Blog

  • शेरबहादुर देउवाले दिए पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति

    शेरबहादुर देउवाले दिए पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति

    काठमाडौं, असोज २८
    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन् ।

    पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा खड्कालाई विधान अनुसार कार्यवाहक सभापतिको जिम्मेवारी दिएको घोषणा गरेको सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले जानकारी दिइन् ।
    यसैबीच कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बिहिबारसम्म स्थगित भएको छ ।

    आज सभापति देउवाले सम्बोधन गरेपछि बैठक असोज ३० गते दिउँसो एक बजेसम्मका लागि स्थगित गरिएको हो ।

     

  • विपिनको शव नेपाल ल्याउने प्रक्रिया सुरू

    विपिनको शव नेपाल ल्याउने प्रक्रिया सुरू

    काठमाडौँ, २८ असोजः 
    विगत दुई वर्षदेखि प्यालेस्टिनी समूह हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीको शव नेपाल ल्याउने प्रक्रिया सुरू गरिएको छ ।

    परराष्ट्र मन्त्रालयले आज विज्ञप्ति जारी गरी इजरायलस्थित नेपाली दूतावासका प्रतिनिधिले आज तेल अविवस्थित ‘नेशनल सन्ेटर फर फरेन्सिक मेडिसिन’को भ्रमण गरी विपिनको शवबारे थप पुष्टि गरेको र शव नेपाल ल्याउनेबारे प्रक्रिया सुरु भएको जनाएको छ ।

    मन्त्रालयले जोशीको शव नेपाल ल्याइसकेपश्चात् पनि निजको मृत्युको वास्तविक कारण र परिस्थितिका सम्बन्धमा सम्बन्धित सरकार तथा सरोकार भएकाहरूसँगको सहयोग र समन्वयमा सत्यतथ्य पत्ता लगाउन, न्याय दिलाउन र निजको परिवारले पाउने सामाजिक सुरक्षा, क्षतिपूर्ति, बिमा, सुविधा आदिको लागि उचित पहल जारी राख्ने जनाएको छ ।

    आज अपराह्न परराष्ट्र सचिव अमृतबहादुर राईले इजरायलको परराष्ट्र मन्त्रालयका समकक्षी ‘डाइरेक्टर जनरल’ एडेन बार तलसँग टेलिफोन कुराकानी गरेको र उहाँले नेपाली नागरिक जोशीको निधन भएको औपचारिक जानकारी गराउनुभएको मन्त्रालयले उल्लेख गरेको छ ।

    यसैगरी इजरायल र हमास समूहबीचको दुई वर्ष लामो द्वन्द्वपछि भएको यद्धविरामपश्चात् हमासले जोशीको शव सोमबार रेडक्रसमार्फत इजरायललाई हस्तान्तरण गरेको जनाइएको छ ।

    सन् २०२३ अक्टोबर ७ देखि हमासको कब्जामा रहेका इजरायलको सिक्दै र कमाउँदै कार्यक्रममा सहभागी नेपाली विद्यार्थी जोशीको सकुशल रिहाइका लागि नेपाल सरकारले सुरुदेखि विभिन्न तहबाट यथासम्भव सबै किसिमका प्रयासहरू गरेको थियो ।

    इजरायल र हमासबीच युद्धविराम भएपछि सन् २०२५ अक्टोबर १३  का दिन इजरायली सेनाले त्यहाँस्थित नेपाली राजदूत, विपिनका दाजु, आमा, बहिनी, इजरायली परराष्ट्र मन्त्रालय र इजरायली प्रधानमन्त्री कार्यालयका अधिकारीसहितको भर्चुअल बैठकमार्फत रिहा हुने बन्दीमा विपिन जोशीको नाम समावेश नरहेको र उहाँको अवस्था अज्ञात रहेको जानकारी गराएको थियो ।

    परराष्ट्र मन्त्रालयले हमास समूहको नियन्त्रणमा रहेका  विपिनको मृत्युको खबरले स्तब्ध भएको उल्लेख गर्दै यस दुःखद् घडीमा मृतकप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ ।

  • कात्तिक ६ गते ११ः३९ बजे भाइटीकाको उत्तम साइत

    कात्तिक ६ गते ११ः३९ बजे भाइटीकाको उत्तम साइत

    काठमाडौँ, २८ असोजः 
    नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ ।

    कात्तिक ६ गते बिहीबार बिहान ११ः३९ बजे भाइटीकाको साइत उत्तम रहेको समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले राससलाई जानकारी दिनुभयो ।

    कात्तिक ६ गते बिहीबार मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि धनु लग्न, कन्या नवमांश, चर बेला र अभिजित् योग तथा विजय मुहूर्तको शुभ साइत दिइएको समितिका सदस्य प्रा देवमणि भट्टराईले जानकारी दिनुभयो । “राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्छ । सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउन कुनै समस्या छैन”, उहाँले भन्नुभयो ।

    यस वर्ष यमपञ्चक कात्तिक १ गते शनिबारदेखि सुरु हुन्छ । त्यस दिनदेखि यमदीप दान सुरु गरिन्छ । धन त्रयोदशी र धनतेरस पर्व पनि यसै दिन परेको समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख छ । कात्तिक २ गते आइतबार काग तिहार परेको छ । यसै दिन धनवन्तरी जयन्ती पर्व पनि मनाइन्छ ।

    कात्तिक ३ गते सोमबार बिहान नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा परेको छ । यसै दिन साँझ दीपमालिका गरिन्छ ।

    कात्तिक ३ गते सोमबार दिउँसो ०२ः५२ बजेसम्म कात्तिक कृष्ण चतुर्दशी र त्यसपछि आँैशी तिथि लाग्ने भएकाले शास्त्रसम्ममत् रूपमा पर्वसम्बन्धी निर्णय गरिएको समितिले जनाएको छ । सायकालमा औँसी तिथि परेका दिन लक्ष्मीपूजा गर्नुपर्ने शास्त्रीय वचन छ । औँसी तिथिमा गरिने स्नान, दान भने कात्तिक ४ गते मङ्गलबार बिहान गर्नुपर्नेछ । कात्तिक ४ गते दिउँसो ०४ः२९ बजेसम्म औँशी तिथि रहेको समितिले जनाएको छ ।

  • दुई महिनामा साढे तीन खर्ब रेमिट्यान्स भित्रियो

    दुई महिनामा साढे तीन खर्ब रेमिट्यान्स भित्रियो

    काठमाडौँ, २८ असोज :
    चालु आर्थिक वर्ष २०८२/८३ को सुरुआती दुई महिनामा साढे तीन खर्बभन्दा बढी रेमिट्यान्स भित्रिएको छ ।

    नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो महिनाको तथ्याङ्कमा आधारित देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार गत भदौ मसान्तसम्म विप्रेषण आप्रवाह ३३ दशमलव एक प्रतिशतले वृद्धि भई रू तीन खर्ब ५२ अर्ब आठ करोड पुगेको हो ।

    गत भदौ महिनामा मात्र रू एक खर्ब ७४ अर्ब ६७ करोड विप्रेषण भित्रिएको राष्ट्र बैंकले जनाएको छ । पछिल्लो दुई महिनामा खुद द्वितीय आय अर्थात् खुद ‘ट्रान्सफर’ रु तीन खर्ब ८४ अर्ब ८८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रू दुई खर्ब ८७ अर्ब ७६ करोड रहेको थियो ।

    गत साउन र भदौ महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिनेको सङ्ख्या ९० हजार १९८ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ४५ हजार ८८४ रहेको राष्ट्र बैंकले जनाएको छ ।

  • तीन महिनापछि चितवन मिल्क उद्योगमा दूध प्रशोधन

    तीन महिनापछि चितवन मिल्क उद्योगमा दूध प्रशोधन

    चितवन, असोज २८ –
    दूधको अभावमा बन्द रहेको चितवन मिल्क उद्योग डेरी र सहकारीहरुले दूध ल्याएपछि पुनः सञ्चालनमा आएको छ । जेठ अन्तिम साताबाट बन्द रहेको उद्योगमा अहिले दूध आउन थालेपछि सञ्चालन ल्याइएको हो ।

    उद्योगका प्रबन्धक दुर्गा पराजुलीका अनुसार गत असारमा दुई दिन मात्रै सञ्चालनमा आएर बन्द भएको उक्त उद्योग असोज पहिलो सातादेखि क्रमशः सञ्चालनमा आएको हो । अहिले दैनिक एक लाख लिटरसम्म दूध आउन थालेको छ । उहाँले भन्नुभयो, “सालाखाला ८० हजार लिटर दूध दैनिक आउन थालेको छ ।”

    प्रशोधनका लागि डेरी र सहकारीहरुले दूध नल्याएपछि उद्योग आफैँले दूध किनेर सञ्चालन गर्ने तयारीसमेत गरेको थियो । सो समयमा सबैतिर दूधको अभाव भएपछि उद्योग सञ्चालन हुन सकेको थिएन । दसैँ बिदाको समयबाहेक यो महिना लागेपछि नियमितजस्तो उद्योग सञ्चालनमा रहेको प्रबन्धक पराजुलीले जानकारी दिनुभयो । किसानबाट सङ्कलित दूध बिक्री नभएपछि डेरी र सहकारीहरुले यहाँ ल्याएर प्रशोधन गर्ने गर्दछन् । उद्योगले धुलो ९पाउडर० दूध र नौनी (बटर) उत्पादन गर्ने गर्दछ ।

    चितवन, मकवानपुर, नवलपरासी, रुपन्देहीलगायतका जिल्लाबाट दूध आउन थालेको प्रबन्धक पराजुलीले जानकारी दिनुभयो । गत वर्ष बिक्री नभएपछि डेरी र सहकारीले यहाँ थन्काएका नौनी, घ्यू र धुलो दूध लगिसकेका छन् । प्रशोधन गरिएका उत्पादन सम्बन्धित संस्थाले नलगेपछि उद्योगका सबै ठाउँ नौनी र पाउडर दूधले भरिएको थियो ।

    भरतपुर महानगरपालिका–१ ठिमुरामा उद्योग रहेको छ । विसं २०७५ देखि उद्योगले डेरी र सहकारीको दूध शुल्क लिएर प्रशोधन गर्ने काम गरिरहेको छ । प्रतिलिटर पाउडर दूधको रु ११३ र घ्यू (बटर) को प्रतिकिलो रु ५५ लिएर उद्योगले प्रशोधन गर्दै आएको छ । विसं २०६४ मा स्थापना भएको सो उद्योग २०७२ सालमा आएको भूकम्पसँगै बन्द भएको थियो । बन्द हुनुअघि उद्योग आफैँले दूध खरिद गरेर प्रशोधन गरी बजारमा बिक्री गर्दै आएको प्रबन्धक पराजुलीले बताउनुभयो । रासस

  • विपिनको सन् २०२३ को अन्त्यतिरै हत्या भएको पुष्टि

    विपिनको सन् २०२३ को अन्त्यतिरै हत्या भएको पुष्टि

    काठमाडौं, असोज २८-
    हमासबाट मारिएका नेपाली युवा विपिन जोशीको झण्डै दुई वर्ष अघि नै हत्या भएको पाइएको छ । इजरायली सैनिक अस्पतालमा गरिएको डीएनए परीक्षणको रिपोर्टमा उनको सन् २०२३ को अन्त्यतिर नै मृत्यु भइसकेको देखिएको इजरायलस्थित दूतावासले जानकारी दिएको छ ।

    हमासले हस्तान्तरण गरेको शव विपिन जोशीकै भएको डीएनए परीक्षणबाट पुष्टि भयो । उनको प्राकृतिक मृत्यु नभइ हत्या नै भएको रिपोर्ट पाएका छौं,’ स्रोतले भन्यो । उनको शव अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटी (आईसीआरसी)ले सैनिक अस्पताल लगेर डीएनए गरेको थियो ।

    यसबारे नेपाली इजरायलस्थित दूतावासले औपचारिक रुपमा जानकारी गराएको छैन । परराष्ट्र मन्त्रालयका अधिकारीहरूले पनि अहिलेसम्म जानकारी नभएको बताएका छन् ।

  • एमाले केन्द्रीय कमिटी बैठक भोलि

    एमाले केन्द्रीय कमिटी बैठक भोलि

    २८ असोज, काठमाडौं ।
    नेपाल कम्युनिष्ट पार्टी (एमाले) को १०औँ केन्द्रीय कमिटी बैठक बुधबार बस्ने भएको छ ।एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार उक्त बैठक बिहान ११ बजे ललितपुरको जावलाखेलमा राखिएको जानकारी दिए ।

    उनका अनुसार बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको समसामयिक राजनीतिक घटनाक्रम समेटिएको राजनीतिक प्रतिवेदन, राजनीतिक प्रस्ताव र विविध विषयमा छलफल गर्ने कार्यसूची छ ।

    बैठकमा आसन्न पार्टीको राष्ट्रिय महाधिवेशनको बारेमा पनि छलफल हुने प्रमुख गौतमले बताए ।एमालेको यही असोज १२ गते बसेको सचिवालय बैठकले केन्द्रीय कमिटी बैठक आयोजना गर्ने निर्णय गरेको हो ।

  • कडा रोग लागेका बीमितका लागि पुनः ‘रिफर’ आवश्यक नपर्ने

    कडा रोग लागेका बीमितका लागि पुनः ‘रिफर’ आवश्यक नपर्ने

    काठमाडौँ, असोज २८ –
    स्वास्थ्य बिमा बोर्डले कडा खालका रोगका लागि प्रथम सेवा विन्दुबाट एकपटक प्रेषण भई सोही अस्पतालमा ‘फलोअप’ गराउँदा पुनः प्रेषण(रिफर) आवश्यक नपर्ने जनाएको छ ।

    बोर्डले बीमित व्यक्ति प्रथम सेवा विन्दुको सेवा अपुग भई रिफरल केन्द्रमा जाँदा विभिन्न समस्या पर्ने भएकाले पुनः रिफर गर्नु नपर्ने व्यवस्था गरेको हो । बोर्डका उपसचिव पुण्यमाया गुरागाईंले एकपटक प्रथम सेवा विन्दुबाट रिफर गरिसकेको बिरामीलाई पुनः रिफर आवश्यक नभएको बताउनुभयो । उहाँका अनुसार बोर्डअन्तर्गतका सबै सेवा प्रदायक स्वास्थ्य संस्थाहरुलाई पत्रचार गरी सो विषयमा जानकारी गराइसकिएको छ ।

    बोर्डले क्यान्सर, मुटु, मिर्गौला, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल, एनिमिया, पार्किन्सन, अल्जाइमर जस्ता कडा रोग लागेका बिरामीलाई एकपटक रिफर गरिसकेको अवस्थामा सोही अस्पतालमा उपचार गर्न जाँदा पुनः रिफर आवश्यक नपर्ने जनाएको हो ।

    त्यसैगरी अति गरिबीको परिचयपत्र प्राप्त परिवार, अति अशक्त, अपागङ्ता, कुष्ठरोगी, एचआइभी सङ्क्रमित, जटिल खालका क्षयरोग र ७० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकको हकमा पनि एकपटक रिफर भई सोही अस्पतालमा फलोअप गराउँदा पुनः रिफर आवश्यक नपर्ने निर्णय गरिएको उपसचिव गुरागाईंले जानकारी दिनुभयो ।

    आँखा स्वास्थ्यसम्बन्धीको जटिल समस्या, गर्भवती तथा सुत्केरी, दम, कडा किसिमका मानसिक रोग हकमा पनि रिफर आवश्यक नपर्ने जनाइएको छ । देशभरि बोर्डमा प्रथम सेवा विन्दु ३७७ वटा स्वास्थ्य संस्था र रिफरल स्वास्थ्य संस्था ९८ वटा छन् । बोर्डले सङ्घीय अस्पताल, विशेषज्ञ अस्पताल, विशिष्टीकृत अस्पताल र प्रतिष्ठानलाई प्रेषण केन्द्रका रुपमा राखेको छ । बोर्डमा हाल ९४ लाख बीमित आबद्ध छन् । रासस

  • भदौ २४ नेपाली इतिहासकै एउटा डरलाग्दो दिनः देउवा

    भदौ २४ नेपाली इतिहासकै एउटा डरलाग्दो दिनः देउवा

    काठमाडौं, असोज २८-
    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा जेनजी विद्रोहको दोस्रो दिन अर्थात् भदौ २४ गते नेपालको इतिहासकै एउटा डरलाग्दो दिनको रूपमा लिपिबद्ध हुने बताएका छन् ।

    पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै प्रदर्शनमा घुसपैठ भएको र प्रदर्शनले अर्को रूप लिएको बताएका छन् ।
    जेनजी विद्रोहपछि पहिलोपटक सार्वजनिक भएका देउवाले गरेको लिखित सम्बोधन भनेका छन्, ‘गत भाद्र २३ गते जेनजीको शान्तिपूर्ण प्रदर्शनको क्रममा घुसपैठ भयो र प्रदर्शनले अर्कै रुप लियो निर्दोष नवयुवकहरूको ज्यान गयो ।’

    उनले थपे, ‘यस घटनाले म र हामी सबैलाई अत्यन्तै मर्माहित बनाएको छ ।’

  • देउवाको सम्बोधन सकिएलगत्तै कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

    देउवाको सम्बोधन सकिएलगत्तै कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

    काठमाडौं , असोज २८ –
    सभापति शेरबहादुर देउवाले सम्बोधन गरिसकेलगत्तै नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक स्थगित गरिएको छ । बैठक असोज ३० गते १ बजेसम्मका लागि स्थगित गरिएको हो ।