Blog

  • टिकटक भिडियो बनाउन खोलामा हाम फालेका व्यक्ति मृत फेला

    टिकटक भिडियो बनाउन खोलामा हाम फालेका व्यक्ति मृत फेला

    बारा, असोज २४- 
    लगातार परेको अविरल वर्षाका कारण दुधौरा खोलाको पुलबाट यही असोज १९ गते हाम फालेको टिकटक भिडियो बनाउने क्रममा बेपत्ता भएका बाराको प्रसौनी गाउँपालिका–२ निवासी २१ वर्षीय विकी गोसाइँको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
    उनको छ दिनपछि गण्डक जाने बङ्गरी पुल नजिक शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।

    गोसाइँ असोज १९ गते आइतबार बिहान ८ः३० बजे दुधौरा खोलाको पुलबाट हाम फालेका थिए । उनको सशस्त्र प्रहरी र नेपाली सेनाको गाताखोरले खोजतलास गरेको थियो । गोसाइँका साथमा हामफालेका २० वर्षीय अनुराग केशरवानी पौडेर नदी किनारमा आएका थिए ।
    इलाका प्रहरी कार्यालय प्रसौनीका प्रमुख प्रहरी निरीक्षक टुपेन्द्र श्रेष्ठका अनुसार, नेपाली सेनाका लप्टन नीरज राईको कमान्डमा २३ जना, सशस्त्र प्रहरी निरीक्षक इन्द्रजङ्ग थापाको नेतृत्वमा १० जना र प्रहरी सहायक निरीक्षक राजनारायण महतोको कमान्डमा १० जना गरी ४३ जनाको टोली मोटरबोट र गोताखोरको सहयोगमा खोजीमा खटिएको छ ।

    सशस्त्र प्रहरी विपद् व्यवस्थापन गण निजगढका प्रहरी नायब उपरीक्षक सन्दीप अर्यालको नेतृत्वमा खोलाको एक किलोमिटर क्षेत्रमा तीव्र खोजबिन भइरहेको छ । खोजी दुधौरा खोलाको पुलदेखि फेटा गाउँपालिका–१ त्रिवेणीको झुलेङ्गे पुल, त्रिवेणीको नहर पुल, विश्रामपुर गाउँपालिका–५ नकटुवा हुँदै फेटा गाउँपालिका–२ चिलझपटीसम्म सञ्चालन गरिएको छ ।

  • राष्ट्रपति पौडेल र राजनीतिक दलका नेताबीच छलफल हुँदै

    राष्ट्रपति पौडेल र राजनीतिक दलका नेताबीच छलफल हुँदै

    काठमाडौँ, असोज २४-
    राष्ट्रपति रामचन्द्र पौडेलले आशन्न निर्वाचनलगायत विषयमा आज विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलसँग छलफल गर्दै हुनुहुन्छ ।

    गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि नयाँ सरकार गठन र प्रतिनिधिसभाको विघटन भई आगामी फागुन २१ गते निर्धारित निर्वाचनको मिति घोषणा भएको स्थितिमा राष्ट्रपति पौडेल र दलका नेताहरुबीच पहिलो पटक संवाद हुन लागेको हो ।

    राष्ट्रपति कार्यालयका अनुसार छलफलमा प्रधानमन्त्री सुशीला कार्कीसहित राजनीतिक दलका अध्यक्षपछिको वरियतामा रहेका नेताहरु छलफलमा सहभागी हुने जनाइएको छ । रासस

  • बीपी राजमार्ग आज बेलुकीदेखि एकतर्फी सञ्चालनमा ल्याउने तयारी

    बीपी राजमार्ग आज बेलुकीदेखि एकतर्फी सञ्चालनमा ल्याउने तयारी

    काठमाडौँ, असोज २४-
    बीपी राजमार्ग आज बेलुकीदेखि सञ्चालनमा ल्याउने गरी काम भईरहेको छ ।

    बाढी र पहिरोले क्षति पुर्याएको राजमार्गमा अस्थायी डाइभर्सनमार्फत गाडी सञ्चालनको काम भईरहेको हो । सडक मर्मतको काममा लगातार संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय, सडक डिभिजन कार्यालय भक्तपुर र निर्माण कम्पनीका कर्मचारीलगायत टोली खटिएको छ ।

    असोज १८, १९ र २० गतेसम्म परेको अविरल वर्षासँगै आएको बाढीले चार किलोमिटर सडक बगाएको छ । गएको वर्ष असोजमै यो राजमार्गमा करिब १२ किलोमिटर सडक बाढीले बगाएको थियो ।

  • मनुष्मारा नदीमा डुबेर युवकको मृत्यु

    मनुष्मारा नदीमा डुबेर युवकको मृत्यु

    बलरा नगरपालिका–१०
    सुदामा भएर बग्ने मनुष्मारा नदीमा डुबेर एक युवकको मृत्यु भएको छ ।

    नदीमा नुहाउन गएका सोही वडाका २८ वर्षीय विवेक चौधरीको आज बिहान मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता सरोज राईले जानकारी दिनुभयो । शव परीक्षणका लागि प्रादेशिक अस्पताल ल्याइएको छ । रासस

  • सुनको मूल्यमा सामान्य गिरावट

    सुनको मूल्यमा सामान्य गिरावट

    काठमाडौँ, असोज २४-
    सुनको मूल्यमा सामान्य गिरावट भएको छ । बिहीबारको तुलनामा एक तोला सुन रु चार हजार २०० ले सस्तो भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार रु दुई लाख ३९ हजार २०० मा कारोबार भएको एक तोला सुनको मोल आज रु रु चार हजार २०० ले घटेर रु दुई लाख ३५ हजार कायम भएको छ ।

    चाँदीको मूल्य भने बढेको छ । बिहीबार एक तोला चाँदी रु तीन हजार २५ मा खरिदबिक्री भएकामा आज त्यति नै परिमाणको चाँदी रु तीन हजार ८५ मा क्रयविक्रय भइरहेको महासङ्घले जनाएको छ । अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ५८ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । रासस

  • नेताहरूलाई पक्राउ गर्न दुर्गा प्रसाईंको माग

    नेताहरूलाई पक्राउ गर्न दुर्गा प्रसाईंको माग

    काठमाडौं, असोज २४-
    मेडिकल व्यवसायी दुर्गा प्रसाईले नेताहरूलाई पक्राउ गर्न माग गरेका छन् । उनले नेताहरूलाई पक्राउ गरी लागेका आरोपमा छानविन गर्न माग समेत गरेका हुन् ।

    उनले सामाजिक सञ्जालबाट केपी शर्मा ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाल, आरजु राणालगायतका अन्य सार्वजनिक नेतालाई तुरुन्त पक्राउ गर्न माग गरेका हुन् ।

    प्रसाईंले सामाजिक सञ्जालमा यस्तो लेखेका छन्ः

    देशको स्वाभिमान र स्वतन्त्रता जोगाउन विदेशी एजेन्टहरू र लुसिफरजस्ता विनाशकारी विचार बोकेका व्यक्तिहरूलाई देशबाट हटाउनु जरुरी छ।

    देशमा राजा, धर्म र संस्कृति नहुने हो भने त्यो देश दिशाहीन बन्छ। राजा राष्ट्रको प्रतीक हुन्, धर्म नैतिकताको आधार हो र संस्कृति हाम्रो पहिचान जब यी तत्व हराउँछन्, जनतामा अनुशासन, एकता र सम्मान हराउँछ। जसरी खेतमा धान माड्दा मियो नभए धान खेर जान्छ, त्यसै गरी देशमा राजा, धर्म र संस्कृति नभए समाज बिखण्डित र मूल्यहीन हुन्छ। हाम्रो परम्परा, संस्कार र आस्था नै हाम्रो वास्तविक शक्ति हुन्।

    त्यसैले प्रहरीले भ्रस्टाचारमा संलग्न भएको आरोप उठेका गम्भीर प्रश्नहरूमाथि कडाइका साथ, निष्पक्ष र कानूनी छानबिन गरी जवाफदेही बनाउन आवश्यक छ। विशेष गरी केपी शर्मा ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाल, आरजु राणा र अन्य सार्वजनिक नेताहरू तुरुन्त पक्राउ गरेर तिनीहरुका विरुद्ध उठेका आरोपहरुलाई कानूनी प्रक्रिया अनुसार छिट्टै अगाडि बढाएर सत्यतथ्य सार्वजनिक गर्नु पर्दछ र दोषी ठहरिएमा कानुनले अनुसार कारबाही हुनुपर्छ-लिनुपर्ने कदम सम्झौतामुखी होइन, न्यायसम्मक हो।

    साथै, शान्ति–सुरक्षामा खटिएका प्रहरीमाथि आक्रमण गर्ने, प्रहरी चौकी पोस्ट जलाउने, प्रहरीलाई निर्धात कुटपिट गर्ने र सिंहदरबारदेखि सर्वोच्च अदालतजस्ता ऐतिहासिक तथा संवैधानिक सम्पदामा आगो लगाउने जस्ता हिंसात्मक कार्यहरू हामी स्वीकार गर्न सक्दैनौं। यस्ता आपराधिक घटनामा संलग्नहरूलाई तुरुन्तै कानूनअनुसार कारबाही गरिनुपर्छ र कुनै प्रकारको अपवाद, छुट वा सहमति हुन सक्दैन, ऐतिहासिक सम्पदा नष्ट गर्ने गराउने कुनै पनि सच्चा नेपाली हुन सक्दैन,नेपालीको प्रतिनिधित्व हुन सक्दैन।

    विदेशी शक्तिको आडमा देश चलाउने लुसिफरको प्रयास कहिल्यै सफल हुँदैन, हुन दिइदैन , छठपछि बेवास्था परिबर्तनका लागि हुने शान्तिपूर्ण आन्दोलनमा सम्पूर्ण नेपाली दाजुभाइ(दिदीबहिनीहरूलाई एकताबद्ध भएर देश भरिबाट राजधानी केन्द्रित भयर शान्तिपूर्ण ढंगले सहभागी भएर आवाज उठाउन हार्दिक अपील गर्दछौं। हाम्रो आवाज साँच्चै न्याय र सँस्कृति बचाउने उद्देश्यले हुने छ । नेपाली हामी रहौंला कहाँ नेपालै नरहे ।

  • आज शुक्रबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् आजको राशिफल

    आज शुक्रबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् आजको राशिफल

    आज मिति वि.सं.२०८२ साल आश्विन २४ गते । शुक्रबार । इस्वी सन् २०२५ अक्टोबर १० तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । शरद ऋतु । श्रीशाके १९४७ । कार्तिक कृष्णपक्ष । तिथि–चतुर्थी, रातको १२ बजेर २४ मिनेट उप्रान्त पञ्चमी । नक्षत्र–कृतीका, बेलुकी १० बजेर ५५ मिनेट उप्रान्त रोहिणी । योग–सिद्धि, बेलुकी ११ बजेर ४३ मिनेट उप्रान्त व्यातिपात । करण–बव, दिउसो १ बजेर ३७ मिनेट उप्रान्त बालव, रातको १२ बजेर २४ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–छत्र योग । चन्द्रराशि–मेष, बिहान ६ बजेर १० मिनेट उप्रान्त वृष ।

    काठमाडौमा सूर्योदय बिहान ६ बजेर १ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ३८ मिनेट । दिनमान २९ घडी ३ पला ।

    आजको राशिफल

    मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पारिवारिक माहौलमा समय बित्ने तथा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । व्यापारमा समय व्यातित हुने तथा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । आफन्त तथा कुटुम्बको सहयोग पाइनाले कामहरू तीव्र गतिमा अगाडी बढाउन सकिनेछ । प्रणय सम्बन्धमा रमाउन चाहनेहरूका लागी समय राम्रो रहेको छ । बोलीको प्रभाव बढ्ने हुनाले बोलेरै धेरै काम गर्न सकिनेछ ।

    वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) समाजमा राम्रा काम गर्न सकिने हुँदा इज्जत प्रतिष्ठामा वृद्धि हुनेछ । बन्द व्यापार फस्टाएर जाने तथा औद्योगिक क्षेत्रबाट नाफा कमाउन सकिने हुनाले आर्थिक अवस्था सुदृढ हुनेछ । प्रेममा एक अर्कालाई विश्वास गर्न सकिने हुनाले मन प्रसन्न हुनेछ । नयाँ प्रविधिको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ । राजनीतिमा सबैलाई मिलाएर लान सकिने हुँदा पद प्राप्तिको योग रहेको छ । परिवारका साथ रहेर मिठो मसिनो भोजन गर्ने अवसर जुर्नेछ ।

    मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) आम्दानी भन्दा खर्च बढ्नाले दैनिकी असहज हुनसक्छ ध्यान दिनुहोला । लगानी बढाए पनि आम्दानी कम नै हुनेछ । माया प्रेममा एक अर्कालाई आशङ्का गर्नाले टाढिनु पर्ने बाध्यता आउनेछ । तर पनि पढाइ लेखाइमा सोचेजस्तो नतिजा ल्याउन सकिनेछ । विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ भने विदेशमा बसेर पेसा व्यवसाय गर्नेहरूका लागी समय राम्रो रहेको छ ।

    कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) साथीभाइ, बन्धुबान्धब तथा इष्टमित्रको सहयोगले राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ । व्यापार तथा उद्योगमा लगानी गरी मनग्गे लाभ लिन सकिनेछ । शिक्षा तथा शिक्षा पेसासँग सम्बन्धित कामबाट रुपैयाँ पैसा कमाउन सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ भने जीवन साथीको सहयोगले उपलब्धिमूलक काम गर्न सकिनेछ । पैतृक धन तथा सम्पत्तिको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ ।

    सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) राज्यभावमा गोचर गर्ने शुभ चन्द्रमाले राज्यको मेकानिजम भित्र बसेर गरिने कामबाट मनग्गे फाइदा हुनेछ । कीर्तिमान काम गरी नाम तथा इज्जत प्रतिष्ठा कमाउन सकिनेछ । नयाँ काम पाउने तथा बढुवा हुने योग रहेको छ । व्यापारबाट मनग्गे लाभ हुनेछ भने कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । पढाइ लेखाइमा मन जानेछ भने प्रेमको डोरो कसिलो भएर जानेछ ।

    कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) धर्म तथा अध्यात्म जस्ता क्षेत्रमा रुचि बढ्नेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा बलियो उपस्थिति रहनेछ । माया प्रेमको गाँठो कसिलो भएर जानेछ । व्यापार तथा औद्योगिक क्षेत्रको लगानी फस्टाएर जानेछ भने व्यापारकै सवालमा देश विदेशको यात्रा हुनेछ । प्रशासनिक क्षेत्रमा गतिलो तथा सम्मानजनक उपस्थिति रहनेछ । प्रविधिको प्रयोग मार्फत आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ ।

    तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) आफ्नो काममा भन्दा पनि अरूकै काममा समय व्यातित हुनेछ । महत्त्वाकाङ्क्षी योजनाहरू पुरा गर्न निकै सङ्घर्ष गर्नुपर्नेछ । आफन्त तथा घरपरिवारका सदस्यहरूसँग राय बाझिनेछ । माया प्रेममा धोका तथा विश्वासघात हुनेछ । पढाइ लेखाइमा मन नजाँदा अरूभन्दा पछि परिनेछ । यात्रा गर्दा वा सवारी चलाउँदा ध्यान दिनुहोला । तर पनि व्यापारमा आज गरिने लगानी भविष्यमा आम्दानीको गतिलो स्रोत बन्नेछ ।

    वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) औद्योगिक क्षेत्र तथा व्यापारमा लगानी गरी नाफा कमाउन सकिनेछ भने बहुमूल्य धातु सङ्ग्रह गर्न सकिनेछ । शुभ चिन्तकहरूको सहयोग तथा सद्भाव पाइने हुनाले समयमा नै कामहरू सम्पन्न हुनेछन् । भौतिक सम्पत्ति तथा बिलासी वस्तुको प्रयोग मार्फत अरूको मन आफूतिर लोभ्याउन सकिनेछ । बन्धु बान्धवहरूको सहयोग तथा समर्थन पाइने हुनाले उपलब्धिमूलक कामहरू गर्न सकिनेछ । प्रेम प्रसङ्गमा रमाउन चाहनेहरूका लागी समयले साथ दिनेछ ।

    धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) कार्यक्षेत्रमा केही विषयमा विवाद भए पनि तपाईँको भनाई तथा रायलाई स्विकार्दै जाने सहमति जुट्नेछ । न्यायिक निर्णयहरू तपाईँको पक्षमा आउनेछ । आफन्त तथा मावली पक्षबाट सहयोग प्राप्त हुनेछ । पढाइ लेखाइ सफलताकै मार्गमा अगाडी बढ्नेछ । प्रयत्न गर्दा राज्यबाट पद प्राप्तिको गतिलो योग रहेको छ । तपाईंको खुट्टा तान्ने तथा कुरा काट्नेहरू तपाईँकै प्रशंसा गर्दै हिँड्नेछन् ।

    मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) विद्या तथा प्रतिस्पर्धामा सहपाठीहरूलाई पछि पार्दे पुरस्कार तथा प्रशंसा पत्र हात पार्न सकिनेछ । शिक्षा क्षेत्रसँग सम्बन्धित व्यापार व्यवसाय फस्टाएर जानेछ । भाग्यले प्रेमपात्र जुराउनेछ भने मन परेका मानिसबाट उपहार प्राप्त हुनेछ । सन्तान तथा आफन्तले सहयोग गर्ने हुँदा मन प्रसन्न हुनेछ । आत्मबल बढ्नेछ भने सामाजिक मान सम्मान तथा मर्यादामा अभिवृद्धि हुनेछ ।

    कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) स्वास्थ्य सम्बन्धी समस्या आई काम गर्न बाधा हुनेछ ध्यान दिनुहोला । आमा, आफन्त तथा साथीभाइबाट टाढिएर लामो दुरीको यात्रा गर्नु पर्दा मन खिन्न हुनेछ । राजनीतिमा आलोचना गर्नेहरू सक्रिय भएर लाग्नेछन् । अध्ययनमा समय दिन सकिने छैन भने बौद्धिक समारोहमा भाग लिने अवसर आए पनि न्यून पारिश्रमिकमा चित्त बुझाउनु पर्नेछ । कृषि क्षेत्रमा गरिएको लगानी भने फस्टाएर जानेछ ।

    मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) महत्त्वाकाङ्क्षी योजनाहरू सार्वजनिक गरी आर्थिक क्षेत्र बलियो बनाउन सकिनेछ । लेखन कलाको विकास हुनेछ भने लेखेरै नाम कमाउन सकिनेछ । स्वास्थ्य सम्बन्धी समस्या ठिक भएर जानेछ । दाजुभाइ तथा बन्धुबान्धबको सहयोगले राम्रा काम गर्न सकिनेछ । छोटो दुरीको यात्राको तय गर्न सकिनेछ । माया प्रेमको ठोरो कसिलो भएर जानेछ भने जीवन साथीको भरपुर सहयोग पाईनेछ ।

    तपाईँको दिन शुभ रहोस् ।

  • हमाससँग रहेका ४८ बन्धकमध्ये २० जना मात्रै जीवित

    हमाससँग रहेका ४८ बन्धकमध्ये २० जना मात्रै जीवित

    हमाससँग बाँकी रहेका ४८ बन्धकमध्ये २० जनामात्रै जीवित रहेको यकिन भएको छ।

    अमेरिकी पत्रिका द न्युयोर्क टाइम्सले इसराइल र हमासबीच युद्धविराम सम्झौताबारे जानकार एक अधिकारीसँग कुराकानी गर्दै बन्धक रहेकामध्ये २० जनामात्रै जीवित रहेको पुष्टि गरेको हो।

    ‘हाल २० जना बन्धकहरू जीवित छन्। उनीहरूलाई सम्भवतः आइतबार हमासले एकसाथ रिहा गर्नेछ,’ ती अधिकारीले टाइम्ससँग भनेका छन्।

    मृतक २८ जनालाई भने हमासले चरणबद्ध रुपमा इसराइलको जिम्मा लगाउनेछ।

    ‘शव पहिचानका लागि समय लाग्ने भएकाले मृतक बन्धक हस्तान्तरण गर्न केही समय लाग्न सक्छ,’ ती अधिकारीले भनेका छन्।

  • भरतपुर–४ ,धर्मपथ टोलमा “हाम्रो वडा हामी बनाउँछौं” अभियानअन्तर्गत सडक मर्मत सम्पन्न

    भरतपुर–४ ,धर्मपथ टोलमा “हाम्रो वडा हामी बनाउँछौं” अभियानअन्तर्गत सडक मर्मत सम्पन्न

    असोज २३ ,भरतपुर-
    भरतपुर महानगरपालिका–४ ,धर्मपथ टोलअन्तर्गत धर्मचोकदेखि पश्चिम २ सय मिटर अगाडिसम्मको सडकखण्डको मर्मत कार्य आज सम्पन्न गरिएको छ। “हाम्रो वडा हामी बनाउँछौं” अभियानअन्तर्गत स्थानीयवासीहरूको श्रम, लगानी र सहभागितामा गरिएको उक्त कार्यले आवागमन सहज र सुरक्षित बनेको छ।

    उक्त सडकखण्डमा दुईपाङ्ग्रे, चारपाङ्ग्रे तथा ठूला मालवाहक गाडीहरूको अत्यधिक ओहोरदोहोर हुने भएकाले खाल्डाखुल्डीका कारण पैदलयात्रीहरू समेत जोखिममा परेका थिए। स्थानीयहरूको संयुक्त प्रयासमा गिटी, बालुवा र सिमेन्ट प्रयोग गरी मर्मत गरिएको हो ।

    कार्यक्रममा group 4 social का सदस्यहरू, सल्लाहकारहरू, स्थानीय अग्रजहरू , बासिन्दाहरूको सक्रिय उपस्थिति र श्रम रहेको थियो। समूहले बाँकी सडकभागहरू पनि क्रमिक रूपमा मर्मत गर्दै जाने जनाएको छ।

    भरतपुर -४ मा सक्रिय group 4 social नामक संस्थाले धार्मिक र सांस्कृतिक एवम् स्वास्थ्यका दृष्टिले महत्त्वपूर्ण वर- पीपल, बेल आदिका बिरुवा रोपण गर्ने , लत्रेका तारहरूको व्यवस्थापन गर्ने लगायतका कार्यहरू गर्दै आइरहेको ग्रुपका सल्लाहकार समाजसेवी भोजनारायण कँडेलले जानकारी दिनुभयो।

  • जङ्गली हात्तीको समूह चितवन निकुञ्जमा

    जङ्गली हात्तीको समूह चितवन निकुञ्जमा

    चितवन, २३ असोजः 
    चितवन राष्ट्रिय निकुञ्जमा जङ्गली हात्तीको समूह आउन थालेको छ । पूर्वी नेपाल, चुरे क्षेत्र हुँदै समूहमा हात्तीहरु आउन थालेका हुन् ।

    निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसर अघिल्ला वर्षमा कात्तिकको अन्तिम सातामा आउने गरेको भए पनि यस वर्ष केही छिटो जङ्गली हात्तीका समूह निकुञ्ज प्रवेश गरेका हुन् । उहाँले भन्नुभयो, “चितवन राष्ट्रिय निकुञ्जमा अहिले तीन÷चार वटा समूह आएको पाइएको छ ।” आठ÷१० वटाको समूहमा हात्ती आउने गरेका उहाँले बताउनुभयो ।

    निकुञ्जमा जङ्गली हात्ती विभिन्न क्षेत्रबाट आएकाले निकुञ्ज आसपास बसोबास गर्ने जनतालाई सतर्कता अपनाउन सूचना अधिकारी थापामगरले आग्रह गर्नुभयो ।

    यसरी समूहमा आएका हात्तीले धानबाली नष्ट गर्ने, घर टहरा भत्काउनेजस्ता कार्य गर्ने भएकाले रातको समयमा एक्लै नहिँड्न उहाँले आग्रह गर्नुभयो । रातको समयमा सकेसम्म बाहिर नहिँड्न र हिँड्नै परे समूहमा टाढासम्म उज्यालोमा हिँड्न उहाँले आग्रह गर्नुभयो ।

    जङ्गली हात्ती आएमा नजिकको सुरक्षा निकाय वा निकुञ्जमा खबर गर्न सूचना अधिकारी थापामगरले आग्रह गर्नुभयो । जङ्गली हात्तीलाई तर्साउन खोज्दा धनजनको क्षति हुनसक्ने उहाँको भनाइ थियो । निकुञ्जले हात्तीले दुर्घटना निम्त्याउन सक्ने भन्दै नेपाली सेनासहितको द्रुत प्रतिकार्य समूह (रेपिड रेस्पोन्स टिम) तयार गरेको छ । मानवीय क्षति हुनसक्ने अवस्था आएमा हवाई फायरसम्म गर्नसक्ने गरी टोली तयार गरिएको उहाँले जानकारी दिनुभयो ।