Blog
-

सिन्धुपाल्चोकको पाँचकिलोमा बस दुर्घटना, २० जना घाइते
सिन्धुपाल्चोक, २१ असोज :सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ पाँचकिलोस्थित जिरी–खाडिचौर सडकखण्डमा बस दुर्घटना हुँदा तीन जना नाबालकसहित २० जना घाइते भएका छन् ।रामेछापबाट चरिकोट हुँदै काठमाडौँतर्फ जाँदै गरेको बा प्र ०३–००१ ख २५२१ नम्बरको बस अनियन्त्रित भई सडकको भित्तामा ठोक्किएर मङ्गलबार साँझ दुर्घटना भएको प्रहरीले जनाएको छ ।दुर्घटनाको खबर पाएपछि प्रहरीचौकी लामोसाँघुबाट प्रहरी नायब निरीक्षक अशोक महतोको कमाण्डमा सात जनाको टोली घटनास्थलमा पुगेर घाइतेहरूको उद्धार गरेको थियो । उद्धारपछि सबै घाइतेलाई उपचारका लागि सिन्धु सदाबहार अस्पताल खाडीचौर पठाइएको छ ।हालसम्म बसमा सवार यात्रुको सङ्ख्या यकिन भएको छैन ।जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक माधवराज खरेलले सबै घाइतेहरूको अवस्था सामान्य रहेको जानकारी दिनुभयो । -

भिडले महानगरको दमकललाई सिंहदरबारको आगो निभाउन दिएन : बालेन
२१ असोज, काठमाडौं ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले जेनजी आन्दोलनको क्रममा महानगरको दमकल आगो निभाउने कार्यमा संलग्न नभएको भन्दै भएका प्रचारहरूको खण्डन गरेका छन् ।सामाजिक सञ्जालमा एक लामो स्टाटस लेख्दै मेयर बालेनले आफूहरू कुनै आरोप र जिम्मेवारीबाट नभाग्ने बताएका छन् ।
उनले सिंहदरबारमा आगो निभाउने प्रयास गर्दा भीडले काम गर्न नदिएको पनि बताएका छन् ।
उनले लेखेका छन्, “यत्रो सिंहदरबार जल्दा काठमाडौँ महानगरको दमकल कहाँ गयो?” “तीन दिनसम्म जलेको हेरेर बस्यो?”
“सिंहदरबार जलाउने नै बालेन शाह हो!” यस्ता प्रश्न र आरोप केही दिनदेखि उठिरहेका छन्।
हुनत यस्तो प्रश्न र आरोपको स्पष्टीकरण दिनु आवश्यक पनि छैन, प्रत्येक नागरिकलाई सूचना लिन अधिकार छ, आवस्यक जो सुकैले सुचनाको हक ( Right to information RTI )को आधारमा महानगरबाट जानकारी लिन सक्नुहुन्थ्यो र सक्नुहुन्छ पनि। तर पनि, हुदै नभएको गलत आरोप फैलाउनेहरूलाई एकमुष्ट रूपमा सम्बोधन गर्न यो लेख्दैछु।
गत भदौ २४ गतेको दिन धेरैले बिर्सिसक्नु भयो होला। त्यो दिन राति ८ बजेसम्म देश नै अस्तव्यस्त थियो एक हिसाबले भनौ त्यो बेला “राज्य” नै ठप्प थियो।त्यो दिन देशमा सरकार त थिएन तर स्थानिय सरकार काठमान्डौ महानगर आफ्नो दायित्वबाट पछाडी हटेको थिएन । सिंहदरबारदेखि व्यापारिक प्रतिष्ठान, व्यक्तिगत घरदेखि सार्वजनिक सम्पत्तिसम्म सबैतिर आगो थियो। न सरकार थियो, न सुरक्षा संयन्त्र , न प्रहरीले आफ्नो चौकी जोगाउन सके यस्तो पूर्ण अराजक स्थितिमा सम्पूर्ण संरचना नै ढलेको थियो। सवारीसाधन आवतजावतको त कुरै छाडौ मान्छे समेत हिडडुल गर्न सक्ने अवस्था थिएन ,तरपनि हाम्रो टिम दिन रात नभनी आगो निभाउन, घाइतेहरुको उपचार, कुरुवा र बिरामीको लागि खाना,लजिस्टिक व्यवस्थापन, स्वास्थ्यकर्मी व्यवस्थापन,रगत व्यवस्थापन, औसधि व्यवस्थापन, लास व्यवस्थापन, जलेका संरचनाहरुको तथ्याङ्क संकलन,जलेका गाडीहरुको व्यवस्थापन ,फोहोर व्यवस्थापन र विभिन्न सरोकारवाला निकाय हरु संगको समन्वयमा व्यस्त थियो। जिउज्यानको जोखिम मोल्दै फिल्ड मा खटिनुहुने सम्पूर्ण प्रति सम्मान ब्यक्त गर्दछु।
सिंहदरबार जलेको लगत्तै दमकल जाने प्रयास गरेतापनि आन्दोलनकारीको अवरोध ले गर्दा दमकल जान सकेको थिएन, नेपाली सेनाको दमकल सिंहदरबार भित्रै हुदा पनि निभाउने प्रयास गर्न सकेको थिएन,कारण थियो हुलले दमकललाई काम गर्न नदिएको जब भिड अलिक शान्त हुने बित्तिकै २४ गते साझ ८:१५ भित्रै काठमाडौँ महानगरको दमकल त्यहाँ पुगेको थियो।
हामी कुनै आरोपबाट भाग्दैनौं, जिम्मेवारीबाट त अझै होइन।
काठमान्डौ महानगरको न्युरोडमा २ वटा, बालाजु मा २ वटा र रामहिटी मा १ वटा गरि जम्मा जम्मा ५ वटा दमकल संचालनमा रहेका छन्। १४ जना नगर प्रहरी र ३० जना शसस्त्र प्रहरी गरि जम्मा ४४ जनाको टिम ले ३ शिफ्ट मा काम गर्नुहुन्छ , १ शिफ्ट मा १ दमकल मा बढीमा ३ जना मात्र जनशक्ति मार्फत दमकल संचालन गरिएको छ। २३ गते केहि स्थानमा र २४ गते सिंहदरबारमात्रै होइन, काठमाडौंमात्रै होइन, सिङ्गो देश जल्दै थियो ।महानगर भित्र जुनसुकै संरचना जले पनि जोगाउने प्रमुख दायित्वबोध हामीले गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो।
अब कुरा गरौ दमकल को ५/२३ गते दिउसो १:३० देखि ५ बजे सम्म संसद भवन अगाडी आगो लागिरहेको एम्बुलेन्स मा न्युरोड र रामहिटी दमकल ले आगो निभाइरहेको थियो भने न्युरोडकै अर्को दमकल ले सुन्धारा र शान्तिनगर बिजुली को पोल मा आगो निभाइरहेको थियो, २४ गते बिहानै देखि कुनै पनि दमकल संचालन मा आउन सकेको थिएन , २४ गते राति ८ बजे देखि १ बजे सम्म बिशाल बजार जनसेवा प्रहरी वृत , हिमालयन बैंक र रास्ट्रीय बाणिज्य बैंक बानेश्वोर मा मा न्युरोड दमकल ले तथा नयाँ बसपार्क मा बालाजु र रामहिटी दमकल ले आगो निभाई रहेको थियो। २४ गते नै राति ८:१५ देखि ९:४५ सम्म, २४ गते को राति २५ गते बिहान १:४५ देखि ३:०० बजे सम्म, २६ गते दिउसो ३:३० देखि ६:५० सम्म र सोहि दिन साझ ५ बजे देखि ६ बजे सम्म सिंहदरबार मा आगो निभाइरहेका थिए।२५ गते दिउसो १२:२० देखि १:३० सम्म संसद भवन, २५ गते नै दिउसो ३:३० देखि ४:३० सम्म अख्तियार दुरुपयोग अनुसन्धान आयोग को कार्यालय, डिल्लीबजार कारागार लगायत का स्थानमा, २६ गते बिहान ९:२५ देखि १०:१५ सम्म, २७ गते बिहान ८:०० देखि ९:१५ सम्म, सोहि दिन साझ ४ बजे देखि ६ बजे सम्म सर्बोच्च अदालत परिसर मा आगो निभाएको त्यहाको महत्वपूर्ण कागजहरु बचाएको प्रमाण हामी सङ सुरक्षित नै छ । त्यस्तै आन्दोलन सुरु भएको दिन २३ गते देखि २८ गते सम्म हाम्रो दमकल माथि उल्लेखित र काठमान्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय,बबरमहल जिल्ला अदालत,चुच्चे पाटि भाटभटेनी, जिल्ला प्रसासन कार्यालय, यातायात व्यवस्था बिभाग, शहरी बिकास बिभाग, ग्राण्डि अस्पताल नजिकैको गोदाम, थापाथली डाटा सेन्टर, एन सेल डाटा सेन्टर, बालाजु प्रहरी वृत, स्वयम्भु प्रहरी वृत, नक्साल हिल्टन होटल, नक्साल भाटभटेनी, कुलेश्वोर घर मा, चाक्सीबारी घर मा, बालुवाटार भाट भटेनी गोदाम मा, रानीपोखरी प्रहरी, कोटेश्वोर भाटभटेनी, गुणस्तर बिभाग भाटभटेनी नक्साल मन्दिर पछाडी फर्निचर, सडक बिभाग लगायतका स्थान मा ५५ पटक भन्दा धेरै हाम्रो दमकल पुगेको छ।जसको बिस्तृत विवरण यहि राखेको छु। संगसंगै हिल्टन होटल, बनबासा होटल लगायत बाट सेना समेत को सहकार्य मा उद्धार कार्य गरिएको थियो।
अब कुरा गरौ स्वास्थ्यकर्मी व्यवस्थापन, घाइतेको उपचार र सहिदहरुको लास व्यवस्थापन को ,संघिय सरकार ले घोषणा गर्नुपूर्व नै महानगर भित्रका सम्पूर्ण अस्पताल लाइ निशुल्क उपचारको लागि समन्वय,अस्पतालको लागि आवस्यक औसधि व्यवस्थापन, नपुग स्वास्थ्यकर्मीको व्यवस्थापन, रगत व्यवस्थापन , बिरामी तथा बिरामी कुरुवाहरुको लागि निशुल्क खाजा/खाना, अन्य आवस्यक लजिस्टिक,सुत्नको लागि म्याट लगायत अन्य सामाग्रीको व्यवस्थापन मा महानगरको सचिवालय,नगरप्रहरी, स्वास्थ्यकर्मी लगायत को टिम रात दिन खटिएको थियो।उपचारको लागि अभिभाबक नभएका सम्पूर्ण बिरामीहरुको अभिभाबक हाम्रो टिम बनेको थियो एति सम्म कि, अपरेसन गर्दा Informed Consent Formमा समेत हाम्रो नगरप्रहरी ले जिम्मेवारी लिई हस्ताक्षर गरेको छ।लास व्यवस्थापन को लागि परिवार लाइ आउने जाने, खाने बस्ने व्यवस्थापन पनि महानगर ले गरेको थियो , येतिसम्मकि नेपालि सेना लगायत अन्यको सहकार्यमा लासलाइ घर सम्मै पुर्याउने व्यवस्था समेत गरेका थियौ।
अन्त्यमा,
प्रिय आमा बुवा,दाजु भाइ, दिदि बहिनि, तपाईंहरूको मनमा भय, भ्रम र प्रश्न उठ्नु स्वाभाविक हो। तर बिना तथ्य, डाटा विश्लेषण नगरी निष्कर्ष निकाल्ने विश्लेषकहरू र अफवाह फैलाउनेहरु सङ सावधान रहनु होला । यस्तो कार्यले जनतालाई डर र भ्रममा राख्छ, र दिन रात नभनी खट्ने हाम्रो टिमको मनोबल गिराउछ। मिडियाका मित्रहरूमा विशेष अनुरोध ; कृपया सत्य तथ्य खोजेर मात्र समाचार लेख्नुहोस्। अफवाह नफैलाउनुहोस्। जनताले सही जानकारी पाउने अधिकार राख्छन्।
हामी महानगरको टिम दिन–रात, जिउज्यानको जोखिम मोल्दै खटिएका थियौ ,मलाई यसको कुनै जस चाइएको छैन कमसेकम आगो निभाउन, घाइतेको उपचार गर्न, बिरामीलाई खाना र औषधि उपलब्ध गराउन, लास व्यवस्थापन गर्न, उद्धार कार्यमा सहयोग गर्न खटिनेलाइ त सम्मानजनक दृष्टिले हेर्नुहोस । जनतासँगको भरोसा, हाम्रो जिम्मेवारी र आपत्कालिन व्यवस्थापनका लागि हामी सधैं खटिरहनेछौं।
सत्य बुझौं, अफवाह फैलाउने काम नगरी, सबै मिलेर सुरक्षित, सचेत र मानवताप्रधान समाज बनाऔँ।
अन्त्यमा देशलाई एकता र साचो कुराको खाचो छ हल्ला र झुटको हैन ।। -

दोलखाको लामाबगर खराने खोला नजिक भीषण पहिरो
दोलखा, असोज २१-
दोलखाको लामाबगर-लप्ची सडकको खराने खोला नजिक भीषण पहिरो गएको छ ।जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख डीएसपी ज्ञान कुमार महतोले लामाबगर-लप्ची जाने बाटोमा भीषण पहिरो गएको जानकारी दिए ।
उनका अनुसार उक्त ठाउँमा मानवीय क्षति नभएको तर हाइड्रो पावरहरू भने रहेको छ ।
पहिरोको थप विवरण आउन बाँकी छ ।
-

पानीमा डुबेर एक बालकको मृत्यु
राप्ती,असोज २१ –।
राप्ती नगरपालिका वडा नं–२, गड्यौलीमा पानीमा डुबेर एक बालकको मृत्यु भएको छ ।ईश्वर बर्तौलाका ७ वर्षीय छोरा आयुष बर्तौला घरनजिकै रहेको पानी जमेको खाल्टोमा डुबेको अवस्थामा तत्काल उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुर ल्याइएकोमा निजको उपचारको क्रममा सोमबार बेलुकी ७ः१० बजे चिकित्सकले मृत घोषणा गरेका हुन् ।
मृतकको शव पोस्ट मार्टमका लागि भरतपुर अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय भण्डाराले जनाएको छ ।
-

प्रधानमन्त्री सुशीला कार्कीको आधिकारिक फेसबुक अकाउन्ट गायब
काठमाडौँ , असोज २१ –
प्रधानमन्त्री सुशीला कार्कीको आधिकारिक फेसबुक अकाउन्ट गायब भएको छ ।प्रधानमन्त्री कार्कीले निवर्तामान प्रधानमन्त्री केपी शर्मा ओलीले चलाएको अकाउन्ट चलाउन नमानेपछि प्रधानमन्त्री कार्यालयले PM Sushila Karki नामको फेसबुक अकाउन्ट खोलेको थियो । तर, त्यो अकाउन्ट अहिले चल्न छोडेको छ ।
यसबारे कार्यालयले विज्ञप्तिमार्फत जानकारी गराएको थियो ।
प्रधानमन्त्री कार्कीको नामको नयाँ अकाउन्ट गायब हुँदा उनको नाममा खुलेका अन्य अकाउन्टहरूमा सक्रिय छन्, जसले आमनागरिकमा दुविधा पैदा भएको छ ।

-

गण्डकीका मुख्यमन्त्रीको सरकारी निवास आगजनी गरेको आरोपमा एक जना पक्राउ
पोखरा, असोज २१ –
गण्डकीका मुख्यमन्त्रीको सरकारी निवास आगजनी गरेको आरोपमा एक जना पक्राउ परेका हुन् ।जेनजी प्रदर्शन पछि असोज १२ गते पुनः मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको राष्ट्रबैंक चोकमा रहेको निवासमा आगजनी गरिएको थियो ।
कास्की प्रहरी सूचना अधिकारी हरिबहादुर बस्नेतका अनुसार आगजनी गरेको आरोपमा रुपन्देही तिलोत्तमा नगरपालिका ४ घर भई हाल पोखराको राष्ट्रबैंक चोक बस्ने २२ वर्षका संयोजक थापालाई पक्राउ गरिएको हो ।
उनले राष्ट्र बैंकको कम्पाउन्ड सडक छेउमा रहेको एनआइएमबीको एटिएम समेत तोडफोड गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
-

जमरा सेलाउन गएका पुरुष नारायणी नदीमा डुबे
भरतपुर,असोज २१-
जमरा सेलाउन गएका एक पुरुषलाई नारायणी नदीले बगाएको छ । आज बिहान करिब ७ बजेको समयमा भरतपुर महानगरपालिका १६ फुर्तिचोक बस्ने ५५ वर्षिय गोपाल शर्मा पौडेल भगेरीथानस्थित नदी किनारमा जमरा सेलाउने क्रममा नदीले बगाएको थियो । उनि ना ६१ प ४९३६ नम्वरको स्कुटर चढेर नदी किनारमा जमरा सेलाउन पुगेका थिए । उनको खोजीका लागि वडा प्रहरी कार्यालय नारायणगढको विपद व्यवस्थापन टोली खटिएको थियो । शर्माको शव सानोगढी किनारमा फेला पारिएको वडा प्रहरी कार्यालय नारायणगढले जानकारी दिएको छ । शव परीक्षणका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ । -

सिंहदरबारमा राष्ट्रिय विपद् व्यवस्थापन परिषद्को बैठक जारि
काठमाडौं , असोज २१ –
सिंहदरबारमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक सुशीला कार्कीको अध्यक्षतामा जारि रहेको छ।बैठकले विपद् प्रभावितको राहत कार्यलाई प्रभावकारी बनाउने, बाढीपहिरोका कारण क्षति भएका संरचनाको पुनर्निमाण, अस्थायी तथा स्थायी वासस्थानको व्यवस्थालगायत विषयमा महत्वपूर्ण निर्णय हुने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेशप्रसाद भट्टले जानकारी दिए ।
-

काठमाडौं फर्कदा बढी भाडा असुल्नेलाई कारबाही
२१ असोज, चितवन ।
राजधानी फर्कने यात्रुसँग बढी भाडा लिएको गुनासोपछि स्थानीय प्रशासनले अनुगमन गरी बढी भाडा लिने सवारीसाधनका चालक र धनीलाई कारबाही गरेको छ।प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको नेतृत्वमा अनुगमनमा गएको सुरक्षा निकायका प्रमुखसहितको टोलीले उनीहरुलाई कारबाही गरेको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक गायत्री शर्माका अनुसार नारायणगढको पुलचोक, पोखरा बसपार्क र आँपटारीमा प्रमुख जिल्ला अधिकारी अर्याल, प्रहरी उपरीक्षक गोविन्द पुरी, राष्ट्रिय अनुसन्धान कार्यालयका प्रमुख सुरेश तिवारीसहितको टोलीले सडकमा जाँच गरी कारबाही गरेको हो। सो क्रममा बढी भाडा लिने ६ जनालाई नियन्त्रणमा लिइएको छ।
यात्रुलाई बढी भाडाको टिकट दिएर चलानीमा कम रकम उल्लेख गरेर ठगी गरेकालाई कारबाही गरिएको हो । सो क्रममा २५ माइक्रोबसले उठाएको बढी भाडा फिर्ता समेत गरिएको प्रहरी निरीक्षक शर्माले बताए ।
प्रमुख जिल्ला अधिकारी अर्यालयका अनुसार चलानीबिना यात्रु लिएर हिँडेका सवारी चालक र बढी भाडा असुल गरेकालाई सचेत गराइएको, भाडा फिर्ता गराइएको, जरिवाना लगाइएको र नियन्त्रणमा लिइएको छ।
अटेर गरेकालाई पक्राउ गरी कालोबजारी ऐनअन्तर्गत कारबाही प्रक्रिया अघि बढाइएको उहाँले जानकारी दिनुभयो । चितवन हुँदै काठमाडौँतर्फ गुड्ने सवारीसाधनमा अनुगमन गरिएको हो ।
दशैं मानेर काठमाडौँ फर्किनेको चाप बढेपछि यातायात व्यवसायीले उनीहरुबाट चर्को भाडा असुल्ने गरेको गुनासो सुनेपछि नियमित रुपमा अनुगमन गर्न थालिएको प्रहरी उपरीक्षक पुरीले बताए।
-

नेपाली सेनाको हेलिकप्टरमार्फत सुत्केरी र शिशुको उद्धार
टक्सार (भोजपुर), असोज २१ –
भोजपुरको रामप्रसाद राई गाउँपालिका–४ बाट सुत्केरी र शिशुको उद्धार गरिएको छ । स्थानीय ३९ वर्षीया निर्मला राई र उनको शिशुको आज नेपाली सेनाको हेलिकप्टरमार्फत् उद्धार गरिएको हो ।दुवै जनालाई उपचारका लागि सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । समय अगावै शिशुको जन्म भएकाले अक्सिजनसहित थप उपचार आवश्यक भएकाले धरान पठाइएको ओख्रे स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी सङ्गीता राईले जानकारी दिनुभयो ।
रामप्रसाद राई–४ ओख्रेस्थित स्वास्थ्य चौकीमा शिशुको जन्म भएको थियो । सडक अवरुद्ध भएकाले तत्काल थप उपचारका लागि पठाउन समस्या भएपछि हवाई उद्धार कार्यक्रमअन्तर्गत सुत्केरी र शिशुको सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो । रासस