Blog

  • डेढ महिनादेखि बस्न सकेन गण्डकी प्रदेशसभा बैठक

    डेढ महिनादेखि बस्न सकेन गण्डकी प्रदेशसभा बैठक

    गण्डकी, असोज २७ –
    ‘जेनजी’ आन्दोलनका क्रममा गण्डकी प्रदेशसभा भवन क्षतिग्रस्त भएपछि प्रदेशसभाको कामकारबाही झण्डै डेढ महिनादेखि प्रभावित भएको छ । पछिल्लोपटक गत भदौ १६ गते प्रदेशसभा बैठक बसेको थियो । त्यसयता दुईपटकसम्म बैठक डाकिएकामा अन्तिम समयमा आएर स्थगित गरिएको थियो । बैठक कहिले बस्छ भन्ने अझै टुङ्गो छैन ।

    भदौ २५ गतेलाई बोलाइएको बैठक त्यसको अघिल्लो दिन भदौ २४ मा ‘जेनजी’ प्रदर्शनकारीले प्रदेशसभा भवनमा तोडफोड र आगजनी गरेपछि बैठक बस्न सकेको थिएन । ‘जेनजी’ आन्दोलनपछि उत्पन्न विषम परिस्थितिका कारण अनश्चितकालसम्मका लागि स्थगित गरिएको बैठक गत बुधबार कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको सभाकक्षमा बस्ने तय भएको थियो ।

    उक्त दिन पनि प्रदेशसभा बैठक सञ्चालन हुन सकेन । अन्तिम समयमा आएर विशेष कारण देखाउँदै प्रदेशसभा सचिवालयले बैठक स्थगित भएको सूचना निकाल्यो । अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरिएको सचिवालयले जनाएको छ । सभामुख कृष्णप्रसाद धितालले प्राविधिक तयारी नपुगेका कारण बैठक स्थगित भएको बताउनुभयो ।

    “नयाँ ठाउँमा बैठक बस्नुपर्ने भएकाले व्यवस्थापकीय र प्राविधिक तयारी पनि सोही अनुसार गर्नुपर्ने अवस्था छ”, उहाँले भन्नुभयो, “अब तिहारपछि नै बैठक बस्छ, त्यतिञ्जेलसम्म तयारी पनि पुग्छ ।” गत बुधबार बोलाइएको बैठकमा गाँजा खेती र खानी तथा खनिजसम्बन्धी विधेयकमा दफाबार छलफल गरी र पारित गर्ने सम्भावित कार्यसूचि तयारी थियो । प्रदेशसभा बैठक प्रभावित हुँदा कानुन निर्माणमा ढिलाइ हुने देखिएको छ ।

    पुनः प्रयोगमा ल्याउन नमिल्ने गरी प्रदेशसभा भवनलगायत संरचनामा क्षति पुगेकाले प्रदेशसभा बैठक सञ्चालनका लागि कृषि मन्त्रालयको भवनमा वैकल्पिक व्यवस्था गरिएको हो । हालै मात्र प्रदेशसभाको नयाँ भवन निर्माण सुरु गरिएकाले उक्त भवन नबनेसम्म अस्थायी संरचनाबाट प्रदेशसभाका कामकारबाही सञ्चालन हुने प्रदेशसभा सचिवालयले जनाएको छ ।

    ‘जेनजी’ प्रदर्शनकारीले प्रदेशसभा भवनसहित मातहतका भवन, सवारीसाधनलगायतमा तोडफोड र आगजनी गरेका थिए । प्रदेशसभा भवन काठ र ढुङ्गाबाट बनेको पुरानो शैलीको संरचना भएकाले आगलागीले पूर्ण रूपमा क्षति पु¥याएको थियो । प्रदेशसभा सचिवालय रहेको भवन, विषयगत समिति, संसदीय दलका कार्यालय आदिमा पनि आगजनी गरिएको थियो । रासस

  • पुनर्जागरण समयको सदुपयोग

    पुनर्जागरण समयको सदुपयोग

    काठमाडौँ, असोज २७ –
    सामाजिक परिवर्तन कहिल्यै आकस्मिक हुँदैन । ती युगौंसम्म थुप्रिएका असन्तोषका गर्भबाट फुट्छन्, चेतना अनुसार अभिव्यक्त हुन्छन् र अन्ततः संस्थागत रुपान्तरणतर्फ डोरिन्छन् । नेपाली समाजले भोगेको पछिल्लो जेन जी आन्दोलन यस्तै एउटा ऐतिहासिक मोड हो, जसले केबल सरकार वा दलहरूको कार्यशैली माथि प्रश्न उठाएको मात्र छैन, सिङ्गो शासन प्रणाली र राजनीतिक संस्कारको पुनर्विचारको माग गरेको छ ।

    नेपालको राजनीतिक इतिहासमा फेरि युवाहरू स्वतःस्फूर्त रूपमा सडकमा उत्रिए । यो आन्दोलन न कुनै दलको निर्देशनमा भयो, न कुनै नेताको आह्वानमा । तर यसले देशको राजनीतिक, प्रशासनिक, आर्थिक र सामाजिक संरचनामै गहिरो धक्का दियो । यसले प्रणालीगत सुधारको लागि मार्गप्रशस्त गरेको छ । जेन जी आन्दोलनको जरा गहिरो छ । नेपाली जनतासँग संवैधानिक संरचनामाथि असन्तोष थियो, जसले ‘लोकतन्त्र’ भनिए पनि जनताको अपेक्षा, सम्मान र सहभागितालाई निरन्तर उपेक्षा गर्दै आएको थियो । त्यहीबेला अभिव्यक्ति स्वतन्त्रतामा प्रतिबन्ध लाग्यो । प्रशासनिक भ्रष्टाचार र नातावाद मौलाएकै थियो । सत्ताधारीको अहंकारपूर्ण व्यवहार चरम चुलीमा पुगेको थियो । संसदीय अनुत्तरदायित्व व्यवहारबाट जनतले दिक्क मानेका थिए । न्यायालय पहुँचवाला र धनवालाको थियो । यी सबै गतिविधिले समाजमा एक गहिरो असन्तोष बढाएको थियो, जुन जेन जी आन्दोलनको रूपमा विस्फोट भयो ।

    यस आन्दोलनमा नाम जेनजीको भए पनि अरु उमेर समूहको पनि सहानुभूति र सहभागिता रहेको थियो । त्यसबेला भएको घुसपैठले नेपालले ठूलै मूल्य चुकाएको छ । चौहत्तर जना होनहार युवाको ज्यान गयो, सयौँ घाइते भए । संसद् भवन, सिंहदरबार, सर्वोच्च अदालत, प्रदेश मन्त्रालयहरु, करिब तीन सय स्थानीय तहका कार्यालय, प्रमुख दलका कार्यालय, प्रमुख दलका शीर्ष नेताहरुको निवास, चार सय ८६ भन्दा बढी प्रहरी इकाइका साथै होटल तथा व्यापारिक केन्द्रहरुमा आक्रमण र आगजनी भयो । यसबाट करिब एक खर्बभन्दा बढी आर्थिक क्षति भएको अनुमान गरिएको छ । १० हजारभन्दा बढी श्रमिक प्रभावित भएका छन् । महत्वपूर्ण अभिलेख र प्रशासनिक कागजात नष्ट भएका छन् । यसबाट गर्दा विश्व बैंकले देशको आर्थिक वृद्धि दर ५।२ प्रतिशतबाट २।१ प्रतिशतमा घट्ने अनुमान गरेको छ ।

    जेनजी आन्दोलनले राजनीतिक जवाफदेहिता र संस्थागत पुनर्संरचनाको आवश्यकता उजागर गरेको छ । जुन मूल्यमा चेतनाको पुनर्जन्म हुन्छ, त्यो समाजका लागि दीर्घकालीन लाभ हुन्छ । यस्ता आन्दोलनहरू इतिहासका पानामा प्रसस्त भेटिन्छन् । बेलायतको गौरवमय क्रान्ति, फ्रेन्च क्रान्ति, अरब वसन्तदेखि ट्युनिसियामा देखिएको विद्रोहसम्मको अनुभवले ती सबै विकृत संस्थाविरुद्ध जनविद्रोह भएको थियो । ट्युनिसिया, श्रीलङ्का, बङ्गलादेश जस्ता मुलुकमा यस्ता विद्रोहपछि नयाँ चुनाव र पुनःसंरचनाका काम भएका छन् । नेपालमा पनि यो आदोलनले केही गहिरा सामाजिक र राजनीतिक सङ्केतहरू दिएको छ । राजनीतिमा युवाको चासो बढेको छ । सत्ताको अकर्मण्यताको प्रतिवाद जेनजी पुस्ताले गरेको छ । नेताहरूको वास्तविक अनुहार जनतामाझ स्पस्ट भएको छ । कार्यकारी प्रमुख चयनको बहस जीवन्त बनेको छ । नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको विषयमा सार्वजनिक विमर्श हुन थालेको छ । यी सबै सङ्केतहरूले नेपाल गम्भीर मोडमा उभिएको छ ।

    जेनजी आन्दोलन संसद् विघटन गर्ने, अन्तरिम सरकार गठन गर्ने र फागुन २१ गते निर्वाचन गर्ने भनेर भएको होइन । यहाँ त संरचनागत, प्रक्रियागत र नैतिक पुनर्निर्माणको आधार निर्माण गर्न भएको हो । संविधान संशोधन र त्यसकै आधारमा चुनाव भएको भए एकोहोरो पर्दथ्यो । संविधान संशोधन नगरी चुनावमा जानु भनेको अर्को अस्थिरताको स्वागत गरेजसो पनि हुनेवाला छ । यसैले शासकीय स्वरुप र निर्वाचन प्रणालीमा सुधार गर्नुपर्छ । यो अहिलेको बहसको मूल विषय बन्नुपर्दछ ।

    प्रशासनिक पुनर्संरचना गर्नै पर्नेछ । यो बीचमा अस्थिरता ल्याउने मुख्य काम सिंहदरवारबाट प्रशासनिक सङ्घीयताको काम नहुनाले भएको थियो । अहिले सिंहदरवारभित्र नेताहरुले भोगेको अवस्था प्रशासनिक नेतृत्वले भोग्न सक्ने अनुमान कर्मचारीहरुले नै गर्न थालेको देखिन्छ । यसैले आन्दोलनका क्रममा भएको निरङ्कुश बर्बरताको न्यायिक छानबिन र कारवाही हुनैपर्छ । अभिलेखीय पुनस्र्थापना गर्नैपर्छ । वास्तविक समावेशिता र युवा पुस्तासँग संवादको थालनी छिटो गर्नुपर्छ । सूचना प्रवाहमा पारदर्शिता अपनाउनु पर्छ । दलहरूमा आन्तरिक शुद्धीकरण हुनैपर्छ । यहाँ मुख्य सवाल प्रतिनिधित्वको होइन, नेतृत्वमा युवा पुग्ने बाटो खोल्नुपर्छ ।

    आन्दोलनको जगमा बनेको अन्तरिम सरकारले निर्वाचनको घोषणा गरिसकेको छ । अधिकांश दलहरू चुनावमा जान तयार छन् । राजनीतिलाई सही दिशामा लैजान पनि सबै राजनीतिक दलहरु निर्वाचनमा जानैपर्छ । विगतमा आफ्ना शासकीय कमजोरीहरुलाई समीक्षा गर्दै जनतामा जानुको विकल्प छैन । नेतृत्व पुस्तान्तरणको कुरा त्यतिकै उठेको होइन । औसत आयुभन्दा माथिका सक्रिय नेतृत्वको सीमा तोकिनुपर्छ । समाजलाई गतिशील बनाउने हो भने युवालाई केबल कार्यकर्ता होइन, निर्णयकर्ता नै बनाउनुपर्छ ।

    संरचनागत लोकतन्त्रको कार्यान्वयन हुनपर्छ । दलभित्र सबै पदमा स्वच्छ प्रतिस्पर्धाबाट निर्वाचित हुने व्यवस्था हुनपर्छ । आन्तरिक लोकतन्त्र बलियो भयो भने मात्र राजनैतिक संस्कार बस्न सक्छ । आलोचना स्वीकार गर्न सक्नुपर्छ । हामीले देख्ने नेतृत्व नीतिगत स्पष्टता, २१ औँ शताब्दीका मुद्दा पहिचान गर्ने र त्यसको सम्बोधन गर्नसक्ने हुनुपर्छ । डिजिटल प्रविधि, पर्यावरण, मातृवर्ग र श्रमजीवी नागरिकको विषयमा स्पस्ट हुनपर्छ । सबैखाले भ्रष्टाचारविरुद्ध निरन्तर लागिरहने संस्कृति बनाउन सक्नुपर्छ । युवाहरुको मागसँग संवाद गरिरहनु पर्छ । आन्तरिक लेखापरीक्षण र पारदर्शिता हुनैपर्छ । आर्थिक पारदर्शिता, स्वतन्त्र मूल्याङ्कन गर्ने पद्दति बसाल्नुपर्छ । राजनैतिक पार्टीहरुले आत्मसमीक्षा गरी आफ्नो तर्फबाट भएको गल्ती कमजोरीलाई स्वीकार गर्नुपर्छ ।

    अहिले निर्वाचन कार्यतालिका सार्वजनिक भइसकेको छ । यही अवस्थामा हेर्दा संविधान संशोधनका मुख्य विषयवस्तु लिएर चुनावमा जानुपर्ने देखिन्छ । राष्ट्रियसभा साँच्चीकैको विज्ञ सभा बनाउने, प्रतिनिधिसभाको सङ्ख्या जनसङ्ख्याको भन्दा पनि भूगोलमा आधारित हुने गरी संशोधन गर्नुपर्ने देखिन्छ । राष्ट्रियसभा, प्रतिनिधिसभा र प्रदेशसभा सदस्यले कानुन बनाउनेमा क्रियाशील हुनु पर्दछ । प्रत्यक्ष जननिर्वाचित कार्यकारी प्रमुख (राष्ट्रपति वा प्रधानमन्त्री) र मुख्यमन्त्री भयो भने राजनैतिक अस्थिरताको अन्त्य हुनसक्छ । उनीहरुको नेतृत्वमा विषय विज्ञहरु सम्मिलित सरकार सञ्चालन गर्दा बढी प्रभावकारी देखिनेछ ।

    यतिबेला केहीले प्रदेश र सङ्घीयता खारेज हुनुपर्दछ भनिरहेका छन् । सङ्घीयताको मुटु प्रदेश हो । सङ्घीयता सबलीकरणसम्बन्धी एक अध्ययनले वितेका ३० वर्षमा नभएका कामहरु सङ्घीयता आएपछिको सात वर्षमा भएको देखिएको छ । बरु प्रदेशसभा सदस्यको सङ्ख्या घटाउने वा सोही प्रदेशका स्थानीय तहका प्रमुख र उपप्रमुखलाई पार्षद बनाएर हिउँदे अधिवेशन (नीति तथा कार्यक्रम र बजेट अधिवेशन) र वर्षे अधिवेशन (विधायन अधिवेशन) गर्ने पद्धति बसाल्न सकिन्छ । स्थानीय तहको सङ्ख्या घटाएर तीन सयसम्म झार्दा हुन्छ । यसमा वडाको सङ्ख्या भने बढाउनुपर्ने हुन्छ ।

    जेनजी आन्दोलन दुई दिन चल्यो । यो अग्रगामी कदम हो । अन्तरिम सरकारले यसमा अलमल देखायो भने फेरी खराब अवस्था आउन सक्छ । विश्वभरका घटनाक्रमले यो समयमा युवाहरुले हौसिने होइन, धैर्यताका साथ पार लगाउने विषयमा सोच्नुपर्छ । राजनीतिक दलहरूले विगतको गल्ती स्वीकार गरेनन्, युवालाई नेतृत्वमा आउने आधार बनाएनन्, पारदर्शिता र जवाफदेहिताको नयाँ युग सुरु गर्न सकेनन् भने समयले किनारा लगाउनेछ । राजनीति केबल शासन गर्ने साधन मात्र होइन, विश्वास निर्माण गर्ने, प्रणाली सुधार गर्ने र नागरिक चेतनालाई सम्मान गर्ने माध्यम हो । यसैले अबको निर्वाचन सरकार बनाउने प्रक्रिया मात्र होइन, राज्य निर्माणको दिशासमेत हो । यो समयलाई प्रतिगामी सोच मौलाउने र यथास्थितिमा अल्मलिन दिनुहुँदैन ।

    यसैले बौद्धिक वर्ग, नागरिक समाज, मिडिया र युवाहरूको सक्रिय भूमिका आवश्यक छ । यो समय परिवर्तन र रूपान्तरणको हो । नेपालको इतिहास फेरि एकपटक सम्भावनाको मोडमा उभिएको छ । यो मोड पार गर्नसक्ने क्षमताको विकास राजनीतिक दल, नागरिक समाज र प्रशासनिक संरचनाहरुको सामूहिक आत्मसमीक्षा र प्रतिबद्धतामा निर्भर गर्दछ । यसैले आगामी निर्वाचनमा देशलाई समाजवादमा लाने राम्रा उम्मेदारको छनोटमा जोड दिनुपर्छ ।

    पैसाको भरमा चुनाव लड्ने र जितेपछि लुट्ने सपना देख्ने प्रवृत्तिको अन्त्य गराउने वातावरण बनाउनुपर्छ । यसका लागि निर्वाचन आयोगले चुनावी सभाहरुको आयोजना गरी देश र जनताको पक्षमा काम गर्ने उम्मेदवारलाई एउटै मञ्चमा प्रश्नोत्तर गरेर जनताले चिन्न पाउने अवस्था निर्माण गर्नु उपयुक्त हुन्छ । स्मरण रहोस्, यो लोकतान्त्रिक पुनर्जागरणको समय हो । यसको सही व्यवस्थापन अन्तरिम सरकारबाट हुनुपर्छ । रासस

  • जलेका कागजातको पुनः प्राप्तिका लागि अनलाइन प्रणालीमार्फत सेवा लिन सकिने

    जलेका कागजातको पुनः प्राप्तिका लागि अनलाइन प्रणालीमार्फत सेवा लिन सकिने

    काठमाडौँ, असोज २७-
    गत भदौ २३ र २४ गते ‘जेनजी’ युवाहरुको आन्दोलनका क्रममा ट्राफिक प्रहरी कार्यालयमा जलेका सवारीसाधनका कागजातको पुनः प्राप्तिका लागि निवेदन दिन सेवाग्राहीले प्रहरी कार्यालय धाउनु नपर्ने भएको छ ।

    जलेका कागजातको पुनः प्राप्तिका लागि अनलाइन प्रणालीमार्फत सेवा लिन सकिने जनाइएको छ । आगजनीका कारण ट्राफिक कार्यालयमा रहेका सवारीसाधनका कागजात, सवारीचालक अनुमतिपत्र, दर्ता किताब, जरिवाना विवरणलगायतका महत्वपूर्ण सरकारी कागजात जलेर नष्ट भएका थिए ।

    काठमाडौँ उपत्यका ट्राफिक कार्यालयको वेबसाइटमा ‘कागजात हराएमा’मा क्लिक गरी फारम भर्न सकिने उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो ।

    निवेदन सबमिट भएपछि आवेदन नम्बर आउँछ । पछि चेक एप्लिकेसनमा उक्त नम्बर राख्दा क्यूआर कोडसहितको सिफारिस पत्र सेवाग्राहीले प्राप्त गर्छन् । उहाँले भन्नुभयो, “क्युआर कोडको सिफारिस पत्रसहित सम्बन्धित यातायात कार्यालयमा सेवाग्राहीले जानुपर्ने हुन्छ । यसबाट सेवाग्राहीको समयको बचत हुनुको साथै ट्राफिक प्रहरी कार्यालयमा कामको चाप कम हुन जान्छ ।”

    साथै कुनै व्यक्तिको कागजात जलेको छ र ट्राफिक प्रहरीले पहिले नै काटेको २४ घण्टे पुर्जी वा सिफारिस पत्रका आधारमा हाललाई सवारीसाधन सञ्चालन गर्न सकिने प्रवक्ता सुवेदीले बताउनुभयो ।

    उहाँले भन्नुभयो, “सवारीचालक अनुमतिपत्र नभए पनि, यदि ट्राफिक प्रहरीले पहिले काटेको २४ घण्टे पुर्जी वा कुनै प्रमाण रहेको छ भने सोहीलाई आधार मानेर सवारी चलाउन दिइनेछ ।” रासस

  • बैंककबाट ११ किलो गाँजा लिएर आएका ३ भारतीय विमानस्थलमा समातिए

    बैंककबाट ११ किलो गाँजा लिएर आएका ३ भारतीय विमानस्थलमा समातिए

    २७ असोज, काठमाडौं ।
    थाइल्यान्डको बैंककबाट ११ किलोभन्दा बढी गाँजा लिएर आएका तीन भारतीय नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका छन् ।

    पक्राउ पर्नेहरूमा ५० वर्षीय सिलम इब्राहिम अन्सारी, २४ वर्षीय रेहान मोद आजाद शेख र ३२ वर्षीया महिला जैनब बशिर छन् । उनीहरूबाट ११ किलो २७५ ग्राम लागुऔषध गाँजा बरामद भएको छ ।

    एयर एसियाको उडानमार्फत बैंककबाट काठमाडौं आएका उनीहरूलाई विमानस्थल सुरक्षा कार्यालय र भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा पक्राउ गरेको हो ।

    उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर पठाइएको छ ।

  • रौतहटमा बाढीको पानीमा डुबेर ३ बालिकाको मृत्यु

    रौतहटमा बाढीको पानीमा डुबेर ३ बालिकाको मृत्यु

    रौतहट , असोज २७ –
    रौतहटको गौर नगरपालिकामा सात जनाको समूहमा गौरतर्फ घाँस लिन आउँदै गर्दा बाढीको पानीमा डुबेका ३ बालिकाको मृत्यु भएको छ ।

    गौर- १ मा रहेको सीमा क्षेत्र नजिक बाढीको पानीमा डुबेर राजदेवी नगरपालिका-८ कि १३ वर्षिया आस्था कुमारी बैठा, १५ वर्षिया रागनी यादव र मौसमी बैठाको मृत्यु भएको छ । बाढीको पानीमा डुबेका मध्ये ४ जनाको स्थानीयले उद्धार गरेका थिए भने तीन जनाको शव निकालिएको हो ।

    नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजी गर्ने क्रममा ३ जना बालिकाको शव भेटिएको हो ।

  • सुनको मूल्यमा नयाँ रेकर्ड कायम, कतिमा भइरहेको छ कारोबार ?

    सुनको मूल्यमा नयाँ रेकर्ड कायम, कतिमा भइरहेको छ कारोबार ?

    काठमाडौं , असोज २७ –
    सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेर कीर्तिमानी उचाइमा पुगेको छ ।

    आजको कारोबारमा सुनको मूल्य २ हजार ४ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ४० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य हालसम्मकै उच्च हो । हिजो (आइतबार) सुनको कारोबार प्रतितोला २ लाख ३८ हजार रुपैयाँमा भएको थियो ।

    त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा ९५ रुपैयाँले बढेर प्रतितोला ३ हजार २२० रुपैयाँमा कारोबार भइरहेको छ ।

  • नर्सिङको तलब सरकारी सरह दिन निर्देशन

    नर्सिङको तलब सरकारी सरह दिन निर्देशन

    काठमाडौँ, असोज २७-
    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नर्सिङ तथा स्वास्थ्यकर्मीको न्यूनतम पारिश्रमिक र सेवा सरकारी सरह नघट्ने गरी लागू गर्न आग्रह गरेको छ ।

    मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले सबै सरकारी अस्पताल, प्रतिष्ठान, मेडिकल कलेज र सामुदायिक तथा निजी अस्पताललाई नर्सिङ एव स्वास्थ्यकर्मीको न्यूनतम पारिश्रमिक र सेवा सुविधा सरकारी सरह नघट्ने गरी लागू गर्न पत्रचार गरिएको जानकारी दिनुभयो । मन्त्रालयले यसअघि पनि निर्देशन दिइसकेकाले कतिपय ठाउँमा कार्यान्वयन नभएको गुनासो आएकाले फेरि पनि निर्देशन दिइएको उहाँले बताउनुभयो ।

    पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा कार्यरत नर्सिङहरुले सरकारले तोकेको न्यूनतम पारिश्रमिक पाउनुपर्ने माग राख्दै अहिले आन्दोलन गरिरहेका छन् । उहाँका अनुसार तोकिएको समयभन्दा बढी कामका लागि अतिरिक्त भत्ता व्यवस्था गर्न पनि निर्देशन दिइएको छ ।

    मन्त्रालयले स्वास्थ्य तथा शैक्षिक संस्थाले करार गरी राख्नुपर्ने, ज्यालादारी कार्य गराउन नपाइने र सक्कली शैक्षिक प्रमाणपत्र कार्यालयमा राख्न नपाइनेसमेत निर्देशन दिएको उहाँले बताउनुभयो । यस्तै मन्त्रालयले नर्सिङलगायत अन्य स्वास्थ्यकर्मीको पारिश्रमिक बैङ्किङ प्रणालीबाट मात्र उपलब्ध गराउनसमेत आग्रह गरेको छ । रासस

  • हमासले रिहा गर्ने बन्धकहरूको सूची सार्वजनिक गर्‍यो, विपिन जोशीको नाम छैन

    हमासले रिहा गर्ने बन्धकहरूको सूची सार्वजनिक गर्‍यो, विपिन जोशीको नाम छैन

    २७ असोज, काठमाडौं ।
    हमासले आज रिहा गर्न लागेका २० जना बन्धकहरुको नाम सार्वजनिक गरेको छ । प्यालेस्टिनी समाचार संस्था ‘शेहाब’ का अनुसार, हमासले रिहा गर्न लागिएको २० जना बन्धकहरूको सूचीमा नेपालमा विपिन जोशीको नाम छैन ।

    बीबीसीका अनुसार सर्वजनिक गरिएका सूचीमा रहेका नाम यसप्रकार छन् :

    बार कुपरस्टाइन,एव्यातार डेविड,योसेफ-चाइम ओहाना,सेगेव काल्फनअविनातान ओर एल्काना बोहबोट ,म्याक्सिम हेरकिन,निमरोड कोहेन,माटान झाङाउकर,डेभिड कुनीओ,एइतान होर्न,माटान एन्ग्रेस्ट,एइतान मोर,गाली बर्मन,जिभ बर्मन,ओम्री मिरान,अलोन ओहेल,गाइ गिल्बोआ-डलाल,रोम ब्रास्लाब्स्की एरिएल कोनियो ।

  • बीउ बिक्रीबाट किसानको आम्दानी वृद्धि

    बीउ बिक्रीबाट किसानको आम्दानी वृद्धि

    सुदूरपश्चिम, असोज २७-
    कैलालीको गोदावरी नगरपालिका—८ का किसान बुद्धिराम चौधरी गुणस्तरीय बीउ बिक्रीबाट आम्दानी बढ्न थालेपछि बीउ खेतीमै रमाइरहनु भएको छ । गुणस्तरीय बीउ तयार पार्न बीउ कम्पनीको प्राविधिक सहयोगमा उहाँको खेतमा यतिबेला गरिएको हर्दिनाथ —६ र सर्जू—५२ जातको धानखेती सप्रेको छ । उहाँ गहुँको मूलबीउ पनि उत्पादन गर्दै आउनुभएको छ ।

    वार्षिक प्रतिकठ्ठा रु एक हजार पाँचसयमा अढाई बिघा जग्गा भाडामा लिई मूल बीउका लागि खेती गर्दै आउनुभएका उहाँले भन्नुभयो “गुणस्तरीय बीउ उत्पादनमा मेहनत, सिँचाइ, मलखाद, खनजोत लगायतको लागत खर्च कटाएर वार्षिक रु तीन देखि चार लाख बचत भइरहँदा सन्तुष्ट छु,, अझैँ थप जग्गा भाडामा लिएर बिजवृद्धि गर्ने लक्ष लिएको छु ।”

    जिल्लाको पूर्वी क्षेत्र जानकी गाउँपालिकाको मुनुवा गाउँका विजयकुमार कठरिया पछिल्ला वर्षमा कैलाली जिल्ला धान र गहुँको गुणस्तरीय बीउ उत्पादनमा आत्मनिर्भर बनेको बताउनुहुन्छ । उहाँले आफ्नो तीन बिघा जग्गामा यतिबेला सर्जु—५२ र चैते—५२ जातको धानबालीको बिजवृद्धि गरिरहनुभएको छ ।

    बिजवृद्धि सहकारी संस्था, मुनुवाका अध्यक्षसमेत रहनुभएका कठरियाले भन्नुभयो “बिजवृद्धि कार्यक्रममा समेटिएका किसानले उत्पादन गरेको विभिन्न बालीको बीउ सहकारी संस्थाले खरिद गरिदिँदा किसानले उचित मूल्य पाएर उनीहरुको आम्दानी वृद्धिमा सहयोग मिलेको छ, बिजवृद्धिमा लागेका किसानको सहुलियत मूल्यमा पाकेको बालीको थ्रेसिङ गर्ने, खेतको खनजोत गर्ने जस्ता सहयोग पनि संस्थाले उपलब्ध गराइरहेको छ ।”

    सहकारी संस्था र बीउबिजन कम्पनीले बिजवृद्धिमा लागेका किसानको बीउ सरकारले तोकेको मूल्य भन्दा बढी मूल्यमा खरिद गरी बजारमा बिक्रीका लागि पठाउने गर्छन् । “देशमा कृषि क्रान्ति गर्नुपर्छ भनेर किसानलाई उठाउने अभियानमा हामी लागेका र्छौ” कठरियाले भन्नुभयो “जिल्लामा उत्पादन भएको गहुँ, धान, दलहन र तेलहनको गुणस्तरीय बीउ सर्लाही, सप्तरी, सुर्खेत, पाल्पा जिल्लाबाट माग आउँदा बिजवृद्धिमा लागेकाहरुमा हौसला मिलेको छ ।”

    किसानले बिजवृद्धिबाहेक आफ्नो घरायसी उपभोगका लागि पनि खाद्यानको खेती गर्दै आएका छन् । बिजविद्धि सहकारी संस्था मुनुवामा समेटिएका किसानले एक सय हेक्टर जग्गामा बिजवृद्धि गरिरहेका छन् ।बिजवृद्धिमा लाग्दा कृषि उपजको उचित मूल्य पाइरहेको भए पनि समयमै मलखादको अभावको समस्या झेल्नु परेको किसानले बताएका छन् ।

    कैलाली जिल्लामा वर्षभरिमा झण्डै ३६ हजार क्विन्टल धान र ४५ हजार क्विन्टल गहुँको गुणस्तरीय बीउ आवश्यकता पर्ने गरेकोमा उक्त परिमाण भन्दा बढी बीउ उत्पादन भइरहेको छ । गहुँको उन्नत बीउ उत्पादनको हकमा कैलाली जिल्ला देशमै पहिलो स्थानमा छ” कृषि निर्देशनालय दीपायलका निर्देशक खगेन्द्रप्रसाद शर्माले भन्नुुभयो “गहुँ र धानको गुणस्तरीय बीउ उत्पादनमा जिल्ला आत्मनिर्भर भइसकेको छ ।”

    जिल्लामा झण्डै ७२ हजार ५०० हेक्टर जग्गामा बर्खे धानखेती र ३५ हजार हेक्टरमा गहुँखेती हुने गरेको छ । कतिपय क्षेत्रमा बर्खे धान र चैते धान गरेर वर्षमा दुई पटक धानखेती हुने गरेको छ । प्रति हेक्टरमा धानखेती गर्न ५० किलो र गहुँखेती गर्न १२० किलो गुणस्तरीय बीउ आवश्यक पर्ने कृषि प्राविधिको भनाइ छ ।

    सरकारी स्वामित्वको बीउबिजन कम्पनीले उन्नत बीउको उत्पादन र बिक्री गर्दै आएकोमा पछिल्ला वर्षमा सहकारी संस्था, निजी बीउबिजन कम्पनी, र किसान समूहलेसमेत गुणस्तरीय बीउ उत्पादन गर्दै आएका छन् ।

    कतिपय बीउ कम्पनीले सरकारबाट अनुमति लिएर धान र मकैमा हाइब्रिड उत्पादनसमेत गर्न थालेका छन् । खाद्यान्ह बालीको उत्पादन र उत्पादकत्व बढाउन नयाँ जातको बीउकोे विकास भएको मात्र नभइ खेती गर्न नयाँ–नयाँ प्रविधिसमेत भित्रिन लागेकोले खेती गर्दा लागत खर्चपनि घटेको बताइन्छ । घरमै राखिएको स्थानीय जातको बीउको प्रयोग गर्दाको तुलनामा उन्नत बीउको प्रयोगले धान र गहुँबालीको उत्पादकत्व पनि वृद्धि भइरहेको छ ।

    पञ्चशक्ति सिड कम्पनी धनगढीका प्रमुख विष्णुराज बुर्लाकोटी जिल्लामा उत्पादन भएको बढी परिमाणमा गहुँ र मकैको बीउ जिल्ला बाहिर जाने गरेको बताउनुहुन्छ ।

    उन्नत बीउको प्रयोग बढेसँगै रैथाने जातको कालो धान, आइरेट, गुर्रा, राइमनुवा, सौंटेरी जस्ता धानको बीउ भने हराउन थालेको किसानको भनाइ छ । कृषि प्राविधिक स्थानीय जातको बीउ प्रयोग गर्दा हुने उत्पादकत्वको तुलनामा उन्नत जातको बीउ प्रयोगले २० देखि २५ प्रतिशतले उत्पादकत्व वृद्धि हुने गरेको बताउँछन् ।

    बालीको उत्पादकत्व वृद्धि भइरहेको भए पनि नेपालमा बर्सनि ठूलो परिमाणमा खाद्यान्ह विदेशबाट आयात भइरहेको तथ्याङ्क छ । रासस

  • पूर्वएआईजी सुवेदीविरुद्ध प्रचण्डको सचिवालयले दियो साइबर व्युरोमा उजुरी

    पूर्वएआईजी सुवेदीविरुद्ध प्रचण्डको सचिवालयले दियो साइबर व्युरोमा उजुरी

    काठमाडौं, असोज २७ ।
    नेकपा माओवादी केन्द्रले नेपाल प्रहरीका पूर्वएआईजी देवेन्द्र सुवेदीविरुद्ध साइबर अपराधको उजुरी दिएको छ ।

    एक युट्युब च्यानलमा कुराकानीको क्रमाम सुवेदीले जेनजी आन्दोलनको दुई दिनअघि प्रचण्डको निवासबाट दुईवटा ट्रकमा दुई करोड रुपैयाँ निकालिएको अभिव्यक्ति दिएका थिए ।

    विहीबार सो अभिव्यक्तिको खण्डन गरेको माओवादीले साइबर व्युरोमा उजुरीसमेत दिएको हो ।

    माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्यले आइतबार साइबर व्युरोमा उजुरी दर्ता गरी अनुसन्धान गर्न भनिएको जानकारी दिए ।

    ‘झुठ्ठा सामग्री प्रवाह गरी भ्रम सिर्जना गराउनुका साथै चरित्रहत्या समेत गरिएको छ । सामाजिक सञ्जालबाट पार्टी नेतृत्वविरुद्ध चरित्रहत्या गरिदा गम्भीर साइबर अपराध भएकाले निज देवेन्द्र सुवेदी विरुद्ध नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी गरिएको छ,’ प्रचण्डको सचिवालयले भनेको छ, ‘संयोजकको सचिवालयका तर्फबाट हिजो ब्यूरोमा गरिएको उजुरीमा डिजिटल माध्यममार्फत् गरिएका यस्ता गलत प्रचारप्रसार साइबर कानुनविपरीत भएकाले त्यसबारे आवश्यक अनुसन्धान गरी कानुनी कारबाहीको माग गरिएको छ ।’