Blog

  • ओली र लेखकलाई पक्राउबारे मध्यरातसम्म बालुवाटारमा छलफल, प्रहरीले माग्यो लिखित आदेश

    ओली र लेखकलाई पक्राउबारे मध्यरातसम्म बालुवाटारमा छलफल, प्रहरीले माग्यो लिखित आदेश

    काठमाडौं,असोज २१-
    जेनजी युवा अगुवाहरुले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न सरकारमाथि दबाब बढाइरहेका बेला प्रधानमन्त्री सुशीला कार्कीले सबै सुरक्षा अंगका प्रमुखहरुसँग छलफल गरेकी छन् ।

    जेनजी युवा आन्दोलनमा दमन गरेको आरोपमा ओली र लेखकमाथि पक्राउ गर्न दबाब बढेका बेला प्रधानमन्त्री कार्कीले गृहमन्त्री ओमप्रकाश अर्यालसहित प्रधानसेनापति अशोकराज सिग्देल, गृहसचिव रामेश्वर दंगाल, नेपाल प्रहरी प्रमुख चन्द्रकुवेर खापुङ, सशस्त्र प्रहरी प्रमुख राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभाग प्रमुख टेकेन्द्र कार्कीसँग छलफल गरेकी हुन् ।

    जेनजी युवाहरुले ओली र लेखकलाई पक्राउ गरेर अनुसन्धान गर्न माग गर्दै सोमबार जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी लगेर गएका थिए । तर प्रहरीले जाहेरी दर्ता गर्न मानेन ।

    त्यसको जानकारी काठमाडौं प्रहरी परिसर प्रमुख रमेश थापाले प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङलाई गराए । त्यसपछि खापुङ केही बरिष्ठ अधिकारीहरुलाई लिएर गृहमन्त्री ओमप्रकाश अर्यालकहाँ गएका थिए ।

    प्रहरीको प्रश्न– बालेनविरुद्ध पनि जाहेरी आए के गर्ने ?

    गृहमन्त्रीसँगको छलफल पनि जाहेरी दर्ता गर्ने कि नगर्ने भन्ने विषयमा कुराकानी भएको थियो तर टुंगोमा पुगेन ।

    स्रोतका अनुसार गृहमन्त्री अर्यालले जाहेरी दर्ता गर्नुपर्ने धारणा राखेका थिए । तर प्रहरी अधिकारीहरुले आज पूर्वप्रधानमन्त्रीविरुद्ध आएको जाहेरी भोलि बालेनविरुद्ध पनि आउनसक्ने र त्यसले परिस्थिति थप भड्किनेतर्फ सचेत गराएका थिए ।

    ‘गृहमन्त्री जाहेरी दर्ता गर्नुपर्ने पक्षमा थिए तर प्रहरी अधिकारीहरुले आज पूर्वप्रधानमन्त्रीविरुद्ध जाहेरी आउला, भोलि बालेनविरुद्ध जाहेरी आउला, त्यस्तो बेला के गर्ने भनेर कुरा राखेका थिए । त्यसपछि यसबारे प्रधानमन्त्रीसँग नै छलफल गरेर टुंगोमा पुग्ने निष्कर्षमा पुगियो,’ स्रोतले भन्यो ।

    त्यसपछि गृहमन्त्रीले प्रधानमन्त्री कार्कीसँग छलफलको समय मागेका थिए । सोही अनुसार गृहमन्त्री, गृहसचिवसहित चार वटै सुरक्षा अंगका प्रमुखहरुसँग प्रधानमन्त्री निवास बालुवाटारमा संयुक्त छलफल भएको थियो । सो छलफल सोमबार बेलुकादेखि मंगलबार बिहान २ बजेसम्म चलेको स्रोत बताउँछ ।

    छलफलको क्रममा प्रधानमन्त्री कार्कीले जेनजी युवाहरुको मागका साथै सुरक्षा अंगका प्रमुखहरुसँग विकसित परिस्थितिलाई कसरी सम्हाल्ने भनेर रायसमेत मागेकी थिइन् ।

    छलफलमा सहभागी प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले गृहमन्त्रीसँगको छलफलमा भएकै कुराहरु राखेका थिए ।

    प्रहरीले माग्यो केन्द्रीय सुरक्षा समितिको निर्णय र लिखित आदेश

    साथै उनले यो विषयमा प्रधानमन्त्री कार्कीबाट लिखित निर्देशन प्राप्त भए सोहीअनुसार अघि बढ्न तयार भएको बताएको एक सहभागीले जानकारी दिए ।

    ‘केन्द्रीय सुरक्षा समितिबाट निर्णय गरेर लिखित निर्देशन दिए ओली र लेखकविरुद्ध उजुरी दर्ता गर्न सकिन्छ भन्ने उहाँको आसय थियो,’ स्रोतले भन्यो ।

    भदौ २३ र २४ गते भएको जेनजी युवा आन्दोलनको क्रममा भएका घटनाबारे छानबिन गर्न सरकारले विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेको छ ।

    सो समितिको सिफारिस अनुसार ओली र लेखकसहित तत्कालीन गृह सचिव गोकर्णमणि दुवाडी र काठमाडौंका तत्कालीन सीडीओ छवि रिजाललाई सरकारको अनुमतिबेगर काठमाडौं उपत्यका बाहिर जान रोक लगाइएको छ ।

    सुरक्षा अधिकारीहरुले न्यायिक छानबिन भइरहेका बेला उजुरी लिँदा र पक्राउ गर्दा मुठभेड हुनसक्ने धारणा राखेका थिए ।

    प्रधानमन्त्री कार्कीले भनिन्– दोषी कारबाहीको दायरामा आउनैपर्छ

    साथै सुरक्षा अधिकारीहरुले जेनजी युवा आन्दोलनको क्रममा प्रहरीहरुबाट लुटिएका हतियार सबै फिर्ता नभइसकेकाले सुरक्षा संवेदनशील भएको जानकारी समेत गराएका थिए ।

    प्रधानमन्त्री कार्कीले भने यी समग्र विषयमा अझ मसिनो गरी छलफल र विश्लेषण गर्न अधिकारीहरुलाई निर्देशन दिएको सुरक्षा स्रोत बताउँछ । उनले दोषी जोसुकै भए पनि कारबाहीको दायरामा आउनुपर्ने दोहोर्‍याएकी थिइन् ।

    यस विषयमा प्रधानमन्त्री कार्की आज पनि थप परामर्श र छलफलमा रहेको प्रधानमन्त्री कार्यालय स्रोत बताउँछ ।

  • जेनजी आन्दोलनको एक महिनाको स्मृतिमा रास्वपाले ‘श्रद्धा सुमन सभा’ गर्ने

    जेनजी आन्दोलनको एक महिनाको स्मृतिमा रास्वपाले ‘श्रद्धा सुमन सभा’ गर्ने

    काठमाडौं , असोज २१-
    जेनजी आन्दोलनको एक महिनाको स्मृतिमा राष्ट्रिय स्वतन्त्र पार्टीले ‘श्रद्धा सुमन सभा’ गर्ने भएको छ ।
    आन्दोलनका शहीदहरूको स्मृतिमा बिहीबार साँझ ६ बजे काठमाडौंको माइतीघर, पार्टीको केन्द्रीय कार्यालयसहित वडास्तरमा समेत श्रद्धा सुमन सभा गर्न लागेको प्रवक्ता मनिष झाले बताएका हुन् ।

    जेनजी आन्दोलनको क्रममा मृत्यु भएकाहरूलाई सरकारले शहीद घोषणा गरेको थियो ।

     

  • पाकिस्तानी प्रधानमन्त्रीद्वारा बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त

    पाकिस्तानी प्रधानमन्त्रीद्वारा बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त

    काठमाडौँ, असोज २१ –
    पाकिस्तानका प्रधानमन्त्री शेहवाज सरिफले हालैको बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै शोकाकूल परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्नुभएको छ ।

    “नेपालमा बाढी र पहिरोबाट भएको जनधनको व्यापक क्षतिबाट म ज्यादै दुःखी छु । म शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछु । यो कठिन क्षणमा पाकिस्तान सरकार र जनता नेपाल सरकार र नेपाली जनताका साथमा छन्,” सामाजिक सञ्जाल एक्समा उहाँले लेख्नुभएको छ । रासस

  • सुनको मूल्य निरन्तर अकासिँदै , कतिमा हुदैँ छ कारोबार ?

    सुनको मूल्य निरन्तर अकासिँदै , कतिमा हुदैँ छ कारोबार ?

    काठमाडौँ, असोज २१ –
    अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धिभएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । सोमबारको तुलनामा आज एक तोला सुन दुई हजार ३०० ले महँगो भएको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार रु दुई लाख ३३ हजार १०० मा कारोबार भएको एक तोला सुनको मोल आज रु दुई हजार ३०० ले बढेर रु दुई लाख ३५ हजार ४०० कायम भएको छ । चाँदीको मूल्य भने स्थिर छ ।

    सोमबार एक तोला चाँदी रु दुई हजार ९६० मा खरिदबिक्री भएको थियो । गत आइतबार एक तोला सुन रु दुई लाख ३० हजार ६०० मा किनबेच भएको थियो भने त्यति नै परिमाणको चाँदी रु दुई हजार ९३० मा क्रयविक्रय भएको थियो ।

    अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ९६५ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । रासस

  • प्रधानमन्त्री कार्कीलाई सामाजिक सञ्जाल मार्फत शाहीको सुझाव

    प्रधानमन्त्री कार्कीलाई सामाजिक सञ्जाल मार्फत शाहीको सुझाव

    काठमाडौँ , असोज २१ –
    राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री सुशीला कार्कीलाई देश विधिको शासनमा चलाउन सुझाव दिएका छन्।

    उनले भनेका छन् , “सम्माननीय प्रधानमन्त्रीज्यू देश विधिको शासनमा चलाउनुहोस । आन्दोलनको म्यान्डेटलाई नबिर्सिनुहोस शहीद,र घाइते एवं पीडित लाई न्याय दिनुहोस् यो देश कुनै एउटा समूह कुनै एउटा व्यक्तिको होइन यो सबैको साझा मुलुक हो। त्यसैले बिदेशी राजदूतावास केन्द्रित भएर कसैको दबाबमा परेर सरकार चलाउने होइन। विधिको शासन र न्यायिक प्रक्रिया मिलाएर सरकार चलाउने हो।”

  • ताप्लेजुङमा बोलेरो गाडी दुर्घटना

    ताप्लेजुङमा बोलेरो गाडी दुर्घटना

    ताप्लेजुङ ,असोज २१ –
    ताप्लेजुङ जिल्लाको आठराई त्रिवेणी गाउँपालिका–३ मिचिरीङमा आज बिहान बोलेरो गाडी दुर्घटना भएको छ ।

    आज बिहान करिब ९ः०० बजे निगुरादिनबाट फुङलिङ सदरमुकामतर्फ जाँदै गरेको मे।१।ज २५१९ नम्बरको बोलेरो गाडी सडकबाट पल्टिँदा तीन जना घाइते भएको प्रहरीले जनाएको छ। घाइतेहरुलाई उपचारका लागि पाँचथरको फिदिम पठाउने तयारी भइरहेको बताइएको छ।

    प्रहरीका अनुसार दुर्घटनामा परेर घाइते हुनेहरूमा सिदिङवा गाउँपालिका–५ लिम्बुदिन निवासी २५ वर्षीया सविना श्रेष्ठ (टाउको र निधारमा चोट), आठराई त्रिवेणी गाउँपालिका–३ हाङपाङ निवासी २६ वर्षीया रञ्जिता लिम्बु (बायाँ हात र टाउकोमा चोट) र सोही गाउँपालिकाका निगुरादिन निवासी घनश्याम ब्याङ्गु (बोलेरो चालक) रहेका छन् भने तीनै जनाको अवस्था सामान्य रहेको छ।

  • मनसुनी र स्थानीय बायुको प्रभाव : आज कहाँ-कहाँ छ वर्षाको सम्भावना ?

    मनसुनी र स्थानीय बायुको प्रभाव : आज कहाँ-कहाँ छ वर्षाको सम्भावना ?

    काठमाडौँ भदौ २१
    सुदूरपश्चिम, कर्णाली प्रदेश लगायत लुम्बिनी प्रदेशको पश्चिमी भूभागको धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भूभागको थोरै स्थानहरूमा पश्चिमी बायुको प्रभाव तथा बाँकी भूभागमा मनसुनी बायुको कमजोर प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    जसको प्रभावले कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ । बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू तथा कोशी प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

    आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी पहाडी भूभागमा साधरणतया बदली रही बाँकी तराई भूभागमा आंशिक बदली रहने छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभाग तथा बाँकी प्रदेशका पहाडी भूभागका थोरै तथा बाँकी तराई भूभागका एक–दुई स्थानहरूमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

    आज राति कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी पहाडी भूभागमा साधरणतया बदली रही बाँकी तराई भूभागमा आंशिक बदली रहने छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी तराई भूभागका एक–दुई स्थानहरूमा चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

  • आज कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

    आज कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

    आज मिति वि.सं.२०८२ साल आश्विन २१ गते । मंगलबार । इस्वी सन् २०२५ अक्टोबर ७ तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । शरद ऋतु । श्रीशाके १९४७ । आष्विन शुक्लपक्ष । तिथि–पूर्णिमा, बिहान ९ बजेर ३५ मिनेट उप्रान्त प्रतिपदा । नक्षत्र–रेवती, रातको ३ बजेर ४५ मिनेट उप्रान्त अश्विनी । योग–ध्रुव, बिहान ११ बजेर ४७ मिनेट उप्रान्त व्याघात । करण–बव, बिहान ९ बजेर ३५ मिनेट उप्रान्त बालव, बेलुकी ८ बजेर ३४ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–शुभ योग । चन्द्रराशि–मीन ।

    काठमाडौमा सूर्योदय बिहान ६ बजेर ० मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ४२ मिनेट । दिनमान २९ घडी १५ पला ।

    आजको राशिफल

    मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) खर्च स्थानमा गोचर गर्ने चन्द्रमाले दैनिक खर्च बढाउनेछ भने स्वास्थ्यमा समस्या आई औषधी खर्च बढेर जानेछ । पढाइ लेखाइमा मन नजाँदा अरू भन्दा पछि परिनेछ । व्यापार व्यवसायमा प्रशस्त समय खर्चिए मात्र आम्दानी हुनेछ । अग्रज तथा आफन्त सँग मनमुटाब सिर्जना हुनेछ । तापनि लामो दुरीको विदेश यात्राको गतिलो सम्भावना रहेको छ भने विदेशमा बसेर काम गर्नेहरूका लागी समयले साथ दिनेछ ।

    वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) घरपरिवार तथा समाज तारिफयोग्य काम गरी चर्चा बटुल्न सकिनेछ । पैतृक धन तथा सम्पत्तिको प्रयोग गरी आम्दानी बढाउन सकिनेछ । व्यापारमा थोरै लगानी गर्दा पनि मनग्गे नाफा कमाउन सकिनेछ । भौतिक स्रोत साधन जुट्नाले दैनिकी सहज हुनेछ । पढाइ लेखाइमा थोरै समय दिँदा पनि नतिजा तपाईँकै पोल्टोमा पर्नेछ । माया प्रेममा नजिक हुने समय रहेको छ भने यात्रा तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।

    मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) तारिफयोग्य काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । पैतृक स्रोत साधनको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ भने कृषि पशुपालन व्यवसाय फस्टाएर जानेछ । वित्तीय क्षेत्र तथा व्यापारमा लगानी गरी नाफा कमाउन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको समर्थन पाइने हुनाले पद प्राप्तिको योग रहेको छ । प्रेमील जोडीहरूका लागी समय उत्तम रहेको छ ।

    कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) सामाजिक तथा परोपकारी कार्यमा मन जानेछ भने धार्मिक तथा शैक्षिक यात्राको तय हुनेछ । व्यापार वा वित्तीय क्षेत्रमा आज गरिने लगानीबाट भविष्यमा राम्रो नाफा कमाउन सकिनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा भनेजस्तो प्रगति गर्न सकिने हुनाले मन प्रसन्न हुनेछ । विशिष्ट व्यक्तिसँग नजिक हुन सकिने तथा सम्मान पाइनेछ । माया प्रेममा रमाउन चाहने जोडीहरूको रमाइलो यात्राको अवसर जुर्नेछ ।

    सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) खानपान तथा वातावरणको ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ । सरकारी काम गर्दा सचेत रहनुहोला काम बिग्रने तथा दण्ड तथा जरिवाना तिर्नुपर्ने हुनसक्छ । व्यापारमा भनेजस्तो आम्दानी नहुने हुनाले दैनिक कामहरू प्रभावित हुनेछन् । मित्र तथा आफन्तको सल्लाह नमान्दा दुःख पाइनेछ । पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । तर पनि वित्तीय क्षेत्रमा लगानी गरी आम्दानी गर्न सकिनेछ ।

    कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) माया प्रेममा नजिक हुने समय रहेको छ भने दाम्पत्य जीवन सहज रूपमा बित्नेछ । आर्थिक स्थिति मजबुत हुने तथा व्यापार वा शेयर बजारमा लगानी बढाई मनग्गे आम्दानी हुनेछ । लामो दुरीको मनोरञ्जनात्मक यात्राको तय गरी भरपुर रमाउन सकिनेछ । पढाइ लेखाइमा भनेजस्तो प्रगति हुने हुँदा मन प्रसन्न रहनेछ । भौतिक वस्तु तथा बिलासी सामानको प्रयोग मार्फत अरूको मन आफूतिर आकर्षित गर्न सकिनेछ ।

    तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) सत्रुघरमा गोचर गर्ने शुभ चन्द्रमाले ऋण, रोग तथा शत्रुलाई रिमोभ गर्दै अगाडी बढन् सकिनेछ । साथीभाइ तथा इष्टमित्रबाट सहयोग पाइने हुनाले व्यवसायमा लगानी बढाई आम्दानी गर्न सकिनेछ । न्यायिक निर्णयहरू तपाईँकै पक्षमा हुनेछन् । पढाइ लेखाइमा मन जाने तथा थोरै समय दिँदा पनि नतिजा आफ्नै पोल्टोमा पार्न सकिनेछ । मामा तथा मावली पक्षबाट सहयोग प्राप्त हुनेछ ।

    वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) मन परेको मानिसबाट बिलासी सामान उपहारको रूपमा प्राप्त हुनेछ । लामो समयदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्ने समहती जुट्नेछ । अध्ययनमा मन जाने तथा अनुसन्धानको क्षेत्रमा नतिजा हात पार्न सकिनेछ । वित्तीय क्षेत्रमा आज गरिने लगानीबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ । व्यापारबाट मनग्गे लाभ लिन सकिनेछ । वंश वृद्धिको योग रहेको छ भने सन्तानको प्रगतिमा मन रमाउनेछ ।

    धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) समय मध्यमय रहेकोले व्यापारमा लगानी गर्नको लागी केहि दिन कुर्नु नै राम्रो रहनेछ । आमा तथा आफन्तसँग टाढिएर यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ । माया प्रेममा नजिक हुँदा मनमुटाब सिर्जना हुनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धी समस्या बढ्ने योग रहेको छ । राजनीतिज्ञको लागी समय मध्यमय रहेको छ । तर पनि कृषि तथा पशुपालन व्यवसायबाट आम्दानी गर्न सकिनेछ ।

    मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) आट, साहस तथा पराक्रम वृद्धि भएर जाने हुनाले उपलब्धि मूलक कामहरू गर्न सकिनेछ । न्यायिक निर्णयहरू तपाईँकै पक्षमा आउनेछन् । प्रतिस्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ । लेखन कला तथा साहित्यमा बाकी रहेको कामलाई पूर्णता दिन सकिनेछ । प्रेम प्रशङ्गमा रमाउने चाहनेहरुका लागी समय उत्तम रहेको छ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरू जनमानसमा लैजान सकिनेछ ।

    कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) धन स्थानमा गोचर गर्ने शुभ चन्द्रमाले बन्द व्यापारबाट भनेजस्तो आम्दानी हुनेछ । सर सापटी दिइएका रुपैयाँ पैसा उठ्ने तथा आफन्तको सहयोगले उपलब्धिमूलक काम गर्न सकिनेछ । बालिकै भरमा राम्रा तथा प्रतिष्ठित काम गर्न सकिनेछ । परिवारका साथमा यात्रा गर्न सकिने तथा मिष्ठान्न भोजनको ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । अभाव हट्ने तथा नाम दाम कमाउन सकिनेछ ।

    मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) पारिवारिक माहौलमा समय बित्ने हुनाले दिन रमाइलो तथा उल्लासमय रहनेछ । महँगो तथा बिलासी वस्तुको प्रयोग गर्न पाइने योग रहेको छ । राजनीति तथा सामाजिक कार्यमा जनताको समर्थन रहनेछ भने प्रतिष्ठित काम गरी इज्जत कमाउन सकिनेछ । प्रेममा नजिक भई गफिने अवसर प्राप्त हुनेछ । अनलाइन व्यापार, टेक्निकल सामान तथा नयाँ प्रविधिको प्रयोग गरी आम्दानीमा वृद्धि गर्न सकिनेछ ।

    तपाईँको दिन शुभ रहोस् ।

  • कारले मोटरसाइकललाई ठक्कर दिँदा चितवनमा तीन जना घाइते

    कारले मोटरसाइकललाई ठक्कर दिँदा चितवनमा तीन जना घाइते

    चितवन, असोज २० –
    चितवनमा कारले मोटरसाइकललाई आज ठक्कर दिँदा तीन जना घाइते भएका छन् ।

    नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका–१ भतेरी जङ्गलमा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बा प्र ०१–०३३ च २६२७ नम्बरको कारले ग २३ प ३०९२ नम्बरको मोटरसाइकल र बा प्र ०६–००१ प ९३९१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा कास्कीको पोखरा महानगरपालिका–११ का ३६ वर्षीय राजु आचार्य तथा गोरखाको भीमसेन थापा गाउँपालिका–१ का ५६ वर्षीय खड्गप्रसाद पौडेल र उहाँकी श्रीमती ४५ वर्षीया रेखाकुमारी पौडेल घाइते भएका हुन् ।

    घाइतेको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक रविन्द्र खनालले जानकारी दिनुभयो । प्रहरीले कार चालक धनुषाको मिथिला बिहारी नगरपालिका–१० का ३७ वर्षीय रामनारायण यादवलाई नियन्त्रणमा लिएको छ । – रासस

  • तीन दिनदेखि चितवनको माडीमा विद्युत् आपूर्ति बन्द

    तीन दिनदेखि चितवनको माडीमा विद्युत् आपूर्ति बन्द

    चितवन, असोज २० –
    जिल्लाको माडी नगरपालिकामा विगत तीन दिनदेखि विद्युत् आपूर्ति बन्द भएको छ । भूमिगत प्रसारण लाइनमा समस्या आउँदा शनिबार बिहान २ बजेदेखि माडी नगरपालिकामा विद्युत् आपूर्ति बन्द भएको हो ।

    विद्युत् प्राधिकरण वितरण केन्द्र चनौलीका प्रमुख राजकुमार श्रेष्ठका अनुसार भूमिगत विद्युतीकरण गरिएको स्थानमध्ये दुई स्थानमा समस्या आएको हो । शनिबारदेखि परेको पानीका कारण रिउखोला नजिक राखिएको भूमिगत लाइनमा समस्या आएको छ । उहाँले भन्नुभयो, “पानी धेरै जमेका कारण विद्युत् प्रसारणमा समस्या भयो ।”

    यस्तै चितवन राष्ट्रिय निकुञ्जभित्र रहेको भूमिगत विद्युतीकरणको तारमा सडकको चौडाइ फराकिलो बनाउने क्रममा उपकरणको ठक्करले समस्या आएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार दुवै स्थानको समस्या समाधान गरेर आज साँझसम्ममा विद्युत् आपूर्तिमा सहज बनाइने छ । समस्या देखिएको स्थानमा अहिले मर्मतको काम भइरहेको श्रेष्ठले बताउनुभयो । माडी नगरपालिकामा १२ हजार ग्राहक रहेका छन् । – रासस