Blog

  • ठूलो विध्वंश हुन्छ भन्ने जानकारी थियो, तर रोक्न सकिएन: ओली

    ठूलो विध्वंश हुन्छ भन्ने जानकारी थियो, तर रोक्न सकिएन: ओली

    २९ असोज, काठमाडौं।
    नेकपा एमालेका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २३ र २४ को विध्वंशात्मक घटना हुन्छ भन्ने पहिले नै जानकार रहेको तर रोक्न नसकेको बताएका छन्।

    नेकपा एमालेको आजबाट सुरु केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले पहिले पनि पटकपटक त्यस्ता घटना गराउने प्रयास भएको चर्चा गरे।

    ‘यत्रो घटना हुँदा पनि कसरी थाहा भएन भन्नु हुन्छ साथीहरु,’ ओलीले भने, ‘पहिलेदेखि नै थाहा थियो। चैत १५ गते यस्तै घटना गराउन खोजिएको थिएन?

    उनीहरूको प्रयास निरन्तर भइरहेको थियो। सधैं रोक्ने गरिएको थियो। यसपटक रोक्न सकिएन। थाहा नभएको होइन।’

    जेनजीले गरेको आन्दोलनको दोस्रो दिन २४ भदौमा ओलीले प्रधानमन्त्रीको पदबाट राजीनामा दिन बाध्य भएका थिए।

    उनले जेन–जीको माग र आन्दोलन विध्वंश र त्यसपति बनाइएको सरकारसँग नजोडिने भन्दै उनले प्रतिगामीहरूले षड्यन्त्र गरेको चर्चा गरे।

    ‘जेन–जीकै अगुवाहरु अहिले पनि भनिरहेका छन्, संसद् विघटन, सरकार ढाल्नेजस्ता माग हाम्रो थिएन भनेर भनिरहेका छन्। आन्दोलनकै पहिलो दिन दिउँसोबाट आन्दोलन हाइज्याक गरियो भन्ने उनीहरूको भनाइ आइरहेको छ,’ ओलीले भने, ‘भएको पनि यही हो।’

  • हाम्रा प्रयत्नका तुलनामा षड्यन्त्रकारी मुखर भएर आए: एमाले महासचिव

    हाम्रा प्रयत्नका तुलनामा षड्यन्त्रकारी मुखर भएर आए: एमाले महासचिव

    २९ असोज, काठमाडौं।
    नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी प्रयासका तुलनामा षड्यन्त्रकारी शक्तिहरू मुखर रूपमा आउँदा भदौ २३ र २४ को घटना हुन पुगेको बताएका छन् ।

    ललितपुरको भनिमण्डलस्थित रामबाग महलमा सुरु केन्द्रीय कमिटी बैठक सञ्चालन गर्दै महासचिव पोखरेलले संकटको पहिचान गरिएको भए पनि समयमा चिर्न नसक्दा त्यसले पार्टी र देशलाई नै क्षति पुर्‍याएको बताए ।

    ‘हाम्रो अघिल्लो केन्द्रीय कमिटी बैठकबाट हामीले जुन-जुन समस्या प्रवृत्तिका रूपमा देखा परेका छन् भनेर निश्कर्ष निकालेका थियौं, त्यसलाई समयमा चिर्न नसक्दा २३ र २४ भदौको घटना भयो। र, त्यसले हाम्रो पार्टी र देशलाई क्षति पुर्‍यायो,’ उनले भने।

    महासचिव पोखरेलले युवा शक्ति, भूमिहीन सुकुम्बासीहरूमा पार्टीप्रति आकर्षण घटिरहेको छ भन्ने निश्कर्ष अघिल्लो केन्द्रीय कमिटी बैठकमै निकालिएको स्मरण गरे।

  • सभामुख घिमिरे र राजनीतिक दलका प्रतिनिधिबीच छलफल

    सभामुख घिमिरे र राजनीतिक दलका प्रतिनिधिबीच छलफल

    काठमाडौँ, फागुन २८-
    सभामुख देवराज घिमिरेले मुलुकको समसामयिक वर्तमान राजनीतिक अवस्था सहजताका लागि दलहरूसँग परामर्श सुरु गर्नुभएको छ ।

    सभामुखको कार्यकक्ष सिंहदरबारमा अहिले भइरहेको छलफलमा विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका तत्कालीन प्रमुख सचेतक र सचेतक सहभागी रहनुभएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिनुभयो । छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाहेकका दलका प्रतिनिधि सहभागी हुनुहुन्छ ।

    पछिल्ला दिनमा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)लगायतका राजनीतिक दलका पदाधिकारी तथा केन्द्रीय समितिको बैठक चलिरहेका बेला सभामुखसँगको यो भेटघाटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । रासस

  • सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, घट्यो चाँदी

    सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, घट्यो चाँदी

    काठमाडौं,असोज २९-
    दिनदिनै नयाँ रेकर्ड बनाइरहेको सुन बुधबार तोलामा ४ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि सुनको भाउ प्रतितोला २ लाख ४८ हजार ९ सय रुपैयाँ तोकेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ४ सय बढी हो । अघिल्लो दिन २ लाख ४८ हजार ५ सयमा सुनको कारोबार भएको थियो । शुक्रबारयता सुनको मूल्यले दिनदिनै नयाँ रेकर्ड बनाएको छ । गत शुक्रबार सुन प्रतितोला २ लाख ३५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

    चाँदीको भाउ भने उच्च मूल्य रेकर्डबाट आज घटेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार ३२५ रुपैयाँमा कारोबार भएको चाँदी आज ८५ रुपैयाँ घट्दै ३ हजार २४० मा झरेको महासंघले जनाएक छ । पछिल्लो समय विश्वभरका लगानीकर्ताले सुनको माग बढाउँदा मूल्य बढिरहेको छ । पछिल्ला महिना सुनको लगानीमा उच्च प्रतिफल देखिएसँगै विश्वभरका ठूला लगानीकर्तामा यसमा आकर्षित भएका छन् । नेपाल र भारतमा दिपावलीका कारण भौतिक खुद्रा माग समेत बढेको छ । विश्वका केन्द्रीय बैंकहरुले कसिलो रुपमा सुन होल्ड गरिरहेका छन् ।

  • प्रदेश अस्पतालमा बिरामीलाई शय्या अभाव

    प्रदेश अस्पतालमा बिरामीलाई शय्या अभाव

    पर्वत, असोज २९-
    जाडो याम सुरु हुन थालेसँगै पछिल्ला केही दिनयता प्रदेश अस्पतालमा बिरामीको सङ्ख्या उल्लेख्य मात्रामा बढ्दै गएको छ । चाप बढ्दै गएपछि बिरामीलाई शय्या अभाव भएको छ ।

    बिरामीलाई अस्पतालको आकस्मिक कक्षमै र कतिपय अवस्थामा भुइँमा राखेर उपचार गर्नुपर्ने बाध्यता बढेको पर्वत अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा हेमन्त बाँस्तोलाले जानकारी दिनुभयो । उपचारका लागि आउने अधिकांश बिरामी भर्ना नै गर्नुपर्ने किसिमका रहेका उहाँको भनाइ छ ।

    पछिल्ला केही दिनयता ‘जनरल वार्ड’का शय्या बिरामीले भरिएपछि भर्ना गरेर राख्नुपनेलाई समेत आकस्मिक उपचारका लागि छुट्याइएका शय्यामा भर्ना गरेर राखिएको छ । डा बाँस्तोलाका अनुसार दैनिक तीन सय ५० जनाभन्दा बढी बिरामीको ‘ओपिडी’ र ‘इमर्जेन्सी’ कक्षमा उपचार गरिएको छ । एकै दिनमा तीन सय ९६ जनासम्मको उपचार गरिएको उहाँले बताउनुभयो ।

    पन्ध्र शय्याको अनुमतिप्राप्त प्रदेश अस्पतालमा अहिले ६४ शय्या सञ्चालन गरेर सेवा सञ्चालन भइरहेको छ । अस्पतालमा रहेको कम जनशक्तिलाई परिचालन गरेर बिहान ७ः०० देखि साँझ ७ः०० बजेसम्म नै बहिरङ्ग सेवा प्रदान गरेर सेवा प्रवाह जारी छ ।

    डा बाँस्तोलाले भन्नुभयो, “भर्ना गरेर राख्नेगरी ओपिडीमा रहेका २६ वटै शय्या भरिएका छन् । गर्मी समय सकिएर चिसो सुरु भइसकेको छ, यो बेलामा बिरामीको सङ्ख्या हरेक वर्ष बढ्छ ।”

    बहिरङ्ग विभागका बिरामीले नै आकस्मिक उपचारका शय्या भरिएपछि आकस्मिक उपचारका बिरामी आएको अवस्थामा बहिरङ्गका बिरामीलाई शय्या अभाव भएको हो । त्यस्तो अवस्थामा आकस्मिक कक्षमा बसेर उपचार सेवा लिइरहेका बिरामीलाई भुइँमा नै राखेर भए पनि आकस्मिक अवस्थाका बिरामीलाई सेवा दिनुपर्ने बाध्यता भएको उहाँको भनाइ छ ।

    सिजनल फ्लुका कारण एकै दिनमा १८ जनासम्म बालबालिकालाई भर्ना गरेर उपचार गरिएको डा एनिस श्रेष्ठले बताउनुभयो । उनीहरूमा मुख्यगरी ज्वरो, रुघाखोकी, बान्तालगायत समस्या देखिएको छ । यस्तै ज्येष्ठ नागरिकमा दम तथा श्वासप्रश्वासको समस्या छ । अस्पतालको आकस्मिक उपचारकक्षमा मात्र दैनिक करिब ४० जनाले सेवा लिइरहेका छन् । आकस्मिक कक्षमा आउनेहरूमा ज्वरो, दमसहितका श्वासप्रश्वास, झाडापखाला, बान्ता र केही सवारी दुर्घटनाका घाइते छन् । रासस

  • कार्यक्रम सञ्चालनपूर्व स्थानीय तहको स्वीकृति लिन आग्रह

    कार्यक्रम सञ्चालनपूर्व स्थानीय तहको स्वीकृति लिन आग्रह

    गण्डकी, असोज २९-
    कास्की जिल्ला प्रशासन कार्यालयले कुनै पनि कार्यक्रम सञ्चालन गर्नुुपूर्व सम्बन्धित स्थानीय तहको स्वीकृति लिन सम्बद्ध सबैमा आग्रह गरेको छ ।

    प्रशासनले सूचना जारी गर्दै स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को परिच्छेद ३ अन्तर्गत स्थानीयस्तरमा हुने कार्यक्रम सञ्चालनको स्वीकृति÷अनुमति सम्बन्धित स्थानीय तहबाट लिनुपर्नेमा कतिपय कार्यक्रम पूर्वस्वीकृति नलिई र स्थानीय प्रशासनलाई समेत पूर्वजानकारी नदिई सञ्चालन गरिएको पाइएको भन्दै अनुमति लिएरमात्र गर्न आग्रह गरेको हो ।

    कास्की जिल्लाभित्र कुनै पनि सभा, समारोह, प्रदर्शन, परम्परागत तथा व्यावसायिक मेला, जात्रा, कन्सर्ट, सांस्कृतिक कार्यक्रम आदिको आयोजनापूर्व अनिवार्य रूपमा सम्बन्धित स्थानीय तहबाट कार्यक्रम सञ्चालनको स्वीकृति÷अनुमति लिएर मात्र आवश्यक शान्ति सुरक्षाका लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन दिन अनुरोध गरेको छ ।

    निवेदन दिँदा कार्यक्रम अवधिभर आवश्यक शान्ति, सुरक्षाको व्यवस्थापनका लागि आयोजकको नाम र सम्पर्क नम्बर, कार्यक्रम सञ्चालन हुने मिति, स्थान, सुरु हुने तथा समापन हुने समय, सहभागी सङ्ख्यासमेत स्पष्ट खुलाउनुुपर्ने प्रशासनले जनाएको छ । त्यस्तै निवेदनमा सम्बन्धित स्थानीय तहबाट कार्यक्रम सञ्चालनको स्वीकृति/अनुमति, संस्था दर्ता प्रमाणपत्रको प्रतिलिपिलगायतका कागजात पेस गर्न पनि प्रशासनले आग्रह गरेको छ । रासस

  • अमेरिकी पासपोर्ट टप–१० सूचीबाट बाहिरियो, नेपालको के छ अवस्था ?

    अमेरिकी पासपोर्ट टप–१० सूचीबाट बाहिरियो, नेपालको के छ अवस्था ?

    काठमाडौँ,असोज २९-
    अमेरिकी पासपोर्ट विश्वका सबैभन्दा शक्तिशाली पासपोर्टहरूको शीर्ष १० सूचीबाट बाहिरिएको छ। हेनले पासपोर्ट इन्डेक्स २०२५ अनुसार अमेरिकी पासपोर्ट १२औँ स्थानमा पुगेको छ । पासपोर्ट इन्डेक्सले २० वर्षमा यस्तो पहिलोपटक भएको उल्लेख गरेको छ । अमेरिकी पासपोर्टवाहक नागरिक २२७ मध्ये १८० देशमा भिसा बिना प्रवेश गर्न सक्छ ।

    सिंगापुरको पासपोर्ट सबैभन्दा शक्तिशाली बनेको छ भने दोस्रो स्थानमा दक्षिण कोरिया र तेस्रोमा जापान रहेको छ । इन्डेक्स अनुसार, नेपालको पासपोर्ट १०१ औँ स्थानमै यथावत् छ भने भारतीय पासपोर्ट ७७औँ स्थानमा पुगेको छ। भारतले ५९ देशमा अनअराइभल भिसा पाउँछ भने नेपालले ३६ देशमा ।

  • पूर्वसभामुख महराको थुनछेक बहस आजदेखि

    पूर्वसभामुख महराको थुनछेक बहस आजदेखि

    काठमाडौं,असोज २९-
    पूर्वसभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराको थुनछेक बहस आज (बुधबार)देखि सुरु हुँदैछ। महराविरुद्ध चिनियाँ नागरिक लि हासोङ्गले इलेक्ट्रोनिक चुरोट ‘भेप’मा लुकाएर ल्याएको सुन तस्करी प्रकरणमा संलग्न भएको आरोप लागेको छ। सो प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालयले महरालाई संगठित अपराध निवारण ऐन र भन्सार ऐन अन्तर्गत मुद्दा दर्ता गर्दै ८ करोड ५५ लाख २८ हजार रुपैयाँ बिगो मागदाबी गरेको छ।

    महराको बयान भने मंगलबार काठमाडौं जिल्ला अदालतमा न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासमा लिइएको थियो। बयानका क्रममा उनले भेप प्रकरणमा आफूको कुनै लगानी वा संलग्नता नरहेको दाबी गरेका थिए। २०७९ पुस १० गते चिनियाँ नागरिक हासोङ्गले भेपका क्याप्सुलभित्र सुन लुकाएर नेपाल भित्र्याएको घटनामा संगठनात्मक संलग्नता देखिएको भन्दै अनुसन्धानपछि सीआईबीले महरालगायतका विरुद्ध मुद्दा दायर गरेको हो।

  • बझाङमा भूकम्पको धक्का महसुस

    बझाङमा भूकम्पको धक्का महसुस

    काठमाडौँ असोज २९
    बझाङ जिल्लामा बुधबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बझाङको दान्तोला आसपास बुधबार बिहान १ः०८ बजे ४.९ म्याग्निच्युडको भूकम्पकाे महसुस गरिएकाे हाे ।

    केन्द्रका अनुसार भूकम्पको झट्का बझाङसहित आसपासका जिल्लासम्म अनुभव गरिएको थियो।

    हालसम्म कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त नभएको विभागले जनाएको छ।

  • आज बुधबार कुन राशिका लागि शुभ? हेर्नुहोस् राशिफल

    आज बुधबार कुन राशिका लागि शुभ? हेर्नुहोस् राशिफल

    आज मिति वि.सं.२०८२ साल आश्विन २९ गते । बुधबार । ईश्वी सन् २०२५ अक्टोबर १५ तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । शरद ऋतु । श्रीशाके १९४७ । कार्तिक कृष्णपक्ष । तिथि–नवमी, दिउसो २ बजेर ४६ मिनेट उप्रान्त दशमी । नक्षत्र–तिष्य, बेलुकी ४ बजेर ५५ मिनेट उप्रान्त अष्लेषा । योग–सिद्ध, बिहान १० बजेर ० मिनेट उप्रान्त साध्य । करण–गर, दिउसो २ बजेर ४६ मिनेट उप्रान्त वणिज, रातको २ बजेर १४ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–मातंग योग । चन्द्रराशि–कर्कट ।

    काठमाडौमा सूर्योदय बिहान ६ बजेर ४ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ३३ मिनेट । दिनमान २८ घडी ४३ पला ।

    आजको राशिफल

    मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) शुभ माङ्गलिक सभा समारोहमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । छोटो तथा रमाइलो यात्राको तय हुनेछ । माया प्रेममा सामिप्यता बढेर जाने तथा जीवन साथीसँगको सम्बन्ध थप सुमधुर हुनेछ । खाद्यान्न तथा औषधीजन्य सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । सवारी साधन तथा अटो पार्टस्को खरिद बिक्रीबाट मनग्गे आम्दानी हुनेछ । राजनीति तथा सामाजिक काममा जनताको साथ समर्थन पाइने योग रहेको छ ।

    वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) राम्रा तथा परिणामूखि काम गर्न सकिने हुनाले आफन्त तथा छिमेकीहरू प्रभावित हुनेछन् । पराक्रमी क्रियाकलापमा भाग लिई पुरुषार्थी काम गर्न सकिनेछ । लेख तथा रचनाको माध्यमबाट संस्कार परिवर्तन गर्न तपाईँको भूमिका महत्त्वपूर्ण रहनेछ । अध्ययनकै सवालमा यात्रा हुनेछ । भाग्यले साथ दिने हुनाले व्यापार फस्टाएर जानेछ । प्रेममा नजिक हुन सकिनेछ । वित्तीय बजारमा गरिएको लगानीबाट थोरै भए पनि नाफा कमाउन सकिनेछ ।

    मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) तपाईँको कामको धेरैले प्रशंसा गर्नेछन् भने विशिष्ट व्यक्तिबाट सम्मानित हुने ग्रहयोग रहेको छ । तार्किक क्षमतामा वृद्धि भएर जानेछ भने सम्मानका साथ आम्दानी बढाउन सकिनेछ । गाएन तथा सङ्गीतको क्षेत्रमा नाम कमाउन सकिनेछ । पारिवारिक माहौलमा जमघट भई मिठो मसिनो खाने अवसर जुर्नेछ । प्रेमले सकारात्मक मोठ लिनेछ भने कुटुम्बसँगको सम्बन्ध सुदृढ भएर जानेछ ।

    कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) भौतिक बस्तुको प्रयोग गर्न पाइने तथा राम्रा पहिरनमा सजिएर अरूको मन लोभ्याउन सकिनेछ । तपाईँबाट राम्रा काम हुने हुनाले परिवार तथा साथीभाइहरू खुसी हुनेछन् । पढाइ लेखाइमा सुधार गरी नतिजा आफ्नो पक्षमा ल्याउन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन रहनेछ । नौलो प्रकृतिको काम गरेर आम्दानीका स्रोत बढाउन सकिनेछ । व्यापार वा शेयर बजारमा आजको दिन लगानी गर्नाले पछिसम्म लाभ मिल्नेछ ।

    सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) आफन्त तथा साथीभाइको सल्लाह मानेर अगाडी बढ्दा गन्तव्य पहिल्याउन सहज हुनेछ । विदेशी सामानको व्यापारबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । अध्ययनमा मन जाने तथा अध्ययनकै सवालमा लामो दुरीको यात्रा हुनेछ । माया प्रेममा नजिक हुने तथा जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । सामाजिक तथा कल्याणकारी कामबाट नाम कमाउन सकिनेछ ।

    कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) प्राकृतिक स्रोत तथा साधनको प्रयोगले आम्दानीमा वृद्धि गर्न सकिनेछ । शिक्षा तथा चेतनामूलक कामहरूबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । अग्रज तथा बुवाबाट गाइडलाइन प्राप्त हुनाले अग्रगामी छला¨ मार्न सकिनेछ । माया प्रेमको बन्धन कसिलो भएर जानेछ । परिवारका इच्छा तथा आकाङ्क्षाहरू पुरा गर्न सकिने हुनाले मन खुसी रहनेछ । अध्ययन वा कामको सिलसिलामा लामो दुरीको यात्रा हुनेछ ।

    तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) विभिन्न ठाउँबाट कामका प्रस्तावहरू आउनेछन् भने प्रशस्त रुपैयाँ पैसा कमाउने योग रहेको छ । व्यस्तताका बाबजुद पनि उपलब्धिमूलक कामहरू गर्न सकिने ग्रहयोग रहेको छ । माया प्रेममा सामिप्यता बढेर जानेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने नोकरीमा पदोन्नति हुनेछ । राजनीति तथा समाजसेवामा जनताको काम गर्न सक्दा मान सम्मान पाइनेछ । शेयर बजारमा आज गरिने लगानीबाट नाफा कमाउन सकिनेछ ।

    वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) राम्रा तथा परिणाममुखी काम गरी अरूको मन जित्न सकिनेछ । आर्थिक समस्या हल भएर जानेछ भने व्यापार तथा शेयर बजारमा लगानी बढाउन सकिनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा समय लगानी गर्नेहरूले सफलता हात लगाउन सकिनेछ । धार्मिक कार्यमा मन जानेछ भने धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहको छ । माया प्रेममा नजिक भई आफ्ना भावना साटासाट गर्न सकिनेछ ।

    धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) समय राम्रो रहेकोले आफन्त तथा दिदी बहिनीहरूबाट सहयोग प्राप्त हुनेछ । व्यापार व्यवसाय फस्टाएर जाने तथा आर्थिक अवस्था सुदृढ हुनेछ । माया प्रेममा नजिक हुन सकिनेछ भने पति पत्नी बिच मायाको डोरो कसिलो भएर जानेछ । नसोचेको धन प्राप्त हुने तथा उपहार प्राप्तिको गतिलो योग रहेको छ । तपाईँको बोलीको प्रभाव बढ्ने हुनाले राम्रा काम गरी नाम कमाउन सकिनेछ ।

    मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) भौतिक सम्पत्ति तथा बिलासी वस्तुको व्यापार व्यवसायबाट मनग्गे आम्दानी गर्न सकिनेछ । शेयर बजारमा गरिने लगानीबाट नाफा कमाउन सकिनेछ । व्यवसायकै सिलसिलामा यात्राको तय गर्न सकिनेछ । माया प्रेमको गाँठो कसिलो भएर जानेछ भने जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । मन परेको मानिसबाट उपहार तथा भौतिक सम्पत्ति हात पार्न सकिनेछ । बौद्धिकताको प्रयोग मार्फत अधिकार स्थापित गर्न सकिनेछ ।

    कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) विद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । शत्रु परास्त हुनेछन् । व्यापार तथा शेयर बजारको लगानीबाट प्रशस्त आम्दानी हुनेछ । पुराना ऋण, रोग तथा शत्रुबाट छुट्करा पाइने हुनाले मन प्रसन्न हुनेछ । आफन्त तथा मावली पक्षबाट हरेक क्षेत्रमा सहयोग तथा समर्थन पाइने योग रहेको छ । बैक तथा वित्तीय क्षेत्रबाट नाफा कमाउन सकिनेछ ।

    मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) राम्रा काम गरी अरूको विश्वास जित्न सकिनेछ । नयाँ प्रविधिको प्रयोग मार्फत आम्दानीका स्रोतहरू बढाउन सकिनेछ । प्रतिस्पर्धामा प्रतिस्पर्धीहरूलाई किनार लगाउँदै विजय भइनेछ । आफन्त तथा मामा पक्षबाट भनेजस्तो सहयोग पाइनाले मन प्रसन्न रहनेछ । खर्च बढे पनि राम्रा काम गर्दै अगाडी बढ्न सकिनेछ । स्वास्थ्य सामाग्री, निर्माण सामाग्री तथा वित्तीय क्षेत्रको लगानीबाट नाफा कमाउन सकिनेछ ।

    तपाईँको दिन शुभ रहोस् ।