Blog

  • कुवेतलाई हराएपछि जापानसँगै नेपाल पनि पुग्यो सुपर-६ मा

    कुवेतलाई हराएपछि जापानसँगै नेपाल पनि पुग्यो सुपर-६ मा

    काठमाडौं असोज २३-
    नेपाल र जापान ओमनमा जारी आईसीसी टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर–६ मा प्रवेश गरेका छन् ।

    छनोटको समूह ‘बी’ अन्तर्गत बिहीबार भएको खेलमा जापानले कुवेतलाई ५ विकेटले पराजित गरेसँगै नेपाल र जापानले सुपर–६ मा स्थान पक्का गरेका हुन् ।

    दुवै खेलमा पराजित भएको कुवेत छनोटबाट बाहिरिएको छ ।

    यसअघि बुधबार भएको खेलमा कुवेत नेपालसँग ५८ रनले पराजित भएको थियो । उक्त समूहको अन्तिम खेल शुक्रबार हुनेछ ।

    उक्त खेलमा जित निकाल्ने टोलीले सुपर–२ मा २ अंक लगेर जानेछ

  • रास्वपाको सचिवालय बैठक शुक्रबार बस्दै

    रास्वपाको सचिवालय बैठक शुक्रबार बस्दै

    काठमाडौँ, २३ असोजः
    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को सचिवालय बैठक शुक्रबार बिहान बस्ने भएको छ ।

    बैठक भोलि बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने प्रवक्ता मनिष झाले बताए ।

    बैठकको एजेण्डाबारे केही खुलाइएको छैन ।

  • इलामलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने सरकारको निर्णय

    इलामलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने सरकारको निर्णय

    काठमाडौँ, २३ असोजः 
    सरकारले अविरल वर्षासँगैको बाढीपहिरोबाट प्रभावित इलाम जिल्लालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ ।

    सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद् बैठकले तीन महिनाका लागि इलामलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिनुभयो । यही असोज १८ गतेदेखि परेको अविरल वर्षाका कारण गएको पहिरो र बाढीमा परी पूर्वी पहाडी जिल्ला इलाममा ३९ जनाको मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । सोही घटनामा परी एक जना बेपत्ता र २६  घाइते भएका थिए । बाढी र पहिरोबाट इलामको सडक सञ्जालमा ठूलो क्षति पुगेको छ ।

    बैठकले जलविद्युत् आयोजना निर्माणका लागि स्रोत व्यवस्थापन गर्न रु २० अर्ब बराबरको ऊर्जा वण्ड चरणबद्ध रुपमा निष्काशन गर्न नेपाल विद्युत् प्राधिकरणलाई स्वीकृति दिएको छ । मन्त्रिपरिषद् बैठकले प्रहरी नायब महानिरीक्षकहरु सुशीलसिंह राठौर, उमाप्रसाद चतुर्वेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विश्वकर्मालाई प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा गरी पदस्थापन गर्ने निर्णय गरेको छ ।

    बैठकले भूमि समस्या समाधान आयोग गठन आदेश, २०८१ बमोजिम गठन भएको भूमि समस्या समाधान आयोग र सबै जिल्लाका जिल्ला समिति खारेज गरेको छ । मन्त्रिपरिषद् बैठकले त्रिभुवन विश्वविद्यालयको जग्गा तथा अचल सम्पत्ति खोजबिन समिति २०८१ ले पेस गरेको प्रतिवेदन कार्यान्वयनका लागि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा पठाएको छ ।

    अध्यागमन र भिजिट भिसाका सन्दर्भमा विगतदेखि देखिएका समस्या समाधान गर्न गठित उच्चस्तरीय अध्ययन एवं छानबिन समिति २०८२ ले पेस गरेको प्रतिवेदन कार्यान्वयनका लागि गृह मन्त्रालयमा पठाइको छ ।

    त्यस्तै नागरिक उड्डयन क्षेत्रको सुधारका लागि गठित उच्चस्तरीय अध्ययन एवं सुझाव समितिले पेस गरेको प्रतिवेदन २०८२ कार्यान्वयनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाउने निर्णय भएको सरकारका प्रवक्ता खरेलले जानकारी दिनुभयो ।

  • त्रिविका ६ सय ५२ विद्यार्थीको उत्तरपुस्तिका जले, पुन: परीक्षा हुने

    त्रिविका ६ सय ५२ विद्यार्थीको उत्तरपुस्तिका जले, पुन: परीक्षा हुने

    काठमाडौं, २३ असोज –
    गत भदौ २३ र २४ गते भएको जेनजीको आन्दोलनमा त्रिभुवन विश्वविद्यालयका ६ सय ५२ विद्यार्थीको उत्तरपुस्तिका जलेको छ ।

    परीक्षा नियन्त्रण कार्यालय बल्खुका अनुसार स्नातक तहको दोस्रो वर्षको आंशिक र मौका परीक्षाको उत्तरपुस्तिका जलेको हो ।

    ‘तीन वटा सेन्टरको जलेको छ,’ परीक्षा नियन्त्रक सूर्यकान्त कलौनीले भने, ‘उत्तरपुस्तका जलेका कारण पुन परीक्षाको सूचना निकाल्दै छौं ।’

    उत्तरपुस्तिकाहरू प्रहरी चौकीमा राखिएको थियो । चौकी जलेसँगै उक्त पुस्तिकाहरू पनि जलेको हो ।

  • भूमि समस्या समाधान आयोग र जिल्ला समिति खारेज

    भूमि समस्या समाधान आयोग र जिल्ला समिति खारेज

    काठमाडौं ,असोज २३-
    सरकारले भूमि समस्या समाधान आयोग र सवै जिल्ला समितिहरु खारेज गर्ने निर्णय गरेको छ ।

    सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भूमि समस्या समाधान आयोग गठन आदेश २०८१ बमोजिम गठन भएको आयोग र सबै जिल्ला समितिहरु खारेज गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता जगदिश खरेलले जानकारी दिए ।

    बैठकले इलाम जिल्लालाई तीन महिनाका लागि विपद् संकटग्रस्त जिल्ला घोषणा गर्ने निर्णय पनि गरेको छ ।

  • बालेनको समर्थन रास्वपालाई, रविको ठाउँमा कुलमान राख्ने तयारी

    बालेनको समर्थन रास्वपालाई, रविको ठाउँमा कुलमान राख्ने तयारी

    काठमाडाैं, असोज २३
    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यकारी नेतृत्वमा कुलमान घिसिङलाई राखेर अघि बढ्ने तयारी भएको छ । सभापति रहेका रवि लामिछानेको ठाउँमा सर्वमान्य व्यक्ति राखि नेतृत्व परिवर्तन गरे आफ्नो समर्थन रहने काठमाडौं महानगर प्रमुख बालेन्द्र शाह (बालेन) को सहमतिपछि छलफल तीव्र भएको पार्टीका एक नेताले जानकारी दिए ।

    उनका अनुसार हाल रवि, बालेन र घिसिङसँग चरणबद्ध छलफल भएको छ । बालेनसँगको छलफलमा पार्टीको नाम र चुनाव चिह्न (रास्वपा र घण्टी) पुरानै रहने सहमति जुटिसकेको छ । त्यस्तै सभापतिबारे भने सबैलाई मान्य हुने पात्रको खोजी गर्दा घिसिङ उपयुक्त हुने ठहर भएरै उनीसँग समेत बुधबार लामो छलफल भएको स्रोतको दाबी छ ।

    २३ र २४ भदौको जेन–जी आन्दोलनपछि नख्खु जेलबाट निकालिएका लामिछानेकै कारण रास्वपाभित्र तीव्र मतभेद थियो । आन्दोलनपछि उत्पन्न विशेष परिस्थितिमा बालेनले नयाँ राजनीतिक दल खोलेर जेन–जी आन्दोलनको आधिकारिकता ग्रहण गर्न चाैतर्फी दबाबसमेत बढेको थियो ।

    उक्त स्रोतका अनुसार घिसिङले रवि र बालेनको समर्थन पाएर दर्ता गर्ने तयारीमा रहेको नयाँ पार्टीको प्रक्रिया रोकेका छन् । उनले अब रास्वपाको नेतृत्वमा रहने अन्तिम टुंगो लागेसँगै हाल रहेको मन्त्री पदबाट राजीनामा दिने तयारी छ ।

    ‘बालेनलाई कुनै पद चाहिएको छैन । न उहाँ कुनै पदाधिकारीमा बस्नुहुन्छ न प्रधानमन्त्री र अध्यक्ष/सभापति नै बन्नुहुनेछ,’ स्रोतले भन्यो, ‘उहाँको चाहना नै जनअपेक्षा अनुरुप वैकल्पिक शक्ति एकजुट भएर असल शासन स्थापना होस् र मुलुकको विकास होस् भन्ने नै रहेको देखिन्छ ।’

    यहीबीचमा बालेनले समेत नयाँ राजनीतिक शक्ति निर्माण गर्ने चर्चा चलिरहेको थियो । तर, बालेनले परम्परागत राजनीतिक शक्तिहरूसँग जुध्न वैकल्पिक शक्तिहरूको एकतालाई जोड दिने भन्दै नयाँ दल खोल्नुभन्दा रास्वपालाई समथर्न गरेर अघि बढ्ने रणनीतिमा देखिएका छन् ।

    यसबारे रास्वपाले एक केन्द्रीय सदस्यको नेतृत्वमा संवाद समिति बनाएको थियो । आन्दोलनपछि उत्पन्न परिस्थिति, नख्खु प्रकरण र दलभित्रकै केही नेताहरूको समेत असन्तुष्टिले रास्वपालाई क्षति भइरहेको अवस्थामा थप क्षति हुन नदिन परिस्थिति अनुकूल निर्णय गरेर जान नेताहरू सहमत भएका थिए । रवि र बालेनसँग नजिक रहेर यो भूमिका खेलिरहेका एक नेताले रविलाई समेत भेटेर उनको समर्थन लिएपछि छलफलले अन्तिम रूप लिने तयारीमा रहेको स्रोतको भनाइ छ ।

    ती नेताका अनुसार रविलाई कन्भिन्स गर्न केही समय लागेको थियो । तर, रविलाई कार्यकारी भूमिकामा तत्काल नराखे पनि रास्वपाको इतिहाससँग जोडिएको व्यक्ति रवि नै भएको हुँदा उनलाई संरक्षक, सल्लाहकार वा के राख्न उपयुक्त हुन्छ सो बारेमा समेत छलफल भइरहेको स्रोतको भनाइ छ ।

  • कांग्रेस बैठकमा गगनले राखे नियमित महाधिवेशन गर्ने प्रस्ताव

    कांग्रेस बैठकमा गगनले राखे नियमित महाधिवेशन गर्ने प्रस्ताव

    २३ असोज, काठमाडौं ।
    नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले नियमित महाधिवेशनको प्रस्ताव गरेका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पदाधिकारी बैठकमा महामन्त्री थापाले नियमित महाधिवेशनको प्रस्ताव गरेका हुन् ।

    जेनजी आन्दोलनपछि महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनमा जानुपर्ने बताउँदै आएका थिए । तर, आजको बैठकमा भने महामन्त्री थापाले मंसिरमै नियमित महाधिवेशन गर्नेगरी अघि बढ्ने प्रस्ताव गरेका हुन् ।

    बैठकबाट निस्कने क्रममा डा. शशांक कोइरालाले महामन्त्रीले राखेको प्रस्तावबारे जानकारी दिए ।

    आजै आफ्नो निवासमा केही नेताहरूसँग कुरा गर्दै नेता कृष्ण सिटौलाले महामन्त्रीद्वयको हस्ताक्षर अभियानले पार्टी फुट्नसक्ने बताएका थिए ।

  • गुडिरहेको बसबाट खसेर सहचालकको मृत्यु

    गुडिरहेको बसबाट खसेर सहचालकको मृत्यु

    सिरहा, असोज २३-
    यहाँको धनगढीमाई नगरपालिका—९ स्थित जिरोमाइल नजिकै आज बिहान गुडिरहेको बसबाट खसेर सहचालकको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गमा विराटनगरबाट जनकपुरधामतर्फ जाँदै गरेको ना ७ ख २६५ नं को यात्रुबाहक बसबाट खसेर लहान नगरपालिका—१ निवासी २१ वर्षीय सहचालक पवनकुमार यादव गम्भीर घाइते भएका थिए ।

    जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रमेश पालका अनुसार बसको पछाडिको चक्काले किचिएर गम्भीर घाइते भएका सहचालक यादवलाई तत्कालै उपचारका लागि लहानस्थित प्रादेशिक अस्पताल पु¥याइएको थियो । तर, मध्यान्ह १२ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

    घटनालगत्तै इलाका प्रहरी कार्यालय धनगढीबाट प्रहरी नायब निरीक्षक दिलीपकुमार सिंहको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो । बसका चालक ४० वर्षीय लक्ष्मी महतोलाई तत्काल नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक पालले जानकारी दिनुभयो । रासस

  • सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

    सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

    २३ असोज, काठमाडौं ।
    मन्त्रिपरिषद् बैठक जारी छ ।
    प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अहिले मन्त्रिपरिषद् बैठक बसिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    बैठक बस्नुअघि गृहमन्त्री ओमप्रकाश अर्यालले विभिन्न सुरक्षा निकायका प्रमुखसँग छलफल गरेका थिए ।

    बैठकका एजेन्डाबारे जानकारी गराइएको छैन ।

  • ऊर्जामन्त्रीसित भन्सार छुटदेखि आरसीओडी म्याद थपसम्मका माग

    ऊर्जामन्त्रीसित भन्सार छुटदेखि आरसीओडी म्याद थपसम्मका माग

    काठमाडौँ, असोज २३ –
    स्वतन्त्र ऊर्जा उत्पादकको संस्था, नेपाल (इप्पान)ले बाढी प्रभावित जलविद्युत् आयोजनालाई विभिन्न राहत प्याकेज दिन माग गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङसँग भेट गर्दै इप्पानका प्रतितिनधिले बाढीबाट क्षति पुगेका जलविद्युत् आयोजना पुनःनिर्माणका लागि सरकारले राहत प्याकेज नै घोषणा गर्नुपर्नेमा जोड दिएका छन् ।

    भेटमा ऊर्जामन्त्री घिसिङले बाढी प्रभावित आयोजनालाई सक्दो राहत उपलब्ध गराउन पहल गर्ने बताउनुभयो । उहाँले वनसँग सम्बन्धित ऊर्जा आयोजनाका समस्या समाधानका लागि आगामी मन्त्रिपरिषद् बैठकमा प्रस्तुत गर्ने पनि जानकारी गराउनुभयो ।

    इप्पानका अध्यक्ष गणेश कार्कीले विसं २०८० जेठ ३२ र असार १ गते, २०८१ असार/साउन तथा असोज ११, १२ र २०८२ को असार/साउन तथा हालैको बाढीबाट क्षतिग्रस्त आयोजना सबैलाई मध्येनजर गरी विद्युत् उत्पादन सुरु गर्नुपर्ने मिति (आरसीओडी), अनुमतिपत्रको अवधि, कर्जा पुर्नतालिकीकरण, लामो अवधिको फाइनान्सिङ र भन्सार महसुलमा छुटलगायतका विषय समेटेर राहत प्याकेज ल्याउनुपर्ने माग राख्नुभयो ।

    यही असोज १७ देखि १९ गतेसम्म आएको वर्षाका कारण सञ्चालनमा रहेका २० जलविद्युत् आयोजना प्रभावित भएकामा १३५ मेगावाटका १७ वटा जलविद्युत् आयोजनाको उत्पादन पूर्णरुपमा बन्द भएको छ भने १५६ मेगावाटका तीन आयोजना आंशिक प्रभावित भएका छन् । त्यसैगरी निर्माणाधीन ५२० मेगावाट क्षमताका १७ जलविद्युत् आयोजनामा क्षति पुगेको छ ।

    यस्ता छन् इप्पानले ऊर्जामन्त्रीसामु राखेका माग

    बाढी प्रभावित आयोजनाको पुनःनिर्माण तथा मर्मत सम्भारका लागि आवश्यक मेसिनरी उपकरण एक प्रतिशत भन्सार शुल्कमा आयातको व्यवस्था गर्नुपर्ने इप्पान माग रहेको छ । बाढीबाट क्षतिपुगेका निर्माणाधीन आयोजनाको आरसीओडी म्याद तीन वर्ष र अनुमतिपत्रको अवधि पाँच वर्ष थप गर्नुपर्ने, बाढी प्रभावित आयोजनाको कर्जा पुर्नतालिकीकरण र पुनरकर्जाको व्यवस्था गर्नुपर्ने पनि इप्पानले माग राखेको छ ।

    यसैगरी इप्पानले बाढी प्रभावित आयोजनाको रोकिएको आइपीओ र हकप्रद शेयर छिटो निष्कासनको व्यवस्था गर्नुपर्ने, प्राकृतिक प्रकोपबाट क्षतिग्रस्त जलविद्युत् आयोजनालाई सङ्कटग्रस्त घोषणा गरी आवश्यक नीतिगत निर्णय गर्नुपर्ने माग मन्त्री घिसिङसामु राखेका छन् ।

    बाढी प्रभावित आयोजनालाई लामो अवधिको फाइनान्सिङ व्यवस्था गर्नुपर्ने र आर्थिक वर्ष २०८२/८३–२०८४ /८५ भित्र विद्युत् उत्पादन नगरे स्वतः ‘टेक एण्ड पे पीपीए’मा परिणत हुने व्यवस्था खारेज हुनुपर्ने लगायतका इप्पानका सात माग रहेका छन् । रासस