Blog

  • हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

    हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

    आज मिति २०८२ कार्तिक १९ गते बुधबार

    तदनुसार ५ नोभेम्बर २०२५ बुधवार, कार्तिक शुक्लपक्ष पूर्णिमा तिथि। अश्विनी नक्षत्र, १०ः२३ बजेपछि भरणी। चन्द्रराशि मेष।

    हेर्नुस आजको राशीफल : 

    मेष Aries
    टाढाको यात्रा गर्ने मौका छ । दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ । पतिपत्नीबीच घरसल्लाह भने नमिल्न सक्छ । साथीभाईसंग मन प्रसन्न रहनेछ ।

    वृष Taurus
    व्यापार ब्यबसायमा प्रशस्त फाइदा हुने योग रहेकोछ । दाम, नाम, इनाम हात पर्ने बेला छ । श्रमको उचित मूल्यांंकन हुनेछ । पढाइमा पनि प्रगति हुने समय छ ।

    मिथुन Gemini
    स्वास्थ्यमा सुधार आउनेछ। ब्यापार ब्यबसायबाट प्रसस्त लाभ मिल्नेछ । आर्थिक लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला । पढाइ लेखाइमा प्रगति हुनेछ ।

    कर्कट Cancer
    रोकिएका अधुरा कामहरु सुचारु हुनेछन । धेरैले तपाईंका कामको तारिफ गर्नेछन । लामो समयपछि साथीभाईसंग भेट हुँदा मन प्रसन्न रहनेछ ।

    सिंह Leo
    समाजमा मानसम्मान र प्रतिष्ठा कमाउने बेला छ । स्वास्थ्यमा सुधार आउनेछ । धार्मिक काममा व्यस्त रहनुपर्नेछ । रमाइलोमा समय बित्नेछ ।

    कन्या Virgo
    सुखदुखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन । आफन्तको सहयोगले महत्वपूर्ण कामहरु सफल हुनेछन । परिवारजनको साथले नयाँ आशा पलाउनेछ ।

    तुला Libra
    सोचेको आटेको कामहरु बन्नेछन । व्यवसायमा थप लगानी बढाउन सकिनेछ । वैदेशिक कामकाजमा फाइदा होला । मनको डर उत्साहमा बदलिने छ।

    वृश्चिक Scorpio
    सोचेको भन्दा आम्दानी बढ्ने देखिन्छ । परिवारको सहयोग मिल्नेछ । नयाँ ज्ञान प्राप्त हुने योग छ । ब्यापार ब्यबसायबाट लाभ मिल्नेछ ।

    धनु Sagittarius
    नयाँ काम गर्ने अवसर मिल्नेछ । सामाजिक मानसम्मान र प्रतिष्ठा बढ्नेछ । जागिरमा पदोन्नति हुनेछ । राजनीतिमा आफ्नो बर्चस्व बढाउन सकिनेछ ।

    मकर Capricorn
    परोपकारी काममा रुची बढ्नेछ । सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ। साथीभाईसंग रमाइलोमा समय बित्नेछ ।

    कुम्भ Aquarius
    सहयोगीहरूले काममा साथ दिनेछन । आँटेका काम पनि सजिलै बन्नेछन । कामका लागि गरिएको भ्रमणमा समय मात्र बित्नेछ ।

    मीन Pisces
    साथीभाईसंग भेट हुँदा मन प्रसन्न रहनेछ । ब्यापार ब्यबसायमा प्रसस्त लाभ मिल्नेछ । पारिवारिक सम्बन्धमा सुधार आउनेछ ।

  • कांग्रेस संस्थापन पक्षको प्रस्ताव : २७-३० वैशाखमा महाधिवेशन गरौं

    कांग्रेस संस्थापन पक्षको प्रस्ताव : २७-३० वैशाखमा महाधिवेशन गरौं

    १८ कात्तिक, काठमाडौं ।
    नेपाली कांग्रेसको संस्थापन पक्षले आगामी २७-३० वैशाखसम्म पार्टीको नियमित महाधिवेशन गर्नुपर्ने प्रस्ताव राखेको छ ।

    ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय समितिको बैठकमा संस्थापन पक्षका तर्फबाट सहमहामन्त्री महेन्द्र यादवले वैशाखको अन्तिम साता पार्टीको नियमित महाधिवेशन गर्नुपर्ने प्रस्ताव राखेका हुन् ।

    यसअघि बैठकमा महामन्त्री गगन थापाले भने आगामी पुसमा नियमित महाधिवेशन गर्नुपर्ने प्रस्ताव राखेका थिए । महामन्त्री थापाले १६-१९ पुसभित्र महाधिवेशन गर्नुपर्ने प्रस्ताव राखेका थिए ।

    कांग्रेसमा संस्थापन र संस्ठापन इतर समूहले १५औं महाधिवेशन नियमित गर्ने तर, फरक-फरक मितिमा गर्न प्रस्ताव गरेका हुन् ।

  • रोल्वालिङ हिमपहिरो अपडेटः पाँच जनाको उद्धार, सात अझै बेपत्ता

    रोल्वालिङ हिमपहिरो अपडेटः पाँच जनाको उद्धार, सात अझै बेपत्ता

    दोलखा, कात्तिक १८-
    रोल्वालिङ हिमश्रृङ्खलामा पहिरोमा परी घाइते भएका पाँच जनाको उद्धार गरिएको छ । दुई विदेशी र तीन नेपाली नागरिकको आज हेलिकोप्टरमार्फत उद्धार गरिएको हो । सात जना अझै बेपत्ता छन् ।

    पाँचै जनालाई यलुङरी हिमालको आधार शिविरबाट उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले जानकारी दिनुभयो । उहाँका अनुसार हिमपहिरोबाट जोगिएका थप तीन नेपाली पथप्रदर्शकलाई ना गाउँमा सुरक्षितरुपमा राखिएको छ । उनीहरुको केहीबेरमा उद्धार गरिने प्रजिअ रिसालले बताउनुभयो ।

    डोल्मा खाङ र यलुङरी हिमाल आरोहणका लागि दुई ट्राभल कम्पनीमार्फत आधार शिविर पुगेका पाँच विदेशीसहित १५ आरोही टेन्ट टाँगेर बसेको स्थानमा सोमबार बिहान हिमपहिरो खसेको हो । हिमपहिरोमा पुरिएर एक विदेशीसहित ३ जनाको मृत्यु भएको थियो । बेपत्ता भएकाहरुको अवस्था थाहा हुन नसकेको प्रजिअ रिसालले बताउनुभयो ।

    उद्धारका लागि नेपाली सेनासहितको सुरक्षाकर्मीको टोली ना गाउँ गएको प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले जानकारी दिनुभयो । रासस

  • दमौलीमा करेन्ट लागेर एक जनाको मृत्यु

    दमौलीमा करेन्ट लागेर एक जनाको मृत्यु

    दमौली (तनहुँ), कात्तिक १८
    यहाँको व्यास नगरपालिका–१ छाब्दीखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर सोमबार राति एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका २८ वर्षीय अमित सुयाल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    राति ११ः४५ बजे ४० वर्षीय रामबहादुर घर्ती, निजका दाइ ५४ वर्षीय शुक्र घर्ती र २८ वर्षीय अमित सुयालले रामबहादुर घर्तीको घरबाट बिजुलीको प्लगमा तार जोडी खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा अमितलाई एक्कासी करेन्ट लागेको थियो ।

    करेन्ट लागेर घाइते अमितलाई तत्कालै प्रदेश अस्पताल दमौली लगिएकामा चिकित्सकले आज बिहान १२ः३० बजे मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिनुभयो । रासस

  • चितवन राष्ट्रिय निकुञ्जमा बाक्लो सङ्ख्यामा देखिन थाले बाघ

    चितवन राष्ट्रिय निकुञ्जमा बाक्लो सङ्ख्यामा देखिन थाले बाघ

    चितवन, कात्तिक १८ –
    सोमबार चितवन राष्ट्रिय निकुञ्ज घुम्न गएका बेलायती पर्यटकको समूहले प्रत्यक्ष बाघ अवलोकन गर्ने अवसर पाए । गत साता हल्याण्डका पर्यटकले पनि बाघ देखेपछि उत्साहित हुँदै खुशी व्यक्त गरेका थिए ।

    पर्यटक र निकुञ्जका कर्मचारी, सुरक्षाकर्मीले पनि हिजोआज विगतका तुलनामा बढी बाघ देख्न थालेका छन् । लामो समय निकुञ्ज बन्द रहेर जीप सफारी खुलेसँगै वन्यजन्तुको गतिविधि बढेकाले पर्यटकले देख्न पाएका हुन् ।

    सौराहस्थित वनबास रिसोर्टका महाप्रबन्धक प्रकाश न्यौपानेका अनुसार दिनभर निकुञ्जको जीप सफारीमा निस्किएका पर्यटकले बाघ देखेर फर्किएपछि खुशी हुँदै प्रतिक्रिया दिने गरेका छन् । दुर्लभ एकसिङ्गे गैंडासहित बाघ देखेपछि पर्यटक निकै रमाउने गर्दछन् ।

    सोमबार भिम्ले पोष्ट नजिकै बेलायती जोडीले बाघ देखेपछि खुशी भएर ‘टिप्स’ दिएको पथ प्रदर्शक सरोज चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो, “बाघ देखेपछि स्वदेशी र विदेशी दुवै पर्यटक निकै खुशी हुन्छन् ।” ठाउँठाउँमा बाघ देखिन थालेपछि घुम्न आउने पर्यटक उत्साहित हुने गरेको चौधरी बताउनुहुन्छ ।

    निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा गणेश पन्तले पर्यटक र कर्मचारीहरुले हिजोआज बाघसहितका वन्यजन्तु धेरै देख्ने गरेको बताउनुभयो । उहाँले ढड्डीहरु सुकेर सुख्खापन बढ्दै गएपछि निकुञ्ज खुल्ला हुने र थप वन्यजन्तु देख्न सकिने बताउनुभयो ।

    यस वर्ष यहाँ बाघ गणना गरिँदै छ । पछिल्लो गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा वयस्क बाघ १२८ वटा छन् । आहारा प्रजातिको सङ्ख्या बढ्दै जाँदा बाघको सङ्ख्या पनि बढ्दै गएको छ । रासस

  • यातायात र भान्छालाई विद्युतीकरणमा परिवर्तन गर्न सरकार लागिपरेको छः मन्त्री घिसिङ

    यातायात र भान्छालाई विद्युतीकरणमा परिवर्तन गर्न सरकार लागिपरेको छः मन्त्री घिसिङ

    काठमाडौँ, कात्तिक १८ –
    ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले यातायात र भान्सालाई विद्युतीकरणमा परिवर्तन गर्न सरकार गम्भीर भएर लागेको बताउनुभएको छ ।

    वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको २९औँ वार्षिकोत्सव समारोहलाई आज यहाँ सम्बोधन गर्दै मन्त्री घिसिङले केही काम भएको र अझै धेरै काम गर्न बाँकी रहेको बताउनुभयो । उहाँले विद्युतीय गाडीको प्रयोग बढिरहेको र भन्सामा प्रयोग भइरहेको ग्यासलाई विस्थापित गरेर इन्डक्सन अथवा वैकल्पिक ऊर्जाको प्रवद्र्धनका लागि अझै धेरै काम गर्न बाँकी रहेको बताउनुभयो ।

    मन्त्री घिसिङले अहिले चार्जिङ स्टेशनको सहजीकरणका लागि यसको नीति परिवर्तन गर्न लागिरहेको जानकारी दिनुभयो । सिँचाइको क्षेत्रमा सोलारको प्रयोगलाई कसरी व्यवस्थित र प्रभावकारी बनाउन सकिन्छ भनेर कार्यायोजना बनाइरहेको जानकारी दिँदै उहाँले सरकारको नीति सोलारको प्रवद्र्धन रहेको स्पष्ट पार्नुभयो ।

    हावाबाट बिजुली निकाल्ने प्रविधिको विकास गर्नतर्फ सरकारको ध्यान गएको र यसका लागि काम गर्न इच्छुक निजी क्षेत्रलाई मन्त्री घिसिङले आह्वान गर्नुभयो । यसमा निजी क्षेत्रले खासै चासो दिएको नपाइएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “वीन पावरमा कोही चाहना राख्छ भने सरकारले सहयोग गर्छ ।”

    वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले विकट ठाउँ र विपन्न परिवारका लागि ठूलो योगदान गरेकामा प्रशंसा गर्दै मन्त्री घिसिङले अझै धेरै गर्न बाँकी रहेको औँल्याउनुभयो । उहाँले वैकल्पिक ऊर्जाको कार्यक्षेत्र धेरै बढेकाले अझै प्रभावकारी रूपमा काम गर्न जरुरी रहेको बताउनुभयो ।

    कार्यक्रममा मन्त्रालयका ऊर्जा सचिव चिरञ्जीवी चटौतले वैैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले जलवायु परिवर्तनको असर कम गर्न, ऊर्जा दक्षता वृद्धि र कार्वन उत्सर्जन कटौतीमा ठूलो योगदान पुर्याएको स्मरण गर्नुभयो । उहाँले नागरिकमा विद्युतको पहुँच शतप्रतिशत पुर्याउने सरकारको लक्ष प्राप्त गर्न र ग्रामिण क्षेत्रमा विद्युत् पुर्याउन केन्द्रको महत्वपूर्ण भूमिका हुने बताउनुभयो ।

    वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले वैकल्पिक ऊर्जाको विकासका लागि केन्द्रले आफ्नो भूमिकालाई प्रभावकारी बनाउँदै लगेको जानकारी दिँदै सौर्य ऊर्जा, सिँचाइ, खानेपानी, फलामे सुधारिएको चुलोलगायत क्षेत्रमा काम गरिरहेको बताउनुभयो । उहाँले आठवटा कार्वन उत्सर्जन कटौतीका आयोजनामा काम गरी ३६ मिलियन अमेरिकी डलर आम्दानी गर्न सफल भएको जानकारी दिनुभयो । हाल १३६ स्थानीय तहसँग साझेदारी भएको उहाँले बताउनुभयो । आउँदो पाँच वर्षमा १० लाख घरधुरीमा पुग्ने लक्ष्य राखिएको उल्लेख गर्दै कार्यकारी निर्देशक ढकालले सबै प्रकारका प्रविधि उपयोग गर्ने ३७ लाख घरधुरीमा पहुँच पुर्याउने योजना रहेको बताउनुभयो । “यसबाट अहिले ४० हजार रोजगारी सिर्जना भएको छ”, उहाँले भन्नुभयो ।

    कार्यक्रममा मन्त्री घिसिङले सौर्य तापीय मार्गचित्र तथा कार्यान्वयनन योजनाको विमोचन गर्नुभयो । वार्षिकोत्सवका अवसरमा रक्तदान कार्यक्रमसमेत आयोजना गरिएको थियो । रासस

  • काङ्ग्रेस नेत्री जोन्छेंको निधन, केन्द्रीय नेताहरुद्वारा श्रद्धाञ्जली

    काङ्ग्रेस नेत्री जोन्छेंको निधन, केन्द्रीय नेताहरुद्वारा श्रद्धाञ्जली

    भक्तपुर, कात्तिक १८ –
    नेपाली काङ्ग्रेस महासमिति सदस्य एवं वाग्मती प्रदेशसभाकी पूर्वसदस्य रजनी जोन्छेँको ७७ वर्षको उमेरमा निधन भएको छ । सहिद राधेश्याम जोन्छेँकी पत्नी रजनीको मध्यपुर अस्पतालमा क्यान्सरको उपचारका क्रममा आज बिहान निधन भएको हो ।

    नेत्री जोन्छेको पार्थिव शरीरमा नेपाली काङ्ग्रेसका केन्द्रीय नेताहरू विमलेन्द्र निधि, प्रकाशशरण महत, नेपाली काङ्ग्रेस भक्तपुरका अध्यक्ष दुर्लभ थापालगात नेताले पार्टीको झण्डा ओढएर श्रदाञ्जली अर्पण गर्नुभएको छ ।

    आजै भक्तपुरको हनुमान्घाटमा उहाँको अन्त्येष्टि गरिने छ । उहाँका तीन छोरा हुनुहुन्छ । रासस

  • पाङबारी हिमाल चढ्न गएका दुई आरोहीको शव फेला

    पाङबारी हिमाल चढ्न गएका दुई आरोहीको शव फेला

    गोरखा, कात्तिक १८ –
    गोरखास्थित पाङबारी हिमालमा विगत पाँच दिनदेखि बेपत्ता दुई इटालियन आरोहीको शव फेला परेको छ ।

    पाङबारी हिमालको पहिलो शिविरमा इटालीका ६७ वर्षीय स्तेफानो फरिनातो र ३७ वर्षीय अलेस्सान्द्रो गापुटोको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । दुवै जनाको शव हिउँले पुरिएको अवस्थामा फेला परेको उहाँले बताउनुभयो ।

    आरोहीको शव हेलिकोप्टरमार्फत सामागाउँ ल्याइएको छ । सात हजार ५ मिटर अग्लो पाङबारीे हिमालबाट फर्कने क्रममा तीन इटालियन नागरिक र एक नेपाली सहयोगी गत बुधबारदेखि पहिलो शिविर र आधार शिविरमा अलपत्र परेका थिए । फरिनातो र गापुटो हिमाल आरोहण गर्न नसकेपछि फर्कने क्रममा हिमपातका कारण अलपत्र परेका बताइएको छ ।

    उनीहरुसँगै अलपत्र परेका इटालियन नागरिक ६५ वर्षीय भेल्टर परलिनोको भने गत आइतबार हेलिकोप्टरबाट उद्धार गरिएको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताउनुभयो । उनको साथमा रहेका नेपाली नागरिक पेम्बा रेञ्जी शेर्पा, दावा छिरी शेर्पा र पासाङ तामाङको पनि सोही दिन हेलिकोप्टरबाट उद्धार गरी उपचारका काठमाडौँ पठाइएको उहाँले बताउनुभयो । रासस

  • एक सातादेखि कालीगण्डकी नदीमा एक किशोर बेपत्ता

    एक सातादेखि कालीगण्डकी नदीमा एक किशोर बेपत्ता

    वालिङ (स्याङ्जा), कात्तिक १८ –
    स्याङ्जा र पाल्पाको सङ्गमस्थल रामनदीधाम राम्दीस्थित कालीगण्डकी नदीमा एक किशोर सातादेखि बेपत्ता छन् ।

    गत बुधबार स्याङ्जाको गल्याङ नगरपालिका–१ राम्दीमा पौडी खेल्ने क्रममा कालीगण्डकीमा बेपत्ता भएका कैलालीको लम्कीचुहा नगरपालिका–१ घर भएका १५ वर्षीय बखत शाही बेपत्ता भएका थिए । उनको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक प्रसन्नराज चौधरीले जानकारी दिनुभयो ।

    कैलालीबाट साथीहरुसँगै पोखरा भ्रमणमा आएका शाही र सोही ठाउँका १६ वर्षीय बिराज न्यौपाने पौडी खेल्न कालीगण्डकी नदीमा पसेका थिए । पौडी खेल्ने क्रममा दुवै जनालाई नदीले बगाएको थियो । बग्दै गरेको अवस्थामा न्यौपानेलाई सकुशल उद्धार गरिएको थियो ।

    बुधबार बिहानदेखि कालीगण्डकी नदीमा बेपत्ता भएका शाहीको सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन समूह स्याङ्जा, नेपाल प्रहरी तथा आफन्तजनको सक्रियतामा खोजी कार्यलाई तीव्रता दिइएको प्रहरी नायव उपरीक्षक चौधरीले जानकारी दिनुभयो । सशस्त्र प्रहरी बलको तालिम प्राप्त समूहले ‘¥याफ्टिङ बोट’को सहायताले घटनास्थल तथा त्यसभन्दा तलका स्थानमा खोजी गरिरहेको छ । रासस

  • देवघाटधाम गण्डकी परिक्रमा महोत्सव सुरु

    देवघाटधाम गण्डकी परिक्रमा महोत्सव सुरु

    चितवन, कात्तिक १८ –
    देवघाटधाम गण्डकी परिक्रमा महोत्सव आयोजना गरिएको छ । पवित्र तीर्थस्थल देवघाट धामको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आज बिहान देवघाटको वेणीमा विधिपूर्वक पूजा गरी महोत्सव सुरु गरिएको हो ।

    नेपाल सन्त समाजको आह्वानमा देवघाट क्षेत्र विकास समिति र देवघाट गाउँपालिकाको आयोजनामा गरिएको महोत्सवको हरिहर सन्यास आश्रमका पीठाधीश ज्ञानानन्द सरस्वती महाराज र महेश सन्यास आश्रमका पीठाधीश रमणानन्द गिरीजी महाराजले उद्घाटन गर्नुभएको हो । बिहान ७ः०० बजे वेणीबाट सुरु भएको परिक्रमा महोत्सव चितवनको बागेश्वरी हुँदै हरिहर मन्दिरको बाटो भएर गैँडाकोट पुग्नेछ । गैँडाकोटमा रहेका धार्मिकस्थल चक्रवर्ती तीर्थ मन्दिर हुँदै पुनः देवघाटमा आएर समापन हुनेछ ।

    देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशन सदन बरालका अनुसार दिउँसो ३ः०० बजेसम्ममा परिक्रमा सम्पन्न हुनेछ । २७.५ किलोमिटर लामो पैदल यात्रामा सन्त, महन्थ, भक्तजनलगायत तीन हजार हाराहारीको सहभागिता रहेको उहाँले जानकारी दिनुभयो ।

    तनहुँतर्फ पशुपतिनाथ मन्दिर, गङ्गा मन्दिर, अघोर आश्रम, गलेश्वर आश्रम (सिद्धेश्वर मन्दिर), दुर्गा पाञ्चायन मन्दिर, चक्रवर्ती आश्रम (मणिमुकुन्देश्वर मन्दिर), महेश सन्यास आश्रम (विद्येश्वर मन्दिर), अभय सन्यास आश्रम (रामेश्वर मन्दिर), हरिहर सन्यास आश्रम (हरिहर मन्दिर), राम मन्दिर, लक्ष्मीनारयण मन्दिर, देवघाट पुलको मुख (गणेश मन्दिर, केदारेश्वर मन्दिर र बद्रीनाथ मन्दिर)को परिक्रमा गरिएको छ ।

    चितवनतर्फ देवघाट बसपार्कको सङ्कल्पेश्वर हनुमान मन्दिर, छेदेन थर्वालिङ गुम्बा, विश्वशान्ति यज्ञशाला मन्दिर, राम मन्दिर, राधाकृष्ण मन्दिर, लक्ष्मीनारायण मन्दिर, सीताराम संस्कृत मावि, कन्या गुरुकुल, धर्मदर्शन आश्रम, योगी नरहरिनाथ गौशाला बागेश्वरी मन्दिर, आँपटारी दियालो बङ्गाल चोक, गौरेश्वर शिव मन्दिर पोखरा बसर्पाक, राजयोग सेवा केन्द्र नारयणगढ, हरिहर मन्दिर नारयणगढ, श्रीराम मन्दिर पुल्चोकको परिक्रमा गरी बिहान ११ः१५ बजे गैँडाकोटतर्फ लागेको छ ।

    नवलपुरतर्फ गैँडाकोट पुल्चोकको गोपेश्वर महादेव मन्दिर, मौलाकालिका भगवती मन्दिर, वेदविद्याश्रम, शुकदेव भागवताश्रम, श्रीनिम्बाकाचार्य दर्शन केन्द्र, श्रीलक्ष्मीनृसिंह दिव्यधाम मन्दिर, बेसक्याम्प, केलादी क्षेत्र र हर्दी हुँदै पुनः तनहुँको देवपुरको साढेबगर बौद्ध गुम्बा, भूबराह मन्दिर हुँदै मणिमुकुन्देश्वर चक्रवर्ती आश्रममा आई समापन हुने कार्यक्रम रहेको क्षेत्र विकास समितिका सदस्य चन्द्रमित्र पण्डितले जानकारी दिनुभयो ।

    यो पाँचौँ संस्करण हो । हरेक वर्षको बैकुण्ठ चतुर्दशीमा यो महोत्सव गर्ने गरिन्छ । पवित्र तीर्थस्थल देवघाटधाम र गण्डकीको सङ्गमस्थल तीर्थस्थल देवघाटधामको धार्मिक महत्व र संस्कृतिको प्रचारप्रसार गर्ने उद्देश्यसहित गण्डकी परिक्रमा महोत्सव आयोजना गरिएको पण्डितले बताउनुभयो ।
    महोत्सवको प्रचारप्रसारका लागि सोमबार तनहुँको देवघाट र चितवनको भरतपुरमा मोटरसाइकल ¥यालीसमेत गरिएको थियो ।

    देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले देवघाटधाम गण्डकी परिक्रमा महोत्सवले देवघाटको धार्मिक पर्यटनको प्रवद्र्धन हुने विश्वास व्यक्त गर्नुभयो । रासस