Blog

  • कांग्रेस नेता खतिवडालाई पितृ शोक

    कांग्रेस नेता खतिवडालाई पितृ शोक

    काठमाडौँ, कातिक १७-
    नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् राज्य व्यवस्था समितिका पूर्वसभापति रामहरि खतिवडालाई पितृ शोक परेको छ । उहाँका पिता जीवनाथ खतिवडाको डिल्लीबजारस्थित निवासमा ७८ वर्षको उमेरमा गएराति निधन भएको हो ।

    दमसम्बन्धी समस्या खेप्दै आउनुभएका खतिवडा आइतबार साँझ नियमित खाना खाएर सुत्नुभएको थियो ।

    उहाँको पार्थिव शरीरलाई आज पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिएको उहाँका छोरा नेता खतिवडाले जानकारी दिनुभयो ।

    स्व।खतिवडाप्रति श्रद्धाञ्जली व्यक्त गर्न नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महान्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालगायतका नेता तथा कार्यकर्ता आर्यघाट पुग्नुभएको थियो । स्व। खतिवडाका श्रीमती, पाँच छोरा र एक छोरी हुनुहुन्छ । रासस

  • अघिल्लो दिनकै भाउमा सुनको कारोबार, चाँदी बढ्यो

    अघिल्लो दिनकै भाउमा सुनको कारोबार, चाँदी बढ्यो

    १७ कात्तिक, काठमाडौं ।
    सोमबार अघिल्लो दिनकै मूल्यमा सुनको कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले अघिल्लो दिनकै मूल्य तय गरेको हो ।

    प्रतितोला २ लाख ३९ हजार ७ सय रुपैयाँमा सुनको कारोबार हुने छ । अन्तर्राष्ट्रिय बजारको मूल्यमा सामान्य उतारचढाव रहेपछि यहाँ मूल्य स्थिर रहेको हो । चार दिनमा सुनको भाउ तोलामा ३ हजार ४ सय रुपैयाँ बढेको छ ।

    गत बिहीबार २ लाख ३६ हजार ३ सयमा सुनको कारोबार भएको थियो । यसअघि असोज ३१ गते सुन हालसम्मकै उच्च २ लाख ५८ हजार रुपैयाँको रेकर्ड बनेको थियो ।

    चाँदी भने आज तोलामा ५ रुपैयाँ बढेको छ । अघिल्लो दिन ३ हजार ५५ रुपैयाँ प्रतितोला रहेको चाँदी आज ३ हजार ६० रुपैयाँ कायम भएको छ । चाँदीको भाउ असोज ३१ गते ३३५० रुपैयाँसम्म पुगेको रेकर्ड छ ।

  • चितवनमा मतदाता नामावली दर्ता गराउन युवा उत्साहित

    चितवनमा मतदाता नामावली दर्ता गराउन युवा उत्साहित

    चितवन, कात्तिक १७-
    भदौ २३ र २४ गते भएको युवाहरुको प्रदर्शनपछि आगामी निर्वाचनमा मतदाता नामावली दर्ता गराउनेको चाप बढ्दै गएको छ । यसमध्ये ९० प्रतिशत युवाहरु रहेका छन् ।

    जिल्ला निर्वाचन कार्यालय भरतपुरमा मतदाता नामावली दर्ता गर्न आउने युवामा आशा पलाएको पाइएको छ । भरतपुर महानगरपालिका–५ का शमिर शर्मा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि मतदान गर्नका लागि नामावली दर्ता गराउन आउनुभयो । युवा पुस्ताको आन्दोलनपछि उहाँमा केही आशा पलाएर मतदाता नामावलीमा नाम दर्ता गराउन आउनुभएको हो । उहाँले भन्नुभयो “युवाहरु भएपछि केही गरौ, कोही राम्रो मान्छे उम्मेदवार भएमा मतदान गरेर विजयी गराउन मतदाता नामावलीमा नाम गर्दा गरएको हुँ ।”

    युवाको विषयमा सोच्ने नेतृत्व चयनका लागि मतदान गर्ने उहाँले बताउनुभयो । सञ्चुकुमारी तामाङ पहिलो पटक मतदान गर्ने योजनाका साथ मतदाता नामावलीमा नाम दर्ता गराउनु आउनुभएको छ । युवा पुस्ताका लागि केही सोच्ने नेतृत्वका लागि मतदान गर्ने योजनासहित मतदाता नामावलीमा नाम दर्ता गराएको उहाँले बताउनुभयो । अहिलेसम्म युवाको बिषयमा सोच्ने नेतृत्व नहुँदा मतदाता नामावलीमासमेत नाम दर्ता नगराएको उहाँको भनाइ छ ।

    लामो समय विदेशमा बसेर स्वदेश फर्कनु भएका दीपक पन्त आफ्नो श्रीमतीसहित मतदाता नामावलीमा नाम दर्ता गराउनुभयो । अब देशमा केही हुन्छकी भन्ने आशाका साथ मतदाता नामावलीमा नाम दर्ता गर्न आएको उहाँले बताउनुभयो । पटक–पटक बिदामा स्वदेश आउँदासमेत नामावली दर्ता गर्ने चाहना नभए पनि अहिले ऊर्जा बढेको उहाँको भनाइ छ ।

    जिल्ला निर्वाचन कार्यालय भरतपुरमा ३ हजार ५२९ जना नयाँ मतदाता थपिएका छन् । कायालयले असोज ९ गतेदेखि नयाँ मतदाता नामावली सङ्कलनको काम सुरु गरेको हो । कार्यालयका प्रमुख भीमसेन कार्कीका अनुसार तीन हजार ५२९ जनाले नामावली दर्ता गराएका छन् । जसमध्ये ५२९ जना जिल्ला बाहिरका रहेका छन् । नामावली दर्ता गर्नेमा ९० प्रतिशत २५ वर्ष मुनिका रहेका छन्,भने १० प्रतिशत २५ वर्ष माथिका रहेका छन् ।

    आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचनका लागि मतदाता नामावली सङ्कलनको काम भइरहेको हो । नामावली सङ्कलनको काम कात्तिक महिनाभर मात्रै हुने छ । यसरी नामावली दर्ता गर्न आउनेमा स्वतःस्फूर्त आएको पाइएको उहाँले बताउनुभयो ।

    उहाँका अनुसार अहिलेसम्म राजनीतिक दलहरुले कार्यकर्तालाई ल्याएका छैनन् । उहाँले भन्नुभयो “दलहरुले गाडीमा ल्याउने गरेका थिए । तर अहिले त्यस्तो छैन । आएका मतदाता स्वतस्फूर्त आएका हुन ।” विसं २०७९ को निर्वाचनमा चितवनमा चार लाख २१ हजार ३९२ मतदाता थिए । रासस

  • सोमबार कुन राशिको भाग्य कस्तो ? हेर्नुहाेस् राशिफल

    सोमबार कुन राशिको भाग्य कस्तो ? हेर्नुहाेस् राशिफल

    आज मिति वि.सं.२०८२ साल कार्तिक १७ गते । सोमबार । इस्वी सन् २०२५ नोभेम्बर ३ तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । शरद ऋतु । श्रीशाके १९४७ । कार्तिक शुक्लपक्ष । तिथि–त्रयोदशी, ४३ घडी २१ पला, बेलुकी ११ बजेर ३७ मिनेट उप्रान्त चतुर्दशी । नक्षत्र–उत्तरभाद्रपदा, १७ घडी ७ पला, दिउसो १ बजेर ७ मिनेट उप्रान्त रेवती । योग– हर्षण, १३ घडी २९ पला, बेलुकी ६ बजेर ५६ मिनेट उप्रान्त बज्र । करण–कौलव, दिउसो १२ बजेर ३४ मिनेट उप्रान्त तैतिल, बेलुकी ११ बजेर ३७ मिनेट उप्रान्त गर । आनन्दादिमा–गद योग । चन्द्रराशि–मीन ।

    काठमाडौँमा सूर्योदय बिहान ६ बजेर १७ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर १६ मिनेट । दिनमान २७ घडी ३० पला ।

    आजको राशिफल

    मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) प्रशासन तथा राज्य पक्षसँग सम्बन्धित काम गर्दा ध्यान दिनुहोला समय मध्यम रहेको छ । समयमा काम नबन्ने तथा विभिन्न अवसरबाट वञ्चित हुने योग रहेको छ । गलत काम तथा क्रियाकलापलाई प्रश्रय दिनाले इज्जत तथा प्रतिष्ठामा दाग लाग्न सक्छ । पढाइ लेखाइमा मन नजाँदा अरूभन्दा पछि परिनेछ । माया प्रेममा धोका हुनेछ भने जीवन साथीसँग अनावश्यक विवाद हुन सक्छ ध्यान दिनुहोला । तर पनि लामो दुरीको यात्राको ग्रहयोग रहेको छ ।

    वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) आर्थिक दृष्टिले दिन उत्तम रहेको छ भने अधुरा योजनाहरू पुरा हुनेछन् । व्यापार तथा पशुपालन व्यवसायबाट राम्रै लाभ हुनेछ । सन्तान सुख मिल्नेछ भने परिवारमा माङ्गलिक कार्य हुनेछ । पुर्ख्यौली सम्पत्तिको प्रयोग मार्फत मनग्गे धन तथा सम्पत्ति जोड्न सकिनेछ । पढाइ लेखाइ उत्कृष्ट नतिजा हात लाग्ने हुँदा मन प्रसन्न हुनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ । यात्रा तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।

    मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) राजनीति तथा समाजसेवामा जनताको काम गर्न सकिने हुँदा पद प्राप्तको गतिलो योग रहेको छ । नयाँ काम पाउने तथा नोकरीमा सुगम स्थानमा स्थानान्तर वा बढुवा हुनेछ । बुवा तथा अग्रजहरूको आशीर्वाद लिँदै राम्रा काम गर्न सकिनेछ । पैतृक धन तथा सम्पत्ति प्राप्त हुनेछ । अध्ययन वा कामको सिलसिलामा लामो दुरीको यात्राको योग रहेको छ । तर पनि मौसमको प्रतिकुलताले कृषि तथा पशुपालन व्यवसायलाई नोक्सान पुर्याउन सक्छ ।

    कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) सामाजिक तथा परोपकारी कार्यमा मन जानेछ भने धार्मिक तथा शैक्षिक यात्राको तय हुनेछ । व्यापार वा शेयर बजारमा आज गरिने लगानीबाट भविष्यमा राम्रो नाफा कमाउन सकिनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा भनेजस्तो प्रगति गर्न सकिने हुनाले मन प्रसन्न हुनेछ । विशिष्ट व्यक्तिसँग नजिक हुन सकिने तथा सम्मान पाइनेछ । माया प्रेममा रमाउन चाहने जोडीहरूका रमाइलो यात्राको अवसर जुर्नेछ ।

    सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) आफन्त तथा दिदीबहिनीसँग मनमुटाब सिर्जना हुने योग रहेको छ । समय तथा परिस्थिति अनुसार नचल्नाले दुःख पाइनेछ । व्यापार व्यवसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ । माया प्रेममा धोका हुनेछ भने दाम्पत्य जीवनमा घटपट आउनेछ । सामान्य स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जानेछ । पढाइ लेखाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिने चिन्ताले सताउनेछ । सवारी साधनको प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला ।

    कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) व्यापारको सिलसिलामा छोटो दुरीको यात्रा हुने अधिक सम्भावना रहेको छ भने व्यवसायमा लगानी गरी प्रशस्त नाफा कमाउन सकिनेछ । भौतिक साधनहरू जुट्नेछन् । प्रविधिको प्रयोग मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ । अध्ययन, लेखन, कला साहित्य तथा गीत सङ्गीतमा चासो बढ्नेछ भने तपाईँको प्रतिभाको उच्च कदर हुनेछ । प्रेम सम्बन्धमा विश्वासको वातावरण बढ्ने तथा दाम्पत्य जीवन सुमधुर बन्नेछ । वित्तीय क्षेत्रबाट नाफा कमाउन सकिनेछ ।

    तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) व्यवसायमा प्रशस्त आम्दानी हुने तथा पुराना कारोबारहरूलाई थोरै समय दिएर सुल्झाउन सकिनेछ । शत्रुले दुःख दिन खोजे पनि अन्ततः उनीहरूलाई परास्त गर्दै अगाडी बढ्न सकिनेछ । आफन्त तथा मावली पक्षबाट सहयोगको अपेक्षा गर्न सकिनेछ । न्यायालयमा हुने सुनुवाइ तपाईँकै पक्षमा हुने हुनाले मन प्रसन्न हुनेछ । पढाइ लेखाइमा प्रति द्वन्दिहरुलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ ।

    वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) व्यापार तथा शेयर बजारको लगानीबाट नाफा कमाउन सकिनेछ । शिक्षा क्षेत्रमा गरिएको लगानीबाट मनग्गे लाभ हुनेछ । सन्तानको प्रगति देखेर मन रमाउनेछ भने वंश वृद्धिको गतिलो सम्भावना रहेको छ । पढाइ लेखाइ अन्य दिनभन्दा सुधार हुने हुनाले आफन्तहरू खुसी हुनेछन् । आकस्मिक धन तथा सम्पत्ति लाभ हुने योग रहेको छ । आफूले मन पराएको मानिसबाट उपहार प्राप्त हुने हुनाले मन प्रसन्न रहनेछ ।

    धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) आफन्तहरू टाढिने तथा पति पत्नीबिच सामान्य मनमुटाबको सिर्जना हुनेछ । पढाइ लेखाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरूका लागी समय मध्यम भएकोले जनताबाट आलोचनात्मक समर्थन पाइनेछ । व्यापार व्यवसायमा नाफा कमाउन निकै नै समय खर्चनु पर्नेछ । तर पनि शेयर बजार तथा वित्तीय क्षेत्रबाट थोरै भए पनि आम्दानी हुनेछ ।

    मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) आट, साहस तथा पराक्रम वृद्धि भएर जाने हुनाले उपलब्धिमूलक कामहरू गर्न सकिनेछ । न्यायिक निर्णयहरू तपाईँकै पक्षमा आउनेछन् । प्रतिस्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ । लेखन कला तथा साहित्यमा बाकी रहेको कामलाई पूर्णता दिन सकिनेछ । प्रेम प्रसङ्गमा रमाउने चाहनेहरूका लागी समय उत्तम रहेको छ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरू जनमानसमा लैजान सकिनेछ ।

    कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) अध्ययन अध्यापनमा प्रगति हुनेछ । पारिवारिक सद्भाव बढ्नेछ । आयआर्जनमा वृद्धि हुनेछ । नयाँ कामको थालनी हुनेछ । ठुला व्यक्तिको सहयोगमा विशेष काम सम्पन्न हुनेछ । आफन्त तथा कुटुम्बसँगको सम्बन्धमा आत्मीयताको बढोत्तरी हुने योग रहेको छ । व्यापार र शेयर बजारमा राम्रै फड्को मार्न सकिने समय रहेको छ । प्रेममा रमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ ।

    मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) अध्ययनमा सुधार भएर जानेछ भने अरूलाई पछाडि छोडेर अग्र पंतिमा आउन सकिनेछ । परिवारका साथ रमाइलो वातावरणमा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । मेहनत गर्दा आटेको काम बन्नेछ भने जुझारु कार्यशैलीले लक्ष्य तथा गन्तव्य पहिल्याउन सहज हुनेछ । व्यवसाय फस्टाएर भने लगानीको नयाँ वातावरण बन्नेछ भने आम्दानीमा बढोत्तरीको योग रहेको छ । राजनीतिमा पद प्राप्तिको योग रहेको छ ।

    तपाईँको दिन शुभ रहोस् ।

  • एक महिनामा एक लाख २८ हजार पर्यटक भित्रिए

    एक महिनामा एक लाख २८ हजार पर्यटक भित्रिए

    काठमाडौँ, १६ कात्तिकः
    सन् २०२५ को अक्टोवर महिनामा एक लाख २८ हजार ४४३ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । पदयात्रा र पर्वतारोहणका लागि नेपालको मुख्य पर्यटकीय याम मानिने अक्टोबरमा विभिन्न देशका पर्यटक नेपाल भित्रिएका हुन् ।

    नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार अक्टोबर महिनामा सबैभन्दा धेरै पर्यटक भारतबाट नेपाल आएका छन् । भारतबाट अक्टोबर महिनामा मात्र १७ हजार २९८ पर्यटक नेपाल घुम्न आएका हुन् । यस्तै, अमेरिकाबाट १३ हजार २८६ र बेलायतबाट आठ हजार ७१८ पर्यटक नेपाल आएका छन् ।

    यसबाहेक छिमेकी मुलुक चीनबाट छ हजार ७५५ तथा जर्मनीबाट छ हजार ३६६ पर्यटक नेपाल आएका छन् । पर्यटक आगमन अवस्था हेर्दा कूल पर्यटकमध्ये युरोपेलीको हिस्सा ३१.६ प्रतिशत रहेको छ । युरोपेली मुलुकबाट मात्र ४० हजार ६० पर्यटक नेपाल आएका छन् ।

    दक्षिण एसियाली राष्ट्र (सार्क) बाट २२.६ प्रतिशत पर्यटक आएका छन् । भारतसहित सार्क देशबाट २९ हजार ६० पर्यटक नेपाल भित्रिएको नेपाल पर्यटन बोर्डले जनाएको छ । अन्य एसियाली देशबाट २३ हजार १२७ पर्यटक नेपाल आएका छन् । गत वर्ष अक्टोबर महिनाको तुलनामा यस वर्ष ३.३ प्रतिशत बढी पर्यटक नेपाल घुम्न आएका हुन् ।

    सन् २०२४ को अक्टोबरमा एक लाख २४ हजार ३९१ पर्यटक नेपाल घुम्न आएका थिए । नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार सन् २०२५ को १० महिनामा नौ लाख ४३ हजार ७१६ पर्यटक नेपाल घुम्न आएका छन् । सन् २०२४ को १० महिनामा नौ लाख ४१ हजार २४ पर्यटक नेपाल घुम्न आएका थिए ।

  • `योगदान राष्ट्रको लागि´रत्ननगर नगर समितिको सचिवमा बद्री धिताल निर्विरोध चयन

    `योगदान राष्ट्रको लागि´रत्ननगर नगर समितिको सचिवमा बद्री धिताल निर्विरोध चयन

    रत्ननगर,कार्तिक १६-
    योगदान राष्ट्रको लागि रत्ननगर नगर समितिको सचिवमा बद्री धिताल निर्विरोध रुपमा चयन भएका छन्।

    शनिवार रत्ननगरस्थित सहारा सुपरमार्केटमा रहेको होटल चिम्निमा सम्पन्न अधिवेशनले धिताललाई सचिव पदमा निर्विरोध चयन गरेको हो। रत्ननगर-१६ निवासी धिताल यस संस्थाका आजिवन सदस्य हुन्।

    सो समितिको अध्यक्षमा विरन्जना घिमिरे,उपाध्यक्षमा सौरभ रिजाल र सह-सचिवमा लक्ष्मी पौडेल चयन भएका छन्।

    त्यस्तै,सदस्यहरुमा पार्वती देवि मगर,लिला दाहाल,लक्ष्मी देवि तामाङ्ग,कमल घिमिरे,श्रुति राणा,ईश्वरी सिंखडा,निरज साह,अनु बोहरा र अरुणा कट्टेल चयन भएका छन्।

    साथै,सो समितिको सल्लाहकारहरुमा रामहरी लम्साल,वसन्त राना,लक्ष्मण पौडेल चयन भएका छन्।

    “प्राथमिक उपचार, हाम्रो सरोकार” भन्ने मुल नारा लिई एक घर, एक प्राथमिक उपचारको अवधारणा सहित वि.सं. २०७४ बाट सुरु भएको यो संस्थाले वि.सं. २०७७ मा विधिवत रुपमा दर्ता गरी सामाजिक क्षेत्रमा विविध कार्यहरु गर्दै आएको छ।

    चावहिल-७,काठमाडौँमा केन्द्रिय कार्यालय रहेको यस मुनाफारहित संस्था स्वास्थ्यको क्षेत्रमा प्राथमिक उपचार, सरसफाई, जनचेतना लगायत सम्पूर्ण सामाजिक कार्यक्रम गर्ने,दैवी प्रकोपमा योगदान गर्न स्वयंसेवकको भूमिका निर्वाह गर्ने,प्राथमिक उपचार, आगलागी, बाढी पहिरोबाट बच्ने उपायको तालिम सञ्चालन गर्ने तथा दैनिक जीवनमा आइपर्ने समस्याहरुको समाधानमा सहयोग गर्ने ,देशमा दैवी प्रकोपको कारणले सृजना भएको प्रतिकुल परिस्थितिमा आवश्यक सहयोग गर्न पहल गर्ने,राष्ट्रलाई आइपर्ने महामारी, भवितव्य आपतकालिन समस्यासँग जुध्न प्रशिक्षित जनशक्ति तयार गर्ने र गुणस्तरीय एम्बुलेन्स सेवा सञ्चालन गर्ने उद्देश्यसहित संचालनरत छ।

  • बाल सुधारगृहबाट भागेका २० मध्ये १५ जना पक्राउ

    बाल सुधारगृहबाट भागेका २० मध्ये १५ जना पक्राउ

    भक्तपुर, १६ कात्तिकः 
    भक्तपुरको सानोथिमिस्थित बाल सुधारगृहबाट २० जना बन्दी ढोका फोडेर फरार भएका छन् ।

    बन्दीहरु आज दिउँसो सुधारगृहको ढोका फोडेर फरार भएका हुन् ।

    फरार भएकामध्ये हालसम्म १५ जनालाई  विभिन्न ठाउँबाट पुनः पक्राउ गरिएको र बाँकीको खोजी भइरहेको प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक नवराज ढुङ्गानाले जानकारी दिनुभयो ।

    आज साँझसम्म बाँकी रहेकाहरूलाई पक्राउ गर्नेगरी खोजी भइरहेको उहाँले जानकारी दिनुभयो ।

    सुधारगृहमा क्षमताभन्दा दोब्बर बन्दी रहेको र बाल सुधारगृह भने पनि युवाहरूलाई समेत बन्दीका रुपमा त्यही राख्न थालेपछि सुधारगृहमा झडप र तोडफोड हँुदै आएको छ ।

  • राजदूत फिर्ताको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

    राजदूत फिर्ताको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

    कात्तिक, काठमाडौं ।
    सर्वोच्च अदालतले राजदूत फिर्ता गर्ने सरकारको निर्णय तत्काल कायम नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

    सर्वोच्चका न्यायाधीशद्वय शारंगा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले उक्त निर्णय कार्यान्वयन नगर्न सरकारका नाममा अन्तरिम आदेश दिएको हो ।

    सरकारले गत असोज ३० गते विभिन्न ११ देशका राजदूतहरू फिर्ता गर्ने निर्णय गरेको थियो । उक्त निर्णय बदर गर्न माग गर्दै पत्रकार सुनिल भट्टराईले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र परराष्ट्र मन्त्रालयलाई विपक्षी बनाएर रिट दायर गरेका थिए ।

    सरकारले फिर्ता बेलाएका राजदूतहरुमा चीनका प्रा.डा. कृष्णप्रसाद ओली, जर्मनीका डा. शैल रुपाखेती, इजरायलका प्रा. धनप्रसाद पण्डित, मलेसियाका डा. नेत्रप्रसाद तिमल्सिना, कतारका रमेशचन्द्र पौडेल, रुसका जंगबहादुर चौहान, साउदी अरबका नरेशविक्रम ढकाल, स्पेनका सनिल नेपाल, संयुक्त अधिराज्य बेलायतका चन्द्रकुमार घिमिरे, संयुक्त राज्य अमेरिकाका लोकदर्शन रेग्मी र जापानका डा. दुर्गाबहादुर सुवेदी छन्।

  • हर्क साम्पाङले पाए दल दर्ताको प्रमाणपत्र

    हर्क साम्पाङले पाए दल दर्ताको प्रमाणपत्र

    १६ कात्तिक, काठमाडौं –
    धरानका मेयर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले आधिकारिकता पाएको छ । सो पार्टीका अध्यक्ष हर्क साम्पाङ आज निर्वाचन आयोग पुगेर दल दर्ताको प्रमाणपत्र लिएका छन् ।

    साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीको चुनाव चिह्न माटो राखिएको छ ।

    सो पार्टीमा २८ जना केन्द्रीय सदस्य र पाँच जना पदाधिकारी छन् । उपाध्यक्षमा देवराज लामा, महासचिवमा आर्यन राई, कोषाध्यक्ष समिता राई रहेका छन् । प्रवक्तामा अरुण गुरुङ रहेका छन् ।

    गत असोज १२ गते आइतबार साम्पाङ आफैं निर्वाचन आयोग उपस्थित भएर दल दर्ताको निवेदन दिएका थिए ।

  • चितवनको माडी जाने निकुञ्जभित्रको सडकमा मोज्याक टायल लगाइने

    चितवनको माडी जाने निकुञ्जभित्रको सडकमा मोज्याक टायल लगाइने

    चितवन, कात्तिक १६ –
    विश्वसम्पदा सूचीमा परेका कारण कालोपत्र हुन नसकेको हुलाकी सडकको चितवन राष्ट्रिय निकुञ्जभित्रका सडकमा मोज्याक टायल लगाइने भएको छ । माडी नगरपालिकाले चालु आर्थिक वर्षबाट ‘मोज्याक’ लगाउन सुरु गर्न लागेको हो ।

    माडी नगरपालिकाका प्रमुख तारा काजीकुमारी महतोका अनुसार कालोपत्र गर्न नमिलेपछि सडकलाई धुलोरहित बनाउन मोज्याक टायल लगाउन लागिएको हो । सडकको भागमध्ये सात मिटरमा मोज्याक टायल लगाउन लागिएको हो । यसका लागि वन मन्त्रालयले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागलाई आवश्यक सहजीकरण गरिदिन पत्राचार गरिसकेको छ । विभागले चितवन राष्ट्रिय निकुञ्जलाई सडकमा मोज्याक टायल लगाउनका लागि आवश्यक सहजीकरण गर्न पत्राचार गरेको छ ।

    चालु आर्थिक वर्षमा नगरपालिकाले मोज्याक टायलका लागि रु पाँच करोड ५० लाख विनियोजन गरेको छ । सो रकमले काम थालनी गर्ने नगरपालिकाका प्रमुख महतको भनाइ छ । राजमार्गस्तरको बाटोमा नेपालमा अहिलेसम्म मोज्याक टायल नलगाइएकाले लागत अनुमान गर्न कठिन भएको छ ।

    नगरपालिकाले सडक विभाग र निकुञ्जका प्राविधिकको परामर्शमा लागत अनुमान तयार गर्ने काम गरिरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “राजमार्गमा बलियो संरचना निर्माण गर्नुपर्ने भएकाले कालोपत्रभन्दा महँगो हुँदोरहेछ, यो वर्ष हाम्रो रकमले थोरै क्षेत्रमा काम हुन्छ ।” यसको प्रभावकारितालाई हेरेर आगामी वर्षको बजेटमा सङ्घ, प्रदेश र पालिकाले बजेट विनियोजन गरी थप काम गर्ने उहाँको भनाइ छ ।

    कसराको राप्ती पुलबाट रिउखोलासम्म करिब नौ किलोमिटर सडक निकुञ्जभित्र पर्दछ । त्यसमध्ये राजपत्रमा प्रकाशित भएको सुविधा प्राप्त बाटो भनी उल्लेख गरेको रिउ खोलादेखि ध्रुव पोष्टसम्मको सडकलाई पहिलो प्राथमिकता राख्न लागिएको छ । करिब पाँच किलोमिटर सडक रहेको सुविधा प्राप्त बाटोको काम सुरुमा गरिने प्रमुख महतोले जानकारी दिनुभयो ।

    निकुञ्जका सूचना अधिकारी अविनाथ थापामगरका अनुसार विभागले मन्त्रालयमा भएको सहमतिअनुसार सडकमा मोज्याक टायल लगाउनका लागि आवश्यक सहजीकरण गरिदिन पत्र पठाएको छ । उहाँले भन्नुभयो, “काम माडी नगरपालिकाले गर्दैछ, आवश्यक सहजीकरण हामीले गर्छौं ।”

    माडीका नागरिकले पटकपटक सो सडकलाई धुलोरहित बनाउन माग गर्दै आएका थिए । जेनजी आन्दोलनका क्रममा माडीमा कुनै सरकारी वा निजी सम्पत्तिमाथि आक्रमण नगर्ने तर निकुञ्जभित्रको सडक निर्माण गर्ने सहमति भएको थियो । सोहीअनुसार माडीका आन्दोलनकारीले सो क्षेत्रमा कुनै पनि संरचनामाथि आक्रमण गरेका थिएनन् । त्यसलगत्तै माडीका जनप्रतिनिधि, आन्दोलनकारी, राजनीतिक दललगायत सरोकारवालाहरुले वन तथा वातावरण मन्त्रालयमा पुगेर सडकमा कालोपत्र नगर्ने तर मोज्याक वा ढुङ्गा लगाएर धुलोरहित बनाउने सहमति गरेका थिए ।

    माडी जान चितवन राष्ट्रिय निकुञ्ज हुँदै पुग्नुपर्ने हुन्छ । माडी क्षेत्रलाई सबैतिर जङ्गलले घेरेको छ । उर्वर भएर पनि सो क्षेत्रका बासिन्दा वन्यजन्तुबाट प्रभावित छन् । सदरमुकाम भरतपुर आवतजावत गर्ने यो मात्रै सडक हो । रासस