Blog

  • रवि र छविको मुद्दामा उच्च अदालतद्वारा जिल्लाको फाइल मगाउन आदेश

    रवि र छविको मुद्दामा उच्च अदालतद्वारा जिल्लाको फाइल मगाउन आदेश

    कार्तिक २०,रुपन्देही ।
    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको मुद्दामा फायल झिकाउन आदेश भएको छ । बुटवलको सुप्रिम सहकारी संस्थाको रकम ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका उनीहरुको सुनुवाइका लागि आज पेसी तोकिएको थियो ।

    तुलसीपुर उच्च अदालत बुटवल इजलासमा न्यायाधीश वासुदेव आचार्य र ओमप्रसाद अर्यालको १ नम्बर इजलासमा ३ नम्बरमा चढेको पेसीमा जिल्ला अदालत रुपन्देहीले जारी गरेको आदेश र अरु फाइलहरु मगाउने आदेश भएको अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले बताए ।

    यसअघि कात्तिक १३ गते तोकिएको पेसी जोशीका कानुन व्यवसायीले निवेदन दिएपछि सुनुवाइ स्थगित भएको थियो । त्यसअघि लामिछानेको मुद्दामा न्यायाधीशद्वय मिलनकुमार राई र ओमप्रसाद अर्यालको इजलासले एकै प्रकृतिका मुद्दा भएकाले जोशीसमेतको दुवै मुद्दा एकैसाथ राख्न आदेश गरेको थियो ।

    पुर्पक्षका लागि लामिछाने र जोशी दुवै कारागारमा छन । भैरहवा कारागारमा रहेका लामिछानेलाई ललितपुरको नख्खु कारागार सरुवा गरिएको छ भने जोशी भने भैरहवा कारागारमै छन् ।

    बिगोबमोजिमको रकम बुझाइ थुनाबाहिरै बसेर मुद्दा लड्न लामिछानेले माग गरेकामा उच्च अदालतले उनीसँगै जोशीको पनि फाइल पेस गर्न आदेश दिएको थियो । यसअघि लामिछानेको मुद्दामा उच्च अदालत बुटवलले नै कैफियत प्रतिवेदन माग गर्ने आदेश गरेको थियो ।

    जेनजी प्रदर्शनका क्रममा उच्च अदालत तुलसीपुर बुटवल इजलासमा आगजनी र तोडफोड भए पनि लामिछाने र जोशी दुवैको मुद्दाको फाइल बचेको थियो । बुटवलको सुप्रिम सहकारी ठगीको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले सहकारीमा अपचलन गरेको आफ्नो

    भागको बिगो रकम दाखिल गर्दा पनि जिल्ला अदालत रुपन्देहीले रिहा नगरेपछि भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गराएका थिए । यसअघि उनले आफ्नो भागको बिगो दाखिला गरेर सहकारी ठगीको मुद्दाबाट छुटकारा दिन माग गर्दै जिल्ला अदालतमा निवेदन दिएका थिए । जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते उनको निवेदनमा सुनुवाइ गर्दै रिहा गर्न अस्वीकार गरेको थियो ।
    बुटवलको सुप्रिम सहकारी ठगीमा रविसहितका प्रतिवादीलाई १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरेर अभियोगपत्र दायर गरिएको छ । तर, लामिछानेले त्यसको चार भागमध्ये आफ्नो भागको एक भागबराबर बिगो दाखिला गरेको कागजात पेस गरेका थिए । लामिछानेले २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत निवेदनसाथ पेस गरेका थिए ।

    लामिछानेले जस्तै जोशीले पनि त्यति नै बिगोबापतको जमानत पेस गरेका थिए । तर, दुवै प्रतिवादीको हकमा उनीहरूको भागमा कति बिगो कायम हुने भन्ने नै यकिन नभएकाले रिहा गर्न नमिल्ने एकै प्रकृतिको आदेश गरेको थियो ।

  • भरतपुरका मौरीपालक किसान मारमा

    भरतपुरका मौरीपालक किसान मारमा

    नारायणगढ (चितवन), कात्तिक –
    सरकारले आयातित महलाई बजारमा प्रमुख स्थान दिँदा स्वदेशी मौरीपालक किसान असन्तुष्ट भएका छन् ।

    मह उत्पादन र खपतको मुख्य समय असोजदेखि चैत्रसम्म हुने भएकाले सो अवधिमा विदेशी मह आयात गर्ने सरकारको निर्णय किसानको हितमा नरहेको किसानको गुनासो छ । साथै चरन क्षेत्रमा हुने विभिन्न अवरोधका कारण पनि मौरीपालक किसान थप मर्कामा छन् । सरकारले सहयोग नगरे विदेशी बहुराष्ट्रिय कम्पनी र ठूला व्यवसायी–बिचौलियाले मौरीपालक किसानलाई विस्थापित गर्ने उनीहरुको भनाइ छ ।

    नेपाल मौरीपालक महासङ्घका वरिष्ठ उपाध्यक्ष पदमप्रसाद अमगाईंले गर्नुभयो । उहाँले भन्नुभयो, “यो समयमा किसानको मह बिक्री नभए वर्षभरिको लगानी र परिश्रम खेर जान्छ ।”

    उहाँका अनुसार चरन अवधिमा फुलमा विषादी छर्किँदा मौरी मर्ने, वन कार्यालयले हरेक घारका लागि रु ३०० लिने, बाटोमा अवरोध हुने र बीमा दाबीसमेत गर्न कठिन हुने गरेको छ । चरन क्षेत्र दाङ र कपिलवस्तु हुँदै चितवनसम्म फैलिएको छ । उहाँले किसानबीचमा पनि अस्वस्थ प्रतिस्पर्धाका कारण चरन क्षेत्रमा असमानता र झन्झट भएको बताउनुभयो ।

    भरतपुरका मौरीपालक किसान विष्णुप्रसाद भुसालले बाहिरी जिल्लामा मौरी चराउन लैजाँदा वन कार्यालयलाई शुल्क तिर्नुपर्ने हुँदा राज्यले यसमा सहुलियत दिनुपर्ने माग गर्नुभयो ।

    नेपाल मौरीपालक महासङ्घकी पूर्वउपाध्यक्ष गीता देवकोटाकाअनुसार अहिले मह बिक्री र चरन दुबै क्षेत्रमा समस्या छ । आयात खुला हुँदा किसान निरुत्साहित भएका छन् । उहाँले भन्नुभयो्, “यो सिजनमा एउटै किसानले ४–५ टनसम्म मह उत्पादन गर्छ । त्यसैले स्वदेशी महलाई प्राथमिकता दिई किसानलाई प्रोत्साहन गर्नुपर्छ ।”

    विसं २०५१ सालदेखि व्यवसायिक मौरीपालन सुरु भएको नेपालमा अहिले मेलिफेरा जातका करिब एक लाख ३० हजार र सेरेना जातका करिब एक लाख ७० हजार घार छन् । मेलिफेराबाट वार्षिक करिब चार हजार मेट्रिकटन र सेरेनाबाट एक हजार मेट्रिकटन मह उत्पादन हुने अनुमान छ । हाल मेलिफेरा मौरीपालनमा करिब १२ हजार किसान र सेरेना मौरीपालनमा हजारौँ किसान संलग्न छन् । रासस

  • राष्ट्रपति पौडेल कतारबाट स्वदेश प्रस्थान

    राष्ट्रपति पौडेल कतारबाट स्वदेश प्रस्थान

    काठमाडौँ, कात्तिक २० –
    राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहाबाट स्वदेश प्रस्थान गर्नुभएको छ । उहाँ गत मङ्गलबारदेखि सुरु भएको ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन कतार पुग्नुभएको थियो ।

    उहाँलाई त्यहाँस्थित हमाद अन्तरराष्ट्रिय विमानस्थलमा कतारका लागि नेपाली राजदूत रमेशचन्द्र पौडेल र कतारको विदेश मन्त्रालय एवम् नेपाली दूतावासका उच्च अधिकारीले बिदाई गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

    कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणामा ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन राष्ट्रपति पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार त्यहाँ पुग्नुभएको थियो । उहाँले संयुक्त राष्ट्रसङ्घको महासभाको निर्णयअनुसार दोहामा भएको ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’ को मुख्य सत्रलाई मङ्गलबार सम्बोधन गर्नुभयो ।

    साथै उहाँले सम्मेलन अन्तर्गत आयोजित सामाजिक विकासका तीन स्तम्भहरूको सुदृढीकरणः गरिबी निवारण, पूर्ण र उत्पादनशील रोजगारी एवम् सबैका लागि मर्यादित काम र सामाजिक समावेशीकरण विषयक उच्चस्तरीय गोलमेच सम्मेलनलाईसमेत सम्बोधन गर्नुभएको थियो ।

    राष्ट्रपति पौडेलले मङ्गलबारनै संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग शिष्टाचार भेट गर्नुभएको थियो । उहाँले बुधबार त्यहाँस्थित कतार राष्ट्रिय सङ्ग्रहालयको पनि अवलोकन गर्नुभएको थियो ।

    यसअघि ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन १९९५ मा डेनमार्कको कोपनहेगनमा भएको थियो । सम्मेलनमा वर्तमान विश्वले सामना गर्नुपरेको विकासको असमानता, जनसङख्यामा आएको असन्तुलन र प्रविधिका कारण समाजमा परेको प्रभावलगायत विषयमा छलफल भएको थियो ।

    संयुक्त राष्ट्रसङ्घको सदस्य भएपछि नेपाल शान्ति र स्थायित्वका लागि सधैँ सक्रिय र प्रतिबद्ध सदस्य रही आएको छ । राष्ट्रसङ्घको आर्थिक तथा सामाजिक परिषद्को हाल नेपाल अध्यक्ष रहेको छ । सो सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल प्रथम महिला सबिता पौडेलसहित नेपाली प्रतिनिधिमण्डल कतार पुगेका थियो । रासस

  • रास्वपा नेता–कार्यकर्ताले ज्यान मार्ने धम्की दिएपछि जेलरले रविको नक्कली पत्रमा हस्ताक्षर गरेको खुलासा

    रास्वपा नेता–कार्यकर्ताले ज्यान मार्ने धम्की दिएपछि जेलरले रविको नक्कली पत्रमा हस्ताक्षर गरेको खुलासा

    काठमाडौं–
    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नख्खु कारागारका जेलर सत्यराज जोशीको बयानसँग विपरीत अभिव्यक्ति दिएका छन् ।

    सहकारी प्रकरणमा थुनामा रहेकै अवस्थामा उनले बुधबार गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगमा करिब सात घण्टा १५ मिनेट बयान दिएका हुन् ।

    लामिछानेका अनुसार भदौ २४ मा जेनजी आन्दोलन नियन्त्रणबाहिर गएपछि ‘माथिबाट आदेश आएर’ आफूलाई जेलबाट रिहा गरिएको थियो ।

    उनले उपसभापति डीपी अर्याल र पत्नी निकितालाई पहिल्यै बोलाइएको भन्दै डीपी अर्याल र मेरी श्रीमतीलाई खबर गरेर बोलाउनुभएको रहेछ भनेका छन् ।

    उनका अनुसार कारागार बाहिर सवा घण्टा पर्खिएर उनले आन्दोलनकारीहरूलाई माइकमार्फत सम्झाउने प्रयास गरेका थिए ।

    तर, जेलर जोशीले भने प्रदर्शनकारीले कारागार घेरेर लामिछानेलाई निकालिसकेपछि डेढ घण्टापछि मात्रै आफूलाई पत्रमा हस्ताक्षर गराइएको बताएका छन् ।

    जोशीका अनुसार रास्वपा नेता–कार्यकर्ताले ज्यान मार्ने धम्की दिएपछि पत्र नपढीकनै हस्ताक्षर गरेका थिए ।

    उक्त पत्रमा गृह सचिवको आदेशमा लामिछानेलाई थुनामुक्त गरिएको उल्लेख छ र सहकारी मुद्दालाई राजनीतिक रूपमा हेरिएको संकेत गरिएको थियो ।

    रिहाइपछि आफूले तीनवटै सुरक्षा निकायका प्रमुख र अदालतलाई इमेलमार्फत जानकारी गराएको लामिछानेले बताएका छन् ।

    उनले पत्रबारे आफ्नो विरुद्ध गलत प्रचार गरिएको दाबी गर्दै भने, ‘माथि अफवाह फैलाइयो ।’

    आयोगका एक पदाधिकारीका अनुसार लामिछानेको बयान प्रक्रिया बुधबार पूरा भएको छ ।

  • भरतपुर अस्पताल लगायत देशमा केही अस्पतालका स्वास्थ्य बीमा सेवा ‘प्रणाली’मा प्राविधिक समस्या

    भरतपुर अस्पताल लगायत देशमा केही अस्पतालका स्वास्थ्य बीमा सेवा ‘प्रणाली’मा प्राविधिक समस्या

    चितवन, कात्तिक २० –
    स्वास्थ्य बीमा सेवा प्रणालीमा प्राविधिक समस्या हुँदा देशभरका बिरामी प्रभावित भएका छन् ।

    सो प्रणाली राम्रोसँग नचलेपछि लामो समय पालो कुरेर बिरामी अस्पतालबाट फर्किनु परेको छ । भरतपुर अस्पताल स्वास्थ्य बीमा कार्यक्रमका इञ्चार्ज लीलाधर पौडेलले गएराति ११ बजेसम्म काम गर्दासमेत दिउँसोको दाबी पेस गर्न कठिन भएको बताउनुभयो । उहाँका अनुसार दुईदिनदेखि बिरामी र आफन्तले गुनासो गरिरहेका छन् ।

    ‘बिलिङ काउन्टर’मा पटकपटक झगडा पर्ने गरेको छ । पौडेलले भन्नुभयो, “बुधबार मात्रै ५०० भन्दाबढी बिरामी टिकट काट्न नसकेर फर्किएका छन् ।” दिनभर लगाएर एक हजार ६२६ जनाको टिकट काटिएको उहाँले बताउनुभयो । प्रणालीले सहजै काम गरेको भए दुई हजार २०० हाराहारीमा बिरामी बीमामार्फत् उपचार गर्न आएका थिए ।

    भरतपुर अस्पतालमा बीमाको टिकट काउन्टर आठ वटा छन् भने आकस्मिकमा समेत बीमाको टिकट काटिन्छ । अस्पतालको टिकट काउन्टरमा कार्यरत वसन्ती चिलवालले विगत चार दिन यता नयाँ टिकट काट्नै नसकिएको बताउनुभयो ।

    बीमा बोर्ड अन्तर्गत ५५० अस्पतालले सेवा दिएका छन् । तीमध्ये केही अस्पतालले बोर्डलाई पत्राचार गरी समस्याका बारेमा अवगत गराएका छन् । विराट मेडिकल कलेज, कोशी अस्पताल, बीपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानलगायतका अस्पतालले यही अवस्थामा सेवा दिनै कठिन भएको पत्र बोर्डमा पठाएका छन् ।

    बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले बोर्ड स्थापना हुँदा परीक्षणका रूपमा दुई चार लाख सेवाग्राहीका लागि जडान गरिएको प्रणालीको स्तरोन्नति गर्न नसकिएका कारण समस्या आएको बताउनुभयो । उहाँका अनुसार बोर्डमा जडान गरिएका प्रणालीको म्याद सकिएको छ । हाल चाप अत्याधिक बढेको र प्रणालीमा सोही अनुरुपको स्तरोन्नति नहुँदा समस्या भएको हो । आफ्नो प्रत्यक्ष निगरानीमा प्राविधिक टोलीले काम गरिरहेको जानकारी दिँदै उहाँले अझ समस्या समाधान गर्न एक साता बढी लाग्ने बताउनुभयो ।

    काफ्लेले भन्नुभयो, “मैले गर्ने प्रयत्न गरिरहेको छु, केही डिभाइस किनेर जडान गर्ने काम भइरहेको छ । सिस्टम अपग्रेड भनेको महिनौँ लाग्ने काम हो ।” अहिले बोर्ड अन्तर्गत दैनिक ८० हजार हाराहारीले सेवा लिइरहेका छन् । बोर्डमा जोडिनेको सङ्ख्या ६५ लाख नाघेको छ । रासस

  • बेमौसमी वर्षाः गुल्मीमा पाँच करोडको धानबाली नष्ट

    बेमौसमी वर्षाः गुल्मीमा पाँच करोडको धानबाली नष्ट

    तम्घास, कात्तिक २० –
    हालैको बेमौसमी वर्षाले गुल्मीमा रु पाँच करोडको धानबाली नष्ट भएको छ । जिल्लामा यस वर्ष सात हजार ९८८ हेक्टर क्षेत्रफलमा धानखेती गरिएकोमा २२ हजार हजार ९०९ मेट्रिक टन उत्पादन हुने प्रक्षेपण गरिएको थियो ।

    कृषि ज्ञान केन्द्रका सूचना अधिकारी टीकाराम न्यौपानेका अनुसार वर्षाले एक हजार २६० मेट्रिक टन धान नष्ट भएको छ । त्यसलाई सरकारले निर्धारण गरेको समर्थन मूल्यमा हिसाब गर्दा रु पाँच करोड बराबरको क्षति भएको हो ।

    गुल्मीको सबैभन्दा धेरै धान उत्पादन हुने चौरासी फाँटमा ९९९ हेक्टरमा लगाइएको धानमध्ये ४० प्रतिशत नोक्सान भएको उहाँले बताउनुभयो । इस्मा गाउँपालिका–६ का कृष्णप्रसाद घिमिरेको काटिसकेको १८ रोपनी खेतको धानमा पनि क्षति भएको छ ।

    त्यसैगर, अर्का किसान निराजन भण्डारीको पनि १९ रोपनी खेतमा काटेको धान भिजेको छ । उहाँ यो वर्षको प्राकृतिक विपत्तिबाट अधिक पीडित हुनुभएको स्थानीयले बताएका छन् । रासस

  • सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    काठमाडौँ, कात्तिक २० –
    स्थानीय बजारमा बुधबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही वृद्धि भएको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु दुई लाख ३७ हजार ८०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु तीन हजार १० निर्धारण भएको छ । बुधबार एक तोला सुन रु दुई लाख ३७ हजार २०० र चाँदी रु दुई हजार ९९० मा खरिदबिक्री भएको थियो ।

    बजार विश्लेषकहरूले सुनचाँदीको मूल्यमा दैनिक उतारचढाव भइरहेका कारण लगानीकर्ताले सतर्क हुनुपर्नेमा जोड दिएका छन् । सुनचाँदीमा लगानी गर्दा बजारको प्रवृत्ति र मूल्य परिवर्तनमा ध्यान दिनु आवश्यक भएको उनीहरूको कथन छ । आगामी दिनहरूमा पनि मूल्यमा उतारचढाव हुने उनीहरूको विश्लेषण छ । रासस

  • सत्र करोडको लागतमा कालीगण्डकीमा पुल निर्माण हुँदै

    सत्र करोडको लागतमा कालीगण्डकीमा पुल निर्माण हुँदै

    पर्वत, कात्तिक २० –
    कालीगण्डकी करिडोरअन्तर्गत पर्वतको कुश्मा नगरपालिका र बागलुङ नगरपालिका जोड्ने कालीगण्डकी माथि मोटर सञ्चालन गर्न मिल्ने पक्की पुल निर्माणको प्रारम्भिक प्रक्रिया प्रारम्भ भएको छ ।

    प्रदेश सरकारअन्तर्गत गण्डकी पूर्वाधार विकास निर्देशनालयले कुश्मा नगरपालिका–२ नयाँपुल र बागलुङ नगरपालिका–१३ कालाखोला जोड्नेगरी १०० मिटर लामो पक्की पुल निर्माण सुरु गरेको हो ।

    पुलको लागत रु १६ करोड ९५ लाख २५ हजार छ । पुल निर्माणस्थलको माटो परीक्षण भइरहेको निर्देशनालयले जनाएको छ । माटो परीक्षण प्रतिवेदन प्राप्त हुनासाथ निर्माण थालिने छ ।

    निर्देशनालयले निर्माण कम्पनीसँग २०८२ असार १७ गते उक्त रकममा पुल बनाउने सम्झौता गरेको हो । सम्झौताअनुसार तीन वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्ने छ । पुल एक सय मिटर लामो र ११ मिटर चौडा हुने छ । रासस

  • भैरहवा भन्सारबाट तीन महिनामा २७ अर्ब ७५ करोड राजस्व सङ्कलन

    भैरहवा भन्सारबाट तीन महिनामा २७ अर्ब ७५ करोड राजस्व सङ्कलन

    देवदह (रुपन्देही), कात्तिक २०-
    भैरहवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम तीन महिनामा रु २७ अर्ब ७५ करोड ५३ लाख ७८ हजार राजस्व सङ्कलन गरेको छ ।

    भन्सार अधिकृत सन्तोषकुमार न्यौपानेका अनुसार गत साउनमा रु नौ अर्ब दुई करोड ९४ लाख ३४ हजार, भदौमा रु नौ अर्ब ७० करोड ६३ लाख नौ हजार र असोजमा रु नौ अर्ब २८ करोड ६७ लाख २० हजार सङ्कलन भएको छ ।

    जेनजी आन्दोलनमा आगजनी र तोडफोडबाट क्षतिग्रस्त भन्सार कार्यालयले केही समय त्रिपालबाट सेवा प्रवाह गरेको थियो । रासस

  • यस्तो छ आजको मौसम : आज यी तीन प्रदेशमा वर्षासहित हिमपातको सम्भावना

    यस्तो छ आजको मौसम : आज यी तीन प्रदेशमा वर्षासहित हिमपातको सम्भावना

    काठमाडौँ कार्तिक २०
    हाल नेपालको पश्चिमी भूभागमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    जसको प्रभावले बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

    आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।

    आज राति कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।