Blog

  • तोलामा ३ सयले बढ्यो सुनको मूल्य

    तोलामा ३ सयले बढ्यो सुनको मूल्य

    काठमाडौं कात्तिक,३
    सोमबार सुनको भाउ तोलामा ३ सय रुपैयाँ बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ५३ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ५३ हजार २ सय रुपैयाँ थियो ।

    चाँदीको भाउ तोलामा ५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार २७५ रुपैयाँ रहेको चाँदी यस दिन ३ हजार २८० रुपैयाँ तय भएको हो ।

  • प्रधानमन्त्री कार्कीको शुभकामना, ‘राष्ट्रिय सङ्कल्पका साथ अघि बढौँ’

    प्रधानमन्त्री कार्कीको शुभकामना, ‘राष्ट्रिय सङ्कल्पका साथ अघि बढौँ’

    काठमाडौँ, कात्तिक ३-
    प्रधानमन्त्री सुशीला कार्कीले तिहार, म्ह: पूजा, नेपाल संवत्को नयाँ वर्ष ११४६ र छठ पर्वको अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै शान्ति, समृद्धि र सुशासनको आकाङ्क्षा पूरा गर्न राष्ट्रिय सङ्कल्पका साथ अघि बढ्न आग्रह गरेकी छन्।

    आज जारी गरिएको शुभकामना सन्देशमा उनले कठिन परिस्थितिमा एकताबद्ध रहने नेपाली मौलिक संस्कृति नै भएको उल्लेख गर्दै ‘कुनै पनि भ्रममा नपरी हामी सबै मिलेर निराशा र अन्धकारको अन्त्य गर्दै नयाँ नेपालको उज्यालो भविष्य निर्माणतर्फ एकजुट होऔँ’ भनेकी छन्।

    प्रधानमन्त्री कार्कीले छ महिनाभित्र स्थिर सरकार दिने प्रतिज्ञासहित फागुन २१ गते स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सरकार दत्तचित्त रहेको बताएकी छन्। साथै, सुशासन कायम गर्ने, भ्रष्टाचारविरुद्ध ठोस कदम चाल्ने र जेनजी आन्दोलनका क्रममा भएका दमन तथा हिंसाको निष्पक्ष छानबिन गर्ने कार्य सरकारको प्राथमिक जिम्मेवारी रहेको स्पष्ट पारेकी छन्।

    सन्देशमा भनिएको छ, ‘भदौको महान् जेनजी आन्दोलनले सरकारलाई सुम्पेको भरोसा र दायित्वको सम्मान गर्दै समावेशी, पारदर्शी र उत्तरदायी शासनको मार्ग अवलम्बन गर्ने प्रतिबद्धता सरकारले लिएको छ।’

    यी पर्वहरूलाई जीवनमा आशा, विश्वास र समृद्धिको प्रतीक तथा अन्धकारमाथि उज्यालोको विजयका रूपमा लिइएको उनले उल्लेख गरेकी छन्।

     

  • तिहारको तेस्रो दिनः नरक चतुर्दशी, कुकुर तिहार मनाइँदै

    तिहारको तेस्रो दिनः नरक चतुर्दशी, कुकुर तिहार मनाइँदै

    काठमाडौँ , ०३ कात्तिक

    तिहारको तेस्रो दिन आज घरघरमा कुकुरलाई पूजा गरी मीठा खानेकुरा दिइ कुकुर तिहार मनाइँदैछ । कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भएपनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । समितिका सदस्य एवं वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका अध्यक्ष प्रा डा देवमणि भट्टराई नरक चतुर्दशी र कुकुर तिहार सूर्योदय कालमा चतुर्दशी भएको दिन मनाउनुपर्ने बताउनुहुन्छ ।

    कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रूपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिएको धर्मशास्त्रविद् प्रा तोयराज नेपालले राससलाई जानकारी दिनुभयो । वैवस्वतः मन्वन्तरको कुलमा जन्मिएको कुकुरले धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रामा समेत साथ दिएको धार्मिक विश्वास छ । कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रूपमा लिइन्छ ।

    नरक चतुर्दशी

    आज बिहानै अरूणोदयकालमा विभिन्न तीर्थ, नदी वा तलाउमा गई स्नान, तर्पण गरेर यमदीप दक्षिण फर्काएर बाली बगाउनाले मृत्युपश्चात् नरकको दर्शन गर्नु नपर्ने धार्मिक विश्वासका कारण नरक चतुर्दशीमा नुहाउने विधि रहेको धर्मशास्त्रविद् बताउँछन् । यसरी बत्ती बालेर बगाउनुलाई नरके बगाउने भनिन्छ ।

    यमपञ्चक अर्थात् तिहारका पाँचै दिन तिलको तेल लगाएर स्नान गर्ने प्रचलन छ । यसो गरेमा शरीर स्वस्थ हुने आयुर्वेदिक मत आयुर्वेदका चिकित्सक डा वंशदीप शर्मा खरेल बताउनुहुन्छ । यसैले तिहार स्वास्थ्य सुरक्षाका दृष्टिले पनि महत्त्वपूर्ण पर्वका रूपमा मनाइन्छ ।रासस

     

  • राजदूत फिर्ता बोलाउने प्रवृत्ति गलत

    राजदूत फिर्ता बोलाउने प्रवृत्ति गलत

    -प्रवीन पोखरेल  
    चितवन कात्तिक २-
    राजदूत फिर्ता बोलाउने गलत प्रवृत्तिको अन्त्य अब अपरिहार्य छ। नेपालको राजनीतिक संस्कृतिमा सरकार परिवर्तनसँगै राजदूत फिर्ता बोलाउने प्रवृत्ति जरा गाडेर बसेको छ। यो केवल प्रशासनिक निर्णय भन्दा पनि राज्यको कूटनीतिक निरन्तरतामाथि प्रहार हो। यसरी हरेक नयाँ सरकारले आफ्ना “राजनैतिक स्वार्थ” अनुरूप नियुक्ति र फिर्तीको खेल खेल्नु संस्थागत अस्थिरताको द्योतक हो।

    राजनीतिक नियुक्ति र भागबन्डाको प्रणालीले राज्य संयन्त्रलाई दलगत रङ्गमा रङ्गिएको बनाइदिएको छ। यसले “मेरिटोक्रेसी” अर्थात् योग्यता–आधारित प्रणालीलाई कमजोर बनाउँदै, कूटनीतिक सेवाजस्ता संवेदनशील निकायमा पनि राजनीतिक हस्तक्षेपलाई संस्थागत रूप दिएको छ। अहिलेको सरकार केवल ६ महिनाको अस्थायी कार्यकालको सरकार हो। आगामी निर्वाचनको तयारी नै यसको प्रमुख जिम्मेवारी हो।

    यस्तो अवस्थामा राजदूत फिर्ता बोलाउने जस्तो निर्णय “प्रशासनिक स्थायित्व” र “कूटनीतिक निरन्तरता” विरुद्धको निर्णय हो। यो निर्णयले विदेशस्थित नेपाली समुदायको मुद्दा, हित र आवाजलाई प्रत्यक्ष रूपमा असर पुर्‍याउँछ। राजदूतहरूको कार्यकाललाई हरेक सरकारको “राजनीतिक पुनर्संरचनासँग बाँध्नु भनेको विदेश नीतिलाई दलगत एजेन्डामा रूपान्तरण गर्नु हो।

    यस्ता कार्यले नेपालजस्तो विकासोन्मुख देशको “विदेश नीति”लाई “व्यक्तिनिष्ठ कूटनीति” मा सीमित बनाउँछ, जसले दीर्घकालीन राष्ट्रिय हितमा गम्भीर क्षति पुर्‍याउँछ। हामी युवा पुस्ता परिवर्तनको पक्षमा छौँ—तर त्यो परिवर्तन संस्थागत, नीति–आधारित र दीर्घकालीन हुनु आवश्यक छ। सरकार जसको भए पनि राज्यका अंगहरूमा स्थायित्व, पारदर्शिता र दक्षता कायम रहनुपर्छ। त्यसैले अब समय आएको छ।   राजदूत फिर्ता बोलाउने दलगत परम्पराको अन्त्य गर्न र “कूटनीतिक स्वायत्तता” लाई सुदृढ बनाउन।

    सरकार परिवर्तनले नीति होइन, प्रवृत्ति परिवर्तन ल्याओस्। यस्तै परिवर्तनले मात्र नयाँ नेपालको परिकल्पनालाई व्यवहारमा रूपान्तरण गर्न सक्छ। निष्कर्ष राजदूत फिर्ता बोलाउने परम्परा केवल व्यक्ति वा दलको निर्णय होइन यो राष्ट्रिय छविको प्रश्न हो। यदि यो प्रवृत्ति अन्त्य गर्न सकिएन भने, नेपालको कूटनीति सदैव अस्थिर र अविश्वसनीय रहनेछ। अब आवश्यकता छ\ राजनीतिक मनोवृत्तिको परिवर्तन र नीति–आधारित स्थायी बनाइनु पर्छ । सुझाब राजदूत नियुक्ति र फिर्तीमा कानुनी मापदण्ड तय गर्नु पर्छ ।“कूटनीतिक सेवा ऐन” मा संशोधन गरी राजदूतको कार्यकाल निश्चित र स्थिर बनाइनुपर्छ।

    सरकारले मनपरी निर्णय गर्न नपाउने गरी स्पष्ट प्रावधान राख्नुपर्छ (जस्तै ४ वर्षको न्यूनतम कार्यकाल पूरा नगरी फिर्ता बोलाउन नपाइने) राजनीतिक भागबन्डा अन्त्य गर्न ‘मेरिट बेस्ड’ छनोट प्रणाली लागू गर्नुपर्छ युवा पुस्ताले अपेक्षा गरेको “संस्थागत सुधार” लाई राजनीतिक घोषणामात्र होइन, व्यवहारमा रूपान्तरण गर्न सरकार र दलहरू जिम्मेवार बन्नुपर्छ।

    -प्रवीन पोखरेल, भरतपुर १५ (हाल टोकियो जापान)

  • नक्खु कारागारबाट फरार कैदी सङ्खुवासभामा पक्राउ

    नक्खु कारागारबाट फरार कैदी सङ्खुवासभामा पक्राउ

    खाँदबारी (सङ्खुवासभा), २ कात्तिकः 
    जबर्जस्ती करणी मुद्दामा दोषी ठहर भई ललितपुरस्थित नक्खु कारागारमा कैद भोगिरहेका सङ्खुवासभाको खाँदबारी नगरपालिका–८ का २७ वर्षीय विशाल विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको छ ।
    गत भदौ २३ र २४ गते देशव्यापी रूपमा भएको जेनजी आन्दोलनका क्रममा विश्वकर्मा नक्खु कारागारबाट फरार भएका थिए । फरारपछि उनी निरन्तर लुकीछिपी बस्दै आएको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले आज उनलाई नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक कुमारप्रसाद मैनालीले जानकारी दिनुभयो ।
    प्रहरी नायव उपरीक्षक मैनालीका अनुसार विश्वकर्मालाई खाँदबारी बजार क्षेत्र नजिकबाट  पक्राउ गरिएको हो । प्रहरीले उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ । फरार कैदीलाई पक्राउ गरी कानुनी कारबाहीका लागि आवश्यक प्रक्रिया अघि बढाइएको छ । कारागार प्रशासनसँग समन्वय गरी विश्वकर्मालाई पुनः नक्खु कारागार पठाइने उहााले जानकारी दिनुभयो ।
    –––
  • शङ्का लागेमा मेरो सम्पत्ति छानबिन गरियोस्ः अध्यक्ष ओली

    शङ्का लागेमा मेरो सम्पत्ति छानबिन गरियोस्ः अध्यक्ष ओली

    काठमाडौँ, २ कात्तिकः 
    नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नोसहित शङ्का लागेका सबैको सम्पत्ति निष्पक्ष ढङ्गबाट छानबिन गर्न माग गर्नुभएको छ ।

    प्रेस चौतारी नेपालद्वारा आज यहाँ आयोजित सम्पादकहरूसँगको संवाद कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले आफूले एक पैसा पनि भ्रष्टाचार नगरेको र सुशासनका पक्षमा सदैव दृढ रहेको जनाउँदै सम्पत्ति छानबिनका लागि आफू तयार रहेको स्पष्ट गर्नुभयो ।

    उहाँले बेथिति, विकृति र भ्रष्टाचार अन्त्यसहित सुशासन र सामाजिक सञ्जाल सञ्चालनको मुद्दा उठाएर जेनजी समूहले गरेको शान्तिपूर्ण आन्दोलनमा घुसपैठ भई धनजनको क्षति भएको प्रसङ्ग उल्लेख गर्नुभयो ।

    “म कुनै आवेग र आक्रोसमा भन्दा सत्य स्थापित होस् भन्ने चाहन्छु । म हरेक नागरिकले सम्मानजनक जीवन बाँच्न पाउनुपर्छ र मुलुकमा समृद्धि, समानता र शान्ति कायम हुनुपर्दछ भनी देश र जनताप्रति सदैव बफादर हुँदै आएको छु । सत्यप्रतिको मूल्यमान्यताबाट कहिल्यै विचलित हुन्न”, अध्यक्ष ओलीले भन्नुभयो, “सत्यको पक्ष लिँदा अहङ्कार र दम्भको भाषा बोल्यो भन्ने पर्न सक्छ । उक्त घटनाको यथार्थ क्रमशः खुल्दै जाला, हामी जनताको शान्ति, न्याय र लोकतन्त्रका पक्षमा कसैसँग सम्झौता नगरी लागिरहने छौँ ।”

    निर्वाचनको सहज वातावरण नभएको आशङ्का गर्दै एमाले अध्यक्ष ओलीले विघटित प्रतिनिधिसभाका पुनःस्थापनाका पक्षमा आफ्नो पार्टी रहेको स्पष्ट गर्नुभयो ।

  • माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

    माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

    भद्रपुर (झापा), कात्तिक २ –
    यहाँस्थित कचनकवल गाउँपालिका–२ मा करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ । कचनकवलका ४९ वर्षीय लोकबहादुर गाइनेको आज दिउँसो करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।

    उहाँका अनुसार अमलखुट्टा खोलामा करेन्ट प्रवाह गरेर माछा मार्ने क्रममा आफैँलाई करेन्ट लागेर निजको मृत्यु भएको हो । घटनास्थलमा आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाउन जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको नेतृत्वमा टोली खटिएको प्रहरीले जनाएको छ । रासस

  • टीकापुर क्याम्पसको अतिक्रमित जग्गा संरक्षणका लागि उच्चस्तरीय आयोग गठनको माग

    टीकापुर क्याम्पसको अतिक्रमित जग्गा संरक्षणका लागि उच्चस्तरीय आयोग गठनको माग

    काठमाडौँ, कात्तिक २ –
    कैलालीस्थित टीकापुर बहुमुखी क्याम्पसको अतिक्रमित जग्गा संरक्षणका उच्चस्तरीय आयोग गठनको माग गरिएको छ ।

    सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा हेमराज पन्त र रजिस्ट्रार प्राडा विनोद लेखकलगायतको टोलीले आज शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनलाई भेटेर क्याम्पसको अतिक्रमित ३०० बिघा जग्गा संरक्षणका लागि माग गर्नुभएको हो ।

    उपकुलपति प्राडा पन्तले अतिक्रमित जग्गाको समस्या समाधानका लागि उच्चस्तरीय जाँचबुझ आयोग गठन गरी तत्काल पहल गर्न लिखित रूपमा अनुरोध गरिएको बताउनुभयो ।

    त्यस अवसरमा मन्त्री पुनले विश्वविद्यालयका प्रतिनिधिको मागप्रति सकारात्मक रहेको र उक्त विषयमा तत्काल आवश्यक प्रक्रिया अघि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभएको रजिस्ट्रार प्राडा लेखकले जानकारी दिनुभयो । रासस

  • पर्वतमा नेपालकै अग्लो हाइलाइनको सफल परीक्षण

    पर्वतमा नेपालकै अग्लो हाइलाइनको सफल परीक्षण

    पर्वत, कात्तिक २-
    साहसिक पर्यटकको प्रमुख गन्तव्यका रूपमा विकास हुँदै गएको पर्वतमा नेपालकै अग्लो स्थानमा हाइलाइनको सफल परीक्षण गरिएको छ ।

    जिल्ला सदरमुकाम कुश्माबजार र छिमेकी जिल्ला बागलुङको बलेवा जोड्ने गरी ‘द क्लिफ’ले सञ्चालन गरेको विश्वकै अग्लो बञ्जी पुल र ‘द हार्नेस’ प्रालीले सञ्चालन गरेको विश्वकै लामो ‘सुपरम्यान’ शैलीको जिपलाइनलाई जोडेर मुदुकमा पहिलोपटक अग्लो र लामो दूरीमा हाइलाइनको अभ्यास गरिएको हो ।

    हाइलाइन मानसिक तथा शारीरिक शक्ति परीक्षण गर्ने अत्यन्त रोमाञ्चक खेलका रूपमा मानिन्छ । कालीगण्डकी खोँचमा ४०८ मिटर लामो र २२८ मिटरको उचाइमा पहिलोपटक हाइलाइनको परीक्षण सफल भएको द क्लिफका अध्यक्ष राजु कार्कीले जानकारी दिनुभयो ।

    हाल जर्मनीमा बसोबास गर्दै आउनुभएका धनकुटाको हिलेका शङ्कर कोइरालाले लामो समयदेखिको गहन योजनाका रूपमा यो कार्यक्रम गर्नुभएको हो । कोइरालाले १५ वर्षदेखि युरोपका विभिन्न ठाउँमा हाइलाइन गर्दै आएको बताउँदै लामो प्रयासपछि पर्वतमा पनि यो सम्भव भएको उल्लेख गर्नुभयो ।

    साहसिक पर्यटन प्रवर्द्धनको उद्देश्यले कोइरालाको संयोजनमा नेपालमा हाइलाइनको यस्तो प्रयास हुनु पर्यटकका लागि नयाँ खेलका रूपमा स्थापित हुने क्लिफका अध्यक्ष कार्कीले विश्वास व्यक्त गर्नुभयो ।

    पहिलोपटक गरिएको हाइलाइनको क्रु सदस्यमा कोइरालासहित तीन जना नेपाली र तीन विदेशी छन् । गत असोज २९ गतेदेखि सुरु भएको हाइलाइन कार्यक्रम शनिबार सकिएको छ । नेपाल स्ल्याकलाइन कम्युनिटी र लोकप्रिय एड्भेञ्चर हब ‘द क्लिफ’को सहकार्यमा यो हाइलाइन आयोजना गरिएको हो ।

    क्लिफका अध्यक्ष कार्कीका अनुसार नेपालमा पहिलोपटक यति उचाइमा हाइलाइन गरिएको हो । “यसले साहसिक पर्यटनमा नयाँ सम्भावनाका ढोका खोल्ने अपेक्षा गरिएको छ”, उहाँले भन्नुभयो ।

    नेपाल स्ल्याकलाइन कम्युनिटीका सदस्यको अनुभव र युरोपेली प्रशिक्षकको सहयोगमा यो परियोजना अघि बढाइएको कोइरालाले बताउनुभयो । उहाँका अनुसार खेल हेर्दा डरलाग्दो देखिए पनि पूर्ण रूपमा सुरक्षा मापदण्ड अपनाइएको थियो । “हाइलाइन २० मिटरबाट सयौँ मिटर उचाइमा तानिएको लाइनमा सेफ्टी हार्नेस र लिस प्रणालीसहित हिँड्ने साहसिक खेल हो । सन्तुलनका लागि गहिरो ध्यान, स्थिर नजर र श्वास नियन्त्रण अत्यावश्यक हुन्छ”, उहाँले भन्नुभयो ।

    वर्षायाम सकिएसँगै पर्वतमा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्न थालेको छ । सोही अवसरमा गरिएको हाइलाइन हेर्न पनि सयौँ पर्यटक सहभागी भएका थिए । यसबाहेक जिपनलाइन, बञ्जी, स्वीङ, स्काइसाइक्लिङ, मेगाट्रोल, पिङ, रक क्लाइम्बिङ, र्‍याफ्टिङका लागि पर्यटकको आकर्षण बढ्दै गएको छ । रासस

  • मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा तीनको मृत्यु

    मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा तीनको मृत्यु

    कार्तिक २,घोडाघोडी ।
    कैलाली जिल्लाको लम्कीचुवा नगरपालिकाअन्तर्गत पर्ने धोबेनी खोलामा मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा नौ जना घाइते भएका छन् ।
    बर्दगोरिया गाउँपालिका–४ बाट चिसापानीतर्फ गइरहेको सुदूरपश्चिम प्रदेश ०१००२ त ४९५१ नं को ट्याक्टर आज दुर्घटना भएको हो ।

    दुर्घटनामा परी बर्दगोरिया गाउँपालिका–४ का ६४ वर्षीय दानबहादुर साउद, ३४ वर्षीय हर्क साउद र १६ वर्षीय शीतल साउदको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक लोकेन्द्रबहादुर सिंहले जानकारी दिए ।

    दुर्घटनाका घाइतेलाई स्थानीय र प्रहरीको सहयोगमा उद्धार गरी लम्कीस्थित लालरत्न अस्पताल पठाइएको प्रहरीले जनाएको छ । घाइतेबारे थप विवरण आउन बाँकी छ ।
    ट्याक्टर अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरी निरीक्षक सिंहले जानकारी दिए ।