Blog

  • दुर्गा प्रसाईं भन्छन्– सुध्रिन तयार छु, देश छाडेर जा भने पनि रेडी

    दुर्गा प्रसाईं भन्छन्– सुध्रिन तयार छु, देश छाडेर जा भने पनि रेडी

    काठमाडौं,कात्तिक ९-
    ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान’ मार्फत् राजसंस्था पुनर्स्थापनाको पक्षमा उभिएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफू सुध्रिन तयार भएको बताएका छन् । देश छोडेर जान भनियो भने पनि त्यसका लागि तयार भएको उनले बताए ।

    आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रसाईंले भने, ‘तपाईंहरुले भन्नुहुन्छ, दुर्गा तँ देश छोडेर जा, तेरो कारणले यो सबै बिग्रियो भन्नुहुन्छ भने पनि म रेडी, म जान तयार । म जान्छु । मलाई लोभ छैन । मलाई केही चाहिँदैन ।’

    आफू २०५७ सालदेखि नेकपा माओवादी हुँदै एमाले र अहिले यहाँसम्म आइपुगेको चर्चा गर्दै उनले जानेर नजानेर जेजे गरे पनि अब सुध्रिएर देश बनाउन लाग्नुपर्ने बताए ।

    ‘ल हिजो जे भयो–भयो, आफैंले बाटो बिर्सियौं । सबैले भुल्यौं । अब त कमसेकम देश जोगाउने, त्यो भुंग्रोमा गएको छ नि नेपाल, त्यसलाई उठाएर कमसेकम न्यानो ठाउँमा लैजाऔं,’ उनले भने, ‘मान्छेले न्यानोपन खोजेको छ । अब यसमा सुध्रिन पर्नेछ ।’

    आफू ‘रेण्डम टाइपको मान्छे’ भएको भन्दै उनले आफ्नोबारे मूलधारका मिडियाले कहिल्यै राम्रो नलेखेको गुनासो गरे । ‘जानेर यहाँ आएँ, नजानेर यहाँ आएँ । तपाईंहरुले गाली गर्दैगर्दा पनि यहाँ आएँ,’ सम्पादकहरु समेत सहभागी कार्यक्रममा प्रसाईंले भने, ‘तपाईंहरुसँग लडेर आएको हो नि त । मेन स्ट्रिमको मिडियाले त मलाई कहिल्यै राम्रो लेखेन नि, कहिल्यै लेखेन जीवनमा । मेरो नराम्रो लेख्यो, राम्रो कहिल्यै लेखेन ।’

    राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक दुर्गा प्रसाईंले गत चैत १५ गते राजसंस्था पुनर्स्थापनाको पक्षमा भन्दै काठमाडौंको तिनकुनेमा गरेको प्रदर्शन हिंसात्मक भएको थियो । त्यसपछि भागेर भारत पुगेका उनलाई प्रहरीले पक्रेर ल्याएको थियो ।

    सो घटनापछि जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाए पनि उनलाई उच्च अदालतले छाड्ने आदेश दिएको थियो । अहिले उनले कात्तिक १५ पछि पुन: प्रदर्शन गर्ने घोषणा गरेका छन् । तर गृह मन्त्रालयले प्रदर्शन नगर्न आह्वान गर्दै दुर्गा प्रसाईंलाई वार्तामा बोलाएको छ ।

    गृह मन्त्रालयले वार्तामा बोलाएको भोलिपल्ट पत्रकार भेटघाट गर्दै प्रसाईंले आइतबार सामाजिक सञ्जाल फेसबुकबाट प्रसाईंले वार्तामा बोलाएर जनताको आवाज सुन्ने प्रयास गरेको भन्दै सरकारी कदमको स्वागत गरे ।

  • आज ११ हजार ६०० ले घट्यो सुनको मूल्य

    आज ११ हजार ६०० ले घट्यो सुनको मूल्य

    काठमाडौं, कात्तिक ९-
    अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्य घटेसँगै स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको छ ।

    आज सुनको मूल्य तोलामा रु दुई लाख ४१ हजार ९०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु तीन हजार १५ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    तिहारपछि सुनको मूल्य तोलामा रु ११ हजार ६०० र चाँदी तोलामा रु दुई सय ६५ ले घटेको हो । कात्तिक ३ गते सुन प्रतितोला रु दुई लाख ५३ हजार ५०० र त्यति नै तौलको चाँदी रु तीन हजार २८० मा कारोबार भएको थियो ।

    अन्तरराष्ट्रिय बजारमा आज प्रतिऔँस सुन चार हजार ११३ अमेरिकी डलर र चाँदी ४८ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । रासस

  • माटोका भाँडाकुँडा खर्च कटाएर मासिक एक लाख बढी आम्दानी

    माटोका भाँडाकुँडा खर्च कटाएर मासिक एक लाख बढी आम्दानी

    धरान (सुनसरी), कात्तिक ९-
    इटहरी उपमहानगरपालिका–६ का सुरज पण्डित माटोका भाँडाकुँडा बनाएर आत्मनिर्भर बन्नुभएको छ । उहाँले माटोका भाँडाकुँडा बिक्री गरेरै मनग्य आम्दानी गर्दै आउनुभएको छ ।

    पछिल्लो समय गाउँघरदेखि सहरबजारसम्म माटोका भाँडाकुँडाको प्रयोग घट्दै गए पनि यो पुख्र्यौली पेसा भएकाले पण्डितले यसलाई मुख्य आम्दानीको स्रोत बनाई निरन्तरता दिइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी सबै परिवार यही माटोको भाँडाकुँडा बनाउँछौँ । हाम्रा जिजुबाजेले पनि यही काम गर्दै आउनुभएको थियो । हामीले यसैलाई निरन्तरता दिएका हौँ । हाम्रो परिवारको मुख्य आम्दानीको स्रोत यही हो र यसबाटै घर खर्च चलाउँदै आएका छौँ ।”

    पण्डितको इनरुवामा माटोको भाँडा बनाउने आरन छ । त्यहाँ बनाइएका भाँडाकुँडा इटहरीमा ल्याएर बिक्री गर्ने गर्नुहुन्छ । व्यापारी आरनमै पुगेर पनि माटोका भाँडाकुँडा खरिद गर्ने गरेको उहाँले बताउनुभयो । जस्तो पायो त्यस्तो माटोले भाँडा बन्दैन । नजिकै राम्रो माटो पाउन गाह्रो छ । पहिले विराटनगर, बर्जुताल क्षेत्रबाट माटो ल्याइन्थ्यो भने अहिले सुनसरी र मोरङका विभिन्न ठाउँमा गएर माटो खरिद गरेर ल्याउने गरेको पण्डितले बताउनुभयो ।

    एक ट्रयाक्टर माटोको मूल्य रु १२ हजारदेखि रु १८ हजारसम्म पर्छ । एक ट्रयाक्टर माटोले करिब रु एक लाख ५० हजार मूल्यबराबरका भाँडाकुँडा बनाउन सकिन्छ । सबै खर्च कटाएर पनि मासिक रु एक लाख बढी आम्दानी हुने गरेको उहाँले बताउनुभयो । हाल बजारमा प्लास्टिकका सामानको प्रयोग बढे पनि माटोका भाँडाकुँडाको माग अझै पनि उच्च छ । व्यापारीले कारखानामै आएर सामान खरिद गर्ने र पसलमार्फत पनि उति नै बिक्री हुने गरेको पण्डितले बताउनुभयो । झापा, मोरङ, पाँचथर, इलाम, खादबारी, फिदिम, धनकुटा र भोजपुरसम्मका ग्राहकले सामान माग गर्ने गरेका पण्डितको भनाइ छ ।

    पण्डितले हाल एक सयभन्दा बढी प्रकारका माटोका सामान बनाउने गर्नुहुन्छ । यसमा रक्सी बनाउने पैनि, गमला, गाग्रो, पाला, कलश, दियो, फूलदानी, दही जमाउने भाँडा, फिल्टर, खुत्रुके, गिलासलगायत सामग्री छन् । “बनाएका सामान बिक्री नहुने चिन्ता हुँदैन । दैनिक कम बिक्री भए पनि सिजनमा राम्रो बिक्री हुन्छ । पहिले सामान बोकेर गाउँगाउँ घुमेर बेच्नुपथ्र्यो, अहिले त्यस्तो अवस्था छैन”, उहाँले भन्नुभयो ।

    पण्डितका अनुसार हाल पसलमा रु दुई हजारदेखि रु आठ हजारसम्मका सामान बिक्री हुने गरेको छ । तन्दुरी रोटी बनाउने भाँडा रु पाँच हजारदेखि रु आठ हजार, रक्सी पार्ने पैनि रु ६ सयदेखि रु दुई हजार, गमला रु ३० देखि रु आठ सय, दियो रु दुईदेखि रु ३० र विभिन्न साना सामान दर्जनका हिसाबले बिक्री हुने गरेको उहाँले बताउनुभयो ।

    पण्डितले भन्नुभयो, “अहिले छठमा बिक्री बढेको छ । अरु बेला रु एक लाख बढी आम्दानी हुन्छ भने चाडपर्व सुरु भएसँगै मासिक रु एक लाख ७० हजारदेखि रु एक लाख ८० हजारसम्म कमाइ हुन्छ ।”

    रामधुनी नगरपालिका–१ झुम्काका व्यापारी नवराज शाहले माटोका भाँडा बनाउने परम्परा घट्दै गएको र यसको संरक्षण तथा प्रवर्द्धन आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “माटोका भाँडा जन्मदेखि मृत्युसम्म आवश्यक पर्छ । मैले चार वर्षदेखि यो व्यापार थालेको छु । अहिले छठ पूजा सुरु भएकाले दियो र कलशको माग अत्यधिक छ । मैले इनरुवा, विराटनगर र भारतबाट सामान खरिद गरी बिक्री गर्दा मासिक रु ४० हजारदेखि रु ५० हजारसम्म आम्दानी हुन्छ ।”

    अहिले पण्डित र शाहजस्ता धेरै कुम्हारहरूले पुख्र्यौली र परम्परागत पेसालाई संरक्षण गर्दै आधुनिक बजारसँग जोडेर आम्दानी र पेसाको निरन्तरता सुनिश्चित गरिरहेका छन् । रासस

  • योद्धा गाडी पल्टिँदा दुईजना घाइते

    योद्धा गाडी पल्टिँदा दुईजना घाइते

    कार्तिक ९,चितवन ।
    रत्ननगरस्थित पूर्व–पश्चिम राजमार्गको साबित्री पेट्रोल पम्पअगाडि सवारी दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। पूर्व–पश्चिम राजमार्गअन्तर्गत खैरहनीबाट टाँडीतर्फ आउँदै गरेको बा.प्र.२–०३–००१ च ०७७६ नम्बरको योद्धा गाडी अनियन्त्रित भई दुर्घटना हुँदा गाडी चालक हाल बतन नखुलेका वर्ष अन्दाजी २२ वर्षका सुरज दाहाल र सोही गाडीमा सवार बारा जिल्ला घर भएका वर्ष १४ का रविन क्षेत्री घाइते भएका वागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

    आइतबार बिहान करिब पौने पाँच बजे भएको दुर्घटनामा घाइते भएका चालक सुरज दाहालको टाउकोमा चोट लागेको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। यात्रुको रुपमा सवार रविन क्षेत्रीको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ । घाइते दुवैजनालाई उपचारको लागि भरतपुरस्थित चितवन मेडिकल कलेज ल्याइएको छ।

    परालको टेलरबाट लड्दा एकजना घाइते
    ट्याक्टरको टेलरमा पराल लोड गरी डोरी मिलाउने क्रममा लडेर एक जना घाइते भएका छन्। शनिबार साँझ करिब ७ बजेको समयमा रत्ननगर नगरपालिका वडा नं.१२ स्थित जमुनापुरचोकबाट घोलचोकतर्फ जाँदै गरेको ना ३ त ५७७६ नम्बरको ट्याक्टरमा डोरी मिलाउने क्रममा लड्दा घोलचोकका स्थानीय वर्ष ५२ का गिरिराज केसी घाइते भएका वागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

    घाइतेको अहिले भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

  • कोशी र गण्डकीमा हल्का वर्षासहित हिमपातको सम्भावना

    कोशी र गण्डकीमा हल्का वर्षासहित हिमपातको सम्भावना

    काठमाडौं कार्तिक ९
    जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।

    हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव भने छैन । आइतबार बिहान देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ ।

    आज दिउँसो कोशी, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।

    महाशाखाका अनुसार राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने

  • छठको दोस्रो दिन आज ‘खरना’

    छठको दोस्रो दिन आज ‘खरना’

    महोत्तरी कार्तिक ९
    छठपर्वको दोस्रो दिन बर्तालु ‘खरना’ विधिका तयारीमा गर्दैछन् । शनिबार कात्तिक शुक्ल चतुर्थी तिथिका दिन ‘नहाय–खाय’ विधिबाट पर्व सुरु गरेका बर्तालु आज पञ्चमी तिथिका दिन ‘खरना’को तयारीमा लागेका हुन् ।

    बर्तालुले सूर्योदयपूर्व पवित्र स्नान गरी दिनभरि निराहार उपवास (व्रत) बसेर राति सक्खरमा पकाइएको खिर कूलदेवता र छठी देवीलाई चढाउने यहाँ परम्परा रही आएको छ । दिनभरिको निराहार उपवास गरेका बर्तालुले कूलदेवता र छठी देवीलाई चढाएको खिर प्रसादस्वरुप खाने चलन छ । यो विधिलाई मिथिलामा ‘खरना’ भनिन्छ । मधेसको महोत्तरीसहितका विभिन्न जिल्लामा छठ लोकआस्थाको महापर्व मानिँदै आइएको छ ।

    छठ महापर्वको पहिलो दिन अर्थात् कात्तिक शुक्ल चौथीका दिन बर्तालुले आत्मशुद्धिका लागि उसिना चामल, लसुन/प्याज, कोदो, मुसुरोसहितका धार्मिक अनुष्ठानमा अशुद्ध मानिने खाद्यपरिकार खादैनन् । मैथिली बोलीचालीमा अर्बा ९नउसिनिएको अन्न० खाइने यो विधिलाई ‘अर्बा–अर्बाइन’ पनि भनिन्छ । ‘नहाय–खाय’ र ‘अर्बा–अर्बाइन’ एकअर्कासँग जोडिएका एकै दिनका विधि हुन् ।

    श्रद्धा, निष्ठा र आत्मशुद्धिलाई निकै ख्याल गरिने छठ पर्वको ‘खरना’ का दिन दिनभरि उपवास बसेर बेलुका चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुल्हो र माटाकै भाँडामा सक्खर, दूध र चामलको खिर पकाई केराको पातमा राखेर छठी मातालाई चढाएर बर्तालु र परिवारका अन्य सदस्यले प्रसादका रूपमा खाने गर्छन् । आज दिनभरि उपवास गर्ने बर्तालुले आज सूर्यास्तपछि चन्द्रदर्शनपछि यो विधि सम्पन्न गर्नेछन् । ‘खरना’लाई स्वधर्म र आत्मसंरक्षण तथा पापको नाशको भावमा लिने गरिएको मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठका प्राचार्य हेमनारायण लाल कर्ण बताउछन्।

    पर्वको महत्त्वपूर्ण मानिने निराहार व्रत कात्तिक शुक्ल षष्ठी तिथिमा गरिन्छ । यो मुख्य विधि भोलि सोमबार सम्पन्न गरिने तयारी छ । सूर्य उपासनाको निराहार व्रत बसेर बर्तालुले मनमोहक ढङ्गले सजाइएको जलाशय घाटमा पुगेर स्नानसँगै अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिनेछन् । यसलाई मिथिलामा ‘सझुका अरख’ वा ‘सझियाघाट’ भन्ने गरिएको छ ।

    त्यसैगरी सप्तमीका दिन बिहान बर्तालुले उदाउँदो सूर्यलाई दोस्रो अर्घ्य दिएर पर्व समापन गर्ने मैथिल चलन छ । उदाउँदो सूर्यलाई दिइने अर्घ्यलाई मिथिलामा ‘भोरका अरख’ र ‘पारन’ पनि भनिन्छ । बर्तालुले ‘खरना’ विधिसँगै प्रसादस्वरुप खाएका खिरपछि नै निराहार व्रत सुरु हुन्छ । यो व्रत सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि समापन गरिन्छ ।

    छठ पर्वमा बनाइएका प्रसाद ठकुवा, भुसुवासहितका मिष्टान्न परिकार इष्टजनलाई घरमै बोलाएर ख्वाउने र आफन्त नातेदारकहाँ पुर्याउन जाने मैथिल परम्परा छ । पर्वमा श्रद्धा र निष्ठाको निकै ख्याल गरिन्छ । अर्घ्य दिने पूजा सामग्रीमा बनाइने ठकुवा, भुसुवासहितका मिष्टान्न परिकार ढिकी–जाँतोमा कुटिएको, पिसिएको पीठोबाटै तयार गरिन्छ । पर्वमा अर्घ्य दिने पवित्र जलाशय किनारमा चित्र्ताकर्षक घाट बनाइने र सरसफाइ गरिने कामलाई महत्वका साथ लिने गरिएको छ ।

    केही वर्ष पहिलेसम्म मधेसी मूलका हिन्दूले मात्र मनाउँदै आएका यो पर्व अब पर्वते मूलका हिन्दू र अन्य धर्मावलम्बीले समेत धुमधामसँग मनाउन थालेपछि छठपर्व साझा बन्दै गएको छ । पर्वमा सबै धर्म, संस्कृति र वर्गतप्का सामेल हुने हुनाले यो पर्व मिथिला लोकसंस्कृतिको अभिन्न अङ्ग बनेको रामनन्दन महेन्द्र विश्वेशर क्याम्पस जलेश्वरका प्राचार्य अजयकुमार झाले जाकारी दिए । तस्बिर : दीपेन्द्र शाह
    रासस

  • गौशालाको माछा बजारमा शव फेला

    गौशालाको माछा बजारमा शव फेला

    मटिहानी (महोत्तरी), कात्तिक ८-
    गौशाला बजारमा एक पुरुषको शव बेवारिसे अवस्थामा फेला परेको छ । स्थानीय माछा बजारमा आज बिहान एक २५ वर्षीय युवकको शव फेला परेको हो ।

    शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनास्थल पुगेका प्रहरीले मुचुल्का उठाइ शव परीक्षणका लागि प्रादेशिक अस्पताल जलेश्वर पठाइएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

    प्रारम्भिक अनुसन्धानका क्रममा उक्त शव सर्लाहीको हरिपुर्वा नगरपालिका–९, मिर्चिया बस्ने २५ वर्षीय रामानन्द बैठा रहेको बुझिएको छ । स्थानीयको भनाइअनुसार मृतक बैठा करिब तीन–चार वर्षदेखि गौशालाका विभिन्न होटलमा काम गर्दै जीविकोपार्जन गर्दै आएका थिए । उहाँ केही समय बिरामी रहेको र सोही क्रममा गएराति उहाँको मृत्यु भएको हुनसक्ने स्थानीय बासिन्दाको अनुमान छ । रासस

  • सडकमा प्रदर्शन नगरौँ, सरकार संवादका लागि तयार छः गृहमन्त्री अर्याल

    सडकमा प्रदर्शन नगरौँ, सरकार संवादका लागि तयार छः गृहमन्त्री अर्याल

    काठमाडौँ, कात्तिक ८-
    गृहमन्त्री ओमप्रकाश अर्यालले विभिन्न माग राखेर सडक प्रदर्शनमा रहेका समूहलाई संवादका लागि आग्रह गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सुरक्षा निकायका प्रमुखसहितको छलफलपछि रासससँगको कुराकानीमा उहाँले सरकार संवादका लागि तयार रहेको स्प्ष्ट पार्नुभयो ।

    “राजनीतिक माग सरकारले संवादको माध्यमबाट सम्बोधन गर्छ । संवादमा आउनुपर्यो । संवाद गर्न सरकार तयार छ । सडकमा जानु जरुरी छैन”, गृहमन्त्री अर्यालले भन्नुभयो । लोकतान्त्रिक अधिकार प्रयोग गर्दा अरुको अधिकार हनन् नहुनेतर्फ प्रदर्शनकारी सचेत हुनुपर्ने उहाँको भनाइ छ ।

    “सार्वजनिक र निजी सम्पत्तिमा क्षति पु¥याउनु भएन । कहीँकतै हिंसात्मक गतिविधि हुनु भएन । विभिन्न राजनीतिक शक्ति र आन्दोलनकारीलाई सरकारको अनुरोध हो”, गृहमन्त्रीले भन्नुभयो ।

    बालुवाटार सुरक्षा बैठकमा मुलुकको पछिल्लो सुरक्षा अवस्थाको सुक्ष्म विश्लेषण भएको जानकारी दिँदै उहाँले सुरक्षा स्थितिलाई समान्यीकरण गर्दै चुनावको वातावरण बनाउन सरकार केन्द्रित रहेको बताउनुभयो । रासस

  • गायिका नितु पौडेलको पशुपति आर्यघाटमा अन्त्येष्टि

    गायिका नितु पौडेलको पशुपति आर्यघाटमा अन्त्येष्टि

    ८ कात्तिक, काठमाडौं ।
    गायिका नितु पौडेलको पार्थिव शरीरको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । शनिबार दिउँसो परिवारले उनको शव पोस्टमार्टमपछि अन्त्येष्टि गरेको हो ।

    पौडेलको एक साताको उपचारपछि आज शुक्रबार मृत्यु भएको छ । कीर्तिपुरस्थित बर्न अस्पतालमा बिहान साढे ८ बजेतिर गायिका पौडेललाई चिकित्सकले मृत घोषित गरे ।

    उनले १ कात्तिकमा स्टुडियोमा गएर शरीरमा पेट्रोल छर्केर गायिका पौडेलले आत्मदाहको प्रयास गरेकी थिइन् ।

    मृत्यु भएपछि उनका दाइ गणेश पौडेलले प्रहरी कार्यालयमा जाहेरी दिएका छन् ।

    गणेशले आफ्नो बहिनीको हत्या भएको दाबी गर्दै कर्तव्य ज्यानको कसुरमा जाहेरी दिएका हुन् । विगत ८–९ वर्षदेखि बहिनी र गिरी प्रेम सम्बन्धमा रहेको उनको दाबी छ । दुई जनामात्रै भएको कोठाभित्र आफ्नो बहिनीलाई जलाइएको दाबी उनको छ ।

    यो स्टुडियो गायक बाबुल गिरीको हो । उनले किन आत्मदाहको प्रयास गरिन् भन्नेबारे प्रहरीले अहिलेसम्म केही खुलाएको छैन ।

    यो विषय अनुसन्धानकै क्रममा रहेको प्रहरीले बताएको छ । पौडेलले आफ्नो शरीरमा आगो लगाएपछि निभाउने प्रयास गर्दा आफू समेत सामान्य घाइते भएको बाबुल गिरीले प्रहरी समक्ष बताएका छन् ।

  • मनोकामना पूरा हुने विश्वासमा सूर्यदेवको पूजा आराधना गरिने छठ पर्व

    मनोकामना पूरा हुने विश्वासमा सूर्यदेवको पूजा आराधना गरिने छठ पर्व

    काठमाडौँ, कात्तिक ८-
    नदी, छठी माता र सूर्यदेवको श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइने चारदिने छठ पर्व आजदेखि सुरु भएको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म नदी, छठी माता र सूर्यदेवको पूजा आराधना गरी मनाइने छठ पर्व राजधानीलगायत मधेस प्रदेशका जिल्लामा हर्षोल्लासपूर्वक मनाइन्छ ।

    कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्वको पहिलो दिन चतुर्थीका दिन स्नान गरी चोखो खाएर बसिन्छ । यसलाई ‘नहाय खाय’ भनिन्छ । आजदेखि छठ पर्व नसकिएसम्म ब्रतालुले माछा, मासु, लसुन, कोदो, फापर, मुसुरो, आदि राजसी र तामसी खाद्य पदार्थ नखाने विधि छ । चतुर्थीको कर्मलाई अरबाइन वा अरबा पनि भनिन्छ ।

    मनोकाङ्क्षा पूरा हुने विश्वासमा महिलाले छठमा कठोर ब्रत गर्छन् । विशेषगरी तराईमा मनाइने मिथिला संस्कृतिमा आधारित छठ पर्व विसं २०४६ पछि काठमाडौँलगायत पहाडी जिल्लामा पनि मनाउन थालिएको छ । यस क्षेत्रका मानिसले पनि कुनै न कुनै रुपमा सूर्यदेवको पूजा, आराधना गर्ने गरेकाले कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्मको विशेष अवधिमा पनि सूर्यदेवको पूजा, आराधना गर्न थालेका हुन् ।

    विसं २०४६ देखि नै सरकारले यस पर्वका दिन सार्वजनिक बिदा दिन थालेको हो । विसं २०६३ पछि भने काठमाडौँको थापाथली, पशुपति क्षेत्रस्थित गुह्येश्वरीबाट गौरीघाट र रानीपोखरीमा पनि विशेष महत्वका साथ यो पर्व मनाउन थालियो ।

    रानीपोखरीमा भूकम्पपछिको पुनःनिर्माण सकिएदेखि हाल छठ मनाइँदैन । यसअघिदेखि नै बागमती र विष्णुमती नदीकिनारमा छठ मनाउने संस्कृति सुरु भएको थियो । राजधानीका नागपोखरी, गहनापोखरीलगायत जलाशयमा पनि छठ मनाउने गरिएको छ । कार्तिक शुक्ल पञ्चमीका दिनमा निर्जल उपवास बस्ने गरिन्छ ।

    यस दिन बेलुकी घरमा खीर बनाई चन्द्रमालाई अर्पण गरी एक छाक खाइन्छ । यसलाई ‘खरना’ भन्ने गरिएको दुई दशक अघिदेखि काठमाडौँमा छठ मनाउँदै आउनुभएका नरेन्द्र यादवले बताउनुभयो । “षष्ठीका दिन ब्रतालुले ठेकुवा, फलफूल, मिठाइ र रोटी सूर्य एवं छठी मातालाई चढाउने गरिन्छ, रोटीमा सूर्यको रथका पाङ्ग्रा अङ्कित गरिन्छ”, उहाँले भन्नुभयो ।

    षष्ठीका दिन पक्वान्न, फलफूल, उखु र नरिवललाई बाँसको टोकरीमा सजाएर माथिबाट कपडाले छोपिन्छ । साँझपख बत्ती बालेर माटाको घडाको साथ गीत गाउँदै नदी वा तलाउका किनारमा गइन्छ । डुब्न लागेका सूर्यलाई अघ्र्य दिई प्रणाम गरिन्छ । अघ्र्य दिएपछि तीनपटक पानीमा डुबुल्की मारी मनोरञ्जन गर्दै त्यही रात बिताइन्छ ।

    सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई दर्शन गर्न बिहान ४ः०० बजेदेखि नै प्रतीक्षा गरिन्छ । उदाउँदो सूर्यलाई गाईको दूध, फूल र जलले अघ्र्य दिइन्छ । यसरी घाटमा गरिने पूजालाई ‘भिन्सरघाट’ भनिन्छ । बिहानै घाटमा गरिने पूजा भएकाले भिन्सरघाट भनिएको हो । सूर्योदयकालमा अघ्र्य दिइ सूर्यको दर्शन गरेपछि छठ पूजा सकिन्छ । सूर्यको दर्शन गर्दा भक्तहरु लुगासहित कम्मरसम्मको पानीमा डुबेर सूर्य दर्शन गर्ने विधि रहेको अञ्जिता शर्माले बताउनुभयो ।

    “पृथ्वीमा भएका जीवको सञ्चालन र संरक्षण जल एवं सूर्यबाट भएकाले नदीलाई माता, सूर्यलाई सम्पूर्ण शक्तिको स्रोतका रुपमा मानी विशेष पूजा गर्ने गरिएको हो”, उहाँले भन्नुभयो । कार्तिक शुक्ल पक्षमा सूर्यको पूजा गर्नाले मनोकाङ्क्षा पूरा भई इच्छाएको फल प्राप्त हुने उल्लेख शास्त्रमा गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ््ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराईले बताउनुभयो ।

    सूर्यको उपासना गर्ने र शुद्धताको प्रतीक भएकाले तराईबाट सुरु भई हाल पहाड र हिमाली क्षेत्रसम्म पनि छठ मनाउन थालिएको छ । सूर्य पूजा र दर्शन गरी विवाहिता महिला, पुरुषले पति, पत्नीको दीर्घायु एवं अविवाहित केटा, केटीले सुयोग्य वर बधु प्राप्तिको कामना गर्छन् । सन्तान प्राप्तिको कामनाले यो पर्व मनाउनेको सङ्ख्या पनि धेरै छ ।

    यो पर्वमा मुस्लिम, बौद्ध र जैन धर्मावलम्बीकोसमेत सहभागिता रहने गरेको विसं २०६८ देखि कमलपोखरीमा छठ पूजाको नेतृत्व गर्दै आउनुभएका राजेन्द्र सिंहले बताउनुभयो । सर्वप्रथम छठीमाताले सूर्यदेवलाई खुसी पारी यो पर्व मनाउन थालिएको धार्मिक विश्वास छ । महाभारतकालमा द्रोपदीसहित पाण्डव अज्ञातवासमा रहँदा गुप्तबास सफल होस् भनी सूर्यदेवलाई आराधना गरेका थिए । पाण्डव विराट राजाका दरबारमा बसेका बेला गरेको सूर्य पूजाका प्रभावले अज्ञातवास सफल भएको विश्वासमा यो पर्व मनाउन सुरु गरिएको एकथरी मत छ ।

    सूर्य पुराणमा उल्लेख भएअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल शौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुआत भएको अर्काथरीको भनाइ छ ।

    राजधानीमा गुह्येश्वरीबाट गौरीघाटको वाग्मती किनारमा छठ घाट निर्माण भइरहेको छ । यसैगरी कमलपोखरीमा पनि छठको तयारी भइरहेको छ । दुवै स्थानमा कात्तिक १० गते बेलुकी राष्ट्रपति रामचन्द्र पौडेलले विशेष पूजा एवं छठ पर्व अवलोकन गर्ने कार्यक्रम रहेको छ ।

    यस वर्ष कात्तिक १० गते सोमबार बेलुकी अस्ताउँदो र कात्तिक ११ गते मङ्गलबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिइने कार्यक्रम रहेको गुह्येश्वरी छठ पूजा समितिले जनाएको छ । छठ ब्रतालु भने कार्तिक शुक्ल षष्ठीको रातभर नदी किनारमै बस्छन् । रासस