Blog

  • दोलखाको यलुङ रि हिमालमा हिमपहिरो: ३ को मृत्यु, ८ जना बेपत्ता

    दोलखाको यलुङ रि हिमालमा हिमपहिरो: ३ को मृत्यु, ८ जना बेपत्ता

    काभ्रेपलाञ्चोक, १७ कात्तिक
    दोलखाको रोल्वालिङ उपत्यकास्थित यलुङ रि हिमालमा गएको हिमपहिरोमा परेर तीन जनाको मृत्यु भएको छ ।

    जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रमुख डीएसपी ज्ञानकुमार महतोका अनुसार ४ जना घाइते भएका छन् भने ८ जना बेपत्ता छन् ।

    नेपाली गाइड सहित सोमबार बिहान यलुङ रि हिमाल आरोहण गर्न १५ जनाको टोली नाँ गाउँबाट निस्किएको थियो ।

  • राष्ट्रपति पौडेल ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन दोहामा

    राष्ट्रपति पौडेल ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन दोहामा

    काठमाडौँ, कात्तिक १७ –
    राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा यही कात्तिक १८ देखि २० गतेसम्म आयोजना हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन आज दोहा पुग्नुभएको छ ।

    राष्ट्रपति पौडेल कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सो सम्मेलनमा सहभागी हुन प्रथम महिला सविता पौडेलसहित कतारको दोहा पुग्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

    राष्ट्रपति पौडेललाई दोहास्थित हमाद अन्तरराष्ट्रिय विमानस्थलमा कतारका विदेश मन्त्रालय र त्यहाँस्थित नेपाली राजदूत रमेशचन्द्र पौडेललगायत दूतावासका उच्चपदस्थ पदाधिकारी संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले स्वागत गर्नुभएको थियो ।

    राष्ट्रपति पौडेलले संयुक्त राष्ट्रसङ्घको महासभाको निर्णयअनुसार कतारको दोहामा हुन लागेको ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’ को मुख्य सत्रलाई कात्तिक १८ गते सम्बोधन गर्ने कार्यक्रम रहेको छ । साथै, राष्ट्रपति पौडेलले सो सम्मेलनका अवसरमा कतारका अमिर शेख तमिम बिन हमद अल थानी र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलगायतसँग भेटवार्ता गर्नुहुनेछ ।

    यसअघि उक्त सम्मेलन १९९५ मा डेनमार्कको कोपनहेगनमा भएको थियो । सम्मेलनमा वर्तमान विश्वले सामना गर्नुपरेको विकासको असमानता, जनसङ्ख्यामा आएको असन्तुलन र प्रविधिका कारण समाजमा परेको प्रभावलगायत विषयमा छलफल हुने बताइएको छ । भ्रमण पूरा गरी राष्ट्रपति पौडेल कात्तिक २० गते स्वदेश फर्किनुहुने छ । रासस

  • दक्षिणी भारतमा बससँग ट्रक ठोक्किँदा २० जनाको मृत्यु, दर्जनौँ घाइते

    दक्षिणी भारतमा बससँग ट्रक ठोक्किँदा २० जनाको मृत्यु, दर्जनौँ घाइते

    भारत, कात्तिक १७-
    दक्षिणी भारतको तेलङ्गाना राज्यमा सोमबार बिहान भएको एक भीषण सडक दुर्घटनामा कम्तीमा २० जनाको मृत्यु भएको र करिब दुई दर्जन व्यक्ति घाइते भएको पुष्टि भएको छ । कङ्क्रिट ढुङ्गा बोकेको ट्रक यात्रुबसमा ठोक्किँदा यो दुःखद घटना भएको स्थानीय अधिकारीहरूले जनाएका छन् ।

    राज्य सञ्चालित यातायात बस करिब ७० जना यात्रु बोकी राजधानी हैदराबादतर्फ गइरहेको थियो । विपरीत दिशाबाट अत्यधिक गतिमा आइरहेको ट्रक चेभल्ला सहर नजिकै बससँग ठोक्किएको जिल्ला अधिकारी के। चन्द्रकलाले जानकारी दिए। उनका अनुसार बसको अगाडिको भाग पूर्ण रूपमा क्षतिग्रस्त भएको र धेरै यात्रु भित्रै फसेका थिए ।

    चेभल्ला अस्पतालका सुपरिटेन्डेन्ट डा। राजेन्द्र प्रसादका अनुसार दुर्घटनास्थलबाट २० जनाको शव शवगृहमा लगिएको छ र कानूनी प्रक्रिया पूरा भएपछि तिनीहरूका पारिवारिकजनलाई हस्तान्तरण गरिनेछ । घाइतेहरूलाई नजिकका विभिन्न अस्पतालमा उपचारका लागि लगिएको बताइएको छ ।

    यो दुर्घटना भारतको पश्चिमी राज्य राजस्थानमा आइतबार राति भएको अर्को दुर्घटनाको ठीक भोलिपल्ट भएको हो । राजस्थानमा यात्रु बोकेको मिनीबस राजमार्गमा पार्क गरिएको ट्रकमा ठोक्किँदा कम्तीमा १५ जनाको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए ।

    राजस्थानको कोलायत तीर्थस्थलमा पूजापाठ गरेर फर्किरहेका ती यात्रुहरू मरुभूमि सहर जोधपुरतर्फ गइरहेका थिए । मृतकमध्ये १० महिला, चार बालबालिका र बस चालक रहेको वरिष्ठ सरकारी अधिकारी श्रीमती श्वेता चौहानले जानकारी दिए। उनका अनुसार घाइतेहरूलाई स्थानीय अस्पतालमा भर्ना गरी उपचार भइरहेको छ ।

    दुर्घटनामा मिनीबसको अगाडिको भाग च्यातिएको थियो र धातुको टुक्रामा पीडितहरू फसेका थिए । वरिष्ठ प्रहरी अधिकारी कुन्दन कन्वारियाले प्रारम्भिक अनुसन्धानको नतिजा उद्धृत गर्दै भने, ‘बस चालकले अर्को सवारीलाई ओभरटेक गर्ने प्रयास गर्दा राजमार्गमा पार्क गरिएको ट्रकमा ठोक्किएको देखिन्छ । सम्भवतः उनले ब्रेक लगाउन पनि समय पाएनन् ।’

    भारतमा राजमार्गहरूमा ट्रक र ट्रेलरहरू चेतावनी बत्ती वा परावर्तक चिह्नबिना नै अव्यवस्थित रूपमा पार्क गरिने सामान्य प्रवृत्ति रहेको बताउँदै अधिकारीहरूले यस्तो लापरवाहीले रातको समयमा गम्भीर जोखिम निम्त्याउने र पछिल्ला वर्षहरूमा यस्तै कारणले धेरै घातक दुर्घटनाहरू भएको उल्लेख गरेका छन् ।

    प्रधानमन्त्री नरेन्द्र मोदी, तेलङ्गानाका मुख्यमन्त्री रेवन्त रेड्डी तथा राजस्थानका मुख्यमन्त्री भजनलाल शर्माले दुवै दुर्घटनाप्रति गहिरो शोक व्यक्त गर्दै मृतकका परिवारप्रति हार्दिक समवेदना प्रकट गरे।

    राजस्थानमै करिब तीन हप्ताअघि यात्रुबसमा सर्ट सर्किटका कारण आगलागी भई कम्तीमा २० जनाको ज्यान गएको घटनापछि पुनः यस्तो ठूलो दुर्घटना हुनुका कारण भारतको सडक सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठेको छ । रासस

  • अर्थमन्त्री खनालसँग नेपालका लागि कोरियाका राजदूतको शिष्टाचार भेट

    अर्थमन्त्री खनालसँग नेपालका लागि कोरियाका राजदूतको शिष्टाचार भेट

    काठमाडौँ, कात्तिक १७ –
    अर्थमन्त्री रामेश्वरप्रसाद खनालसँग नेपालका लागि कोरिया गणतन्त्रका राजदूत पार्क ते यङले शिष्टाचार भेट गर्नुभएको छ । अर्थ मन्त्रालयमा आज भएको उक्त भेटमा अर्थमन्त्री खनालले कोरिया र नेपालबीच रहेको दुईपक्षीय कूटनीतिक सम्बन्धको चर्चा गर्दै कोरिया सरकारले प्रदान गर्दै आएको निरन्तर सहयोगका लागि धन्यवाद व्यक्त गर्नुभयो ।

    साथै कोरियाको सहयोगमा सञ्चालन भएका आयोजना तथा कार्यक्रमहरूको अवस्था सन्तोषजनक रहेको उल्लेख गर्दै अर्थमन्त्री खनालले कोरियासँगको आर्थिक साझेदारीलाई निरन्तरता दिइने बताउनुभयो ।

    सोअवसरमा राजदूत पार्कले कोरिया सरकारको एजेन्सी कोइका र नेपाल सरकारबीचको द्विपक्षीय सम्बन्ध स्थापनाको ३० वर्ष पुगेको स्मरण गर्दै आगामी दिनमा थप समन्वय र सहकार्यका आशा व्यक्त गर्नुभयो ।

    साथै कोरियन लगानीकर्तालाई नेपालमा लगानीको लागि प्रोत्साहित गर्न र नेपाली उत्पादनहरूको प्रवर्द्धनका लागि आवश्यक सहजीकरण गरिने बताउनुभयो । साथै, नेपाली कामदारहरूलाई कोरिया रोजगारीका लागि लैजान सहज होस भनेर कोरिया सरकारले छुट्टै भिसा सेन्टर स्थापना गर्न लागेको विषय समेत जानकारी गराउनु भयो ।

    त्यसैगरी उहाँले इपिएस प्रणालीअन्तर्गत रोजगारीका लागि कोरिया गई फर्किएका नेपाली नागरिकहरूको उद्यमशिलता प्रवर्द्धनका लागि नयाँ व्यवसाय सञ्चालन गर्न कोइकाको सहयोगमा कृषि विकास बैंकमार्फत सहुलियत पूर्ण कर्जा उपलब्ध गराउनका लागि प्रक्रिया अगाडि बढाइएको र सोका लागि आवश्यक सहजीकरण गर्नसमेत अनुरोध गर्नुभएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ । रासस

  • नारायणघाट-बुटवल सडकको दाउन्ने खण्ड २ महिनासम्म एकतर्फी हुने

    नारायणघाट-बुटवल सडकको दाउन्ने खण्ड २ महिनासम्म एकतर्फी हुने

    नवलपुर,कात्तिक १७-
    सडक विभागले निर्माणधिक अवस्थामा रहेको नारायणघाट–बुटवल सडकको दाउन्ने खण्डमा अबको दुई महिनासम्म सडक एकतर्फी हुने जनाएको छ। सडक विभाग अन्तर्गतको आयोजना निर्देशनालयले आज सूचना जारी गर्दै विगत केही दिनयता भएको वर्षातको कारण निर्माणाधीन नारायणघाट–बुटवल सडक खण्डको दाउन्ने क्षेत्रमा सडक सतह चिप्लो भई यातायात आवागमनमा कठिनाई उत्पन्न भइरहेका पनि जनाएको छ।

    आगामी दिनहरूमा पुनः वर्षा भएमा हाल कलभर्टहरू निर्माणाधीन भई एकतर्फी सडक सञ्चालन भइरहेको स्थानमा सवारी साधन सञ्चालनमा थप कठिनाई हुने सम्भावना देखिएको भन्दै निर्देशनालयले कल्भर्टहरूको निर्माण कार्य सम्पन्न नहुन्जेल अबको करिब दुई महिना (२०८२ पौष १५ सम्म) यो सडक खण्डमा यात्रा गर्नुअघि सडकको अवस्थाबारे सही तथा अद्यावधिक जानकारी लिन पनि यात्रुहरुलाई अनुरोध छ।

    साथै यस सडक खण्डमा यातायात सञ्चालनमा कुनै अवरोध उत्पन्न भएको अवस्थामा बैकल्पिक सडकहरूको प्रयोग गर्न सकिने भन्दै निर्देशनालयले वैकल्पिक सडकको विषयमा पनि जानकारी दिएको छ। सडकको अद्यावधिक अवस्थाबारे जानकारी लिनको लागि फोन नम्बरहरू ९८५७०८७२२२ (जिल्ला ट्राफिक), ९८५७०४०९२७ (दुम्कीबास प्रहरी), ९८५५०२७८२०/९८५७०८२३४० (आयोजनाको सूचना अधिकारी), ९८६९७९३१२९ / ९८६०४४१२२९ (परामर्शदाताको इन्जिनियर), ९८१९८८४४१६/ ९८४१६००९२३ (निर्माण व्यवसायीको इन्जिनियर)सँग सम्पर्क गर्न सकिने विभागले जनाएको छ।

    हेर्नुहोस् सूचना

  • निर्वाचनमय वातावरण बनाउन सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण हुन्छ : कार्यवाहक प्रमुख आयुक्त

    निर्वाचनमय वातावरण बनाउन सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण हुन्छ : कार्यवाहक प्रमुख आयुक्त

    काठमाडौँ, कात्तिक १७ –
    निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मुलुकमा निर्वाचनमय वातावरण बनाउन सञ्चारमाध्यमको महत्त्वपूर्ण भूमिका हुने बताउनुभएको छ ।

    आयोगको कार्यालयमा आज राष्ट्रिय समाचार समिति (रासस) को व्यवस्थापन र राससकर्मीसँग आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनका सन्दर्भमा छलफल गर्दै कार्यवाहक प्रमुख आयुक्त भण्डारीले विकट क्षेत्रका हरेक पेसाका नागरिकसम्मलाई सही सूचना दिएर निर्वाचनको महत्त्व र आवश्यकताबारे प्रचारप्रसार गर्न आग्रह गर्नुभयो ।

    “मुलुकमा निष्ठापूर्वक निर्वाचन सम्पन्न हुने वातावरण सृजना गर्न र त्यसरूपमा निर्वाचन भएको सन्देश देश विदेशमा फैलाउन राससजस्ता समाचार समितिको अझ बढी भूमिका रहन्छ । त्यस काममा विगतमा झैँ रासस अग्रसर हुने विश्वास आयोगले लिएको छ”, कार्यवाहक प्रमुख आयुक्त भण्डारीले भन्नुभयो, “अहिलेको निर्वाचन विशेष परिस्थितिको निर्वाचन भएकाले यस पक्षलाई मनन् गरेर निर्वाचन तयारी, सुरक्षा, मतदाता शिक्षालगायत विषयमा सही समाचार दिन उत्तिकै आवश्यक छ ।”

    निर्वाचन आयुक्तहरू डा जानकीकुमारी तुलाधर, सगुनशमशेर जबरा, आयोगका सचिव माहादेव पन्थसहित सहभागी छलफलमा निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गराउने सन्दर्भमा आयोग र राससबीचको सहकार्य बढाउने विषयमा छलफल भएको थियो । सो अवसरमा राससका महाप्रबन्धक सन्दीप राईले लोकतन्त्रको प्राणका रूपमा रहेको निर्वाचनको वातावरण बनाउन राससले आफ्नो ठाउँबाट निरन्तर भूमिका निर्वाह गर्दै आएको बताउनुभयो ।

    छलफलमा आयोगका सहसचिवहरू नारायणप्रसाद भट्टराई, यज्ञप्रसाद भट्टराई, राजेन्द्र केसी, राससका लेखाशाखा प्रमुख रुद्रमणि अधिकारी, प्रमुख समाचारदाता नारायणप्रसाद न्यौपाने, वरिष्ठ समाचारदाता प्रकाश सिलवाललगायत सहभागी हुनुहुन्थ्यो । रासस

  • दासढुङ्गादेखि मुग्लिनसम्मको सडक सधैँ पहिरोको जोखिममा

    दासढुङ्गादेखि मुग्लिनसम्मको सडक सधैँ पहिरोको जोखिममा

    चितवन, कात्तिक १७ –
    नारायणगढ–मुग्लिन सडकखण्डको दासढुङ्गादेखि मुग्लिनसम्मको सडकखण्ड पहिरोका कारण सधैँ जोखिमपूर्ण हुने गरेको छ । पानी पर्दा लेदोसहितको पहिरो र पानी नपर्दा सुक्खा पहिरो खस्ने गरेको छ ।

    चीन सरकारको सहयोगमा निर्माण भएको यो सडक अहिले आधुनिक रूपमा विस्तार भए पनि, प्रकृतिको जोखिमबाट अझै सुरक्षित हुन सकेको छैन । सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी इ कृष्णप्रसाद आचार्यका अनुसार नारायणगढ–मुग्लिन सडक विसं २०३३ मा चीन सरकारको सहयोगमा निर्माण गरिएको हो । सुरुआती चरणमा यो सडक मिडियम लेनमा पाँच दशमलव पाच मिटर चौडाइमा बनेको थियो ।

    राजधानी काठमाडौँ जाने प्रमुख मार्गको रूपमा विकसित यो सडकमा दैनिक हजारौँ सवारीसाधन गुड्ने गर्दछन् । बढ्दो यातायातलाई मध्यनजर गर्दै विसं २०७०÷७१ सालदेखि सडकलाई डेडिकेटेड डबल लेनमा विस्तार गर्ने कार्य सुरु गरी विसं २०७५ मा विस्तार कार्य सम्पन्न गरिएको आचार्यले जानकारी दिनुभयो । यससँगै सडकमा रहेका १९ वटा पुललाई पनि डबल लेनमा रूपान्तरण गरिएको छ । पछिल्लो समय विश्व बैंकको ऋण सहयोगमा सडक विस्तार र पुल निर्माणको काम गरिएको हो ।

    सूचना अधिकारी आचार्यका अनुसार दासढुङ्गादेखि मुग्लिनसम्मको भू–बनोट पहिरो जाने प्रकारको भएकाले यो सडकखण्ड जोखिमयुक्त मानिन्छ । अधिकांश स्थानमा भाँचिएको ढुङ्गा ‘फ्याक्चर्ड रक’का पहाड भएकाले पहिरोको जोखिम बढी रहेको छ । हरेक वर्ष सक्रिय पहिरोका स्थानहरू परिवर्तन हुँदै जाने गरेको उहाँले बताउनुभयो ।

    विगतका वर्षहरूमा मौरीखोला र सेती दोभानखोला क्षेत्रमा बढी समस्या हुने गरेको भए पनि हालका वर्षहरूमा तुइनखोला, कालीखोला र नाम्सीखोलामा पहिरोको जोखिम बढी रहेको आचार्यले बताउनुभयो । उहाँका अनुसार यो वर्ष तुइनखोलामा १६० मिटर, नाम्सीखोलामा १५० मिटर र कालीखोलमा ५० मिटर पहिरोको उच्च जोखिमा रहेको छ ।

    जोखिम न्यूनीकरणका लागि सडक डिभिजन कार्यालयले पहिरो हटाउने उपकरण तयारी अवस्थामा राखेको र नियमित रूपमा काम भइरहेको आचार्यले जानकारी दिनुभयो । पहिरो रोक्नका लागि योजना बनाएर विभागमा पठाइएको छ । उहाँका अनुसार आफूहरूले तयार पारेको योजना सहमतिका लागि बिभाग पठाइएको र अध्ययनको क्रममा रहेको उहाँले बताउनुभयो ।

    डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख नारायण लामिछानेका अनुसार यसअघि पहिरो खस्दा तुइनखोलामा पुलपट्टीको ढिस्को बाँकी रहेको थियो । सोही ढिस्कोको केही भाग हिजोआज खस्ने गरेको छ । पटक–पटक गरेर पहिरो खस्दा सडक जोखिमपूर्ण वनेको छ । गत महिना सो ठाउँमा पहिरो खस्दा लामो समय सडक अवरुद्ध भएको थियो । पहिरो नियन्त्रणका लागि योजना बनाइएको सो पहाडको धेरै भाग झरेपछि कार्यालयले सडक बिभागमा पहिरो नियन्त्रणका लागि पुनः लगत तयार गर्न फाइल पेस गरेको छ ।

    लामिछानेका अनुसार यसअघि तुइनखोलासहित विभिन्न ठाउँमा पहिरो नियन्त्रणका लागि रु ३९ करोडको लगत तयार गरी विभागमा पेस गरिएको थियो । पहिरो नियन्त्रण गर्नुपर्ने मुख्य पहाडको रूपमा रहेको तुइनखोला नजिकैको पहाडको स्वरूप पहिरोले परिवर्तन गरेपछि स्टिमेट पुनः गर्न लागिएको हो ।

    उहाँका अनुसार यही हिउँदमा काम गर्नुपर्ने भएकाले विभागलाई यथासक्य छिटो निर्णय प्रक्रियामा लैजान आग्रह गरिएको छ । यो सडक हुँदै राजधानी काठमाडौँ र गण्डकी प्रदेशका विभिन्न जिल्लाहरू सवारीसाधन जाने आउने गर्दछन् । ती जिल्लाका लागि लाइफलाइनका रूपमा यो सडकलाई हेर्ने गरिन्छ ।

    डिभिजन सडक कार्यालयले जोखिमपूर्ण ती क्षेत्रमा पहिरो रोकथामको काम गर्न गत वर्षनै विभागमा प्रस्ताव गरेको भए पनि समयमा ध्यान नदिँदा यो बर्र्सातमा यात्रुहरूले दुःख पाएका हुन् । रासस

  • शेखर कोइरालासँग विशेष महाधिवेशन माग गर्ने नेताहरुको भेटवार्ता

    शेखर कोइरालासँग विशेष महाधिवेशन माग गर्ने नेताहरुको भेटवार्ता

    काठमाडौँ, कात्तिक १७ –
    नेपाली कांग्रेसको विशेष महाधिवेशनको माग गरी ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर सङ्कलन गरी पार्टी कार्यालयमा दर्ता गराएको समूहले पार्टी नेता डा शेखर कोइरालासँग छलफल गरेको छ ।

    हस्ताक्षर बुझाएपछि पार्टी केन्द्रीय समितिको बैठकमा बहस चलिरहेका सन्दर्भमा आज पार्टीका नेता कोइरालासँग भेट गरी चार वर्षे कार्यकालभित्रै १५ औँ महाधिवेशन वा विकल्पमा विशेष महाधिवेशनको कार्यतालिका ल्याउन माग गरिएको हस्ताक्षर सङ्कलनको नेतृत्व गर्दै आउनुभएका नेता गुरुराज घिमिरेले राससलाई जानकारी दिनुभयो ।

    भेटघाट र छलफलका क्रममा नियमित वा विशेष महाधिवेशनबाट समयसापेक्ष नीति तर्जुमासहित केन्द्रीय समितिको निर्वाचन अहिलेको एकमात्र बाटो रहेको नेता कोइरालाले बताउनुभएको थियो । नियमित महाधिवेशन नहुने भए विशेष महाधिवेशनका लागि आफूले पनि पहल गर्ने उहाँले प्रतिबद्धता जनाउनुभएको कांग्रेस नेता मनोजमणि आचार्यले बताउनुभयो ।

    नियमित महाधिवेशन नहुने अवस्थामा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले पार्टीको विधानबमोजिम हस्ताक्षर बुझाउँदा पनि विधान पालना नभए आत्मघाती हुनसक्नेतर्फ पनि नेता कोइरालाको ध्यानाकर्षण गराइएको उहाँले बताउनुभयो । रासस

  • गृहमन्त्रीद्वारा राष्ट्रपतिको निजी निवास निरीक्षण

    गृहमन्त्रीद्वारा राष्ट्रपतिको निजी निवास निरीक्षण

    काठमाडौँ, कात्तिक १७ –
    गृहमन्त्री ओमप्रकाश अर्यालले आज राष्ट्रपति रामचन्द्र पौडेलको बोहोराटारस्थित निजी निवास निरीक्षण गर्नुभएको छ ।

    गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा राष्ट्रपति पौडेलको बोहोराटारस्थित निजी निवासमा तोडफोड र आगजनी गरिएको थियो । मन्त्री अर्यालले राष्ट्रपति पौडेलको परिवारसँग सल्लाह गरेर क्षतिग्रस्त घरको मर्मतसम्हार गर्ने वचन दिनुभयो ।

    त्यस अवसरमा मन्त्री अर्यालसँगै जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल, सशस्त्र प्रहरी प्रमुख राजु अर्याललगायतको उपस्थिति थियो ।

    उहाँहरुले बालाजु प्रहरी वृत्तको पनि निरीक्षण गर्नुभयो ,। गर्न पुग्नुभएको थियो । जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भएको प्रहरी वृत्तको स्थानीयको सहकार्यमा पुनःनिर्माण सुरु भएको छ । यद्यपि त्यहाँका प्रहरी प्रमुखले जग्गा स्वामित्वमा नभएको विषय गृहमन्त्री अर्यालसमक्ष राख्नुभएको थियो । रासस

  • राष्ट्रपतिको कार्यभार उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई

    राष्ट्रपतिको कार्यभार उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई

    काठमाडौँ, कात्तिक १७ –
    राष्ट्रपति रामचन्द्र पौडेल कतारको दोहामा हुने ‘सामाजिक विकाससम्बन्धी दोस्रो विश्व सम्मेलन’का लागि कतार प्रस्थान गर्नुभएकाले उहाँको अनुपस्थितिमा राष्ट्रपतिबाट हुने कामको कार्यभार उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई तोकिएको छ ।

    राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ६७ को उपधारा (२) बमोजिम सो अवधिमा राष्ट्रपतिबाट हुने कार्य उपराष्ट्रपतिबाट सम्पादन गरिने गरी तोक्नुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

    राष्ट्रपति पौडेल यही कात्तिक १७ गतेदेखि २० गतेसम्म सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज बिहान दोहा प्रस्थान गर्नुभएको हो । रासस