Blog

  • कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल

    कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल

    आज मिति वि.सं.२०८२ साल कार्तिक २० गते । बिहीबार । इस्वी सन् २०२५ नोभेम्बर ६ तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४७ । मार्ग कृष्णपक्ष । तिथि–प्रतिपदा, २६ घडी ३२ पला, बेलुकी ४ बजेर ५५ मिनेट उप्रान्त द्वितीया । नक्षत्र–भरुणी, ६ घडी ८ पला, बिहान ८ बजेर ४६ मिनेट उप्रान्त कृतिका । योग– व्यातिपात, ९ घडी १६ पला, बिहान १० बजेर १ मिनेट उप्रान्त वरियान । करण–कौलव, बेलुकी ४ बजेर ५५ मिनेट उप्रान्त तैतिल, रातको ३ बजेर ४३ मिनेट उप्रान्त गर । आनन्दादिमा–पद्य योग । चन्द्रराशि–मेष,दिउसो २ बजेर २१ मिनेट उप्रान्त वृष ।

    काठमाडौँमा सूर्योदय बिहान ६ बजेर १९ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर १४ मिनेट । दिनमान २७ घडी २० पला ।

    आजको राशिफल

    मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) साहित्य तथा कलाकारिता क्षेत्रमा समय खर्चिँदै हुनुहुन्छ भने मनग्गे आम्दानी हुनेछ । बोलेर गर्ने कुनै पनि पेसा व्यवसाय फस्टाएर जानेछ भने काउन्सेलिङ, मोटिभेसन जस्ता क्रियाकलापमा भाग लिन तारिफ योग्य प्रस्तुति दिन सकिनेछ । कुटुम्ब, आफन्त तथा नजिकका मानिससँग भेट भई पारिवारिक माहौलमा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । प्रेममा नजिक भई भावना साटासाट गर्न सकिनेछ ।

    वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) व्यापार, औद्योगिक क्षेत्र तथा शेयर बजारमा लगानी बढाई प्रशस्त नाफा कमाउन सकिनेछ । माया प्रेममा आफ्नो मान्छेलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रसन्न हुनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरूले सर्वसाधारणको सहयोग तथा समर्थन पाउने हुँदा मन प्रसन्न हुनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरू जनमानसमा लैजान सकिनेछ ।

    मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) बिहानको समय राम्रो रहेकोले व्यापारबाट लाभ हुनेछ । प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ । कृषि तथा पशुपालन व्यवसायमा समय दिनुपर्ने हुनसक्छ । यात्रा तथा मनोरञ्जनमा समय व्यातित हुनेछ । मध्यान्हबाट पढाइ लेखाइमा मन नजाँदा भनेजस्तो नतिजा हात पर्न सकिनेछैन । काम गर्दा वा सवारी चलाउँदा ध्यान दिनुहोला दण्ड तथा जरिवाना हुन सक्छ । स्वास्थ्यमा समस्या आई खर्च बढ्ने योग रहेको छ ।

    कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) प्राकृतिक स्रोत तथा साधनको प्रयोगले आम्दानीमा वृद्धि गर्न सकिनेछ । शिक्षा तथा चेतनामूलक कामहरूबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । अग्रज तथा बुवाबाट गाइडलाइन प्राप्त हुने योग रहेको छ । माया प्रेमको बन्धन कसिलो भएर जानेछ । परिवारका इच्छा तथा आकाङ्क्षाहरू पुरा गर्न सकिने हुनाले मन खुसी रहनेछ । अध्ययन वा कामको सिलसिलामा लामो दुरीको यात्रा हुनेछ ।

    सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) व्यापार तथा शेयर बजारबाट राम्रो आम्दानी हुनेछ । कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । नोकरी पाउने तथा बढुवा हुने योग रहेको छ । भूमि, वाहन तथा पैतृक सम्पत्तिमा वृद्धि हुने तथा प्राप्त हुनेछ । आफ्नै मेहनतले जीवन शैलीमा सुधार ल्याउन सकिनेछ । माता पिताको सहयोग तथा समर्थनले कीर्तिमानी काम गर्न सकिनेछ । अध्ययनमा मन जाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ ।

    कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) भाग्यले साथ दिने हुनाले सानो लगानी तथा सानो प्रयत्नले व्यापारबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । व्यापार ता शेयर बजारबाट नाफा कमाउन सकिनेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । खोजीमूलक क्षेत्रमा चासो बढ्ने तथा अध्ययनबाट भनेजस्तो नतिजा ल्याउन सकिनेछ । धर्म तथा अध्यात्मसँग सम्बन्धित विषयमा रुचि बढ्नेछ । मित्रता तथा प्रेमको डोरो कसिलो हुनेछ । विशिष्ट व्यक्तिसँग नजिक हुन सकिने तथा मित्रता बढाउनेछ ।

    तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) बिहानको समय राम्रो रहेकोले व्यापार व्यवसाय फस्टाएर जानेछ । पढाइ लेखाइमा प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै नतिजा आफैतिर ल्याउन सकिनेछ । आफन्त तथा सहपाठीहरूबाट सुनिने शुभ समाचारले उत्साह जगाउनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ । मध्यान्हबाट समय मध्यमय रहेकोले भौतिक सम्पत्ति तथा बिलासी वस्तुका प्रयोग गर्दा ध्यान दिनुहोला । आफन्तबाट नै धोका पाइने योग रहेको छ ।

    वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) प्रतिस्पर्धामा प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै नतिजा हात पार्न सकिनेछ । न्यायिक निर्णयहरू तपाईँकै पक्षमा फैसला हुनेछन् । बिलासी तथा भौतिक वस्तुका प्रयोग गर्न पाइनेछ । व्यापार तथा वित्तीय क्षेत्रको लगानीबाट मनग्गे धन आर्जन हुने तथा व्यवसायकै सिलसिलामा यात्रा हुनेछ । प्रेमील जोडीहरूको लागी समयले साथ दिनेछ ।

    धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) प्रियजन भेट हुनुको साथै आतिथ्यपूर्ण सम्मान पाइनेछ । पढ्ने लेख्ने काममा सफलता हात पार्न सकिनेछ भने अध्ययनकै लागी यात्राको तय गर्न सकिनेछ । वादविवाद तथा न्यायिक निर्णयहरू तपाईँकै पक्षमा हुनेछन् । नोकरीमा पदोन्नति तथा सुगम स्थानमा स्थानान्तरणको गतिलो योग रहेको छ । खर्च बढे पनि उपलब्धिमूलक कामहरू हुनेछन् । मनोरञ्जन तथा खानपानमा समय व्यातित हुनेछ ।

    मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) बौद्धिक तथा प्राविधिक ज्ञानको प्रयोग गरी काम गर्दा आम्दानी बढाउन सकिनेछ । वित्तीय क्षेत्र तथा शेयर बजारमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । भौतिक सम्पत्ति तथा बिलासी सामान उपहारको रूपमा प्राप्त हुनेछ । अध्ययनमा अलि चनाखो हुँदा प्रगति गर्न सकिनेछ । माया प्रेममा सामिप्यता बढ्ने तथा प्रेम प्रस्ताव आउनेछ । सन्तान तथा आफन्तको सहयोगले राम्रा काम गर्न सकिनेछ ।

    कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) बिहानको समय राम्रो रहेकोले पराक्रम बढेर जाने हुनाले जोसिलो काम गर्ने जाँगर आउनेछ । सानो प्रयत्नले राम्रो काम गरी फाइदा लिन सकिनेछ भने प्रतिस्पर्धी परास्त हुनेछन् । मध्यान्हबाट समय मध्यम रहेकोले राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरूले सर्वसाधारण सँग सन्तुलित व्यवहार गर्नुहोला काम बिग्रने हुँदा मान सम्मानमा कमी हुनेछ । सवारी साधनको व्यापार व्यवसाय सुरु गर्दा भनेजस्तो नाफा कमाउन सकिनेछ ।

    मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) शुभ तथा माङ्गलिक समारोहमा जमघट भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । छोटो दुरीको परिणाममुखी यात्राको तय हुनेछ भने खेलकुद तथा अन्य क्रियाकलापमा समय दिनेहरूले राम्रो सफलता प्राप्त गर्न सक्नेछन् । उद्योग, शेयर बजार तथा व्यापार व्यवसायमा लगानी बढाई भनेजस्तो नाफा कमाउन सकिनेछ । माया प्रेममाको गाँठो कसिलो हुनुको साथै दाम्पत्य जीवनमा खुसीयाली छाउनेछ । पराक्रम बढेर जानेछ भने दाजुभाइ तथा अन्य इष्टमित्रबाट सहायो हुने हुँदा मन खुसी रहनेछ । छोटो दुरीको यात्रा तय हुनेछ ।

    तपाईँको दिन शुभ रहोस् ।

  • जाँचबुझ आयोगले आईजीपी खापुङसँग सोध्यो स्पष्टीकरण

    जाँचबुझ आयोगले आईजीपी खापुङसँग सोध्यो स्पष्टीकरण

    १९ कात्तिक, काठमाडौं
    जेनजी आन्दोलनका क्रममा २३ भदौमा भएको दमन र भोलिपल्टको आगजनीबारे जाँचबुझ गर्न गठन भएको आयोगले प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङसँग स्पष्टीकरण सोधेको छ ।

    बुधबार आयोगले आइजिपी खापुङलाई कारबाही किन नगर्ने भनेर स्पष्टीकरण सोधेको आयोगका प्रवक्ता एवं सदस्य विज्ञानराज शर्माले जानकारी दिए।

    ‘आइजिपीलाई तपाईंलाई किन कारबाही नगर्ने भनेर स्पष्टीकरण सोधेका छौं,’ उनले भने, ‘२४ घन्टाभित्र जबाफ माग गरेका छौं।’

    उनका अनुसार जाँचबुझ आयोग गठन भएको केही समयमै भदौ २३ र २४ गते फिल्डमा को को खटिएका थिए भनेर प्रहरीसँग विवरण माग गरी पत्राचार गरिएको थियो।

  • नवगठित नेकपाले पदाधिकारीको उमेर हद र कार्यकाल तोक्ने, २० प्रतिशत जेनजी सहभागिता सुनिश्चित

    नवगठित नेकपाले पदाधिकारीको उमेर हद र कार्यकाल तोक्ने, २० प्रतिशत जेनजी सहभागिता सुनिश्चित

    काठमाडौँ, १९ कात्तिक : 
    विभिन्न १० वटा वामपन्थी पार्टीको एकताबाट गठन भएको ‘नेपाली कम्युनिष्ट पार्टी’ले नेतृत्व विकास र हस्तान्तरणको वैज्ञानिक विधि स्थापित गर्दै पार्टी पदाधिकारीको उमेर हद र कार्यकाल तोक्ने भएको छ ।

    आज आयोजित पार्टी एकता घोषणा तथा एकताको राष्ट्रिय सम्मेलनमा प्रस्तुत घोषणापत्रमा पार्टीका सबै कमिटीमा ३५ प्रतिशत महिला, २० प्रतिशत जेनजी नवयुवा तथा युवा, १५ प्रतिशत दलित र पाँच प्रतिशत मुस्लिम समुदायबाट प्रतिनिधित्व गराइने उल्लेख छ ।

    घोषणापत्रअनुसार जनवादी केन्द्रीयताको सिद्धान्तका आधारमा सामूहिक नेतृत्व एवं व्यक्तिगत उत्तरदायित्व वहन गर्नेगरी पार्टीको निर्माण र सञ्चालन गरिनेछ भने पार्टीको रणनीतिक लक्ष्य वैज्ञानिक समाजवाद राखिएको छ । राज्यसत्ता सञ्चालनमा आमजनताको संस्थागत सहभागिता र सरकारको काममा निगरानी गर्ने व्यवस्था सुनिश्चित गरिनेछ । जनअपेक्षाअनुरूप काम नगर्ने जनप्रतिनिधिलाई प्रत्याश्वान गर्ने व्यवस्था गरिनेछ ।

    पहिलो चरणमा सामान्यतः तीनखम्बे अर्थतन्त्रका रूपमा सार्वजनिक क्षेत्र, सामूहिक वा सहकारी क्षेत्र र निजी क्षेत्रमा उद्योगधन्दा विकास गरिनेछ । सार्वजनिक क्षेत्रको क्रमशः विस्तार गर्दै लगिनेछ । वित्तीय एकाधिकार तथा दलाल पुँजीवादको शोषण र हस्तक्षेपबाट मुक्त एवं सार्वजनिक, सहकारी र निजी क्षेत्रको समन्वय, सहकार्य र गतिशील भूमिकासहितको समाजवादी अर्थतन्त्र निर्माण गरिनेछ ।

    स्वदेशी कच्चापदार्थ र श्रमशक्ति प्रयोग हुने उद्योगधन्दाको व्यापक विस्तार र विकास गरी पर्याप्तमात्रामा रोजगारी सिर्जना गरिनेछ । देशको सम्पूर्ण श्रमसक्षम जनशक्तिलाई ‘योग्यताअनुसारको काम र कामअनुसारको दाम’ उपलब्ध गराउने गरी आर्थिक क्षेत्रको द्रुततर विकास गरिनेछ ।

    सार्वजनिक पद धारण गरेका व्यक्तिको सम्पत्ति छानबिन गर्ने प्रतिबद्धता

    नेपाली कम्युनिष्ट पार्टीले २३ बुँदे प्रतिबद्धतापत्र पनि सर्वसम्मत रूपमा स्वीकृत गरेको छ । नेपालको राष्ट्रिय स्वाधीनता, भौगालिक अखण्डता, स्वाभिमान र स्वतन्त्रता अक्षुण्ण राख्न दृढतापूर्वक लागिरहने, राष्ट्र र जनताप्रति इमान्दार, निष्ठावान् र समर्पित भई काम गर्ने सो पार्टीको प्रतिबद्धता छ ।

    समाजवादी क्रान्ति र कार्यक्रमप्रति प्रतिबद्ध रही नेकपाले आफ्नो स्थापनाकालदेखि राख्दै आएको वैज्ञानिक समाजवाद स्थापनाको महान् लक्ष्य प्राप्त गर्ने दिशामा दृढतापूर्वक अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको छ । नेपालको वर्तमान संविधानको रक्षा गर्दै शासकीयस्वरूप र निर्वाचन प्रणाली, सङ्घीयताको सवलीकरण तथा स्थानीय तह र जप्रतिनिधिको सङ्ख्या घटाउनेलगायत विषयमा पहल गर्ने सो पार्टीको प्रतिबद्धता छ ।

    भ्रष्टाचार, अनियमितता र ढिलासुस्तीको अन्त गर्न तथा सुशासन, पारदर्शीता, सामाजिक न्याय र मुलुकको समृद्धिका लागि निरन्तर पहल गर्ने तथा उच्चस्तरीय अधिकारसम्पन्न सम्पत्ति जाँचबुझ आयोग गठन गरेर हालसम्म सार्वजनिक पद धारण गरेका सबै व्यक्तिको सम्पत्ति छानबिन गरी भ्रष्टाचारीलाई कडा कारबाही गराउन प्रभावकारी पहल गर्ने घोषणा गरेको छ ।

    राज्यको सेवा प्रवाहलाई छिटो, छरितो र चुस्तदुरुस्त बनाउन र शिक्षा, स्वास्थ्यलगायत आधारभूत सेवा प्रवाहमा आमजनताको पहुँच स्थापित गर्न विशेष पहल गर्ने नेकपाको प्रतिबद्धता छ ।

    विगतका कामको समग्र समीक्षा गरेर भएका कमी कमजोरी सच्याउँदै कार्यशैलीमा व्यापक सुधार, पुनर्गठन र रूपान्तरण गर्दै अघि बढ्ने तथा पार्टीमा आन्तरिक लोकतन्त्रको सुदृढीकरण गर्न र नेतृत्व विकास एवम् हस्तान्तरणको वैज्ञानिक विधि निर्माण गरी लागू गर्न तत्पर रहने प्रतिबद्धता पत्रमा उल्लेख छ ।

    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी, जनसमाजवादी पार्टी नेपाल, नेपाल समाजवादी पार्टी, नेकपा (समाजवादी), नेपाल कम्युनिष्ट पार्टी, नेकपा  माओवादी–समाजवादी, नेकपा (साम्यवादीलगायतका विभिन्न कम्युनिष्ट तथा समाजवादी समूहहरू एकताबद्ध भएर नेपाली कम्युनिष्ट पार्टीको घोषणा गरिएको हो । सम्मेलनबाट पार्टीको संयोजकमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजकमा माधवकुमार नेपाल चयन हुनुभएको छ ।

  • नेपाली कम्युनिस्ट पार्टीको संयोजकमा दाहाल, सहसंयोजकमा नेपाल चयन

    नेपाली कम्युनिस्ट पार्टीको संयोजकमा दाहाल, सहसंयोजकमा नेपाल चयन

    काठमाडौँ, १९ कात्तिक :
    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सहित १० दल एकता भएर बनेको नेपाली कम्युनिस्ट पार्टीको संयोजकमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ चयन हुनुभएको छ ।

    आज यहाँ आयोजित एकता राष्ट्रिय सम्मेलनबाट माधवकुमार नेपाल सहसंयोजक चयन हुनुभयो । सम्मेलनमा अध्यक्ष मण्डलका सदस्य महिन्द्र राय यादवले नवगठित पार्टीको संयोजकमा दाहाल र सहसंयोजकका रूपमा नेपालको नाम प्रस्ताव गर्नुभएको थियो ।

    उक्त प्रस्तावलाई सम्मेलनले सर्वसम्मत रूपमा अनुमोदन गरेको हो । त्यसक्रममा नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता वामदेव गौतमले सिद्धान्त र व्यवहार फरक हुँदा वामपन्थी शक्तिभित्र समस्या सिर्जना हुने गरेको टिप्पणी गर्दै तत्काल समाजवादी कार्यक्रम लागू गर्नुपर्ने बताउनुभयो ।

    “यो पार्टी सबैभन्दा ठूलो संरचना बोकेर तथा बलिदान गरेर आएको पार्टी हो, यो पार्टीले नै समाजवादी कार्यक्रम अघि बढाउन सक्छ”, उहाँले भन्नुभयो

    सो पार्टीका नेता नारायणकाजी श्रेष्ठले नेपाली विशेषता सहितको वैज्ञानिक समाजवादको लक्ष्य पूरा गर्न नेकपा दृढतापूर्वक अघि बढ्ने बताउनुभयो । पार्टी नेतृ पम्फा भुसालले एकीकृत पार्टी नेपालको वामपन्थी आन्दोलनको मूल धारा रहेको उल्लेख गर्दै नयाँ पार्टीले समाजवादी क्रान्तिको कार्यभार पूरा गर्ने विश्वास व्यक्त गर्नुभयो ।

  • नारायणी किनारमा खेलकुद महोत्सव : लन्डन ब्रिजमा दर्शकहरुको आकर्षण

    नारायणी किनारमा खेलकुद महोत्सव : लन्डन ब्रिजमा दर्शकहरुको आकर्षण

    चितवन, कार्तिक १९-
    भरतपुर महानगरपालिका १ नारायणी नदी किनारमा जारी प्रथम खेलकुद तथा वृहत व्यापार महोत्सवको मुख्य प्रवेशद्धारमा लन्डन ब्रिज निर्माण गरिएको छ । लन्डन ब्रिजको झल्को दिने गरी प्रवेशद्धार नै लन्डन ब्रिजको प्रतिमा निर्माण गरिएको हो । यही लन्डन ब्रिज हुँदै दर्शकहरु महोत्सव परिसर भित्र प्रवेश गर्छन् । फरकपन दिनका लागि निर्माण गरिएको लन्डन ब्रिजले सुरुवाती दुई दिनमा नै दर्शकहरुलाई आकर्षित गरेको छ ।

    महोत्सव अवलोकनका लागि जो कोही दर्शक लन्डन ब्रिजमा एकछिन अडिन्छन् । युवा पुस्ता हुन् वा वृद्धावृद्धा, कोही फोटो खिन्छन्, कोही सेल्फी लिन्छन् त कोही टिकटक भिडियो बनाउँछन् । दर्शकहरु लन्डन ब्रिजको प्रतिमामा रमाएका छन् । आयोजक चितवन जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष राजन कार्की लन्डन ब्रिजप्रति दर्शकहरुको आकर्षण देखिएको बताउँछन् । आगामी दिनमा यसले दर्शकहरुलाई थप आकर्षित गर्ने आयोजकले विश्वास लिएको छ ।

    दर्शकहरुले लन्डन ब्रिज चढेर महोत्सव परिसर भित्रै दुबई सिटी, बुर्ज खलिफा, बुर्ज अल अरब, पेरिसको आइफिल टावरको अवलोकन गर्न पाउनेछन् । दुबई सिटी, बुर्ज खलिफा, बुर्ज अल अरब, पेरिसको आइफिल टावरको प्रतिमा भने निर्माणको क्रममा रहेको छ । तीन दिन लगातार वर्षा हुँदा काम प्रभावित भएको महोत्सव सह संयोजक पाल्देन लामाले जानकारी दिए । यसका लागि कुनै अतिरिक्त शुल्क लाग्नेछैन । दर्शकहरुले महोत्सव परिसर प्रवेशका लागि काट्ने टिकटबाट नै लन्डन ब्रिजको प्रतिमा हुँदै दुबई सिटी, बुर्ज खलिफा, बुर्ज अल अरब, पेरिसको आइफिल टावर हेर्न पाउनेछन् ।

    यसैबीच महोत्सवमा आज बिच भलिवल आयोजना भएको छ । आज महिला र पुरुष दुबैतर्फको खेल भएको थियो । मंसिर २ गतेसम्म चल्ने महोत्सवमा भलिवलसँगै कराँते, तेक्वान्दो, कबड्डी, ब्याडमिन्टन, सेपाकताक्रो, एथ्लेटिक्स, वुद्धिचाललगायतका खेलहरु पनि हुनेछन् । महोत्सवमा तीन सय भन्दा बढी स्टलहरु रहेका छन् । महोत्सवका लागि एक सय रुपैयाँको टिकटको व्यवस्था गरिएको छ । विद्यार्थीलाई ७० रुपैयाँ र अपाङ्गता भएका तथा जेष्ठ नागरिकका लागि नि:शुल्क प्रवेशको व्यवस्था गरिएको छ । महोत्सवमा हरेक दिन नेपालका चर्चित कलाकारहरुले प्रस्तुति दिनेछन् । यस्तै हरेक दिन साँझ ६:३० बजेपछि फुड फेस्टिवल र बिशेष सांस्कृतिक कार्यक्रम हुनेछ ।

  • सरकारका नाममा कारण देखाउ आदेश

    सरकारका नाममा कारण देखाउ आदेश

    काठमाडौँ, कात्तिक १९-
    सर्वोच्च अदालतले गत भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगविरुद्ध दायर भएको रिट निवेदनमा कारण देखाउ आदेश जारी गर्दै लिखित जवाफ माग गरेको छ ।

    कामु प्रधानन्यायाधीश हरिप्रसाद फुयाल र न्यायाधीश अब्दुल अजीज मुसलमानको संयुक्त इजलासले सोमबार जारी गरेको आदेशमा लिखित जवाफ माग गर्दै कारण देखाउ आदेश जारी गरेको हो ।

    “यसमा मिति २०८२/०६/०५ मा गठन भएको जाँचबुझ आयोगका अध्यक्ष वा सदस्यले के, कुन उद्देश्य र आसयसहित निवेदनसाथ पेस भएका निजहरुका धारणाहरु सार्वजनिक भएका हुन भन्ने सम्बन्धमा निजहरुको लिखित जवाफमा खुल्ने नै देखिँदा तथा जाँचबुझ आयोग ऐन, २०२६ को दफा ३९२० बमोजिम गठन भएको देखिन्छ”, आदेशमा भनिएको छ, “जाँचबुझ आयोगको निवेदकको प्रकृति र क्षेत्राधिकारलाई हेर्दा आयोगका पदाधिकारीहरुले जाँचबुझ गर्नुपर्ने विषयमा अग्रीम धारणा व्यक्त गरेको भएमा संविधानको धारा २०९९० को प्रयोग र अभ्यासको सम्बन्धमा के, कस्तो असर पर्दछ तथा प्राकृतिक न्यायको सिद्धान्तअनुसार कुनै छानबिन, जाँचबुझ तथा प्रशासकीय वा न्यायिक प्रकृतिको कार्य गर्दा पूर्वधारणा व्यक्त गरेको अवस्थामा पूर्वाग्रहको सिद्धान्त आकर्षित हुने हो वा होइन धारणा निर्माण गर्न आवश्यक देखिएको छ ।”

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारसमेतलाई विपक्षी बनाई सो आयोगविरुद्ध विपिन ढकालले दायर गरेको उक्त रिट निवेदनमा पूर्वाग्रही र विषयवस्तुबारे तटस्थ नभएको भन्ने उल्लेख छ ।

    आदेशमा भनिएको छ, “अदालतले इजलाससमक्ष अन्तरिम आदेश जारी गर्ने/नगर्ने सम्बन्धमा पेस भएको देखिँदा प्रस्तुत विषयको अन्तरवस्तु हेर्दा अन्तरिम आदेश माग गरेको विषय पूर्ण सुनुवाइबाट निरुपण गर्नुपर्ने प्रकृतिको देखिएकाले निवेदन माग बमोजिम अन्तरिम आदेश जारी गरिरहन परेन ।”

    उक्त घटनामा छानबिन गर्न गठित जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीसहित सदस्यहरू विज्ञानराज शर्मा र विश्वेश्वरप्रसाद भण्डारीविरुद्ध सो रिट निवेदन दायर भएको थियो । रासस

  • कमला नदीमा स्नान गर्ने भक्तजनको घुइँचो

    कमला नदीमा स्नान गर्ने भक्तजनको घुइँचो

    सिरहा, कात्तिक १९ –
    सिरहा र धनुषाको सीमा भएर बग्ने कमला नदीमा कार्तिक पूर्णिमाका अवसरमा आज बिहानैदेखि भक्तजनहरूको भीड लागेको छ ।

    धार्मिक मान्यताअनुसार कमला नदीमा स्नान गर्दा ‘भूत–प्रेत’ हट्ने विश्वास रहँदै आएको छ । यही विश्वासका कारण विभिन्न जिल्लाका श्रद्धालुहरू नदीमा स्नान गर्न आएका हुन् । नदी क्षेत्रको इनर्वा, ब्यारेज, कमला पुल, सिक्रौन, चतरी, बेलहा, बडेर्वा, पटेर्वा, बसबिट्टा र सीमावर्ती भारतको जयनगरसम्म बिहानैदेखि भक्तजनहरूको ठूलो भीड लागेको छ ।

    प्रत्येक वर्षजस्तै यस वर्ष पनि उदयपुर, सप्तरी, सिरहा, धनुषा, सर्लाही, महोत्तरी, रौतहट तथा भारतको बिहारसम्मका श्रद्धालुहरू कमला स्नानका लागि आएका छन् । स्थानीय निकायहरूले मेलाले धार्मिक एकता, सामाजिक सद्भाव र पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने विश्वास व्यक्त गरेका छन् ।

    यस अवसरमा सिरहा नगरपालिका, कल्याणपुर नगरपालिका, कर्जन्हा नगरपालिका र विष्णुपुर गाउँपालिकाले स्थानीय बिदा दिएका छन् । स्थानीय तहहरूले पूर्णिमा स्नान र ‘भूत मेला’ (देवता मेला) को धार्मिक परम्पराको संरक्षण तथा सहभागिताको लागि विदा दिएको जनाएका छन् ।

    मेलाको समयमा नदी किनारमा भजन–कीर्तन, नृत्य र विभिन्न धार्मिक कार्यक्रमहरू आयोजना भइरहेका छन् । मेलालाई जिल्लाको प्रमुख धार्मिक धरोहरका रूपमा मानिन्छ । रासस

  • भरतपुरबाट भागेका वन्यजन्तु चोरीशिकारीका तस्कर कारागार नफर्किंदा संरक्षणमा चुनौती

    भरतपुरबाट भागेका वन्यजन्तु चोरीशिकारीका तस्कर कारागार नफर्किंदा संरक्षणमा चुनौती

    चितवन, कात्तिक १९ –
    कारागार कार्यालय भरतपुरबाट भागेका वन्यजन्तु अपराधका १६ जना कैदीबन्दी हालसम्म फर्किएका छैनन् । तीमध्ये १२ जना दुर्लभ एकसिङ्गे गैँडा चोरीशिकारका मुख्य अभियुक्त हुन् । वन्यजन्तु अपराधका कैदीबन्दी कारागार नफर्किंदा गैँडासहित अन्य वन्यजन्तु संरक्षणमा चुनौती थपिएको छ ।

    दुर्लभ एकसिङ्गे गैँडा मारी खाग बिक्री गर्ने व्यवसायका मुख्य अभियुक्तसमेत बाहिर रहँदा चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले उच्च सतर्कता अपनाएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा गणेश पन्तले फरार भएकामध्ये केही कुख्यात तस्करका रूपमा कारागारमा राखिएको जानकारी दिनुभयो । उहाँका अनुसार ठूलो कान्छा एवं सागर प्रजा भनिने विन्दरसिंह प्रजा, रमेश खाती, आइतसिंह मोक्तान कुख्यात तस्करीमा लागेकाहरू नफर्किंदा संरक्षणमा चुनौती थपिएको हो ।

    निकुञ्ज प्रशासन र सुरक्षा निकायले विसं २०७८ मा नियन्त्रणमा लिएका प्रजा कालिका नगरपालिका–११ का हुन् । त्यस्तै खाती हेटौँडा नगरपालिका–३ मकवानपुरका र मोक्तान राप्ती नगरपालिका–११ का हुन् । उनीहरूमध्ये प्रजा विसं २०७८ मा र मोक्तान र खाती विसं २०८० मा पक्राउ परेका संरक्षण अधिकृत डा पन्तले जनाउँदै तीनै जना अधिकतम सजाय १५ वर्ष कैदका लागि कारागार परेका उल्लेख गर्नुभयो ।

    अन्य फरार रहेकाहरू समेतबाट निकुञ्ज सुरक्षामा चुनौती थपिएको प्रशासनले जनाएको छ । सोहीअनुरुप निजहरूलाई पक्राउ गर्नका लागि सूचना सङ्कलन र सहजीकरणमा निकुञ्ज प्रशासन जुटेको छ भने सुरक्षा निकाय लागिरहेको डा पन्तले बताउनुभयो ।

    दुर्लभ एकसिङ्गे गैँडासहित वन्यजन्तु चोरीशिकारका मुख्य आरोपितहरूको सञ्जाल ठूलो हुने र फरार भएमा पक्राउ गर्न सास्ती हुने गर्दछ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रवक्ता वेदकुमार ढकालले वन्यजन्तु अपराधका फरार कैदीबन्दी खोजीका लागि सम्बन्धित निकुञ्जले आवश्यक सहजीकरण गरिरहेका जनाउँदै सुरक्षा निकायको समन्वयमा निरन्तर खोजी भइरहेको बताउनुभयो ।

    यसैबीच, विभागको आन्तरिक रूपमा रहेको वन्यजन्तु अपराध नियन्त्रण सचिवालयको बैठक बिहीबार बस्दैछ । यससँगै केन्द्रीय वन्यजन्तु अपराध नियन्त्रण ब्यूरोको बैठक बस्ने तयारी गरिएको छ । विभागका महानिर्देशक संयोजक रहने उक्त ब्यूरोमा गृहसहित विभिन्न निकायका सहसचिवस्तरका अधिकारीहरू सदस्य रहने व्यवस्था छ ।

    ढकालले राष्ट्रिय रूपमा वन्यजन्तु संरक्षणमा चुनौती थपिएको भन्दै सबै निकुञ्जलाई पत्राचार गरी वन्यजन्तु अपराधमा केकति कैदीबन्दी फर्किएका छैनन् तथ्याङ्क सङ्कलन गरेर पठाउन भनिएको जानकारी दिनुभयो ।

    कारागार कार्यालय भरतपुरका प्रमुख रवीन्द्रप्रसाद ढुङ्गानाका अनुसार यहाँबाट भागेका ७४३ मध्ये अझै १३५ कैदीबन्दी फर्किएका छैनन् । तीमध्ये ११ जना भारतीय नागरिक रहेका जनाउँदै उहाँले वन्यजन्तु तस्करीमा ५३ जना कैदीबन्दी रहेका बताउनुभयो । उनीहरूमध्ये ४६ जना दुर्लभ एकसिङ्गे गैँडाका आरोपी हुन् भने सात जना अन्य वन्यजन्तुसम्बन्धी अपराधका हुन् । रासस

  • पाक्न लागेको धानबालीमा वर्षाले क्षति, किसान चिन्तित

    पाक्न लागेको धानबालीमा वर्षाले क्षति, किसान चिन्तित

    फिक्कल (इलाम), कात्तिक १९ –
    इलाममा पाक्न लागेको धानबालीमा वर्षाले क्षति पु¥याएपछि किसानहरु चिन्तित भएका छन् । गत कात्तिक १३ देखि १५ सम्मको अविरल वर्षाले जिल्लाको दशवटै पालिकामा पाक्न लागेको धानबालीमा क्षति गरेपछि किसानहरु चिन्तित भएका हुन् ।

    पाक्न लागेको धानबालीमा वर्षाले क्षति गरेको माङसेबुङ गाउँपालिका–३ सिङलाबुका किसान मनिस सुनुवारले बताउनुभयो । “मेरो १५ रोपनी क्षेत्रमा लगाएको धानबाली ढलेर सोतर भएको छ”, उहाँले भन्नुभयो, “प्रमुख बालीको रुपमा लगाउँदै आएको धान ढलेर सोतर भएपछि समस्या पर्ने चिन्तामा छु ।”

    निरन्तरको वर्षाले खेतमा पाक्न लागेको धानबाली सबै लडाएर अपुरणीय क्षति भएको अर्का किसान आइन्द्र योङहाङको दुखेसो छ । “धान भित्र्याउने बेला वर्षाले सबै जमिनमै मिलाइदिएको छ”, उहाँले भन्नुभयो, “बेला न कुबेला आएको वर्षाले किसानलाई मारमा पा¥यो ।”

    खेतमा ढलेर करिब ५० प्रतिशत धानबालीमा क्षति पुगेको उहाँको भनाइ छ । माङसेबुङका सयौँ किसानको धानबालीमा क्षति पु¥याएको छ । उता फाकफोकथुम गाउँपालिकामा पनि वर्षाले सयौँ किसानको धानबालीमा क्षति पुगेको किसानहरुको दुखेसो गरेका छ । फाकफोकथुम–७ का पञ्च योङहाङले पाक्नै लागेको धानबाली लगातारको वर्षाले सबै ध्वस्त बनाएको बताउनुभयो । “निरन्तर परेको पानीले सबै खेतको धान पूरै भाँचिएर जमिनमा मिलाइदिएको छ”, उहाँले भन्नुभयो, “हिउँदमा समेत बर्खामा झैँ परेको पानीले किसानलाई बिजोग बनायो ।”

    जिल्लाको तल्लो क्षेत्रका किसानले लगाएको धान पाक्न लागेको बेलामा कात्तिके वर्षाले व्यापक क्षति गरेपछि किसानहरु चिन्तित बनेका छन् । इलामको तल्लो क्षेत्रअर्थात् चुलाचुली गाउँपालिका, माई नगरपालिका तथा माङसेबुङ, फाकफोकथुम, रोङ, माईजोगमाई, सन्दकपुर गाउँपालिका र देउदेमाई, इलाम र सूर्योदय नगरपालिकाका तल्लो क्षेत्रमा धानखेती हुनेगरेको छ ।

    यहाँको माई नगरपालिका र रोङ गाउँपालिका किसानले उन्नत जातको सावित्री र रञ्जित खेती गर्ने गर्छन् । अन्य क्षेत्रका किसानले रैथाने बेलकुटी, चिराखे, अटे, चुल्ठे, भँगेरे, टिमुरे, बयर्नी, रामतुलसी, रुदुवा, नानिया, चम्पासरी, तापमारालगायत जातका धानखेती गर्ने गरेको कृषि ज्ञान केन्द्रका प्रमुख रविकिरण अधिकारीले बताउनुभयो ।

    इलामको माई र इलाम नगरपालिका सहित चुलाचुली गाउँपालिकामा सबैभन्दा धेरै धानखेती हुँदै आएको छ । इलाममा १४ हजार ८१५ हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ । रासस

  • स्वतन्त्र हवाई दुर्घटना जाँच संयन्त्र बनाउन उच्चस्तरीय आयोगको सुझाव

    स्वतन्त्र हवाई दुर्घटना जाँच संयन्त्र बनाउन उच्चस्तरीय आयोगको सुझाव

    १९ कात्तिक, काठमाडौं ।
    सरकारले गठन गरेको उच्चस्तरीय आयोगले हवाई दुर्घटना जाँचका लागि स्थायी संयन्त्र बनाउन सुझाव दिएको छ ।

    अन्तर्राष्ट्रिय निकाय र विभिन्न आयोगले यस्तो सुझाव पटक–पटक दिए पनि सरकार गम्भीर भने छैन । सोहीकारण हरेक दुर्घटनापिच्छे पटके आयोग बनाएर अध्ययन गर्ने गर्छ । जसको विश्सनीयतामाथि प्रश्न उठिरहेको छ ।

    नागरिक उड्डयन क्षेत्रको सुधारका लागि गठित उच्चस्तरीय अध्ययन एवं सुझाव आयोगले बुझाएको प्रतिवेदन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक गरेको छ । आयोग अध्यक्षमा पूर्वन्यायाधीश तथा वर्तमान उद्योगमन्त्री अनिलकुमार सिन्हा थिए ।

    सिन्हाका अनुसार यस आयोगलाई काम गर्ने सिलसिलामा मन्त्रालय भित्रैबाट असहयोग भएको थियो । कतिसम्म भने प्रतिवेदन छपाइमा मन्त्रालयले बजेट नदिएपछि आयोगका सदस्यले व्यक्तिगत खर्चमा छपाइ गर्नुपरेको उनले आफ्नो वक्तव्यमा उल्लेख गरेका छन् ।

    आयोगले दुर्घटना जाँचका लागि स्वतन्त्र निकायको व्यवस्था सम्बन्धी प्रावधान अब बन्ने नेपाल नागरिक उड्डयन प्राधिकरणसँग सम्बन्धित कानुनहरूमा राख्न भनेको छ ।

    नेपाल नागरिक उड्डयन प्राधिकरणलाई सेवा प्रदायक र नियामक निकायका रूपमा विभाजन गर्नेसम्बन्धी दुई विधेयक संसद्मा विचाराधीन अवस्थामा थिए ।

    सन् १९६० यता नेपालमा ५४ वटा हवाईजहाज र ४० हेलिकप्टर दुर्घटनामा परेका छन् । तिनका प्रतिवेदन सार्वजनिक समेत नगरिएको आयोगको भनाइ छ । सन् २०१२ देखि २०२४ सम्म १४ हवाईजहाज र १५ हेलिकप्टर दुर्घटनामा परे पनि १५ वटा प्रतिवेदन मात्र सरकारले सार्वजनिक गरेको देखिएको छ । आयोगले भनेको छ, ‘दुर्घटना जाँच एवं अनुसन्धान प्रक्रियामा सैद्धान्तिक रूपमा नै त्रुटि रहेको देखिन्छ ।’