Blog

  • नारायणघाट–मुग्लिन सडक खण्ड खुलाईयो, पोखरातर्फ जाने अत्यावश्यक सवारीलाई मात्रै छाडियो

    नारायणघाट–मुग्लिन सडक खण्ड खुलाईयो, पोखरातर्फ जाने अत्यावश्यक सवारीलाई मात्रै छाडियो

    चितवन, असोज १९–
    तुइन खोला र काली खोलाको पहिरो हटाएर नारायणघाट–मुग्लिन सडक खण्ड खुलाईएको छ ।

    तनहुँ, गोरखा, पोखरातर्फ जाने अत्यावश्यक सवारी साधनहरुलाई मात्रै पठाउन थालिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक गोविन्द पुरीले जानकारी दिए । बाटो खुलेपछि भरतपुरतर्फ आउने क्रममा मुग्लिनमा रोकिएका सवारी साधन पनि आउन पाएका छन् । धादिङको ज्यामिरेघाटमा पहिरो खसेर बाटो बन्द भएकाले धादिङसहित काठमाडौं जाने सवारी साधन भने पूर्ण रुपमा संचालनमा रोक लगाइएको प्रहरी उपरीक्षक पुरीले बताए । उनका अनुसार तनहुँमा पनि एकतर्फी बाटो खुलेकाले पोखरा जाने ठूला यात्रुबाहक बसलाई भने चितवनमै रोकिएको छ ।

    लेन अनुशासन पालना गर्दै रोकिएका सवारी साधनहरुलाई होल्डिङ सेन्टरमै रहन प्रहरीले आग्रह गरेको छ । प्रहरीले अत्यावश्यक बाहेक पोखरातर्फ पनि यात्रा नगर्न अनुरोध गरेको छ । चितवन प्रशासनले जोखिमलाई ध्यानमा राख्दै हिजो साँझ ६ बजदेखि चितवनबाट बाहिरिने र भित्रिने सवारी आवागमनलाई पूर्ण रुपमा बन्द गरेको थियो ।

  • रसुवामा बेपत्ता भएका भक्तपुरका चारमध्ये तीन जना एकै परिवारका

    रसुवामा बेपत्ता भएका भक्तपुरका चारमध्ये तीन जना एकै परिवारका

    भादगाउँ (भक्तपुर), असोज १९ –
    लाङटाङ घुम्न जाने क्रममा रसुवाको गोसाइँकुण्ड गाउँपालिका–४ को बेरिङ खोल्साले बगाएर बेपत्ता भएका भक्तपुरका चारमध्ये तीन जना एउटै परिवारको भएको खुल्न आएको छ ।

    गोसाइँकुण्ड–५ स्थित ब्याम्बो होटलमा बास बसेर लाङटाङतर्फ जाने क्रममा शनिबार चार जनालाई बेरिङ खोल्साले बगाएर बेपत्ता बनाएको थियो । बेपत्ता हुनेहरुमा भक्तपुर नगरपालिका–१० क्वाठण्डौंँ बस्ने वर्ष २३ का रवि श्रेष्ठ, सूर्यविनायक नगरपालिका–४ दधिकोट बस्ने २३ वर्षीया संस्कृति श्रेष्ठ, २१ वर्षीय किशन श्रेष्ठ र २६ वर्र्षीया सनिता श्रेष्ठ रहेका छन् ।

    संस्कृति, किशन र सनिता एउटै परिवारका रहेको सूर्यविनायक नगरपालिका–४ का वडाध्यक्ष लच्छुराम न्यौपानले जानकारी दिनुभयो । उनीहरु रामेछापबाट बसाइँसराइ गरेर दधिकोटमा बसोबास गर्दै आएको न्यौपानले बताउनुभयो । उनीहरुको अवस्था अझै अज्ञात रहेको छ । उनीहरुको खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय रसुवाका सूचना अधिकारी प्रहरी निरीक्षक राजु शाहले जानकारी दिनुभयो ।

    बेपत्ताहरुको खोजीका लागि प्रहरी र नेपाली सेनाको टोली नुवाकोटको सिमानासम्म परिचालन गरिएको र नुवाकोट प्रहरीलाई पनि घटनाबारे जानकारी गराएर खोजी कार्यका लागि अनुरोध गरिएको उहाँले बताउनुभयो ।

    यसअघि संस्कृति, किशन र सनिता मध्यपुरथिमिमा बस्ने भनि समाचार सार्वजनिक भएको थियो । लाङटाङ जाने क्रममा मध्यपुरथिमि शङ्खधरचोकबाट गाडी चढेकाले रोज कर्माचार्यले उनीहरु थिमिको भएको प्रहरीलाई जानकारी गराएका कारण उनीहरु थिमिको भएको समाचार सार्वजनिक भएको थियो । रासस

  • शुक्रबारदेखि भारी वर्षाः २० जनाको मृत्यु, ११ जना बेपत्ता

    शुक्रबारदेखि भारी वर्षाः २० जनाको मृत्यु, ११ जना बेपत्ता

    काठमाडौं, असोज १९-
    शुक्रबार रातिदेखिको वर्षाका कारण देशभरमा २० जनाको मृत्यु भएको छ । राष्ट्रिय विदप् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणका अनुसार अविरल बर्षपछिको बाढी, पहिरो र डुबानबाट अहिलेसम्म २० जनाको मृत्यु भएको हो ।

    जसमा सबैभन्दा बढी इलाममा मात्रै १८ जनाको मृत्यु भएको छ भने उदयपुर र खोटाङमा एक एक जना छन् ।

    उनका अनुसार इलाममा मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । प्राधिकरणका देशका विभिन्न ठाउँमा ११ जना बेपत्ता रहेका छन् । जसमा सबैभन्द बढी इलाममा ७ जना र रसुवामा ४ जना बेपत्ता रहेका हुन् ।

  • ७ हजार ४ सयले बढ्दा सुनको मूल्यले नाघ्यो २ लाख ३० हजार

    ७ हजार ४ सयले बढ्दा सुनको मूल्यले नाघ्यो २ लाख ३० हजार

    काठमाडौँ, असोज १९-
    नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य २ लाख ३० हजार ६०० रुपैयाँ कायम भएको हो । यसअघि असोज १२ मा सुनको मूल्य तोलामा २ लाख २३ हजार २०० रुपैयाँ कायम भएको थियो ।

    दसैँको केही दिन बन्द भएको सुनचाँदीको मूल्य निर्धारण आइतबारदेखि सुचारु भएको छ । असोज १२ गतेपछि पहिलो पटक मूल्य निर्धारण हुँदा सुनको भाउ तोलामा ७ हजार ४०० रुपैयाँ बढेको छ ।

    यसैगरी असोज १२ मा २ हजार ८१० रुपैयाँ कायम भएको चाँदीको मूल्य २ हजार ९३० रुपैयाँ पुगेको छ। आइतबार कायम भएको सुन र चाँदी दुवैको मूल्य हालसम्मकै उच्च हो ।

  • काठमाडौंमा सवारी आवागमन शुरु, एक दिनमै २६ सय यात्रु भित्रिए

    काठमाडौंमा सवारी आवागमन शुरु, एक दिनमै २६ सय यात्रु भित्रिए

    १९ असोज, काठमाडौं ।
    मौसम केही अनुकूल भएसँगै काठमाडौंको जनवीवन सामान्य बन्दै गएको छ । यात्रुहरू पनि काठमाडौं भित्रिने र बाहिरिनेक्रम सुरु भएको छ ।

    काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ताका नरेशराज सुवेदीका अनुसार, काठमाडौंका विभिन्न नाकाबाट पछिल्लो २४ घन्टामा २ हजार ६ सय ४८ जना भित्रिएका छन् ।

    त्यसैगरी, २ हजार २ सय ६४ काठमाडौं उपत्यकाबाट बाहिरिएका छन् ।

    भित्रिने सवारी साधनको संख्या ५४० छ भने बाहिरिने सवारीको संख्या ४६५ रहेको छ ।

    पानी पर्न रोकिएसँगै सरकारले काठमाडौं भित्रिने र बाहिरिने सडक मार्ग खोल्ने तयारी गरेको छ । बीपी राजमार्गबाहेक अन्य राजमार्गहरूमा गाडी चलाउन दिने तयारी गरिएको हो ।

    जल तथा मौसम विज्ञान विभागले पनि पश्चिमतर्फ यातायात सञ्चालन गर्न सकिने भनेर सरकारी अधिकारीहरूलाई सूचना दिइसकेको छ ।

    भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय स्रोतका अनुसार अब काठमाडौं–नारायणगढ र काठमाडौं पोखरा–सडक खण्डमा यातायातका साधन सञ्चालन गर्ने तयारी छ ।

    ‘अहिले कुनै–कुनै ठाउँमा साना–साना पहिराहरु छन् । त्यो पन्छाएपछि पश्चिमतिर जाने बाटो क्लियर हुन्छ अनि थप पानी पर्ने सम्भावना नभएको जानकारी आएकाले गाडी चल्न दिइने छ,’ मन्त्रालय स्रोतले जनाएको छ ।

    बाढी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुलीले हाल वर्षा हुने क्रम रोकिएको र ठूलो पानी पार्ने प्रणाली मध्यक्षेत्रबाट बाहिरिएकाले ठूलो पानी पर्ने सम्भावना नरहेको जानकारी दिए ।

    आजै दिउँसोबाट पूर्वी क्षेत्रबाट पनि वर्षा गराउने प्रणाली निष्कृय हुने सम्भावना रहेको उनले बताए । ‘हामीले पूर्वानुमान गरिएभन्दा छिटो मौसम सफा हुँदै गएकाले पूर्वको तुलनामा पश्चिमतर्फ यातायात सञ्चालन गर्ने मौसम अनुकूल हुँदै गएको जानकारी सम्बन्धित निकायलाई दिइसकेका छौं,’ पराजुलीले भने ।

    सरकारले वर्षा र बाढी पहिरोको जोखिम रहेको भन्दै असोज १८, १९ र २० गतेसम्म तीन दिन काठमाडौं भित्रिन र बाहिरिन रोक लगाएको थियो ।

  • यस्तो छ भारी, धेरै भारी र अति भारी वर्षाको मापन

    यस्तो छ भारी, धेरै भारी र अति भारी वर्षाको मापन

    काठमाडौँ, असोज १९-
    गत शुक्रबार र शनिबारको वर्षाले पश्चिम नेपालबाहेकको जनजीवन प्रभावित बनायो । आज मौसम बदली कायम रही मनसुनी वायुको प्रभावले पूर्वी नेपाल थप प्रभावित बनाइरहेको छ । आज दिनभर नै कोशी प्रदेशका अधिकांश भागमा मधेस प्रदेश र बागमती प्रदेशका केही भागमा वर्षा हुने जल तथा मौसम विज्ञान विभागले आज बुलेटिन सार्वजनिक गरिसकेको छ ।

    कोशी प्रदेशका केही जिल्ला अति भारी वर्षा हुने र कोशी जलाधार क्षेत्रमा पर्ने साना ठूला नदीहरुमा बहाव उल्लेख्ने बढ्ने विभागको बाढी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुली जानकारी दिनुभएको छ । इलामलगायत पहाडी जिल्लामा बढी वर्षा हुँदा पहिरोको पनि उत्तिकै जोखिम रहेको उहाँले पूर्वानुमान गर्नुभयो ।

    यो बेलामा धेरै प्रयोग गरिने शब्दहरु हुन् हल्कादेखि मध्यम , भारी , धेरै भारी र अति भारी वर्षा । यस्तै हल्का बदली, आंशिक बदली र साधारणतया बदली र पूर्ण बदलीजस्ता शब्द पनि मौसमविद्हरुले प्रयोग गरिरहेका छन् र यो हिजो र आजको वर्षामा पनि धेरै प्रयोग भएको शब्द हो ।

    जल तथा मौसम विज्ञान विभागले आफ्ना सूचनाहरुमा उक्त शब्द नियमित रुपमा प्रयोग गर्दै आएको छ । मौसमसम्बन्धीका जानकारहरुले यी शब्दहरु बुझ्न सक्छन् तर आम सर्वसाधारणले यस्ता प्राविधिक शब्दहरु नबुझेका हुनसक्छन् । तपाइँ पनि यी शब्दबारे दोधारमा हुनुहुन्छ भने अब प्रष्ट हुनुहुन्छ ।

    यस्तो छ भारी, धेरै भारी र अति भारी वर्षा मापन

    जल तथा मौसम विज्ञान विभागले ती शब्दहरुको परिभाषित नै गरेको छ । यस्ता प्राविधिक शब्द र भनाइलाई उसले अथ्र्याएर जानकारी दिने गरेको छ ।

    बेलाबेलामा भिडियोमार्फत पनि यस्ता शब्दका बारेमा यसरी जानकारी दिने गरिएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेले बताउनुभयो ।

    विभागका अनुसार १० मिलिमिटरभन्दा कम वर्षा मापन भएको अवस्थालाई हल्का वर्षाको रुपमा परिभाषित गर्ने गरिएको छ । दश मिलिमिटरभन्दा माथि र ५० मिलिमिटरभन्दा तलको वर्षालाई मध्यम वर्षा भनेर उल्लेख गर्ने गरिएको छ । ५० मिलिमिटरदेखि माथि १०० मिलिमिटरभन्दा तलको वर्षालाई भारी वर्षाका रुपमा मापन गर्ने गरिएको छ ।

    यस्तै १०० मिलिमिटरभन्दा माथि २०० मिलिमिटरभन्दा तलको वर्षालाई धेरै भारी वर्षा भन्ने गरिएको छ । यस्तै २०० मिलिमिटरभन्दा माथिको वर्षालाई अति भारी वर्षाको वर्गमा राखिने गएिको विभागले जनाएको छ ।

    हल्का बदली, अधिकांश बदली र पूर्ण बदली

    यस्तै बदलीका बारेमा पनि बुझ्न जरुरी छ । विभागले वर्षाको जस्तै बदलीको बारेमा समेत परिभाषित गरेको छ । बादल नभएको अवस्थालाई मौसम सफा भनिन्छ । आकाशको २५ प्रतिशत भागमा बादल लागेको अवस्था छ भने त्यसलाई मुख्यतया सफा भनेर भन्ने गरिएको छ ।

    छब्बीसदेखि ५० प्रतिशतसम्म बादल लागेको अवस्थालाई आंशिक बदली भनिन्छ । साधारणतया बदली भनेको ५१ प्रतिशतदेखि ७५ प्रतिशत बादल लागेको अवस्थालाई जनाउँछ ।

    यस्तै ७६ प्रतिशतमाथि ८८ प्रतिशतसम्म आकासमा बादल लागेको छभने अधिकांश क्षेत्रमा बदली भन्ने गरिएको छभने १०० प्रतिशत बादल लागेको अवस्थालाई भने पूर्ण बदली भनेर परिभाषित गर्ने गरिएको मौसम विज्ञान विभागका सूचना अधिकारी दिनकर कायस्थले बताउनुभएको छ । रासस

  • ओमानमाथि नेपाल ६ विकेटले विजयीः आसिफ शेखको अर्धशतक

    ओमानमाथि नेपाल ६ विकेटले विजयीः आसिफ शेखको अर्धशतक

    काठमाडौं,असोज १९

    ओमानविरुद्धको वार्मअप म्याचमा नेपाल ६ विकेटले विजयी भएको छ। आईसीसी टी-२० विश्वकपको छनोटको तयारीमा रहेको नेपालले ओमानसँग वार्मअप म्याच खेलेको हो। शनिबारको पहिलो वार्मअप म्याचमा ओमानले प्रस्तुत गरेको १ सय ११ रनको लक्ष्य नेपालले १७ ओभरको समाप्तिमा चार विकेटको क्षतिमा पूरा गरेको हो।

    नेपालको जितमा ओपनर आसिफ शेखले ६१ रनको सानदार अर्धशतकीय इनिङ्स खेले। कप्तान रोहित पौडेलले २५ रन बनाए। कुशल भुर्तेलले ११ रन बनाउँदा कुशल मल्लले १० रन थपे। सुरुमा ब्याटिङ गरेको ओमानले पूरै २० ओभर खेल्दै ९ विकेटको क्षतिमा १ सय १० रन बनाएको थियो।

    ओमानलाई सस्तैमा समेट्न नेपालका लागि सोमपाल कामी, सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले दुई दुई विकेट हात पारे। विश्वकपको छनोट खेल्न नेपाली टिम ओमान पुगेपछि आर्मअप म्याचमा व्यस्त भएको हो। विश्वकप छनोटको समूह चरणमा नेपालले कुवेत र जापानसँग खेल्नेछ। समूह चरणको शीर्ष स्थानको टिम सुपर सिक्समा छनोट हुनेछ। सुपर सिक्सको शीर्ष तीन टिमले अर्को वर्ष हुने टी ट्वान्टी विश्वकपमा स्थान बनाउनेछन्।

  • सप्तरी, सुनसरी र मोरङमा अति भारी वर्षा, उच्च सतर्कता अपनाउन आग्रह

    सप्तरी, सुनसरी र मोरङमा अति भारी वर्षा, उच्च सतर्कता अपनाउन आग्रह

    काठमाडौँ असोज १९
    पछिल्लो २४ घण्टादेखि देशका पूर्वी जिल्लाहरू सप्तरी, सुनसरी र मोरङमा अति भारी वर्षा मापन भएको छ।

    जल तथा मौसम विज्ञान विभागका अनुसार आसपासका जिल्लाहरूमा पनि लगातार भारी वर्षा भइरहेको छ र यो क्रम भोलीसम्म निरन्तर रहने अनुमान गरिएको छ।

    विभागले शनिबार राति ११: ५५ मा जारी गरेको सूचना अनुसार लगातारको वर्षाका कारण ती क्षेत्रका नदी-नाला तथा निचोरा बस्तीहरूमा बाढी र डुबानको उच्च जोखिम देखिएको छ।

    विभागले प्रभावित क्षेत्रमा रहने सर्वसाधारणलाई अति उच्च सतर्कता अपनाउन तथा आवश्यक परे सुरक्षित स्थानमा जान आग्रह गरेको छ।

  • आइतबार र सोमबार बिदा दिने सरकारको निर्णय

    आइतबार र सोमबार बिदा दिने सरकारको निर्णय

    काठमाडौं, १८ असोज –
    सरकारले भोलि (आइतबार) र पर्सि (सोमबार) सार्वजनिक बिदा दिएको छ ।

    देशभर आएको अविरल वर्षासँगैको प्रतिकूल अवस्थालाई मध्यनजर गर्दै थप दुई बिदा दिने निर्णय भएको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ । सरकारी कार्यालयहरू भोलिदेखि खुल्ने तय भएको थियो ।

    तर, राजमार्गहरूमा खसेको पहिरो र मौसम पूर्वानुमान महाशाखाले जारी गरेको अलर्टलाई ध्यानमा राख्दै बिदा दिने निर्णय भएको हो ।

    त्यस्तै, गृह मन्त्रालयमा देशभरका सीडीओहरूसँग सुरक्षाबारे छलफल भएको छ ।

    त्यस्तै, उच्च जोखिमयुक्त बस्तीमा सुरक्षा संयन्त्रहरू परिचालन गर्ने निर्णय पनि भएको छ । नेपाली सेनाको हेलिकप्टर पनि आकस्मिक उद्धारका लागि तयारी अवस्थामा राख्ने निर्णय भइरहेको पनि गृहले जनाएको छ ।

    हेर्नुहोस् सूचना :

  • कार्यालय प्रमुखलाई आजै अनिवार्य कार्यस्थल पुग्न प्रधानमन्त्री कार्यालयको निर्देशन

    कार्यालय प्रमुखलाई आजै अनिवार्य कार्यस्थल पुग्न प्रधानमन्त्री कार्यालयको निर्देशन

    काठमाडौं, असोज १८ :
    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय शनिबारसम्म कार्यालय पुग्न कर्मचारीलाई निर्देशन दिएको छ। काठमाडौं भित्रने र बाहिरिने सवारी साधन ३ दिन राजमार्ग बन्द गरेको सूचना जारी भएको केहि घण्टा नबित्दै कार्यलय प्रमुखहरूलाई आजै अनिवार्य रूपमा कार्यस्थल पुग्न सक्ने व्यवस्था मिलाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌ले निर्देशन दिएको हो।

    सामान्य प्रशासन मन्त्रालयका उपसचिव भुवनेश्वर लामिछाने अन्त्यन्त जरुरी सूचना जारी गर्दै सवै जिल्ला समन्वय अधिकारी, स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूले निर्देशन कार्यान्वयन हुने व्यवस्था गर्न/गराउन अनुरोध गरेका हुन्। मन्त्रालयले विपद्को सतर्कता अपनाउन, पुर्व तयारी र प्रतिकार्यको काममा जुट्नका लागि निर्देशन दिएको हो।

    ‘जल तथा मौसम विज्ञान विभागका अनुसार २०८२ असोज १७ देखि २० गते सम्म देशका विभिन्न भागहरूमा मध्यम देखि भारी वर्षाको सम्भावना रहेको हुंदा आ-आफ्नो मन्त्रालय अन्तर्गतका जिल्लास्थित कार्यालय प्रमुखहरूलाई २०८२ असोज १८ गते सम्ममा अनिवार्य रूपमा कार्यस्थल पुगी सक्ने व्यवस्था मिलाउनु हुन तथा सोही अनुसार सतर्कता अपनाउन, पुर्व तयारी र प्रतिकार्यको काममा जुट्नका लागि निर्देशन हुन भनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयवाट निर्देशन प्राप्त भएको हुँदा सबै जिल्ला समन्वय अधिकारी तथा स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूले निर्देशन कार्यान्वयन हुने व्यवस्था गर्न/गराउन हुन अनुरोध छ ’सूचनामा भनिएको छ।

    राजमार्ग बन्द
    सरकारले उपत्यका भित्रिने र बाहिरिने सवारीसाधन आजबाट ३ दिनका लागि बन्द गरेको छ। देशका अधिकांश स्थानमा वर्षा हुन थालेको र भारी वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानपछि ३ दिन यातायात बन्द गर्ने निर्णय भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

    ‘जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार यही असोज १८ – २० गतेसम्म पूर्वमा कोशी प्रदेशदेखि पश्चिममा लुम्बिनी प्रदेशसम्म चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । केही स्थानमा भारी वर्षादेखि अति धेरै भारी वर्षा हुनसक्ने सम्भावना रहेको छ।’ प्राधिकरणका उपसचिव एवम् प्रवक्ता शान्ति महतले जारी गरेको सूचनामा भनिएको छ,‘भारी वर्षा तथा अति धेरै भारी वर्षाका कारण आउन सक्ने बाढी, पहिरो र डुबान एवं त्यसबाट उत्पन्न हुने सक्ने सम्भावित विपद् जोखिम न्यूनीकरण गर्न कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका सबै जिल्लाबाट चल्ने लामो दूरीका र काठमाडौँ उपत्यका भित्रिने / बाहिरिने सवारी साधन आवतजावत मिति २०८२ असोज १८, १९ र २० गतेका लागि बन्द गरिएको बेहोरा निर्देशानुसार जानकारी गराइन्छ ।’