Blog

  • जेनजी र हाम्रा माग एउटै हुन्,माओवादी अझै पनि मूलधारको पार्टी बन्छः प्रचण्ड

    जेनजी र हाम्रा माग एउटै हुन्,माओवादी अझै पनि मूलधारको पार्टी बन्छः प्रचण्ड

    चितवन,असोज ३०-
    नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी फेरि जनताको विश्वास जितेर मूलधारको पार्टी बन्ने दाबी गरेका छन् । शुक्रबार बिहान चितवनको भरतपुरस्थित पार्टी कार्यालय प्राङ्गणमा आयोजित भेटघाट कार्यक्रममा प्रचण्डले हालको ‘जेनेरेसन जेड (जेनजी) आन्दोलन’ का माग माओवादीका पुराना आदर्शसँग मेल खाने बताएका हुन् ।

    युवाले उठाएका मागहरू हाम्रो आन्दोलनसँग गहिरो रूपमा जोडिएका छन्,उनले भने, भ्रष्टाचारविरोधी अभियान हाम्रो शुरूदेखिको मुद्दा हो । अहिले जेनजीले त्यसैको स्वर बुलन्द पारेको छ । उनले असोज २३ गते राजधानीमा भएको आन्दोलनमा भएको गम्भीर सुरक्षा लापरवाहीको जिम्मेवारी तत्कालीन प्रधानमन्त्री र मन्त्रीहरूले लिनुपर्ने बताए ।

    शान्तिपूर्ण आन्दोलनमा कलेज ड्रेस लगाएका युवाहरूको टाउको र छातीमा गोली हानिनु अन्तर्राष्ट्रिय स्तरमै लाजमर्दो हो,प्रचण्डले भने । २४ गते सिंहदरबारमा विपक्षी दलहरूको बैठकपछि सुरक्षा जोखिमका कारण आफूहरू सेनाको समन्वयमा त्यहीँ बस्नुपरेको स्पष्ट पार्दै उनले भने, हामीलाई कसैले लगेका होइन, परिस्थितिको मूल्याङ्कन गरेर सुरक्षा संयन्त्रसँगको सहकार्यमा सुरक्षित स्थानमा गएका हौं । संयोजक प्रचण्डले अहिले देशको राजनीतिक संकटको समाधान निर्वाचनमार्फत मात्र सम्भव हुने बताए । राष्ट्रपति, प्रधानमन्त्रीदेखि अन्तर्राष्ट्रिय समुदायसम्म सबैको निष्कर्ष एउटै छ- अब निर्वाचन नै मार्ग हो,उनले भने, जनताले पनि परिवर्तनको बाटो यहीँबाट रोज्नेछन् ।

    संसद् पुनःस्थापनाको विषय गौण बनिसकेको उनको भनाइ छ । पार्टी एकताको प्रसङ्गमा प्रचण्डले लामो समयदेखि चलिरहेको वाम एकता छलफल अब निष्कर्षमा पुग्न लागेको बताए । पहिलो चरणमा समाजवादी मोर्चाभित्रका दलबीच एकता हुन्छ, घोषणा केही दिनभित्र हुनेछ,उनले भने, हाम्रो दीर्घकालीन लक्ष्य एमालेसम्म पुगेर सबै वाम शक्तिलाई एकताबद्ध बनाउनु हो ।

  • कारको ठक्करबाट गम्भीर घाइते पैदलयात्रीको अस्पतालमा मृत्यु

    कारको ठक्करबाट गम्भीर घाइते पैदलयात्रीको अस्पतालमा मृत्यु

    अशोज ३०,भरतपुर ।
    भरतपुर महानगरपालिका वडा नं–२, देवकोटा चोकनजिकै कारको ठक्करबाट गम्भीर घाइते पैदलयात्रीको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको छ ।

    प्रदेश ३–०१–०२२ च ८१७५ नम्बरको कारको ठक्करबाट गम्भीर घाइते भएका भरतपुर–२ बस्ने ५८ वर्षीय रणबहादुर विकको नयाँ मेडिकल कलेज, मनकामना हस्पिटल हुँदै न्युरो हस्पिटल बाँसबारी काठमाडौँमा उपचार गरिएकामा बुधबार राति २३ः११ बजे मृत्यु भएको हो ।

    कार र कार चालक भरतपुर–५ बस्ने ४० वर्षीय भुवन अधिकारी जिल्ला प्रहरी कार्यालय चितवनको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

  • मधेश प्रदेशका सांसद सरोज सिंह फेरि समातिए, मुद्दा दर्ता गरिँदै

    मधेश प्रदेशका सांसद सरोज सिंह फेरि समातिए, मुद्दा दर्ता गरिँदै

    ३० असोज, काठमाडौं ।
    जनता समाजवादी पार्टी (जसपा) नेपालको मधेश प्रदेश सांसद सरोजकुमार सिंह कुशवाहा पुन: पक्राउ परेका छन् ।

    सांसद विकास कोषको रकम दुरुपयोग गरेको आरोप खेप्दै आएका उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो ।

    उनले सांसद विकास कोषको रकमबाट ३७ प्रतिशतसम्म कमिसन आफ्नो खातामा हालेको आरोप छ ।

    पूर्वगृहराज्यमन्त्री समेत रहेका उनी यसअघि पनि पक्राउ परेर तारेखमा छुटेका थिए । अहिले भने विशेष अदालतमा मुद्दा दर्ता गर्ने प्रयोजनका लागि पक्राउ गरिएको अख्तियार स्रोतले बतायो ।

    महोत्तरी क्षेत्र नम्बर–४ (ख) बाट प्रदेश सभामा निर्वाचित उनको घरमा अख्तियारले १२ जेठमा छापा पनि मारेको थियो । त्यसबेला उनका स्वकीय सचिव विनोदकुमार लाल कायस्थ समेत पक्राउ परेका थिए ।

    घरबाट अनुसन्धान अधिकारीहरुले विभिन्न योजनाका कागजातहरु बरामद गरेका थिए भने मोबाइल समेत नियन्त्रणमा लिएर डिजिटल फरेन्सिक जाँचका लागि पठाइएको थियो ।

    उनी यसअघि २० जेठमा काठमाडौंको अनामनगरबाट पक्राउ परेका थिए ।

  • माओवादी केन्द्रका सचिव गणेश साहले गरे पार्टी त्यागेको घोषणा

    माओवादी केन्द्रका सचिव गणेश साहले गरे पार्टी त्यागेको घोषणा

    असोज ३० ,काठमाडौं ।
    नेकपा माओवादी केन्द्रका सचिव गणेश साहले पार्टी त्यागेको घोषणा गरेका छन् ।

    पूर्वमन्त्री समेत रहेका साहले पार्टी एकताको सन्देश नेतृत्वले कहिल्यै दिन नसकेको भन्दै अब प्रचण्डको पार्टी छाडेको बताएका छन् ।

    नेपाल प्रेससँग कुरा गर्दै साहले अब आफू कुनै राजनीतिक दलमा नलाग्ने घोषणा समेत गरे । उनले अब आफ्नो विज्ञता र क्षमता देशको लागि आवश्यक परे योगदान गर्न तयार रहेको बताएका छन् ।

    तत्कालीन नेकपा संयुक्त र नेकपा माओवादीबीच एकतापछि उनी माओवादीको पदाधिकारी तहमा थिए ।

    उनी लामो समय बिष्णुवहादुर मानन्धर नेतृत्वको कम्युनिस्ट आन्दोलनमा सहभागी रहेको मधेशका स्थापित नेता हुन् । पछिल्लो समय उनी पानी र जलवायु विज्ञका रुपमा अभियानमा छन् ।

  • प्रधानमन्त्रीको नाममा २६ वटा नक्कली सामाजिक सञ्जाल, साइबर ब्यूरोले सुरु गर्‍यो अनुसन्धान

    प्रधानमन्त्रीको नाममा २६ वटा नक्कली सामाजिक सञ्जाल, साइबर ब्यूरोले सुरु गर्‍यो अनुसन्धान

    ३० असोज, काठमाडौं ।
    अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको नाममा फेक सामाजिक सञ्जाल अकाउन्ट खोल्नेमाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

    कार्कीको नाममा फेसबुकलगायतका फेक आईजी बनाएर विभिन्न सूचनाहरु सम्प्रेषण गरिएको थियो । त्यसपछि प्रधानमन्त्रीको सचिवालयले विज्ञप्ती समेत जारी गरेर ती अकाउन्ट नक्कली रहेको बताएको थियो ।

    यसरी प्रधानमन्त्रीको नाममा नक्कली अकाउन्ट खोलेर सञ्चालनमा ल्याउनेमाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ । प्रहरीको केन्द्रीय साइबर ब्यूरोका एसपी तथा प्रवक्ता दीपक राज अवस्थीले अनुसन्धान अघि बढाइएको बताए ।

    केही व्यक्तिलाई कार्यालय बोलाएर सोधपुछ समेत सुरु गरिएको छ । अहिलेसम्म भने कोही पक्राउ नपरिसकेको प्रहरीले बताएको छ ।

    २६ अकाउन्ट बन्दका लागि पत्राचार

    प्रधानमन्त्रीको नाममा अहिलेसम्म २६ वटा नक्कली अकाउन्ट खोलिएको पाइएको छ । कार्कीको नाममा २६ वटा सामाजिक सञ्जाल अकाउन्ट नक्कली देखिएपछि ती अकाउन्ट बन्द गर्ने प्रक्रिया अघि बढाइएको छ ।

    त्यसका लागि ब्यूरोले इमलेमाफर्त सम्बन्धी कम्पनीमा पत्राचार गरेको छ । केही बन्द भइसकेको र केही बन्द हुने प्रक्रियामा रहेको बताइएको छ ।

  • विपिनको शव नेपाल ल्याउन  थालेपछि आमा र बहिनी स्वदेश फर्किए

    विपिनको शव नेपाल ल्याउन थालेपछि आमा र बहिनी स्वदेश फर्किए

    काठमाडौं,असोज ३०-
    हमासको कब्जामा रहेका विपिन जोशीको रिहाइका लागि अमेरिका गएका उनकी आमा र बहिनी आज स्वदेश फर्किएका छन् । विपिनको मृत्यु भएको पुष्टि भएपछि उनीहरु खाली हात फर्किएका हुन्। उनीहरु कतार एयरवेजबाट बिहीबार बिहान काठमाडौं आइपुगेका हुन् ।

    हमासले बन्धक बनाएका कञ्चनपुरका विपिन जोशीको रिहाइको माग गर्दै आमा पद्मा जोशी र बहिनी पुष्पा साउनमा इजरायलसमेत पुगेका थिए । विपिन जोशी इजरायल पुगेका एक नेपाली विद्यार्थी थिए । दक्षिण इजरायलको अलुमिम किबुत्जमा खेतमा काम गर्दै गर्दा अपहरणमा परेका थिए। हमासले २० जना जीवितलाई फिर्ता गरेपछि विपिन जीवित फर्किने आश मरेको थियो । सरकारले विपिनको शव नेपाल ल्याउने तयारी थालेपछि उनका आमा र बहिनी स्वदेश फर्किएका हुन्।

    जोशी परिवारले अक्टोबर ७, २०२३ मा अपहरणपछि तुरुन्तै खिचिएको भिडियो सार्वजनिक गरेको थियो, जुन जीवित रहेको उनको अन्तिम प्रमाणित दृश्य हो।

  • साढे २ लाख नाघ्यो सुन

    साढे २ लाख नाघ्यो सुन

    ३० असोज, काठमाडौं ।
    सुनको भाउले साढे २ लाख नाघेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको भाउ प्रतितोला २ लाख ५० हजार ९ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिनको तुलनामा आज तोलामा २ हजार रुपैयाँ मूल्य बढेको हो । आजको सुनको भाउ हालसम्मकै उच्च हो ।

  • बाढीले पाँच करोडको धान नष्ट

    बाढीले पाँच करोडको धान नष्ट

    झापा, असोज ३०-
    यही असोज १८ देखि २० गतेसम्म परेको अविरल वर्षापछि आएको बाढीले झापामा ४६३ दशमलव ४२ हेक्टर जमिनको धानबाली नष्ट गरेको छ ।

    कृषि ज्ञान कार्यालयका प्रमुख सागर विष्टले ७०३ कृषकको रु पाँच करोड ७५ लाख २३ हजार बराबरको एक हजार ६४४ दशमलव ३३ मेट्रिक टन धान नष्ट गरेको जानकारी दिनुभयो ।

    “बाढीले अन्य कृषिबालीमा पनि क्षति गरेको छ, तर धानमा जति अरुमा छैन”, उहाँले भन्नुभयो, “पाक्न लागेको धान बाढीले बगाउँदा किसानको बिचल्ली भएको छ ।” वर्षाका कारण कनकाई र विरिङ नदीमा आएको बाढीले सबैभन्दा बढी धान खेत बगाएको छ ।

    बाढीले गौरीगञ्ज, झापा गाउँपालिका, भद्रपुर, कनकाई, शिवसताक्षी र गौरादह नगरपालिकाको पाँच हजार १२ दशमलव ६३ हेक्टर जमिनमा लगाएको कृषिजन्य वस्तु बगाएको प्रमुख विष्टले बताउनुभयो । उहाँले अन्य पालिकाको तुलनामा झापा गाउँपालिकामा धेरै क्षति भएको जानकारी दिनुभयो । यो पालिकाको वडा नं १,२ र ३ का ४३१ किसानको रु पाँच करोड १४ लाख ४७ हजार बराबरको धान, आलु र केरा नष्ट भएको छ । रासस

  • हमासले युद्धविराम सम्झौता पालना नगरे इसराइलले फेरि गाजामा आक्रमण गर्न सक्ने ट्रम्पको चेतावनी

    हमासले युद्धविराम सम्झौता पालना नगरे इसराइलले फेरि गाजामा आक्रमण गर्न सक्ने ट्रम्पको चेतावनी

    काठमाडौं असोज ३०
    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इसराइलले फेरि गाजामा आक्रमण गर्न सक्ने चेतावनी दिएका छन् । अमेरिकी टेलिभिजन नेटवर्क सीएनएनसँगको कुराकानीमा ट्रम्पले आफूले अनुमति दिए इसराइलले पुनः गाजामा हमासलक्षित सैन्य कारबाही चलाउन सक्ने चेतावनी दिएका हुन् ।

    यदि हमासले युद्धविराम सम्झौता अन्त्यलाई समर्थन गर्न अस्वीकार गरेमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई गाजामा सैन्य कारबाही पुनः शुरू गर्न अनुमति दिने उनको भनाइ छ । आफूले भन्नेवित्तिकै इजरायली सेनाहरू सडकमा फर्कने ट्रम्पले बताए ।

    इसराइलले हमासमाथि युद्धविराम उल्लंघन गरेको आरोप लगाएको छ । सम्झौताअनुसार हमासले ७२ घन्टाभित्र सबै जीवित बन्धक र मृत्यु भएकाहरूको शव फिर्ता गर्नुपर्ने भनिएको थियो । तर, हमासले मृत्यु भइसकेका सबै बन्धकहरूको शव अझै फिर्ता गरेको छैन ।

    हमासले अहिलेसम्म ८ वटा शव इसराइललाई हस्तान्तरण गरेको छ । हमासले बाँकी मृत बन्धकको शव हस्तान्तरण गर्न समय लाग्ने बताएको छ ।

    ट्रम्पकै २० बुँदे प्रस्तावमा टेकेर गत बिहीबार गजामा युद्धविराम घोषणा भएको थियो । त्यसपछि सोमबार हमासले सबै जीवित बन्धकहरूलाई मुक्त गरेको थियो ।

    युद्धविराम भएपछि गजामा हजारौं प्यालेस्टिनीहरू फर्किएर खण्डहर बनेको क्षेत्रमै बस्न थालेका छन् ।

  • हेर्नुस  आज मिति २०८२ असाेज ३० गते बिहीवारको राशीफल,

    हेर्नुस आज मिति २०८२ असाेज ३० गते बिहीवारको राशीफल,

    आज मिति २०८२ असाेज ३० गते बिहीवार, १६ अक्टाेबर २०२५। कार्तिक कृष्णपक्ष दशमी तिथि, १३ः४९ बजेपछि एकादशी। अश्लेषा नक्षत्र, १६ः४२ बजेपछि मघा। चन्द्रराशि कर्कट, १६ः४२ बजेपछि सिंह।

    मेष- मनोरञ्जन पूर्ण रहने दिन छ । कामबाट सजिलै फुर्सद पाइनेछ । मनमा प्रसन्नता मिल्ने दिन छ । दिन मनोरञ्जनपूर्ण रहनेछ । व्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ ।

    वृष- काममा मन प्रसस्त मात्रामा जानेछ । व्यवसायमा थप लगानी बढाउन सकिनेछ । वैदेशिक कामकाजमा फाइदा होला । अप्रत्याशित लाभ हुनेछ । नयाँ कामका स्रोत फेला पर्लान ।

    मिथुन– पिडा दिनेहरु सक्रियछन् सावधान रहनु होला । स्वास्थ्यको विशेष ख्याल गर्नु होला । धननाश हुने योग छ । अनावस्यक झमेलामा परिएला । खानामा सावधान रहनु होला ।

    कर्कट- अन्नको काममा लाभ हुने दिन छ । अन्नको काममा लाभ हुने दिन छ । साथै कसैबाट समर्थन पाउने दिन छ । रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ । पशुधन र जमिनबाट पनि सामान्य लाभ होला ।

    सिंह- आर्थिक क्षेत्रमा उन्नती हुनेछ । नसोचेको ठाउबाट धनलाभ भइ मन हर्षित हुने छ । आफुले सोचेभन्दा बढी नै लाभ हन्छ । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन लाग्नेछ ।

    कन्या- पैसो कमाउने योग छ । लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । साथी घरपरिवारबाट सुख शान्ती पाहिने छ । लामो यात्राको योग छ, साथै धनमाल कमाउने दिन छ ।

    तुला- व्यर्थको खर्चले मन पिरोल्ला । व्यर्थको खर्चले मन पिरोल्ला । सोच्दै नसोचेको ठाउमा पैसा खर्च होला । मनमा चिन्ता बढने योग छ । साथै धनमाल हराउन सक्छ ।

    वृश्चिक- प्रिय जन संग को भेटले मन प्रफुल्ल रहला । प्रिय जन संग को भेटले मन प्रफुल्ल रहला । भाग्यले साथ दिनेछैन खर्च बढने लेन देनमा विबाद बढनेछ संयम भएर काम गर्नुहोला ।

    धनु- बचत हुने प्रवल सम्भावना छ । बचत हुने प्रवल सम्भावना छ । नया कामका योजनाहरु बन्ने सम्भावना छ । व्यापारमा सफलता पाउनुहोला यात्रा गर्ने अवसर पनि मिलनेछ ।

    मकर– नया कामका योजनाहरु बन्ने सम्भावना छ । रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ । पशुधन र जमिनबाट पनि सामान्य लाभ होला । अधुरा काम बन्ने योग छ । नोकरि तथा राजनितीमा सफल भइएला ।

    कुम्भ- आगो र मेसिनरी सामग्रीबाट जोगिनु पर्ने देखिन्छ । वादविवादको सामना गर्नु पर्नेछ । आजका योजना पूर्ण कार्यान्वयन नहुन सक्छन् । परिश्रमले काममा रुचि बढने र आर्थिक क्षेत्रमा राम्रो प्रगति होला ।

    मीन- मान सम्मान मिले पनि मनमा डर रहने छ । स्वास्थ्यका दृष्टिकोणले समेत यो राम्रो समय छ । आर्थिक लाभ हुनेछ । व्यापारमा सफलता पाउने यात्रामा रमाउने र भेटघाटमा सहयोग पाउने योग छ ।