Blog

  • भरतपुर विमानस्थल विहानैदेखि ठप्प, फर्किन थाले यात्रु

    भरतपुर विमानस्थल विहानैदेखि ठप्प, फर्किन थाले यात्रु

    चितवन, असोज १८–
    अविलर वर्षाका कारण भरतपुर विमानस्थल विहानैदेखि बन्द छ । प्रतिकुल मौसमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै आन्तरिक उडान ठप्प भएपछि भरतपुर विमानस्थल पनि प्रभावित बनेको हो । भरतपुरमा पनि गयराति देखि नै वर्षा भइरहेको छ ।

    भरतपुर विमानस्थलबाट काठमाडौं र पोखरा गरी दैनिक ७ वटा उडान हुने गरेको थियो । आजको सबै उडान रद्द गरिएको बुद्ध एयर भरतपुरले जनाएको छ । उडान रद्द भएसंगै यात्रुहरु फर्किएका छन् ।

    आन्तरिक उडानतर्फ काठमाडौँसहित कम्तिमा ६ वटा विमानस्थल बन्द हुँदा ती स्थानका लागि तोकिएका उडान प्रभावित भएका छन् ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार, खराब मौसमका कारण काठमाडौँ, भरतपुर, जनकपुर, भद्रपुर, पोखरा र तुम्लिङटार विमानस्थलमा उडान स्थगित भएका छन् ।

  • आइतबार बिहानसम्म भारी वर्षाको सम्भावना

    आइतबार बिहानसम्म भारी वर्षाको सम्भावना

    काठमाडौँ, असोज १८-
    जल तथा मौसम विज्ञान विभागले आज साँझ ८ देखि आइतबार बिहान ८ बजेसम्म मुलुकका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।

    ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् सहरी विकासमन्त्री कुलमान घिसिङले मनसुनको अवस्था र पूर्वतयारी सम्बन्धमा सरोकारवालासँग गर्नुभएको छलफलमा विभागका महानिर्देशक कमलराम जोशीले अति भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहनुपर्ने बताउनुभएको हो ।

    जोशीले विशेषगरी यस अवधिमा बागमती, मधेस, गण्डकी र लुम्बिनी प्रदेशमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै ती क्षेत्रका नदी आसपासका क्षेत्रमा बसोबास गर्ने बासिन्दाले विशेष सतर्कता अपनाउनसमेत आग्रह गर्नुभएको छ ।

    “यी प्रदेशहरूमा आज राति १० देखि आइतबार बिहान २ बजेसम्म २०० मिलिमिटरभन्दा बढी पानी पर्ने सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन जरुरी छ”, उहाँले भन्नुभयो । यो समयमा अनावश्यक रूपमा यात्रा नगर्न जोशीले आग्रह गर्नुभयो । विभागका अनुसार देशभर बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावा प्रभाव छ । रासस

  • सचेत रहन आयोगको आग्रह

    सचेत रहन आयोगको आग्रह

    काठमाडौँ, असोज १८ –
    राष्ट्रिय मानव अधिकार आयोगले वर्षाबाट हुनसक्ने बाढीपहिरोबाट सचेत रहन सबैलाई आग्रह गरेको छ ।

    आयोगले आज विज्ञप्ति जारी गरी प्राकृतिक विपद्पूर्वका कार्यहरुमा उचित ध्यान दिनु, विपद्को अवस्थाका बारेमा सर्वसाधारणलाई सूसूचित गर्नु र जोखिममा रहेकाहरुलाई उद्धार गर्नु राज्यको जिम्मेवारी भएको जनाउँदै विपद्पूर्वको तयारी र विपद्प्रतिकार्यमा केन्द्रित हुनुपर्नेमा जोड दिएको छ ।

    साथै आयोगले विपद्पूर्वको तयारी तथा उद्धारमा सघाउन राजनीतिक दल, निजी क्षेत्र, नागरिक समाज, सञ्चारमाध्यम, युवापुस्ता, विभिन्न सङ्घ संस्था र नागरिक समाजलाई आग्रह गरेको छ । रासस

  • तमोर नदी नजिकै खस्यो गाडी, उद्धार गर्न पुग्दै प्रहरी

    तमोर नदी नजिकै खस्यो गाडी, उद्धार गर्न पुग्दै प्रहरी

    पाँचथर, असोज १८-
    पाँचथर गाडी दुर्घटनामा भएको छ । पाँचथरको तमोर नदी नजिकै गाडी दुर्घटनामा भएको हो । स्थानीयहरू र घटनास्थलमा उपस्थित व्यक्तिहरूले उद्धारका लागि छिटो हेलिकप्टर, एम्बुलेन्स वा अन्य सवारी साधन पठाउन आग्रह गरेका छन् ।

    प्रत्यक्षदर्शीका अनुसार, दुर्घटनामा ठूलो संखयामा मानवीय क्षति भएको हुनसक्ने आकलन गरिएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरले पनि दुर्घटना लगत्तै अहिले टोली परिचालन भएको जानकारी दिएको छ ।

    दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

  • मलेसियाविरुद्धको दोस्रो खेलमा नेपाल ६ विकेटले विजयी

    मलेसियाविरुद्धको दोस्रो खेलमा नेपाल ६ विकेटले विजयी

    काठमाडौं, असोज १८-
    अन्तर्राष्ट्रिय टी-२० श्रृ‌ङ्खलाको दोस्रो खेलमा नेपालले मलेसियामाथि ६ विकेटको जित निकालेको छ। आज भएको खेलमा सुरुमा ब्याटिङ गरेको मलेसियाले दिएको ९२ रनको लक्ष्य नेपालले १६.२ ओभरमा चार विकेटको क्षतिमा ९३ रन बनाउँदै पूरा गरेको हो। नेपालको जितमा पूजा महतोले ३९ र कप्तान इन्दु बर्माले २७ रन जोडिन् ।

    मलेसियालाई सस्तैमा समेट्न नेपालका लागि समु विष्टले दुई र कविता कुँवरले एक विकेट लिइन् । यससँगै पाँच खेलको अन्तर्राष्ट्रिय टी-२० श्रृङ्खलाको दोस्रो खेलमा नेपाल विजयी भएसँगै सिरिजमा १/१ को बराबरी भएको छ ।

  • चितवनसहित २० जिल्ला बाढीको अति उच्च जोखिममा

    चितवनसहित २० जिल्ला बाढीको अति उच्च जोखिममा

    चितवन, असोज १८-
    जल तथा मौसम विज्ञान विभागले चितवनसहित २० वटा जिल्ला बाढीको उच्च जोखिममा रहेको बताएको छ। आज (शनिबार) सुनसरी, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, चितवन र आसपासका जिल्लाहरू बाढीको अति उच्च जोखिममा रहेको बाढी पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

    त्यस्तै इलाम, झापा, मोरङ, धनकुटा, तेह्रथुम, पाँचथर, भोजपुर, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, संखुवासभा, ताप्लेजुङ, रसुवा, नुवाकोट, धादिङ, गोरखा, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रूपन्देही, कपिलवस्तु र आसपासका जिल्लाहरूमा उच्च जोखिमको सम्भावना रहेको महाशाखाले बताएको छ।

    यस्तै कास्की, लमजुङ, पर्वत, स्याङ्जा, तनहुँ, गुल्मी, पाल्पा, अर्घाखाँची, प्यूठान, दाङ, बाँके, बर्दिया र आसपासका जिल्ला भई बहने स–साना नदीहरुको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको उच्च सम्भावना रहने पूर्वानुमान भएकाले उक्त नदी तटीय क्षेत्रहरूमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

  • मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

    मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

    चितवन, असोज १८–
    पहिरोले मुग्लिन–नागढुंगा सडक खण्ड अवरुद्ध भएपछि चितवन प्रहरीले सुरक्षित ठाउँमा सवारी साधन रोक्न थालेको छ ।

    अहिले काठमाडौंतर्फ जाने सवारी साधनहरुलाई फिस्लिङ, मुग्लिन, जुगेडी, रामनगर, बसेनी, पोखरा बसपार्क, नारायणघाट बसपार्क लगायतको क्षेत्रमा सवारी साधन रोक्न लगाईएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता रविन्द्र खनालले जानकारी दिए । उनका अनुसार आवश्यकताका आधारमा रत्ननगरको शान्ति चोक, खैरहनीको चौविसकोठी, राप्तीको भण्डारा क्षेत्रमा सवारी साधन रोक लगाइने छ । ‘लगातारको वर्षाले जोखिम बढ्दो छ, सकेसम्म हामी सवारी साधनहरुलाई सुरक्षित ठाउँमा रोक लगाउन थालेका छौं, अवस्था हेरेर मात्र यात्रा गर्न अनुरोध गर्दछौं’–प्रवक्ता खनालले भने ।

    उनले परिस्थिति हेरेर पोखरातर्फ जाने सवारी साधनलाई भने गन्तव्यमा जान दिईएको बताए । विहान केही समय नारायणघाट–मुग्लिन सडक खण्ड सामान्य अवरुद्ध भएपनि अहिले एकतर्फी बाटो संचालनमा छ । बेला–बेला तुईन खोलामा अझै ढुंगा खसिरहेकाले ठूलो पहिरोको जोखिम कायमै छ । चितवनमा गयरातिदेखि नै वर्षा भइरहेकाले सकेसम्म अतिआवश्यक काम बाहेक यात्रा नगर्न चितवन प्रशासनले आग्रह गरेको छ ।

  • आज टिकाको तेस्रो दिन:  नवदुर्गाको प्रसाद र आशीर्वाद थाप्ने क्रम जारी

    आज टिकाको तेस्रो दिन: नवदुर्गाको प्रसाद र आशीर्वाद थाप्ने क्रम जारी

    काठमाडौँ असोज १८
    आज आश्विन शुक्ल द्वादशीका दिन पनि नवदुर्गाको प्रसाद स्वरूप टीका थाप्न र आशीर्वाद लिन मान्यजनका घरमा जाने क्रम जारी छ ।

    नौ दिनसम्म पूजा आराधना गरी देवी विसर्जन गरेपछि विजयादशमीका दिनदेखि सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ।

    पश्चिम नेपालका केही जिल्लामा भने विजयादशमीका दिन मात्र दुर्गाको प्रसाद लगाउने र आशीर्वाद थाप्ने प्रचलन रहेको छ।

  • मुग्लिन–नारायणगढ सडक खण्डमा सवारी सञ्चालन, पहिरोको जोखिम कायमै

    मुग्लिन–नारायणगढ सडक खण्डमा सवारी सञ्चालन, पहिरोको जोखिम कायमै

    काठमाडौं असोज १७
    मुग्लिन–नारायणगढ सडक खण्डमा हाल सवारी साधन सञ्चालनमा रहेको छ।

    आज बिहान ८:३० बजे सडक डिभिजन भरतपुरले जानकारी जारी गर्दै तर उक्त खण्डमा पहिरोको जोखिम कायमै रहेको जनाएको छ । जसका कारण यात्रुले सचेत रहनुपर्ने सूचनामा उल्लेख छ।

    सडक सुपरभाइजर ईश्वर क्षेत्रीले यात्रुलाई सडकको अवस्था बुझेर मात्र सुरक्षित रूपमा यात्रा गर्न अनुरोध गरेका छन्। डिभिजनले आवश्यक सावधानी अपनाउन सबै यात्रुलाई अनुरोध गरेको छ।

  • नवरात्रको अन्तिम दिनः  सिद्धिदात्री देवीको पूजाआराधना  गरिँदै

    नवरात्रको अन्तिम दिनः सिद्धिदात्री देवीको पूजाआराधना गरिँदै

    काठमाडौं,असोज १५-

    आश्विन शुक्ल नवमीका दिन आज (असोज १५) दसैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी नवौँ सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ ।

    प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् नवरात्रको अन्तिम दिन सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना गर्ने वैदिक सनातनी परम्परा छ । मुमुक्षुहरूलाई मोक्ष प्रदान गर्ने हुनाले यी देवीलाई सिद्धिदात्री भनिन्छ । सिद्ध, गन्धर्व, यक्ष, सुर र असुरहरूद्वारा सेवित भएकाले यिनलाई सिद्धिदायिनी पनि भनिन्छ । यिनी नवदुर्गा गणकी अन्तिम अर्थात् नवौँ देवी मानिएकी छिन् ।

    सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना गरेमा मनकामना पूरा हुने धार्मिक विश्वास छ । दुर्गा देवीका नौ नाम स्वयम् ब्रह्माजीले मार्कण्डेय ऋषिलाई बताएको विभिन्न पुराणमा उल्लेख छ । यी नौ नाम स्मरण मात्र गर्नाले जुनसुकै कष्ट वा सैकटबाट पनि मानिसले सजिलैसँग छुटकारा पाउने विश्वास गरिन्छ ।

    नवरात्रको पहिलो दिन असोज ६ गते सोमबार दसैँघर वा पूजाकोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजाआराधना गरियो । दोस्रो दिन असोज ७ गते मंगलबार पूजास्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजाआराधना गरिएको थियो । तेस्रो दिन असोज ८ गते बुधबार चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजा आराधना गरियो ।

    चौथो दिन असोज ९ गते बिहीबार र पाँचौँ दिन असोज १० गते शुक्रबार कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरिएको थियो । चौथी तिथि वृद्धि भएर दुवै दिनको सूर्योदयकालमा चौथी परेकाले दुवै दिन कुष्माण्डा देवीको पूजाआराधना गरिएको नेपाल पञ्चांग निर्णायक विकास समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा.डा. देवमणि भट्टराईले जानकारी दिए ।

    यो वर्षको नवरात्रको छैटौँ दिन असोज ११ गते शनिबार नवदुर्गामध्येकी पाँचौँ स्कन्दमाताको पूजाआराधना गरियो । सातौँ दिन असोज १२ गते आइतबार छैटौँ देवी कात्यायनीको विधिपूर्वक पूजाआराधना गरिएको थियो । आठौँ दिन असोज १३ गते सोमबार सातौँ देवी कालरात्रिको विधिपूर्वक पूजाआराधना गरियो । नवरात्रको नवौँ दिन असोज १४ गते मंष्गलबार आश्विन शुक्ल अष्टमीमा महागौरी देवीको पूजाआराधना गरियो ।

    नवरात्रको अन्तिम दिन आज आश्विन शुक्ल नवमीमा सिद्धिदात्री देवीको पनि विशेष पूजाआराधना गर्नुपर्ने समितिका सदस्य भट्टराईले बताए ।

    नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवी स्तोत्र पाठ समेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् ।

    नौ दिनसम्म पूजाआराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यो वर्ष असोज १६ गते बिहीबार विजयादशमी परेको छ । विजयादशमीमा दिनभर मान्यजनबाट टीका प्रसाद ग्रहण गर्न सकिने भए पनि साइत खोज्नेका निम्ति समितिले बिहान ११ः५३ बजेको साइत उत्तम रहेको जनाएको छ ।

    दुर्गाको प्रसाद कोजाग्रत पूर्णिमाका दिनसम्म लगाउन सकिने शास्त्रीय नियम छ । यसरी १५ दिनसम्म नेपालीले बडादसैँ पर्व मनाउँछन् । दसैँको नवौँ दिन आज पनि शक्तिपीठमा पूजाआराधना गर्ने भक्तजनको भीड लाग्छ ।

    महानवमी नवरात्रको अन्तिम दिन भएकाले शक्तिपीठमा झन् धेरै भक्तजन पूजाआराधना र दर्शनका निम्ति पुग्ने गर्छन् । शक्तिपीठसहित घरघरमा पनि बलिसहित पूजाआराधना गरी नेपालीले आजको दिनलाई विशेष रूपमा मनाउँछन् । रासस