलु र बागलुङमा उत्पादन भएको भाँगो लैजाने गरेको पाइन्छ । मुस्ताङको स्याउ, ढोरपाटनको आलु र ताराखोलाको भाँगो कोसेलीका रुपमा ब्राण्ड भइसकेको छ । रासस

  • तुइन खोलामा फेरि खस्यो पहिरो, नारायणघाट–मुग्लिन सडक खण्ड अवरुद्ध

    तुइन खोलामा फेरि खस्यो पहिरो, नारायणघाट–मुग्लिन सडक खण्ड अवरुद्ध

    चितवन, असोज १३-
    नारायणघाट–मुग्लिन सडक खण्ड फेरि अवरुद्ध बनेको छ । आज (सोमबार) इच्छाकामना–५ तुइन खेलामा फेरि पहिरो खसेपछि फेरि दुईतर्फी बाटो अवरुद्ध भएको हो ।

    निरन्तर ढुंगा झरेको कारण उपकरण संचालन गरि पहिरो हटाउनमा समस्या भइरहेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

    हाल पहिरो झर्ने क्रम जारी भएकोले पहिरो झर्न रोकिएपछि मात्र डिभिजनबाट तैनाथ अवस्थामा रहेको उपकरणको माध्यमबाट पहिरो हटाउने कार्य सुचारू हुने सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

  • निर्धारित मितिमा निर्वाचन गराउन सरकार प्रतिबद्ध छः प्रधानमन्त्री

    निर्धारित मितिमा निर्वाचन गराउन सरकार प्रतिबद्ध छः प्रधानमन्त्री

    काठमाडौं, असोज १३-
    प्रधानमन्त्री सुशीला कार्कीले निर्धारित मितिमा निर्वाचन गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

    बडा दसैंका पावन अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा उहाँले युवापुस्ताको अभूतपूर्व आन्दोलनको जगमा वर्तमान सरकार गठन भएको तथा यसले सरकारले तोकिएको मितिमा प्रतिनिधिसभाको निर्वाचन गराउने प्रतिबद्धता जनाउनुभएको हो । साथै उहाँले देशमा सुशासन कायम गर्न आफू कटिबद्ध रहेको बताउनुभएको छ ।

    प्रधानमन्त्री कार्कीले स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरू र यो पर्व मनाउनुहुने संसारभर छरिएर रहनुभएका नेपाली भाषीहरूमा सुखशान्तिको कामना गर्नुभएको छ ।

    यसैबीच, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री कार्कीले यो वर्ष टीका नलगाउने तथा सर्वसाधारणलाई पनि टीका लगाइदिने कार्यक्रम नरहेको जनाएको छ । रासस

  • प्रधानमन्त्री सुशीला कार्कीले यसवर्ष बडा दशैंको टीका नलगाउने

    प्रधानमन्त्री सुशीला कार्कीले यसवर्ष बडा दशैंको टीका नलगाउने

    काठमाडौं, असोज १३-
    जेनजी आन्दोलनमा धेरै युवाको ज्यान गएको सन्दर्भमा प्रधानमन्त्री सुशीला कार्कीले बडा दशैंको टीका जमरा नलगाउने भएकी छन् ।

    प्रधानमन्त्रीको सचिवालयले सोमवार वक्तव्य जारी गर्दै देशबासीलाई समेत प्रधानमन्त्रीले टीका लगाउने कार्यक्रम नरहेको जनाएको हो ।

    विज्ञप्तीमा भनिएको छ, ‘बडा दशैँ प्रत्येक बर्ष हर्सोल्लासका साथ मनाउने चाड भए तापनि हालै सम्पन्न युवापुस्ताको आन्दोलनको क्रममा धेरै युवाहरूले आफ्नो ज्यान गुमाउनु परेको पीडा पनि हाम्रासामु छ। तसर्थ, यसबर्ष सम्माननीय प्रधानमन्त्रीज्यू आफूले बडा दसैंको टिका जमरा नलगाउनु हुने र देशबासीहरूलाई समेत टिका लगाउने कार्यक्रम नरहेको ब्यहोरा सबैको जानकारीको लागि सादर अनुरोध छ।’

  • सभापति देउवाद्वारा बडादसैँको शुभकामना

    सभापति देउवाद्वारा बडादसैँको शुभकामना

    काठमाडौँ, असोज १३ –
    नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले विषम् परिस्थितिमा दुर्गा भवानीले सबैलाई आत्मबल र दृढशक्ति प्रदान गरुन् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।

    आज यहाँ बडादसैँ २०८२ को शुभकामना सन्देश जारी गर्नुहुँदै उहाँले संविधान मुलुकको सर्वोच्च कानुन भएकाले संविधानभित्रबाटै अहिलेको समस्याको समाधान खोज्न आग्रह समेत गर्नुभयो ।

    सन्देशमा भनिएको छ, “नेपाल बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक र बहुभाषिक राष्ट्र हो, हामीमा निहीत बन्धुत्व भावले यी विविधताबीचमा पनि अनुपम एकता कायम गरेको छ, विविधता बीचको एकता नेपालीको विशेषता र पहिचान पनि हो, हरेक बडादसैँले समुदाय, संस्था, परिवार र व्यक्ति,व्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउंदै आएको छ ।”

    उहाँले गत भदौ २३ र २४ गते ‘जेनजी’ पुस्ताको प्रदर्शनका क्रममा युवा र सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले अमूल्य जीवन गुमाएको दुःखद् क्षणमा ती वीर सपुतहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँहरूका शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

    सभापति देउवाले भदौ २४ गतेको प्रदर्शनका क्रममा हिंसात्मक गतिविधिमा संलग्न आपाराधिक समूहद्वारा राष्ट्रपति भवन, सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, राजनीतिक दलका कार्यालयलगायत अन्य सरकारी कार्यालय, व्यावसायिक प्रतिष्ठान, राजनीतिक दलका नेताहरूको निजी घर—डेरा र सर्वसाधारण व्यक्तिका निजी सम्पत्तिसँगै सबै निजी तथा सार्वजनिक संरचनाको तोडफोड, आगजनी र लुटपाटबाट खबौँको क्षति भएको र यो नेपालको इतिहासमा अत्यन्त अल्कपनीय र दुःखद घटना भएको सन्देशमा उल्लेख गर्नुभएको छ ।

    संविधान मुलुकको सर्वोच्च कानुन भएकोले कुनै पनि विशेष परिस्थितिमा उत्पन्न राजनीतिक जटिलताको समाधान पनि संविधानले नै दिनुपर्ने सभापति देउवाले सन्देशमा स्पष्ट पार्नुभएको छ । उहाँले सात दशक लामो नेपाली जनताको त्याग, तपस्या, बलिदान, इच्छा र आकांक्षा बमोजिम नेपाली जनताबाट निर्वाचित जनप्रतिनिधिमार्फत बनेको यो ऐतिहासिक संविधानबाटै मुलुकका सबै जटिलताको समाधान, मुलुकमा स्थिरता र प्रगति सुनिश्चित भएको बताउनुभयो ।

    सन्देशमा भनिएको छ ,“नेपालको विकास र समृद्धिसँगै एकता र शान्तिको मार्गमा हामी सबैको योगदान अनिवार्य छ, यो विषम परिस्थितिमा दुर्गा भवानीले हामी सबैलाई आत्मबल र दृढशक्ति प्रदान गरून् भन्ने कामना गर्दछु ।”

    उहाँले दसैँ अन्यायमाथि न्यायको तथा असत्यमाथि सत्यको विजयको शाश्वत सन्देश दिने पर्व भएकाले नेपाली समाजले हरेक वर्ष पारिवारिक स्नेह, सामाजिक सद्भाव, आपसी सहयोग र पारस्परिक एकताको रूपमा मनाउँदै आएको बताउनुभयो ।

    सभापति देउवाले बडादसैँ २०८२ को अवसरमा नेपाली कांग्रेस र आफ्नो व्यक्तिगत तर्फबाट स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ । रासस