Blog

  • राहदानी बनाउन पोर्चुगलको फारोबाट एक सय २० को आवेदन

    राहदानी बनाउन पोर्चुगलको फारोबाट एक सय २० को आवेदन

    लिस्बन (पोर्चुगलं), १८ कात्तिकः –
    विद्युतीय राहदानी (ई–पासपोर्ट) बनाउनका लागि पोर्चुगलको फारोबाट एक सय बढी नेपालीको राहदानी आवेदन सङ्कलन गरिएको छ ।

    लिस्बनस्थित नेपाली दूतावासको टोलीले अल्गार्भको फारोमा सञ्चालन गरेको राहदानी नवीकरण तथा कागजात प्रमाणीकरण(कन्सुलर सेवा) सम्बन्धी दुईदिने घुम्ती शिविरबाट १२० जना नेपालीको विद्युतीय राहदानीका लागि जैविक विवरणसहितको आवेदन सङ्कलन गरेको हो । शिविरबाट १२० जनाको राहदानी नवीकरण, २८ वटा प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट) र ३६ वटा अन्य कागजात प्रमाणीकरण गरी झन्डै २०० नेपालीलाई सेवा प्रदान गरिएको टोली प्रमुख एवं लिस्बनस्थित नेपाली दूतावासका प्रथम सचिव रामबाबु नेपालले राससलाई जानकारी दिनुभयो ।

    उहाँका अनुसार शिविरबाट १८ हजार ५१५ युरो अर्थात् ३० लाख २० हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ । अल्गार्भ क्षेत्रमा देखिएको राहदानीलगायतका कागजातसम्बन्धी समस्यालाई सम्बोधन गर्ने योजनाअनुरुप पहिलोपटक सञ्चालन गरिएको शिविरबाट नेपाली सेवाग्राही लाभान्वित भएको उहाँले बताउनुभयो ।

    शनिबार र आइतबार गरी दुई दिनसम्म सञ्चालन भएको शिविरमा राहदानीको म्याद सकिएका, राहदानीको म्याद एक वर्षभन्दा कम भएका, क्षति भएका, हराएका र बालबालिकाको विद्युतीय राहदानीका लागि आवेदन सङ्कलन गरिएको थियो भने प्रहरी ‘रिपोर्ट’लगायतका कागजात प्रमाणीकरणसम्बन्धी सेवा प्रदान गरिएको थियो । शिविरमा लागोस, फारो, अल्बुफेइरा, पोर्टिमाओ, भिलामौरा, ताभिरालगायतका क्षेत्रमा बसोबास गर्ने नेपालीले सेवा लिएको दूतावासले जनाएको छ । शिविरमा दूतावासका प्रथम सचिव नेपाल, तृतीय सचिव अनिल राना र स्थानीय कर्मचारीको टोली खटिएको थियो ।

    राहदानी नवीकरण तथा प्रहरी रिपोर्टलगायतका कागजात प्रमाणीकरणको समस्या भोगिरहेका अल्गार्भ क्षेत्रका नेपालीहरूको सहजताका लागि घुम्ती शिविरमार्फत सेवा प्रदान गरिएको पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेलले बताउनुभयो । रासस

  • बङ्गलादेशका दुग्ध उत्पादक किसान चितवनमा

    बङ्गलादेशका दुग्ध उत्पादक किसान चितवनमा

    चितवन, कात्तिक १८-
    जिल्लाको दुग्ध उत्पादन, प्रशोधन र बजारीकरणका विषयमा जानकारी लिन बङ्गलादेशका दुग्ध उत्पादक किसानहरू यहाँ आएका छन् । बङ्गलादेशका दुग्ध उत्पादक किसान मनरुप इस्लामका नेतृत्वमा आएको १७ सदस्यीय टोलीले आज यहाँका दुग्ध उत्वपादक सहकारी उद्योग, गाई फार्महरूको अवलोकन गर्नेछ । उनीहरूले सोमबार जिल्लामा भएको दुग्ध उत्पादन र यहाँको अवस्थाका बारेमा जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घसँग छलफल गरेका थिए ।

    सङ्घका चितवन अध्यक्ष किशोर बगालेका अनुसार उनीहरुले यहाँ दूध उत्पादनको अवस्था, वितरण प्रणाली, दुग्ध उत्पादक किसानको अवस्थाबारे जानकारी लिएका हुन् । उहाँले भन्नुभयो, “दुई देशका किसानले कसरी दूध उत्पादन गर्दै आएका छन् र त्यसको बजारीकरण कसरी भइरहेको छ भन्ने विषयमा ज्ञान आदानप्रदान गरियो ।” अध्यक्ष बगालेले जिल्लामा भएको असल पशुपालन अभ्यास, उन्नत नश्लका गाईहरू ल्याउने क्रमलगायतका बिषयमा जानकारी दिनुभएको थियो ।

    बङ्गलादेशी टोलीले पनि दूध उत्पादन, प्रशोधन र वितरणका विषयमा भएको प्रगतिका विषयमा जानकारी गराएको थियो । सो टोलीले आज नवलपरासीमा समेत अध्ययन गरेर बुधबार काठमाडौँ फर्कने कार्यक्रम रहेको छ ।

  • सुनचाँदीको मूल्य प्रतितोला एक हजार ४०० ले घट्यो

    सुनचाँदीको मूल्य प्रतितोला एक हजार ४०० ले घट्यो

    काठमाडौँ, कात्तिक १८ –
    स्थानीय बजारमा सुनचाँदीको मूल्य केही घटेको छ । सुन प्रतितोला रु एक हजार ४०० र चाँदी प्रतितोला रु ४५ ले घटेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला रु दुई लाख ३८ हजार ३०० र चाँदी प्रतितोला रु तीन हजार १५ मा खरिदबिक्री भइरहेको छ ।

    अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔंस तीन हजार ९८० अमेरिकी डलरमा कारोबार भइरहेको छ । रासस

  • पोखरा–बागलुङ सडकमा यात्रा गर्न सकस

    पोखरा–बागलुङ सडकमा यात्रा गर्न सकस

    गण्डकी, कात्तिक १८ –
    मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत पोखरा–बागलुङ खण्डमा ठाउँपिच्छे परेका खाल्डाखुल्डीका कारण यातायात सञ्चालनमा जोखिम बढेको छ । पर्यटकीय राजधानी पोखरा जोड्ने मुख्य सडक बिग्रँदा यात्रु र सवारीचालकलाई सास्ती भएको छ । कास्की र पर्वत खण्डको सडकमा खाल्डाखुल्डीको समस्या बढी रहेको पोखरा–बागलुङ चल्ने विद्युतीय माइक्रोका चालक डम्मर केसीले बताउनुभयो ।

    “सहज र निर्वाध रूपले गाडी चलाउन सक्ने अवस्था अहिले छैन, ठाउँठाउँमा सडक भत्केको छ, कतै सडक नै भासिएको छ, कहीँ ठुल्ठूला खाल्डा परेका छन्”, उहाँले भन्नुभयो, “सवारीसधानको बढी चाप हुने मुख्य सडक नै बिग्रँदा दुर्घटनाको जोखिम पनि उत्तिकै छ ।” शीघ्र सडक मर्मत नगरे हिउँदमा धुलोको समस्या निम्तने केसीले बताउनुभयो । वर्षायाम सकिएलगत्तै सडक मर्मत गर्नुपर्नेमा अझै कामको सुरसार नदेखिएको उहाँको भनाइ छ ।

    गत वर्षायाममा धेरै ठाउँमा सडक भत्केको र खाल्डाखुल्डी परेको सडक डिभिजन कार्यालय, पोखराका सबइन्जिनियर लोकेश पौडेलले बताउनुभयो । “यसपालि धेरै ठाउँमा सडक बिग्रेको छ, नियमित मर्मतसम्भारका लागि ठेक्का प्रक्रिया पनि टुङ्गिसकेको छ”, उहाँले भन्नुभयो, “कास्कीको फेदीदेखि नयाँपुल र नयाँपुलदेखि पर्वतको मालढुङ्गासम्म गरी दुई खण्डमा मर्मतसम्भारको काम हुन्छ ।” शिवालय निर्माण सेवाले मर्मतको ठेक्का पाएको उहाँले बताउनुभयो ।

    निर्माण कम्पनीले दसैँ, तिहारअघि नै मर्मतसम्भारको काम सुरु गर्ने तयारी गरे पनि बीचमा भएको वर्षात्, चाडबाडको बिदा आदि कारणले केही ढिलाइ भएको सबइन्जिनियर पौडेलले बताउनुभयो । तत्काल मर्मतसम्भारको कामलाई गति दिनेगरी कार्यालययले आवश्यक पहल लिने उहाँको भनाइ छ । “मर्मतसम्भारका लागि बजेट कम हुने हुँदा सबै ठाउँको सडक बनाउन असम्भव देखिएको छ”, उहाँले भन्नुभयो, “बजेटले भ्याएसम्मको काम सयममै हुन्छ ।” रासस

  • जाँचबुझ आयोगले बयानका लागि रवि लामिछानेलाई बोलाउने तयारी

    जाँचबुझ आयोगले बयानका लागि रवि लामिछानेलाई बोलाउने तयारी

    काठमाडौं, कात्तिक १८
    सरकारले जेनजी आन्दोलन र प्रदर्शनका क्रममा भएको घटनाबारे छानबिन गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठन गरेको उच्चस्तरीय न्यायिक जाँचबुझ आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग बयान लिने भएको छ।

    आयोग स्रोतका अनुसार भरसक आजै रास्वपा सभापति लामिछानेसँग बयान लिइनेछ।

    सहकारी बचत रकम अपलचन मुद्दामा लामिछाने पुर्पक्षका लागि नख्खु कारागारमा छन्।

    भदौ २४ गते जेनजी पुस्ताको आन्दोलनका क्रममा लामिछाने जेलबाट निस्केका थिए। केही समयपछि लामिछाने फेरि नख्खु कारागार फर्केका थिए।

    पूर्वन्यायाधीश कार्की अध्यक्षतामा रहेको जाँचबुझ आयोगले लामिछानेसँग बयान लिन लागेको हो। उक्त आयोगले नख्खु कारागारका प्रमुख सत्यराज जोशीसँग, कारागारमा सुरक्षाका लागि खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीहरूसँग घटनाकेन्द्रित बयानसमेत लिइसकेको छ। त्यसैले अब लामिछानेसँग पनि बयानको तयारी भएको आयोग स्रोतको भनाइ छ।

    भदौ २४ गते जेलबाट निस्कँदा लामिछानेले कारागारले आफूलाई पत्रसमेत दिएको बताएका थिए।

    तर बयानका क्रममा नख्खु कारागार प्रमुख जोशीले उक्त पत्र लामिछानेलाई आफूले नदिएको बताएका छन्।

    ‘लामिछाने समर्थकले आफै पत्र बनाएका हुन्, आफै छाप हानेका हुन्, मलाई पनि धम्क्याएका थिए,’ उनले बयानमा भनेका कुरा उद्धृत गर्दै स्रोतले भन्यो, ‘उहाँले कतिपय गम्भीर विषयहरू पनि विस्तृतमा भन्नुभएको छ।’

    रास्वपा सभापति लामिछानेले नख्खु कारागारबाट निस्केको केही समयपछि फेसबुकमा भिडिओ सन्देश पोस्ट गर्दै कारागारबाट निस्किने आफ्नो चाहना नभएको बताएका थिए।

    उनले भिड बढेपछि कारागारले नै आफूलाई जबरजस्ती बाहिर निकालेको दाबी गरेका थिए। उनले आफू प्रक्रिया पुर्‍याएर बाहिरिएको बताएका थिए।

    ‘भिड बढेपछि कारागारले मलाई जबरजस्ती बाहिर निकालेको हो। मैले बिनापत्र जान्न भनेको हुँ। उनीहरूले जस्तो पत्र दिए, जस्ताको तस्तै सार्वजनिक गरिसकेको छु,’ उनले भनेका थिए।

    उनले त्यसबारे आफूले नेपाल प्रहरी र सशस्त्र प्रहरीका आइजीहरूलाई समेत भनिसकेको बताएका थिए।

    ‘मलाई तपाईंहरूले आफ्नो कस्टडीमा राख्नुस्, नियन्त्रणमा लिनुस् वा कारागार पठाउनुस् भनेँ। उहाँहरूले नै भन्नुभयो, तपाईं आफै सुरक्षित बस्नुस्। आवश्यक परे सम्पर्क गर्छौं। सुरक्षा दिन नसकेरै हिजो कारागारले तपाईंलाई पत्र दिएको होला भन्नुभयो,’ उनले दाबी गरेका थिए।

  • आज बस्ने कांग्रेस बैठकमा महाधिवेशनका दुई तालिका पेस गरिने

    आज बस्ने कांग्रेस बैठकमा महाधिवेशनका दुई तालिका पेस गरिने

    काठमाडौं, कात्तिक १८-
    महाधिवेशन मितिमा विवाद हुँदा पटक–पटक स्थगित हुँदै आएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ । बैठक आज दिउँसो एक बजे बस्न लागेको हो ।
    बैठकमा १५ औं महाधिवेशनको मितिबारे छलफल हुने नेताहरुले बताएका छन् । महाधिवेशन २१ फागुनको चुनाव अघि गर्ने कि पछि गर्ने भन्नेमा कुरा मिलेको छैन ।

    सहमतिको प्रयास स्वरुप गत शुक्रबार र आइतबारका लागि तोकिएका केन्द्रीय कार्यसमिति बैठक बस्दै नबसी स्थगित गरिएको थियो । आजको बैठकमा महामन्त्री गगन कुमार थापा र संस्थापन पक्ष दुवैतर्फबाट महाधिवेशनको अलग–अलग कार्यतालिका पेश गर्ने तयारी छ ।

  • एकता सहमति अनुमोदनका लागि माओवादी आयोजक समितिको बैठक बस्दै

    एकता सहमति अनुमोदनका लागि माओवादी आयोजक समितिको बैठक बस्दै

    काठमाडौँ कार्तिक १८
    नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक केन्द्रीय समितिको बैठक आज बस्ने भएको छ । दिउँसो १ बजे बैठक बस्ने नेता हरिबोल गजुरेलले जानकारी दिए ।

    नेकपा एकीकृत समाजवादीसहित ९ दलबिच भएको एकता सहमति अनुमोदनका लागि बैठक बस्न लागेको हो । पछिल्लो सचिवालय बैठकले निर्णय गरेका एजेन्डा र ९ दलबिच भएको सहमति अनुमोदन गरेर बैठक सकिने नेता हरिबोल जानकारी दिए ।

    ‘९ दलबिच भएको एकता सहमति र सचिवालय बैठकले गरेका निर्णय अनुमोदन गर्न केन्द्रीय समिति बैठक बोलाइएको हो । नेताहरूलाई बोल्ने समय छुट्टाइएको छैन,’ उनले भने ।

    यस्तै, पार्टी एकता घोषणा कात्तिक १९ गते दिउँसो १ बजे भृकुटीमण्डपमा गर्ने तयारी भएको गजुरेलले बताए ।

  • फागुन २१ को निर्वाचन युवा पुस्ताको आन्दोलनको उपलब्धि : राष्ट्रपति पौडेल

    फागुन २१ को निर्वाचन युवा पुस्ताको आन्दोलनको उपलब्धि : राष्ट्रपति पौडेल

    काठमाडौँ, १७ कात्तिक :
    राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा हुने आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन युवा पुस्ताको आन्दोलनको उपलब्धि भएको बताउनुभएको छ । सो निर्वाचनलाई सफल बनाउन उहाँले सबैलाई आग्रह गर्नुभएको छ ।

    कतारको दोहास्थित नेपाली राजदूतावासमा आज आयोजित स्वागत कार्यक्रममा सरिक हुने क्रममा सम्बोधन गर्दै उहाँले यो निर्वाचन नेपालको विकास र भाग्यका लागि महत्त्वपूर्ण हुने पनि बताउनुभएको राष्ट्रपतिका प्रेस सल्लाहाकार किरण पोखरेलले जानकारी दिनुभयो ।

    युवा पुस्ताले भ्रष्टाचारको अन्त्य, सुशासन, विकास र नेपाली युवाहरूले विदेशिनु पर्ने अवस्थाको अन्त्यका लागि आन्दोलन गरेको तर यो तापमा रोटी सेकाउन खोज्नेहरू असफल भएकाले संविधान र प्रणाली जोगाउन सकिएको पनि राष्ट्रपति पौडेलले बताउनुभयो । उहाँले संसारका अन्य देशमा युवाको आन्दोलनले ल्याएको आँधीबेरीको समाधान निकाल्न कठिन भए पनि नेपालमा प्रणाली र संविधान जोगाएर राजनीतिलाई सुरक्षित अवतरण गराउन सकिएको उल्लेख गर्नुभयो ।

    कतारको विकास, उन्नति र प्रविधिबाट लिएको अनुभवलाई नेपालको विकासमा लगाउन राष्ट्रपति पौडेलले नेपाली समुदायलाई आग्रह गर्नुभयो ।

    कतारको राजधानी दोहामा यही कात्तिक १८ देखि २० गतेसम्म आयोजना हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन आज नै त्यहाँ पुग्नुभएका राष्ट्रपति पौडेल र प्रथम महिला सबिता पौडेलसहितको नेपाली प्रतिनिधिमण्डललाई कतारका लागि नेपालका राजदूत रमेशचन्द्र पौडेल, उच्चपदस्थ कर्मचारी, गैरआवासीय नेपाली सङ्घका प्रतिनिधिले स्वागत गर्नुभएको थियो । उहाँ सम्मेलनका लागि कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कतार पुग्नुभएको हो ।

  • ‘जेनजी’ प्रदर्शनमा मृत्यु भएका ४५ जनालाई सहिद घोषणा

    ‘जेनजी’ प्रदर्शनमा मृत्यु भएका ४५ जनालाई सहिद घोषणा

    काठमाडौँ, १७ कात्तिक-
    सरकारले गत भदौ २३ र २४ गते ‘जेनजी’ प्रदर्शनका क्रममा मृत्यु भएका ४५ जनालाई सहिद घोषणा गर्ने निर्णय गरेको छ ।

    आजको मन्त्रिपरिषद् बैठकले प्रदर्शनका क्रममा काठमाडौँलगायत मुलुकका विभिन्न भागमा मृत्यु भएका ४५ जनालाई राज्यका तर्फबाट सहिद घोषणा गर्ने निर्णय भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिनुभयो ।

    गृह मन्त्रालयअन्तर्गत सहसचिव नेतृत्वमा रहेको समिति र विभिन्न जिल्ला प्रशासन कार्यालय, सरोकार भएका, सुरक्षा निकाय सबैतिरबाट आएको अध्ययनका आधारमा हाल ४५ जनालाई सहिद घोषणा गरिएको उहाँले बताउनुभयो । अन्य मृतकबारे अध्ययन भइरहेको र त्यसबाट निक्र्याैल भएअनुसार निर्णय गरिने मन्त्री खरेलले बताउनुभयो ।

    सरकारले विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा भएको इलाम जिल्लाका प्रभावित स्थानीय तहहरूलाई सहयोग उपलब्ध गराउन आवश्यक पर्ने रकम रु पाँच करोड ३० लाख विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।

    यस्तै, वैदेशिक रोजगार न्यायाधीकरणको सदस्यमा सहन्यायाधीवक्ता घनश्याम ओझालाई तोक्ने निर्णय भएको छ । मन्त्रिपरिषद्ले बेपत्ता पारिएका व्यक्तिको छानबिन–सत्य निरुपण मेलमिलाप कोष सञ्चालन नियमावली २०८२ स्वीकृतसमेत गरेको छ ।

  • भोलिदेखि नारायणी किनारमा हुने खेलकुद तथा व्यापार महोत्सवको तयारी पुरा

    भोलिदेखि नारायणी किनारमा हुने खेलकुद तथा व्यापार महोत्सवको तयारी पुरा

    चितवन, कार्तिक १७-
    नारायणी नदी किनारमा भोलि (मंगलबार) देखि सुरु हुने खेलकुद तथा बृहत व्यापार महोत्सवको तयारी पुरा भएको छ । आयोजक चितवन जिल्ला खेलकुद बिकास समितिले तयारी पुरा भएको जानकारी दिएको छ ।

    मंसिर २ गतेसम्म चल्ने महोत्सवको भोलि बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले बिहान ११ बजे उद्घाटन गर्नेछन् । त्यस अघि बिहान ९ बजे झाँकीसहितको शोभा यात्रा निकालिनेछ । महोत्सव परिसरबाट सुरु हुने शोभायात्रा लीलाचोक, पोखरा बसपार्क, क्षेत्रपुर, लायन्सचोक, शहिदचोक, पुलचोक हुँदै पुन: महोत्सव परिसरमा पुगेर सकिनेछ ।
    महोत्सवमा निकालिने झाँकी मध्य उत्कृष्ट ३ लाई क्रमश ३०, २० र १० हजार रुपैयाँले पुरस्कृत गरिनेछ ।

    यस्तै उद्घाटनको अवसरमा विभिन्न खेलको डेमोन्स्ट्रेसन प्रस्तुत गरिने चितवन जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष राजन कार्कीले जानकारी दिए । कार्कीका अनुसार उद्घाटनमा कराँते, तेक्वान्दोलगायतका खेलाडी र प्रशिशकहरुले डेमो प्रस्तुत गर्नेछन् ।

    महोत्सव परिसरमा व्यापिरिक, कृषि, नेपाली उत्पादन, खाजालगायतका लागि ३ सय भन्दा बढी स्टल निर्माण गरिएको छ । तीन दिनको लगातरको वर्षाले केही असर गरे पनि दुई सिफ्टमा गरेर काम गरिएको महोत्सव संयोजक विकल क्षेत्रीले बताए । महोत्सव परिसर भित्र प्रवेशका लागि लन्डन ब्रिज निर्माण गरिएको छ । दर्शकहरुले मुख्य प्रवेशद्धारमा टिकट लिएपछि लन्डन ब्रिज चढेर भित्र प्रवेश गर्नेछन् ।

    लन्डन ब्रिजबाट भित्र प्रवेश गरेपछि दर्शकहरुले चितवनमा नै पहिलो पटक महोत्सव परिसर भित्रै दुबई सिटी, बुर्ज खलिफा, बुर्ज अल अरब, पेरिसको आइफिल टावरको अवलोकन गर्न पाउनेछन् । यसका लागि कुनै अतिरिक्त शुल्क नलाग्ने उनले बताए ।

    महोत्सवमा बिच भलिवल, कराँते, तेक्वान्दो, कबड्डी, ब्याडमिन्टन, सेपाकताक्रो, एथ्लेटिक्स, वुद्धिचाललगायतका खेलहरु खेलाइनेछ । यस्तै नेपाली खेलकुदमा योगदान पुराएका विभिन्न विधाका राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरुलाई महोत्सवकै दौरान सम्मान गरिने आयोजकले जनाएको छ । महोत्सवका लागि एक सय रुपैयाँको टिकटको व्यवस्था गरिएको छ । विद्यार्थीलाई ७० रुपैयाँ र अपाङ्गता भएका तथा जेष्ठ नागरिकका लागि नि:शुल्क प्रवेशको व्यवस्था गरिएको छ ।