Blog

  • पूर्णबहादुरको प्रष्टीकरण- सहमहामन्त्रीको महाधिवेशन कार्यतालिका व्यक्तिगत हो

    पूर्णबहादुरको प्रष्टीकरण- सहमहामन्त्रीको महाधिवेशन कार्यतालिका व्यक्तिगत हो

    कार्तिक १९,काठमाडौं ।
    नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सहमहामन्त्री महेन्द्र यादवले हिजो बैठकमा राखेको महाधिवेशन कार्यतालिका व्यक्तिगत भएको बताएका छन्।

    महामन्त्री गगन थापालाई संस्थापन पक्षको तर्फबाट काउन्टर दिन भन्दै पेस गरिएको भएपनि आलोचना भएपछि आजको बैठकको सुरुआतमै खड्काले प्रष्टीकरण दिएको एक केन्द्रीय सदस्यले बताए।

    बैठकमा खड्काले भने, ‘मिडिया र सामाजिक सञ्जालहरूमा पनि कार्यपालिकाबारे कुरा आइरहेका छन्। त्यो उहाँको व्यक्तिगत मात्रै हो।’

    हिजोको बैठकमा महामन्त्री थापाले १५ औँ महाधिवेशन पुस १६ देखि १९ गतेसम्म गर्ने गरी तालिका प्रस्तुत गरेका थिए भने सहमहामन्त्री यादवले वैशाख २७ देखि ३० गतेसम्म गर्ने प्रस्ताव गरेका थिए।

    कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा महाधिवेशन चुनाव अघि कि पछि गर्ने भन्ने चर्को विवाद छ।

  • टिपर दुर्घटना भई आगलागी हुँदा चालकको जलेर मृत्यु

    टिपर दुर्घटना भई आगलागी हुँदा चालकको जलेर मृत्यु

    काभ्रेपलाञ्चोक, कात्तिक १९-
    मण्डनदेउपुर नगरपालिका-६ स्थित कोदारी भिरमा आज बिहान टिपर दुर्घटना भई आगलागी हुँदा चालकको जलेर मृत्यु भएको छ । बा५ख ४०७२ नम्बरको टिपर हेलम्बु राजमार्गको सडकबाट ६० मिटर तल खसेर दुर्घटना हुँदा २८ वर्षीय चालक किसिम राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    मण्डनदेउपुर-७ झगारपुर निवासी चालक ‘स्टेरिङ’मा जलेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रवीन विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनामा टिपरका सहचालक सोही वडाका २२ वर्षीय विक्रम राई गम्भीर घाइते भएका छन् ।

    घाइते राईको शरीरका विभिन्न भाग जलेकाले थप उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको प्रहरी प्रवक्ता विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार प्रहरीले दुर्घटना तथा आगलागीबारे थप अनुसन्धान गरिरहेको छ । रासस

  • राजदूत फिर्ता बोलाउने सरकारको निर्णयप्रति बारको ध्यानाकर्षण

    राजदूत फिर्ता बोलाउने सरकारको निर्णयप्रति बारको ध्यानाकर्षण

    काठमाडौँ, कात्तिक १९-
    नेपाल बार एसोसिएसनले राजदूत फिर्ता बोलाउने निर्णयका सम्बन्धमा सर्वोच्च अदालतमा मुद्दा विचाराधीन अवस्थामा रहेकाले उक्त निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

    बारका महासचिव केदारप्रसाद कोइरालाले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा हालै राजदूत फिर्ता बोलाउने नेपाल सरकारको निर्णयका सन्दर्भमा सर्वोच्च अदालतमा मुद्दा विचाराधीन भई अन्तरिम आदेश जारी भइरहेको अवस्थामा सम्बन्धित राजदूतलाई सरकारले परराष्ट्र मन्त्रालयमा काम, काज गर्नेगरी फिर्ता बोलाइएकोप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।

    “अदालतको फैसला वा आदेशको परोक्ष रूपले पालना नगर्ने कार्यले स्वेच्छाचारिताको प्रवर्द्धन गर्दछ”, विज्ञप्तिमा भनिएको छ, “अदालतको आदेश वा फैसला अक्षरसः पालनाका लागि अनुरोध गर्दै अदालतप्रतिको आस्थामा आँच आउने कुनै पनि कार्य नगर्न सम्बन्धित सबैमा हार्दिक अपिल गर्दछौँ ।”

    बारले अदालतको फैसला वा आदेशउपर स्वस्थ, प्राज्ञिक छलफल गर्न सकिए पनि उक्त फैसला वा आदेश प्रत्यक्ष वा परोक्ष रूपले पालना गर्नु सबैको कर्तव्य भएको जनाएको छ ।

    विज्ञप्तिमा भनिएको छ, “संवैधानिक प्रावधान, संविधानवाद, स्वतन्त्र न्यायपालिकासम्बन्धी अवधारणा एवं मुलुकले अङ्गीकार गरिआएको संविधानको धारा १२८ को उपधारा ९४० का आधारमा प्रत्यक्ष वा अप्रत्यक्ष कुनै तवरबाट अदालतको आदेशभन्दा फरक परिणाम निकाल्ने कार्य अदालतको आदेशको अवज्ञा मात्र नभई विधिको शासनलाई कमजोर पार्ने कार्य हो ।” रासस

  • हिउँजस्तै हिमाली संस्कृति पनि विलिन हुँदैछ : चलचित्र निर्देशक एरिक

    हिउँजस्तै हिमाली संस्कृति पनि विलिन हुँदैछ : चलचित्र निर्देशक एरिक

    काठमाडौँ, कात्तिक १९ –
    फ्रान्सका प्रसिद्ध फोटोग्राफर तथा चलचित्र निर्देशक एरिक भ्याली विशेषगरी नेपालको हिमाली क्षेत्रका समुदायहरूको जीवनशैली र प्रकृतिसँगको सम्बन्ध चित्रण गर्ने कार्यका लागि ख्यातिप्राप्त हुनुहुन्छ । सन् १९५२ मा फ्रान्समा जन्मिनुभएका उहाँले सन् १९८० को दशकदेखि दक्षिण एसियामा विशेष गरी नेपालमा निरन्तर काम गर्दै आउनुभएको छ ।

    चलचित्र निर्देशक भ्यालीले हिमाली क्षेत्रका बासिन्दाहरूको जीवन, संस्कृतिको सौन्दर्य र चुनौतीलाई गहिरो रूपमा प्रस्तुत गर्दै सन् १९९९ मा ‘हिमालय क्याराभान’ नामक चलचित्र निर्माण गर्नुभएको थियो । उक्त चलचित्र अन्तरराष्ट्रिय रूपमा अत्यधिक प्रशंसित भएको थियो, जसले विश्व प्रसिद्ध ओस्कार अवार्डका लागि मनोनयनमा परेको थियो । उहाँले त्यसअघि निर्माण गरेका डकुमेन्ट्रीहरू, हनि हन्टर्स, नेपाल बियोन्ड द क्लाउड्स, हिमायन गोल्ड रसलगायत सिर्जनाहरुले नेपालको हिमाली जीवन र वातावरणको गहिरो अध्ययन गरेका छन् । उहाँका फोटोहरू नेशनल जियोग्राफी, जियो म्यागेजिन र अन्य प्रमुख अन्तरराष्ट्रिय प्रकाशनहरूमा प्रकाशित भएका छन् ।

    नेपालसँग उहाँको सम्बन्ध भावनात्मक रहेको देखिन्छ । उहाँले नेपालका हिमाली जनजीवन, प्राकृतिक सुन्दरता, र स्थानीय परम्पराप्रति गहिरो प्रेम व्यक्त गर्दै नेपाललाई ‘दोस्रो घर’को रूपमा लिनुभएको छ । केही वर्षयता खासगरी तराई÷मधेसमा मनाइने छठ पर्वका बारेमा विशेष अभिरुची राख्न थाल्नुभएका एरिक यसलाई नेपालको अर्को विशिष्ठ पर्वको रुपमा अथ्र्याउनुहुन्छ । यहाँका सांस्कृतिक मूल्य र सरल जीवनशैलीबाट सधैँ प्रेरित भएका बताउनुहुने निर्देशक भ्यालीले पछिल्लो समय वातावरणीय संरक्षण, ग्रामीण पर्यटन र सामुदायिक विकासका क्षेत्रमा पनि सक्रियता देखाउँदै आउनुभएको छ । यसै सन्दर्भमा उहाँ नेपाल आउनुभएको समय पारेर उहाँसँग राससको श्रव्यदृश्य स्टुडियोमा रासस समाचारदाताद्वय भीष्मराज ओझा र सिर्जना राईले गर्नुभएको कुराकानी :

    तपाइँ लामो समयदेखि नेपाली संस्कृति, समाज र जीवनशैलीसँग साक्षात्कार हुनुहुन्छ । नेपालसँग तपाईको सम्बन्ध कहाँबाट कसरी सुरु भयो रु यति लामो समय तपाईलाई नेपालको के विषय ले जोडिरहेको छ होला ?

    नेपाल मेरो ‘लभ एट फ्रस्ट साइट’ हो । एक शब्दमा भन्दा, प्रेम । पहिलोपटक म सन् १९७३ मा नेपाल आएको थिएँ । बनारसी बाटो हुँदै आएको याद छ । हाइकिङ गरेर, ठूलो टाटा ट्रकको छतमा बसेर आएको थिएँ । पहिलोपटक नेपाल भित्रिदै गर्दाको अनुभव म सायदै बिर्सिन सक्छु ।

    यहाँका आर्कषक पाखोबारी, चिटिक्क आकारका रातो र सेतै लिपिएका घरहरु र ती घरहरु पछाडि देखिने अद्भूत हिमालहरुको दृश्यले मेरो मुटुको ढुकढुकी बढेको थियो । झण्डै ५० वर्षअघि यहाँको भूगोल र जीवनशैलीको दृश्यले मेरो ‘लभ एट फ्रस्ट साइट’ बन्यो नेपाल ।

    म फ्रान्सेली नागरिक हुँ । मेरो देश पनि राम्रो छ । धेरै वर्ष फ्रान्सको पट्यारलाग्दो बसाईपछि नेपालसँगको अनुभव मेरा लागि अदभूत बन्न पुग्यो । नेपालको यात्राका क्रममा अप्ठ्यारा र अनौठा लाग्ने बाटाहरु नै रोचक अनुभूतिको सुरुआत बन्यो । नेपाल आइसकेपछि यहाँको संस्कृति मेरा लागि नयाँ संस्कृतिको खानीजस्तो भयो । यो देशसँगको प्रेमानुभुूति सधैँ रहिरहनेछ । म अहिले ७३ वर्षको उमेरमा छु । विगतलाई फर्केर हेर्दा यहाँको सबै कुराले मलाई प्रेममा पारिरहेको छ ।

    तपाईको फिल्म ‘क्याराभान’ छायाङ्कन गरिएको डोल्पो, त्यहाँका समुदाय र संस्कृतिसँगको पहिलो भेटलाई कसरी स्मरण गर्नुहुन्छ ?

    डोल्पो मेरो लागि अर्को सुन्दर प्रेम कथा हो । सन् १९८१ तिर म पहिलोपटक डोल्पा पुगेको थिएँ । जतिबेला नेपाल सरकारले मलाई प्रवेश दिएको थिएन । किनकी विदेशीका लागि डोल्पा निषेधित जस्तो थियो । म डोल्पा पुग्ने बित्तिकै मैले जिन्दगीको अविष्मरणीय सांस्कृतिक झट्का (कल्चरल सक) महसुस गरेँ किनभने त्यो समयको डोल्पो बाहिरी दुनियासँग अभ्यस्त थिएन, ‘अनट्च्ड’ थियो भनौं । मलाई त्यो विषय चाखलाग्दो बन्यो । मलाई नेपाल मन पर्नुको कारण डोल्पाको विशेष संस्कृति पनि हो । मेरो साथी थिन्ले (क्याराभानः हिमालय चलचित्रका मुख्य पात्र) को घरमा धेरै समय बसे, उनीसँग डोल्पा घुम्ने र बुझने काम भयो । उनैको प्रस्तावमा मैले फिल्म बनाएको हुँ ।

    मैले उनलाई चलचित्रहरु देखाएको थिएँ, उनले मलाई “डोल्पो संस्कृतिको पुस्तक मात्र, चलचित्र किन नबनाउने ?” भन्ने सुझाव दिए । त्यसपछि मलाई रोचक लागेको डोल्पोसँगै थिन्लेको जीवनशैली, कथा, संस्कृति र संघर्षबारे गहन अध्ययन गरेर ‘क्याराभानः हिमालय’ निर्माण सुरु ग¥यौँ । डोल्पावासीहरुको जीवनशैली प्रकृतिसँग निकट र निर्भर थियो । ढुङ्गाबाट बनाइएका घरमा बस्ने उनीहरु आफैँले बुनेका कपडा प्रयोग गर्दथे । सुन्दर डोल्पाका बासिन्दाहरुको जीवनशैली कठिनाइपूर्ण थियो तर उनीहरु निकै बहादुर र परिश्रमी थिए । साँच्चैभन्दा नेपाल कला, संस्कृति, भाषा, संस्कार र प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ ।

    नेपालको हरेक नयाँ ठाउँमा पुग्दा अध्ययनका लागि अझ धेरै बाँकीजस्तो छ । धेरै खोज अनुसन्धान गर्न सकिने ठाउँ हो, नेपाल । डोल्पोको अध्ययन गर्न चाखलाग्दो ठाँउ थियो । जहाँ मैले फिल्म बनाउने क्रममा सहकर्मी मात्र नभई साथीको रुपमा सम्बन्ध विकास गरेँ । म अझै पनि उनीहरुसँग सम्पर्कमा छु ।

    एउटा प्रसङ्ग सुनाइहालौँ । उत्तर डोल्पामा यात्राका क्रममा मेरो जुत्ता च्यातियो । नयाँ जुत्ता बनाउन जुत्ता बनाउने स्थानीयसँग आग्रह गरेँ । याकको छालाबाट बन्ने जुत्ताको साइज र शुल्कलाई लिएर उनीसँगको संवाद मलाई अझै पनि रमाइलो लाग्छ । उनले भनेँ, “यति ठूलो जुत्ता अहिलेसम्म बनाएको छैन तर बनाउन सक्छु ।” मैले शुल्क सोधेपछि उनले भने, “चालिस पाथी पिठो दिनुहोस् ।” मैले उनलाई आफूसँग पिठो नभएकाले पैसा दिने प्रस्ताव गरेँ । उनले भनेका थिए, “तिम्रो पैसाले केही गर्न सक्दिन, मलाई पिठो देउ ।” अन्ततः मैले पिठो किनेर उनलाई दिएपछि मात्र जुत्ता बन्यो । हो, त्यो समय भिन्न थियो । र म त्यो पुरानो डोल्पासँग अत्यधिक प्रेममा थिएँ । त्यो समयको डोल्पो चुनौतीपूर्ण पनि थियो । बिरामी भए सहज उपचार पाउन सकिने अवस्था थिएन । जीवनशैली सहज थिएन । म फेरि पनि भन्छु, उनीहरु बहादुर मात्र थिएनन्, बलियो आत्मसम्मानसहित बाँच्दथे ।

    यो पचास वर्षअघि र पछिको डोल्पोमा के भिन्नता देख्नुभएको छ ?

    पचास वर्षपछिको डोल्पोमा धेरै कुरा बिलाएर गएको छ । सडक पुगेपछि डोल्पो फेरिएको छ । मैले ५० वर्षअघि चिनेको डोल्पो र अहिलेको डोल्पोमा धेरै भिन्नता छ । चेप्टो छानो छाएका घरहरु देखिने डोल्पो सुक्खाजस्तो थियो । विश्वव्यापी मौसम परिवर्तनले होला, अहिले वर्षा हुने रहेछ । लोपोन्मुख, मौलिक र चाखलाग्दो भौतिक संरचना र वास्तुकला अब प्रयोगमा छैनन् । जलवायु परिवर्तनको असरजस्तो देखिन्छ । पछिल्लो समय नेपाली युवायुवतीहरुले विदेशिने क्रम बढेसँगै त्यसको प्रभाव डोल्पोमा पनि देखेँ । गउँहरु रित्तिएका छन् । गाउँमा वृद्धहरु मात्र छन् । जलवायु परिवर्तनको प्रभाव त छ, त्यो भन्दा धेरै रोजगारीको खोजीमा युवाहरु विदेश पलायन मुख्य समस्याका रुपमा देखेको छु । ऊर्जाशील जनशक्ति नै बाहिर गएपछि नेपालको विकास कसरी हुन्छ होला १ यसतर्फ गम्भीर भएर यहाँको सरकारले सोच्नु आवश्यक छ ।

    विदेशी निर्देशकका रुपमा तपाईलाई आफनोे फिल्ममा नेपाली संस्कृतिलाई जिम्मेवारीपूर्वक प्रस्तुत गर्न कति सहज थियो ?

    म पेसाले सिकर्मी हो, फिल्म मेरो रुचि थियो । विदेशी निर्देशकका रुपमा मैले यहाँ अलिक बढी दुःख गरेँ । म आफनो कामसँग मात्र हैन, यहाँको संस्कृति र समुदायसँग पनि उतिकै इमान्दार छु । यो देश र संस्कृतिसँगको प्रेमले फिल्म बनाउन सहयोग पुग्यो । फिल्म बनाउनुपर्छ भने हामीले विषयवस्तुको बारे थाहा पाउनुपर्छ । फिल्म खिच्नुअघि नै गहन अध्ययन आवश्यक छ । राम्रो स्क्रिप्ट लेख्नुपर्छ । हिमालय, क्याराभानको स्क्रिप्ट लेख्नका लागि मात्र पनि तीन वर्ष अध्ययन गरेका थियौँ । गहन अध्ययनले आफनो कथा, पात्रप्रतिको बुझाइ बढ्छ र आफैँ बाटो खुल्छ ।

    साथी थिन्लेले भनेको अझै पनि स्मरण छ, “हाम्रो संस्कृति पनि हिऊँ जस्तो बिलाउँदैछ”, मैले जवाफमा भनेको थिएँ, “फ्रान्समा पनि मेरो संस्कृति बिलाउँदैछ ।” अहिले त अझ विश्वव्यापीकरणले सबै कुरा परिवर्तन हुँदैछ । हरेक संस्कृतिमा यस्ता विशेषता हुन्छन्, जसलाई संरक्षण गर्नैपर्छ, अभिलेखीकरणको आवश्यकता छ । किताब लेखेर होस् वा फिल्म निर्माण गरेर, त्यसलाई बचाइरहनुपर्छ । डोल्पोको कथा लेख्दै गर्दा त्यो फिल्म विश्वकै अन्तिम क्याराभान बन्न पुग्यो । वास्तवमै त्यो ठूलो दायित्व थियो । बहुत चुनौती र जटिलता थियो ।

    नेपाली निर्देशकद्वारा निर्देशित नेपाली फिल्महरु विश्व समुदायमा पु¥याउनका लागि तपाईकोे सुझाव के छ रु नवनिर्देशकहरुले ध्यान दिनुपर्ने विषयहरु के हुन् ?

    हिमालय क्याराभानको स्क्रिप्ट लेख्दै गर्दा म नेपाली संस्कृतिलाई झल्काउनुपर्नेमा पूर्ण सचेत थिएँ । तर त्यसलाई विश्वव्यापी बनाउन, अन्तरराष्ट्रिय दर्शकसम्म कसरी पुर्याउने भन्नेमा पनि उतिकै सचेत थिए । मैले ‘युनिर्भसल’ कथा नै निकाल्नुपर्ने थियो । संस्कृति मात्र देखाउने हो भने त्यसलाई बुझ्ने दर्शकमा सिमितता हुन्छ । क्याराभानको कथा नै एउटा वृद्ध र युवाबीच (जेनेरेसन कन्फ्लिक्ट) पुस्तागत द्वन्द्व र सङ्घर्षमा आधारित हो । त्यसैले फिल्ममा नेतृत्वका लागि दुई पुस्ताबीचको सङ्घर्ष देखाइएको छ, जुन संसारका सबै दर्शकले बुझने र आकर्षित गर्ने कुरा हो । क्याराभान निर्माण सानो मेहनतले सम्भब भएको हैन । समुदायबाटै पात्र छनोट काम पनि महत्वपुर्ण थियो । ज्याक पेरिन उत्कृष्ट प्रोड्युसर हुन । यसको स्क्रिप्ट तयार गर्न झण्डै तीन वर्ष लागेको थियो ।

    हो, लोकल कथालाई अन्तरराष्ट्रिय दर्शकसम्म पु¥याउनका लागि कथा ‘युनिर्भसल’ बन्नैपर्छ साथमा बलियो टिमको आवश्यकता पदर्छ । क्याराभान यति सफल बन्ला भन्ने कसैले कल्पना गरेका थिएनन होला । म स्वयंलाई ओस्कारमा पुग्ला भन्ने थाहा थिएन । मैले मिहेनत गरेँ, मिहेनतले त्यहासँम्म पु¥यायो । पर्याप्त लगानी र समय दिएर बनाएको फिल्म सफल हुन्छ भन्ने हामी भन्न किटान गर्न सक्दैनाँै । ‘हनि हन्टर्स’ पनि न्यासनल जियोग्राफीमा सबैभन्दा बढी रुचाइएकामध्ये एक कथा थियो । किनभने त्यो मात्र नेपाली कथा मात्र नभई युनिभर्सल कथा थियो ।

    तपाईका फिल्मले नेपाल र नेपाली संस्कृतिप्रति विश्वमा हेर्न दृष्टिकोणमा कस्तो प्रभाव पा¥यो होला जस्तो लाग्दछ रु पर्यटन विकासमा टेवा पु¥याउन केही सुझाव छ ?

    मलाई मेरा फिल्महरुले पक्कै पनि नेपालप्रति विश्वको ध्यान खिच्न सफल भयो भन्ने मेरो बुझाइ छ । र, मलाई लाग्दछ कि नेपालका पर्यटन, सांस्कृतिक चासो र संरक्षणको प्रयास पनि बढ्न थालेको छ । नेपाललाई पर्यटकीय गन्तव्य बनाउन धेरैभन्दा धेरै प्रचारप्रसार आवश्यक छ । मैले आफैँले पनि नेपाली संस्कृति विश्व समुदायसम्म पुर्याउन, प्रचार प्रसारको काम गरे । प्रचारप्रसारका लागि अन्तरराष्ट्रिय स्तरमा सम्बन्ध भएकाहरुसँग काम गर्नुपर्छ, जुन निकै महङ्गो हुन्छ । । नेपाली फिल्म बनाउँदै गर्दा त्यसको प्रवद्र्धनका लागि मलाई नेपाल सरकारबाट हुनसक्ने सहयोग पनि प्राप्त भएन । क्याराभानः हिमालय चलचित्र ओस्कार अवार्डमा पुग्यो । हनी हन्टर्स नेसनल जियोग्राफीको कभर भयो । यो देशप्रतिको प्रेम, सदभाव र सत्कर्मका बाबजुत उल्टो मैले नेपाल सरकारबाट प्रवेषाज्ञा प्राप्तिमा पटकपटक समस्या खेप्दै आएको छु । प्रवेषाज्ञा पाउन बहुतै समस्या झेल्दै आएको छु । तर पनि नेपालीहरुको माया लाग्छ । नेपालको माया लाग्छ । मेरो कामले नेपाल र नेपालीका पक्षमा सधैँ सकारात्मक प्रभाव पर्ने विश्वास छ । रासस

  • मौरीपालनबाट वार्षिक १५ लाख आम्दानी

    मौरीपालनबाट वार्षिक १५ लाख आम्दानी

    पर्वत, कात्तिक १९ –
    उमेरले ७३ वर्ष पार गरे पनि जोशजाँगर भने लक्काजवानको भन्दा कम छैन पर्वतको मोदी गाउँपालिका–२ कोरुङ्गाका टीकाराम तिमिल्सिनाको ।

    बिहान उठेदेखि साँझसम्म मौरीको हेरचाहमै उहाँको समय बित्छ । पच्चिस वर्षदेखि व्यावसायिक मौरीपालनमा लाग्नुभएका तिमिल्सिना जिल्लामै मौरीबाजेको रूपमा परिचित हुनुुहन्छ । यसअघि उहाँ कुनै बेला जिल्लामा सबैभन्दा बढी सुन्तला उत्पादन गर्ने किसानका रूपमा कहलिनुभएका तिमिल्सिना सुन्तलाखेती छाडेर मौरीपालनमा आकर्षित हुनुभएको हो ।

    तीन सयभन्दा बढी सुन्तलाका बोट लगाएर गाउँमा ठूलो सुन्तला बगैँचा बनाउनुभएका तिमिल्सिना सुन्तलाका बोट मर्दै गएपछि मौरीपालनतर्फ आकर्षित हुनुभएको छ । सुरुमा उहाँले मौरीपाल्न थाल्नुभयो । जब माहुरीको घार र महको माग बढ्न थाल्यो, उहाँले आफ्नो व्यवसायलाई विस्तार गर्दै लानुभएको हो ।

    पहाडी भेगमा अनुकूल हुने एपी सेरेना जातको मौरी पाल्नुभएका तिमिल्सिना यो व्यावसायवाट गतिलो कमाइ गर्न सफल भएको बताउनुहुन्छ । तिमिल्सिना भन्न्नुहुन्छ, “यहाँ उत्पादन गरेको मह घरबाट नै बिक्री हुने गरेको छ । गुणस्तरीय मह भएकाले डुलाउँदै हिँड्नुपर्ने अवस्था छैन । मागअनुसार ग्राहकलाई पुर्याउन सकिरहेको छैन ।

    विभिन्न पालिकाले अनुदानमा वितरण गर्ने घार र मौरीको स्रोतसमेत तिमिल्सिनाको फार्म बनेको छ । कृषि ज्ञान केन्द्र तथा गाउँपालिकाको समन्वयमा गत वर्षमात्र उहाँले एक सयभन्दा बढी माहुरीका घार बिक्री गर्नुभएको थियो ।

    बगैँचामा अहिले ३५ वटा घारको स्याहार उहाँले गर्नुहुन्छ । घारको सङ्ख्या धेरै भए पनि गत बर्खामा घरको आँगनसम्मै आएको केरुङ्गाको विशाल पहिरोले केही घार बगायो । केही अरिङ्गाल चराले नष्ट गरे । गत वर्षमात्र ६० मध्ये ४० घार अरिङ्गालले खाइदिएको उहाँले बताउनुभयो ।

    अहिले वर्षमा दुई सय किलो जति मह उत्पादन हुन्छ । मह प्रतिकिलोको रु एक हजार ५०० मा बिक्री हुन्छ । गाउँलेसहित पालिका र जिल्लाका विभिन्न कार्यालयका कर्मचारी महका ग्राहक हुन् । केही वर्ष अगाडि मौरीपालनबाटै वार्षिक रु १५ लाखसम्म कमाउनुभएका उहाँको आम्दानी भने पहिलेको जस्तो छैन । जलवायु परिवर्तन, शत्रु जीव र कीराको आक्रमण, जग्गा बाँझो रहनुलगायत कारण मौरीपालनमा कठिनाइ भएको तिमिल्सिनाको अनुभव छ । विसं २०५७ बाट व्यावसायिक माहुरीपालन थाल्नुभएका उहाँ जिल्लाकै नमूना मौरीपालक किसान हुनुहुन्छ । उहाँले उत्पादन गरेको मह धेरै मात्रामा घरबाट नै बिक्री हुने गरेको छभने काठमाडौँ, चितवन, बुटवललगायत बजारमा ब्राण्ड बनिसकेको छ । कुश्माबजार, बागलुङ, क्षेत्रबाट पनि व्यावसायी घरमा नै आएर मह लैजाने गरेका छन् । मौरीसहितका घार प्रतिगोटा रु १० हजार र मह प्रतिकिलो रु एक हजार ५०० मा बिक्री गर्दै आएको उहाँले बताउनुभयो ।

    मौरीपालनमा अन्य पेसा व्यवसायजस्तो एकैपटकमा लाखौँ लगानी गर्न नपर्ने तर आम्दानी उल्लेख्य हुने भएकाले सागसब्जीखेती, पशुपन्छी तथा कुखुरापालनमाजस्तो निरन्तर खट्न पनि नपर्ने भएकाले मौरीपालनमा किसानको आकर्षण बढेको अर्का अगुवा कृषक उमाकान्त शर्माले बताउनुभयो । उहाँका अनुसार अहिले पर्वतका देउपुर, मल्लाज, भङ्गरा, कुर्घा, ठानामौला, पाङराङ, बाच्छा, लुङ्खुलगायत व्यावसायिक मौरीपालक किसानले बर्सेनि सय बढी मौरीसहितका घार उत्पादन गरेर बिक्री गर्दै आएका छन् । सोही अनुपातमा महसमेत उत्पादन भइरहेको छ । रासस

  • दुई दिनमा सुनको भाउ २५ सय घट्यो

    दुई दिनमा सुनको भाउ २५ सय घट्यो

    काठमाडौं, कार्तिक १९ –

    दुई दिनमा सुनको भाउ २५ सय घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको भाउ प्रतितोला ११ सय रुपैयाँले घटेर २ लाख ३७ हजार २ सय रुपैयाँ पुगेको छ ।

    अघिल्लो दिन पनि सुनको भाउ तोलामा १४ सय रुपैयाँ घटेर २ लाख ३८ हजार ३ सय रुपैयाँ पुगेको थियो ।

    त्यस्तै चाँदीको भाउ पनि बुधबार २५ रुपैयाँ घटेको छ । अघिल्लो दिन ३०१५ रुपैयाँ रहेको चाँदी आज २९९० रुपैयाँमा झरेको छ । चाँदी रेकर्ड मूल्यबाट तोलामा ३६० रुपैयाँ घटेको छ ।

  • किसान श्रेष्ठले भने– हामी मूल घर फर्किंदै छौं, हाँसेर बोल्दिए पुग्छ

    किसान श्रेष्ठले भने– हामी मूल घर फर्किंदै छौं, हाँसेर बोल्दिए पुग्छ

    १९ कात्तिक, काठमाडौं ।
    नेकपा एकीकृत समाजवादीका नेता किसान श्रेष्ठले नेकपा एमालेमा नि:शर्त फर्किन लागेको बताएका छन् । उनले एकताभन्दा पनि पसिना बगाएको मूल घर फर्किन लागेको बताए ।

    आज पत्रकार सम्मेलनमा उनले भने, ‘हामीलाई केही चाहिएको छैन मूल घरमा हाँसेर बोल्दिए, सम्मानजनक व्यवहार गर्दिए पुग्छ ।’

    ‘हामी नि:शर्त आफ्नो घर फर्किन चाहन्छौं । त्यो वातावरण बनाइदिन अनुरोध गर्न चाहान्छु,’ श्रेष्ठले थपे ।

    पत्रकार सम्मेलन गर्नुको कारण सुनाउँदै उनले भने, ‘कसैसँग समाहित वा एकता भन्दा पनि मूल घर, हामीले जीवन अर्पण गरेको पार्टी नेकपा एमालेमा प्रवेश गर्ने होइन कि नि:शर्त घर फर्किने सिलसिलामा पत्रकार सम्मेलन आयोजना गरेका हौं ।’

    किसान श्रेष्ठसँगै रामकुमारी झाँक्री लगायतका नेताहरु एमाले फर्किन लागेको जानकारी दिन काठमाडौंको होटल बसेरामा पत्रकार सम्मेलन आयोजना गरिएको छ ।

  • माओवादी-एकीकृत समाजवादीसहित नौ दलबीच आज एकता हुँदै

    माओवादी-एकीकृत समाजवादीसहित नौ दलबीच आज एकता हुँदै

    काठमाडाैं कात्तिक १९

    नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)सहित नौ दलबीच आज एकता हुँदै छ । एकताका लागि यसअघि सहमति पत्रमा हस्ताक्षर गरेका पार्टीबीच काठमाडौंको भृकुटीमण्डपमा आज एकता घोषणा हुन लागेको हो ।

    माओवादी केन्द्रका नेता अग्नि सापकोटाका अनुसार एकीकृत पार्टीको नाम नेपाली कम्युनिष्ट पार्टी रहनेछ । चुनाव चिह्न पाँचकुने तारा रहने पहिले नै आठ दलबीच सहमति भइसकेको छ । आइतबार माओवादी, नेकपा एकीकृत समाजवादीलगायत आठ दलबीच भएको १८ बुँदे सहमति भएको थियो ।

    आइतबार नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी, नेकपा (समाजवादी), जनसमाजवादी पार्टी, नेपाल, नेपाल कम्युनिस्ट पाटी नेकपा (माओवादी–समाजवादी) र नेकपा (साम्यवादी)बीच पार्टी एकता र कम्युनिस्ट एकीकरणको प्रकृया अगाडि बढाउन हस्ताक्षर गरिएको थियो । पछि यसमै गोला किराती नेतृत्वको पार्टी पनि जोडिएको थियो ।

    नवगठित पार्टीको मार्गनिर्देशक सिद्धान्त मार्क्सवाद–लेनिनवाद रहनेछ भने नेपाली विशेषताको वैज्ञानिक समाजवादलाई कार्यदिशा मानिने सापकोटाले जानकारी दिए ।

    पार्टीले जनवादी उपलब्धिहरूको रक्षा गर्दै समाजवादको आधार तयार गर्ने निर्णय पनि भएको उनले बताए ।

    आन्दोलनको स्वरूपबारे सापकोटाले भने, ‘हाम्रो आन्दोलन मूलतः शान्तिपूर्ण हुनेछ। तर, परिस्थितिअनुसार सदन, सरकार र सडकसहित सबै मोर्चामा संघर्ष सञ्चालन गर्न सकिनेछ।’

    नयाँ पार्टीको राष्ट्रिय महाधिवेशन ६ महिनाभित्र सम्पन्न गर्ने निर्णय भएको उनले बताए ।

    एकता प्रक्रियामा सहभागी दलका साविक केन्द्रीय समिति सदस्यहरूलाई आपसी सहमतिका आधारमा समायोजन गरी नयाँ केन्द्रीय समिति बनाइने सापकोटाले जानकारी दिए ।

    संरचनात्मक रूपमा पार्टीका सबै तहमा संयोजक र सहसंयोजक पद मात्र रहने उनले बताए ।

    पार्टीको संरचनाअन्तर्गत केन्द्रीय समिति, राजनीतिक समिति, सचिवालय र कार्यसञ्चालन समिति रहने निर्णय भएको सापकोटाले बताए ।

  • अमेरिकामा कार्गो विमान दुर्घटना : कम्तीमा सात जनाको मृत्यु

    अमेरिकामा कार्गो विमान दुर्घटना : कम्तीमा सात जनाको मृत्यु

    केन्टकी नोबेम्बर ४
    अमेरिकाको लुइसभिल विमानस्थलबाट उडेको केही समयपछि नै यूपीएसको एउटा कार्गो विमान मंगलबार दुर्घटनाग्रस्त भएको छ।

    केन्टकीका गभर्नर एन्डी वेशियरले कम्तीमा सात जनाको मृत्यु भएको र ११ जना घाइते भएको बताएका छन्। उनले अनुसन्धान जारी रहँदा यो संख्या बढ्न सक्ने चेतावनी दिएका छन्।

    वेशियरले यसअघि नै केही घाइतेहरूको अवस्था ‘अत्यन्तै गम्भीर’ रहेको उल्लेख गरेका थिए। लुइसभिलका मेयर क्रेग ग्रीनबर्गले मंगलबार साँझ एक्समा ट्वीट गर्दै सहरका हरेक आपतकालीन एजेन्सीहरू घटनास्थलमा परिचालन भएको जानकारी दिएका छन्।

    विमानमा करिब ३८ हजार ग्यालेन इन्धन रहेकोले दुर्घटनापछि ठुलो विस्फोट भएको थियो र नजिकैका व्यापारिक भवनहरूमा पनि आगो लागेको थियो। यूपीएसका अनुसार विमानमा तीन जना चालक दलका सदस्यहरू सवार थिए, जसको अवस्था अहिलेसम्म अज्ञात छ।

    गभर्नर वेशियरले पनि विमानमा रहेका चालक दलको अवस्था अनिश्चित रहेको र प्रभावित परिवारहरूसम्म जतिसक्दो चाँडो पुग्ने प्रयास भइरहेको बताए। उनले भने, ‘यो दुर्घटना कत्तिको भयानक थियो भन्ने भिडियोमा र तस्वीरहरूमा देखिएको छ।’

    सीएनएनका अनुसार यस दुर्घटनाले व्यापारिक प्रतिष्ठानहरू र सडकहरूमा आगो लागेको छ, जहाँबाट कालो बाक्लो धुवाँको मुस्लो टाढासम्म फैलिएको देखिन्छ।

    यूपीएस फ्लाइट २९७६ को दुर्घटनाबारे संघीय उड्डयन प्रशासन (एफएए) र राष्ट्रिय यातायात सुरक्षा बोर्ड (एनटीएसबी) ले अनुसन्धान गरिरहेका छन्। एफएएले एनटीएसबीले अनुसन्धानको नेतृत्व गर्ने मंगलबार जानकारी दिएको छ।

    बोर्डले अनुसन्धानका लागि एक ‘गो-टिम’ टोली पठाउने घोषणा गरेको छ, जुन बुधबार केन्टकी आइपुग्नेछ।

    एजेन्सी

  • लिग २ क्रिकेट : यूएईसँग शृंखलाको अन्तिम खेल खेल्दै नेपाल

    लिग २ क्रिकेट : यूएईसँग शृंखलाको अन्तिम खेल खेल्दै नेपाल

    काठमाडौं कात्तिक,१९
    आईसीसी विश्व क्रिकेट लिग २ अन्तर्गत यूएईमा जारी ओडिआई शृंखलाको अन्तिम खेलमा नेपालले आज यूएईसँग खेल्दै छ ।

    दुबईस्थित आईसीसी एकेडेमीमा हुने खेल नेपाली समय अनुसार विहान सवा ११ बजेदेखि सुरु हुनेछ ।

    जारी शृंखलामा लगातार तीन हार बेहोरेको नेपाल आज सान्त्वना जित निकाल्ने लक्ष्यमा हुनेछ । पहिलो खेलमा नेपालले अमेरिकासँग १०६ रनको लज्जास्पद हार बेहोरेको थियो ।

    त्यस्तै दोस्रो खेलमा बिहीबार यूएईसँग ५ विकेटले पराजित भएको थियो भने तेस्रो खेलमा अमेरिकासँग ४ विकेटले पराजित भएको थियो ।

    लिग २ को तालिकामा हाल अमेरिका २४ खेलमा ३६ अंक जोडेर शीर्ष स्थानमा छ भने नेपाल १९ खेलमा १२ अंक जोडेर सातौं स्थानमा छ । यूएई ८ अंक जोडेर पुछारमा छ ।

    यस खेलका लागि नेपालले प्लेइङ ११ मा केही परिवर्तन गर्ने सम्भावना पनि छ । नेपालका लागि ओडिआईमा भरपर्दो मानिने आरिफ शेखको ब्याटबाट यो शृंखलामा रन बनिरहेको छैन । उनको स्थानमा टोलीमा अनिल साहले मौका पाउन सक्छन् ।

    त्यस्तै बाँयाहाते स्पीनर ललित राजवंशीले किफायती बलिङ गरेपनि विकेट भने निकाल्न सकेका छैनन् । उनको स्थानमा शाहब आलमले मौका पाउने सम्भावना छ ।