Blog

  • सुर्खेत हिरासतमा एक जना थुनुवाको मृत्यु

    सुर्खेत हिरासतमा एक जना थुनुवाको मृत्यु

    काँक्रेविहार (सुर्खेत), कात्तिक २१ –
    जिल्ला प्रहरी कार्यालय सुर्खेत हिरासतमा एक जना थुनुवाको मृत्यु भएको छ । आज बिहान लागूऔषध कारोबार मुद्दामा थुनामा रहेका जिल्लाको वीरेन्द्रनगर नगरपालिका-११ पिपिराका ३५ वर्षीय गङ्गे सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मोहनजङ्ग बुढथापाले आज बिहान कर्णाली प्रदेश अस्पतालमा सुनारको उपचारका क्रममा मृत्यु भएको जानकारी दिनुुभयो । उहाँका अनुसार सुनार आज बिहान ओछ्यानमा बेहोस अवस्थामा भेटिएका थिए । “उहाँसँगै सुतेका साथीहरूले बिहान उठाउन खोज्दा नउठेपछि ड्युटीमा भएका प्रहरीलाई खबर गरेका थिए”, उहाँले भन्नुभयो, “हामीले तत्कालै प्रदेश अस्पतालमा उपचारका लागि पुर्‍याएपछि चिकित्सकले मृत घोषणा गर्नुभएको हो ।”

    प्रहरी नायब उपरीक्षक बुढथापाका अनुसार सुनारको मृत्युपछि हिरासतमा जडान गरिएको ‘सिसिटिभी फुटेज’ हेरिएको छ । “फुटेजमा सुत्नुअघि बाथरुमबाट टाउको नुहाएर बाहिर निस्किएका थिए । उनी सुतेको समयमा घुर्ने भएकाले राति साथीहरूले नघुर्न भनेर उठाएको फुटेजमा देखिएको छ”, उहाँले भन्नुभयो ।

    सुनार ७८ दिनदेखि हिरासतमा रहेका प्रहरी नायब उपरीक्षक बुढथापाले बताउनुभयो । उहाँका अनुसार चार दिनअघि सरकारी वकिल कार्यालयमा मुद्दा गएर आज उहाँको मुद्दामा पेसी थियो । रासस

  • चितवनमा यस वर्ष धान उत्पादनमा वृद्धि

    चितवनमा यस वर्ष धान उत्पादनमा वृद्धि

    चितवन, कात्तिक २१ –
    जिल्लामा यस वर्ष धान उत्पादन वृद्धि भएको छ । गत वर्षको तुलनामा यस वर्ष २१ हजार ४८० ‘मेट्रिकटन’ बढी धान उत्पादन भएको हो ।

    कृषि बिकास कार्यालय चितवनका अधिकृत निर्मल पौडेलका अनुसार यस वर्ष २७ हजार ३२४ दशमलव ९ ‘हेक्टर’ क्षेत्रफलमा धान लगाइएको थियो । यस वर्ष धान उत्पादकत्व ४ दशमलव ९६७ मेट्रिकटन प्रतिहेक्टर रहेको उहाँले बताउनुभयो । एक लाख ३५ हजार ७२५ दशमलव ०६ मेट्रिकटन धान उत्पादन भएको छ । बेमौसमी वर्षाले ३० हेक्टर क्षेत्रफलमा लगाइएको धानमा क्षति भएको थियो । जसबाट १४९ दशमलव ०१ मेट्रिकटन धानमा क्षति भएको उहाँले बताउनुभयो ।

    गत वर्ष जिल्लामा एक लाख १४ हजार २४४ दशमलव २ मेट्रिकटन धान उत्पादन भएको थियो । जिल्लामा हर्दिनाथ ६, गोरखनाथ, मुकाबाला, सावित्री, रामधान, गङ्गोत्री जस्ता धानहरु लगाइएको थियो । समयमा पानी र रोग किराको प्रकोप कम हुँदा यस वर्ष धान उत्पादन बढेको उहाँले बताउनुभयो । रासस

  • सौराहामा आजदेखि रास्वपाको विस्तारित बैठक

    सौराहामा आजदेखि रास्वपाको विस्तारित बैठक

    रत्ननगर ।
    चितवनको पर्यटकीय नगरी सौराहामा आज शुक्रबारबाट सुरू हुने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को विस्तारित बैठकमा राजनीतिक प्रतिवेदनमाथि छलफल तथा चुनावी वाचापत्र परिमार्जन गर्ने तयारी गरिएको छ ।

    दुई दिनसम्म चल्ने बैठकमा २०७९ सालमा निर्माण गरिएको वाचापत्र आगामी निर्वाचनलाई लक्षित गरी परिमार्जन गर्न लागिएको सो पार्टीका प्रवक्ता मनीष झाले बताए । राष्ट्रिय र स्थानीय मुद्दाहरुलाई समेटेर वाचापत्र परिमार्जन गर्ने तयारी गरिएको उनले बताए ।

    ‘अघिल्लो निर्वाचनलाई केन्द्रित गरी बनाइएको वाचापत्र अब सान्दर्भिक नहुन सक्छ’, प्रवक्ता झाले भने, ‘युवापुस्ता र जनचाहनाको विषयलाई समेत समेटेर वाचापत्र परिमार्जन गर्छौं ।’ बैठकमा जेनजी आन्दोलनपछिको राजनीतिक अवस्था, आगामी निर्वाचनका लागि उमेदवार छनोट विधि र चुनावी वाचापत्रको बारेमा छलफल हुने उनले जानकारी दिए ।

    सौराहा सभाहलमा हुने बैठकको पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले गर्ने छन् । बैठकको सम्पूर्ण तयारी पूरा भएको र शुक्रबार बिहान ८ बजे उद्घाटन हुने बैठक व्यवस्थापन समितिका संयोजक तथा पार्टी सचिवालय सदस्य हरि ढकालले बताए ।

    बैठकमा केन्द्रीय समिति, प्रदेश पदाधिकारी, केन्द्रीय विभागका पदाधिकारी, सल्लाहकार परिषद् र जिल्ला अध्यक्षहरु गरी ५१२ जना सहभागी हुने पूर्वसांसद्समेत रहेका ढकालले जानकारी दिए ।

    बैठकमा चारवटा प्रस्तावमाथि छलफल हुने छ । कार्यवाहक सभापति अर्यालले राजनीतिक प्रतिवेदन, उपसभापति स्वर्णिम वाग्लेले वाचापत्रसम्बन्धी प्रतिवेदन, महामन्त्री कविन्द्र बुर्लाकोटीले सङ्गठन विस्तार र सङ्गठनको हालको संरचना तथा सहमहामन्त्री विपीन आचार्यले निर्वाचनका लागि उमेदवार छनोट प्रक्रियासम्बन्धी प्रतिवेदन पेस गर्ने र उक्त प्रतिवेदनमाथि अर्थपूर्ण छलफल हुने नेता ढकालले जानकारी दिए । रास्वपाको विस्तारित बैठकले सुस्ताएको सौराहाको पर्यटनलाई समेत चलायमान गराउने उनको भनाइ छ ।

    ‘मुलुकको तेस्रो पर्यटकीय नगरी सौराहा आन्दोलनको चपेटामा प¥यो’, नेता ढकालले भने, ‘सुस्ताएको सौराहाको पर्यटनलाई चलायमान गराउन पार्टीको विस्तारित बैठक सौराहामा राखेका हौँ ।’

  • आफ्नै बेइज्जती हुने कारबाही त नगरेको भए पनि हुने कमरेडः झाँक्री

    आफ्नै बेइज्जती हुने कारबाही त नगरेको भए पनि हुने कमरेडः झाँक्री

    काठमाडौं, कात्तिक २१-
    नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालप्रति नेत्री रामकुमारी झाँक्रीले तिखो कटाक्ष गरेकी छन् । आफूहरूमाथि गरिएको भनिएको कारबाहीप्रति उनले व्यंग्य गरेकी हुन् ।

    नेकपा (माओवादी केन्द्र)लगायत दलरसमूहसँग मिलेर नेपाली कम्युनिस्ट पार्टी बनाउनुअघि एकीकृत समाजवादीका अध्यक्ष नेपालले झाँक्रीसहित पार्टीका केही नेतालाई कारबाही गरेका थिए । पार्टी सदस्य नरहने गरी उनीहरूलाई कारबाही गरिएको थियो ।

    पार्टी निर्णय नमानेको भन्दै गरिएको कारबाहीप्रति आज (शुक्रबार) बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत झाँक्रीले कटाक्ष गरेकी हुन् । उनले लेखेकी छन्, “प्रिय कमरेड माधव, अभिवादन ! आफ्नै बेइज्जती हुने कारबाही त नगरेको भए पनि हुने कमरेड ? केही अर्थ छ र अब पनि कारबाहीको ? लोकले के भन्ला भन्ने पनि लागेन र ?”

    झाँक्रीको स्टाटस जस्ताको त्यस्तैः

    प्रिय कमरेड माधव नेपाल
    अभिवादन!
    आफ्नै बैज्जती हुने कारबाही त नगरेको भए पनि हुने कमरेड? केही अर्थ छ र अब पनि कारबाहीको? लोकले के भन्ला भन्ने पनि लागेन र? तपाई सबै कालखण्ड गरेर १९ वर्ष पार्टी प्रमुख बाँकी समय पार्टी प्रमुखलाई चलाउने र नियन्त्रण गर्ने ज़िम्मेदारीमा बसेर काम गर्नु भयो। यो अन्तिम घटनाले तपाईको ईतिहासलाई फेरी बल्झायो । विर्सेकाहरूले सबै घटना स्मृतिमा लिने भए।
    जिन्दगीमा के लानु छ कमरेड? समाज र देशको लागि जीवन/जवानी अर्पण गरेको ब्यक्तिले। लाने त यति त हो एउटा मिठो वा तितो स्मृति, चिया पशलमा पुग्दा बोल्ने दुई जना मान्छे। आफ्नै मलामी त कसले पो देख्छ र? हार्दिक धन्यवाद यो अन्तिम कर्मको लागि।
    बाँकी जीवनको सुखद होस, परिवारमा शान्ति र शुस्वास्थ्यको हार्दिक शुभकामना। तपाई जहाँ रहे पनि हाम्रो अभिभावको हो। मैले यसरी सधै सम्झने छु।

  • हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

    हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

    आज मिति २०८२ कार्तिक २१ गते शुक्रवार (७ नोभेम्बर २०२५) शुक्रवार, मार्ग कृष्णपक्ष द्वितीया तिथि, १४ः३२ बजेपछि तृतीया। कृत्तिका नक्षत्र, ७ः०५ बजेपछि राेहिणी। चन्द्रराशि वृष।

    हेर्नुस तपाइँको आजको राशीफल

    मेष Aries
    काममा विभिन्न अवसर पाइनेछ । समयमा सहि निर्णय लिन सक्ने क्षमताले अगाडी बढ्न मद्दत पुग्नेछ । अरुले आफ्ना कमजोरीप्रति गुनासो गर्न सक्छन ।

    वृष Taurus
    रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन । गरेका कामबाट प्रशस्त लाभ हुनेछ ।

    मिथुन Gemini
    व्यापार ब्यबसायमा प्रशस्त फाइदा हुने योग रहेकोछ । परिवारको सहयोगबाट विशेष फाइदा उठाउन सकिनेछ । साथीभाईसंग रमाइलोमा समय बित्नेछ ।

    कर्कट Cancer
    काममा परिवारको सहयोग प्राप्त हुनेछ । सामाजिक मानसम्मान र प्रतिष्ठित काम गर्ने मौका छ । अरूलाई प्रभावित पारेर काम लिन सकिने छ ।

    सिंह Leo
    आफ्नो क्षेत्रको नेतृत्व गर्दै विदेश जाने योग रहेको छ । अरूकै कामको जिम्मेवारी समेत बढिरहनेछ । काममा सजिलै सफलता मिल्नेछ ।

    कन्या Virgo
    आफन्तको सहयोगले महत्वपूर्ण कामको थालनी हुनेछ । प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ ।

    तुला Libra
    स्वास्थ्यमा सुधार आउनेछ । भेटघाटमा समय बित्नेछ । बिश्वास गरेकाले साथ दिनेछन । रोकिएका कामहरु सुचारु हुनेछन ।

    वृश्चिक Scorpio
    श्रमको उचित मूल्यांकन हुनेछ । नयाँ ज्ञान प्राप्त हुने योग रहेको छ । पढाइ लेखाईमा प्रगति हुनेछ । आयआर्जन बढ्ने समय छ ।

    धनु Sagittarius
    सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ । परिवार र आफन्तको सहयोगबाट प्रशस्त लाभ उठाउन सकिनेछ । व्यापार ब्यबसायमा फाइदा हुनेछ ।

    मकर Capricorn
    समाजमा मानसम्मान र प्रतिष्ठा कमाउने बेला छ । सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ ।

    कुम्भ Aquarius
    साथीभाईको सहयोगले महत्वपूर्ण कामहरु सफल हुनेछन । व्यावसायिक काममा खर्च बढ्नेछ । हिम्मतले काम लिन सकिनेछ ।

    मीन Pisces
    पढाई लेखाइमा प्रगति हुनेछ । आस मारेको कामले उत्साह जगाउनेछ । तत्काल लाभ नभए पनि विभिन्न सकारात्मक संकेतहरू प्राप्त हुनेछन ।

  • एक जना पनि घाइते नहुने गरी निर्वाचन गराउन सरकार प्रयासरत छः प्रधानमन्त्री

    एक जना पनि घाइते नहुने गरी निर्वाचन गराउन सरकार प्रयासरत छः प्रधानमन्त्री

    काठमाडौँ, २० कात्तिकः 
    प्रधानमन्त्री सुशीला कार्कीले एकथोपा रगत नबग्ने र एक जना पनि घाइते नहुने गरी निर्वाचन गराउन आफू प्रयासरत रहेको बताउनुभएको छ ।

    द एसियन नेटवर्क फर फ्रि इलेक्सन्स (आन्फ्रेल) को प्रतिनिधिमण्डलसँग आज भएको भेटमा प्रधानमन्त्री कार्कीले शान्तिपूर्ण र भयरहित वातावरणमा स्वच्छ र निष्पक्ष चुनाव गराउन सरकार प्रतिबद्ध रहेको पनि जानकारी दिनुभयो । आन्फ्रेल थाइल्याण्डको बैंककमा सचिवालय रहेको अन्तरराष्ट्रिय पर्यवेक्षकहरुको सञ्जाल हो ।

    सचिवालयका कार्यकारी निर्देशक ब्रिजा रोसालेसको नेतृत्वको टोली अहिले नेपालको निर्वाचन वातावरणको मूल्याङ्कन गर्न काठमाडौँ आइपुगेको छ ।

    लामो समय न्यायाधीश र प्रधानन्यायाधीशका रुपमा काम गरेको व्यक्तिको नेतृत्वको सरकार भएकाले यसले स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउने भन्नेमा आफूहरु विश्वस्त रहेको प्रतिनिधिमण्डलका सदस्यहरुले बताउनुभयो ।

    “तपाईंको लामो समयदेखिको न्यायिक अनुभवले स्वतन्त्र र निष्पक्ष निर्वाचनमार्फत राजनीतिक पुनःसंरचना सम्भव हुने देखेका छौँ र त्यसले लोकतान्त्रिक संस्थालाई जोगाउनेछ”, प्रतिनिधिमण्डलको भनाइ थियो । प्रधानमन्त्री कार्कीले पनि अन्तरराष्ट्रिय पर्यवेक्षकले चासो देखाएपछि निर्वाचन सुरु भइसकेको अनुभूति गराएको प्रतिक्रिया दिनुभयो ।

    प्रधानमन्त्री कार्कीले भन्नुभयो, “हाम्रो मुख्य उद्देश्य नै चुनाव गराउनु हो, यसैमा केन्द्रित छौँ । स्वस्थ निर्वाचनको वातावरण बनाउन नागरिक समाज र पर्यवेक्षकको पनि भूमिका रहन्छ । यहाँहरुको उपस्थितिले निर्वाचन सुरु भइसकेको अनुभूति गराएको छ ।”

    आन्फ्रेल प्रतिनिधिहरुसँगै नेपालको निर्वाचन पर्यवेक्षकको सञ्जाल नियोकका पदाधिकारी तथा सदस्य पनि हुनुहुन्थ्यो । उहाँहरुले यसपाली पहिलोपल्ट मतदान गर्ने युवा मतदातामा व्यापक उत्साह देखिएकाले मतदाता शिक्षामा विशेष जोड दिन सुझाव पनि दिनुभयो । सरकारले आगामी फागुन २१ गते तोकिएको निर्वाचन सम्पन्न गराउन तयारी तीव्र पारेको छ ।

  • सजिलो एटेन्डेन्स एप्स सार्वजनिक : हाजिरी व्यवस्थापनलाई स्मार्ट, पारदर्शी र सहज बनाउने

    सजिलो एटेन्डेन्स एप्स सार्वजनिक : हाजिरी व्यवस्थापनलाई स्मार्ट, पारदर्शी र सहज बनाउने

    काठमाडौँ, २० कात्तिकः
    नेपालमा हाजिरी व्यवस्थापनलाई स्मार्ट, पारदर्शी र सहज बनाउन लक्षित   ‘Sajilo Attendance’ एप नेपाली युवाहरूको टोलीले औपचारिक रूपमा सार्वजनिक गरेको छ।

    यो आधुनिक डिजिटल HR प्रणालीमार्फत कार्यालयमा कार्यरत कर्मचारीहरूको Attendance व्यवस्थापन, समय नियन्त्रण, बिदा स्वीकृति, ओभरटाइम तथा Payroll (तलब गणना) जस्ता कार्यहरू मोबाइल वा वेबबाटै छिटो र सजिलै सञ्चालन गर्न सकिने सुविधा उपलब्ध छ।

    यस एपमा GPS Location भेरिफाइड Attendance, Face ID तथा Fingerprint Login, Real-Time Dashboard, Multi-Branch Monitoring, Leave र Overtime Approval System, Payroll Auto Calculation लगायतका अत्याधुनिक सुविधाहरू समावेश गरिएको छ। HR वा एडमिनले मोबाइल वा कम्प्युटरबाटै कुन कर्मचारी कहिले आए, कहाँबाट Attendance गर्‍यो, कति समय सक्रिय रहे, र को बिदामा छ भन्ने सम्पूर्ण विवरण केही सेकेन्डमै हेर्न सक्छन्।

    Attendance प्रणालीसँगै Payroll स्वचालित रूपमा एकीकृत भएकाले, उपस्थितिको आधारमा तलब, बोनस, ओभरटाइम भुक्तानी तथा कर कटौती समेत स्वचालित रूपमा गणना हुन्छ। यसले कागजी रजिस्टर तथा Excelमा भर पर्ने पुरानो प्रणालीलाई विस्थापन गर्दै कार्य सम्पादनलाई छिटो, व्यवस्थित र विश्वसनीय बनाएको छ।

    प्रयोगकर्ता संस्थाहरूका अनुसार, ‘Sajilo Attendance’ ले कार्य गति बढाएको, मानव त्रुटि घटाएको, कर्मचारीको जिम्मेवारी बोध अभिवृद्धि गरेको तथा व्यवस्थापन प्रक्रियालाई अझ पारदर्शी, विश्वसनीय र परिणाममुखी बनाएको छ। उनीहरू भन्छन्— “पहिले Attendance र Payroll मिलाउन धेरै समय लाग्थ्यो, तर अहिले केही मिनेटमै सबै रिपोर्ट तयार हुन्छ।”

    ‘Sajilo Attendance’ केवल Attendance ट्रयाक गर्ने एप मात्र होइन, सम्पूर्ण कार्यालय व्यवस्थापनलाई डिजिटल रूपान्तरण गर्ने एक विश्वसनीय HR Solution हो। हाल यो एप Google Play Store र Apple App Store दुवैमा उपलब्ध छ ।

  • फाइदा मात्रै होइन, अदुवा खानुका बेफाइदा पनि छन्

    फाइदा मात्रै होइन, अदुवा खानुका बेफाइदा पनि छन्

    जाडो याम सुरु भएको छ । तरकारीदेखि चियासम्म अनि खोकीदेखि रुघाखोकीसम्मको उपचारमा अदुवाको प्रयोग गरिन्छ । यसमा पाइने जिन्जेरोलले विभिन्न स्वास्थ्य समस्याहरूबाट छुटकारा पाउन मद्दत गर्छ ।

    यसको सेवन केही मानिसहरूका लागि हानिकारक हुन सक्छ । अदुवाको अत्यधिक सेवनले शरीरलाई हानि पुर्‍याउन सक्छ । आजको यस लेखमा हामी अदुवा खानु नहुने केही मानिसबारे कुराकानी गर्नेछौँ ।

    पाचन: अदुवाले गर्मी गराउँछ । अत्यधिक सेवनले पेटमा जलन, ग्यास वा एसिडिटी बढाउन सक्छ, जसले गर्दा बान्ता हुने, डकार आउने र छाती पोल्ने समस्या हुन्छ । त्यसकारण, पहिले नै यी अवस्थाहरूबाट पीडित व्यक्तिहरूले धेरै मात्रामा अदुवा सेवन गर्नबाट जोगिनुपर्छ ।

    न्यून रक्तचाप: अदुवामा भएका यौगिकहरूले रक्तसञ्चारलाई गति दिन सक्छन् र रगत पातलो बनाउने काम गर्छन् । कुनै व्यक्तिलाई पहिले नै रक्तचाप न्यून छ भने अदुवा सेवनले यसलाई अझ कम गर्न सक्छ, जसले गर्दा चक्कर लाग्ने, थकान हुने वा बेहोस हुने जस्ता समस्याहरू निम्त्याउन सक्छ । त्यसैले, कम रक्तचाप भएकाहरूले डाक्टरसँग परामर्श गरेपछि मात्र अदुवा सेवन गर्नुपर्छ ।

    गर्भवती महिलाहरू: अदुवाले हार्मोनल प्रभाव पार्न सक्ने भएकोले गर्भावस्थाका महिलाहरूले अदुवाको सेवन सन्तुलित मात्रामा मात्रै गर्नुपर्छ । गर्भवती महिलाहरूले धेरै कम मात्रामा र चिकित्सकको परामर्शमा मात्रै अदुवा सेवन गर्न सिफारिस गरिन्छ ।

    अस्वीकरणः यो जानकारी अनलाइन सामाग्रीबाट तयार पारिएको हो ।

  • नेपाली समाजलाई भताभुङ्ग पार्ने प्रयास सफल हुँदैनः अध्यक्ष ओली

    नेपाली समाजलाई भताभुङ्ग पार्ने प्रयास सफल हुँदैनः अध्यक्ष ओली

    काठमाडौँ, २० कात्तिकः
    नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मानवीय मूल्य र नेपाली समाजलाई भताभुङ्ग पार्न खोजिएको अवस्थाबाट मुलुकलाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभएको छ ।

    भक्तपुरको गुण्डुस्थित आफ्नो निवासमा भेला भएका विभिन्न नेता कार्यकर्तालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले सर्वश्रेष्ठ र सुन्दर गन्तव्यका रुपमा ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय गन्तव्य बोकेर आफूहरु अघि बढेकामा त्यसलाई रोक्न खोज्ने तत्वहरु हावी भएको आरोप लगाउनुभयो ।

    असन्तुष्टिलाई सम्मानपूर्वक राख्ने नेपाली परम्परा विपरीत अशिष्ट र अमर्यादित एवं हिंस्रक रुपमा गतिविधि गरेर आन्दोलन गर्ने अभ्यास गलत भएको उहाँको भनाइ थियो ।

    अध्यक्ष ओलीले सर्वाेच्च अदालतको अन्तरिम आदेश विपरीत राजदूतहरुलाई परराष्ट्र मन्त्रालयमा हाजिर हुन बोलाइनु अदालतको अपमान भएको बताउनुभयो ।

    सो अवसरमा उहाँले रेशम लामाद्वारा लिखित गीतिसङ्ग्रह विमोचन गर्नुभयो । गीतमा जेबी घिमिरे र प्रतिमा अर्यालको स्वर रहेको छ ।

  • कांग्रेसका हरेक तहमा ३३ प्रतिशत बढी युवा अनिवार्य गर्न महरको प्रस्ताव

    कांग्रेसका हरेक तहमा ३३ प्रतिशत बढी युवा अनिवार्य गर्न महरको प्रस्ताव

    २० कात्तिक, काठमाडौं ।
    नेपाली कांग्रेसभित्र युवा पुस्ताको निर्णायक सहभागिता सुनिश्चित गर्न पार्टीका हरेक तहमा ३३ प्रतिशतभन्दा बढी नयाँ युवा पुस्ताको प्रतिनिधित्व अनिवार्य गर्नुपर्ने प्रस्ताव गरिएको छ।

    कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरले जारी केन्द्रीय समिति बैठकमा लिखित प्रस्ताव पेस गर्दै पार्टीको विधानलाई नै ‘युवामैत्री’ बनाउन यस्तो व्यवस्था गर्न माग गरेका हुन् ।

    पछिल्लो समय युवाहरूमाझ पार्टीप्रतिको आकर्षण घट्दै गएको र नेतृत्व पंक्तिमा पुस्तान्तरणको बहस चलिरहेका बेला महरको यो प्रस्ताव आएको हो ।

    उनले पार्टीलाई समयसापेक्ष, गतिशील र ऊर्जावान बनाउन वडा तहदेखि केन्द्रीय समितिसम्मका सबै संरचनामा युवाहरूको अनिवार्य र अर्थपूर्ण सहभागिता आवश्यक रहेकोमा जोड दिएका छन् ।

    ‘पार्टीका सबै तहमा कम्तीमा पनि एक तिहाइभन्दा बढी नयाँ युवा पुस्ताको प्रतिनिधित्व रहने गरी विधानलाई युवामैत्री बनाउनुपर्छ,’ महरको प्रस्तावमा भनिएको छ ।

    उनले यस्तो व्यवस्थाले पार्टीको निर्णय प्रक्रियामा युवा दृष्टिकोण समावेश हुने र देशका बहुसंख्यक युवा मतदातालाई कांग्रेससँग जोड्न सकिने विश्वास व्यक्त गरेका छन् ।

    यो प्रस्तावले पार्टीको आन्तरिक पुनर्संरचना र पुस्तान्तरणको बहसलाई थप अघि बढाएको छ ।