Blog

  • बाँसका भाँडाकुँडा बनाउने डोमजातिलाई भ्याइनभ्याई

    बाँसका भाँडाकुँडा बनाउने डोमजातिलाई भ्याइनभ्याई

    जलेश्वर (महोत्तरी), असोज ३०-
    तराई(मधेसका मिथिलाञ्चल क्षेत्रसहित महोत्तरीमा छठपर्वका लागि बाँसका भाँडा बनाउने डोम समुदायको अहिले व्यस्तता बढेको छ ।

    वर्षैभरि सुँगुर पालन गरी जीविकोपार्जन गर्ने डोम जातिलाई अहिले तराईवासीको महान् पर्व छठ नजिकिँदै जाँदा बाँसका भाँडाकुँडा बनाउ नभ्याइनभ्याई भएको जलेश्वर नगरपालिका-२ का रामजी डोमले बताउनुभयो ।

    गाँस, बास र कपासको जोहो गर्न समस्या पर्ने यो समुदायलाई छठपर्वको तयारी सुरु हुनासाथ असोज र कात्तिकभरि बाँसका भाँडा बनाएर बिक्री गर्न भ्याइनभ्याई हुने एकडारा गाउँपालिका-२ का तेतर डोमले बताउनुभयो । छठपर्वका लागि बाँस र बेतबाट छिटी, डालो, नाङ्लो, सुपली र टालु टपरी बनाउन यहाँका डोम समुदाय जुटेका उहाँको भनाइ छ ।

    दैनिक हातमुख जोड्न समस्या हुने यहाँका डोम समुदायले असोज र कात्तिकमा विभिन्न परिकार पकाएर खाने गरेको मनरासिस्वा नगरपालिकाकी ६० वर्षीया दुखनी डोमिनले बताउनुभयो ।

    बाँसको चोया र कप्टेरोबाट छिटी, डालो, नाङ्लो बुन्दै गरेकी पिपरा गाउँपालिका(४ की ५० वर्षीया निरसी डोमिनले भन्नुभयो, “छठपर्वको आगमनसँगै घरका बच्चादेखि बूढासम्मले काम पाएर बिहानदेखि बेलुकासम्म छिटी, डालो, नाङ्लो, सुपली र टालु टपरी बनाउनमा व्यस्त हुन्छौँ भने बजारमा बेच्दा मनग्य आम्दानी हुने भएकाले खुसी छौँ ।” यही आम्दानीबाट असोज, कात्तिक र आगामी केही दिनसम्म खुसीका साथ जीवन काट्न सकिने उहाँको भनाइ छ ।

    मिथिलामा छठपर्व मनाउने प्रत्येक तराईवासीले छठमाता तथा सूर्यदेवलाई बाँस र बेतबाट बनाइएका छिटी, डालो, नाङ्लो, सुपली र टालु टपरीमा अर्घ दिनुपर्ने प्रचलन भएकाले प्रत्येक परिवारमा पाँच–सातवटा बाँसका भाँडा आवश्यक पर्दछ । सोही कारणले डोमको व्यवसायले गति पाउनुका साथै आम्दानीमा बढोत्तरी हुने गरेको गौशाला नगरपालिकाकी सुनिता डोमिनले बताउनुभयो ।

    छठपर्वको आगमनसँगै डोमका घरआँगनमा पनि छठमाता र सूर्यदेवको प्रत्यक्ष उपस्थिति रहने गरेको जनविश्वास रहेको बताउँदै महोत्तरी गाउँपालिकाका ७० वर्षीय रामबाबु डोमले आफूहरू सोही कारण दिनरात बर्तालुहरूका निम्ति बाँसका भाँडा बनाउने गरेको सुनाउनुभयो ।

    महोत्तरीको जिल्ला सदरमुकाम जलेश्वरका प्रदीप डोमले छिटी, डालो, नाङ्लो, सुपली र टालु टपरी बेचेर असोज तथा कात्तिकभरिमा वर्षभरिकै सबै कर्जाहरू चुक्ता गरेर आउने पाँच(छ महिनाको खर्चपर्चको जोहो गर्न कमाइ हुने गरेको बताउनुभयो ।

    औरही नगरपालिकाका बेचन डोमले घरका बालकदेखि वृद्धासम्मले यो समयमा छिटी, डालो नाङ्लो, सुपली र बाँसका अन्य भाँडाकुँडा बेचेर प्रतिपरिवारले रु एक लाखदेखि रु एक लाख ५० हजारसम्म आम्दानी गर्ने जानकारी दिनुभयो ।

    अहिले जिल्लाका गाउँगाउँमा डोम जातिका प्रत्येक घरमा बाँस र बेतको थुप्रो राखिएका छन् भने मिथिलाको अन्य जिल्लाका डोम समुदाय पनि बाँस र बेतका भाँडाकुँडा बनाउन व्यस्त रहेका डोमअगुवा बिरजु डोमले बताउनुभयो ।

    दिनदिनै छठपर्व मनाउने व्यक्तिको सङ्ख्यामा वृद्धि हुँदै जाँदा प्रत्येक व्यक्तिलाई बाँसको भाँडाकुँडा पुर्‍याउन सास्ती हुने गरेको भन्दै ती सामग्री बनाउन र मागअनुसार उपलब्ध गराउन भ्याइनभ्याई भएको उहाँको भनाइ छ । रासस

  • चितवनमा फूल आयात रोक्न फ्लोरिकल्चर एसोसिएसन नेपाल चितवन शाखाको माग

    चितवनमा फूल आयात रोक्न फ्लोरिकल्चर एसोसिएसन नेपाल चितवन शाखाको माग

    चितवन, असोज ३०-
    जिल्लामा फूल आयात रोक्न फ्लोरिकल्चर एसोसिएसन नेपाल चितवन शाखाले माग गरेको छ । शाखाले प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई आज ज्ञापनपत्र बुझाउँदै जिल्लामा तिहारका लागि आवश्यक फूल तयार रहेकाले आयातित फूल र माला रोक्न माग गरेको हो ।

    एसोसिएसनका सचिव सुलभ श्रेष्ठले जिल्लामा आयातित फूल मालासहित प्लाष्टिकजन्य मालामा रोक लगाउन माग गर्नुभयो । उहाँका अनुसार जिल्लामा तिहारका लागि ४० बिघा क्षेत्रफलमा फूल उत्पादन तयार छ । उहाँले भन्नुभयो, “जिल्लामा तीन लाख माला आवश्यक पर्छ । त्यो पूर्ति यहीँको फूलले हुने भएकाले आयातित फूल र माला रोकियोस् ।”

    ज्ञापनपत्रमा भनिएको छ, “बजार अनुगमन गरी स्वादेशी उत्पादनलाई प्राथमिकता दिन हामी माग गर्छौँ ।” एसोसिएसनले प्रत्येक मालाको रु एक सय मूल्य कायम गरेको छ ।

    सो क्रममा एसोसिएसनका अध्यक्ष तेजेन्द्रप्रसाद सापकोटाले आयातित मालामा सुतरीको धागो प्रयोग गरिने र फूलहरू क्वारेन्टाइन पास नगरी आउने बताउनुभयो ।

    प्रमुख जिल्ला अधिकारी अर्यालले आयातित फूलमाला रोक्न व्यावसायीको सक्रियता आवश्यक रहेको बताउनुभयो । आयातित फूल र माला रोक्न र प्रतिबन्धित वस्तु बिक्रीवितरण गरेमा कारबाही गर्न स्थानीय प्रशासन तयार रहेको उहाँको भनाइ छ । रासस

  • जेनजीका माग पूरा गर्न सरकार अहोरात्र काम गरिरहेको सञ्चारमन्त्री खरेलको दाबी

    जेनजीका माग पूरा गर्न सरकार अहोरात्र काम गरिरहेको सञ्चारमन्त्री खरेलको दाबी

    ३० असोज,काठमाडौं ।
    सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका मागहरु पूरा गर्न सरकार अहोरात्र काम गरिरहेको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्न मन्त्री खरेलले यस्तो दाबी गरेका हुन् ।

    उनले आन्दोलनले उठाएका मुद्दाहरु आगामी पाँच महिनाभित्र पूरा गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । भ्रष्टाचार विरुद्धका युवा आन्दोलनका म्याण्डेटहरू पूरा गर्न सरकारले निरन्तर प्रयास गरिरहेको उनको भनाइ छ । आफ्नो कार्यकालभर केही गर्न नसकेपनि नियतवस गलत कार्य नगर्ने पनि बताए ।

    उनले भने, ‘अब सञ्चार मन्त्रालयमा मेरो पाँच महिनाको अवधि बाँकी छ । कति गर्न सकिन्छ त्यो त थाहा छैन तर जानेर, बुझेर, नियतबस खराब केही पनि गर्ने छैन । बरु जस्तो गएको थिएँ त्यस्तै फर्किन्छु । अबको पाँच महिनाको अवधीभित्र जेनजी आन्दोलनले दिएका म्यान्डेटहरु पुरा गर्नुपर्नेछ ।’

    उनले मुलुकमा भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्ने सवालमा सरकार दृढ रहेको पनि बताए ।

  • फूलखेतीबाट एक याममा पाँच लाख बढी आम्दानी

    फूलखेतीबाट एक याममा पाँच लाख बढी आम्दानी

    वालिङ (स्याङ्जा), असोज ३०-
    स्याङ्जाको चापाकोट नगरपालिका-१ चौघेराका तुल्सीराम भण्डारीले व्यावसायिक फूलखेतीबाट एक याममा पाँच लाख बढी आम्दानी गर्दै आउनुभएको छ । पूर्वशिक्षकसमेत रहनुभएका उहाँले दसैँ र तिहारलाई लक्षित गरी फूलखेती गर्दै आउनुभएको हो ।

    गत असारमा शिक्षण पेसाबाट अवकाश लिनुभएका भण्डारीले फुर्सदको समयलाई सदुपयोग गरी फूलखेतीमा गरिरहेको बताउनुभयो । दसैँ, तिहार, छठलगायत धार्मिक कार्यहरूलाई लक्षित गरी दुई चरणमा फूलका बिरुवा रोप्ने गरेको उहाँले जानकारी दिनुभयो । दसैँ, तिहारलाई लक्षित गरी तीन रोपनी क्षेत्रफलमा र मङ्सिरपछि उत्पादन हुनेगरी थप दुई रोपनी क्षेत्रफलमा फूलखेती गरेको उहाँले बताउनुभयो ।

    “शिक्षण पेसामा रहँदै गर्दा पनि बिहानबेलुकाको समयमा कम मात्रामा फूलखेती गरेको थिएँ”, उहाँले भन्नुभयो, “फूलखेतीबाट मनग्य आम्दानी हुने देखेपछि अहिले पूरै समय व्यावसायिक फूलखेतीतर्फ जोडिएको हुँ ।”

    बाँदरले अन्नबाली नष्ट गरिदिएपछि विकल्पका रूपमा सयपत्री फूलखेती थालेको भण्डारीले बताउनुभयो । अन्नबालीको विकल्पमा फूलखेतीको व्यावसायिक उत्पादन गर्नुभएका उहाँले मागअनुसार फूल पु¥याउन नसेकेको उल्लेख गर्नुभयो । “सयपत्री फूल र मालाको माग अत्यधिक आएको छ”, उहाँले भन्नुभयो, “मागअनुसार उपलब्ध गराउन सकिएको छैन ।” यहाँ उत्पादन भएको फूल बुटवल, नारायगढ, बर्दघाट, पोखरालगायत स्थानीय बजारमा सजिलै बिक्री हुने गरेको छ ।

    उहाँले ‘कर्मा ५५५ मेरीगोल्ड’ जातको फूल लगाउनुभएको छ । उहाँललाई श्रीमती र छोरद्वयले सहयोग गरिरहनुभएको छ । यहाँ उत्पादन भएको फूलको बजारीकरणका लागि माग भई आएका ठाउँमा आफैँ पु¥याउने वा गाडीमार्फत पठाइदिने काम छोराहरूले गर्दै आएका उहाँले बताउनुभयो ।

    भण्डारीले फूलका थुङ्गा थोकमा प्रतिकिलो रु ३००, फुटकरमा प्रतिकिलो रु ४०० देखि ४५० र माला प्रतिगोटा रु ९० सम्ममा बिक्री गर्दै आएको जानकारी दिनुभयो । ग्राहकको मागका आधारमा माला वा फूलका थुङ्गा दुवै बिक्री गर्ने गरेको उहाँले बताउनुभयो ।

    भण्डारीका अनुसार यस वर्षको हालसम्म करिब रु छ लाखको फूल तथा माला बिक्री भइसकेको छ । तिहारपछि पनि बुटवल तथा स्थानीय बजारबाट फूल र मालाको माग आइसकेको उहाँले बताउनुभयो । “असारमा लगाएको बेर्नाले दसैँदेखि उत्पादन दिन थालेको हो”, उहाँले भन्नुभयो, “दोस्रो चरणमा लगाएको फूलको उत्पादन मङ्सिरसम्म लिन सकिन्छ ।”

    गतवर्ष एकै याममा फूल र माला बिक्रीबाट रु पाँच लाखभन्दा बढी आम्दानी भएको जनाउँदै उहाँले यस वर्ष रु १० लाख बढी आम्दानी गर्ने लक्ष्य रहेको बताउनुभयो । रासस

  • प्रधानमन्त्रीको निष्कर्ष- निर्वाचन आयोगमा रिक्त पदाधिकारी नियुक्त गर्नुपर्ने देखियो

    प्रधानमन्त्रीको निष्कर्ष- निर्वाचन आयोगमा रिक्त पदाधिकारी नियुक्त गर्नुपर्ने देखियो

    ३० असोज, काठमाडौं ।
    अहिलेका सीमित पदाधिकारीहरूबाट निर्वाचन गराउन कठिनाइ हुने निष्कर्षसहित सरकार निर्वाचन आयोगमा रिक्त पदाधिकारीको नियुक्ति गर्नुपर्ने निष्कर्षमा पुगेको छ ।

    निर्वाचनसँग सरोकार राख्ने विभिन्न क्षेत्रका सरोकारवालाहरूसँगको छलफल र अन्तरक्रियापछि प्रधानमन्त्री सुशीला कार्कीको टिमले आयोगमा सबै पदाधिकारीहरूको पदपूर्ति गर्नुपर्ने निष्कर्ष निकालेको हो ।

    ‘प्रधानमन्त्रीज्यू निर्वाचन आयोगमा सबै पदाधिकारीहरू चाहिने रहेछ भन्ने निष्कर्षमा पुग्नुभएको छ, अहिलेको अवस्थाबाट मात्रै अघि बढ्दा कठिनाइ हुने देखिएको छ’ प्रधानमन्त्री कार्यालय सम्बद्ध स्रोतले भन्यो, ‘कुन ढाँचामा कसरी नियुक्ति गर्ने भन्ने टुंगो लागिसकेको छैन । तर प्रमुख निर्वाचन आयुक्त नियुक्ति हुनुपर्ने देखिएको छ ।’

    निर्वाचन आयोगमा प्रमुख निर्वाचन आयुक्त र अर्का एक आयुक्तको पद रिक्त छ । दिनेशकुमार थपलिया ६ वर्षे कार्यकाल सकेर ५ वैशाख, २०८२ मा अवकाश भएदेखि प्रमुख निर्वाचन आयुक्त पद रिक्त छ ।

    अहिले निर्वाचन आयोगका बरिष्ठतम आयुक्त रामप्रसाद भण्डारी कार्यबाहक प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारीमा छन् । निर्वाचन आयुक्त इश्वरीप्रसाद पौड्याल अवकाश भएदेखि नै निर्वाचन आयोगमा अर्को आयुक्त पद पनि रिक्त छ ।

    प्रधानमन्त्रीले नेतृत्व गर्ने संवैधानिक परिषद्बाट अख्तियारको नयाँ नेतृत्व र रिक्त पदाधिकारी सिफारिस गर्नुपर्ने हुन्छ । अहिले प्रमुख विपक्षी दलका नेता बाहेक संवैधानिक परिषद्मा सबै पदाधिकारी छन् । तर, प्रतिनिधिसभा विघटन भएकाले संसदीय सुनुवाइ विशेष समिति क्रियाशील छैन ।

    निर्वाचन आयोगमा पदाधिकारी नियुक्त गर्दा अहिले प्रधानमन्त्रीलाई दुई विकल्प छन् । पहिलो, अहिलेकै कार्यबाहक प्रमुख आयुक्त भण्डारीलाई प्रमुख निर्वाचन आयुक्तमा नियुक्त गर्ने र बाँकी आयुक्त सिफारिस गर्ने । दोस्रो, आयोगका पदाधिकारीबाहेक सोझै प्रमुख निर्वाचन आयुक्त र आयुक्त नियुक्त गर्ने ।

    ‘तर त्यो तहसम्म छलफल पुगिसकेको छैन,’ प्रधानमन्त्री कार्कीको सचिवालय सम्बद्ध स्रोतले भन्यो, ‘अहिलेलाई त्यहाँ प्रमुख सहित रिक्त आयुक्त नियुक्त गर्नुपर्छ भन्ने निष्कर्ष हो । अरु प्रक्रिया तय भइसकेको छैन ।’

  • पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

    पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

    पर्सा,असोज ३०-
    ७०औँ नेपाल प्रहरी दिवसका अवसरमा यहाँस्थित जिल्ला प्रहरी कार्यालयमा आज रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

    जिल्लामा हुने रगतको अभाव परिपूर्तिमा सहयोग पु(याउने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरेको हो । नेपाल प्रहरी प्रदेश कार्यालय वीरगञ्ज र जिल्ला प्रहरी कार्यालय पर्साले संयुक्त रुपमा आयोजना गरेको रक्तदान कार्यक्रममा ६७ युनिट रगत सङ्कलन भएको छ ।

    नेपाल प्रहरी प्रदेश कार्यालय वीरगञ्जका प्रमुख शान्तिराज कोइराला र जिल्ला प्रहरी कार्यालय प्रमुख सुदीपराज पाठकले रक्तदातालाई ‘ब्लड ब्याग’ हस्तान्तरण गरेर रक्तदान कार्यक्रम शुभारम्भ गर्नुभएको थियो ।

    ‘‘प्रहरी दिवस विविध कार्यक्रम गरेर मनाउँदै आइरहेका छौँ,’’ पर्सा प्रहरी प्रमुख पाठकले भन्नुभयो, ‘‘बुधबार विभिन्न धार्मिकस्थलहरुमा सरसफाई ग¥यौँ । आज रक्तदान कार्यक्रम गरेका छौँ । भोलि प्रहरी दिवसको मुल कार्यक्रम गर्ने तयारी छ ।’’ रासस

  • फरार १२२ कैदीबन्दी काठमाडौँबाट पक्राउ

    फरार १२२ कैदीबन्दी काठमाडौँबाट पक्राउ

    अशोज ३०,काठमाडौँ ।
    गत भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा विभिन्न कारागारबाट भागेका एक सय २२ फरार कैदीबन्दीलाई नेपाल प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ ।
    जिल्ला प्रहरी परिसर काठमाडौँ, उपत्यका अपराध अनुसन्धान कार्यालय र सोमातहतको टोलीले जेनजी प्रदर्शनको मौका छोपेर भागेका एक सय २२ कैदीबन्दीलाई पक्राउ गरेको हो ।
    पक्राउ परेकामध्ये चोरीमा ३५, बहुविवाहमा तीन, जबर्जस्ती करणीमा १७, कर्तव्य ज्यानमा तीन, लागुऔषधमा ३०, बैंकिङ कसुरमा तीन, ज्यान मार्ने उद्योगमा १२, सङ्गठित अपराधमा तीन जना कैदीबन्दी रहेका छन् ।
    त्यसैगरी, डाँकाचोरीमा तीन, सवारी ज्यानमा तीन, ज्यानसम्बन्धी कसुरमा छ, मानव बेचबिखन एक र अन्य मुद्दामा तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले जानकारी दिए । उनका अनुसार पक्राउ परेकामध्ये एक सय १२ जना पुरुष र १० जना महिला छन् ।

    प्रहरी वरिष्ठ उपरीक्षक थापाले प्रदर्शनको मौका छोपेर कारागारबाट भागेका कैदीबन्दीको खोजी भइरहेको बताए । उनले आफ्नो समाज, छरछिमेकमा विभिन्न कारागारबाट भागेका कैदीबन्दी बसेका हुनसक्ने भन्दै त्यस्तो देखिएमा प्रहरीलाई खबर गर्नसमेत आग्रह गरे।

    प्रहरीले आफ्नो वरपर पहिचान नखुलेका, नयाँ व्यक्तिहरूको बसोबास वा फरार थुनुवा, कैदीबन्दी रहेको सूचना भएमा नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको हटलाइन १०० मा सम्पर्क गरी जानकारी गराउन अनुरोध गरेको छ ।

  • मधेशका नवनियुक्त मुख्यमन्त्री सोनलले लिए शपथ

    मधेशका नवनियुक्त मुख्यमन्त्री सोनलले लिए शपथ

    ३० असोज, जनकपुरधाम ।
    मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनलले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

    मुख्यमन्त्री सोनलले एक समारोहबीच प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

    लोकतान्त्रिक समाजवादी पार्टी -लोसपा_ नेता सोनल पाँच दलका ५६ सांसदको समर्थनमा बुधबार साँझ मुख्यमन्त्री नियुक्त भएका थिए ।

    उनलाई एक सिटको नागरिक उन्मुक्ति पार्टीले पनि समर्थन गरेको छ ।

  • नागरिक उड्डयन प्राधिकरणको भवन काठमाडौं जिल्ला अदालतलाई ससर्त उपलब्ध गराउने समझदारी

    नागरिक उड्डयन प्राधिकरणको भवन काठमाडौं जिल्ला अदालतलाई ससर्त उपलब्ध गराउने समझदारी

    ३० असोज, काठमाडौं ।
    नेपाल नागरिक उड्डयन प्राधिकरणले बबरमहलस्थित आफ्नो भवन काठमाडौं जिल्ला अदालतलाई ससर्त उपलब्ध गराउने समझदारी भएको छ ।

    प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा नेपाल नागरिक उड्डयन प्राधिकरणको सञ्चालक समिति र सर्वोच्च अदालतको प्रतिनिधि मण्डलसँगको संयुक्त बैठकमा सो समझदारी बनेको हो ।

    जेनजी आन्दोलनको क्रममा भएको आगजनीले काठमाडौं जिल्ला अदालतको भवन क्षतिग्रस्त भएपछि वैकल्पिक व्यवस्थाका लागि नागरिक उड्डयन प्राधिकरणको भवनको एक भाग प्रयोग गर्नेबारे बैठकमा छलफल भएको थियो ।

    छलफलको क्रममा सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले नागरिक उड्डयन प्राधिकरणको बबरमहलस्थित भवन उपलब्ध गराउन आग्रह गरेका थिए ।

    त्यस सन्दर्भमा प्रधानमन्त्री कार्कीले अदालतको सेवा रोक्न नमिल्ने भएकाले अदालत र प्राधिकरणबीच समझदारी कायम गरेर भवन प्रयोगको व्यवस्था मिलाउन निर्देशन दिएकी थिइन् ।

    बैठकमा प्राधिकरणले तत्कालका लागि ससर्त भवन उपलब्ध गराउने समझदारी बनेको प्रधानमन्त्री कार्कीका प्रेस संयोजक राम रावलले जानकारी दिए।

  • फागुन २१ को चुनावबारे दलहरूसाग औपचारिक संवादमा जुट्यो आयोग

    फागुन २१ को चुनावबारे दलहरूसाग औपचारिक संवादमा जुट्यो आयोग

    असोज ३०,काठमाडौं ।
    निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचनका लागि आज पहिलो पटक राजनीतिक दलहरूसँग छलफल गरेको छ ।

    आयोगले विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने तथा गत निर्वाचनका कम्तीमा एक वडा सदस्यसम्म विजय हासिल गर्ने राजनीतिक दललाई आसन्न निर्वाचनको तयारीको छलफलमा आउन पत्राचार गरेको थियो ।

    छलफलमा नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्मा, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष गुरु बराल, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सचिवालय सदस्य देव गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महासचिव कवीन्द्र बुर्लाकोटी, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेलगायत अन्य दलका प्रतिनिधि छन् ।

    छलफलमा कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन घोषणा भई तयारी सुरु भएको अवस्थामा निर्वाचनको वातावरण सृजना गरी सक्रिय हुन दललाई आग्रह गरे ।

    गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि पूर्वप्रधानन्यायाधीश कार्कीको नेतृत्वमा सरकार गठन र प्रतिनिधिसभाको विघटन भई आगामी फागुन २१ गते निर्धारित निर्वाचनको मिति घोषणा भएको थियो ।