काठमाडौं असोज ३०
ओमनमा जारी आईसीसी टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर-सिक्समा नेपालले घरेलु टोलीलाई ३८ रनले पराजित गरेको छ ।
नेपालले दिएको १५२ रनको लक्ष्य पछ्याएको ओमनले २० ओभरमा ९ विकेट गुमाएर ११३ रन मात्र बनाउन सक्यो ।

गण्डकी, २९ असोजः
पोखराको प्रसिद्ध धार्मिक तीर्थस्थल विन्ध्यवासिनी मन्दिरमा आयोजना भएको नवदुर्गा महोत्सवमा रु ४१ लाख ७२ हजार भेटी तथा सहयोग सङ्कलन भएको छ । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको आयोजनामा यही असोज ६ गते (घटस्थापना) देखि १५ गते महानवमीसम्म नवदुर्गा महोत्सव सञ्चालन गरिएको थियो ।
उक्त अवसरमा महोत्सवमा श्रीमद्देवी भागवत ज्ञान महायज्ञसहित विभिन्न धार्मिक कार्यक्रम सञ्चालन गरिएकामा उक्त अवधिभर नियमित पूजाआजा र महायज्ञमा गरी रु ४१ लाख ७२ हजार भेटी तथा आर्थिक सहयोग सङ्कलन भएको समितिका सचिव तीर्थ श्रेष्ठले जानकारी दिनुुभयो । उहाँका अनुसार विजयादशमीको पावन अवसरमा विसं २०६४ देखि विध्यवासिनी नवदुर्गा महोत्सवको आयोजना गर्दै आएको छ ।
महोत्सवका अवसरमा विन्ध्यवासिनी नवदुर्गा शोभायात्रा र श्रीमद्देवी भागवत ज्ञान महायज्ञ गरिँदै आइए पनि यस वर्ष गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका कारण पूर्वतयारीमा बाधा पुग्न गएकाले शोभायात्रा भने स्थगित गरिएको थियो ।
अढाइ शताब्दी अघिदेखि पूजाआजा हुँदै आएको मानिने यस मन्दिरको स्थापना कास्कीका अन्तिम राजा सिद्धिनारायण शाहको पालामा भएको इतिहासमा उल्लेख छ । मन्दिरको संरक्षण विकास र प्रवर्द्धन गर्ने उद्देश्यका साथ विसं २०४३ मा विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको गठन गरिएको थियो ।
समितिको गठनपश्चात् यस धार्मिक क्षेत्रमा भौतिक पूर्वाधारहरूको निर्माण, सौन्दर्यकरण, सामाजिक, धार्मिक तथा आध्यात्मिक जागरणसम्बन्धी कार्यहरू हुँदै आएका छन् । समितिले विन्ध्यवासिनी दर्शन गर्न पोखरा आउने श्रद्धालु भक्तजनहरूबाट प्राप्त भेटी तथा दान दातव्यलाई जनहितको कार्यमा प्रयोग गर्दै आएको छ ।
विभिन्न पर्व तथा उत्सवका पूजन धार्मिक आध्यात्मिक जागरण तथा संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ विभिन्न पर्वहरूका उपलक्ष्यमा मन्दिरमा विशेष पूजनोत्सव आयोजना गर्ने गरिएको छ ।
विशेषतः साउनमा शिव पूजनोत्सव, गणेश चौथीमा गणेश पूजनोत्सव, श्रीपञ्चमीमा सरस्वती पूजनोत्सव, श्रीकृष्ण जन्माष्टमीमा श्रीकृष्ण जन्मोत्सव, रामनवमी, हनुमान् जयन्ती, शिवरात्रिमा विशेष कार्यक्रमहरू हुँदै आएका छन् ।

चितवन, असोज २९ –
नेकपा (एमाले) भरतपुर महानगर कमिटीको विस्तारित बैठक सम्पन्न भएको छ । आज बुधबार एमाले चितवनको जिल्ला पार्टी कार्यालयमा सम्पन्न बैठकले विविध विषयमा छलफल गर्दै केही निर्णयहरु समेत गरेको छ ।
नेकपा एमाले चितवन जसंगठन संयन्त्रको आयोजनामा कार्तिक १ गते हुने सद्भाव र्यालीलाई सफल बनाउन महानगर कमिटीले महत्वपूर्ण भूमिका खेल्ने निर्णय भएको नेकपा (एमाले) भरतपुर महानगर कमिटी अध्यक्ष शंकर थपलियाले जानकारी दिए । त्यसैगरी पार्टीलाई जरैदेखि बलियो बनाउन पार्टीका वडा कमिटीलाई क्रियाशिल बनाउने, क्षति ग्रस्त भवन निर्माणका लागि पार्टी भित्रैबाट आन्तरिक रुपमा आर्थिक सहयोग संकलन गर्ने लगायतका विषयमा निर्णय गरिएको अध्यक्ष थपलियाले बताए ।
शंकर थपलियाको अध्यक्षतामा सम्पन्न बैठकमा एमाले केन्द्रीय सल्लाहकार हरि सापकोटा र एमाले चितवनका अध्यक्ष कमल पाठकले संवोधन गरेका थिए । त्यसैगरी बैठकलाई महानगर कमिटी सचिव अशोक ज्ञवालीले सञ्चालन गरेका थिए भने उपाध्यक्ष दिलिप न्यौपानेले स्वागत मन्तव्य राखेका थिए । बैठकमा महानगर कमिटीका नेता सहित जिल्ला कमिटी पदाधिकारी एवम् केही सदस्यहरुको समेत उपस्थिति रहेको थियो ।

