Blog

  • राजदूत फिर्ता बोलाउने विषयमा १४ गते सुनुवाइ हुने

    राजदूत फिर्ता बोलाउने विषयमा १४ गते सुनुवाइ हुने

    काठमाडौँ, ९ कात्तिकः 
    राजदूतहरू फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदनमा यही कात्तिक १४ गते सुनुवाइ हुने भएको छ ।

    न्यायाधीश विनोद शर्माको एकल इजलासले आज लिखित जवाफ माग गर्दै यही कात्तिक १४ गते अन्तरिम आदेश दिने वा नदिने विषयमा दुवै पक्षसँग छलफलका लागि पेसी तोकेको हो ।

    अधिवक्ता प्रतिभा उप्रेतीले यही कात्तिक २ गते प्रतिनिधिसभा विघटन भएको अवस्थामा संसदीय सुनुवाइ हुन सक्ने कुनै गुञ्जायस नै नभएको अवस्थामा राजदूत नियुक्ति संविधानतः हुन सक्ने अवस्था नै नभएकाले राजदूत फिर्ता बोलाउने सरकारको निर्णय गैरकानुनी भएको उल्लेख गर्दै उक्त निर्णय बदरको माग गर्दै रिट निवेदन दायर गर्नुभएको थियो ।

    अदालतको आदेशमा भनिएको छ, “यसमा के कसो भएको हो ? निवेदकको मागबमोजिमको आदेश किन जारी हुनु नपर्ने हो ? आदेश जारी हुनु नपर्ने भए सोको आधार कारणसहित यो आदेश प्राप्त भएका मितिले बाटोको म्यादबाहेक १५ (पन्ध्र) दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखितजवाफ लिई आउनुहोला ।”

    सरकारले गत असोज ३० गते कात्तिक २० गतेभित्र ११ जना राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । फिर्ता बोलाइएका राजदूतमा चीनका प्राडा कृष्णप्रसाद ओली, जर्मनीका डा शैल रुपाखेती, इजरायलका प्रा धनप्रसाद पण्डित, मलेसियाका डा नेत्रप्रसाद तिमल्सिना, कतारका रमेशचन्द्र पौडेल, रुसका जङ्गबहादुर चौहान, साउदी अरबका नरेश विक्रम  ढकाल, स्पेनका सनिल नेपाल, संयुक्त अधिराज्य बेलायतका चन्द्रकुमार घिमिरे, संयुक्त राज्य अमेरिकाका लोकदर्शन रेग्मी र जापानका डा दुर्गाबहादुर सुवेदी रहनुभएको छ ।

  • आँबुखैरेनी मुग्लिन सडक सोमबार राति दुई घण्टा बन्द हुने

    आँबुखैरेनी मुग्लिन सडक सोमबार राति दुई घण्टा बन्द हुने

    दमौली (तनहुँ), ९ कात्तिकः 
    पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी मुग्लिन सडकखण्ड सोमबार राति दुई घण्टा पूर्ण रूपमा बन्द हुने भएको छ ।

    आँबुखैरेनी गाउँपालिका–४ साँखरमा भूकम्प प्रतिरोधकता परीक्षणका लागि राति १२ देखि २ बजेसम्म उक्त खण्ड पूर्ण रूपमा बन्द हुने जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ ।

    साँखरमा पहिरो नियन्त्रणका लागि भूकम्प प्रतिरोधकता परीक्षण अध्ययन गर्नुपर्ने भएकाले सडक बन्द गरिने कार्यालयका प्रशासकीय अधिकृत सिर्जना रेग्मीले जानकारी दिनुभयो ।

    गत असोज १८ गते सडक भासिएको उक्त खण्ड हाल एकतर्फी रूपमा सञ्चालन भइरहेको छ । यसअघि विसं २०७९ जेठ २७ गते सोही ठाउँमा सडक भासिएपछि भित्ता काटेर मस्र्याङ्दी नदीतर्फबाट पर्खाल उठाइएको थियो । सोही ठाउँमा पुनः सडक भासिएको हो ।

  • राजदूत फिर्ताको कारण पेश गर्न सरकारलाई सर्वोच्चको आदेश

    राजदूत फिर्ताको कारण पेश गर्न सरकारलाई सर्वोच्चको आदेश

    काठमाडौँ, ९ कात्तिकः
    सर्वोच्च अदालतले ११ देशका राजदूतहरू फिर्ता गर्नुको कारण पेश गर्न आदेश जारी गरेको छ ।

    अदालतले सरकारका नाममा आदेश जारी गर्दै सरकारलाई अदालत उपस्थित भई फिर्ता गर्नुको कारण पेश गर्न आदेश दिएको हो।

    न्यायाधीश विनोद शर्माको एकल इजलासले सरकारलाई राजदूत फिर्ताको विषयमा अन्तरिम आदेशबारे सुनुवाइका लागि १४ गते अदालत उपस्थित गराउन आदेश दिएका छन् ।

  • पुल मर्मत नहुँदा सर्वसाधारणलाई सास्ती

    पुल मर्मत नहुँदा सर्वसाधारणलाई सास्ती

    ओखलढुङ्गा, कात्तिक ९-
    यहाँ सेप्ली झरना जाने झोलुङ्गे पुलमा माथिबाट खसेको ढुङ्गाले क्षति पुर्‍याउँदा पर्यटक तथा सर्वसाधारणलाई आवागमनमा सास्ती भएको छ । तीन महिनाअघि माथिबाट खसेको ढुङ्गाले पुलको बीच भागमा क्षति पुर्‍याएको थियो । उक्त पुल मर्मत नहुँदा चाडपर्वका बेलामा झरना हेर्न आउने आन्तरिक तथा बाह्य पर्यटकका साथै सर्वसाधरणलाई आवतजावतमा समस्या भएको हो ।

    दसैँ, दीपावलीलगायत पर्व मनाउन गाउँ फर्किएका अधिकांश मोलुङ गाउँपालिका-८ स्थित सुन्दर पर्यटकीयस्थल सेप्ली झरना घुम्न आउने गर्दछन् । अन्य समयमा छिटफुट मानिस आउने गरे पनि चाडपर्वको समयमा यहाँ आउने आन्तरिक पर्यटकको सङ्ख्या उल्लेख्य हुने स्थानीय बताउँछन् ।

    पर्यटकीय पूर्वाधार विकास योजनाअनुसार झरनालाई नजिकबाट नियाल्न गत वर्ष निर्माण गरिएको पुल यसै वर्ष क्षति भएपछि समस्या भएको स्थानीय दीपक राईले बताउनुभयो । लामो समय मर्मत नगरिँदा जोखिम बढेको भन्दै उहाँले बालबालिका र वृद्धवृद्धा खोला पार गर्न नसक्ने हुँदा क्षतिग्रस्त पुलबाट जोखिम मोलेर वारपार गर्नुपरेको उल्लेख गर्नुभयो ।

    मोलुङ-८ की आशा राईले यस वर्ष पुल क्षतिग्रस्त भएपछि उक्त क्षेत्रमा यात्रा गर्न जोखिमपूर्ण रहेको भन्ने सूचना प्रवाह हुँदा विगतको तुलनामा सेप्ली आउने पर्यटकको सङ्ख्या घटेको बताउनुभयो । नजिकैसम्म यतायातको पहुँच भए पनि वर्षामा अवरुद्ध भएको सडक स्तरोन्नति नगरिँदा सवारीमा सेप्ली जाने पर्यटकलाई समस्या हुने गरेको उहाँको भनाइ छ ।

    झोलुङ्गे पुलमा परेको प्वालका कारण जोखिम बढिरहेको अवस्थामा तत्काल मर्मत नगरिएको भन्दै स्थानीयले जनप्रतिनिधिको आलोचना गरिरहेका छन् । मोलुङ-८ का वडाध्यक्ष सुधीर राईले वर्षायाममा सडक अवरुद्ध भएको बताउँदै मर्मतका लागि आवश्यक सामग्री पुलसम्म पु¥याउन नसक्दा काम अघि बढ्न नसकेको जनाउनुभयो । केही दिनमा सडक सञ्चालन भएपछि पुल मर्मत सुरु गर्ने तयारी भइरहेको उहाँले उल्लेख गर्नुभयो ।

    सुन्दर र आकर्षक भएकाले सेप्ली झरना जिल्लाको एक आन्तरिक पर्यटकीय गन्तव्यका रूपमा विकास भएको छ । मोलुङ गाउँपालिकाको प्रमुख पर्यटकीय गन्तव्य भए पनि आवश्यक पूर्वाधार विकास र प्रचारप्रसार हुन नसक्दा सेप्ली ओझेलमा छ । ओखलढुङ्गाका पोकली, रातमाटे र सेप्लीलगायत चर्चित झरनामा असोज, कात्तिकको समयमा आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । रासस

  • चितवनमा भूमिगत विद्युतीकरण ६५ प्रतिशत पूरा

    चितवनमा भूमिगत विद्युतीकरण ६५ प्रतिशत पूरा

    चितवन, कात्तिक ९-
    भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरण हालसम्म ६५ प्रतिशत पूरा भएको छ । आगामी चार महिनाभित्र भूमिगत विद्युतीकरण गरिसक्ने उद्देश्यले छठपश्चात् कामलाई तीव्रता दिइएको हो ।

    नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले भूमिगत विद्युतीकरण गरिरहेको छ । अहिले ६५ प्रतिशत क्षेत्रमा तार बिछ्याइएको आयोजनाका प्रमुख इञ्जिनियर आनन्द सुवेदीले जानकारी दिनुभयो । यो सकिएसँगै घरमा विद्युत् जोड्ने छौँ । “ठेकेदार कम्पनीले छठलगत्तै तीव्रता दिएमा भरतपुरतर्फको काम शीघ्र सकिनेछ ।”

    यहाँको काम ७५ प्रतिशत पूरा भएको जनाउँदै इञ्जिनियर सुवेदीले पाइप जडान, डिभाइस जडान, फाउण्डेसन निर्माणलगायत सकिएको बताउनुभयो । उहाँका अनुसार भरतपुर र पोखराको काम सक्न समय थपगरी सन् २०२६ जुलाईसम्म पु¥याइएको छ । तेस्रो पटक असोज अन्तिमसाता समय थप गरिएको जनाउँदै उहाँले पोखरामा विद्युत् भूमिगतको काम ६० प्रतिशत पूरा भएको बताउनुभयो ।

    केन्द्रीय बस ट्रमिनलबाट गोन्द्राङसम्मको सडकमा पहिला ३३ केभिए लाइन मात्रै भूमिगत गर्ने भनिएकामा अहिले थपगरी ११ केभिए र ४०० भोल्टको लाइनलाई भूमिगत गर्न थालिएको आयोजनाका प्रमुख इञ्जिनियर सुवेदीले जानकारी दिनुभयो ।

    पछिल्लो सम्झौताअनुसार भरतपुर महानगरपालिकाभित्र लाइन जडानका लागि भरतपुर महानगरको मुख्य सहरी क्षेत्रमा भूमिगतमार्फत काम गर्दै लगिएको छ । आयोजना प्रमुख इञ्जिनियर सुवेदीका अनुसार महानगरभित्र विद्युतीय तार भूमिगत गर्न रु एक अर्ब ४० करोड लागत अनुमान गरिएको छ । सुरुआती समयमा रु एक अर्ब ३० करोड बजेट बिवनयोजन गरिएको थियो ।

    निर्माणको ठेक्का भारतको टाटा प्रोजेक्ट लिमिटेडले पाएको थियो । सन् २०२१ अक्टोबरदेखि ठेक्का सम्झौता गरी काम सुरु गरिएको हो । ठेक्का सम्झौताअनुसार पहिलो चरणको समय सन् २०२४ को जनावरी २० मा सकिएसँगै पटकपटक म्याद थप गरेर कामलाई अघि बढाइएको आयोजना कार्यालयले जनाएको छ । एसियाली विकास बैंकको सहयोगमा प्राधिकरणले उक्त आयोजना अघि बढाएको हो । रासस

  • चौतर्फी आलोचनापछि मन्त्रीको सूचीबाट काटियो खगेन्द्र सुनारको नाम

    चौतर्फी आलोचनापछि मन्त्रीको सूचीबाट काटियो खगेन्द्र सुनारको नाम

    ९ कात्तिक, काठमाडौं ।
    चौतर्फी आलोचना श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री सिफारिस भएका खगेन्द्र सुनारको नाम मन्त्री बन्ने सूचीबाट काटिएको छ ।

    स्रोतका अनुसार, उनलाई अहिले तत्काल मन्त्री नबनाउने निर्णयमा प्रधानमन्त्री सुशीला कार्की पुगेकी हुन् ।

    आजै दिउँसो साढे २ बजेका लागि मन्त्रीहरूको शपथ हुँदैछ । आजैमात्र प्रधानमन्त्री कार्कीले सुनारसहित अन्य तीन जनालाई मन्त्री बनाउन सिफारिस गरेकी थिइन् ।

    तर, सुनारविरुद्ध विभिन्न अभियोगमा मुद्दा दर्ता भएका र उनी प्रहरीको फरार सूचीमा रहेको देखिएको थियो ।

    उनीविरुद्ध सामाजिक सञ्जालमा चौतर्फी आलोचना भएको थियो ।

    विवादित छवि भएका सुनारलाई मन्त्री बनाउँदा हुनसक्ने सम्भावित समस्यालाई ध्यानमा राख्दै उनको नाम काटिएको प्रधानमन्त्री निकट स्रोतले बतायो ।

    त्यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा सिफारिस भएका गणपतिलाल श्रेष्ठको पनि शपथ नहुने भएको छ । उनको के कारणले शपथ रोकिएको भन्ने बताइएको छैन ।

    श्रेष्ठको पछि मन्त्रालय हेरफेर भएको थियो ।

    डा. सुधा शर्मा गौतम, र बब्लु गुप्ताले भने आजै शपथ लिँदैछन् । गौतमलाई स्वास्थ्य तथा जनसंख्या, गुप्तालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

  • दूध प्रशोधन गर्दै चितवन दुग्ध उत्पादक सहकारी सङ्घ

    दूध प्रशोधन गर्दै चितवन दुग्ध उत्पादक सहकारी सङ्घ

    चितवन,कात्तिक ९-
    जिल्लाका दुग्ध उत्पादक सहकारी सङ्घको छाता संस्था चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घले आफैँले दूध प्रशोधन सुरु गरेको छ । सङ्घले रत्ननगर नगरपालिका–५ झुवानीमा गौरीधारा डेरी उद्योग भाडामा लिएर अस्थायी रुपमा दूध प्रशोधन सुरु गरेको जनाएको छ ।

    सङ्घले स्थायी रुपमा दूध प्रशोधनका लागि भने भरतपुर महानगरपालिका–१५ फूलबारीमा पाँच कट्ठा जग्गासमेत खरिद भइसकेको जनाएको छ । उक्त जग्गामा उद्योग सञ्चालनका लागि बागमती प्रदेश सरकारबाट रु ५० लाख विनियोजन भइसकेको सङ्घका जिल्ला अध्यक्ष किशोर बगालेले जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो, “अहिले अस्थायी रुपमा झुवानीमा दूध प्रशोधन सुरु भइसकेको छ, अहिले दूधका साथै घिउ, नौनी, पनिर, खुवा, दही, मोही उत्पादन सुरु भएको छ ।” उहाँका अनुसार हाल उक्त प्लान्टमा दैनिक एक हजार लिटर दूधसम्म प्रशोधन गर्न सकिन्छ ।

    फूलबारीमा आफ्नै प्लान्ट स्थापना भएपछि भने दैनिक दुई हजार लिटरसम्म दूध प्रशोधन गर्न सकिने उहाँको भनाइ छ । भविष्यमा उद्योगको क्षमता बढाएर दैनिक १५ हजार लिटरसम्म दूध प्रशोधन गरिने सङ्घको लक्ष्य छ । “भविष्यमा आइसक्रिम, चकलेटलगायत पनि उत्पादन गर्ने लक्ष्यका साथ प्लान्ट स्थापना हुनेछ”, उहाँले भन्नुभयो ।

    सङ्घका अनुसार जिल्लामा दैनिक तीन लाख ५० हजार लिटर दूध उत्पादन हुने गर्दछ । जसमध्ये एक लाख ५० हजार लिटर दूध बजारमा बिक्री हुँदै आएको छ । चितवनमा उत्पादन हुने दूध काठमाडौँ, पोखरा, हेटौँडालगायत सहरमा पुग्छ । जिल्लाका ११५ वटा सहकारीले दूध सङ्कलन हुने गर्दछ । ती सहकारीमा ४० हजारभन्दा बढी किसान आबद्ध छन् । रासस

  • थाई एयर एसियाले भैरहवाबाट थाल्यो पुनः उडान

    थाई एयर एसियाले भैरहवाबाट थाल्यो पुनः उडान

    भैरहवा, कात्तिक ९-
    भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट थाई एयर एसियाले आजदेखि पुनः उडान थालेको छ । थाइ एयर एसियाले बैंकक–भैरहवा–बैंकक सातामा दुई उडान गर्ने गरी पुनः उडान सुरु गरेको हो ।

    विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीका अनुसार थाइ एयर एसियाले अब आइतबार र बुधबार यहाँ नियमित उडान गर्ने गरी कम्पनीले उडान तालिका स्वीकृत गराएको थियो ।

    अहिले भैरहवामा नियमित उडान गर्ने कम्पनीमा थाई एयर एसिया एक्लो कम्पनी बनेको छ ।

  • म आन्दोलनमा गएँ, ढुंगा हानिनँ, आगो बालिनँः नेता कार्की

    म आन्दोलनमा गएँ, ढुंगा हानिनँ, आगो बालिनँः नेता कार्की

    काठमाडौँ, कात्तिक ९-
    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता गणेश कार्कीले जेन(जी प्रदर्शनमा आफ्नो सहभागि भएको बताएका छन् । उनले सामाजिक सञ्जालमा प्रदर्शनमा आफ्नो सहभागिता स्वीकार्दै तत्कालिन केपी शर्मा ओली सरकारको कुशासन र दमनविरुद्ध आन्दोलनमा उभिएको बताएका छन्।

    उनले लेखेका छन्, ‘अँ, म आन्दोलनमा गएकै हो। ओली सरकारले शासनभरि नागरिकको अपमान गरेर, २३ गते शान्तिपूर्ण आन्दोलन गर्नेहरूमाथि गोली बर्षाएर मनमा आगो भरेकै हो। २३ गते त्यस्तरी मान्छे नढलाएको भए २४ गते त्यसरी आउने थिएन। त्यो आगोको जिम्मा ओली सरकार र तिनका मतियारहरूको हो।’

    उनले थपे, ‘जसले मान्छेको ज्यानभन्दा इँटाको धुलो र काठको खरानी ठूलो देख्दै छन्, र आन्दोलनमा जानेहरूलाई खलनायक भन्दै छन्, पढ्नुहोला, हो, म आन्दोलनमा गएकै हो। कुशासन मच्चाउने, नागरिकलाई छुसी जति पनि नसोच्ने सरकारको विरोध गरेकै हो।’

    नेता कार्कीको स्टाटस नस्ताको त्यस्तैः

    अँ, म आन्दोलनमा गएकै हो । ओली सरकारले शासनभरि नागरिकको अपमान गरेर, २३ गते शान्तिपुर्ण आन्दोलन गर्नेहरूमाथि गोली बर्षाएर मनमा आगो भरेकै हो । २३ गते त्यस्तरी मान्छे नढलाएको भए २४ गते त्यसरी आउने थिएन । त्यो आगोको जिम्मा ओली सरकार र तिनका मतियारहरूको हो ।
    अनि जसले मान्छेको ज्यान भन्दा इटाको धुलो र काठको खरानी ठुलो देख्दै हुनुहुन्छ, र आन्दोलनमा जानेहरूलाई खलनायक भन्दै हुनुहुन्छ, पढ्नुहोला, हो, म आन्दोलनमा गएकै हो । कुशासन मच्चाउने, नागरिकलाई छुसी जति पनि नसोच्ने सरकारको विरोध गरेकै हो ।
    अनि, नागरिकलाई मान्छे नगन्नेहरू सत्तामा रहुन्जेल, तिनको वरिपरि घुमेर सत्ताको स्वाद चाख्दै तिनलाई उचाल्नेहरू रहुन्जेल, मान्छे ढाल्दै कुर्सीमा टाँसिए पनि कोही सुरक्षित नहुने रैछ भनेर २४ गतेको आगोले देखाएकै हो ।
    मैले कतै ढुंगा हानिन, कतै आगो बोकिन, आगो लागेको कुनै स्थानको कम्पाउन्डमा पनि म थिइन तर म सहभागी भएको आन्दोलनमा सरकारी दमनमा परेर होस् कि जलेर होस्, मान्छे मरेकोमा जीवनभर दुख लागिरहने छ । उनीहरूले र उनीहरूका परिवारले न्याय पाउन् ।

  • चितवनमा एघार भारतीयसहित १३९ कैदीबन्दी फर्किएनन्

    चितवनमा एघार भारतीयसहित १३९ कैदीबन्दी फर्किएनन्

    चितवन, कात्तिक ९-
    जिल्ला कारागारबाट भागेका कैदीबन्दीमध्ये ११ भारतीय नागरिकसहित १३९ जना अझै फर्किएका छैनन् । उनीहरुसहित दुई बालबालिकासमेत सम्पर्कमा आएका छैनन् ।

    यस कारागारबाट गत भदौ २५ गते चार नाबालकसहित ७४३ कैदीबन्दी भागेका थिए । तीमध्ये ५९१ जना यहाँ फर्किएका छन् भने नौ जना अन्य कारागारमा पुगेका छन् । उनीहरुसहित दुई बालबालिकासमेत सम्पर्कमा आएको कार्यालयका प्रमुख रवीन्द्रप्रसाद ढुङ्गानाले जानकारी दिनुभयो ।

    यसअघि सम्पर्कमा आएकासमेत सम्पर्कविहीन भएका हुन । सम्पर्कविहीन भएकाहरुको सम्पर्क ठेगानासहित सम्बन्धित प्रहरी एकाइहरुमा पत्राचार गरिएको ढुङ्गानाले जानकारी दिनुभयो । यसरी सम्पर्कविहीन भएकाहरुमा धेरै लागुऔषध र जबरर्जस्ती करणीका रहेको उहाँले जानकारी दिनुभयो । फरार भएकामध्ये दुर्लभ एक सिङ्गे गैंँडा चोरी सिकारीसमेत रहेका छन् ।

    कारागार कार्यालयले गत असोज २० गतेसम्म कारागार कार्यालयको सम्पर्कमा आउनका लागि आग्रह गरेको थियो । कारागारले तोकेको समयसम्म सम्पर्कमा नआएमा कारागार ऐन २०७९ र प्रचलित कानुनअनुसार कारबाही गरिने जनाएको थियो । फरार रहेका कैदीबन्दीलाई लुकाउने, आश्रय दिने गरेको पाइएमा आश्रय दिने व्यक्तिलाईसमेत कसुरदार ठानी कारबाही गरिने उहाँले बताउनुभयो । अरु नवलपरासी (वर्दघाट–सुस्ता) पूर्वसहित अन्य जिल्लाका रहेका छन् ।

    हाल फर्किएकामध्ये ६२ जनालाई प्रहरीले विभिन्न स्थानबाट पक्राउ गरी कारागारमा बुझाएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीले सबै एकाइमार्फत फरार कैदीबन्दीको खोजी भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “फरार व्यक्ति पक्राउ गर्न सबैको साथ र सहयोग आवश्यक छ ।” रासस