Blog

  • नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरमा आज विशेष सम्बोधन गर्ने

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरमा आज विशेष सम्बोधन गर्ने

    भक्तपुर  २३ असोज

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज (बिहीबार) भक्तपुरमा आयोजना गरिएको विशेष कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन् ।

    नेकपा एमाले भक्तपुर जिल्ला कमिटीले सूर्यविनायक नगरपालिका ७ गुण्डुमा आयोजना गरेको कार्यक्रमलाई ओलीले सम्बोधन गर्न लागेका हुन् ।

    समसामयिक राजनीतिक विषयमा विशेष भेटघाट कार्यक्रम नाम दिइएको उक्त कार्यक्रममा अध्यक्ष ओलीले पछिल्लो समय देशमा उत्पन्न असामान्य परिस्थिति र नेता कार्यकर्ताहरूले निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा स्पष्ट पार्ने बताइएको छ ।

    कार्यक्रममा पार्टी महासचिव शङ्कर पोखरेल लगायत पार्टीका विभिन्न तहका नेताहरू पनि सहभागी हुने भक्तपुर जिल्ला कमिटीका अध्यक्ष बचन देउजाले जानकारी दिए ।

  • कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

    कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

    आज मिति वि.सं.२०८२ साल आश्विन २३ गते । बिहीबार । इस्वी सन् २०२५ अक्टोबर ९ तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । शरद ऋतु । श्रीशाके १९४७ । कार्तिक कृष्णपक्ष । तिथि–तृतीया, रातको २ बजेर ४९ मिनेट उप्रान्त चतुर्थी । नक्षत्र–भरुणी, रातको १२ बजेर ३६ मिनेट उप्रान्त कृतीका । योग–वज्र, रातको २ बजेर ५० मिनेट उप्रान्त सिद्धि । करण–वणिज, बेलुकी ४ बजेर २ मिनेट उप्रान्त भद्रा, रातको २ बजेर ४९ मिनेट उप्रान्त बव । आनन्दादिमा–पद्य योग । चन्द्रराशि–मेष ।

    काठमाडौँमा सूर्योदय बिहान ६ बजेर १ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ३९ मिनेट । दिनमान २९ घडी ६ पला ।

    आजको राशिफल

    मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) कलात्मक तथा रचनात्मक काम सुरु गरी भविष्यमा आयस्रोतका बाटाहरू सुरक्षित गर्न सकिनेछ । राजनीतिज्ञको लागी समय फलदायी रहेकोले पद प्राप्तिको गतिलो योग रहेको छ । व्यापार तथा वित्तीय क्षेत्रमा लगानी गर्नेहरूले मनग्गे नाफा कमाउन सक्नेछन् । विद्यार्थीहरूले खोजमूलक क्षेत्रमा भनेजस्तो सफलता हात पार्नेछन् । प्रेम गर्ने जोडीहरूका लागी समय उत्तम रहेको छ ।

    वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आई औषधी उपचार खर्च बढ्नेछ । काम गर्दा ध्यान दिनुहोला काम बिग्रन तथा जरिवाना हुन सक्छ । तापनि लामो दुरीको विदेश यात्राको प्रशस्त सम्भावना रहेको छ । विदेशमा बसेर काम गर्नेहरूका लागी समयले साथ दिनेछ भने विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ । विदेशी लगानीबाट सञ्चालित संस्थामा नोकरी पाउने योग रहेको छ ।

    मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) प्राकृतिक स्रोत साधन तथा पैतृक सम्पत्तिको प्रयोग मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ । व्यापार, उद्योग तथा पुँजी बजारमा आज गरिने लगानीबाट लाभ लिन सकिनेछ । पढाइ लेखाइमा उत्कृष्ट अङ्क ल्याउँदै अरूभन्दा अग्र स्थानमा तपाईँको नाम आउनेछ । माया प्रेममा रमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ । भौतिक सम्पत्ति वा सवारी साधन प्राप्तिको योग रहेको छ ।

    कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) व्यापार तथा वित्तीय क्षेत्रबाट राम्रो आम्दानी हुनेछ । कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । नोकरी पाउने तथा बढुवा हुने योग रहेको छ । भूमि, वाहन तथा पैतृक सम्पत्तिमा वृद्धि हुने तथा प्राप्त हुनेछ । आफ्नै मेहनतले जीवन शैलीमा सुधार ल्याउन सकिनेछ । माता पिताको सहयोग तथा समर्थनले कीर्तिमानी काम गर्न सकिनेछ । अध्ययनमा मन जाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ ।

    सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) भाग्यले साथ दिने हुनाले सानो लगानी तथा सानो प्रयत्नले मनग्गे धन आर्जन गर्न सकिनेछ । व्यापार तथा शेयर बजारमा आज गरिने लगानीबाट नाफा कमाउन सकिनेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । खोजीमूलक क्षेत्रमा चासो बढ्ने तथा अध्ययनबाट भनेजस्तो नतिजा ल्याउन सकिनेछ । धर्म तथा अध्यात्मसँग सम्बन्धित विषयमा रुचि बढ्नेछ । मित्रता तथा प्रेमको डोरो कसिलो हुनेछ । विशिष्ट व्यक्तिसँग नजिक हुन सकिने तथा मित्रता बढाउनेछ ।
    कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) समय मध्यम रहेकोले परिश्रमको फल ढिला प्राप्त हुनेछ । सामान्य कुरामा अलमलिँदा उपलब्धिमूलक कामहरू गुम्न सक्छ । भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग गर्दा दुर्घटना हुन सक्छ ध्यान दिनुहोला । आफन्त तथा दिदी बहिनीहरूसँग मनमुटाब सिर्जना हुनेछ । ऋण, रोग तथा सङ्कटको सामना गर्नु पर्ने हुन सक्छ । तापनि पर्यन्त गर्दा नसोचेको धन तथा सम्पत्ति प्राप्त हुने ग्रहयोग रहेको छ ।

    तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) आफन्त तथा प्रियजन सँगको भेटघाटले दिन रमाइलोसँग बिताउन सकिनेछ । माया प्रेममा नजिक हुन सकिने तथा जीवन साथीको सहयोगले राम्रा कामहरू हुनेछन् । व्यापारमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । आÏनै मेहनतले जीवन शैलीमा उल्लेख्य परिवर्तन गर्न सकिनेछ । र पनि यात्रा गर्दा वा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । बिलासी सामान प्राप्तिको योग भए पनि टरेर जानेछ ।

    वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) पुराना विवादहरू साम्य हुनेछन् भने न्यायिक निर्णयहरू तपाईँकै पक्षमा फैसला हुनेछन् । पढाइ लेखाइमा प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै उत्कृष्ट नतिजा तपाईँको हातमा पर्नेछ । माया प्रेमका कोपिलाहरू फक्रनेछन् भने पति पत्नीको सहयोगले उपलब्धिमूलक कामहरू गर्न सकिनेछ । ऋण, रोग तथा सङ्कटको सामना गर्ने शक्ति जुटाउन सकिनेछ । व्यापार तथा उत्पादनमुखी व्यवसायबाट लाभ लिन सकिनेछ ।

    धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) बौद्धिक तथा प्राविधिक ज्ञानको प्रयोग गरी काम गर्दा आम्दानी बढाउन सकिनेछ । वित्तीय क्षेत्र तथा व्यापारमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । भौतिक सम्पत्ति तथा बिलासी सामान उपहारको रूपमा प्राप्त हुनेछ । अध्ययनमा अलि चनाखो हुँदा प्रगति गर्न सकिनेछ । माया प्रेममा सामिप्यता बढ्ने तथा प्रेम प्रस्ताव आउनेछ । सन्तान तथा आफन्तको सहयोगले राम्रा काम गर्न सकिनेछ ।

    मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) घर परिवार तथा आफन्तका बिच देखिने तिक्तता हल गर्दै राम्रा काम गर्न सकिनेछ । बिलासी तथा भौतिक वस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला । बढी नै रमाइलो गर्न खोज्दा शुभचिन्तकहरू रिसाउनेछन् । हतारमा गरिने निर्णय घातक हुनेछ । पढाइ लेखाइमा मन जाने छैन । खानपानमा ध्यान नदिए स्वास्थ्यमा समस्या आउनेछ । प्रेममा अविश्वास बढ्नेछ ।

    कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) बौद्धिक स्तर उच्च तहको रहनाले भाग्य शक्ति बलियो बन्नेछ । अध्ययन अध्यापनले क्षेत्र सफल हुनेछ । धार्मिक जगतमा ख्याति पाइने योग रहेको छ । पापीय मनोवृत्ति निष्क्रिय हुनेछ । दुर्घटना लगायत दैवी विपत्तिमा न्यूनीकरण आउला । नोकरीमा ख्याति बढ्ने कार्यले प्रशासित बनाउला । राजनैतिक गतिविधिबाट समाजमा प्रभावशाली व्यक्तित्वको परिचय बन्ने योग रहेको छ ।

    मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) अध्ययन अध्यापनमा सुधार भएर जानेछ भने बौद्धिक क्षेत्र फराकिलो भएर जानेछ । आफन्त तथा साथीभाइबाट सुनिने सुखद समाचारले उत्साहित होइनेछ । व्यापार तथा वित्तीय क्षेत्रमा आज गरिने लगानीबाट मनग्गे धन आर्जन हुनुको साथै नयाँ काम आरम्भ गर्न सकिनेछ । प्रेमिल जोडीहरूका लागी समय उत्तम रहेको छ । बोलीको प्रभाव बढ्नाले थोरै बोलेर मनग्गे धन आर्जन गर्न सकिनेछ ।

    तपाईँको दिन शुभ रहोस् ।

  • असोज १७ पछिको विपद्मा परेर मृत्यु हुने ५३ जना

    असोज १७ पछिको विपद्मा परेर मृत्यु हुने ५३ जना

    काठमाडौँ, २२ असोज : 
    यही असोज १७ गतेपछिको मनसुनी विपद्मा परी ५३ जनको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आजसम्ममा मृत्यु हुनेको सङ्ख्या ५३ पुगेको जानकारी दिएको छ ।

    प्राधिकरणकी प्रवक्ता शान्ति महतले पहिरोमा परेर ४० जना, बाढीबाट ११ जना र चट्याङबाट दुई जनाको मृत्यु भएको जानकारी दिनुभयो । उहाँका अनुसार पहिरोबाट इलाममा मात्रै ३८ जनाको मृत्यु भएको छ । यस्तै, पाँचथरमा एक र काभ्रेमा एक जनाले पहिरोबाट ज्यान गुमाएका छन् ।

    यस्तै बाढीबाट मृत्यु हुने ११ जनामध्ये उदयपुरमा दुई, धनुषामा दुई, तथा इलामा, पाँचथर, खोटाङ भोजपुर, मोरङ, सुनसरी र रौतहटमा एक/एक जनाा रहेका प्राधिकरणले जनाएको छ । प्रवक्ता महतले बाढीबाट रसुवामा चार र इलाममा एक गरी पाँच जना बेपत्ता भएका पनि जानकारी दिनुभयो ।

    यस्तै, मनसुनी विपद्मा परेर सो तीन दिनको अन्तरालमा ४७ जना घाइते भएका छन् । घाइतेमध्ये पहिरोमा परेर ३३ र चट्याङबाट १४ जना रहेका प्राधिकरणले आज सार्वजनिक गरेको अध्यावधिक मनसुनी घटना विवरणमा उल्लेख छ ।

    प्राधिकरणले अस्थायी आवास, पुनःस्थापन र राहत प्रक्रियाकाबारेमा छलफल सुरु भइसकेको जानकारी दिएको छ । उक्त मनसुनी विपद्मा ५० जिल्ला प्रभावित भएको थियो । यसपाली यही असोज १८ गते दिउँसो र रातिको समयमा मुसलधारे वर्षा हुँदा ठूलो क्षति पुर्‍याएको थियो । अहिले भने मनसुन बाहिरिन सुरु भइसकेको छ ।

  • दसैँको समयमा उपत्यकामा सवारी दुर्घटनाबाट सात जनाको मृत्यु

    दसैँको समयमा उपत्यकामा सवारी दुर्घटनाबाट सात जनाको मृत्यु

    काठमाडौँ, २२ असोज : 
    काठमाडौँ उपत्यकामा दसैँको समयमा सवारी दुर्घटनाबाट सात जनाको मृत्यु भएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदीले असोज ६ गते घटस्थापनादेखि असोज २१ गते कोजाग्रत पूर्णिमासम्म सवारी दुर्घटनामा परी सात जनाको मृत्यु भएको राससलाई जानकारी दिनुभयो ।

    उक्त अवधिमा १५३ सवारी दुर्घटना भएको थियो । सोही दुर्घटनामा परेर १६६ जना सामान्य घाइते र सात जना गम्भीर घाइते भएको उहाँले बताउनुभयो । ट्राफिक प्रहरीले यातायात व्यवस्था विभागसँगको सहकार्यमा चाडबाडलाई लक्षित गरी काठमाडौँ उपत्यकाको १५ स्थानमा यात्रु सहायता कक्ष सञ्चालन गरेको थियो ।

    उक्त कक्षबाट चाडबाडको समयमा यातायातका साधनमा दोहोरो टिकट काटेर यात्रुले दुःख पाउने, भाडाका कारण यात्रु ठगिने, यात्रुहरूको सामान हराउने, सवारीमा क्षमताभन्दा बढी यात्रु राख्दा दुर्घटनाको जोखिम हुनेलगायत समस्या कम गराउन सहयोग गरिएको थियो ।

  • देशका विभिन्न राजमार्ग र सडक खण्डमा अझै यातायात अवरुद्ध, सडक खुलाउने कार्य उच्च प्रथामिकतामा

    देशका विभिन्न राजमार्ग र सडक खण्डमा अझै यातायात अवरुद्ध, सडक खुलाउने कार्य उच्च प्रथामिकतामा

    काठमाडौँ, २२ असोज :
    हाल देशका विभिन्न भागमा गएको बाढीपहिरो र सडक कटानका कारण मुख्य राजमार्ग तथा सडक खण्डपूर्ण रूपमा अवरुद्ध भएका छन् । जिल्ला रसुवा, सङ्खुवासभा, काभ्रे र रुकुम (पूर्वी भाग) मा केही दिनअघिको अबिरल वर्षा र भू–भागीय जोखिमका कारण सडक यातायात प्रभावित भएको हो ।

    यातायात अवरुद्ध हुँदा दसैँका लागि काठमाडौँ उपत्यका बाहिरिएका सर्वसाधरणलाई उपत्यका फर्किन सास्ती भएको छ । सडक विभागका प्रवक्ता प्रभातकुमार झाले अवरुद्ध भएका सडकखण्डको मर्मतकार्यलाई प्रथामिकता दिएर जतिुसक्दो चाँडो यातायात व्यवस्थापनमा सहज गरिने बताउनुभयो ।

    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वारले सडक अवरुद्ध भएका कारण दसैँ सकेर उपत्यका फर्कने कतिपय स्थानका यात्रुले सास्ती बेहोर्नुपरेको बताउनभयो ।

    “अहिले विषेशगरी नेपालको पूर्वी क्षेत्रका सडक अवरुद्ध भएका कारण उपत्यका बाहिरिएका सवारीसाधन समयमा नै फर्किन पाएनन् । यात्रुहरूले पनि सास्ती बेहोर्नुपरको छ । सम्भव भएको स्थानमा हामीले वैकल्पिक मार्ग प्रयोग गरेका छौँ,” उहाँले भन्नुभयो, “यसपटक सरकारले विपद्का कारण अवरुद्ध सडकखण्डको समयमा नै मर्मत गरिरहेको पाइयो । कतिपय सम्भव नभएका सडकखण्ड अवरुद्ध भए पनि अन्य सडकखण्डका पहिरो समयमा नै पन्छ्याउदा सहज पनि भएको छ ।”

  • बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

    बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

    चितवन, असोज २२
    काठमाडौं महानगरकापालिकाका मेयर बालेन्द्र शाह र हामी नेपालका संस्थापक सुधन गुरुङविरुद्ध चितवन प्रहरीमा पनि किटानी जाहेरी परेको छ ।

    एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुका चितवन जिल्ला संयोजक अमित आचार्यले किटानी जाहेरी दिएका हुन् । प्रहरीले जाहेरी बुझेको छ । तर, दर्ता हुन बाँकी छ । देशभर आन्दोलनमा हिंसा भड्काउन भूमिका खेलेको भन्दै जाहेरी दिएको आचार्यले बताए ।

    जाहेरीसहित भिडिओ, फोटो तथा फुटेजसहित पेनड्राइभमा प्रमाण राखेर बुझाइएको छ । चितवनका एसपी गोबिन्द पुरीले केन्द्रको निर्देशनअनुसार अघि बढ्ने बताए ।

    उनले भने, ‘केन्द्रमा पनि परेको छ । हामी अहिले बुझ्छौं केन्द्रमा कुरा गरेर अघि बढ्छौं ।’

    जाहेरी दिने क्रममा अनेरास्ववियु केन्द्रीय अनुशासन आयोगका उपाध्यक्ष आकाश गिरी, अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य प्रशान्त सुवेदी लगायत अनेरास्ववियुका विभिन्न तहका विद्यार्थी नेताहरुको उपस्थिति रहेको थियो ।

  • प्रदेश सरकारले बाढी र पहिरोमा भत्किएका घर निर्माण गरिदिने

    प्रदेश सरकारले बाढी र पहिरोमा भत्किएका घर निर्माण गरिदिने

    विराटनगर, असोज २२-
    कोशी प्रदेश सरकारले केही दिनअघि गएको बाढीपहिरोले भत्किएका र बगाएका सबै घर पुनःनिर्माण गरिदिने भएको छ ।

    मुख्यमन्त्री हिक्मतकुमार कार्कीका अध्यक्षतामा आज बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले सबै घर बनाइदिने निर्णय गरेको हो ।

    विपद्मा सबैभन्दा बढी क्षति भएको इलाम, झापा र मोरङका घरहरू तत्कालै बनाउन सुरु गर्ने कोशी प्रदेश सरकारले जानकारी दिएको छ । घरहरूको सम्पूर्ण विवरण सङ्कलन पनि गर्दै जाने र निर्माण कार्य पनि अगाडि बढाउँदै जाने आजको परिषद् बैठकले निर्णय गरेको छ ।

    त्यस्तै आजको परिषद् बैठकले इलाम जिल्लाका सातवटा पालिकालाई सङ्कटग्रस्त घोषणा गर्नको लागि सङ्घीय सरकारलाई सिफारिस गर्ने निर्णय पनि गरेको छ ।

    प्रदेश सरकारले राहत र पुनःस्थापनाका लागि इलाम जिल्लामा समन्वय गर्न आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगर, भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राई र आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीलाई जिम्मा दिएको छ । सो टोलीले सम्पूर्ण क्षेत्रको स्थलगत निरीक्षण गर्दै पुनर्निर्माणलाई फिल्डमै खटेर तीव्रता दिने छ ।

    त्यस्तै सुनसरी जिल्लाको हकमा वन पर्यटन तथा वातावरणमन्त्री सदानन्द मण्डल र आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले समन्वय गरी काम गर्नुहुनेछ ।

    झापा जिल्लाका लागि खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री एकराज कार्कीलाई आवश्यक पुनर्निर्माण र सबै खालको समन्वय गर्ने जिम्मेवारी तोकिएको छ ।

    बैठकले चालु बजेटका खर्च र योजनाहरु हेरेर कटौती गरी पुनर्निर्माणमा खर्च गर्नका लागि कोशी प्रदेश सरकारलाई सिफारिस गर्ने निर्णय पनि गरेको छ ।

    भौतिक पूर्वाधार विकास मन्त्रालयले तत्कालै सबै खालका बाटोहरू खुलाउनका लागि आफ्ना सबै संयन्त्र परिचालन गर्नका लागि पनि आजको बैठकले निर्देशन गरेको छ ।

    मुख्यमन्त्री कार्कीले पुनर्निर्माण र राहतमा कुनै कसर नराखी काम अगाडि बढाउनका लागि बैठकमा निर्देशन दिनुभएको थियो ।

    विपद्मा सम्पूर्ण नागरिक, उद्योगी व्यवसायी, अधिकारकर्मी, राजनीतिक पार्टी, बैंक तथा वित्तीय संस्था र कर्मचारीहरूलाई सहयोग गर्नका लागि आह्वान गर्ने समेत निर्णय गरेको आन्तरिक मामला तथा कानुन मन्त्रालयका विपद् महाशाखा प्रमुख कमल थापाले जानकारी दिनुभयो । रासस

  • दसैँभरको सुनसानपछि सौराहामा आउन थाले पर्यटक

    दसैँभरको सुनसानपछि सौराहामा आउन थाले पर्यटक

    चितवन, असोज २२ –
    सौराहाको युनिक वाइल्ड रिसोर्टमा आज ३० जना तेस्रो मुलुकका पर्यटक आउँदै गरेको भन्दै सञ्चालक गुणराज थपलियाले खुसी व्यक्त गर्नुभयो । गत वर्षहरुमा यतिबेला पर्यटकले भरिभराउ हुने सौराहामा यस वर्ष दसैँभरको सुनसानपछि पर्यटक आउन थालेसँगै होटल व्यवसायीहरुमा केही उत्साह थपिएको छ ।

    यहाँको अत्यन्तै राम्रो पर्यटकीय मौसममा राजनीतिक परिवर्तन र ठाउँ–ठाउँको पहिरोका कारण पर्यटकहरुले बुकिङ रद्द गरेपछि व्यवसायी निरास भएका थिए । क्षेत्रीय होटल सङ्घका उपाध्यक्षसमेत रहनुभएका थपलियाले मङ्गलबारदेखि आन्तरिक र बाह्य पर्यटक आउन थालेको बताउनुभयो । उहाँले भन्नुभयो, “दसैँको समयमा पाँच प्रतिशत हाराहारी मात्र पर्यटक भएकामा हिजोदेखि राम्रो बढ्दै गएको छ ।” आजको अवस्था हेर्दै गर्दा ३० प्रतिशत हाराहारी पर्यटक पुगेको उहाँको भनाइ छ । गत वर्ष यो समयमा सौराहामा ८० प्रतिशत हाराहारी पर्यटक पुग्ने गर्दथे ।

    क्षेत्रीय होटल सङ्घका अध्यक्ष ओम पाण्डेले आफ्नो होटल ल्याण्डमार्कसहित होटलहरुमा पर्यटक आउन थालेको बताउनुभयो । जेनजी आन्दोलनअघि नेपाल आएका पर्यटक सडक राम्रो भएसँगै सौराहा आउन थालेको उहाँ बताउनुहुन्छ । नेपालीहरु न्यून भए पनि विदेशीको सङ्ख्या बढ्दो छ । उहाँले भन्नुभयो, “बुकिङ राम्रो नभए पनि सोझै आउनेहरु वढ्न थालेका छन् ।” साह्रै न्यून पर्यटक रहेकामा केही आउन थालेपछि आफूहरुमा आशा जगाएको पाण्डे बताउनुहुन्छ ।

    जङ्गल सफारी लजका सञ्चालक सुमन घिमिरे क्रमशः पर्यटक आउन थालेको बताउनुहुन्छ । तिहारसँगै स्वदेशी पर्यटकको सङ्ख्या बढ्ने उहाँको अनुमान छ । उहाँले भन्नुभयो, “आन्तरिक तथा बाह्य पर्यटक क्रमशः बढ्ने हामीले अपेक्षा गरेका छौँ ।” निकुञ्जभित्रको जङ्गल सफारीसमेत खुलेकाले यहाँ आउने पर्यटक बढेको उहाँले बताउनुभयो । चितवन आउन चाहने पर्यटकका लागि सबैतिरका सडक सञ्जाल राम्रो भएको भन्दै उहाँले बिदाका दिनमा पर्यटकको आगमन बढ्ने बताउनुभयो ।

    होटल भिष्टाका सञ्चालक रमेश सिलवाल आज मात्रै १४ जना टेलिफोन गरेर सौराहा आउँदै गरेको बताउनुहुन्छ । विभिन्न माध्यमबाट बुझ्ने क्रम सुरु भएकाले अब पर्यटक बढ्नेमा आफु विश्वस्त रहेको उहाँको भनाइ छ । सौराहाका पर्यटन व्यवसायी दीपेन्द्र खतिवडा रेष्टुराँहरुमा पर्यटकको आगमन बढेको बताउनुहुन्छ । हात्ती सफारी गर्नेहरु पनि क्रमशः बढ्दै गएको उहाँको भनाइ छ ।

    विगत वर्षहरुमा दसैँको समयमा हात्ती चढ्नेहरुका लागि पु¥याउन मुस्किल हुने गरेको भए पनि यस वर्ष दसैँभर सुनसान अवस्थामा रहेको उहाँले बताउनुभयो । चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटक बस्नका लागि सौराहा आउने गर्दछन् । उनीहरु निकुञ्ज र सामुदायिक वनमा सफारी गर्ने गर्दछन् । दुर्लभ वन्यजन्तु एक सिङ्गे गैँडा, पाटे बाघलगायतका जनावार हेर्न उनीहरु रुचाउँछन् । यो निकुञ्ज सफारीका लागि विश्वमा नै परिचित छ । रासस

  • एक महिनासम्म स्तन क्यान्सरको निःशुल्क परीक्षण गर्दै सिएमसी क्यान्सर इन्स्टिच्यूट

    एक महिनासम्म स्तन क्यान्सरको निःशुल्क परीक्षण गर्दै सिएमसी क्यान्सर इन्स्टिच्यूट

    चितवन, २२ असोज –
    सिएमसी क्यान्सर इन्स्टिच्यूटले एक महिनासम्म निःशुल्क रुपमा स्तन क्यान्सरको परीक्षण गर्ने भएको छ । चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालको भगिनी संस्थाका रुपमा सिएमसीकै परिसरमा सञ्चालित सिएमसी क्यान्सर इन्स्टिच्यूटमा परीक्षण हुने छ ।

    अक्टोबर महिनाभर ओपिडीमा निशुल्क परीक्षण गरिने इन्स्टिच्यूटले जनाएको छ । विश्व स्तन क्यान्सर सचेतना महिना भएका कारण अक्टोबरमा निशुल्क परीक्षण गर्न लागिएको इन्स्टिच्यूटले आज पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । स्तन (ब्रेष्ट) क्यान्सर सम्बन्धी जनचेतना जगाउने, समयमै पहिचान र उपचार गर्ने उद्देश्यले विभिन्न कार्यक्रमहरु गर्न लागिएको इन्स्च्यिूटले जनाएको छ ।

    सिएमसीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) प्रताप देवकोटाले अक्टोबर महिनामा स्तन क्यान्सरको परीक्षण गर्न आउनेहरुलाई बहिरंग (ओपिडी) टिकट निःशुल्क गरिएको बताए । उनले भने, ‘तालिमप्राप्त स्वास्थ्यकर्मीले स्तनमा गाँठागुँठी छन् छैनन् भन्ने बारेमा निःशुल्क रुपमा परीक्षण गर्नुहुनेछ । शंकास्पद देखिएका बिरामीलाई थप परीक्षण गरिने गरिने छ ।’

    थप परीक्षण गर्नुपर्नेहरुका लागि स्तनको मेमोग्राम र स्तनको युएसजी (भिडियो एक्सरे) मा ५० प्रतिशत छुट समेत दिने उनले बताए ।

    स्तन आफैले छामेर समेत गाँठागुँठी छ छैन पत्ता लगाउन सकिन्छ भन्दै सो अवसरमा मेडिकल अंकोलोजिष्ट डा. सुदिप थापाले स्तनमा गाँठागुँठी छन् भने एक पटक परीक्षण गरेर क्यान्सर हो होइन निश्चित गर्नु उपयुक्त हुने सुझाव दिए । ३० वर्ष माथिका महिलाहरुले प्रत्येक वर्ष कम्तीमा एक पटक स्तनको परीक्षण गराउने हो भने क्यान्सरको समयमा नै पहिचान र उपचार गर्न सकिने उनको भनाइ छ । उनले भने ‘क्यान्सर जति छिटो पहिचान गर्न सकियो उति छिटो निको हुने र निको हुने दर उच्च रहन्छ । साथै आर्थिक रुपमा पनि कम खर्चिलो हुन्छ ।’

    क्यान्सरको उपचार शल्यक्रिया, केमो थेरापी र रेडियो थेरापी विधिबाट गरिने र यी तीन वटै सेवा सिएमसी क्यान्सर इन्स्टिच्यूटमा उपलब्ध रहेको अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा. सुवास ठाकुरले बताए । क्यान्सर उपचारका लागि चाहिने अत्याधुनिक उपकरणहरु सिएमसी क्यान्सर इन्स्टिच्यूटमा रहेको उनले बताए ।

    सिएमसी क्यान्सर इन्स्टिच्यूटमा क्यान्सर रोगको उपचारमा लामो अनुभव प्राप्त मेडिकल अंकोलोजिष्ट, सर्जन अंकोलोजिष्ट र रेडियोलोजिष्ट लगायतको जनशक्ति रहेको भन्दै सिईओ देवकोटाले स्वास्थ्य बीमा मार्फत समेत क्यान्सरको उपचार हुने जानकारी दिए । नेपाल सरकार र प्रदेश सरकारहरुले दिने विपन्न उपचार सेवाबाट पनि सिएमसी क्यान्सर इन्स्टिच्यूटमा क्यान्सरको उपचार हुने गर्दछ । सरकारी क्यान्सर अस्पतालको दररेटमा नै सिएमसी क्यान्सर इन्स्टिच्यूटमा उपचारको दररेट तोकिएकाले सरकारी अस्पतालमा उपचार गर्दा लाग्ने खर्चमा नै यहाँ सेवा पाउन सकिने देवकोटाले बताए । सेवाको गुणस्तरमा सिएमसी क्यान्सर इन्स्टिच्यूट कुनै पनि कमि नरहेको सिईओ देवकोटाको भनाइ छ ।

  • जापानीज इन्सेफ्लाइटिसबाट मृत्यु हुनेको सङ्ख्या छ पुग्यो

    जापानीज इन्सेफ्लाइटिसबाट मृत्यु हुनेको सङ्ख्या छ पुग्यो

    चितवन,असोज २२- 
    चितवनमा जापानीज इन्सेफ्लाइटिसका कारण मृत्यु हुनेको सङ्ख्या छ पुगेको छ । साउनयता हालसम्म उनीहरुको मृत्यु भएको हो ।

    जनस्वास्थ्य कार्यालयका अनुसार मृत्यु हुनेमा दुई जना भरतपुर महानगरपालिका, एक जना खैरहनी नगरपालिका, दुई जना राप्ती नगरपालिका र एक कालिका नगरपालिकाका रहेका छन् । पछिल्लो पटक खैरहनी वडा नम्बर ४ की महिलाको यो रोगका कारण मृत्यु भएको कार्यालयका किट नियन्त्रक राम केसीले जानकारी दिए ।

    जिल्लामा हालसम्म १७ जनामा यो रोगको सङ्क्रमण देखा परेको छ । त्यसमध्ये १० महिला हुन भने सात पुरुष रहेका छन् । उनीहरुमध्ये तीन जना १५ वर्षमुनिका, पाँच जना १५ देखि ६० वर्षभित्रका र नौ जना ६० वर्षमाथिका रहेका छन् । सङ्क्रमितमध्ये १५ जनाले खोप नलगाएको र दुई जनाले खोप लगाएको अवस्था अस्पष्ट रहेको केसीले जानकारी दिए ।

    सङ्क्रमितमध्ये सात जना भरतपुरभित्रका रहेका छन् । मृत्यु भएकामध्ये एक ८९ वर्षका, अर्का एक जना ८१ वर्षका र दुई जना ७० वर्षका रहेका छन् । एक जना ३९ वर्षीय र अर्का एक जना ४२ वर्षका रहेको उनले जानकारी दिए । यो रोग क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने कीटजन्य सरुवा रोग हो । यो लामखुट्टे घर बाहिर बस्न रुचाउने, घर बाहिर नै टोक्ने, साँझ र बिहान बढी सक्रिय हुने गर्दछ । यो लामखुट्टेले सुँगुर, बङ्गुर, हाँसजस्ता पशुपक्षीलाई टोक्यो भने सर्दछ । धानखेतीमा समेत यस लामखुट्टेले अण्डा पारेर लार्भा बनाउने गरेको कार्यालयका प्रमुख दिनेश रुपाखेतीले जानकारी दिए ।