Blog

  • माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय

    माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय

    १४ कात्तिक, काठमाडौं ।
    माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गर्दै एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक सकिएको छ ।

    बुधबारदेखि सुरु भएको बैठकमा बहुमत केन्द्रीय सदस्यले माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेका हुन् ।

    अध्यक्ष माधवकुमार नेपालले माओवादी केन्द्रसँगको एकता प्रस्तावलाई बैठकमा बहुमत सदस्यले ताली बजाएर अनुमोदन गरे ।

    एकीकृत समाजवादीले माओवादीसँगै महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी (नेसपा) सँग पनि एकता गर्ने निर्णय गरेको छ ।

  • मुस्ताङको सरिबुङ पासका १४ पदयात्री सम्पर्कविहीन

    मुस्ताङको सरिबुङ पासका १४ पदयात्री सम्पर्कविहीन

    मुस्ताङ, १४, कात्तिकः 
    मुस्ताङ र मनाङ जोड्ने पर्यटकीय पदमार्ग सरिबुङ पास गएका १४ जना पदयात्री तीन दिनदेखि सम्पर्कविहीन भएका छन् । यहाँको लोघेकर दामोदरकुण्ड-४ याराबाट दामोदरकुण्ड हुँदै सरिबुङ पास हुँदै मनाङको फु गाउँ निस्किने क्रममा हिमपातका कारण मङ्गलबारदेखि तीन जना अष्ट्रियन नागरिकसहित ११ जना नेपाली पथप्रदर्शक सम्पर्कविहीन भएका हुन् ।
    मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले उहाँहरू बिहीबार साँझ सम्पर्कविहीन हुनुभएको सूचना प्राप्त भएको बताउनुभयो । चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको सीमावर्ती दामोदरकुण्ड क्षेत्रको मुस्ताङ-मनाङ सरिबुङ पास समुन्द्री सतहदेखि छ हजार मिटर उचाइमा पर्दछ । त्यहाँ भारी हिमपात भएकाले विदेशी पदयात्रीसहित १४ जनाको टोली सम्पर्कविहीन भएको उहाँले उल्लेख गर्नुभयो ।
    यसैबीच, जिल्ला प्रशासन कार्यालय मुस्ताङले सम्पर्कविहीन रहेका पदयात्रीहरू दामोदरकुण्डस्थित तीर्थयात्री धर्मशालामा सुरक्षित हुनसक्ने अनुमान गरेको छ । सो धर्मशालामा खाने, बस्नेसहित अत्यावश्यक सामान व्यवस्थित रहेकाले सम्पर्कविहीन टोली त्यहाँ हुनसक्ने भन्दै प्रजिअ भुसालले धर्मशालामा उहाँहरूलाई कुनै समस्या नपर्ने बताउनुभयो ।
    हिमालय एडभेन्चर ट्राभल कम्पनीमार्फत सरिबुङ पासको पदयात्रामा  निस्किएक सबै दुई साताअघि काठमाडौँबाट त्यसतर्फ प्रस्थान गरेका हिमालयन एडभेन्चरका व्यवस्थापक दीपक मैनालीले जानकारी दिनुभयो । मुस्ताङको दामोदरकुण्ड हुँदै सरिबुङ पास निस्किएका तीन अष्ट्रियन पर्यटकसहित नेपाली पदप्रदर्शकको टोली गत मङ्गलबारदेखि सम्पर्कमा नरहेको उहाँको भनाइ छ ।
    आज बिहान मात्रै फोन सम्पर्कमा आएका जनाउँदै मैनालीले स्पष्ट कुराकानी भने हुन नसकेको बताउनुभयो । अक्टोबर २६ तारिखमा दामोदरकुण्डबाट सरिबुङ पासतर्फ हिँडेको जानकारी प्राप्त भएको बताउँदै उहाँले त्यसयता कुनै सम्पर्क नभएको उल्लेख गर्नुभयो ।
    “हामीलाई आज मात्रै पथप्रदर्शकले फोन सम्पर्क गरेका थिए, तर प्रतिकूल मौसम र सञ्चार अवरोधका कारण राम्ररी कुराकानी हुन सकेन”, व्यवस्थापक मैनालीले भन्नुभयो, “हामीले फोनको ‘ट्रयाकिङ’ गरेर स्थान पत्ता लगाउन गृह मन्त्रालयसँग अनुरोध गरेका छौँ ।”
    सम्पर्कविहीन भएका पदयात्री रहेको स्थान पत्ता लगाउन सकेमा उद्धारका लागि हेलिकप्टर पठाउने तरी तयारी भएकोबारे गृहमन्त्रालयमा जानकारी गराइएको उहाँले उल्लेख गर्नुभयो । सम्पर्कविहीन पदयात्री सरिबुङबाट मनाङको फु गाउँ हुँदै चाँमे निस्किने योेजनामा रहेका व्यवस्थापक मैनालीले बताउनुभयो ।
  • मनास्लु क्षेत्रमा एक विदेशी पर्यटक पहिरोमा पुरिइन्

    मनास्लु क्षेत्रमा एक विदेशी पर्यटक पहिरोमा पुरिइन्

    गोरखा, १४ कात्तिक :
    मनास्लु क्षेत्रमा एक विदेशी पर्यटक पहिरोमा पुरिएकी छन् ।

    चुमनुब्री–३ न्याक फेदीनेर खसेको पहिरोले चेक रिपब्लिककी ५४ वर्षीया क्याटरिना रस्कोभा पुरिएकी उनका गाइड रमेश भट्टले जानकारी दिनुभयो ।

    न्याक फेदीभन्दा केहीमाथि भिरमा आज दिउसो २ः०० बजेतिर घटना भएको उहाँले बताउनुभयो । “भिरबाट झरेको ढुङ्गाले उहाँलाई पुरेको छ । टाउको मात्र देखिएको छ, उहाँले भन्नुभयो, “उहाँको श्रीमान् र मचाहिँ सकुशल छौँ ।”

    त्यतिबेला ठूलो पर्यटकको समूह रहेको उहाँले बताउनुभयो । “उहाँ पुरिए पनि पहिरोको डरले कसैले उद्धार गर्न सकेनन्”, उहाँले भन्नुभयो । घटनास्थल बस्तीबाट धेरै टाढा रहेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गद बरालले जानकारी दिनुभयो । त्यसतर्फ फिलिम चौकीबाट प्रहरी पठाइसकिएको उहाँले बताउनुभयो ।

  • केपी ओलीसँगै रमेश लेखकको राहदानी रोक्कामा सर्वोच्चले माग्यो लिखित जवाफ

    केपी ओलीसँगै रमेश लेखकको राहदानी रोक्कामा सर्वोच्चले माग्यो लिखित जवाफ

    कार्तिक १४, काठमाडौं ।
    सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखकलगायतको राहदानी रोक्का र काठमाडौं उपत्यका बाहिर जान नपाउने गरी स्थान हदका सम्बन्धमा १५ दिनभित्र लिखित जवाफ माग गरेको छ ।

    न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले आज उक्त विषयमा परेको रिट निवेदनमा प्रारम्भिक सुनुवाइपछि कारण देखाउ जारी गर्दै सरकारसँग लिखित जवाफ माग गरेको हो ।

    अधिवक्ता डा. प्रेमराज सिलवालद्वारा कात्तिक १२ गते दायर गरेको थियो । रिट निवेदनमा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलगायतमाथि गैरकानुनी कार्य, आदेश र पत्रहरू खारेज गरी संवैधानिक र कानुनी अधिकारको संरक्षण गर्न अन्तरिम आदेशको माग गरिएको थियो । तर, अन्तरिम आदेश भने जारी भएन ।

    गत भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगले पूर्वप्रधानमन्त्री ओली, पूर्वगृहमन्त्री लेखकसहित पाँच जनाको राहदानी रोक्का गर्न दिएको सिफारिसबमोजिम सरकारले स्थान हद तोक्ने र राहदानी रोक्का गर्ने निर्णय गरेको थियो ।

    आयोगले पूर्वप्रधानमन्त्री ओली, पूर्वगृहमन्त्री रमेश लेखकसहित तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन मुख्य निर्देशक हुतराज थापा र काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजालको राहदानी रोक्का गर्न सिफारिस गरेको थियो ।

  • माओवादीसँगको एकतामा जान सकिँदैनः रामकुमारी झाँक्री

    माओवादीसँगको एकतामा जान सकिँदैनः रामकुमारी झाँक्री

    काठमाडौं,कात्तिक १४-
    नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले पार्टी एकतामा नजाने घोषणा गरेकी छिन् ।

    जारी केन्द्रीय कमिटी बैठकमा बोल्दै झाँक्रीले आफू माओवादीसँगको एकतामा नजाने बताएको एक केन्द्रीय सदस्यले बताए । ती केन्द्रीय सदस्यले झाँक्रीको भनाइ भन्दै भने, ‘उहाँले एकतामा जान सकिँदैन भन्नुभयो । हामी पार्टी पुनर्गठन गर्छौं । पार्टी पुनर्गठनमा बस्ने नेताहरूलाई चुनाव चिह्नको डण्डा नचलाउन पनि आग्रह गरेकी छन् ।’

    झाँक्रीले कलम चुनाव चिह्न लिएर निर्वाचन जितेका तर एकतामा जान नचाहने नेता कार्यकर्ताहरूलाई कारबाही गर्न नहुने बताएको ती केन्द्रीय सदस्यले बताए । झाँक्रीको भनाइ भन्दै भने, ‘कलम चुनाव चिह्नबाट जितेकाहरूलाई कानुनको डण्डा लगाउन पाइँदैन । हामी पार्टी पुनर्गठन गरेर युवाहरू नेतृत्व गर्छौं । तपाईंहरूले पार्टी एकता गरेपछि कलम चुनाव चिह्न हामी प्रयोग गर्छौं । सँगै लैजाने कष्ट नगर्नु होला ।’

    नेकपा एसका केही नेताहरू पार्टी एकतामा नजाने भएका छन्, जसमा झाँक्रीले पनि आफू पार्टी एकतामा नजाने घोषणा गरेकी छिन् । उनले अहिले पनि यही पार्टी बनाउनुपर्ने र त्यसका लागि अहिलेको नेतृत्वले छोड्नुपर्ने धारणा राखेकी छिन् ।

  • अध्यागमन विभागले भन्यो- भिजिट भिसा व्यवस्थापनमै अल्मलिँदा विदेशीको जाँच पड्ताल गर्ने काम ओझेलमा पर्‍यो

    अध्यागमन विभागले भन्यो- भिजिट भिसा व्यवस्थापनमै अल्मलिँदा विदेशीको जाँच पड्ताल गर्ने काम ओझेलमा पर्‍यो

    कार्तिक १४,काठमाडौं–
    अध्यागमन विभागले नेपाल प्रवेश गर्ने विदेशीको बारेमा गहिरो जाँचपड्ताल गर्ने र तिनका गतिविधिको सुक्ष्म निगरानी गर्ने महत्वपूर्ण कार्य ओझेलमा परेको उल्लेख गरेको छ ।

    शुक्रबार प्रेस वक्तव्य जारी गर्दै विभागले भिजिट भिसामा प्रस्थान गर्ने नेपाली नागरिकको व्यवस्थापनकै वरिपरि मात्र अल्मलिरहेको तीतो यथार्थ रहेको उल्लेख गरेको छ ।

    ‘अध्यागमन नियमन र सहजीकरणबीच उपयुक्त सन्तुलन कायम गरी राष्ट्रिय सुरक्षाका चुनौतीलाई सम्बोधन गर्ने गरी अध्यागमन प्रशासनलाई सुदृढ बनाउने र अध्यागमन प्रशासनमा पूर्ण रुपमा सुशासन कायम गर्ने कार्यलाई विभागले आफ्नो मुख्य कार्यभारको रुपमा अगाडि बढाएको छ ।’ जारी विज्ञप्तिमा भनिएको छ ।

    अनुमान, शंका र हैसियत जाँचेर लिइने तजबिजी निर्णय र आम रुपमा जानकारी हुँदाहुँदै परीक्षण गर्न नसकिने कागजात माग गर्ने विषयका कारण भिजिट भिसामा अनियमितता हुने गरेको विभागले जनाएको छ ।

  • बञ्चरेडाँडामा फोहोर फ्याँक्न नदिएपछि काठमाडौं महानगरले भन्यो- घरमै सुरक्षित राख्नुस्

    बञ्चरेडाँडामा फोहोर फ्याँक्न नदिएपछि काठमाडौं महानगरले भन्यो- घरमै सुरक्षित राख्नुस्

    कार्तिक १४,काठमाडौं ।
    काठमाडौं महानगरपालिकाले फोहरमैला घरमै राख्न आग्रह गरेको छ ।

    काठमाडौं उपत्यकाको फोहरमैला बिसर्जनस्थल बन्चरेडाँडा ल्याण्डफिल साइटमा फोहर बिसर्जनमा अवरोध भएकोले फोहर घरमै सुरक्षित तबरले राख्न आग्रह गरेको हो ।

    महानगले आज एक सूचना जारी गर्दै स्थानीयको अवरोधपछि फोहर बिसर्जन गर्न नसकिएकाले अर्को सूचना जारी नभएसम्म आफ्नो घरबाट निष्काशन हुने फोहरमैला घरर कम्पाउण्डमा सुरक्षित तवरले राख्न वातावरण व्यवस्थापन विभागले भनेको छ ।

    फोहोर जथाभावी सडक तथा सार्वजनिक स्थलमा नफाल्न समेत अनुरोध गरेको छ । बञ्चरेडाँडाका स्थानीयहरुले विभिन्न माग राख्दै फोहोर बोकेको गाडी बीच बाटोमै रोकेका छन् ।

    जसको कारण उपत्यकामा फोहोरको समस्या फेरि बल्झिएको छ । मन्त्री र मेयर बालेन साहले आएर स्थानीयुसँग वार्ता गर्नुपर्ने माग राखेका छन् ।

  • धनकुटामा कोशी राजमार्ग भासियो

    धनकुटामा कोशी राजमार्ग भासियो

    कार्तिक १४,विराटनगर ।
    अविरल वर्षाका कारण धनकुटाको साँगुरीगढी गाउँपालिका–६ मा कोशी राजमार्ग भासिएको छ ।

    राजमार्गको चारखोले गोलाई क्षेत्रमा कोशी राजमार्ग भासिएको हो । सडक भासिएपछि यातायातमा आंशिक अवरोध आएको छ ।

    जिल्ला प्रहरी कार्यालय धनकुटाले दिएको जानकारी अनुसार, शुक्रबार बिहान ११ः०० बजेको समयमा लोकमार्गको करिब १० मिटर खण्ड भासिएको हो ।

    सडकको एक भाग पूर्ण रूपमा अवरुद्ध भए पनि, साना सवारी साधनहरू भने जोखिम मोलेर एकतर्फी रूपमा आवतजावत गरिरहेका छन् ।

  • मुस्ताङमा बाढीपहिरोले यातायातमा समस्या, कोरला सडकखण्ड पूर्ण रुपमा अवरुद्ध

    मुस्ताङमा बाढीपहिरोले यातायातमा समस्या, कोरला सडकखण्ड पूर्ण रुपमा अवरुद्ध

    मुस्ताङ, कात्तिक १४ –
    अविरल वर्षासँगै राष्ट्रिय गौरवको जोमसोम–कोरला सडकखण्डको आधादर्जन स्थानमा पहिरोले क्षति पु¥याएको छ । जोमसोमदेखि कागबेनी र कागबेनीदेखि छुसाङसम्मको विभिन्न स्थानमा पहिरो खस्दा सडकमा यातायात सेवा अवरुद्ध बनेको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।

    जोमसोम–कागबेनी सडकअन्तर्गत जोमसोमदेखि कागबेनी जाने पाण्डा खोला नजिकको तीन स्थानमा पहिरोले सडक संरचनामा क्षति पुगेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जानकारी दिनुभयो ।

    उहाँका अनुसार जोमसोमदेखि दुई किलोमिटरमाथिको कालोपत्र सडक भाँसिएर सडक जोखिम बढेको जानकारी दिनुभयो । निरन्तरको वर्षाले जोमसोमदेखि केहीमाथि करिब २५ मिटर सडक भासिन पुगेको प्रमुख जिल्ला अधिकारी भुसालले बताउनुभयो ।

    बिहीबार साँझ पाण्डा खोलाको बाढीले सडक संरचनामा क्षति पु¥याएको छ । यद्यपि सुरक्षा नियकायले हाललाई कामचलाउ रुपमा भए पनि यातायात सञ्चालनमा ल्याएको उहाँको भनाइ छ ।

    जोमसोम–कागबेनी सडकखण्डको चार स्थानमा सडक माथिबाट पहिरो खस्नेक्रम जारी रहेकाले जोमसोमदेखि कागबेनी जाने मुक्तिनाथ दर्शनार्थीलाई जोमसोममै रोकिएको छ । “मुक्तिनाथ–जोमसोम सडकका विभिन्न ठाउँमा पहिरो खस्नेक्रम जारी छ, हामीले माथि रोकिएका सवारी तथा यात्रुलाई एकतर्फी सडक खुलाएर भए पनि तल झाने प्रयास गरिरहेका छौँ”, प्रमुख जिल्ला अधिकारी भुसालले भन्नुभयो, “जोमसोमबाट मुक्तिनाथ र कोरलातर्फ जाने सवारीसाधनलाई माथि जान रोक लगाएका छौँ ।”

    प्रमुख जिल्ला अधिकारी भुसालले वर्षा रोकिएमा सडकको अवस्था हेरेर मात्रै सडक माथि जान दिइने बताउनुभयो । यसैगरी जोमसोम–कागबेनी सडकमा पहिरो खस्दा एक सार्वजनिक भाडाको ट्याक्सीमा क्षति पुगेको छ भने पहिरो गएको स्थानमा एक भारतीय कार फसेर बसेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाले जानकारी दिनुभयो । पहिरोका कारण फसेको भारतीय गाडीलाई निकाल्ने प्रयास भइरहेको उहाँको भनाइ छ ।

    बाढीपहिरोले कागबेनी–छुसाङ सडकखण्डको आधा दर्जन स्थानको सडक अवरुद्ध भएको छ । ताङ्वे–छुसाङबीचमा पर्ने खोलाको बाढीले कोरला सडकमा क्षति पु¥याएको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ का अध्यक्ष विनोद गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार कागबेनी–कोरला सडक बिहीबार साँझदेखि पूर्ण रुपमा अवरुद्ध छ ।

    वर्षाका कारण सडक अवरुद्ध भए अलपत्र १७ जना यात्रीहरुलाई बारागुङ–३ स्थित ग्रीन ताङ्वे घरमा लगेर राखिएको वडाध्यक्ष गुरुङले बताउनुभयो । वर्षा रोकिएपछि उनीहरुलाई गाउँले बस्ती नजिक ल्याउने योजना रहेको बताउनुभयो ।

    अवरुद्ध जोमसोम–कागबेनी सडकको आज बिहान प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसाल, सशस्त्र प्रहरी नायब उपरीक्षक भेषराज गिरी र प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामालगायतका सुरक्षाकर्मीले अवलोकन गर्नुभएको छ । जोमसोम–कागबेनी भासिएको सडक मर्मत गरी सञ्चालनमा ल्याउन दुई÷तीन दिन लाग्नसक्ने जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ । रासस

  • देशभरका नर्स आन्दोलित, यी हुन् प्रमुख माग

    देशभरका नर्स आन्दोलित, यी हुन् प्रमुख माग

    १४ कात्तिक, काठमाडौं।
    न्यूनतम तलब, भत्ता र सेवा–सुविधा सुनिश्चित गर्न माग राख्दै नर्सहरू आन्दोलित भएका छन्। देशभरका सबै अस्पतालका नर्सहरूले शुक्रबार विरोध प्रदर्शन गरेका छन्।

    सरकारीसरह सेवा सुविधा र पारिश्रमिकको माग गर्दै आन्दोलनमा उत्रिएका नर्सहरूलाई सरकारी अस्पतालका नर्सहरूले पनि एक्यबद्धता जनाउँदै आन्दोलनमा उत्रिएका हुन्।

    नसिंङ संघले अघि सारेको १५ बुँदे मागलाई पुरा गर्नुपर्ने भन्दै शुक्रबार देशभरका अस्पतालका नर्सहरूले प्रदर्शन गरेका थिए ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको २०८२/०६/२४ को पत्र कार्यान्वयन गरी स्वास्थ्यकर्मीहरूको न्यूनतम पारिश्रमिक सरकार सरह नघट्ने गरी दिनुपर्ने, अतिरिक्त कार्यवापत भत्ता दिनुपर्ने, ज्यालादारीमा नचलाउने र तलब–भत्ता बैंकिङ प्रणालीमार्फत भुक्तानी गर्नुपर्ने उनीहरूको माग छ।

    त्यस्तै, हालसम्म श्रमिकको रूपमा हेरिएको दक्ष नर्सिङ जनशक्तिलाई स्वास्थ्य ऐन अन्तर्गत व्यवस्थापन गर्नुपर्ने लगायतको माग रहेको सिभिल अस्पतालमा कार्यरत नर्स विमला पौडेलले बताइन्।

    अहिले बिहान १० देखि १२ बजेसम्म मात्रै विरोध प्रदर्शन गरिरहेका नर्सहरूले १८ कात्तिकसम्म पनि आफ्ना माग सुनुवाइ नभए कडा आन्दोलनमा जाने चेतावनी दिएका छन् ।

    श्रमको सम्मान नभएसम्म नर्स आन्दोलन जारी रहने नर्सिङ संघले जनाएको छ।

    प्रमुख माग

    – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको २०८२/०६/२४ को पत्र कार्यान्वयन

    – सबै स्वास्थ्यकर्मीहरूको न्यूनतम पारिश्रमिक सरकारीसरह नघट्ने गरी व्यवस्था

    – अतिरिक्त कार्यवापत भत्ता

    – ज्यालादारीको अन्त्य

    – तलब–भत्ता बैंकिङ प्रणालीमार्फत भुक्तानी