Blog

  • सप्तकोशी नदीको बहाव निरन्तर रूपमा घट्दै, ४८ वटा ढोका खोलियो

    सप्तकोशी नदीको बहाव निरन्तर रूपमा घट्दै, ४८ वटा ढोका खोलियो

    काठमाडौँ, २० असोज –
    अविरल वर्षा रोकिएसँगै सप्तकोशी नदीको बहाव निरन्तर रूपमा घटेको छ । सोमबार बिहान १० : ३० बजेको मापनअनुसार ३ लाख ४५ हजार १४० क्युसेकप्रति सेकेन्ड पानीको बहाव रहेको छ ।

    प्रहरीका अनुसार अहिले ब्यारेजका ४८ वटा ढोका खोलिएका छन् । आइतबार बिहान भने नदीमा पानीको बहाव उच्च भएपछि खतराको सङ्केतस्वरुप रातो बत्ती बालिएको थियो भने रातो झन्डासमेत फहराइएको थियो ।

  • आमाको हत्या आरोपमा जेनजी आन्दोलनका भाइरल युवा प्रकाउ

    आमाको हत्या आरोपमा जेनजी आन्दोलनका भाइरल युवा प्रकाउ

    धादिङ, असोज २० –
    धादिङ धारिलो हतियार प्रहार गरि छोराले आमाको हत्या गरेका छन् । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–५ थापाकटेरीका ३० वर्षीय यम कँडेल (जिरे)ले हिजो (आइतबार) हतियार प्रहार गरि ५४ वर्षीया आमा राममायाको हत्या गरेका हुन् ।

    जिल्ला प्रहरी कार्यालय धादिङका एसपी भेषराज रिजालले घटनास्थलबाट हतियारसहित निजलाई पक्राउ गरिएको जानकारी दिए ।

    उनका अनुसार घटनाको थप अनुसन्धान भइरहेको र यमबहादुरविरुद्ध आवश्यक कानूनी प्रक्रिया अघि बढाइएको छ ।

    राममायाको हत्यापछि पूरै गाउँ शोकमा डुबेको छ । आमाको हत्या अभियोगमा पक्राउ गरेका यमबहादुर गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा आक्रामक प्रस्तुती र क्रियाकलापबाट सामाजिक सञ्जालमा भाइरल भएका थिए ।

  • आज  कोजाग्रत पूर्णिमा। धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरी मनाइँदै

    आज कोजाग्रत पूर्णिमा। धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरी मनाइँदै

    काठमाडौं असोज २०
    आज सोमबार चतुर्दशी तिथि १३ घडी ३५ पला अर्थात् ११ बजेर २५ सम्म छ। त्यसपछि पूर्णिमा तिथि छ।

    सोमबार साँझमै पूर्णचन्द्र देखिने भएकाले कोजाग्रत पूर्णिमा सोमबार नै मनाउन निर्देश गरेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष शम्भुप्रसाद ढकालले जानकारी दिए। मंगलबार बिहान ९ बजेर ३५ मिनेटसम्म पूर्णिमा तिथि छ। यसैगरी विजयादशमीका दिन शुरु भएको टीका जमरा लगाउने क्रम पनि सोमबार सम्पन्न हुँदैछ।

    विजयादशमीदेखि चतुर्दशीसम्म पनि टीका लगाउन नभ्याएकाहरूलाई पूर्णिमाका दिन बिहान टीका लगाउने र जमरा तथा दशैँका पूजासामग्री विसर्जन चलन छ।आश्विन शुक्ल प्रतिपदाका दिन दशैँघरमा छरिएको जौको अङ्कुर (जमरा) कोजाग्रत पूर्णिमाका दिन बिहान विसर्जन गर्छन्।

    कोजाग्रत पूर्णिमाको साँझ समृद्धिकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बस्ने विधान पुराणहरूमा पाइन्छ। यो दिन रातभरि जाग्राम बसी लक्ष्मीको आराधना गर्नाले समृद्धि प्राप्त हुने मान्यता रहेको धर्मसभा नेपालका अध्यक्ष डा माधव भट्टराईले बताए।

    भगवान् श्रीकृष्णले शरद पूर्णिमाको दिनदेखि रासलीला गरेको पुराणमा उल्लेख छ। वर्षको एक पटक यो दिन चन्द्रमाको सोह्र कलाले परिपूर्ण हुने बताइन्छ।

    कोजाग्रत पूर्णिमाका दिन नेपालका राष्ट्रप्रमुखले भक्तपुरस्थित नवदुर्गा शक्तिपीठ दर्शन गर्ने परम्परा छ।

  • नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गमा छैन अवरोध

    नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गमा छैन अवरोध

    चितवन असोज २०
    नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गमा आज बिहान ६ बजेबाट यातायात सेवा पूर्ववत् सञ्चालनमा आएका छन् ।

    गत शुक्रबार र शनिबार आएको अविरल वर्षाका कारण ती सडकमा पहिरोको उच्च जोखिम हुनसक्ने जनाउँदै आइतबार राति ९ बजेपछि सार्वजनिक तथा निजी यातायातका साधन आवतजावतमा बन्द गरिएका थिए ।

    जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार यातायात सञ्चालनमा आएसँगै रोकिएका सवारी साधन गन्तव्य तर्फ लागेका छन् । जिल्लाका १४ स्थानमा विश्राम कक्ष (होल्डिङ् सेन्टर)मा रोकिएका लामो तथा छोटो दुरीका सवारी साधन गन्तव्य तर्फ जान थालेका हुन् ।

  • आजको मौसम पूर्वानुमानः कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षाको सम्भावना

    आजको मौसम पूर्वानुमानः कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षाको सम्भावना

    काठमाडौँ, असोज २०-

    हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखका अनुसार कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली रहने छ ।

    यसैगरी कोशी, बागमती, लुिम्बनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै तथा बाँकी प्रदेशका पहाडी तथा तराई भू भागका स्थानमा मेघगर्जन ÷चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ । आज राती कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी भू भागमा आंशिक बदली रहने महाशाखाल जनाएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराईका भू–भागका थोरै स्थानहरूमा मेघगर्जन÷चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

  • नागढुङ्गाबाट ५ः०० बजेभित्र मात्र गाडीलाई जान दिइने

    नागढुङ्गाबाट ५ः०० बजेभित्र मात्र गाडीलाई जान दिइने

    काठमाडौँ, असोज १९-
    बाढीपहिरो तथा विपद्को सम्भावित घटनालाई मध्यनजगर गर्दै लामो दूरीका रात्रिकालीन बसलाई साँझ ५ः०० बजेभित्रमा पुगेकालाई मात्रै नागढुङ्गाबाट प्रस्थानका लागि अनुमति दिइने भएको छ ।

    बाढीपहिरोलगायत विपद् जोखिमका घटनालाई मध्यनजर गर्दै काठमाडौँबाट नागढुङ्गामा ५ः०० बजे पुगेका लामो दूरीका रात्रिकालीन बसलाई मात्रै गन्तव्यतर्फ पठाइने उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो, “बाढीपहिराको सम्भावित जोखिम अझै देखिएकाले नागढुङ्गामा ५ः०० बजेभित्र पुगेका रात्रिकालीन बसलाई मात्र बाहिरिने अनुमति दिइनेछ । सोहीअनुसार हामीले सम्बन्धित बस व्यवसायीका संस्थामा जानकारीसमेत दिएका छौँ ।”

    यसैगरी, रातिका बेलामा जोखिम बढ्ने भएकाले चालकहरुले पनि जोखिम मोलेर सवारीसाधन नचलाउन उपत्यका ट्राफिक प्रहरी कार्यालयले आग्रहसमेत गरेको छ ।

    आज बिहानदेखि कम्तीमा पनि २०० को हाराहारीमा नागढुङ्गाबाट लामो तथा छोटो दूरीका सवारीसाधन बाहिरिएका ट्राफिक प्रहरीले जनाएको छ । रासस

  • नेपालबाट वर्षा गराउने प्रणाली बाहिरियो

    नेपालबाट वर्षा गराउने प्रणाली बाहिरियो

    काठमाडौँ, असोज १९-
    बंगालको खाडीबाट विकसित भएर भारत हुँदै नेपाल भित्रिएको वर्षा गराउने प्रणाली बाहिरिएको छ । जल तथा मौसम विज्ञान विभागले नेपाल भित्रिएको यसपटक वर्षा गराउने प्रणाली पूर्वी नेपालबाट बाहिरिएको बताएको हो।

    वर्षा गराउने न्यूनचापीय मौसम प्रणाली नेपालबाट बहिरिएर मनसुन कमजोर भई उघ्रिएको विभागले जनाएको छ। यद्यपि नेपालबाट मनसुन भने नबाहिरिएको विभागले बताएको छ।

  • बाढीपहिरो अपडेटः इलामको ३७ जनासहित देशभर ४९ को मृत्यु

    बाढीपहिरो अपडेटः इलामको ३७ जनासहित देशभर ४९ को मृत्यु

    काठमाडौं, असोज १९-
    शुक्रबार र शनिबार निरन्तर आएको वर्षाका कारण आएको पहिरो र बाढीमा परेर ज्यान गुमाउनको संख्या ४९ पुगेको छ ।

    नेपाल प्रहरीले दिएको पछिल्लो विवरण अनुसार, देशभर ज्यान गुमाउनेको संख्या ४९ पुगेको हो । यो विवरण दिउँसो साढे १ बजेसम्म संकलन गरिएको प्रहरीले जनाएको छ ।

    जसमध्ये सबैभन्दा कोशी प्रदेशका जिल्लाहरूमा ज्यान गुमाउनेको संख्या धेरै छ । इलाममै ३७ जनाले ज्यान गुमाएका छन् । उदयपुरमा २, खोटाङमा १ र पाँचथरमा ६ जनाले ज्यान गुमाएका छन् ।

  • हवाई यात्रुको चाप बढेपछि भरतपुर विमानस्थलबाटै बस सेवा

    हवाई यात्रुको चाप बढेपछि भरतपुर विमानस्थलबाटै बस सेवा

    १९ असोज, चितवन ।
    हवाई यात्रुको चाप बढेपछि स्थानीय प्रशासनको पहलमा भरतपुर विमानस्थलबाटै काठमाडौँका लागि बसको व्यवस्था गरिएको छ । विमानस्थलमा टिकट नपाएर अलपत्र परेका यात्रुलाई बसमार्फत् काठमाडौँ पठाइएको हो ।

    शनिबार हवाई सेवा अवरुद्ध बनेपछि शनिबारका लागि टिकट लिएका यात्रु र आजका लागि पुनः विमानस्थल पुगेका यात्रुका कारण विमानस्थलमा यात्रुको चाप अत्याधिक बढेको थियो । काठमाडौंँ जाने सडक मार्ग रोकिएपछि हवाई यात्रुको चाप अत्याधिक बढेको हो ।

    प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार, विमानस्थल पुगेर अवस्था देखेपछि यातायात व्यवसायीसँग आग्रह गरेर विमानस्थलबाटै यात्रु लैजाने व्यवस्था मिलाइएको हो । एउटा माइक्रोबसले यात्रु लिएर गएको छ भने थप बसको व्यवस्था गरेर बाँकी यात्रुलाई पनि पठाइने उनले बताए ।

    उनले भने, ‘यातायात व्यवसायीलाई नियमानुसारको भाडा यात्रुसँग लिएर सेवा दिन भनेका छौँ ।’ अत्यावश्यक परेका यात्रु लैजानुपर्ने भएकाले स्थानीय प्रशासनले पत्र बनाएर बस पठाएको उनले बताए ।

    बसलाई जान र फर्किनका लागि सजिलो होस् भन्नका लागि पत्रसमेत बनाइएको उनले जानकारी दिए । नारायणगढ–मुग्लिन सडक खण्ड सञ्चालनमा रहेको छ । पृथ्वी राजमामर्गको चितवन खण्ड पनि खुल्ला रहेको छ ।

    धादिङमा खसेको पहिरो पन्छ्यएर सवारी साधन सञ्चालनको तयारी रहेको जनाउँदै उनले साना सवारी साधनलाई गन्तव्यतर्फ पठाइएको बताए । प्रशासनले शनिबार यहाँ रोकिएका यात्रुलाई ७५ प्रतिशत छुटमा होटलमा बस्ने व्यवस्था गरेको थियो ।

  • इलाममा पहिरोमा परेर ज्यान गुमाउनेको संख्या २५ पुग्यो

    इलाममा पहिरोमा परेर ज्यान गुमाउनेको संख्या २५ पुग्यो

    इलाम, असोज १९-
    इलाममा पहिरोमा परेर ज्यान गुमाउनेको संख्या २५ पुगेको छ। जिल्लाको ६ वटा पालिकामा गएको पहिरोमा परेर ज्यान गुमाउनेको संख्या २५ पुगेको सशस्त्र प्रहरी बल नेपालले जानकारी दिएको हो।

    प्रहरीका अनुसार सूर्योदय नगरपालिका १ मा ५, इलाम नगरपालिका ६ मा ६ जना, देउमाइ नगरपालिकामा २, खापखुकपुङ गाउँपालिकामा १, मान्सेबुङ गाउँपालिकामा ३ र माइजोकमाइ नगरपालिकामा ८ जनाको मृत्यु भएको छ।