Blog

  • गृहमन्त्रीले गरे तीनवटै सुरक्षा निकायका प्रमुखसँग छलफल

    गृहमन्त्रीले गरे तीनवटै सुरक्षा निकायका प्रमुखसँग छलफल

    २३ असोज, काठमाडौं ।
    गृहमन्त्री ओमप्रकाश अर्यालले सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गरेका छन् ।

    बिहीबार सिंहदरबारस्थित मन्त्रालयमा तीन वटै सुरक्षा निकायहरुसँग छलफल गरेका हुन् ।

    छलफलमा नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ, सशस्त्र प्रहरी बल, नेपालका प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र नेपाली सेनाका प्रतिनिधिहरू सहभागी थिए ।

    पछिल्लो राजनीतिक घटनाक्रम, विपद् व्यवस्थापनबारे जानकारी लिएको बताइएको छ ।

    साथै, काठमाडौंमा बढेको सुरक्षा चुनौतीबारे पनि उनीहरूबीच छलफल भएको जनाइएको छ ।

  • ओलीले पार्टीका सबै जनसंगठनलाई भने- र्‍याली र जुलुसका लागि तयार रहनू

    ओलीले पार्टीका सबै जनसंगठनलाई भने- र्‍याली र जुलुसका लागि तयार रहनू

    काठमाडौं,असोज २३-
    २२ असोजमा गुण्डुमा बसेको एमाले जनसंगठनसम्बद्ध पदाधिकारी र कार्यकर्तालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले र्‍याली र जुलुसका लागि तयार रहन निर्देशन दिएका छन् । मुलुकको परिवर्तित अवस्थालाई मध्यनगर गर्दै सबै संगठनहरूलाई चुस्त र दुरुस्त राख्न ओलीले निर्देशन दिएको भेलामा सहभागी एक नेताले जानकारी दिए ।

    उनका अनुसार बुधबार ओलीले हालको गुण्डुस्थित निवासबाट २२ वटै जनसंगठनका पदाधिकारी र उपलब्ध भएका कार्यकर्तालाई बोलाएका थिए । उनीहरूमाझ ओलीले ‘आफूले विषम परिस्थितीमा नेतृत्व छाडेर त्यसै हिँड्न नमिल्ने’ बताएका थिए । उनले पार्टीलाई अप्ठ्यारो परिस्थितिबाटै यहाँसम्म ल्याएको दृष्टान्त दिँदै जस्तोसुकै अवस्थामा पनि राष्ट्रिय शक्ति एक भएर अघि बढ्नुको विकल्प नभएको तर्क गरेका थिए ।

    ओलीले बिहीबारको भेटघाट कार्यक्रमको तयबारे पनि नेता–कार्यकर्ताहरूमाझ सुनाएका थिए । उनले उक्त भेलामा सबै जनसंगठनमा आबद्ध भएकाहरूलाई उपस्थितिका लागि निर्देशन दिएका थिए ।

    त्यस्तै, २५ असोजमा उपत्यकालगायत प्रमुख शहरहरूमा मोटरसाइकल र्‍याली गर्न र तीन दिनभित्र सबै जनसंगठनका उपत्यकास्तरीय भेला अनिवार्य गर्न भनेका छन् । साथै, सबै जनसंगठनले रचनात्मक कार्यक्रम गर्ने र मातहतका कमिटीलाई परिचालन गर्न भनेको भेलामा सहभागी अखिल नेपाल राष्ट्रिय स्वातन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)का एक नेताले जानकारी दिए ।

    एमालेका अनेरास्ववियुसहित, अखिल नेपाल किसान महासंघ, अखिल नेपाल महिला संघ, प्रेस चौतारी नेपाल, राष्ट्रिय जनसांस्कृतिक महासंघ, नेपाल खेलकुद महासंघ, नेपाल बुद्धिजीवी परिषद्लगायतका जनसंगठन रहेका छन् ।

  • नारायणीकिनारमा खेलकुद तथा व्यापारिक महोत्सव हुने

    नारायणीकिनारमा खेलकुद तथा व्यापारिक महोत्सव हुने

    भरतपुर,अशोज २३-
    नारायणी नदीकिनारमा खेलकुद तथा बृहत् व्यापारिक महोत्सव हुने भएको छ । चितवन जिल्ला खेलकुद विकास समितिले आगामी कात्तिक १८ देखि मङ्सिर २ गतेसम्म महोत्सव गर्न लागेको हो । महोत्सवमा तीन लाखभन्दा बढी पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ ।

    महोत्सव सम्पन्न गर्न करिब एक करोड ५० लाख रूपैयाँ खर्च लाग्ने अनुमान गरिएको चितवन जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजन कार्कीले बताए । महोत्सवको हरेक साँझ साढे ६ बजेपछि फुड फेस्टिबल र विशेष सांस्कृतिक कार्यक्रम गरिने उनले जानकारी दिए ।

    महोत्सवमा बिच भलिबल, कराँते, तेक्वान्दो, कबड्डी, ब्याडमिन्टन, एथलेटिक्स, बुद्धिचाललगायतका खेलहरु आयोजना गरिने छ । त्यस्तै, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सम्मान एवम् प्रोत्साहन र हरेक दिन राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुति रहने छ । महोत्सवको मुख्य आकर्षणमा दुबई सिटी, बुर्ज खलिफा, बुर्ज अल अरब, गोल्डेन गेट, म्युजियम अफ द क्रयचर र पेरिसको आइफिल टावरको प्रतिमालाई बिजुली बत्तीद्वारा सजावट गरी आकर्षक बनाइने उनले बताए ।

    त्यस्तै, ३० देखि ४० वटा प्यागोडा स्टलहरु रहने छन् । महोत्सवको उद्घाटनअघि विभिन्न जातजातिको भेषभूषासहित ¥याली तथा झाँकीको प्रदर्शन हुने उनले जानकारी दिए । उत्कृष्ट झाँकीलाई क्रमशः ३० हजार, २० हजार र १० हजार रूपैयाँ प्रदान गरिने आयोजकले बताएको छ ।

  • घिरौंलो, काँक्रो र हरियो फर्सीमा भेटियो अत्यधिक विषादी

    घिरौंलो, काँक्रो र हरियो फर्सीमा भेटियो अत्यधिक विषादी

    काठमाडौं, असोज २३
    बिहीबार घिरौंलो, काँक्रो र हरियो फर्सीमा विषादीको मात्रा अत्यधिक भेटिएको छ।

    कालीमाटी फलफूल तथा तरकारी विकास समितिको तथ्यांक अनुसार बिहीबार तरकारीमा विषादी जाँच गर्ने क्रममा घिरौंलो, काँक्रो र हरियो फर्सीमा विषादी विषादीको मात्रा अत्यधिक भेटिएको हो।

    नमूना परीक्षण गर्दा धादिङका एक किसानको बारीबाट ल्याएको घिरौंलो, काठमाडौंका एक किसानको बारीबाट ल्याइएको काँक्रो र मकवानपुरका एक किसानको बारीबाट ल्याइएको हरियो फर्सीमा विषादीको मात्रा (रोकावट प्रतिशत) क्रमशः ६५.०३, ५२.९२ र ४५.५९ प्रतिशत भेटिएको छ।

    जाँच गर्दा रोकावट प्रतिशत ४५ भन्दा माथि आए उक्त वस्तु उपभोग गर्न अयोग्य मानिन्छ।केन्द्रीय कृषि प्रयोगशाला अन्तर्गत १२ वटा विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला छन्।

    यी प्रयोगशालाले देशभर रहेका कृषि विभाग मातहतका १२ वटा कृषि थोक बजारमा विषादीको जाँच गर्छन्। हामी कहाँ कार्बामेट र अर्गानोफस्फेट गरी रसायनका दुई समूह जाँच हुँदै आएको छ।

    विषादी परीक्षण भएपछि त्यसको नतिजा कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिलाई दिइने छ। त्यसरी उपभोग गर्न अयोग्य देखिएपछि समितिले त्यसलाई नष्ट गर्छ।

    यसअघि पनि रायो साग, स्थानीय काउली, ब्रोकाउली, तिते करेला, तनेबोडी र हरियो धनियाँ लगायतका तरकारीमा विषादीको मात्रा अत्यधिक भेटिएको थियो।

  • भरतपुर आँखा अस्पतालद्धारा विश्व दृष्टि दिवसमा तीन वृद्धाको निःशुल्क आँखाको शल्यक्रिया

    भरतपुर आँखा अस्पतालद्धारा विश्व दृष्टि दिवसमा तीन वृद्धाको निःशुल्क आँखाको शल्यक्रिया

    चितवन, असोज २३-
    भरतपुर आँखा अस्पतालले विश्व दृष्टि दिवसको अवसरमा तीन वृद्धाको आँखाको निःशुल्क शल्यक्रिया गरेको छ । देवघाट क्षेत्र विकास समितिद्वारा सञ्चालित देवघाट समाज कल्याण केन्द्रमा आश्रित अन्दाजी ७५ वर्षिया वृद्धाहरुको आँखाको मोतियाविन्दुको शल्यक्रिया गरिएको हो ।

    अस्पतालका प्रशासक दयाशङ्कर चौधरीका अनुसार दिवसको सन्दर्भ पारेर बुधबार शल्यक्रिया गरी आज बिहान आँखाको पट्टी खोलिएको हो । वृद्धाहरुलाई आवाजावतदेखि खानपान र शल्यक्रियासम्म सबै छुट दिइएको हो ।

    अस्पतालले आज बिहान आयोजना गरेको कार्यक्रममा नेपाल नेत्रज्योति सङ्घका केन्द्रीय कोषाध्यक्ष चिजकुमार मास्के, सङ्घका जिल्ला सभापति जयराम श्रेष्ठ, उपसभापति जेतेन्द्र खड्का, देवघाट क्षेत्र विकास समितिका अध्यक्ष डा इश्वरीराज लौडारी, कार्यकारी निर्देशक सदन बराल लगायतले समयमा उपचार पाएमा अन्धो हुनबाट बच्न सकिने भन्दै यस अवसरमा जनचेतना जगाउनुपर्नेमा जोड दिनुभएको थियो ।

    विश्व दृष्टि दिवसमा ४४ प्रहरीको आँखा परीक्षण

    विश्व दृष्टि दिवसको अवसरमा भरतपुर आँखा अस्पताल ठोरीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको निःशुल्क आँखा परीक्षण गरिएको छ । सो अवसरमा ४४ प्रहरीहरुको आँखा परीक्षण गरिएको हो । आँखा परीक्षणका क्रममा २४ जनालाई औषधि र सात जनालाई चस्मा निःशुल्क वितरण गरिएको छ । रासस

  • तनहुँका स्थानीय तहद्वारा १५ किलोमिटर सडक कालोपत्र

    तनहुँका स्थानीय तहद्वारा १५ किलोमिटर सडक कालोपत्र

    दमौली (तनहुँ), असोज २३ –
    जिल्लाका स्थानीय तहले एक वर्षमा १५ किलोमिटर सडक कालोपत्र गरेका छन् ।

    गत आर्थिक वर्षमा जिल्लाका छ गाउँपालिकाले १५ दशमलव ६२ किलोमिटर सडक कालोपत्र गरेका हुन् । त्यस्तै ती पालिकाले ३८ दशमलव ५५ किलोमिटर सडकको नयाँ ट्रयाक खोलेका छन् ।

    म्याग्दे गाउँपालिकाले एक वर्षको अवधिमा एक दशमलव पाँच किलोमिटर सडक कालोपत्र गरेको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी । त्यस्तै दुई दशमलव ५५ किलोमिटर सडकको नयाँ ट्रयाक खोलिएको छ भने तीन दशमलव एक किलोमिटर ग्राभेल गरिएको छ । सोही अवधिमा चार पक्की पुल निर्माण गरिएको अधिकारीले बताउनुभयो ।

    व्यास नगरपालिकामा नौ किलोमिटर सडकको ट्रयाक खोलिएको छ । प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालका अनुसार पाँच दशमलव दुई किलोमिटर ग्राभेल, तीन दशमलव ९४ किलोमिटर कालोपत्र गरिएको छ एउटा पक्की पुल निर्माण गरिएको छ ।

    ऋषिङ गाउँपालिकामा पाँच किलोमिटर सडकको ट्रयाक खोल्ने काम गरिएको प्रमुख प्रशासकीय अधिकृत अनिल अम्गाईले जानकारी दिनुभयो । उहाँका अनुसार १२ किलोमिटर सडक ग्राभेल गरिएको छभने एक किलोमिटर कालोपत्र गरिएको छ । त्यस्तै एउटा पक्की पुल निर्माण भएको उहाँले बताउनुभयो ।

    बन्दीपुर गाउँपालिकामा १८ किलोमिटर सडकको ट्रयाक खोलिएको प्रमुख प्रशासकीय अधिकृत कमलबहादुर केसीले जानकारी दिनुभयो । तेह्र किलोमिटर सडक ‘ग्राभेल’ गरिएको बन्दीपुरमा चार किलोमिटर सडक कालोपत्र गरिएको उहाँले बताउनुभयो ।

    घिरिङ गाउँपालिकामा एक दशमलव दुई किलोमिटर सडकको ट्रयाक खोलिएको प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार दुई दशमलव पाँच किलोमिरट सडकको ग्राभेल गरिएको छ भने एक किलोमिटर सडक कालापत्रे गरिएको छ ।

    आँबुखैरेनी गाउँपालिकामा चार दशमलव ६३ किलोमिटर सडक कालोपत्र गरिएको छभने दुई दशमलव आठ किलोमिटर ट्रयाक खोलिएको प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त तिमिल्सिनाले जानकारी दिनुभयो । रासस

  • सुनको मूल्य निरन्तर अकासिँदो

    सुनको मूल्य निरन्तर अकासिँदो

    काठमाडौँ,अशोज २३-
    अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । बुधबारको तुलनामा आज एक तोला सुन रु एक हजार २०० ले महँगो भएको छ ।
    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार रु दुई लाख ३८ हजारमा कारोबार भएको एक तोला सुनको मोल आज रु एक हजार २०० ले बढेर रु दुई लाख ३९ हजार २०० कायम भएको छ ।
    चाँदीको मूल्य पनि बढेको छ । बुधबार एक तोला चाँदी रु दुई हजार ९५५ मा खरिदबिक्री भएकामा आज त्यति नै परिमाणको चाँदी रु तीन हजार २५ मा क्रयविक्रय भइरहेको महासङ्घका जनाएको छ ।
    अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ५५ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

  • दश वर्षीया बालिका हत्या अभियोगमा पक्राउ परेका युवक सार्वजनिक

    दश वर्षीया बालिका हत्या अभियोगमा पक्राउ परेका युवक सार्वजनिक

    ठाकुरबाबा (बर्दिया), असोज २३-
    बर्दियामा १० वर्षीया बालिका भारती (एन्जल) देउवाको कर्तव्य ज्यान अभियोगमा पक्राउ परेका युवकलाई आज सार्वजनिक गरिएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाले आज यहाँ पत्रकार सम्मेलन गरी उक्त घटनामा संलग्न रहेको अभियोगमा पक्राउ परेका गेरुवा गाउँपालिका झबहीका २१ वर्षीय समीर तिरुवा (सुनार) लाई सार्वजनिक गरेको हो ।

    प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सरोज पौडेलले मृतक यही असोज १७ गते सम्पर्कविहीन भएकामा खोजतलासका क्रममा असोज २० गते नजिकै गाडिएको अवस्थामा एन्जलको शव फेला परेको बताउनुभयो । घटनापछि अनुसन्धानका क्रममा पक्राउ पेरका तिरुवाले बालिकाले लगाएको सुन र चाँदीको गहना लुट्ने क्रममा बालिकाले प्रहरीलाई भनिदिन्छु भनेपछि हत्या गरेको स्वीकारेको प्रहरीले जनाएको छ ।

  • जेनजी आन्दोलनपछि पहिलोपटक देउवासहित कांग्रेस पदाधिकारी बैठक बस्दै

    जेनजी आन्दोलनपछि पहिलोपटक देउवासहित कांग्रेस पदाधिकारी बैठक बस्दै

    काठमाडौं,असोज २३-
    नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे ललितपुरको होटेल हिमालयमा बस्नेछ । पार्टी सभापति शेरबहादुर देउवाले बोलाएको बैठकले असोज २६ गते बस्ने केन्द्रीय कार्यसमितिको बैठकको एजेन्डा तय गर्नेछ । देउवाले असोज २६ गते आइतबार दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी केन्द्रीय कार्यसमितिको बैठक बोलाएका छन् ।

    भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि देउवाले पहिलोपटक पदाधिकारी बैठक बोलाएका हुन् । जेनजी आन्दोलनका क्रममा घरमै आक्रमण परेर घाइते भएर अस्पताल भर्ना भएका देउवा त्यसयता सार्वजनिक भएका छैनन् । देउवा अस्पतालबाट डिस्चार्ज भए पनि अहिलेसम्म सार्वजनिक भएका छैनन् ।

    घरमा समेत लुटपाट, आगजनी र तोडफोड भएपछि अस्पतालबाट निस्केपछि उनी भाडाको घरमा बस्दै आएका छन् । सीमित नेतासँग मात्र भेट गरेका सभापति देउवाले यही असोज २६ गतेका लागि डाकिएको केन्द्रीय समिति बैठकका एजेन्डा तय गर्न आज पदाधिकारी र पूर्वपदाधिकारीको बैठक डाकेका हुन् ।

    कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्व प्रकाश शर्माले देउवालाई पदबाट हटाउन विशेष महाधिवेशनका लागि हस्ताक्षर संकलन गरिरहेका छन् । जेनजी आन्दोलनपछि व्यक्ति व्यक्तिका वक्तव्य आए पनि नेपाली कांग्रेसले नयाँ परिस्थितिमा कसरी अगाडि बढ्ने भन्ने धारणा सार्वजनिक गरिसकेको छैन । जेनजी आन्दोलनपछि नियुक्त प्रधानमन्त्रीको सिफारिसमा प्रतिनिधिसभा विघटित भएको छ ।

    प्रतिनिधिसभाको विघटनलाई देउवाबाहेकको कार्यसम्पादन समिति बैठकबाट नेपाली कांग्रेसले असंवैधानिक भनेको छ । महामन्त्री द्वयले भने कार्यसम्पादन समितिको बैठकले विघटन असंवैधानिक भने पनि फागुन २१ गतेका लागि घोषित निर्वाचनलाई लक्षित गर्दै विशेष महाधिवेशनको मुद्दा अघि सारेका छन् ।

    महामन्त्रीहरूको पहलमा देशभर हस्ताक्षर अभियान चलिरहेको छ । महामन्त्री गगन थापानिकट केन्द्रीय सदस्य मधु आचार्यका अनुसार बुधबारसम्म ४०५ भन्दा बढी महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरिसकेका छन् । उनको दाबी अनुसार शुक्रबारसम्म ५० प्रतिशतभन्दा बढीको हस्ताक्षर संकलन गरी दर्ता गर्ने तयारी छ ।

  • आज ९ ठाउँका सडक पूर्ण रुपमा बन्द, ३ सडक एकतर्फी सञ्चालन (सूचीसहित)

    आज ९ ठाउँका सडक पूर्ण रुपमा बन्द, ३ सडक एकतर्फी सञ्चालन (सूचीसहित)

    २३ असोज, काठमाडौं
    अविरल वर्षाका कारण आएको बाढी र पहिरोले देशका विभिन्न राजमार्ग र सडकहरू अवरुद्ध भएका छन् ।

    आज बिहान ८ बजेसम्मको जानकारी अनुसार देशभरका ९ ठाउँका सडकखण्ड पूर्णरुपमा अवरुद्ध भएका छन् भने तीनवटा सडकखण्ड एकतर्फी रुपमा मात्रै सञ्चालन भएका छन् ।

    प्रहरीका अनुसार कोशी राजमार्गअन्तर्गत संखुवासभाको भोटखोला गाउँपालिका-४ बरुण र मकालु गाउँपालिका-एकुवामा सडक अवरुद्ध भएको छ ।

    बाढीले इलामको मेची राजमार्ग अन्तर्गत रहेका इलाम नगरपालिका-९ राजदुवालीलगायतका स्थानहरू पूर्ण रुपमा अवरूद्ध भएको छ भने पाँचथरको तमोर करिडोर अन्तर्गत रहेका पाँचथर तुम्वेवा गाउँपालिकाको नावाखोला सडक पूर्णरुपमा बन्द रहेको प्रहरीले जनाएको छ ।

    यस्तै बागमती प्रदेशअन्तर्गत रसुवाको गोसाइकुन्ड गाउँपालिका-२ स्थित पासाङ ल्हामु सडकखण्ड पूर्ण रुपमा अवरूद्ध रहेको छ ।

    यस्तै, पहिरोले बीपी रागममार्ग अन्तर्गत रहेको काभ्रेको रोशी खोला गाउँपालिका-११ माम्तीखोला, डालाबेसी, बुल्ढुंगा, बाँझोखेतलगायतका स्थानहरूको सडक पूर्ण रुपमा बन्द रहेको छ भने बीपी राजमार्ग अन्तर्गत नै रहेको सिन्धुलीको सुनकोशी गाउँपालिका-१ नेपालथोक सडक अवरूद्ध भएको छ ।

    यसैगरी कर्णाली प्रदेश अन्तर्गत रहेका हुम्लाको कर्णाली करिडोरको खर्पुनाथ गाउँपालिका-५ कुरिल्ला सडक र कालिकोटको पचाल झरना गाउँपालिका-८ जुगेनी खोलामा रहेको सडक पूर्ण रूपमा अवरूद्ध रहेको छ ।

    यता, कोशी लोकमार्ग अन्तर्गत रहेको साँगुरीगढी गाउँपालिका-१स्थित चनौटे, ६ घण्टे र सिमसुवागरी तीन ठाउँमा एकतर्फी रूपमा सडक सञ्‍चालनमा आएको छ ।

    यसैगरी बागमती प्रदेश अन्तर्गत मकवानपुरको कान्तिलोकपथ सडकका भिमफेदी गाउँपालिका-८ वगुवा खोला र बकैया गाउँपालिका-११ घटेपाखा सडक एकतर्फी रुपमा सञ्‍चालनमा आएको प्रहरीले जानकारी दिएको छ ।

    हेर्नुहोस् अवरोध भएका राजमार्ग र सडकको विवरण :