Blog

  • बालेन र सुधन विरुद्ध चितवनमा युवा संघले दियो उजुरी, आगजनी, लुटपाट र तोडफोड गर्नेलाई पक्राउ गर्न माग

    बालेन र सुधन विरुद्ध चितवनमा युवा संघले दियो उजुरी, आगजनी, लुटपाट र तोडफोड गर्नेलाई पक्राउ गर्न माग

    चितवन, असोज ३१ –
    काठमाडौं महानगरकापालिकाका मेयर बालेन्द्र शाह र हामी नेपालका संस्थापक सुधन गुरुङविरुद्ध चितवन प्रहरीमा राष्ट्रिय युवा संघ नेपाल चितवनले किटानी जाहेरी दिएको छ । उनीहरुसहित जेनजी आन्दोलनमा आगजनी, लुटपाट र तोडफोडमा संलग्न सबैलाई पक्राउ गर्न युवासंघले माग गरेको छ ।

    एमालेनिकट युवा संगठन राष्ट्रिय युवा संघ नेपाल चितवनका जिल्ला संयोजक सन्तोष श्रेष्ठले किटानी जाहेरी दिएका हुन् । प्रहरीले जाहेरी बुझेको छ । तर, दर्ता हुन बाँकी छ । देशभर आन्दोलनमा हिंसा भड्काउन भूमिका खेलेको भन्दै जाहेरी दिएको श्रेष्ठले बताए ।

    जाहेरीसहित भिडिओ, फोटो तथा फुटेजसहित पेनड्राइभमा प्रमाण राखेर बुझाइएको छ ।

    जाहेरी दिने क्रममा युवा संघ र अनेरास्ववियुका विभिन्न तहका नेताहरुको उपस्थिति रहेको थियो ।

  • राष्ट्रियसभाका अध्यक्ष दाहाल जेनेभा प्रस्थान

    राष्ट्रियसभाका अध्यक्ष दाहाल जेनेभा प्रस्थान

    काठमाडौँ, असोज ३१ –
    राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल अन्तर–व्यवस्थापिका सङ्घको १५१औँ महासभामा सहभागी हुन आज जेनेभा प्रस्थान गर्नुभएको छ ।

    टोलीमा राष्ट्रियसभाका सदस्यहरू गोपीबहादुर सार्की आछामी र मदनकुमारी शाह (गरिमा) सहभागी हुनुहुन्छ । यही कात्तिक २ गतेदेखि ६ गतेसम्म स्विट्जरल्याण्डको जेनेभामा आयोजना हुने महासभामा अध्यक्ष दाहालले नेपालको तर्फबाट सम्बोधन गर्नुहुनेछ भने विभिन्न देशका संसद्का प्रमुखहरूसँग द्विपक्षीय भेटघाट गर्ने कार्यक्रमसमेत रहेको सङ्घीय संसद सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

    अन्तर–व्यवस्थापिका सङ्घका स्थायी समितिका कार्यक्रममा प्रतिनिधिमण्डलमा सम्मिलित सदस्यहरू सहभागी हुनुहुनेछ । उक्त टोली आगामी कात्तिक ९ गते स्वदेश फर्किने कार्यक्रम रहेको सङ्घीय संसद सचिवालयले जनाएको छ । रासस

  • मलामी गएका युवा नारायणी नदीमा बेपत्ता

    मलामी गएका युवा नारायणी नदीमा बेपत्ता

    चितवन, ३० असोजः
    मलामी गएका युवा नारायणी नदीमा बेपत्ता भएका छन् ।

    राप्ती नगरपालिका–६ बाट शव लिई देवघाटमा मलामी आएका २५ वर्षीय विजय चौधरी नारायणी नदीमा पौडी खेल्ने क्रममा डुबी बेपत्ता भएका हुन् ।

    जिल्ला प्रहरी कार्यालय चितवनका नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार आज दिउँसो १२ः१० बजे चौधरी नारायणी नदीमा बेपत्ता भएका हुन् ।

    उहाँको खोजी भइरहेको उहाँले जानकारी दिनुभयो ।

  • एमाले केन्द्रीय कमिटी बैठक: १४७ जना केन्द्रीय सदस्यको सुझाव

    एमाले केन्द्रीय कमिटी बैठक: १४७ जना केन्द्रीय सदस्यको सुझाव

    काठमाडौँ, ३० असोजः
    नेपाल कम्युनिष्ट पार्टी (एमाले) को १०औँ केन्द्रीय कमिटी बैठकमा आज दोस्रो दिन १४७ जना केन्द्रीय सदस्यले आआफ्नो धारणा राख्नुभएको छ ।

    ललितपुर, जावलाखेलमा जारी बैठकमा आज दोस्रो दिन १४७ जना केन्द्रीय सदस्यले अध्यक्ष केपी शर्मा ओलीले बुधबार प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि आफ्ना धारणा र सुझाव राख्नुभएको पार्टी प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो । हिजो पहिलो दिन ५० जना केन्द्रीय सदस्यले धारणा राख्नुभएको थियो ।

    बैठकमा प्रत्येक केन्द्रीय सदस्यलाई तीन मिनेट समय दिइएको छ । बैठकमा केन्द्रीय सदस्यको धारणा सुनेपछि भोलि पदाधिकारीहरूले पनि आफ्ना धारणा राख्ने कार्यतालिका रहेको छ । पदाधिकारीले धारणा राखेपछि अध्यक्ष ओलीले बैठकमा आएका सुझाव र जिज्ञासाको एकमुष्ट जवाफ दिएर बैठक समापन गर्नुहुने छ ।

    आजको बैठकमा केन्द्रीय सदस्यहरूले मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, पार्टीको आगामी कार्यदिशा, लोकतन्त्रको रक्षालगायत विषयमा सुझाव दिएको प्रचार विभाग प्रमुख गौतमले जानकारी दिनुभयो । बैठक शुक्रबार बिहान ८ः०० बजे पुनः बस्नेछ ।

  • एघार मुलुकका राजदूत फिर्ता बोलाउने सरकारको निर्णय

    एघार मुलुकका राजदूत फिर्ता बोलाउने सरकारको निर्णय

    काठमाडौँ, ३० असोजः
    सरकारले ११ मुलुकका नेपाली राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।

    मन्त्रिपरिषद्को आजको बैठकले चीन, जर्मनी, इजरायल, मलेसिया, कतार, रुस, साउदी अरब, स्पेन, संयुक्तअधिराज्य, संयुक्तराज्य अमेरिका र जापानका लागि नेपाली आवासीय राजदूतलाई आगामी कात्तिक २० गतेभित्र नेपाल फर्किसक्ने गरी फिर्ता बोलाउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिनुभयो ।

    चीनमा प्रा डा कृष्णप्रसाद ओली, जर्मनीमा डा शैल रुपाखेती, इजरायलमा प्राध्यापक धनप्रसाद पण्डित, मलेसियामा डा नेत्रप्रसाद तिमिल्सिना, कतारमा रमेशचन्द्र पौडेल, रुसमा जङ्गबहादुर चौहान, साउदी अरबमा नरेशविक्रम ढकाल, स्पेनमा सनील नेपाल, संयुक्तअधिराज्य बेलायतमा चन्द्रकुमार घिमिरे, संयुक्तराज्य अमेरिकामा लोकदर्शन रेग्मी र जापानमा डा दुर्गाबहादुर सुवेदी कार्यरत हुनुहुन्छ ।

    बैठकले सार्वजनिक वित्त व्यवस्थापन परियोजनाका लागि विश्व बैंकको व्यवस्थापनमा ‘मल्टिडोनर ट्रस्ट फण्ड’बाट प्राप्त हुने १० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

    सरकारले इनरुवा-पूर्णिया र दोधारा-बरेली ४०० केभी अन्तदेशीय प्रसारण लाइन निर्माण गर्न ‘नेपाल विद्युत् प्राधिकरण र भारतको पावर ग्रीड कर्पोरेशन अफ लिमिटेड’को संयुक्त लगानीमा नेपाल र भारतमा दुई वटा संयुक्त कम्पनी स्थापना गर्ने निर्णय गरेको छ । ती कम्पनीमा नेपाल विद्युत् प्राधिकरणबाट क्रमशः रु एक अर्ब र दुई अर्ब रकम बराबरको स्वपुँजी लगानी गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरिएको प्रवक्ता खरेलले जानकारी दिनुभयो ।

    बैठकले नेपाल र भारतबीच पारस्परिक कानुनी सहायता सन्धिसम्बन्धी सम्झौता स्वीकृत गर्ने निर्णय गरेको छ ।

     

  • चितवनमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

    चितवनमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

    ३० असोज, चितवन-
    चितवनको रामनगरमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

    भरतपुर महानगरपालिका-१ रामनगरस्थित सडकमा बा.प्र.०१-००१ प १६८४ नम्बरको बसले ग.२० प ८५५९ नम्बरको स्कुटरलाई बिहीबार दिउँसो ठक्कर दिएको थियो ।

    सो क्रममा स्कुटर चालक गोरखा घर भएका ४० वर्षीय दामोदर घिमिरेको मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।

    दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

    ठक्कर दिने बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

     

  • सहकारीपीडितको समस्या समाधानमा प्रधानमन्त्रीको पहल

    सहकारीपीडितको समस्या समाधानमा प्रधानमन्त्रीको पहल

    काठमाडौँ, ३० असोजः
    प्रधानमन्त्री सुशीला कार्कीले सहकारी पीडितहरूको समस्या समाधानका लागि पहल लिनुभएको छ ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री अनिल सिन्हा, सहकारी मन्त्रालयका सचिव केदारनाथ शर्मा, प्रधानमन्त्री कार्यालयका सचिव राजकुमार श्रेष्ठ, सङ्कटग्रस्त समस्या समाधान समितिका अध्यक्ष, सहकारी नियमन प्राधिकरणका पदाधिकारी, सहकारीपीडित बचतकर्ता संरक्षण राष्ट्रिय महासङ्घका पदाधिकारीलाई एकै ठाउँमा राखेर प्रधानमन्त्री कार्कीले सिंहदरबारमा छलफल गर्नुभएको थियो ।

    सो क्रममा उहाँले सहकारी ठगी गरेर हिँड्नेहरूलाई कुनै हालतमा छाड्न नहुने बताउनुभयो । “ठगेर खानेलाई छाड्न मिल्दैन । बरु कानुनमा समस्या छ भने त्यो पनि संशोधन गरौँ, जे गर्नुपर्छ गरौँ तर ठगेर हिँड्नेलाई नछाडौँ, पीडितलाई रुँदै हिँड्नुपर्ने अवस्था अन्त्य गरौँ”, प्रधानमन्त्रीले भन्नुभयो, “अहिले नै गर्नुपर्छ । हामीले नै गर्नुपर्छ । यो सरकारको मुख्य काम नै चुनाव सम्पन्न गर्नु, भ्रष्टाचारमा कारबाही गर्नु र सहकारी समस्या समाधान गर्नु हो । यसैका लागि आएको हो”, प्रधानमन्त्री कार्कीले भन्नुभयो ।

    सहकारी ठगीमा परेकाहरूको घरजग्गा नै लिलाम गरेर भए पनि पीडितको बचत फिर्ता हुनुपर्ने उहाँको भनाइ थियो ।

  • सगरमाथाको पहिलो सफल आरोहण दलका सदस्य कान्छा शेर्पाको निधन

    सगरमाथाको पहिलो सफल आरोहण दलका सदस्य कान्छा शेर्पाको निधन

    काठमाडौँ, असोज ३०-
    सगरमाथाको पहिलो सफल आरोहण दलका सदस्य कान्छा शेर्पाको ९२ वर्षको उमेरमा निधन भएको छ ।

    सन् १९५३ को सगरमाथा आरोहणमा एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले सगरमाथा शिखर आरोहण गरेका थिए । उक्त आरोहण दलमा भरियाका रूपमा संलग्न शेर्पा आठ हजार मिटरमाथिसम्म पुग्नुभएको थियो । उहाँले दुई दशकसम्म पर्वतारोहण क्षेत्रमा काम गर्नुभयो । शेर्पा हालसम्म सो आरोहण दलको एकमात्र जीवित सदस्यका रूपमा हुनुहुन्थ्यो ।

    उहाँको आज काठमाडौँ कपनस्थित निवासमा निधन भएको उहाँको पारिवारिक स्रोतले जनाएको छ । रसास

  • खोलामा डुबेर तीन बालिकाको मृत्यु

    खोलामा डुबेर तीन बालिकाको मृत्यु

    झापा, असोज ३०-
    गौरादह नगरपालिका–९ स्थित सिस्नेखोलामा माछा मार्ने क्रममा डुबेर आज दिउँसो तीन बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    मृत्यु हुनेमा स्थानीय अञ्जु मगरका दुई छोरी सात वर्षीया सुष्मा, नौ वर्षीया स्वीकृति र निर्मला परियारकी ११ वर्षीया छोरी रोश्नी छन् । उनीहरूको माछा मार्ने क्रममा खोला डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    प्रहरीले घटनास्थल पुगिसकेको र थप अनुसन्धान भइरहेको जनाएको छ । रासस

  • जाडो छल्न हिमालपारिबाट चितवन आउन थाले चरा

    जाडो छल्न हिमालपारिबाट चितवन आउन थाले चरा

    चितवन, असोज ३०-
    जाडो छल्न हिमालपारिबाट चरा आउन थालेका छन् । चितवन राष्ट्रिय निकुञ्जलगायत आसपासका सिमसार क्षेत्रमा हाँस प्रजातिका चरा आउन थालेका हुन् ।

    हरेक वर्ष अक्टोबरमा आउने ती चरा गर्मी सुरु भएसँगै फर्कने गर्दछन् । नेपाल पन्छीविद् सङ्घ बागमती प्रदेशका अध्यक्ष बासु बिडारीकाअनुसार नेपालमा जाडो छल्न चरा आउन थालेका हुन् । साइबेरिया, मङ्गोलिया, तिब्बत, रसिया, मलेसिया, उज्बेकिस्तान, पाकिस्तान, चीनलगायतका देशबाट चरा आउन थालेका छन् । जाडो छल्न आउने ती चरा कालीगण्डकीको खोँच हुँदै चितवनसम्म आइपुगेका छन् ।

    जाडो छल्न हाँस प्रजातिका क¥याङकुरुङ, चखेवा, सुइरोपुच्छ्रे, मालक, खडखडे, बिजुला, गैरीसहित बाज, चिललगायत चरा यहाँ आउन थालेका हुन् । वनमा आश्रित प्रजातिमा चाचर, चुइया, भारद्वाजसमेत आउने गरेको उहाँले बताउनुभयो । यहाँका नदी किनार र तालतलैयामा यस्ता चरा देखिन थालेका छन् । उहाँका अनुसार नेपाल बाहिरदेखि आएका १२ देखि १५ हाँस प्रजातिका चरा यहाँको नारायणी, राप्ती नदी र रिउखोलामा आउने गर्दछन् । जाडो बढ्दै गएपछि नेपालकै हिमाली भेगका चरा मध्यपहाड र मध्यपहाडका चरा तराईमा आउने गर्दछन् ।

    नेपालमा १५० प्रजातिका चरा आगन्तुकरूपमा आउने गर्दछन् । यी चरा छ महिनापछि बच्चा कोरल्ने समयमा फेरि दक्षिणबाट उत्तर फर्कने सङ्घका बागमती प्रदेश अध्यक्ष बिडारीले जानकारी दिनुभयो । पृथ्वीको उत्तरी ध्रुवमा दिन छोटो र रात लामो हुने हुँदा चर्नका लागि समयसमेत नहुने हुँदा ती चरा आउने गरेको विज्ञहरू बताउँछन् ।

    नेपालमा विशेषगरी सिमसार, घाँसेमैदान, वन र खेतबारीमा बस्ने चरा आउने गर्दछन् । ‘बर्ड एजुकेसन सोसाइटी’ चितवनका अध्यक्ष विजय गिरीका अनुसार दसैँमा परेको वर्षात्सँगै नदी तटीय क्षेत्रमा आगन्तुक चरा देखिन थालेको छ । चितवन राष्ट्रिय निकुञ्ज चराका लागि उत्तम बासस्थानका रूपमा लिइन्छ । निकुञ्ज हुँदै बग्ने राप्ती, रिउसँगै नारायणी नदी र निकुञ्जभित्रका तालतलैया र वन क्षेत्रमा आगन्तुक चरा रमाउने गर्छन् । निकुञ्ज, मध्यवर्ती र सामुदायिक वन पनि पन्छीको राम्रो विचरण क्षेत्र हुन् । नेपालमा ९०२ प्रजातिका चरा पाइन्छन् भने चितवनमा मात्र ६५२ प्रजातिका चरा पाइन्छन् । रासस