सबै मिलेर देशको संकट टार्नु पर्छ: प्रधानमन्त्री

२६ असोज, काठमाडौं।
प्रधानमन्त्री सुशीला कार्कीले संकटको समयमा सबै मिलेर देशलाई अघि बढाउनु पर्ने बताएकी छन्।

राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग आज भएको भेटमा प्रधानमन्त्री कार्कीले अहिलेको परिस्थितिमा सबै मिलेर देशलाई अघि बढाउनुपर्ने बताएकी हुन्।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा पुगेर अध्यक्ष दाहालले प्रधानमन्त्रीसँग भेट गरेका थिए। भेटमा राष्ट्रिय सभा सदस्यको आसन्न निर्वाचन, सभाको बैठक बोलाउने लगायतका विषयमा छलफल भएको थियो।

आगामी २० फागुनमा राष्ट्रिय सभाका एकतिहाइ सदस्यको पदावधि सकिँदैछ। पदावधि सकिनुभन्दा ३५ दिनअघि नै निर्वाचन गर्नुपर्ने कानुनी प्रावधान रहेकाले राष्ट्रिय सभाका अध्यक्षले प्रधानमन्त्रीसँग यस विषयमा पनि छलफल गरेका हुन्।

छलफलपछि अध्यक्ष दाहालले प्रधानमन्त्रीसँग राष्ट्रिय सभाको निर्वाचनका साथै राष्ट्रिय सभा बैठक बोलाउने विषयमा पनि परामर्श भएको जानकारी दिए। भेटमा राष्ट्रिय सभामा रहेका विधेयकहरूका विषयमा पनि छलफल भएको थियो।

जेन–जी आन्दोलनको दोस्रो दिन भएको आगजनीका कारण बानेश्वरस्थित स्रघीय संसद् भवन ध्वस्त भएको छ। सभाको बैठक बोलाउनुअघि आगामी बैठक कहाँ बोलाउने भन्ने अन्योल कायमै छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *